श्रम सम्झौता गर्दा विप्रेषण बैंकिङ च्यानलमार्फत पठाउने व्यवस्था राख्न निर्देशन
काठमाडौं, ३ असार । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगारीमा नेपाली कामदार पठाउन विदेशी मुलुकसँंग श्रम सम्झौता गर्दा वा सम्झौता नवीकरण गर्दा अनिवार्य रुपमा नेपाली कामदारले कमाएको रकम बैंकिङ प्रणालीमार्फत भित्र्याउने प्रावधान समावेश गर्न नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकले विदेशमा रहेका नेपालीले बैंकिङ प्रणालीमार्फत नेपालमा विपे्रषण पठाउँदा लाग्ने कमिसन तथा शुल्क नेपाल सरकारले व्यहोर्ने नीतिगत व्यवस्था गर्न नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । विपे्रषण कम्पनीले विदेशमा सङ्कलन गरेको सम्पूर्ण रकम परिवत्र्य विदेशी मुद्रामा नेपाल भित्र्याउनका लागि ती कम्पनीको निगरानी र नियमनका लागि आवश्यक नीतिगत र संरचनागत व्यवस्था गर्न नेपाल सरकार, अर्थ मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई बैठकले निर्देशन दिएको छ । बैठकले नेपाल राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो वित्तीय जानकारी एकाइ बीचको प्रभावकारी समन्वय र सहकार्यमा विदेशबाट गैरकानुनी रुपमा हुन्डीमार्फत नेपालमा विप्रेषण भित्र्याउने कार्यमा संलग्न संस्था/व्यक्तिहरुलाई कडा कारबाही गर्न नेपाल सरकार, अर्थ मन्त्रालय, गृह मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । वैदेशिक रोजगारमा जाने कामदारलाई प्रदान गरिने अभिमुखीकरण तालिममा वित्तीय साक्षरताको विषयलाई विस्तार गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन, वैदेशिक रोजगारमा गएका प्रत्येक कामदार वा निजको परिवारको नाममा बैंक खाता खोलेको कुरा सुनिश्चित गर्न नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ । म्यानपावर कम्पनीको व्यवस्थापन गर्न निर्देशन समितिको आजको बैठकले २०७१ कात्तिकको बैठकको निर्णयअनुसार माग गरेको म्यानपावर कम्पनीको कामकारबाहीसम्बन्धी विवरण नबुझाएका म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण नगर्न नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ । वैदेशिक रोजगारीमा कामदार पठाई आयआर्जन गर्ने तर आन्तरिक राजस्व कार्यालयमा आय विवरण दाखिला नगर्ने तथा कामदार पठाएको अनुपातमा तिर्नुपर्ने सम्पूर्ण आयकर रकम दाखिला नगर्ने समितिको अध्ययन विवरणअनुसारका म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण नगर्न नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ । वैदेशिक रोजगारीमा जाने कामदारहरुसँग चर्को शुल्क असुलेको भनी सम्बन्धित निकायमा बारम्बार उजुरी पर्ने र छानबिनबाट पटकपटक दोषी ठहरिएका म्यानपावर कम्पनीलाई ठोस नीति तथा मापदण्ड बनाई इजाजतपत्र नवीकरण नगर्न नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्री अनुपस्थित भएकामा ध्यानाकर्षण आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, श्रम तथा रोजगार मन्त्री दीपक बोहरा र ती मन्त्रालयका सचिवलाई आमन्त्रण गरिए पनि उहाँहरु उपस्थित नभएकामा बैठकमा सांसदहरुले आपत्ति जनाए । दुवै मन्त्रालयबाट सहसचिव बैठकमा आएका थिए । बैठकमा आमन्त्रित नेपाल सरकारका मन्त्री तथा पदाधिकारी पटकपटक उपस्थित नहुने र समितिले दिएका निर्देशनको प्रभावकारी कार्यान्वयन नहुने कुराप्रति समितिमा छलफल भई सरकारलाई संसद्प्रति उत्तरदायी र जवाफदेही बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय समितिले गरेको छ । बैठकमा राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले विप्रेषणको वर्तमान अवस्थाबारे बैठकमा जानकारी गराए । रासस
