विकासन्युज

फेवा विकास बैंकको नयाँ एटीएम सेवा बुटवलमा, हालसम्म १६ वटा सञ्चालनमा

काठमाडौं । फेवा विकास बैंक लिमिटेडले रुपन्देही–बुटवल स्थित नयाँगाउँ शाखाबाट एटीएम सेवा प्रारम्भ गरेको छ । उक्त एटीएम सेवाको उद्घाटन फेवा विकास बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा तथा बुटवल नयाँगाउँ स्थित स्वामिनारायण मुक्तिनाथ धामका स्वामि लोकानन्द महाराजले संयुक्त रुपमा गरेका छन् । यो समेत बैंकको देशभरमा एटीएम संजाल १६ वटा पुगेको जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए । उनले भविश्यमा आधुनिक बैंकिङ्गका यस्तै अन्य सेवाहरु समेत थप गर्दै जाने र स्थानिय सेवाग्राहीहरुलाई सुविधा पुर्याउने बैंकको लक्ष्य रहेको बताए । सोही अवसरमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल उपमहानगरपालिका-१३ मा अवस्थित अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र (साहारा घर) मा आश्रीत अनाथ बालबालिकाहरुलाई खाद्यान्न तथा स्टेशनरी सामाग्रीहरु समेत वितरण गरेको छ ।

सरकारी सेयरमा २४ प्रतिशत नाफा, २३ संस्थानले ३५ अर्ब कमाए

काठमाडौं । सरकारी लगानीमा चलेको २३ वटाले आर्थिक वर्ष २०७२/७३ मा करिव ३५ अर्ब (३४ अर्ब ९४ करोड) रुपैयाँ नाफा गरेका छन् । ४१ वटा संस्थान मध्ये अरु सबै घाटामा गएका छन् । सबै संस्थानमा सरकारको सेयर लगानी १ खर्ब ४३ अर्ब ५६ करोड रुपैयाँ छ भने ऋण लगानी १ खर्ब ३० अर्ब ५० करोड रुपैयाँ छ । सरकारी सेयरले २४ प्रतिशत नाफा पाएको छ । नाफा बाहेक संस्थानहरुबाट सरकारले गत वर्ष ७ अर्ब ८१ करोड राजश्व आम्दानी गरेको छ । कुल राजश्वमा संस्थानको योगदान १.६२ प्रतिशत मात्र छ । जीडीपीमा संस्थानको आम्दानीको योगदान करिव १० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी नाफा आयल निगमले १९ अर्ब ३५ करोड गरेको छ भने सबैभन्दा धेरै घाटा विद्युत प्राधिकरणले ८ अर्ब ९० करोड घाटा खाएको छ । धेरै घाटा खानेका उदयपुर सिमेन्ट, नेशनल ट्रेडिङ, नेपाल औषधि लिमिटेड, जनक शिक्षा सामाग्री केन्द्र, राष्ट्रिय बीमा संस्थान, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी, हेटौडा सिमेन्ट उद्योग, खाद्य संस्थान रहेका छन् । संस्थानहरुको आम्दानी भने घटेको छ । आर्थिक वर्ष २०७२/७३ मा सार्वजनिक संस्थानको आम्दानी ३५ अर्ब ६७ करोड रुपैयाँले घटेको छ । आर्थिक वर्ष २०७१/७२ मा संस्थानहरुको कुल सञ्चालन आय २ खर्ब ८७ अर्ब १६ करोड रहेकोमा आर्थिक वर्ष २०७२/७३ मा २ खर्ब ४० अर्ब ४९ करोडमा सीमित भएको अर्थमन्त्रालले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ । २०७२ साल बैशाखमा आएको भूकम्पले संस्थानको आयमा १२.९१ प्रतिशतले आयमा गिरावट आएको मन्त्रालयको तर्क छ । हाल ७ वटा औद्योगिक, ६ वटा व्यापारिक, ७ वटा सेवा प्रदायक, ५ वटा सामाजिक, ५ वटा जनउपयोगी र ११ वटा वित्तीय गरी ४१ वटा संस्थान रहेको छन् । २०४७ सालमा ६३ वटा संस्थान थिए । ३० वटा निजीकरण गरियो । तिनीहरु मध्ये अधिकांश संस्थानको अस्थित्व नै मेटिएको छ । थप ८ वटा नयाँ संस्थान जन्माइएको छ ।

