विकासन्युज

कैलाश विकास बैंकका नयाँ कार्यकारी प्रमुख अमृतचरण श्रेष्ठद्वारा पदभार ग्रहण

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा अमृतचरण श्रेष्ठ नियुक्त भएका छन् । नवनियुक्त श्रेष्ठले आइतबार बैंकको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरेका छन् । बैंकको संचालक समितिको बैठकले जेठ १४ गते देखि लागु हुने गरी चार वर्षको लागि श्रेष्ठलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नयाँ प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसँग नेपालका बिभिन्न वाणिज्य बैंकमा करिव ३० वर्ष कार्य गरेको कार्यानुभव रहेको छ ।

नेपालीको आम्दानी साढे ११ हजारले बढ्यो, देशको आर्थिक वृद्धि ६.९४ प्रतिशत

काठमाडौं । आर्थिक वर्ष २०७३/७४को आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ । गत आर्थिक वर्षको आर्थिक वृद्धि शुन्य दशमलव १ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको वृद्धि ६.९४ प्रतिशत हुने भएको छ । यो वृद्धि आर्थिक २०५०/५१ यताको उच्चतम भएको अर्थमन्त्रालयले जनाएको छ । सन २०१७ मा विश्वको आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहेको बेलामा नेपालले ६.९४ प्रतिशतको आर्थिक वृद्धि गर्नु उत्साहजनक भएको अर्थमन्त्री कृष्णबहादुर महराले बताएका छन् । अनुकूल मौसम, सरकारको पुँजीगत खर्चमा वृद्धि, ऊर्जा व्यवस्थापन, लगानीको बातावरणमा सुधार लगायत समग्र आपूर्ति व्यवस्थामा आएको सुधारले उच्चदरको आर्थिक वृद्धि सफल भएको अर्थ मन्त्रालयको विश्लेषण छ । कृषि क्षेत्रको वृद्धि ५.२९ प्रतिशत छ भने गैर कृषि क्षेत्रको वृद्धि ७.७४ प्रतिशत रहेको छ । सेवा र उद्योग क्षेत्रको उत्पादन वृद्धिदर क्रमशः ६.९० र १०.९७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । अर्थतन्त्रमा कृषि क्षेत्रको हिस्सा २९.३७ प्रतिशतमा खुम्चिएको छ भने गैर कृषि क्षेत्रको हिस्सा ७०.६३ प्रतिशत पुगेको छ । कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश ८९.७ प्रतिशत देखिएको छ । बचतको अंक ६.४३ प्रतिशत विन्दुले वृद्धि भई १०.२५ प्रतिशतले पुग्ने भएको छ । यस वर्ष नेपालीहरुको औषत आम्दानी ११ हजार ५५० रुपैयाँले बढेको छ । मन्त्रालयका अनुसार यस वर्ष नेपालीको प्रतिव्यक्ति आय १०५ डलरले वृद्धि भएको छ । गत आर्थिक वर्षमा नेपालीको वार्षिक आम्दानी अमेरिकी डलर ७५७ रहेकोमो चालु आर्थिक वर्ष २०७३/७४ मा अमेरिकी डलर ८६२ पुगेकोे छ ।

एभरेष्ट इन्स्योरेन्सको अध्यक्षमा राजिब सापकोटा नियुक्त

काठमाडौं । एभरेष्ट इन्स्यारेन्सको अध्यक्षमा राजिब सापकोटा नियुक्त भएका छन् । जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सापकोटालार्इ सो पदमा नियुक्त गराएका हुन् । यस अघि कम्पनीको अध्यक्षको कार्यभार सुरेन्द्र सिलवालले सम्हालेका थिए । सिलवालले गत वैशाख २१ गते देखि लागु हुने गरी राजीनामा दिएका हुन । सोही दिन बसेको कम्पनीको बैठकले सिलवालको राजीनामा स्वीकृत गरेको हो ।

छ्याङ्दी हाइड्रोको ५ लाख ४० हजार कित्ता साधारण सेयरको बिक्री खुला, कहाँ कहाँबाट आवेदन भर्ने ?

