लेखा समितिले भन्यो-पाँच बर्षभित्रै फास्ट ट्रयाकमा गाडी गुडाउनु
काठमाडौं । व्यवस्थापिका संसदको लेखा समितिले आगामी पाँच बर्षभित्रै काठमाडौं–निजगढ फास्ट ट्रयाकको निर्माण सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलर भौतिक पुर्वाधार तथा यातायात सचिव धन बहादुर तामाङलाई बोलाएर समितिले आगामी पाँच बर्षभित्रै फास्ट ट्रयाकमा गाडी गुडाउने व्यवस्था गर्न निर्देशन दिएको हो । समितिले चालु आर्थिक बर्षभित्रै डिपिआरको छिनोफानो गरेर टेण्डर गरिसक्न पनि भनेको छ । आगामी आवदेखि निर्माण आरम्भ गरेर पाँच बर्षभित्र सम्पन्न गर्न भनेको हो । सरकारले फास्ट ट्रयाकको निर्माण इपिसी मोडलमा गर्ने निर्णय गरिसकेको छ । सो मार्गलाई पब्लिक एक्सप्रेस हाइवेका रुपमा निर्माण गर्ने निर्णय पनि सरकारले गरिसकेको छ । ७६ दशमलब ४ किलोमिटर लामो फास्ट ट्रयाकका लागि सरकारले चालु आवमा १० अर्ब बजेट विनियोजन गरेको छ । ७० किलोमिटरको मुआब्जा समेत वितरण भैसकेको छ । ललितपुर क्षेत्रमा पर्ने ६ दशमलब ४ किलोमिटरको मुआब्जामा स्थानिय बासिन्दा चित्त बुझाएका छैनन् । सरकारले भारतीय कम्पनी आइएल एण्ड एफएसले तयार पारेको डिपिआरको स्वामित्व ग्रहण गरेर आवश्यक संसोधन सहित निर्माण प्रक्रियाका लागि ग्लोबल टेण्डर आव्हान गर्ने बताएको छ ।
विकास निर्माणलाई आचार संहिताले नछेक्ने, रेड बुकमा समावेश भएका आयोजनाले थप बजेट पाउने
काठमाडौं । निर्वाचन आचार संहिता लागु भएपछि पनि विकासे कार्यक्रमको बजेट निकाशा नरोकिने भएको छ । आर्थिक वर्ष २०७३/७४ को वार्षिक विकासे कार्यक्रम ‘रेड बुक’ मा समावेश भएका आयोजनहरू अगाडि बढाउन नरोक्न गरी आचार संहिता लागु गर्न लागिएको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले बताए । विकासे कार्यक्रमको बजेट रोक्दा आयोजना निर्माण कार्य ढिला हुन गई यसको असर दीर्घकालसम्म पर्ने भएकाले विकास निर्माणको गति नरोक्न यस्तो व्यवस्था सहितको आचार संहिताको व्यवस्था गर्न लागिएको हो । निर्वाचन आचार संहिता जारी गर्ने तयारी भएको केन्द्रबाट कार्यक्रम स्वीकृत भइसकेका त्यस्ता आयोजनाहरू स्थानीय निकायको निर्वाचनमा असर नपर्ने भएकाले ती कार्यक्रमहरूलाई अगाडि बढाउन दिने गरी आचार संहिता आउन लागेको हो । ‘रेड बुक’मा समावेश भएका आयोजनाको बजेट रोक्दा पुँजीगत खर्चनै रोकिने र विकास निर्माणको काम ठप्प हुने भएकाले त्यस्ता आयोजनालाई आचार संहिताले नवाध्ने तयारी भएको हो । तर, आयोगले गाउँपालिका र नगरपालिकाका कार्यक्रमलाई भने कठाइ गर्ने छ । निर्वाचन आयोगले बुधबारदेखि लागु हुने गरी स्थानीय तह निर्वाचनका लागि आचार संहिता जारी गर्ने तयारी गरेको छ । निर्वाचन मिति घोषण भइसकेपछि स्थानीय निर्वाचनलाई प्रभाव पर्ने गरी नयाँ कार्यक्रम समावेश गर्न मिल्दैन । स्वीकृत अर्थात रेड बुकमा समावेश भएका कार्यक्रमहरूलाई रोक्ने गरी भने आचार सहिता नआउने आयोगले स्पष्ट पारेको छ । निर्वाचन आयोग स्थानीय निकायको कर्मचारीको सरुवा बढुवा तथा नयाँ भर्ना स्थानीय निकायमा हुने विकास निर्माणको काममा भने थप बजेट दिन मिल्दैन । नयाँ कार्यक्रम बजेटमा समावेश नभएका विषयलाई भने निर्वाचन नभएसम्मका लागि अख्तियारी दिन रोक लाग्ने छ । निर्वाचन आयोगले आचार संहिता लगाएर थप बजेट तथा कार्यक्रम स्वीकृत गर्न रोक्छ भन्ने डरले विकासे कार्यक्रम भएका मन्त्रालयहरूले धमाधम अर्थ मन्त्रालयबाट थप बजेट स्वीकृत र कार्यक्रम समावेश गराउने कार्यलाई सोमबारसम्म पनि निरन्तरता दिएका छ । हिजो विदाको दिन परेपनि अर्थ मन्त्रालय तथा अन्य विकासे बजेट थप बजेट स्वीकृत गराउने कार्य गरेका थिए । आचार संहिता कस्तो आउँछ भन्ने थाहा नभएको अर्थ सचिव शान्तराज सुवेदीले बताए । ‘विकास निर्माणको गति नरोकियोस् भन्नका लागि रेड बुकमा समावेश भएका आयोजनाहरूलाई थप बजेट स्वीकृत गरिएको हो । आचार संहिताले कस्तो व्यवस्था गर्छ र यसबाट आउन सक्ने समस्या समाधानको लागि हामीले सडक, सिंचाईँ र खानेपानीका आयोजनाहरुलाई स्रोत सुनिश्चित गर्ने कार्यलाई तिव्रता दिएका छौ । यस्ता आयोजनालाई फागुन दुई सातामै अर्बौ रुपैयाँ थप बजेट स्वीकृत भई सकेको छ । स्थानीय निर्वाचनका लागि समेत प्रभावित पार्ने किसिमबाट बजेट माग आएको छ । यस्ता कार्यक्रममा भने बजेट दिन मिल्दैन । सरकारले आचार संहिता लगाउन आलटाल गरिरहेका कारण आयोगलाई समस्या परेको छ । निर्वाचन घोषणा भएको दिन नै आचार सहिता लगाउने पर्नेमा निर्वाच हुन करिब डेढ महिना बाँकी रहँदा समेत लगाउन सकेको छैन । सरकारले बजेटको प्राथमिकतामा परेका आयोजनामा रकम अभाव हुन नदिन चैत देखि रकम खर्च गर्न नसकेका आयोजनाहरूको बजेट स्थानान्तरण गरेर भएपछि पुँजीगत खर्च बढाउने तयारी गरेको छ ।