हिमालयन ट्राभल मार्ट जेठ १८ देखि २१ सम्म हुने

काठमाडौँ । पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो र अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टमा ५४ देशका दुई सय ३० देशका पाहुना सहभागी हुने भएका छन् । जेठ १८ देखि २१ सम्म काठमाडौँमा आयोजना हुने मार्टको सम्पूर्ण तयारी पूरा भएको आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएसन ,पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए। मार्टमा छिमेकीमूलुक भारत, चीन, श्रीलङ्का, सिङ्गापुर, कोरिया, बेलायत, अमेरिका, दक्षिण अमेरिकालगायत मुलुकका पर्यटनसँग सम्बन्धित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ । त्यस्तै ब्लगर, क्रेता, बिक्रेताको पनि सहभागिता हुनेछ । मार्टमा आउने पाहुना अधिकांश नेपाल आइसकेको र उनीहरु नेपालको कला, संस्कृति, प्राकृतिक सुन्दरताको अवलोकन गर्न पनौती, चितवन, पोखरा, लुम्बिनी भ्रमणमा निस्केका छन् । सोल्टी होटलमा आयोजना हुने मार्टमा ९३ जना ब्लगर, ७० जना क्रेता, ४५ जना बिक्रेता र प्रख्यात वक्ताको सहभागिता रहने जनाइएको छ । भूकम्प र नाकाबन्दीले थिलथिलो पारेको पर्यटन उद्योगलाई मार्टमार्फत विश्व बजारमा नेपालको पर्यटनको चर्चा र बहस हुने अध्यक्ष पाण्डेले बताए। नेपालमा अन्तराष्ट्रियस्तरको पर्यटन ‘इभेन्ट’ पहिलो पटक हुन गइरहेकोले नेपाली पर्यटन उद्योगको हिमालयन ट्राभल मार्ट कोसेढङ्गा हुने पर्यटन विज्ञहरुले आशा गरेका छन् । हिमालयन ट्राभल मार्टबाट नेपाली पर्यटनको ‘प्रोडक्ट’ लाई विश्व बजारमा कसरी आधुनिक शैलीमा बेच्न सकिन्छ भन्ने जानकारी मिल्नेछ । नेपाल हिमालयको प्रवेशद्वार हो भन्ने कुरालाई यस मार्टले पुष्टि गर्ने आयोजकले जानाएको छ ।

सनराइज बैंकको नयाँ शाखा कालिकास्थानमा, हेटौडामा पनि खोल्ने तयारी

काठमाडौं । सनराइज बैंक लिमिटेडले काठमाडौंको कालिकास्थान (घट्टेकुलो) रहेको आफ्नै भवनमा शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन् आइतबार एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका छन् । यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पुर्याउन सक्षम हुुुुनुका साथै कालिकास्थान र घट्टेकुलो क्षेत्रका ग्राहकलाई सुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा प्राप्त हुने विश्वास लिएको छ । उक्त शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ । हाल बैंकले ७० वटा शाखा र ८० वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बढीभन्दा बढी सुविधा उपलब्ध गराउने उद्देश्यले केहि दिन भित्र मकवानपुरको हेटौडामा शाखा विस्तार गर्दै छ । बैंकको वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन. काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १६ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।

सार्वजनिक संस्थामा लगानी तीन खर्ब, प्रतिफल न्यून

  काठमाडौँ । मुलुकका सार्वजनिक संस्थानमा रु दुई खर्ब ७४ अर्ब लगानी प्रवाह भए पनि अपेक्षित उपलब्धि भने हासिल हुन नसकेको सरकारी तथ्याङ्कले देखाएको छ । सरकारले व्यवस्थापिका–संसद्मा आज पेस गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–२०७४’ मा लगानीको तुलनामा अपेक्षित उपलब्धि हासिल हुन नसक्नु कमजोर वित्तीय एवम् व्यवस्थापकीय अवस्थालाई औँल्याइएको छ । कुल गार्हस्थ्य उत्पादनमा संस्थानहरुको सञ्चालन आयको योगदान १० प्रतिशतको हाराहारीमा रहे पनि तिनको कमजोर व्यवस्थापनका कारण विकासको मेरुदण्डका रुपमा रहेका संस्थानको सञ्चालन पूर्ण क्षमतामा हुन नसक्नु गम्भीर चुनौती भएको समीक्षामा स्वीकरिएको छ । उक्त समीक्षामा सार्वजनिक संस्थानहरुको समग्र तथा क्षेत्रगत कार्यसम्पादन, विश्लेषण, व्यवस्थापकीय विश्लेषण, विनिवेश खारेजी र विघटनको अवस्था, सञ्चालन÷व्यवस्थापनका सबल र दुर्बल पक्ष समेटिएको छ । ‘समृद्ध नेपालको आधार समृद्ध गाउँ÷नगर’, ‘समृद्ध गाउँ÷नगरको आधार समृद्ध समाज’ भन्ने मान्यताका साथ मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि समृद्ध राष्ट्रको सोच बनाएको वर्तमान सरकारले सार्वजनिक संस्थानलाई दीर्घकालीन सोचका साथ सुधारको मार्गमा अग्रसर गराउने प्रयास गरेको छ । सङ्घीयता कार्यान्वयनका क्रममा संस्थानहरुको सञ्चालन ढाँचा, संरचना तथा व्यवस्थापन चुस्त बनाउन सम्बन्धित मन्त्रालयलाई सरकारले निर्देशनसमेत दिएको छ । उक्त समीक्षा सदनमा प्रस्तुत गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सार्वजनिक संस्थानमा सरकारले प्रवाह गरेको लगानीको प्रतिफल प्राप्त हुनुपर्छ भन्ने मान्यताका साथ इमान्दारीपूर्वक काम गर्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो । आर्थिक वर्ष २०७२÷७३ मा सञ्चालनमा रहेका ३५ वटा संस्थानमध्ये २३ वटा नाफामा र १२ वटा नोक्सानमा रहेका समीक्षामा उल्लेख छ । रासस