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले ५ लाख ४० हजार कित्ता साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले जेठ १४ गते(आइतबार) बाट १०० रुपैयाँ दरका सो मात्राको सेयर निष्काशन गरेको हो । कम्पनीले जारी गरेको कुल सेयरमध्ये १० हजार ८०० कित्ता साधारण सेयर कर्मचारीहरुको लागि सुरक्षित गरेको छ । साथै, २७ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोष र बाँकी ५ लाख २ हजार २०० कित्ता सर्वधारणमा निष्काशन गरेको कम्पनीले जनाएको छ । सर्वसाधारणले सेयरका लागि कम्तिमा ५० कित्ता र बढिमा २७०० कित्तासम्मका लागि आवेदन दिन सक्छन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ । जेठ ११ गतेदेखि निष्काशन गरिएको उक्त सेयरको बिक्री छिटोमा जेठ १८ गते र ढिलोमा जेठ २८ गते बन्द हुने कम्पनीले जनाएको छ । सो मात्राको साधारण सेयरको लागि इच्छुक सर्वसाधारणले निम्न ठाँउबाट आवेदन भर्न सक्नेछन् ।

तीन बर्षभित्रै खाना पकाउने एलपी ग्यास विस्थापित हुने

काठमाडौं । आगामी तीन बर्षभित्रै नेपालबाट खाना पकाउने एलपी ग्यास विस्थापित हुने भएको छ । उर्जा मन्त्रालयले सबै नेपालीको घरमा विद्युतको पहुँच विस्तार गरेर आगामी तीन बर्षभित्रै एलपी ग्यास मुक्त मुलुक बनाउने योजना अघि सारेको हो । उर्जा मन्त्रालयले नेपाली जनताका भान्छामा तीन बर्षपछि एलपी ग्यासँ नभएर विद्युतिय उपकरण मात्रै हुने बताएको हो । त्यसका लागि चालु आवको बजेट मार्फत तीन बर्षभित्रै एलपी विस्थापित हुने योजनासहितको बिशेष योजना ल्याउने भएको हो । नेपालको पानी जनताको लगानी अभियानका लागि ७ अर्बको लगानी प्रतिवद्धता समेत आईसकेको पनि उर्जा मन्त्रालयले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

बिटक्वाइनको सनसनीपूर्ण संसार जहाँ विश्वका लगानीकर्ता झुम्मिएका छन् र मालामाल कमाएका छन्