मंगलबारको सेयर कारोबारमा सुधार हुँदा नेप्से परिसूचक दोहोरो अंकले ओरालो
काठमाडौं । मंगलबारको नेप्सेमा सेयर कारोबारमा सुधार देखिए पनि नेप्से परिसूचक भने दोहोरो अंकले झरेको छ । परिसूचक १३ दशमलब ७२ अंकले घटेर १२९९.२९ अंकमा बन्द भएको छ । सो दिनको बजारमा ५४ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकम आइतबारको तुलनामा करिब २९ करोड रुपैयाँ बढी हो । बजारमा सबैभन्दा बढी नेपाल बङ्लादेश बैंकको ११ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ६०८ रुपैयाँ रहेको छ । मंगलबार १३२ कम्पनीको १२ लाख २९ हजार कित्ता सेयर किनबेच भएको छ । मंगलबार बीमा समूहको परिसूच क ११४ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, बैंकिङ्, विकास बैंक र अन्य समूहको परिसूचक क्रमशः ५०, १३, ९ र ४ अंकले ओरालो लागेका छन् । हाइड्रो समूह ४ अंकले उकालो लागेको छ भने उत्पादनमुलक समूह स्थिर रहेको छ ।
हाम्रै जीवनकालमा रूपान्तरण गर्न बीबीसी छाेडेर नयाँ पाटीमा
केही समययता म लगायत कैयौं साथीहरूले नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रसी) अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने यो देशको रूपान्तरण हाम्रो जीवनकालमा सम्भव छैन भन्ने तर्क गर्दै आएको कतिपय पाठक तथा शुभेच्छुकलाई विदित नै छ। त्यस्तो सुसंस्कृत राजनीतिको सशक्त जग निर्माण गर्न सके दशकौंको स्वार्थलिप्त, दोहनकारी, आडम्बरी र अपारदर्शी राजनीतिका कारण देशको दुर्दशाबाट दिक्क भएका तर यो देश बनाउन सकिन्छ भन्ने विश्वास बोकेका स्वदेश तथा विदेशमा रहेका नेपालीले अवश्य साथ दिनेछन् भन्ने हाम्रो निष्कर्ष हो। हाम्रो उद्देश्य सबै क्षेत्रका इमान्दार र क्षमतावान नेपाली मिलेर स्वच्छ राजनीतिको बलमा देशलाई रूपान्तरण गर्ने साझा मञ्च निर्माण गर्नु हो। देशको ठूलो जनसमुदाय त्यसरी एक ढिक्का हुँदा “अस्तित्वमा आउने तर कहिल्यै देशको समृद्धिमुखी नेतृत्व गर्नै नसक्ने” अर्को एउटा राजनीतिक पार्टी होइन, देशलाई आमूल परिवर्तनकारी दिशामा डोर्याउन सक्ने नेतृत्व निर्माण हुनसक्छ भन्ने हाम्रो ठम्याई हो। त्यसका लागि एउटा समूह लामो समयदेखि वैचारिक र रणनीतिक मन्थनमा सक्रिय थियो। सो समूहले अब आफ्नो गृहकार्यलाई कार्यरूपमा परिणत गर्ने आत्मविश्वास हासिल गरेको छ। तसर्थ मैले बिबीसी नेपाली सेवाको प्रमुखको पदबाट राजीनामा दिएको छु। बिबीसीसँगको लामो आबद्धता, मेरो लेखन तथा परोपकारी अभियानका क्रममा मैले देशभित्र र बाहिर आमनेपालीबाट पाएको विश्वास, स्नेह र सहयोगलाई म सधैं सम्झिरहने छु। त्यसका लागि मैले जति आभार प्रकट गरे पनि त्यो अपर्याप्त नै हुनेछ भने म मेरा सहकर्मी र बिबीसीप्रति पनि सदा आभारी रहिरहने छु। मैले शुरू गर्न आँटेको राजनीतिक यात्रामा त्यो विश्वास, स्नेह र सहयोग अनि हाल गृहकार्यमा संलग्न साथीहरूले दिएको प्रेरणा र शक्तिले अत्यन्तै ठूलो ऊर्जा प्रदान गरेको छ। कतिपय शुभेच्छुकहरूले हाल विद्यमान कुनै पार्टीमार्फत नै राजनीतिकरूपमा अगाडि बढ्दा उपयुक्त हुने सल्लाह नदिएका होइनन्। तर विद्दयमान पार्टीहरूमार्फत अगाडि बढ्ने हो भने “आफू बदलिने तर समग्र देश नबन्ने” निष्कर्षमा पुगेका कारण मैले यो अलग र चुनौतिपूर्ण बाटो चयन गरेको हुँ। हामी छिटै कल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्रलाई आत्मसात गर्ने नयाँ पार्टीमा तल्लो निकायदेखि तपाईंको सहभागितासहितको संगठन निर्माण र सम्बन्धित अन्य विषयबारे थप जानकारी