देशका केही भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा पर्न सक्ने प्रभावबारे सतर्क रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा अधिकांश बदली रही बाँकी भू-भागमा साधारणतया बदली रहेको छ । मधेस प्रदेशका एक/दुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा अधिकांश बदली रही बाँकी भू-भागमा साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी र मधेस प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका ठाउँको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
नबिल इन्भेष्टेमन्टले साउन ३० गतेदेखि एनआई ३१ बिक्री गर्ने
काठमाडौं । नबिल इन्भेष्टेमन्ट बैंकिङ्गले साउन ३० गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले खुलामुखी योजना एनआई ३१ बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका २ करोड ५० लाख इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सुरक्षित राखि बाँकी रहेको १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधरण लगानीकर्तालाई बिक्री गर्नेछ । कम्पनीको म्युचुअल फण्डमा लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा छिटोमा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा सबै इकाई बिक्री नभए भदौ १३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टेमन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् फण्डमा आवेदन दिन सक्नेछन् ।
पर्यटकलाई गोठालोसँग सुत्नुपर्ने बाध्यताको अन्त्य, बुकीपाटनमा ‘गोठबास’ले सहज
डम्मर बुढामगर काठमाडौं । ढोरपाटन उपत्यकादेखि करिब साढे ४ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुद्री सतहदेखि ४ हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो । भीर, जङ्घार र अग्ला पहाड छिचोल्दै यहाँ पुग्ने पर्यटक थकित हुन्छन् । उपत्यकादेखि लगातारको पैदल यात्रामा गर्पाछेडा पुगेका पर्यटकलाई विश्रामका लागि गोठबास (गोठस्टे) सञ्चालनमा ल्याइएको छ । केही समय अघिसम्म विश्रामका लागि यहाँ भेडी गोठबाहेक अरु कुनै पनि संरचना थिएन । गत वर्षदेखि बुकीपाटनमा पर्यटकको चाप बढ्न थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालनमा ल्याइएको हो । अहिले दैनिक जसो औसतमा एक सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक बुकीपाटन जाने गरेका छन् । विशेष गरी बर्खाको समयमा बुकीपाटन हरियाली देखिने र यहाँबाट अनगिन्ती हिमशृङखलासहित हजारौंका सङ्ख्यामा भेडाका बथानको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढेको हो । बुकीपाटन पुग्ने पर्यटकका लागि खाने र बस्नेको सुविधा नहुँदा उनीहरू भेडी गोठालेसँगै गोठमा रात बिताउने गर्थे । गोठमा रात बिताउँदा चिसोका कारण कति त बिरामीसमेत पर्थे । तर अहिले त्यो समस्याको कम भएको छ । पर्यटकको आगमनमा वृद्धि भएसँगै गत वर्षदेखि ढोरपाटनका सन्देश थापाले बुकीपाटनको प्रवेशद्वार गर्पाछेडामै गोठस्टे सञ्चालनमा ल्याएका हुन् । थापासँगै स्थानीय महेन्द्र घर्ती मगरले पनि यस वर्षदेखि गोठस्टे सञ्चालनमा ल्याउनु भएको छ । थापा र घर्ती मगरको गोठस्टे नजिकै छ । ढोरपाटन उपत्यकाबाट जाने पर्यटकलाई उनीहरुले स्वागत गर्नुहुन्छ । घण्टौँको यात्रापछि गर्पाछेडा पुग्ने पर्यटक लागि गोठस्टे विश्रामस्थल बनेको छ । गोठस्टेबाट पर्यटकले उच्च पहाड, हिमश्रृंखला र गोठालाको जनजीवन अनुभूत गर्न पाउँछन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष बुकीपाटन आउने पर्यटक बढेको गोठस्टे सञ्चालक सन्देश थापाले बताए । पछिल्लो समय बुकीपाटन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रचारप्रसार हुन थालेपछि पर्यटक बढ्न थालेको उनको भनाइ छ । बुकीपाटन गोठस्टे सञ्चालन गर्नुको मुख्य उद्देश्य यस क्षेत्रको प्रवर्द्धन गर्नु र पर्यटकको सेवा गर्नु भएको उनी बताउँछन् । गोठस्टेमा बास बस्ने पर्यटकलाई ढोरपाटनमा उत्पादन भएको आलु, बुकीपाटनमा रहेका भेडा च्याङ्ग्राको मासु, लेकाली साग, आँटो ढिडोलगायतका परिकार खान दिने गरेको थापाले बताए । ‘बुकीपाटनमा पर्यटक आउन थालेको धेरै भएको छैन, केही समय अघिसम्म यो क्षेत्र पर्यटकका लागि ओझेलमै थियो, दुई/तीन वर्षदेखि यहाँ बढी मात्रामा पर्यटक आउन थालेका हुन्, पोहोर सालदेखि मैले गोठस्टे सुरु गरे, यसवर्ष अर्को एक जना साथीले पनि सुरु गर्नुभएको छ,’ उनले भने, ‘पहिले पर्यटक बुकीपाटन आउँदा गोठालासँग गोठमा बस्नु बाध्यता थियो, उहाँहरूलाई खाना र सुत्नका लागि निकै समस्या थियो, अहिले त्यो समस्याको समाधान गरेका छौँ ।’ महेन्द्र घर्तीमगरले गत असार पहिलो सातादेखि गर्पाछेडामा गोठस्टे सञ्चालन गरेका हुन् । ढोरपाटन उपत्यकामा होटल सञ्चालन गर्दै आउनुभएका घर्तीमगरले गोठस्टे सञ्चालन गरेपछि बास बस्न आउने पर्यटक बढेको बताए । गोठस्टेमा आउने पर्यटकले एक रातको बसाइँसँगै खाना र खाजाको २ हजार ५ सय शुल्क लिने गरेको उनको भनाइ छ । कोही पर्यटक बिहान ९ बजे बुकीपाटन पुग्ने र साँझ फर्किने गरेको उनले बताए । ‘बुकीपाटनमा पर्यटकको आगमनमा धेरै वृद्धि भएको छ, सडकको पहुँच नभएको हुँदा पद मार्गमार्फत यहाँ आउनुपर्छ, हिँडेर आउँदा धेरैलाई थकान लाग्छ, त्यति मात्रै होइन यो ठाउँ उच्च क्षेत्रमा पर्ने हुँदा लेक लाग्छ, केही त बिरामी पर्नुहुन्छ,’ घर्ती मगरले भने, ‘बुकीपाटन आउँदा स्वास्थ्यको ख्याल गरेर आउनुपर्छ, हामीहरुले गोठस्टेमा आउने पर्यटकका लागि सामान्य प्राथमिक उपचारको व्यवस्थाप गरेका छौँ, अब पर्यटकलाई पहिलेको जस्तो गोठमा बस्नुपर्ने अवस्था छैन ।’ गर्पाछेडाबाट फागुने, टीकाधार, लगायतका स्थानमा पुग्न सकिन्छ । गोठस्टेले बुकीपाटन आउँदा बसाइँ र यहाँको घुमफिरलाई सहज बनाइ दिएको पोखरा महानगरपालिका-७ बाट आएका मुकेश सुब्बाले बताए । बुकीपाटनमा आफू पहिलो पटक चार वर्ष अगाडि आएको भन्दै त्यस बेला गोठमै बसेर फर्किएको उनले सुनाए । गोठस्टेमा होटलको जस्तो सुविधा नभए पनि बास बस्न र खाना खानका लागि धेरै सहज भएको उनको भनाइ छ । रासस
प्रतिनिधिसभाको बैठक १ बजे बस्दै, अर्थमन्त्री पौडेलले भन्सार विधेयक पेस गर्ने
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । आजै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौतीलगायतका विषयमा’ समसामयिक छलफल गर्ने कार्यसूची छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा दफावार छलफल हुनेछ । विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ । त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन’का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
मोरङ उद्योग व्यापार संघमा इन्डस्ट्रियल अटोमेसन पावर कन्ट्रोल विषयकमा सात दिने तालिम सम्पन्न
काठमाडौं । इन्डस्ट्रियल अटोमेसन पावर कन्ट्रोल विषयक ७ दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ । साउन १४ गते देखि २० गतेसम्म मोरङ उद्योग व्यापार संघमा सञ्चालित उक्त तालिममा विभिन्न उद्योगका विद्युत प्राविधिक तथा इलेक्ट्रिसियनहरूलाई आधुनिक औद्योगिक विद्युत प्रणाली, अटोमेसन कन्ट्रोल, प्रोगामेबल लोजिक कन्ट्रोलर,मोटर ड्राइभ, विद्युत सुरक्षाका उपायहरु र ऊर्जा दक्षतासम्बन्धी विषयमा सैद्धान्तिक र व्यवहारिक सीपहरू प्रशिक्षण गराइएको हो । तालिमको समापन कार्यक्रमलाई सभापतित्व गर्दै मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले संघले आफ्नो मूलभूत उद्देश्य बमोजिम उद्योगरव्यवसाय क्षेत्रको विकास तथा आधुनिकिकरणका निम्ति आवश्यक पर्ने विविध विषयका तालिम तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । सोही क्रममा संघका महासचिव सञ्जयकुमार श्रेष्ठले तालिमबाट प्राप्त सीपहरू उद्योगहरूका लागि लाभदायक रहेको र प्रशिक्षार्थीहरूले आफू कार्यरत उद्योगमा कार्यान्वयनमा ल्याई विद्युतसम्बन्धी थप सुरक्षित र आधुनिक सेवाहरु प्रदान गर्न सक्ने बताए । संघका कार्यकारिणी सदस्य तथा संघको ऊर्जा समितिका संयोजक सुशील सुरानाले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना दिए । तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये एशियन विस्कुट एण्ड कन्फेक्सनरी उद्योगका प्राविधिक बलरामकुमार साहले आफुले तालिमबाट प्राप्त गरेको सीपहरू उद्योगको विद्युत व्यवस्थापनका लागि अत्यन्त उपयोगी र प्रभावकारी रहेको बताए । मोरङ(सुनसरी औद्योगिक करिडोरका विभिन्न उद्योगका विद्युत प्राविधिक तथा इलेक्ट्रिसियनहरूको सहभागिता रहेको उक्त तालिममा संघले प्रशिक्षक र प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र समेत वितरण गरेको थियो ।