रमेश घिमिरे विश्वमा सफ्टवेयरकर्मीहरुले सयौं भर्चुअल (अभौतिक) मुद्रा बनाइसकेका छन् । तर, एउटा मुद्राबाहेक सबै मुद्रा गेम खेल्ने, अनलाइनबाट उपहार दिने सीमाभन्दा माथि उक्लिन सकेनन् । सन् २००९ मा बनेको बिटक्वाइन भने पूर्ण सफल डिजिटल मुद्रा बनेको छ । पुँजीबजार, वस्तु बजार (सुन, चाँदी, पेट्रोलियम) र मुद्रा बजार धेरै मानिसका लागि लगानी गर्ने उपयुक्त बजार हो । सामान उत्पादन तथा बिक्री नगरी कागज र अनलाइनमा मात्र सीमित भएर कोठाबाटै गर्न सकिने यस्तो व्यापार धेरैका लागि सहज हुन्छ । तथापि सट्टेबजारमा कमाउने अबसर र गुमाउने जोखिम दुबै उच्च हुन्छ । सट्टे बजारमा मुद्रा, सेयर र वस्तुको मूल्य तलमाथि भइरहन्छ । भर्चुअल मुद्रा बिटक्वाइन भने कहिलेकाहीं छोटो समयका लागि तल झरे पनि सन् २००९ बाट क्रमशः उकालो लागिरहेको छ । अर्थात बजारमा कारोबार गर्ने सबैले मुनाफा नै गरिरहेका छन् । यसको मूल्य अझै बढ्ने मात्र प्रक्षेपण भइरहेको छ । कहिले घट्छ भन्ने प्रक्षेपण नै आएको छैन । २००९ मा बिटक्वाइनको सटही दर ०.०९ डलर बराबर १ बिटक्वाइन थियो । नेपाली मुद्रामा ६ रुपैयाँ ७५ पैसा बरारबर १ बिटक्वाइन थियो । अहिले (२०१७ मे २६) बिटक्वाइनको सटही दर २ हजार ५ सय डलर बराबर १ बिटक्वाइन छ । अर्थात २ लाख ५४ हजार नेपाली रुपैयाँ बराबर १ बिटक्वाइन हुन्छ । यही मे २२ मा सटही दर २ हजार डलर अर्थात २ लाख ६ हजार रुपैयाँ थियो । गत २०१७ मार्च ३१ मा यसको सटही दर १ बिट क्वाइन बराबर १ हजार डलर थियो । सन् २००९ मा २६.६० डलरमा बिटक्वाइन किनेका नर्वेजियन नागरिक क्रिस्टोफर कोचको समाचार हालै सञ्चार माध्यममा आएको छ । उनको बिटक्वाइनको मूल्य ९ लाख ८० हजार रुपैयाँ पुगेको समाचार केही दिनअघि सञ्चार माध्यममा छापिएको छ । उनले बिक्री नगरेका भए यो लेख तयार गर्दासम्म अझै बढिसकेको छ । नेपाली मुद्रामा उनको लगानी ८ वर्षअघि २ हजार रुपैयाँ थियो । केही दिनअघि उनको सम्पत्ति १० करोड रुपैयाँ पुग्यो । “सन् २००९ मा मैले १० हजार बिटक्वाइनमा दुई वटा पिजा किनेको थियो”, क्रिस्टोफरले भनेका छन्, “त्यति बिटक्वाइनले अहिले मैले ठूलो पिजा प्mयाक्ट्री नै किन्न सक्छु ।” भविष्यमा यसको मूल्यलाई अनुमान गरेरै हो कि बिटक्वाइनको निकै सानो एकाई बनाइएको छ । सेन्ट वा पैसा भने जस्तो यसको सानो एकाईलाई सतोषी भनिन्छ । १० करोड सतोषीको एक बिट क्वाइन हुन्छ । अहिले विश्वमा बिटक्वाइनमा लगानी गर्ने ह्वीम नै चलेको छ । सन् २०१८ मा बिटक्वाइनको सटही दर १० हजार डलर पुग्ने अनुमान सार्वजनिक गरिएका छन् । अहिले मानिसहरुको हातमा करिब सवा ट्रिलियन डलर रहेको फेडरल रिजर्भले जनाएको छ । डलर र अन्य मुद्राको थप संख्या सरकारहरुले