नाइमा मोबिलिटी एक्स्पोमा प्रोटोन ईमास ७ को प्रदर्शनी, जगदम्बा मोटर्सले दियो आकर्षक अफर
काठमाडौं । जगदम्बा मोटर्सले 'नाइमा मोबिलिटी एक्स्पो २०२५' मा प्रोटोन ईमास ७ को प्रदर्शनी गरिरहेको छ । प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले कार्यक्रममा अफरको घोषणा गर्दै देशभर सेवा सञ्जाल विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ । यसअघि मलेसियामा आफ्नो सेग्मेन्टमा नम्बर १ ईभीको मान्यता पाएको प्रोटोन ईमास ७ यस वर्षको सुरुवातमा नेपालमा निर्यात भएर इतिहास रचेको थियो । सन् २०१८ देखि प्रोटोनको आधिकारिक वितरकका रूपमा कार्यरत जगदम्बा मोटर्सले २०२५ भित्रै देशभर १२ वटा सोरूम तथा सेवा केन्द्र विस्तार गर्ने लक्ष्य लिएको छ, जसअन्तर्गत हाल ३ वटा सोरूम सञ्चालनमा छन् । शंकर ग्रुपमार्फत विकसित इभी इकोसिस्टम अन्तर्गत ग्राहकका लागि प्रामाणिक स्पेयर पार्ट्स, आधुनिक डाइग्नोस्टिक उपकरण, प्रमाणित प्राविधिक, चार्जिङ स्टेसन र सरल वारन्टी प्रक्रिया उपलब्ध गराइनेछ। यी सबै सेवाले ग्राहक आवश्यकताको सम्पूर्ण सम्बोधन गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । नाइमा एक्स्पोमा घोषणा गरिएका प्रमुख अफरहरू ०.५ प्रतिशत ब्याजदरमा ४ वर्षको फाइनान्सिङ योजना, जसमा ६० मिनेटभित्र ऋण स्वीकृति ८ वर्षको अनलिमिटेड माइलिज ब्याट्री वारन्टी २.९९ लाख रुपैयाँको नगद छुट, साथै थप लाभहरू पुरानो गाडीमा उच्चतम मूल्यांकनसहित एक्सचेन्ज अफर निःशुल्क अटो प्लस बीमा 'इमास असिस्टेन्ट प्लस' सेवा, जसमा प्रिमियम रोडसाइड सहायता र ह्वाट्सएप ग्राहक सहायता सुविधा
३८ हजार नक्कली नोटसहित दुई जना पक्राउ
काठमाडौं । ३८ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित दुई जना युवक सुनसरीबाट पक्राउ परेका छन् । उनीहरू भारतबाट नक्कली नोट लिएर नेपाल प्रवेश गर्ने क्रममा सीमाबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही पालिकाको वडा नम्बर १ का २५ वर्षीय राजेश चमार रजक रहेका छन् । दुवै जनालाई कोशी गाउँपालिका–८ स्थित भीमनगर बोर्डर पोस्ट नजिकबाट नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार उनीहरू लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार थिए । मोटरसाइकलको पछाडि बसेका राजेश चमार रजकको साथबाट १ हजार रुपैयाँ दरका ३८ थान नक्कली नोट, अर्थात् ३८ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोट बरामद गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिएका छन् ।
पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध
बैतडी । अविरल वर्षासँगै खसेको पहिराले आज बिहानैदेखि बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सिगास गाउँपालिका- ९ रमिलापुरमा सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन रोकिँदा यात्री बीच बाटोमै अलपत्र परेका छन् । जयपृथ्वी राजमार्गमा बेलाबेलामा पहिरो खस्दा अवरुद्ध हुने गरेको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रवक्ता पाण्डेले जानकारी दिए ।
औषधिमा २५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा, भारतमाथि थप कर बढ्ने