नेपाल प्रहरीलाई एनएमबि बैंकको उद्दार सामग्री
काठमाडौं । मनसुनको मौसममा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै एनएमबि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत नेपाल प्रहरीलाई सहयोग गरेको छ । बैंकले मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी एउटा १६ फिटको सेल्फ(बेलिङ राफ्ट, लाइफ ज्याकेटहरू र अन्य विपद् उद्दार सामग्रीहरू हस्तान्तरण गरेको हो । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले नेपाल प्रहरीका प्रतिनिधि प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई औपचारिक रूपमा ती उद्दार सामग्रीहरू हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा हस्तान्तरण गरिएका सामग्रीहरूमा रबर बोटसहित लाइफ ज्याकेटहरू र अन्य आपतकालीन उपयोगी उपकरणहरू समावेश छन् । मनसुनको समयमा बाढी, डुबान तथा अन्य जलजन्य विपद् तथा आकस्मिक घटनाहरूको सम्भावना उच्च हुने भएकाले यस किसिमको सहयोगले प्रहरीको कार्यक्षमतामा सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ । एनएमबि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा विपद् व्यवस्थापन जस्ता विभिन्न क्षेत्रहरूमा निरन्तर योगदान पुर्याउँदै आइरहेको छ । यस प्रकारको सहयोगले समुदायमा बैंकको प्रतिबद्धता झल्काउने विश्वास बैंकको रहेको छ । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८७ एटीएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
एलएस क्यापिटलले घोषणा गर्यो ३ वटा म्युचुअल फण्डको लाभांश, कुनको कति ?
काठमाडौं । लक्ष्मी सनराइज (एलएस) क्यापिटलले ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलको मंगलबार बसेको बैठकले लक्ष्मी उन्नती कोष, सनराइज फस्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड ईक्विटीको लाभांश घोषणा गरेको हो । क्यापिटलले लक्ष्मी उन्नती कोषको कर सहित २० प्रतिशत, सनराइज फस्ट म्युचुअल फण्डको कर सहित १४ प्रतिशत र सनराइज फोकस्ड ईक्विटी फण्डको कर सहित १३.५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । आर्थिक वर्ष २०८१/८२ काे असारमा लक्ष्मी उन्नती कोषको खुद सम्पत्ति मूल्य १२.४६, सनराइज फस्ट म्युचुअल फण्डको कोषको खुद सम्पत्ति मूल्य ११.९३ र सनराइज फोकस्ड ईक्विटी फण्डको कोषको खुद सम्पत्ति मूल्य १२.१३ रहेको क्यापिटलले जनाएको छ । साथै खुल्लामुखी योजना शुभ लक्ष्मी कोषको १६ प्रतिशत, बन्दमुखी योजनाहरू लक्ष्मी भ्यालु फण्ड-२ को १५ प्रतिशत र सनराइज ब्लुचिप फण्डको १९ प्रतिशत प्रतिफल वितरण सम्बन्धी निर्णय गरेको क्यापिटलले जनाएको छ ।
म कुलिङ पिरियडकै पक्षमा छु, समितिले मेरो नाम लिएको छैन : रामहरि खतिवडा
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले आफू सधैँ कुलिङ पिरियडको पक्षमा रहेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले समितिले पठाएको रिपोर्टमा कतै पनि आफ्नो नाम उल्लेख नभएको स्पष्ट पारे । आफूले हस्ताक्षर गरेको प्रतिवेदनमा कुलिङ पिरियड रहेको तर बीचमा कतै हटाइएको बताए । कुलिङ पिरियड राष्ट्रिय सभाले सच्याउनुपर्ने बताए । उनले भने, ‘पहिला समितिले पठाएको रिपोर्ट हेर्नुस् । कसको कसको त्रुटी भयो, नाम कसको कसको उल्लेख गरेको छ, त्यसपछि कुरा गरौँ । कुलिङ पिरियड रहनुपर्छ भन्ने पक्षमा म छु । समितिले कतै रामहरि खतिवडाको नाम लिएको छ भने भन्नुहोला । सभापतिको हस्ताक्षर छ, मैले हस्ताक्षर गरेकोमा कुलिङ पिरियड छ, त्यो कहाँ त्रुटी भयो छानविन गर भनेर मेरै अनुरोधमा छानविन भएको हो ।’ कुलिङ अफ पिरियड छेडखानीविरुद्ध गठित संसदीय छानविन समितिले आज प्रतिवेदन प्रतिनिधि सभामा प्रश्तुत गरेको छ ।