उपलब्ध गराउनेछौं। कुनै दलमा आबद्ध नभएका, अन्य दलमा आबद्ध भए पनि ती दलबाट यो देशको हित हुनै सक्दैन भन्ने निष्कर्षमा पुगेका र अन्य विभिन्न सामाजिक संघ-संगठनमा आबद्ध भएर समाजको सकारात्मक रूपान्तरणका लागि काम गरिरहेका सबै नेपालीहरूलाई हामी शान्त, सौम्य, देशभक्तिपूर्ण र विकासमूखी राजनीतिक उभारका लागि हामीले निर्माण गर्न लागेको मञ्च उपयोग गर्न आग्रह गर्दछौं। विगतका भएका यस्ता वैकल्पिक प्रयास, तिनका कमजोरी र विफलताबारे हामी अनभिज्ञ छैनौं। तिनबाट हामीले पाठ सिकेका छौं – तर्सिएका छैनौं। साथसाथै, हामी अधिकांश पेशागत राजनीतिक पृष्ठभूमिबाट नआएकोले यो यात्रा राजनीतिक पृष्ठभूमिबाट आएकाहरूका लागि भन्दा बढी असहज हुनेछ भन्नेमा हामीलाई कुनै भ्रम छैन। तर सुसूचित तयारीका साथ एउटा प्रतिबद्ध समूहले राजनीतिमा इमान्दार, दूरदृष्टिपूर्ण, सशक्त र राष्ट्रव्यापी हस्तक्षेप नगरी कुनै पनि देशको समष्टिगत रूपान्तरण सम्भव भएको छैन। हामी तयार भयौं – गाउँ-गाउँ, बस्ती-बस्तीमा, अनि विदेशका नगर तथा शहरहरूमा तपाईं पनि तयार रहन हामी हार्दिक आह्वान गर्दछौं। तत्कालका लागि भने देशका हरेक टोल-टोलमा कम्तिमा ७ जना वा संभव भए त्यो भन्दा बढी संख्याको समूह निर्माणका लागि जुट्न हामी विनम्र आग्रह गर्दछौं, जुन छिटै पार्टीको संगठन निर्माणको आधारशिला हुनेछ। विदेशमा बस्ने नेपालीहरूको साथ र सहयोगका लागि हामी विशेष व्यवस्था गर्नेछौं र उनीहरूलाई विदेशका नगर तथा शहरहरूमा ‘सदभाव समूह’हरू निर्माण कार्य तत्काल अगाडि बढाउन हामी हार्दिक अपिल गर्दछौं। संसारमा हामीभन्दा ज्यादै नै प्रतिकूल अवस्थामा रहेका देशले पनि १० देखि २० वर्षको बीचमा राजनीतिक स्थिरता प्राप्त गर्न र विकासलाई तीव्र गति दिन सकेका छन् भने हामीले नसक्ने कुरै छैन। हामीले शुरु गर्न लागेको यो यात्रा केवल १०/१२ जना सांसदलाई संसद्मा पठाएर “राजनीति” गर्नका लागि होइन – यो देशको नेतृत्व गरेर नेपाली राजनीतिको चरित्र र सिंगो देश नै रूपान्तरण गर्नका लागि हो। तसर्थ हामीलाई विफल हुने या ठीकै मात्र गर्ने सुविधा छैन। यस यात्रामा हामीलाई तपाईंको आशीर्वाद र सहयोग प्राप्त हुनेछ भन्ने हामीले विश्वास लिएका छौं भने तपाईंलाई हाम्रो सहयोग अवश्य मिल्ने नै छ। यो असाधारण रूपले स्रोत र साधन सम्पन्न तर राजनीतिक कारणले सधैं अस्थिर र अविकसित देशको भविष्य बनाएरै छोड्ने र समृद्ध नेपालका सूचकहरू कुनै पनि हालतमा हेरेरै मर्ने हाम्रो अठोट हो! ताकि, हाम्रा सन्ततिले बुढा बाउ-आमालाई नेपालमा छोडेर आयआर्जन, अलिकति सहज जीवनयापन र वृत्ति विकासका लागि विदेशिनु नपरोस्, बरू तिनले यो देशमा विदेशीलाई समेत रोजगारी दिन सकून्। मिश्रले जारी गरेको प्रेसविज्ञप्तिबाट
सनराइज बैंकको नयाँ शाखा झापाको दमकमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो नयाँ शाखा झापा जिल्लाको दमकमा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल र बैंकका नायव महाप्रबन्धक अपछकुमार यादवले संयुक्त रूपमा गरेका छन् । यस शाखाको स्थानान्तरणबाट बैंकले आफ्ना समस्त ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पुर्याउन सक्षम हुुुुनेमा विश्वास लिएको छ । उक्त शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको बैंकले जनाएको छ । हाल सनराइज बैंकले ६८ वटा शाखा र ७३ वटा एटिएमद्वारा ग्राहकहरुलाई बैंकिङ् सेवाहरु प्रदान गर्दै आएको छ । यो दमक शाखा संगै विराटनगरदेखि पूर्व नेपालको क्षेत्रमा बैंकको १२ वटा शाखाहरुले ग्राहकहरुमा सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
नेरुडे लघुवित्तले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, फागुन ३० गते बुक क्लोज
काठमाडौं । नेरुडे लघुवित्त विकास बैंकले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । बैंकले एक सय अंकित मूल्य बराबरको ९ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । सो प्रयोजनको लागि आगामी फागुन ३० गते कम्पनीको बुक क्लोज हुने छ । बैंकले सो मात्राको हकप्रद निष्कासन गर्न कमलपोखरीमा रहेको एनसिएम मर्चेन्ट बैंकिङ्लाई जिम्मा दिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ गम्भिर किचलोमा फस्दैछ- भाष्करराज राजकर्णिकार