प्रुडेन्सियल इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर दिने निर्णय पारित
काठमाडौं, ३ असार । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयर दिने निर्णय पारित भएको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको चौधौं वार्षिक साधारण सभाबाट सो प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ । साविक ३२ करोड ४० लाख चुक्ता पूँजीबाट बोनश शेयर शेयर पश्चात कम्पनीको चुक्ता पूँजी ३५ करोड ६४ लाख हुने कम्पनीले बताएको छ । इन्स्योरेन्सको वार्षिक साधारणसभा बिहीबार विरगंज, पर्सामा सम्पन्न भएको हो । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विरेन्द«कुमार संघईद्धारा प्रस्तुत आर्थिक वर्ष २०७१/७२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७१/७२ मा ७८ करोड ११ लाख ९७ हजार ९ सय एकसठी रुपैयाँ प्रिमियम आर्जन गरेको अध्यक्ष संघईले साधारण सभामा जानकारी गराए । कम्पनीले आर्थिक वर्ष २०७१/७२ मा आर्जन गरेको प्रिमियम अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले अधिक हो । आ.व. २०७१/७२ मा कम्पनीले खुद नाफा १३ करोड ५० लाख सतासी हजार सात सय चौरासी रुपैयाँ मात्र गरेको इन्स्योरेन्सले बताएको छ । कम्पनीले समुह (क) संस्थापक शेयरधनीहरुबाट चार (४) जना संचालकहरु क्रमशः विरेन्द्र कुमार संघई, श्रवण कुमार अग्रवाल, विशाल अग्रवाल र अमित अग्रवाललाई संचालक पदमा निर्विरोध रुपमा चयन गरेको छ । सोही दिन अपरान्ह ५ बजे होटल भिष्वा विरगंज, पर्सामा बसेको संचालक समितिको १५१औँ बैठकले संचालक समितिको अध्यक्षमा पुनः विरेन्द्र कुमार संघईलाई चुनेको छ ।
चार बर्षमा बनाउने भनिएको कर्णाली करिडोर दुई बर्षमै बन्ने, बजेट र श्रोत साधन जुटाईदिन आग्रह
काठमाडौं, ३ असार । निर्माण आरम्भ गरिएको पाँच भएको चार बर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको कर्णाली करिडोर सडकको निर्माण दुई बर्षमै सम्पन्न गर्न सकिने नेपाली सेनाले बताएको छ । व्यवस्थापिका संसदको विकास समितिको स्थलगत टोलीसँग कर्णाली करिडोर निर्माणमा खटिएको सेनाको नेतृत्वले आवश्यक बजेट र श्रोत साधन उपलब्ध गराए दुई बर्षमै काम सक्ने जानकारी गराएको हो । ‘बाँकी १२८ कि.मि. सडक निर्माण ४ वर्षमा पूरा गर्नेयोजना रहेको छ । पर्याप्त बजेट र आवश्यक स्रोत साधन र हवाई सपोर्ट जुटाइदिने हो भने चार वर्ष लाग्ने भनिएको बाटो २ वर्षभित्रै तयार गर्न पनि सकिने सम्भाव्यता रहेको सडक निर्माण कार्यदल प्रमुखको भनाई रहेको छ ।’ विकास समितिले आफ्नो प्रतिवेदनमा भनेको छ । चार वर्ष भित्र सम्पन्न गर्ने गरी नेपाली सेनाले जिम्मा लिएको उक्त सडकखण्ड लालिघाटबाट सान्निघाटसम्म पर्ने १५ किमि सडकमा हलुका सवारी साधन सञ्चालन गर्न योग्य भइसकेको छ ।साथै कालिकोट तथा बाजुरा जिल्लाभित्र पर्ने करिव ५३ किमि सडक खण्डमा आंशिक ट्रयाक खोल्ने काम सम्पन्न भैसकेको छ । आगामी दुई बर्षभित्रै काम सम्पन्न गर्नका लागि सेनाले पर्याप्त बजेटका साथमा कवाडि, सल्लिसल्ला र खार्पुनाथमा क्याम्प खडा गरी काम अघि बढाउनु पर्ने बताएको छ । हाल सेनाले कालिकोटको खुलालुमा क्याम्प खडा गरेर निर्माण कार्य अघि बढाई रहेको छ । व्यवस्थापिका संसदको विकास समितिका सभापति रबिन्द्र अधिकारीको नेतृत्वमा सांसदहरुले कर्णाली करिडोरको स्थलगत अध्ययन गरेका थिए । उनीहरुले सो करिडोर निर्माणका समस्याहरुको पहिचान गर्दै सुझाव समेत पेश गरेका छन् ।
झापाका सडकमा सौर्य बत्ती जडान गर्न १३ करोड, कुन नगरपालिकालाई कति रकम ?
