विकासन्युज

रसुवागढी नाका पुनः सञ्चालनमा

रसुवा। स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार निर्वाचनको समयमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न समझदारीबाट सर्वसाधारण र सवारी साधन आवागमनमा चिनियाँ पक्षले रोक लगाएको थियो । सो नाका खुल्ला भएपछि बिहीबारदेखि सामान आयात निर्यात हुन थालिसकेको छ । आजसम्म सयौँ ट्रक र कन्टेनर सामान लिनका लागि रसुवागढीको मितेरी पुलबाट केरुङतर्फ गएका छन् । रासस

सिटिजन्स बैंकले शुरु गर्यो दमकबाट एटिएम सेवा, काठमाडौंको कमलादीमा पनि

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शुक्रबारबाट आफ्नो दमक शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । साथै काठमाडौंको कमलादी स्थित बैंकको एटिएम स्थानान्तरण गरेको बैंकले जनाएको छ । उक्त दमक शाखाबाट एटिएम सेवा विस्तार पछि बैंकको कुल एटिएम संख्या ५८ पुगेको छ । बैंकले आफ्नो ५८ वटा शाखा र ९७ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ४ लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ । हाल बैंकको उपत्यका भित्र २९ वटा तथा उपत्यका बाहिर २९ वटा एटिएम सञ्चालनमा रहेको छ ।

सेयर बजारमा दुई अर्ब ५८ करोड रुपैयाँको कारोबार, सबैभन्दा बढी बीमा कम्पनीको

काठमाडौं । यस साता सेयर बजारमा दुई अर्ब ५८ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ । सो रकम गत साताको भन्दा ७ दशमलब ९१ प्रतिशत घटि हो । गत साता बजारमा दुई अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस साता जम्मा चार दिन खुलेको बजारमा १५५ कम्पनीहरुको ८३ लाख २६ हजार २२० कित्ता सेयर किनबेच भएका छन् । सो अवधिमा सबैभन्दा बढी बीमा कम्पनीहरुको सेयर कारोबार भएको छ । त्यस्तै, हिमाल जनरल इन्स्योरेन्स कम्पनीको एक करोड ८८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको १ करोड १३ लाख र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार रकम सँगै साताको नेप्से परिसूचक पनि ओरालो लागेको छ । परिसूचक पहिलो दिनको तुलनामा १५.३६ अंकले घटेर अन्तिम दिन १६४३.८७ अंकमा पुगेको छ । यसैगरी समूहगत परिसूचकहरुमा पनि उतारचढाव आएको छ । सबैभन्दा बढी उत्पादनमूलक समुहको परिसूचक ९८.६४ अंकले उकालो लागेको छ । त्यस्तै, होटल समूको परिसूचक २२ अंकले उकालो लागेको छ । बीमा, वाणिज्य बैंक र जलविद्युत समूहको परिसूचक क्रमशः ४३, २५ र १४ अंकले ओरालो लागेका छन् ।

मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद निष्काशन गर्न माग्यो बोर्डको अनुमति

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति मागेको छ । कम्पनीले १०ः४ को अनुपातमा ६ लाख १७ हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले एनआइबिएल क्यापिटल मार्केट मार्फत ६१ करोड ७० लाख ८६ हजार ५०४ रुपैयाँको हकप्रद जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।