आइतबारको सेयर बजारमा ७५ करोडको सेयर कारोबार, सबैभन्दा बढी सिद्धार्थ बैंकको

काठमाडौं । आइतबारको सेयर बजारमा ७५ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४८ कम्पनीको १४ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी सिद्धार्थ बैंकको सेयर कारोबार भएको छ । आइतबार बैंकको ११ करोड ५ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ६७० रुपैयाँ रहेको छ । त्यस्तै, स्ट्याण्डार्ड चार्टर्ड बैंकको ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार नेप्से परिसूचक दोहो अंकले घटेको छ । साताको पहिलो दिन परिसूचक १४ अंकले घटेर १६१५ दशमलब ५८ अंकमा झरेको छ । त्यस्तै, कारोबारमा आएका दुई समूहको परिसूचक उकालो लागेको छ भने बाँकी ६ वटा समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १३४ अंकले झरेको छ ।

कन्काई विकास बैंकलाई २१४ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कन्काई विकास बैंक लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले १ः२.१४ अर्थात् २१४ प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले ३२ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले ३२ करोड १० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

एनएमबी बैंक र शिखर इन्स्योरेन्सको एफपीओ रोकिने, पाँच वर्षको अन्तरमा मात्र एफपीओ दोहोर्याउन पाउने नयाँ नियम

काठमाडौं । शिखर इन्स्यारेन्स कम्पनी र एनएमबी बैंकले प्रस्ताव गरेको एफपीओ रोकिने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली २०७४ जारी गर्दै कुनै पनि कम्पनीले एउटा एफपीओ जारी गरेको ५ वर्षपछि नयाँ एफपीओ जारी गर्न पाउने व्यवस्था गरेको छ । नयाँ नीतिको पहिलो असर शिखर इन्स्योरेन्स कम्पनी र एनएमबी बैंकको एफपीओलाई पर्ने धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रबक्ता निरज गिरीले बताए । शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख ६२ हजार ७८१ कित्ता एफपीओ निष्काशन गर्न अनुमति माग गर्दै २०७३ फागुन २ गते आवेदन गरेको थियो । यस कम्पनीले एक वर्षअघि पनि एफपीओ जारी गरेको थियो । त्यस्तै एनएमबी बैंकले १ अर्ब १४ करोड रुपैयाँ बराबरको एफपीओ जारी गर्ने निर्णय गरेको छ । एफएमओलाई जारी एफपीओ र पब्लिकलाई जारी गरेको एफपीओलाई समान रुपमा हेर्न नमिल्ने भएकोले आफूहरुले प्रस्ताव गरेको एफपीओमा समस्या हुनु नपर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले एफपिओका नाममा सूचिकृत कम्पनीलाई व्यापार गर्न नदिने स्पष्ट पारे । उनले भने-‘काम गरेर नाफा कमाउनुस, एफपिओ जारी गरेर नाफा कमाउन मिल्दैन र हामी त्यस्तो हुन पनि दिने छैनौं ।’ बोर्डले निर्देशिका जारी हुँदा स्वीकृत प्राप्त गरिसकेका कम्पनीले दोश्रो पटक नै भएपनि एफपिओ निष्काशन गर्न पाउने तर बोर्डबाट स्वीकृती नपाएका कम्पनीले भने पाँच बर्ष कुर्नुपर्ने स्पष्ट पारेको छ ।