नेपाल उद्योग वाणिज्य महासंघको आज बस्ने कार्यसमितिको बैठकले महासंघको निर्वाचनको मिति घोषणा गर्दैछ, आगामी चैतको अन्तिम साता । र अबको ४५ दिन निजी क्षेत्रको सम्पूर्ण ध्यान महासंघको निर्वाचनमा केन्द्रीत हुँदैछ । मुलुकमा नयाँ संविधान आएपछि, मुलुक संघीयतामा गएपछि महासंघले पनि नयाँ विधान बनाएको छ, महासंघलाई संघीय संरचनामा लगेको छ । महासंघको निर्वाचन प्रणालीमा पनि परिवर्तन भएको छ । नयाँ विधान र नयाँ संरचना बनेपछि पहिलो निर्वाचन हुँदैछ । वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणालाई स्वत अध्यक्ष बनाउने विशेष प्रबन्ध विधानमा गरिएकोमा यसलाई कानुनको सर्वमान्य सिद्धान्त विपरित भनेर पूर्वअध्यक्षहरुले भन्दै आएका छन् । निर्वाचनको संघारमा महासंघको पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार विधानको विषय उठाएर अदालत जान सक्ने, उनले भावी अध्यक्षको दावी गर्न सक्ने आशंका महासंघका सदस्यहरुबीच छ । राजकर्णिकारले जसरी पूर्वअध्यक्ष प्रदिपजंग पाण्डेलाई तारो बनाएर उनी विरुद्ध अदालत गए, त्यसरी नै भवानी राणालाई निसाना बनाएका हुन् ? उनी अध्यक्षको दावी गर्छन कि गर्दैन ? यो निर्वाचनले महासंघलाई बलियो बनाउँदै छ कि कमजोर ? प्रस्तुत छ विकासन्युजका सम्पादक रामकृष्ण पौडेलले सोधेका प्रश्न र राजकर्णिकारको जवाफ । भाष्करराज राजकर्णिकार, पूर्व वरिष्ठ उपाध्यक्ष-नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा तपाईको भूमिका कस्तो हुनेछ ? पहिला महासंघका साथीहरुप्रति मेरो गुनासो छ । महासंघको गत निर्वाचनमा साथीहरुले मलाई जसरी बुझे, त्यो गलत छ । किनकी महासंघमा म करिव २ दशक सक्रिय भएर काम गरे र जहिले पनि संस्थाको पक्षमा काम गरेँ । निर्वाचनमा पक्ष विपक्ष हुन्छ तर म जहिले पनि संस्थापन पक्षमा रहेँ, लगातार २० वर्षसम्म । अरुहरुले धेरै पटक धेरै धार परिवर्तन गरे । गत निर्वाचनमा पनि म संस्थाको पक्षमा थिएँ, व्यक्तिको पक्षमा थिइन । साथीहरुले मलाई व्यक्तिको पक्षमा रहेको जसरी चित्रण गरे । बुझाउन नसक्नु, बुझ्ने तरिकाले भन्न नसक्नु मेरो पनि कमजोरी हो । आगामी निर्वाचनमा पनि मेरो भूमिका संस्थाको पक्षमा हुन्छ । जसले महासंघको संस्थागत वृहतर हितमा काम गर्छ, बोल्छ, उसको पक्षमा सक्रिय हुनेछु । मलाई चित्त नबुझेको कुरा पनि विकासन्युज मार्फत भन्न चाहान्छु । नेपाल उद्योग वाणिज्य महासंघको संरचना जस्ले बनायो, त्यो असाध्यै राम्रो थियो । साँच्चिकै नेपाल उद्योग वाणिज्य महासंघलाई निजी क्षेत्रको संघीय प्रतिनिधि मुलक संस्था बनाएको थियो । क्षेत्रीय उद्योग वाणिज्य संघ, अञ्चल उद्योग वाणिज्य संघ, जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, बस्तुगत संघ, एसोसिएटको प्रतिनिधि बनायौं, मुलुक भन्दा पहिला महासंघ संघीय संरचनामा गएको रहेछ । म महासंघका अध्यक्षले गलत काम गरे, उपाध्यक्षले गलत काम गरे, पूर्व अध्यक्षले गलत काम गरे भन्न सक्छु, तर महासंघले गलत गर्यो भन्न सक्दिन् । तर अहिले महासंघको विधान संशोधन गरेर गलत काम गरियो । के संशोधित विधानले दीर्घकालिन रुपमा महासंघको संस्थागत हित गर्न सक्दैन ? बढो राम्रो प्रश्न उठाउनुभयो । सौभाग्यवस, हालै मात्र मैले महासंघको विधान अध्ययन गर्ने मौका पाएको थिएँ । जुन उदेश्यहरुका साथ वाणिज्य मण्डल हुँदै नेपाल उद्योग वाणिज्य महासंघ बन्यो, ती उदेश्यहरु अहिलेको विधानले पुरा गर्न सक्दैन । विधान संशोधन वरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने काम मात्र गरिएन, विधानमा धेरै केरमेट र फेरवदल गरियो । यो विधानले महासंघलाई नयाँ दिशानिर्देश गर्नै सक्दैन । जसरी नयाँ संविधान आएपछि कार्यकारी राष्ट्रपति कि संवैधानिक राष्ट्रपति भन्नेमा किचलो शुरु भएको छ, संघीयता किचलो भएको छ, धर्मनिरपेक्षतामा किचलो भएको छ, भाषादेखि अधिकारसम्ममा किचलो शुरु भएको छ, त्यसरी नै संशोधित विधानले महासंघभित्र धेरै विषयमा गम्भिर रुपमा किचलो सिर्जना गरेको छ । कस्तो किचलो हुन्छ, अब देखिने छ । आगामी निर्वाचनमा ठूलो किचलो देखिनेछ, निर्वाचनबाट गठन हुने कार्यसमितिले काम गर्न थालेपछि किचलो देखिने छ । यो विधानले महासंघलाई अत्यान्तै कमजोर बनाउनेछ । कसरी हुन्छ किचलो ? वर्तमान वरिष्ठ उपाध्यक्षले जुन समूहलाई निर्वाचनमा समर्थन गर्दै हुनुहुन्छ, त्यो समूहले निर्वाचन हार्यो वा कार्यसमितिमा अल्पमत हुनेगरी निर्वाचित भयो भने नयाँ अध्यक्षले कसरी निर्णय लिन सक्छ ? कार्यसमितिले कसरी काम गर्न सक्छ ? त्यहाँ हुन्छ ठूलो किचलो । किचालो शुरु भईसक्यो । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने भएपछि संस्था बलियो हुन्छ, गुटबन्दी हुँदैन, काम गर्न सजिलो हुन्छ भनेर विधान संशोधन भयो । यसअघिको निर्वाचनको अभ्यासको क्रममा देखिएको केही अवगुणलाई आधार मानेर अध्यक्षको पदमा निर्वाचन नगर्ने भनियो । तर निर्वाचनको मिति घोषणा भएको छैन, पहिला अध्यक्ष पदका लागि भन्दा बढी भड्किलो रुपमा वरिष्ठ उपाध्यक्षको निर्वाचन हुँदैन । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भईने भएपछि अध्यक्ष पदका लागि भन्दा बढी मूल्य चुकाएर वरिष्ठ उपाध्यक्षको निर्वाचन हुँदैछ । महासंघको निर्वाचत पहिला भन्दा भड्किलो, खर्चिलो र पेचिलो बन्नेछ । वरिष्ठ उपाध्यक्ष भईसकेको र अब स्वत अध्यक्ष हुने व्यक्ति पनि कुनै न कुनै पक्षमा उभिनुपर्ने बाध्यता छ । वर्तमान वरिष्ठ उपाध्यक्षले एउटा पक्षलाई समाईसक्नुभयो । विधान संशोधनको उदेश्य पुरा भयो त ? वर्तमान वरिष्ठ उपाध्यक्षले जुन समूहलाई निर्वाचनमा समर्थन गर्दै हुनुहुन्छ, त्यो समूहले निर्वाचन हार्यो वा कार्यसमितिमा अल्पमत हुनेगरी निर्वाचित भयो भने नयाँ अध्यक्षले कसरी निर्णय लिन सक्छ ? कार्यसमितिले कसरी काम गर्न सक्छ ? त्यहाँ हुन्छ ठूलो किचलो । त्यस्तै, महासंघको पुरानो संरचना खलबलिएको छ । भौगोलिक प्रतिनिधित्वमा संस्था सिर्जना गरिएको छ । प्रदेशबाट एकजना उपाध्यक्ष, २/२ जना सदस्य आउनेछन् । जिल्ला मिलेर प्रदेश बनेको छ । फेरी जिल्लाबाट अर्को प्रतिनिधित्व आउँछ । प्रदेशबाट आउने प्रतिनिधि र जिल्लाबाट हुने प्रतिनिधिमा के फरक ? भूमिकामा के फरक ? त्यो प्रष्ट छैन । जिल्ला उद्योग वाणिज्य संघलाई प्रदेश उद्योग वाणिज्य संघको शाखाको रुपमा राखिएको छ । जिल्ला उद्योग वाणिज्य संघलाई कमजोर बनाईएको छ । विकेन्द्रीकरण गर्नु पर्ने अधिकार केन्द्रीकरण गरिएको छ । यसमा पनि किचलो हुन्छ । पहिला पनि अधिकारको विषयलाई लिएर छिनाझम्टी (कुटाकुट हुनुपूर्व झगडाको चरम विन्दु) हुन्थ्यो । किन जिल्ला तथा नगर उद्योग वाणिज्य संघलाई ५० प्रतिशत, किन एशोसिएटलाई ३० प्रतिशत, किन बस्तुगत संघलाई २० प्रतिशत मात्रा, द्धिराष्ट्रिय उद्योग वाणिज्य संघलाई किन एउटा मात्र सिट भनेर चर्काचर्की हुन्थ्यो । सबैभन्दा बढी समस्या एशोसिएट सदस्यलाई पर्छ । पुँजीको आधार १ करोडबाट ३ करोड बनाईयो । हिजो महासंघले साना, माझ्यौला र ठूला उद्योगलाई प्रतिनिधित्व गर्दथ्र्यो, अहिले खलबलियो । महासंघमा कोषाध्यक्षको व्यवस्था गरियो । अब महासंघको सचिवालय कमजोर हुन्छ । पहिला महासंघको कोष तथा प्रशासनको नियन्त्रण महानिर्देशकको नेतृत्वमा हुन्थ्यो, प्रोफेशनल मान्छेले लेखाप्रणाली सञ्चालन गर्दथे । तर अहिले कोषको नियन्त्रण र सञ्चालनको अधिकार कोषाध्यक्षलाई दिईयो । निर्वाचित मान्छेले भोलुन्टरको भूमिकामा महासंघको कोष सञ्चालन गर्न सक्दैन । त्यसले कोष सञ्चालनमा गम्भिर बेथिति जन्माउँछ । जसरी तपाई तीन वर्षअघि तत्कालिन अध्यक्ष प्रदीपजंग पाण्डेको विरुद्ध अदालत जानुभयो, त्यसरी नै भवानी राणालले वरिष्ठ उपाध्यक्ष पदमा आंशिक समय मात्र काम गरेको, पूरा कार्यकाल नबिताएको भनेर अदालत जाँदै हुनुहुन्छ हो ? त्यतिबेला पनि मैले कानुन सम्मत तरिकाबाट संस्था चल्नु पर्छ भनेको हुँ र अहिले पनि संस्था विधिवत रुपमा चल्नुपर्छ भन्ने पक्षमा म छु । महासंघको संशोधित विधानमा हालका लागि वर्तमान वरिष्ठ उपाध्यक्षको कार्यकाल आंशिक भए पनि पूर्णकार्यकाल मान्दै उनीलाई (भवानी राणालाई) स्वतः अध्यक्ष