टरेन तरलता अभाव, घटेन ब्याजदर

काठमाडौं । जेठ ३ गते मेगा बैंक नेपालले २५००० हजारको मुद्धति खातामा १२ प्रतिशत ब्याज दिने र त्यसको भुक्तानी १५/१५ दिनमा गर्ने सार्वजनिक सूचना प्रकाशित गर्यो । नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष समेत रहेका मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह भन्छन–हामीले १२ प्रतिशत ब्याजदरमा मुद्धति खातामा निक्षेप आव्हान गर्नु भनेको तरलता अभाव टरेको छैन भन्ने प्रमाण हो, तरलताको अभाव क्रमशः घटिरहेको छ तर अपेक्षा गरे अनुसार निक्षेप वृद्धि भैरहेको छैन् ।’ बाणिज्य बैंकहरु संस्थागत निक्षेप कर्ता भन्दा पनि व्यक्तिगत निक्षेप कर्ताहरुलाई आकर्षित गर्न लागिपरेको शाह बताउँछन् । ‘साना साना तर दिगो प्रकृतिका व्यक्तिगत निक्षेप कर्तालाई आकर्षित गर्ने प्रयास गरिरहेका छौं, संस्थागत निक्षेप कर्ताले जुनसुकै समयमा ठुलो रकम झिक्न सक्ने भएकाले व्यक्तिगत निक्षेप कर्तालाई प्राथमिकतामा राखेका हौं’, शाहले भने । स्थानिय तहको निर्वाचनले तरलता अभावको समस्या टर्ने आंकलन गरिएपनि त्यस्तो नदेखिएको पनि उनले बताए । उता, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पनि बजारमा तरलता अभाव कायमै रहेको बताए । ‘निक्षेप बढेको छैन्, तर कर्जाको मात्रा बढिरहेकै छ, स्थानिय तहको निर्वाचनमा बजारमा पैसा आउँछ भन्ने आंकलन थियो तर खासै सकारात्मक प्रभाव देखिएन’, दाहालले विकासन्युजसँग भने । अहिले पनि निक्षेप भन्दा कर्जाको मात्रा बढिरहेको पनि दाहालले बताए । ‘मौद्रिक नीतिको मध्यावधि समिक्षाले केहि राहत दिएको छ तर पनि असारसम्ममा सिडी रेसिया ८० प्रतिशतमा ल्याइसक्नुपर्ने भएकाले बैंकहरु हच्किएका पनि छन् ।’, दाहालले भने । दाहालका अनुसार बैशाखसम्ममा बाणिज्य बैंकहरुमा १९ खर्ब ५५ अर्ब निक्षेप संकलन भएको छ भने १६ अर्ब ६५ करोड कर्जा प्रवाह भएको छ । बैशाखसम्म आइपुग्दा बाणिज्य बैंकहरुको सिडी रेसियो ८५ दशमलब १७ प्रतिशत पुगेको छ । गत चैतमा १९ खर्ब ५० अर्ब निक्षेप थियो भने कर्जा १६ खर्ब ५६ अर्ब थियो । त्यसबेला सिडी रेसियो पनि ८४ दशमलब ९२ प्रतिशत थियो । तर  नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने बैंकिङ प्रणालीमा ४८ अर्बको तरलता रहेको बताए ।

हुन्डाइ मोटरद्धारा लक्ष्मी इन्टर कन्टिनेन्टललाई ‘रिजनल एक्सिलेन्स अवार्ड’ प्रदान

काठमाडौं । नेपालका लागि हुन्डाइ मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सन् २०१६ को ‘रिजनल एक्सिलेन्स अवार्ड’ पाएको छ । हुन्डाइ मोटर कम्पनीले ५० वर्ष पार गरेको अवसर कोरियामा आयोजना गरेको ‘ग्लोबल डिष्ट्रिब्युसन कन्भेन्सन’ को अवसरमा सो अवार्ड प्रदान गरिएको हो । लक्ष्मी ग्रपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले उक्त अवार्ड ग्रहण गरेका छन् । २७ देखि ३० बैशाखसम्म उक्त कन्भेन्सनमा १३२ मुलुकबाट २८४ सहभागी थिए । ‘फिप्टी इयर्स एन्ड मोर’ नाराका साथ आयोजना भएको सम्मेलनमा कम्पनीका तर्फबाट ५० वर्षको अनुभव र भावी योजना ‘शेयर’ गरिएको थियो । ‘सिइओ कन्फरेन्स’को अवसरमा हुन्डाइ मोटरले ‘टप टायर अटोमोटिभ ब्रान्ड’ बन्ने घोषणा गरेको छ । त्यसका लागि विश्वभरका उपभोक्तालाई ‘हाइ भ्यालु’ सेवा दिने कम्पनीले जनाएको छ ।