हरेक वर्ष छाप्दै बजारमा पठाइरहेका छन् । बिटक्वाइनको आपूर्ति भने बढी सीमित छ । बिटक्वाइनको अन्तिम सीमा २ करोड १० लाख हो । त्यसमध्ये अहिलेसम्म ७५ प्रतिशत बजारमा आइसकेको छ । नयाँ बिटक्वाइनको आपूर्ति बजारमा कम भएको तर मानिसहरुको माग बढेका कारण बिटक्वाइनको मूल्य आकासिएको हो । अहिले विश्वमा हुने कारोबारमध्ये हप्तामा १ ट्रिलियन डलरबराबर बिटक्वाइनबाट हुन्छ । सबै मुद्रामा हुने कूल कारोबारको यो सवा (१.२५) प्रतिशत हो । बढी चल्तीमा रहेका ३ मुलुकका मुद्राबाहेक विश्वमा बाँकी सबै मुद्रामा हुने कारोबारभन्दा बढी बिटक्वाइन एक्लैको कारोबार भइरहेको छ । बिटक्वाइन कुनै सरकारले जारी गरेको या मान्यता दिएको मुद्रा होइन । त्यसैले यसमा लगानी गर्नेले भविष्यमा यसको मूल्य शून्य हुनेसम्मको जोखिम व्यहोरेर लगानी गरेका हुन् । संयोगबस यसले विश्वमै जनस्तरमा मान्यता पायो र यसमा लगानी गर्ने मालामाल भए । नेपालमा सरकारले खाताबाट विदेशमा पैसा पठाउन खुला नगरेको कारण मुद्रा बजारमा विश्वमा आउने चर्चाले नेपाललाई खासै छुँदैन । तथापि अनलाइनमा काम गर्ने केही यूवाले बिटक्वाइनमा सन् २०१३ मै काम गरेका थिए तर नेपालको लोडसेडिङ यसका लागि मुख्य बाधक भयो । भारतमा भने सीमित मात्रामा डलर एकाउन्ट खुला छ । भारतमा बिटक्वाइनबारे जानकारी दिन व्यक्तिगत तथा कम्पनी स्तरबाट सन् २०१३ मा तालिम दिने, प्रचारप्रसार गर्ने गरिएको थियो । बिटक्वाइनबारे भारतमा २०१६ को डिसेम्बरपछि अर्थात नयाँ वर्ष २०१७ सँगै निकै चर्चा परिचर्चा बढेको छ । भारतमा बिटक्वाइनबारे सुन्ने, बुभ्mने, किन्ने, बेच्ने प्रक्रिया बढेको छ । केही पसलहरुले बिटक्वाइन स्वीकार गरेर सामान दिन थालेका छन् । तर आम रुपमा सरसामान किन्न अझै बिटक्वाइन स्वीकार गरिएको छैन । जनस्तरमा ब्यापक चर्चा परिचर्चा भएपछि हालै भारतको संसदमा एक जना सांसदले यो काल्पनिक मुद्रा भएकाले यसलाई अवैध घोषणा गर्न माग गर्दै बोले । त्यसपछि सरकारले यसबारे अध्ययन गर्न समिति बनाएको छ । समितिको प्रतिवेदन अझै आइसकेको छैन । बिटक्वाइनको माग बढेपछि बिटक्वाइन बेच्ने धेरै प्रकारका विधि बजारमा आएका छन् । बिटक्वाइन एक्सचेन्ज र बिट क्वाइन एटीएम मेसिनमा गएर बिटक्वाइन किन्न वा बेच्न सकिन्छ । बिटक्वाइन अनलाइनमार्फत विश्वभरबाट बिटक्वाइन किन्न पाइन्छ । बिटक्वाइन आफैं पनि निर्माण गर्न सकिन्छ । बिटक्वाइन निर्माण गर्ने कार्यलाई माइनिङ र त्यो कार्य गर्नेलाई माइनर भनिन्छ । तर माइनिङबाट धेरै समय लगाएर थोरै बिटक्वाइन आउने हुँदा सबैका लागि फाइदा नहुन सक्छ । दुई व्यक्तिबीच बिटक्वाइनको कारोबार हुँदा बिटक्वाइन पठाउनेले वास्तविक बिटक्वाइन पठाएको हो कि होइन भनेर परीक्षण गर्ने कार्यलाई माइनिङ भनिन्छ । सबै व्यक्तिसँग भएको बिटक्वाइनको रेकर्ड ब्लकचेनमा रहेको हुन्छ । ब्लकचेनमा भएको बिटक्वाइन कारोबार गर्न खोजेको हो भन्ने पुष्टि गर्ने कार्य माइनिङ हो । माइनिङ सप्mटवेयर डाउनलोड गरेर जोकोहीले माइनिङ गर्न सक्दछ । एउटा कारोबार हुन १० मिनट समय लाग्दछ । १० मिनटमा जम्माजम्मी नयाँ १२.