बनाउने भनेर लेखिएको छ । त्यो चाहिँ विश्वव्यापी रुपमा बैधानिक र न्यायिक सिद्धान्त विपरित छ । एक जना व्यक्तिको लागि लक्षित विधान बनाइएको छ । त्यो गलत छ । पूर्व वरिष्ठ उपाध्यक्षको हैसियतले तपाई अध्यक्ष पदको दावी गर्दै हुनुहुन्छ ? महासंघमा वरिष्ठ उपाध्यक्ष पदमा बसेर पूर्ण कार्यकाल विताएको र महासंघको अध्यक्षको जिम्मेवारी नसमालेको व्यक्ति म मात्र हुँ । यो मैले भन्नै परेन । सबैलाई थाहा छ । म फेरी पनि दोहोर्याउन चाहान्छु कि गएको निर्वाचनमा मलाई साथीहरुले बुझ्न सक्नु भएन, मैले बुझाउन पनि सकिन । जे परिणाम आयो, मलाई लग्यो कि मेरो यात्रा यति नै हो । तर अहिले मैले ज भनिरहेको छु नि मैले मेरो व्यक्तिगत कुरा गरिरहेको छैन, संशोधित विधान गलत छ । महासंघ निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था हो । यो कुनै क्लव वा सहकारी होइन, जसलाई केही व्यक्तिको इच्छाअनुसार मिलाएर चलाउने । महासंघको विधान त्यसरी मिलाएर चल्दैन । संशोधित विधानप्रति मेरो व्यक्तिगत असन्तुष्टि मात्र छैन, यसमा महासंघका पूर्व अध्यक्षहरुले आपत्ति जनाउनु भएको, अस्वीकार गर्छौ भन्नुभएको छ । भलै पूर्वअध्यक्षहरुले संशोधिन विधान अस्वीकार गर्छौ भनेर विज्ञप्ती निकाल्नुबाहेक केही गर्नु भएको छैन । तपाई वरिष्ठ उपाध्यक्ष भएको समयमा पनि पूर्वअध्यक्षहरुको भूमिकाको खुबै आलोचना भयो, अहिले पनि पूर्वअध्यक्षहरुको भूमिकाप्रति तपाईको असन्तोष व्यक्त भयो । महासंघमा पूर्व अध्यक्षहरुको भूमिका कस्तो खोजिएको हो ? पूर्वअध्यक्षहरुको भूमिकाबारे मेरो आलोचना छैन । विधान संशोधनको सन्दर्भमा उहाँहरुले खेल्नुभएको भूमिका अपूर्ण रह्यो भन्ने मेरो भनाई हो । म बरिष्ठ उपाध्यक्ष हुँदा तत्कालिन अध्यक्ष सुरज बैद्य र पूर्वअध्यक्षहरुबीच जुन किसिमले दुरी बढ्दै गएको थियो, त्यो व्यक्तिगत रुपमा मेरो लागि पनि अहितकर थियो, संस्थाको लागि पनि अहितकर थियो । त्यसैले उहाँहरुबीचको सम्बन्ध सुधारका लागि मैले सक्दो प्रयास गरेँ । मैले अध्यक्षलाई नैतिक रुपमा माफी माग्दै पत्र लेख्नुपर्ने अवस्थामा पुर्याएँ । हुनसक्छ, त्यो पनि प्रयाप्त भएन कि । जहाँसम्म महासंघका पूर्व अध्यक्षहरुको भूमिका कस्तो हुनुपर्छ भन्ने प्रश्न छ, यसमा विधानले प्रष्ट बोलेको छ । पूर्वअध्यक्षहरु विशिष्ट सदस्य भएर, सदस्यता वितरण समितिको सभापति भएर वा कार्यसमितिले दिएका अन्य जिम्मेवारी निर्वाह गर्ने हो । दैनिक काममा संलग्न हुने होइन । तर अहिले जसरी संस्थाको अवधारणा नै परिवर्तन हुने, उदेश्यमा नै विचलन आउने दिशामा महासंघ गएको छ, यस्तो बेलामा पूर्वअध्यक्षहरुले जे भूमिका खेल्नु पर्ने थियो त्यसतर्फ उहाँहरुको भूमिका अपूर्ण रह्यो । महासंघको निर्वाचनमा जहिले पनि दुई धार हुन्छ । तर तपाईले आफू जहिले पनि संस्थापन पक्षमा रहेको दावी गर्नुभयो । महासंघमा संस्थापन पक्ष र विपक्ष भन्ने धार स्थीर छ र ? दुई चार जनाको मानिसहरुको व्यक्तिगत मनोकांक्षाले हरेक कालखण्डमा महासंघ विभाजित भएको छ, म ती व्यक्तिको नाम लिन चाहान्न । कुनै समय दुई ठूला व्यवसायिक घरानाका सदस्यहरुको व्यक्तिगत मनोकांक्षाले महासंघमा विभाजन देखियो । हाम्रा पाठक, महासंघका नयाँ पुस्ताले चिन्नेगरी ती व्यक्तिको नाम भन्दा के फरक पर्छ ? तपाई सोध्न सक्नुहुन्छ, रविजी जीउँदै हुनुहुन्छ, महेशलाल प्रधान जीउँदै हुनुहुन्छ । जस्तो पद्म ज्योति र विनोद चौधरीको पालाको चुनाव । त्यो बेला सिर्जना भएको धार यति गहिर्यो कि विनोद चौधरीले नेपाल उद्योग परिसंघ नै खोल्नु भयो । त्यो निजी क्षेत्रमा गम्भिर विभाजन हो । त्यसले निजी क्षेत्रलाई नै कमजोर बनायो । त्यो विभाजन रविभक्तको पालासम्म रह्यो । त्यतिबेला म विज्ञापन संघको अध्यक्ष थिएँ । व्यक्तिगत रुपमा मेरो ठूलो प्रयासमा रविभक्त र प्रदीपकुमार श्रेष्ठले हात मिलाए । उहाँहरु पालैपालो अध्यक्ष हुनुभयो । फेरी चण्डिराजी र नन चण्डि (चण्डिराज ढकाल एकातिर, अरु अर्कोतिर) धार शुरु भयो । शुरुमा म चण्डिजीको धारमा थिए । त्यतिबेला उहाँ संस्थापन पक्षमा हुनुहुन्थ्यो । सुरज बैंद्य अध्यक्ष हुँदासम्म