विकासन्युज

राष्ट्रिय वाणिज्य बैंकले ६ वर्ष सञ्चालनमा नरहेका खातामा ब्याज नदिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ६ वर्षसम्म सञ्चालनमा नरहेका खातामा ब्याज नदिने भएको छ । बैंकले एक सूचना जारी गर्दै ६ वर्ष वा सोभन्दा बढी अवधिसम्म सञ्चालनमा नरहेका कोषमा रहेका खाताहरूमा रहेको रकममा ब्याज नदिने भएको हो ।  बैंकबाट अवकाश भएर अवकाश कोषका केही हिताधिकारीहरूको कोषमा रहेका अवकाश योगदानका रकमहरू सम्बन्धित हिताधिकारीहरूका नाममा रहेका खाताहरूमा लामो समयसम्म लेना तथा देना रकम बाँकी रहेको जनाएको छ ।  कोषको कार्यकारिणी समितिको निर्णयानुसार सम्बन्धित व्यक्तिहरूलाई यथाशीघ्र कोषमा सम्पर्क राखी आफ्नो रकम राफसाफ गर्ने अनुरोध गरेको हो । यसरी लामो समय (६ वर्ष वा सोभन्दा बढी समय) सम्म सञ्चालनमा नरहेका खातामा रहेका रकममा ब्याज प्रदान नगरिने निर्णय भएको बैंकले जनाएको छ ।  कोष वा नजिकमा रहेको बैंकको शाखा कार्यालयमा सम्पर्क राखी थप जानकारी लिन सकिने बैंकले जनाएको छ ।

नाइमा मोबिलिटी एक्स्पो आजदेखि

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को आयोजनामा नाइमा मोबिलिटी एक्स्पो आज (बुधबार) देखि हुँदैछ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहान साढे ८ बजे एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम छ ।  साउन २१ देखि २५ गतेसम्म चल्ने यस प्रदर्शनीमा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र चारपाङ्ग्रे गरी ५० भन्दा बढी मोडेलका सवारीसाधन राखिने छन् ।   नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यका अनुसार यो एक्स्पो खरिदकर्ताका लागि नयाँ र उपयुक्त अवसर हुनुका साथै अटोमोबाइल क्षेत्रको नवीनतम ज्ञान र भविष्यको कार्यदिशा तय गर्ने महत्त्वपूर्ण मञ्च पनि हो । एक्स्पोमा विभिन्न कम्पनीले ३५ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्ने तयारी गरेका छन् । नाइमाका अनुसार १५ मोडलका चारपाङ्ग्रे, १५ मोडलका दुईपाङ्ग्रे, एउटा तीनपाङ्ग्रे र ४ वटा कमर्सियल गाडी सार्वजनिक हुनेछन् ।  प्रदर्शनीका पाँचै दिन सवारी तथा यातायातका विभिन्न विषयमा स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा छलफल कार्यक्रम पनि आयोजना गरिनेछ । यसमा यातायात क्षेत्रको वर्तमान अवस्था, जनशक्ति विकास, नीतिगत अवस्था र व्यवस्थापनजस्ता विषयमा विमर्श हुनेछ । चारपाङ्ग्रेमा बीवाइडी, सिट्रोन, फोरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलएस अटो, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडा, जेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, भोक्सवागन र जीकर रहेका छन् ।  यस्तै दुईपाङ्ग्रेमा एम्पियर, एथर, बजाज, बेनेली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे नाइनबोट, सुजुकी, ट्राइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहो छन् ।  कमर्सियलमा चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलङ र सनलङ रहेका छन् । टिकट शुल्क साधारणका लागि २ सय रुपैयाँ तथा विद्यार्थीका लागि परिचयपत्रका आधारमा ५० प्रतिशत छुट रहेको छ ।  कारका लागि पार्किङ नेपाल पुलिस क्लबमा र मोटरसाइकलका लागि भृकुटीमण्डपभित्र व्यवस्था मिलाइएको छ । टिकट बिक्रीबाट उठेको रकमको पाँच प्रतिशत शिक्षा मन्त्रालय र सीटीईभीटीको सहकार्यमा मोबिलिटी क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति तथा फेलोसिप प्रदान गर्न खर्च गरिने नाइमाले जनाएको छ ।