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित औषधिजन्य वस्तुहरूमा लगाइने भन्सार शुल्क आगामी चरणमा २५० प्रतिशतसम्म पुग्न सक्ने स्पष्ट पारेका छन् । साथै, उनले विदेशी अर्ध चालक (सेमिकन्डक्टर) सामग्रीमा पनि नयाँ शुल्क लगाउने तयारी भइरहेको जानकारी दिए । सीएनबीसी टेलिभिजनसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले प्रारम्भमा औषधिमा सानो दरको शुल्क लगाइने भए तापनि आगामी एक वर्षदेखि डेढ वर्षभित्र त्यसको दर १५० प्रतिशत र त्यसपछिका चरणहरूमा २५० प्रतिशतसम्म पुग्ने अपेक्षा गरिएको बताए । ‘हामी सुरुमा औषधिमा सानो शुल्क लगाउँदैछौँ,’ ट्रम्पले भने, ‘तर एक वर्ष वा डेढ वर्षभित्र यो १५० प्रतिशत हुन्छ र पछि २५० प्रतिशत पुग्छ। हामी चाहन्छौं कि औषधिहरू अमेरिकामै उत्पादन होउन ।’ उक्त अन्तर्वार्तामा उनले भारतमाथि पनि आयात शुल्क निकै उल्लेखनीय मात्रामा बढाउने योजना रहेको बताए । यसको कारण भारतले रुसबाट कच्चा तेल खरिद गर्दै आएको विषय भएको उनको धारणा छ । राष्ट्रपतिले यो निर्णय २४ घण्टाभित्र लागू हुन सक्ने संकेत दिए । ट्रम्प प्रशासनले यसअघि सन् २०२५ को अप्रिल महिनामा अधिकांश व्यापारिक साझेदारहरूमाथि १० प्रतिशतको आधारभूत भन्सार शुल्क लागू गरिसकेको थियो । यद्यपि, केही विशिष्ट वस्तुहरू जस्तै औषधि र अर्धचालकहरूलाई छुट दिइएको थियो, जसमा छुट्टै अनुसन्धानपछि शुल्क लगाउने योजना बनाइएको थियो । यसप्रकारका क्षेत्र-विशेष शुल्कहरू सामान्यतः राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयहरूमा आधारित सरकारी अनुसन्धानपछि लागू गरिन्छन् । ट्रम्प सरकारद्वारा औषधि र अर्धचालकहरूमा पहिल्यैदेखि अनुसन्धान सुरु गरिएको थियो र ती अध्ययनहरू अन्तिम चरणमा रहेको जनाइएको छ। अध्ययनको निष्कर्षका आधारमा नयाँ शुल्क घोषणा हुने अपेक्षा गरिएको छ । यसअघि राष्ट्रपति ट्रम्पले आयातित फलाम र एल्युमिनियममा ५० प्रतिशत भन्सार लगाइसकेका छन् । यस्तै, सवारीसाधन र पाटपुर्जाहरूमा पनि छुट्टै तर कम दरको शुल्क लागू गरिएको छ ।
भिडियो एक्सरे मेसिन चलाउने मान्छे नहुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा बन्द
काठमाडौं । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द भएको छ । अस्पतालको भिडियो एक्सरे, अल्ट्रा साउण्ड लगायत सेवा एक महिनादेखि बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राहीलाई सास्ती भएको हो । तिला गाउँपालिकाका टोपबहादुर रावतका अनुसार अस्पतालमा आएका बिरामी भिडियो एक्सरे सेवा प्रवाहबाट वञ्चित भएका छन् । अस्पतालमा भिडियो एक्सरे मेसिन उपलब्ध भए पनि त्यसलाई चलाउने जनशक्ति अभावका कारण सेवा बन्द रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति सह प्राध्यापक डा डबल बहादुर धामीले जानकारी दिए । प्रतिष्ठानले रेडियोलोजिस्टका लागि माग गरे पनि कोही सम्पर्कमा नआउँदा यो समस्या भएको उनले बताए । एक सातादेखि बन्द भएको सिटिस्क्यान सेवा भने सञ्चालनमा ल्याएको निमित्त उपकुलपति डा. धामीले बताए ।
राष्ट्रिय वाणिज्य बैंकले ६ वर्ष सञ्चालनमा नरहेका खातामा ब्याज नदिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ६ वर्षसम्म सञ्चालनमा नरहेका खातामा ब्याज नदिने भएको छ । बैंकले एक सूचना जारी गर्दै ६ वर्ष वा सोभन्दा बढी अवधिसम्म सञ्चालनमा नरहेका कोषमा रहेका खाताहरूमा रहेको रकममा ब्याज नदिने भएको हो । बैंकबाट अवकाश भएर अवकाश कोषका केही हिताधिकारीहरूको कोषमा रहेका अवकाश योगदानका रकमहरू सम्बन्धित हिताधिकारीहरूका नाममा रहेका खाताहरूमा लामो समयसम्म लेना तथा देना रकम बाँकी रहेको जनाएको छ । कोषको कार्यकारिणी समितिको निर्णयानुसार सम्बन्धित व्यक्तिहरूलाई यथाशीघ्र कोषमा सम्पर्क राखी आफ्नो रकम राफसाफ गर्ने अनुरोध गरेको हो । यसरी लामो समय (६ वर्ष वा सोभन्दा बढी समय) सम्म सञ्चालनमा नरहेका खातामा रहेका रकममा ब्याज प्रदान नगरिने निर्णय भएको बैंकले जनाएको छ । कोष वा नजिकमा रहेको बैंकको शाखा कार्यालयमा सम्पर्क राखी थप जानकारी लिन सकिने बैंकले जनाएको छ ।