५ बिटक्वाइन सिर्जना हुन्छ । विश्वका विभिन्न ठाउँबाट धेरै व्यक्तिहरुले माइनिङ गरिरहेका हुन्छन् । त्यो बिटक्वाइन माइनिङ गर्नेलाई बाँडिएर खातामा प्राप्त हुन्छ । सबै बिटक्वाइन धनीको कारोबारको रेकर्ड ब्लकचेनमा थपिंदै जान्छ । यसको डाटाबेस कुनै व्यक्ति कम्पनीले राखेको हुँदैन । विश्वभर जति जनाले माइनिङ एप्लिकेसन प्रयोग गर्दछन् । ती सबैको कम्प्युटरमा यो रेकर्ड रहेको हुन्छ । त्यसैले यसको रेकर्ड हराउने वा नष्ट हुने सम्भावना हुँदैन । यसको नियम कसैले बदल्न सक्दैन । बिटक्वाइन कागज वा धातुमा उपलब्ध हुँदैन । यो मुद्रा कम्युटर एलगोरिदमबाट सिर्जना हुने गर्दछ । यसमा डाटा इनक्रिप्ट गरिएको हुन्छ । यसलाई क्रिप्टोकरेन्सी भनिन्छ । बिटक्वाइनको कारोबार गर्ने व्यक्तिको नाम, ठेगाना, मोबाइल नम्बर केही खुल्दैन । त्यसैले यो मानिसहरुका लागि सुरक्षित मुद्रा हो । बिटक्वाइनको आविस्कार कसले ग¥यो भन्ने थाहा छैन । सतोषी नाकामतो भन्ने छदम नाम राखेका व्यक्तिले यो सप्mटवेयर सन् २००९ मा लन्च गरेका हुन् । सुरुमा उनले ५० बिटक्वाइन विशेष तरिकाले सिर्जना गरे । त्यसपछि ती बिटक्वाइनलाई एकअर्कामा आदानप्रदान गरे । कारोबार र माइनिङ व्यक्ति व्यक्ति हुँदै विश्वभर फैलियो । सुरुवातमा माइनिङबाट १० मिनटमा ५० बिटक्वाइन निस्कन्थ्यो । हरेक चार वर्षमा प्रति १० मिनटमा सिर्जना हुने बिटक्वाइनको संख्या आधा हुँदै जान्छ । दोस्रो चार वर्षमा यो प्रति १० मिनट २५ बिटक्वाइन थियो भने अहिले प्रति १० मिनट १२.५ बिटक्वाइनमा झरेको छ । नयाँ बिटक्वाइन सिर्जना बन्द भएपछि कारोबारमा संलग्न व्यक्तिले केही कमिसन माइनिङ गर्नेलाई दिनुपर्ने नियम रहेको छ । कम्तीमा ४८ मुलुकमा बिटक्वाइन एक्सचेञ्जमार्फत हुने पुँजीगत नाफामा सरकारले पुँजीगत लाभ कर लिने गरेको छ । अमेरिकामा पनि बिटक्वाइनमा पुँजीगत लाभकर लिइन्छ । अमेरिकामा सबै प्रकारका सरसामान बिटक्वाइनले किन्न सकिन्छ । माइनिङबाट निर्माण भएको बिटक्वाइन आम्दानीलाई व्यक्तिको आम्दानीमा कसरी हिसाब गर्ने भन्ने समस्या रहेको छ । त्यस्तै, पहिचान नखुल्ने भएको हुनाले प्रतिबन्धित वस्तु खरिद गर्न बिटक्वाइन प्रयोग हुन सक्छ । बिटक्वाइन राखिएको आप्mनो कम्प्युटर वा मोबाइल वालेटको की नम्बर बिर्सियो भने आफ्नो पैसा फिर्ता पाउन सकिंदैन, सबै गुम्छ ।