हामी सँगै भयौ । म अध्यक्षको उम्मेदवार बन्दा चण्डिजी अन्तै जानुभयो । कुश कुमार जोशी अध्यक्ष हुँदा म अर्को पक्षबाट उपाध्यक्ष थिए । तर मैले निर्वाचित अध्यक्षलाई माने, उहाँलाई मैले सहयोग गरँे । तपाईले कुसकुमारलाई सोध्न सक्नुहुन्छ । शान्ति यात्रा, निर्णयक वहस जस्ता ऐतिहासिक रुपमा महासंघको उचाई बढाउने कार्यमा मैले कुशकुमार जोशीलाई सहयोग गरेँ । सुरज बैद्य अध्यक्ष उम्मेदवारीको तयारीमा हुनुहुन्थ्यो । म उहाँको पक्षमा थिएँ । वरिष्ठ उपाध्यक्ष सुरज बैद्यलाई अध्यक्षमा सहयोग गर्नु मेरो जिम्मेवारी थियो । त्यतिबेला पूर्वअध्यक्षहरुले मलाई भन्नुभयो–‘तपाई सुरज बैद्यको साथ छोड्नुहोस्, हामी तपाईलाई सर्वसहमतिमा अध्यक्ष बनाउँछौं ।’ तपाई सोध्न सक्नुहुन्छ, रविजी जीउँदै हुनुहुन्छ, महेशलाल प्रधान जीउँदै हुनुहुन्छ । मैले उहाँहरुलाई भने–‘मैले जिन्दगीभर संस्थापन पक्षलाई सहयोग गरे, सुरज बैंद्यलाई सहयोग गरे, निर्वाचनको दुई महिनाअघि उहाँलाई धोका दिएर म अध्यक्ष बन्दिन ।’ उहाँहरुले बैद्यको नेतृत्वमा रहेको हाम्रो टिमलाई असहयोग गर्नुभयो । अहिले उहाँहरु नै भन्नुहुन्छ–‘भाष्कर तिमी ठिक रहेछौं ।’ म जहिले पनि संस्थाको पक्षमा थिए र अहिले पनि छु । अहिले म विशिष्ट सदस्य छु । तर दुर्भाग्य, मलाई महासंघले कुनै पनि बैठकमा बोलाउँदैन, कार्यक्रममा बोलाउँदैन । मलाई महासंघबाट कुनै पनि प्रकारको कार्ड आउँदैन । जबकी मेरै साथीहरु नेतृत्वमा हुनुहुन्छ । तपाईले नै समर्थत गरेर पशुपति मुरार्कालाई अध्यक्ष बनाएको होइन ? हो नि, यहि त छ दुर्भाग्य । यस्तो खालको संस्कारलाई हामीले चिर्नुपर्यो । आजाद श्रेष्ठ, कृष्णप्रसाद ताम्राकार, रोहिणी थपलिया, वितेर जानुभयो चिरञ्जीवि तिवारी लगायत अरु धेरै पूर्वपदाधिकारीहरु हुनुहुन्छ, जसले महासंघलाई महत्वपूर्ण योगदान गर्नुभएको छ, उहाँहरुले गरेको योगदानको कदर गर्ने कि नगर्ने ? म कार्यवहाक अध्यक्ष भएको बेलामा सबै पूर्व अध्यक्षहरुलाई बोलाउँथे, उहाँहरु आउनुहुन्थो । जबकी अध्यक्ष सुरज बैंद्यले बोलाएको ठाउँमा उहाँहरु आउनुहुन्न थियो । पूर्व पदाधिकारीहरुलाई बोलाउँथे । मलाई थाहा छ संस्थागत आचारण कस्तो हुनुपर्छ । सबैको हितमा काम गरे भन्नुहुन्छ । पूर्व अध्यक्ष, पूर्व पदाधिकारी सबैलाई सम्मान गरेँ भन्नुहुन्छ तर चुनाव किन हार्नुभयो त ? मुख्य कुरा यसअघि नै भने साथीहरुले मलाई बुझ्न सक्नुभएन । दोस्रो म अलि खरो बोल्ने, प्रष्ट बोल्ने । निजी क्षेत्रको समग्र हितमा कुरा गर्दा केही साथीहरुको चित्त दुख्यो होला । विकृतिहरुको बारेमा बोल्दा व्यूरोकेसीलाई मन परेन होला । राजनीतिक नेतृत्वलाई मन परेन होला, सरकारबाट असन्तुष्टि आए होलान् । उनीहरु मेरो विपक्षमा लागे होलान । त्यतिहुँदा हुँदै पनि मैले महासंघमा गरेका काममा नेगेटिभ भन्नेहरु कम छन् । मेरा पनि थुप्प्रे कमजोरी छन् र सकारात्मक पक्ष पनि धेरै छन् । अबको चुनावमा तपाई कुन पक्षमा उभिने ? पक्ष र विपक्षमा भन्दा पनि उद्योग वाणिज्य महासंघको संस्थागत हितको कुरा गर्नुपर्छ । दुर्भाग्यवस अहिले कुनै पनि त्यस्तो नेतृत्व छैन, जसले महासंघलाई सशक्त रुपमा अगाडि बढाओस् । मेरो मुखले यसो भन्दा राम्रो सुनिदैन तर सत्य यहि हो । तीन वर्षअघिको महासंघ हेर्नुहोस, अहिलेको महासंघ हेर्नुहोस् । अहिले महासंघमा परिपक्व नेतृत्व छैन । भनिन्छ, नयाँ पुस्ता विश्वविद्यालय पढेको छ, धेरै विषयमा अपडेटेड छ, सक्षम छ र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ । तर तपाई वर्तमान उपाध्यक्षहरुप्रति, नयाँ पुस्ताप्रति किन विश्वास गर्नुहुन्न ? नयाँ पुस्ता कसलाई भन्ने । म पनि भर्खरै ५१ वर्षको भएँ । महासंघमा कोही ६० वर्षको छन्, कोही ४० वर्षका होलान् । धेरै साथीहरु ४५ देखि ५५ को बीचमा हुनुहुन्छ । तपाई आफै भन्नुहोस् को नयाँ, को पुरानो पुस्ता ? उच्च नेतृत्वमा पुग्न अनुभव संगालेको मान्छे हुनुपर्छ, पहिचाहन बनेको व्यक्ति हुनुपर्छ, क्षमता प्रदर्शन भएको व्यक्तित्व हुनुपर्छ । अहिले नेतृत्वको दावी गर्नेहरुसँग त्यो देखिदैन । मैले मात्र भनेको होइन, अरुले पनि त्यहि भनिरहेका छन् । खारिएको नेतृत्वको लागि अध्यक्षको निर्वाचन प्रत्यक्ष हुनुपर्छ भनिएको हो, पहिलाको अभ्यास पनि त्यहि हो । देशभर चिनिएको व्यक्ति चुनिन्थ्यो । उम्मेदवारका राम्रा नराम्र सबै पक्ष वहसमा आउँथे । र, योग्य, सक्षम व्यक्ति चुनिएर आउँथ्यो ।