झापा, ३ असार । झापाका सातवटा नगरपालिकालाई सडकमा सौर्य बत्ती जडान गर्न सरकारले १३ करोड सात लाख रुपैयाँ विनियोजन गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै नगरपालिकालाई जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रमका लागि उक्त रकम विनियोजन गरेको हो । सौर्य सडक बत्ती कार्यक्रम सञ्चालन गर्न उपप्रधानमन्त्रीस्तरीय बैठकको निर्णयअनुसार रकम बाँडफाँड गरी कार्यान्वयन प्रक्रिया अघि बढाउन अनुदान रकमसहितको विवरण कनकाई नगरपालिकालाई पठाइएको पत्रमा उल्लेख छ । कार्यक्रमअन्तर्गत ६५ प्रतिशत रकम सरकारको लगानी, १५ प्रतिशत नगरपालिकाको र २० प्रतिशत स्थानीयवासीको लागतमा सडक सौर्य बत्ती जडानका लागि सरकारले उक्त रकम विनियोजित गरेको उल्लेख छ । सदरमुकाम केन्द्रित नगरपालिकालाई भने सरकारले बजेट भाषणमार्फत नै सहरी पूर्वाधार कार्यक्रमका लागि रु नौ अर्ब छुट्याएको छ । जुन बजेट भाषणमार्फत उक्त रकम छुट्टिएको हो । जसमा यो कार्यक्रमका लागि भद्रपुर नगरपालिका परेको छैन । भद्रपुर नगरपालिकालाई बजेट भाषणमार्फत नै सहरी पूर्वाधार कार्यक्रमका लागि आगामी आवका लागि रु ५० करोड विनियोजन गर्ने भनिएको छ । झापाका आठवटा नगरपालिकामध्ये सातवटाले मात्रै उक्त रकम पाएका हुन् । झापामा आएको अनुदान रकममध्ये बिर्तामोड नगरपालिकालाई बसैभन्दा बढी रहेको छ । कुन नगरपालिकालाई कति रकम ? नगरपालिका रकम मेची – चार करोड रुपैयाँ बिर्तामोड – चार करोड ६० लाख रुपैयाँ शनिअर्जुन – १७ लाख रुपैयाँ कनकाई – ५४ लाख रुपैयाँ शिवसताक्षी – १० लाख रुपैयाँ दमक – तीन करोड ५० लाख रुपैयाँ गौरादह – १६ लाख रुपैयाँ रासस
होन्डाद्धारा ‘विपुल क्षेत्री कभर सङ कन्टेष्ट’ शुरु, विजेताले १ लाख रुपैयाँ पाउने
काठमाडौं, ३ असार । नेपालमा होन्डा मोटरसाईकल र स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग प्रा.ले विपुल क्षेत्री सँगको साझेदारीमा बहुप्रतिक्षित एल्बम “माया” आफ्नो सोसल मिडिया च्यानलहरुमा निःशुल्क डाउनलोड उपलब्ध गराएको छ । होन्डाले विपुल क्षेत्रीको एल्बम “माया” का सबै आठ वटा गीतहरु बिहीबारदेखि निःशुल्क डाउनलोड गराएको छ । होन्डाले प्रत्येक हप्ता आफ्नो प्रशंसकहरुको लागि एउटा गीत रिलिज गर्नेछ र एक रुपैंया पनि नतिरिकनै डाउनलोड सुविधा दिनेछ । नेपालमा नै पहिलो पटक यसरी एउटा