आत्मरक्षाका लागि गोली चलाउँदा सप्तरीका लालु यादवको ज्यान गयो

काठमाडौं । मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । राजगढ गाउँपालिका-२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । भारतीय सीमा नजिकबाट ठूलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका आधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो । प्रहरीलाई घेरा हालेर ढुङ्गा मुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।  सो क्रममा यादवको तिघ्रामा गोली लागेको हो । गम्भीर घाइते यादवलाई उपचारका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै   मृत्यु भएको प्रहरीले जनाएको छ । राजगढ गाउँपालिका-२ स्थित नेपाल-भारत सीमामा ‘सर्च अप्रेसन’ गर्दा उक्त ठाउँबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ । यस्तै चार दिन अगाडि पनि सप्तरी प्रहरीले छिन्नमस्ता गाउँपालिका-१ बरहीविरपुरमा हवाई फायर गरी हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीले छिन्नमस्ता-१ बरहीविरपुरका विशाल राय र डाक्नेश्वरी-७ का मनोज रायलाई पक्राउ गरेको थियो ।

प्रभु बैंकबाट एकैपटक ११ जना संस्थापक बाहिरिदैँ

काठमाडौं । प्रभु बैंकबाट एकैपटक ११ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर ११ जना संस्थपक सेयरधनी बाहिरिन लागेका हुन् ।  बैंकका अनुसार खिम बहादुर गुरुङले आफ्नो नाममा रहेको १० हजार २५६ कित्ता, निमानन्द खनालले ४५ हजार ६५९ कित्ता, इन्दिरा ढकालले ४७ हजार ८६ कित्ता, कृष्ण प्रसाद नेपाल उपाध्यायले १२ हजार कित्ता, किरण भक्ता श्रेष्ठले १ लाख ६० हजार ३७० कित्ता, अनिल भक्ता श्रेष्ठले १ लाख ७१ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । यस्तै, सुनिल भक्त श्रेष्ठले २ लाख ६२ हजार २०६ कित्ता, दिनेश भक्त श्रेष्ठले लाख ५९ हजार १८१ कित्ता, सन्ध्या थापा क्षेत्रीले १६ हजार ८८ कित्ता, चांद शमशेर जबराले ९१ हजार २४७ कित्ता र किशोर कुमार महर्जनले २ लाख ५९ हजार ५९७ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।  बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र खरिद नगरेमा अन्य सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । 

मुक्तिनाथ म्युचुअल फण्ड-१ को ३.८० प्रतिशत लाभांश घोषणा

काठमाडौं । मुक्तिनाथ क्यापिटलले मुक्तिनाथ म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन २० गते बसेको बैठकले मुक्तिनाथ म्युचुअल फण्ड–१ का इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।  कम्पनीका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट मुक्तिनाथ म्युचुअल फण्ड–१ का इकाईधनीहरुलाई ३.८० प्रतिशत लाभांश घोषणा गरेको हो ।  साथै सो बैठकले लाभांश वितरण प्रयोजनार्थ साउन ३० गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ । त्यसैले साउन २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन् ।  उक्त म्युचुअल फण्डकाृ कोष प्रवद्र्धक मुक्तिनाथ विकास बैंक हो भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल हो ।  

साउन २९ गतेदेखि एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेन्ट स्किम बिक्री गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले साउन २९ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेन्ट स्किम बिक्री गर्ने भएको हो ।  कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखेको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा ५ करोड इकाई सर्वसाधरण लगानीकर्तालाई बिक्री गरिनेछ । कम्पनीको म्युचुअल फण्डमा लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा छिटोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा सबै इकाई बिक्री नभए भदौ १२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् फण्डमा आवेदन दिन सक्नेछन् । 

देशका केही भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा पर्न सक्ने प्रभावबारे सतर्क रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा अधिकांश बदली रही बाँकी भू-भागमा साधारणतया बदली रहेको छ । मधेस प्रदेशका एक/दुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा अधिकांश बदली रही बाँकी भू-भागमा साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी र मधेस प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका ठाउँको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

नबिल इन्भेष्टेमन्टले साउन ३० गतेदेखि एनआई ३१ बिक्री गर्ने

काठमाडौं । नबिल इन्भेष्टेमन्ट बैंकिङ्गले साउन ३० गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले खुलामुखी योजना एनआई ३१ बिक्री गर्ने भएको हो ।  कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका २ करोड ५० लाख इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सुरक्षित राखि बाँकी रहेको १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधरण लगानीकर्तालाई बिक्री गर्नेछ ।  कम्पनीको म्युचुअल फण्डमा लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा छिटोमा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा सबै इकाई बिक्री नभए भदौ १३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टेमन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् फण्डमा आवेदन दिन सक्नेछन् ।