यति एयरलायन्स र संयुक्त राष्ट्र संघबीच साझेदारी, नेपालमा दिगो विकास हासिल गर्ने

काठमाडौं । यति एयरलायन्स र नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालयले नेपालमा दिगो विकासका लक्ष्य हासिल एवम् प्रवद्र्धन गर्नका लागि नयाँ साझेदारीको सुरुवात गरेका छन् । यस सम्झौता अन्तर्गत राष्ट्र संघ र यति एयरलायन्सले दिगो विकास लक्ष्य सम्बन्धी जनचेतना जगाउनका साथै आवश्यक सरोकारवालाहरुको परिचालन साथै यसको कार्यन्वयनका लागि सम्बन्धित सरोकारवालाहरु संयुक्त रुपमा पहल गर्नेछन् । साथै, यस सहकार्यले वातावरण परिवर्तन अनुकुल, गरिबीन्युनीकरण र लैङ्गिक समनता लगायतका क्षेत्रसँग सम्बिन्धत लक्ष्य हासिल गर्ने उड्डयन र पर्यटनको क्षेत्रमा नयाँ र दिगो व्यवसायिक मोडेलको खोजी अवलम्बन एवम् प्रर्वद्धन गर्नेछ । नेपाल लगायत राष्ट्रसंघका सदस्य राष्ट्रहरुले सन् २०१५ को सेप्टेम्बरमाअवलम्बनगरिएको दिगो विकास लक्ष्य र एजेण्डा २०३० ले विश्व व्यापी लक्ष्य हासिल गर्नै निजी क्षेत्रलाई एक महत्वपूर्ण साझेदारको रुपमा लिएको छ । दिगो विकास लक्ष्य कार्यन्वयन प्रक्रिया अगाडि बढाउनका लागि साधन स्रोत प्रवृत्ति र नयाँ कार्यका सुरुका लागि निजी क्षेत्रको उल्लेखनीय भूमिका रहेको छ । ललितपुरको पुल्चोक स्थित युएन हाउसमा भएको समझदारी पत्रमा युनडीपी नेपालका निर्देशक रेनो मेयर र यति एयरलायन्सका प्रमुखकार्यकारी अधिकृत उमेशचन्द्र राईले हस्ताक्षर गरेका थिए । ‘नेपालमा विश्वव्यापी लक्ष्यका लागि यति एयरलायन्सलाई पहिलो निजी क्षेत्रको साझेदारको रुपमा पाँउदा राष्ट्रसंघ खुसी र उत्साहित भएको छ । यसले नेपालको विकासमा निजी क्षेत्रको भूमिका रहेको सन्देश दिएको छ ।’ युनडीपी नेपालका निर्देशक रेनो मेयरले भने ‘दिगो विकास लक्ष्य सरकार र राष्ट्रसंघको मात्र जिम्मेवारी नभई निजी क्षेत्र र नागरिक समाजलगायत सबै नागरिकके जिम्म्ेवारी हो । यही लक्ष्य हासिल गर्ने सरोकारवालाहरुबीच सबै तहका कार्यक्रमको योजना, कार्यन्वयन र अनुगमनको चरणमा हुने सामूहिक साझेदारीले नै यी लक्ष्य प्राप्तिमा निर्भर रहन्छ ।’

सिभिल बैंककोे छैठौं वार्षिक साधारण सभा सम्पन्न, युनिक र हामा मर्चेन्टलाई प्राप्ति गर्ने

काठमाडौं । सिभिल बैंक लिमिटेडले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बिहीबार सम्पन्न कम्पनीको साधारण सभाले आ.व.२०७२/७३ को नाफाबाट शेयरधनीहरुलाई २.८८% बोनस शेयर तथा कर प्रयोजनको लागि ०.१५१६% नगद लाभांश बितरण गर्ने निर्णय पारित गरेको छ । साथै, सभाले युनिक फाईनान्स लिमिटेड र हामा मर्चेन्ट फाईनान्स लिमिटेडलाई सिभिल बैंकले प्राप्ति गर्ने निणर्य गरेको छ । बोनश शेयर जारी तथा युनिक फाईनान्स लिमिटेड र हामा मर्चेन्ट फाईनान्स लिमिटेडलाई प्राप्ति गरे पश्चात कायम हुन आउने चुक्ता पूँजीको ३० प्रतिशत प्रस्ताव गरेकामा सभाले सो लाई संसोधन गरी ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । साथै हकप्रद शेयर निष्काशन तथा बाँडफाँड गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण काम कारवाही गर्न संचालक समितिलाई अख्तियार प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सोहि सभाले संस्थापक लगानीकर्ताहरुको समुहको तर्फबाट संचालक समितिमा सृजना शाक्य तामाङ्गलाई बाँकी अवधिको लागी गरेको नियूक्तिलाई अनुमोदन गरेको छ । सभाले पारित गरेको बोनस शेयर प्राप्ति र हकप्रद शेयर पछि बैंकको चुक्ता पूँजी नेपाल राष्ट्र बैंकले तोकेको समयमा पूरा हुने बैंकले जनाएको छ । बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ३३ अर्ब ८१ रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।