बैंकलाई चुक्ता पुँजी बढाउन ६ महिना समय थपिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको चुक्ता पुँजी वृद्धिको समय ६ महिना थपिदिने भएको छ । केहि बैंक तथा वित्तिय संस्थाहरुलाई असार मसान्तसम्ममा चुक्ता पुँजी वृद्धि गर्न समस्या उत्पन्न भएपछि केन्द्रिय बैंकले ६ महिना समय थप्ने गृह कार्य थालेको हो । चालु आर्थिक बर्ष सकिएको ६ महिना भित्र तोकिएको चुक्ता पुँजी पुर्याउने समय उपलब्ध गराउनेबारे छलफल भैरहेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । उक्त अवधीमा पनि चुक्ता पुँजी पुर्याउन नसक्ने वित्तिय संस्थालाई भने कारवाही गरिने उनले जानकारी दिए । केन्द्रिय बैंकले २०७४ असार मसान्तभित्र बाणिज्य बैंकको ८ अर्ब, राष्ट्रिय स्तरका विकास बैंकको २ अर्ब ५० करोड, चार देखि १० जिल्ले विकास बैंकको १ अर्ब ५० करोड, एकदेखि ३ जिल्ला कार्यक्षेत्र भएका विकास बैंकको ५० करोड चुक्ता पुँजी पुर्याउने पर्ने व्यवस्था ल्याएको थियो । त्यस्तै, राष्ट्रिय स्तरका फाइनान्स कम्पनीको ८० करोड, ४ देखि १० जिल्ला कार्य क्षेत्र फाइनान्स कम्पनीको चुक्ता पुँजी ४० करोड पुर्याउनुपर्ने भनेको थियो । नागरिक दैनिकबाट