अटोमोबाइल ब्रान्डले संगीतकारसंग साझेदारी गरी नयाँ एल्बम नै निःशुल्क डाउनलोड गर्न दिंदैछ । निःशुल्क डाउनलोड बाहेक, होन्डाले ‘विपुल क्षेत्री कभर सङ कन्टेष्ट’ शुरु गरेको छ जसमा नेपालमा बस्ने नेपालीले विपुल क्षेत्रीको कुनै एउटा गीत गाएर कन्टेस्ट च्यानलमा अपलोड गरी प्रतियोगितामा भाग लिन सक्नेछन् । विपुल क्षेत्री र होन्डाले सो कन्टेस्टको विजेता घोषणा गर्नेछन् । विजेताले नगद पुरस्कार १ लाख र विपुल क्षेत्रीलाई भेट्ने मौका प्राप्त हुने । होन्डाका अनुसार अहिलेका युवा पुस्ताका अधिकांशले नेपाली संगीतको कभर गीतहरु गाउन रुचाउछन् र यो कन्टेस्टले उनीहरुको प्रतिभा देखाउने उत्कृष्ट प्ल्याटफोर्म प्रदान गरेको छ ।
जुन महिना भरी फोर्ड हेरिटेज मन्थ मनाइँदै, फोर्ड धनीका लागि रेसिङ्ग निशुल्क
काठमाडौं, ३ असार । फोर्ड मोटर कम्पनी तथा नेपालका लागि फोर्डका आधिकारीक डिलर जि. ओ. फोर्डले जुन महिना भर फोर्ड हेरिटेज मन्थ मनाउँदै छ । कम्पनीले फोर्डको ११३ वर्षको इतिहासलाई स्मरण गर्दै एक महिना भर फोर्ड हेरिटेज मन्थ मनाउने भएको हो । यस उत्सवको बीचमा फोर्डले आफ्नो गाडीहरुको उत्कृष्टतालाई राखेको छ । बिहीबार फोर्ड कम्पनीको ११३औं वार्षिक उत्सव सम्पन्न भएको छ । सो दिन आगामी जुन २५ मा फोर्ड धनीहरुको लागि गोकआट रेसिङ्गको घोषणा पनि गरिएको छ । सबै फोर्ड धनीहरुका लागि रेसिङ्ग निशुल्क हुने र रजिष्ट्रेशन पहिलो आउनेलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार त्यहाँ रेसिङ्ग बाहेक अन्य धेरै क्रियाकलापहरु हुनेछन् जस्तै हुम्यान सुइङ, हाभर बार्ड, मेल्ट डाउन खाना र पेयका स्टलहरु । यस वर्ष, हेरिटेज मन्थ र रेसिङ्ग संयुक्त रुपमा, साथै फोर्ड जी टी का चार गाडीहरुले जुन १८ र १९ गते हुन गइरहेको (ल मान्स्) २०१६ को २४ घण्टे कौशलताको प्रतिस्पर्धाको लागि प्रतिष्ठित प्रवेश पाएका छन् । हाल नेपालमा फोर्डका सात विभिन्न मोडेलहरु उपलब्ध छन् — जसमा सबभन्दा पछि इन्डिएभोरले प्रवेश पाएको छ ।नेपालमा फोर्डका ११ बिक्री तथा सर्भिस केन्द्रहरु छन् भने एक कुइकलेन सर्भिस सेन्टर रहेको कम्पनीले जनाएको छ ।
प्रभु बैंक र नेपाल सर्टिफाइङ कम्पनीबीच विद्यूतीय कारोबार सम्बन्धी सम्झौता