नाइमा मोबिलिटी एक्स्पो आजदेखि
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को आयोजनामा नाइमा मोबिलिटी एक्स्पो आज (बुधबार) देखि हुँदैछ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहान साढे ८ बजे एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम छ । साउन २१ देखि २५ गतेसम्म चल्ने यस प्रदर्शनीमा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र चारपाङ्ग्रे गरी ५० भन्दा बढी मोडेलका सवारीसाधन राखिने छन् । नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यका अनुसार यो एक्स्पो खरिदकर्ताका लागि नयाँ र उपयुक्त अवसर हुनुका साथै अटोमोबाइल क्षेत्रको नवीनतम ज्ञान र भविष्यको कार्यदिशा तय गर्ने महत्त्वपूर्ण मञ्च पनि हो । एक्स्पोमा विभिन्न कम्पनीले ३५ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्ने तयारी गरेका छन् । नाइमाका अनुसार १५ मोडलका चारपाङ्ग्रे, १५ मोडलका दुईपाङ्ग्रे, एउटा तीनपाङ्ग्रे र ४ वटा कमर्सियल गाडी सार्वजनिक हुनेछन् । प्रदर्शनीका पाँचै दिन सवारी तथा यातायातका विभिन्न विषयमा स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा छलफल कार्यक्रम पनि आयोजना गरिनेछ । यसमा यातायात क्षेत्रको वर्तमान अवस्था, जनशक्ति विकास, नीतिगत अवस्था र व्यवस्थापनजस्ता विषयमा विमर्श हुनेछ । चारपाङ्ग्रेमा बीवाइडी, सिट्रोन, फोरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलएस अटो, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडा, जेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, भोक्सवागन र जीकर रहेका छन् । यस्तै दुईपाङ्ग्रेमा एम्पियर, एथर, बजाज, बेनेली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे नाइनबोट, सुजुकी, ट्राइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहो छन् । कमर्सियलमा चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलङ र सनलङ रहेका छन् । टिकट शुल्क साधारणका लागि २ सय रुपैयाँ तथा विद्यार्थीका लागि परिचयपत्रका आधारमा ५० प्रतिशत छुट रहेको छ । कारका लागि पार्किङ नेपाल पुलिस क्लबमा र मोटरसाइकलका लागि भृकुटीमण्डपभित्र व्यवस्था मिलाइएको छ । टिकट बिक्रीबाट उठेको रकमको पाँच प्रतिशत शिक्षा मन्त्रालय र सीटीईभीटीको सहकार्यमा मोबिलिटी क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति तथा फेलोसिप प्रदान गर्न खर्च गरिने नाइमाले जनाएको छ ।
आत्मरक्षाका लागि गोली चलाउँदा सप्तरीका लालु यादवको ज्यान गयो
काठमाडौं । मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । राजगढ गाउँपालिका-२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । भारतीय सीमा नजिकबाट ठूलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका आधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो । प्रहरीलाई घेरा हालेर ढुङ्गा मुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । सो क्रममा यादवको तिघ्रामा गोली लागेको हो । गम्भीर घाइते यादवलाई उपचारका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । राजगढ गाउँपालिका-२ स्थित नेपाल-भारत सीमामा ‘सर्च अप्रेसन’ गर्दा उक्त ठाउँबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ । यस्तै चार दिन अगाडि पनि सप्तरी प्रहरीले छिन्नमस्ता गाउँपालिका-१ बरहीविरपुरमा हवाई फायर गरी हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीले छिन्नमस्ता-१ बरहीविरपुरका विशाल राय र डाक्नेश्वरी-७ का मनोज रायलाई पक्राउ गरेको थियो ।