प्रचण्ड सरकारले गरेका दुई गल्ती

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार पदबाट राजीनामा दिएका छन् । मंगलबार नै संसदमा संबोधन गरेर राजीनामा दिने तयारी गरेको थिए । तर प्रमुख विपक्षी दल नेकपा एमालेले संसदमा अवरोध गरेपछि उनले संसदलाई संबोधन गर्न पाएनन् । उनले सिंहदरबारस्थित आफ्नै कार्यालयबाट जनताको नाममा संबोधन गर्दै राजीनामाको घोषणा गरे र राष्ट्रपतिलाई राजीनामा दिन गए । प्रधानमन्त्रीको हैसियतमा बोल्ने अन्तिम सम्बोधनमा आफ्नो नेतृत्वले १० महिनाको अवधिमा गरेका कामको चर्चा गरे । उनको कार्यकालमा देशमा राजनीतिक स्थायीत्व देखियो । आर्थिक वृद्धि ७.५ प्रतिशत भयो । मूल्यवृद्धि कम रह्यो । लोसेडिङ अन्त्य भयो । २० वर्षदेखि रोकिएको स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भयो । देशको अन्तराष्ट्रिय सम्बन्धमा सुधार आयो । समग्रमा उनी सफल प्रधानमन्त्री भए । उनी प्रधानमन्त्री हुँदा देशको अवस्था राम्रो थियो । उनकै शब्दमा त्यतिखेर संविधान कार्यान्वयनको गति अत्यन्त सुस्त र राजनीतिक वातावरण पनि अत्यन्त तनावपूर्ण थियो । एकथरी निराशावादीले अब नेपाल राजनीतिक र संवैधानिक शून्यतामा जाने भविष्यवाणी गरिरहेका थिए र अर्काथरीले राष्ट्रिय अखण्डतामै आशंका गरिरहेका थिए । सबै आर्थिक सूचांकहरु निराशाजनक थिए । २० घण्टासम्मको लोडसेडिङ सामान्य मानिन्थ्यो । विकासका चर्का भाषण त थिए, तर आर्थिक वृद्धिदर एक प्रतिशत पनि थिएन । भूकम्पपीडितहरुको बिचल्ली थियो । छिमेकीहरुसँगको सम्बन्ध सहज थिएन । यसरी चौतर्फी राजनीतिक, सामाजिक, आर्थिक र कूटनीतिक समस्या थिए । ती सबै समस्यामा धेरै हदसम्म समाधान गर्न सरकार सफल भयो । सरकारले राष्ट्रिय अर्थतन्त्रमा समेत ऐतिहासिक सफलता प्राप्त गरेको छ । राजीनामा दिदै गर्दा उनले भने–मैले आवेग, आलोचना वा आक्रोशमा राजीनामा गरेको हेइन, राजनीतिमा नैतिकता र इमान्दारिताको खडेरी तोड्न सत्ताधारी दलसँग गरिएको सहमतिका आधारमा राजीनामा गरेको हुँ । उनको राजीनामाको सत्ता साझेदार नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवाले तारिफ गरे । जनस्तरमा पनि प्रचण्डको तारिफ नै भयो । राजनीतिक जीवनमा प्रचण्डले नयाँ उचाई प्राप्त गरेको छन् । तर उनले दुई वटा गल्ती पनि गरेका छन् । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने, सरकारको बजेट संसदमा प्रस्तुत गर्ने बेलामा उनले राजीनामा गरे । संविधानमा व्यवस्था भएअनुसार देशले सरकारी नीति तथा कार्यक्रम पाएन । बजेट नियमित हुन सकेन । कुनै पनि सरकारले ठिक समयमा ठिक काम गर्नपर्छ । संविधानमा जेठ १५ गते बजेट पेश गर्ने स्पष्ट व्यवस्था छ । प्रचण्डले जेठ १० गते राजीनामा गरे । नयाँ सरकार बन्न कम्तिमा ११ दिन लाग्ला । काम चलाउ सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले बाचन गरिन् । जेठ १५ गते अर्थमन्त्रीले कर्मकाण्डी बजेट संसदमा पेश गर्ने तयारी गरेका छन् । यो राष्ट्र र जनतामाथि गरिएको, संविधान कार्यन्वयनको क्रमा प्रणालीगत रुपमा गरिएको गम्भिर गल्ती हो । यो समयमा राजीनामा गरेर प्रधानमन्त्रीले केटौले पारा प्रस्तुत गरेका छन् । संविधानमा जेठ १५ गते बजेट पेश गर्ने व्यवस्था किन गरियो ? सबैले स्मरण गर्नुपर्छ । बजेटको मूखका सरकार परिवर्तन, राजनीतिक वहानाबाजी र षढयन्त्रको शिकार राष्ट्रिय बजेट हुने र जनजीविकामा नै गम्भिर असर पर्ने काम भएपछि संविधानमा उक्त व्यवस्था गरिएको हो । फेरी गलत नजिर बनाउने काम गरियो । कृष्णबहादुर महराले कर्मकाण्डी बजेट पेश गर्ने, देउवा प्रधानमन्त्री भएपछि अर्को बजेट ल्याउने जुन तयारी छ यो गलत अभ्यास हो । यसले संविधानको धज्जी उडाउँदैछ । प्रचण्डले दोस्रो गल्ती पनि राजीनामा चाँडो गर्नु नै हो । घोषित मितिमा निर्वाचन नगरी सरकार परिवर्तन कुनै पनि दृष्टिकोणबाट सहि होइन । उनले राजीनामा गरेपछि दोस्रो चरणको निर्वाचन हुने नहुनेमा दुविधा छ । दोस्रो चरणको निर्वाचन भएन भने त्यसको दोष देउवाले मात्र होइन, प्रचण्डले पनि खेप्नुपर्नेछ । जेठ ३१ गते चुनाव गराएर असार २/३ गते राजीनामा गरेको भए बजेट पनि नियमित हुन्थ्यो, उनको नेतृत्वको सरकारले दिने नीति, कार्यक्रम र बजेट पनि नागरिकले हेर्न पाउने थिए, निर्वाचन पनि हुने थियो, सत्ता साझेदार दलसँग राजनीतिक बेइमानि पनि हुने थिएन । प्रचण्ड सरकार विरुद्ध कुनै दलले संसदमा अविश्वासको प्रस्ताव पेस गर्ने पनि थिएनन् ।