३ असार, काठमाडौं, ३ असार । प्रभु बैंक लिमिटेड र नेपाल सर्टिफाइङ कम्पनी प्रालि बीच विद्यूतीय प्रणालीमार्फत् गरिने सूचना आदान(प्रदान विश्वसनीय बनाउनेबारे सम्झौता भएको छ । बैंकका अनुसार विद्यूतीय प्रणाली मार्फत् गरिने सूचना आदान प्रदानमा उत्पन्न हुने जोखिमलाई न्युनीकरण गर्ने तथा सूचना प्रवाहलाई अझ विश्वसनीय बनाउन सम्झौता भएको हो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सर्टिफाइङ कम्पनीका अध्यक्ष विप्लवमान सिंहले सम्झौतामा हस्ताक्षर गरेका छन् । समारोहमा बैंक तथा सर्टिफाइङ कम्पनीका अन्य पदादिकारीहरुको समेत उपस्थिति थियो । सूचना आदान प्रदानमा हुने जोखिम न्यूनीकरण सम्बन्धी सम्झौता पश्चात् आगामी दिनमा बैंकको आन्तरिक तथा बाहृय ग्राहकहरुसँगको विद्यूतीय कारोबार अझ सुरक्षित एवं सवल हुने बैंकले विश्वास लिएको छ ।
धितोपत्र बोर्डले लगानी कर्तालाई भन्यो–लगानी गर्दा सतर्कता अपनाउनुस
काठमाडौं, ३ असार । एक सातामै नेप्से परिसूचक ६४ अंकले बढेपछि नेपाल धितोपत्र बोर्डले लगानी कर्तालाई सतर्कता अपनाउन आग्रह गरेको छ । बोर्डले बिहिबार बजार बन्द भएपछि विज्ञप्ति निकाल्दै लगानी कर्तालाई सचेत बन्न आग्रह गरेको हो । साताको पहिलो दिन आइतबार १५६८ अंकमा रहेको परिसूचक अन्तिम दिन १६३२ अंकमा पुगेको थियो भने ९ अर्ब ३० करोड रुपैंयाँको सेयर खरिद बिक्रि भएको थियो । आर्थिक परिसूचकहरु उत्साहजनक नरहेका बेला सेयर बजार बढेको भन्दै बोर्डले विज्ञप्ति निकाल्दै बजारमा जोखिम बढ्न सक्ने तर्फ संकेत गरेको हो । बोर्डका प्रवक्ता निरज गिरिले भने–सेयर बजारका लगानी कर्ताले सधै सचेत हुनु पर्छ, अहिले बजार निरन्तर बढेको छ, बढिरहेको बजार घट्न पनि सक्छ, हामीले लगानी कर्तालाई सचेत गराउने हो ।बोर्डले सेयर बजारको लगानी जोखिम रहित नहुने तथ्य स्मरण गराउँदै अर्थतन्त्रकै वृद्धिदर सकारात्मक नभएको अवस्थामा बजारको वृद्धिले थप जोखिम निम्त्याएको बताएको छ । लगानी कर्ताको हकहितको संरक्षण गर्ने आफ्नो जिम्मेवारी अनुसार सचेत गराइएको पनि बोर्डले बताएको छ । नेप्सेका सह प्रवक्ता मुराहरी पराजुलीले भने बजार जोखिमको मापन गर्ने आधार नभएको दावी गरे । उनले बजार कति वृद्धि हुँदा जोखिम मान्ने भन्ने तथ्यगत आधार नभएको बताउँदै अधिक तरलता र नयाँ प्रबिधीका कारण बजार बढेको स्पष्ट पारे । सेयर बजार विश्लेषक रबिन्द्र भट्टराईले पनि बजार बढ्दा वा घट्दा बोर्डले लगानी कर्तालाई सचेत गराउनु पर्ने बताए ।