आन्तरिक वायुसेवासँग ४३ जहाज, काठमाडौंबाट मात्रै दैनिक तीन सय उडान
काठमाडौं । आन्तरिक वायुसेवामा तीब्र प्रतिस्पर्धा बढ्न थालेको छ । वायुसेवा कम्पनीबीच एकपछि अर्कोले जहाज थप गर्ने र सेवा संचालनको दायरा बढाउने कार्यलाई तीब्रता साथ अगाडि बढाइरहेका छन् । काठमाडौं विमानस्थलाई आधार बनाएर उडान गर्ने वायुसेवाको प्रतिस्पर्धा बढ्नुले यात्रु सेवामा सहजता हुने गरेको भएपनि दुर्गम क्षेत्रमा भने अझै समस्या छ । हाल नेपालका विभिन्न १० वटा आन्तरिक वायसेवासँग ४३ वटा जहाज रहेका छन् । यी जहाजमार्फत काठमाडौं विमानस्थलबाट मात्रै दैनिक साढे तीन सय वटासम्म उडान हुने गरेको छ । याे जहाज सख्या नियमित उडानका वायुसेवाकाे मात्रै हाे । हेलिकाेप्टरले चार्टर उडान गर्ने भएकाेले तीनकाे सख्या उल्लेख छैन । हेलिकाेप्टर सख्या करीब डेढ दर्जन रहेकाे छ । पर्यटकीय सिजनमा सबैभन्दा बढी उडान तथा अवतरण हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । उनका अनुसार अहिले पर्यटकीय सिजन नहुँदा पनि दैनिक ११० वटा उडान र सोही नै संख्यामा अवतरण हुने गरेका छन् । यो तथ्यांक पर्यटकीय सिजनमा दोब्ब नै हुने गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । उनका अनुसार पर्यटकीय सिजनमा दैनिक ३ सय उडान सामान्य हो । नेपालमा जहाज कम्पनी थप हुने र वायुयान बढ्दै गएको भएपनि समस्या नै रहेको वायुसेवा संचालक संघका प्रवक्ता घनश्याम आचार्यले बताए । सीता एयरका महाप्रवन्धक रहेका अचार्यका अनुसार सेवा दिन जहाज थप गर्नुपर्ने वाध्यता छ । जहाज नहुँदा यात्रुको चाप धान्नै समस्या हुन्छ जहाज हुँदा विमानस्थलको चापले अर्को समस्या हुने गरेको उनको बुझाई छ । उनका अनुसार वायुसेवा कम्पनीले आफ्नो बजार बढाउन पनि जहाज थप गर्ने पर्ने वाध्यता रहेको छ । कुन बायुसेवाका कति जहाज बुद्ध एयर ९ वटा तारा एयर ७ वटा यति एयरलाईन्स ६ वटा गोमा एयर ६ वटा नेपाल वायुसेवा निगम ६ वटा सिम्रिक एयरलाईन्स ४ वटा सीता एयर २ वटा सौर्य एयर १ वटा मकालु १ वटा काष्टमण्डप १ वटा जम्मा ४३ वटा आन्तरिक वायुसेवा तीब्र प्रतिस्र्पाधाले यात्रुलाई सहज हुने भएपनि सुगम क्षेत्रलाई धानेको भएपनि दुर्गमममा समस्या रहेको यति एयरलाइन्सका अपरेसन निर्देशक गोविन्द पौडेलले बताए । उनका अनुसार जति जहाज भएपनि सिजनमा पुग्दैन । अफ सिजनमा विमानस्थको भिजिविटिली कम हुँदा समस्या हुने गरेको छ । उनका अनुसार बजारको आवश्यकता पूरा गर्न र आफ्नो मार्केट बढाउन पनि जहाज थप गर्ने रणनीतिलाई सामान्य नै मान्नुपर्ने पौडेलको तर्क छ । एउटा वायुसेवा आउँदैमा र जहाज थप गर्दैमा समस्या हुने अवस्था नरहेको र बजार बढ्दै गएकोले आवश्यकताको सिद्धान्त अनुसार सेवा विस्तार भएको सौर्य एयरका प्रवन्ध निर्देशक गोपाल भट्टराईले बताए । उनका अनुसार जहाज कम्पनीले दिने सेवा र सुविधाले यात्रु तान्न सक्छन । जसको सेवा र सुविधा राम्रो हुन्छ उतै यात्रु जाने भएकोले पनि आवश्यकता अनुसार सेवामा प्रतिस्पर्धा गर्नुपर्छ । हाल १ मात्रै जहाज रहेको कम्पनीले करिब ५० देखि ६० करोड खर्चेर थप अर्को जहाज ल्याउने तयारी थालेको छ । जहाज आगामी १५ दिनमा आउने पनि उनको दाबी छ । अान्तिर वायुसेवाका यी जहाजमध्ये काष्टमण्डपबाहेक सबैकाे उडान भइरहेकाे छ । याे वायुसेवाेकाे भने हाल जहाज भएरपनि उडानमा राेक लागेकाे छ । पछिल्लो समय आन्तरिक वायुसेवा कम्पनी सबैभन्दा बढि जहाज बनाउने र प्रतिस्पर्धा गर्नेमा बुद्ध र यति एयर नै अग्र स्थानमा रहेका छन् । दुबै वायुसेवाले क्षमता बढाउने र बजार बिस्तारमा नयाँ रणनीति बनाएर अगाडि बढिरहेका छन् । दुबै वायुसेवाले नेपाली आकासमा एटीआर नामक आधुनिक वायुसेवा थप गरेर सेवा दिने भएका छन् । बुद्धसँग ७ वटा एटीआर जहाज नै छ भने यतिले पनि चार वटा ल्याउने प्रक्रियालाई अगाडि बढाएको छ ।