विकासन्युज

भूकम्प पीडित ५ सयलाई सिटिइभिटीले निःशुल्क पढाउने

काठमाडौँ, २९ वैशाख । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले भूकम्प प्रभावित १४ जिल्लाका ५०० छात्रछात्रालाई निःशुल्क पढाउने भएको छ । राजधानीमा पत्रकार सम्मलेनमार्फत परिषद्ले विशेष प्राविधिक शिक्षाअन्तर्गत छनोट भएका ५०० जना छात्रछात्राका लागि आगामी जेठ २ गतेबाट निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । सिटिइभिटीका प्रवक्ता एवम् सूचना तथा अनुसन्धान महाशाखाका निर्देशक शिवशङ्कर घिमिरेले चालु आवको बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम भूकम्प प्रभावित मध्येबाट छनोट भएका विद्यार्थीका लागि कक्षा सञ्चालन गर्न लागेको बताए। काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली र ओखलढुङ्गाका भूकम्प प्रभावित ‘क’ वर्गको परिचयपत्र प्राप्त गरेका परिवारबाट छनोट भएका छात्रछात्राले निःशुल्क प्राविधिक शिक्षा लिन पाउने भएका हुन् । निःशुल्क पढ्न पाउने छात्राले निर्वाह भत्ताबापत् प्रतिमहिना तीन हजार ५००, बर्सेनि यातायात खर्च एक हजार ५००, पोसाक खर्च दुई हजार ५०० पाउनुका साथै निःशुल्क अध्ययन एवम् छात्रावासको पनि सुविधा प्राप्त गर्नेछन् । परिषद्का सदस्य सचिव रामहरि लामिछानेले ६५ करोड बराबरको रकम विपन्नलाई छात्रवृत्तिका लागि खर्च हुने जानकारी दिए । “वार्षिक एक अर्ब दुई करोडको छात्रवृत्ति ८८ छात्रछात्राका लागि खर्च हुनेछ” उनले भने। शारीरिक अपाङ्गता भएका बहिरा व्यक्तिका लागि पनि प्राविधिक शिक्षामा समावेश गर्ने हेतुले धवलागिरि बहिरा आवासीय माध्यमिक विद्यालय वागलुङ्लाई परिषद्को आङ्गिक शिक्षालयको रुपमा सञ्चालन गरी स्नातक तहको कम्प्युटर इन्जिनियरिङ कार्यक्रम समेत आव २०७३÷७४ बाट सुरु गर्न लागिएको लामिछानेले बताए । परिषद्बाट सम्बन्धन लिन प्रमाणपत्र तहको कार्यक्रम सञ्चालनका लागि आफ्नै अस्पताल, मेडिकल कलेज, सहकारी गुठी र ट्रष्ट्रले जुनसुकै बेला प्रस्ताव पेस गर्न पाउने निर्णय खारेज गरेको परिषद्ले जनाएको छ । अब यस्ता प्रस्ताव पेस गर्न परिषद्ले विज्ञापन गरेपछि मात्र पाइने छ ।

पाठ्यपुस्तक उपलब्धताको अनुगमन सुरु

चितवन, २६ वैशाख । पाठ्यपुस्तक अनुगमन केन्द्रीय समितिको टोली जब चितवनको केन्द्रविन्दु भरतपुरमा रहेको चितवन उच्चमाविमा अनुगमनका लागि पुग्यो तब उसलाई थाहा भयो कि पुस्तकको पर्याप्तताको अवस्था निकै दयनीय रहेछ । केन्द्रीय अनुगमन समितिका सदस्यसमेत रहेका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलको संयोजकत्वमा आएको टोलीले आज चितवनबाट पूर्वतर्फका जिल्लामा पाठ्यपुस्तक अनुगमन गर्दैछ । जनक शिक्षा सामग्री केन्द्रको क्षेत्रीय कार्यालयबाट दुई किलोमिटरको दूरीमा चितवन उच्च मावि रहेको छ । प्राचार्य मुक्तिनाथ लामिछानेले प्राविबाहेक माथिल्ला कक्षामा ४० प्रतिशत पुस्तक अपुग रहेको बताए । उनले उदाहारण दिए – “कक्षा ८ मा ७३ जना विद्यार्थी छन् । उनीहरुमध्ये विज्ञान, नेपाली र अङ्ग्रेजी विषयको पुस्तक नहुने ४० जना छन् ।” त्यस्तै, अन्य कक्षामा पनि पुस्तकको अवस्था दयनीय रहेको र पुस्तक अभावमा पढाइ प्रभावित भएको प्राचार्य लामिछानेले बताए । चित्र नबुझिने समस्या पुस्तकमा रहेको पनि उनले बताए। कक्षा ५ सम्मका पाठ्यपुस्तक छपाइका लागि निजी मुद्रकलाई दिइएको हुँदा फाटफुटबाहेक अधिकांशले पुस्तक सेट नै पाएका छैनन् । निजी क्षेत्रबाट सूचीकृत भएका १७ वटा मुद्रकलाई पुस्तक छाप्ने जिम्मा दिइएको थियो । चितवन माविमा मात्रै होइन जिल्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तकको समस्या रहेको जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले केन्द्रीय अनुगमन समितिलाई जानकारी गराएका थिए । देशभर शैक्षिकसत्र २०७३ मा कक्षा १ देखि ५ सम्म ३६ लाख ६५ हजार ६५९ विद्यार्थी अध्ययनरत रहेको अनुमान छ । यसका लागि एक करोड ८३ लाख २८ हजार २९५ थान पुस्तक आवश्यक पर्छ । कक्षा ६ देखि ८ सम्मका १५ लाख ४४ हजार २२९ जना विद्यार्थीलाई एक करोड ३८ लाख ९८ हजार १५१ थान पुस्तक आवश्यक पर्छ भने कक्षा ९ र १० का सात लाख २८ हजार २५६ विद्यार्थीलाई ५८ लाख २७ हजार ६४८ थान पुस्तक आवश्यक पर्छ । अनुगमनमा सँगै रहनुभएका निजी क्षेत्रको पाठ्यपुस्तक छपाइको संयोजन गर्नुभएका दीपक भण्डारीले कक्षा ५ सम्मका लागि आवश्यक पर्ने एक करोड ८३ लाख २८ हजार २९५ मात्रै भएकामा निजी मुद्रकले दुई करोड पुस्तकको छपाइ सकेको जानकारी दिए। उनले देशका कुनै पनि क्षेत्रमा पुस्तक आवश्यक परेमा तीन देखि सात दिनमा पुस्तक पु¥याउन सक्ने पनि बताए । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पौडेलले कक्षा ६ देखि माथि एक करोड ९७ लाख थान पुस्तक आवश्यक पर्ने भए पनि १० लाख पुस्तक अझै छाप्न बाँकी रहेको जनक शिक्षाले जानकारी दिएको बताए । उनले एक साता भित्रमा दैनिक एक लाख ३५ हजारका दरले पुस्तक छापेर वितरण गरिने आश्वासन दिएको पनि बताए । यद्यपि छपाइ मात्र नभएर वितरण प्रक्रियाका कारण पनि विद्यार्थीको हातमा पुस्तक पुग्न नसकेको पाइएको उनले बताए। सेट पुस्तक नहुँदा ढुवानी महँगो हुने भन्दै बिक्रेताले नलगेका कारण समस्या आएको उनको भनाइ छ । यस वर्ष नाकाबन्दीका कारण कागजको अभावमा छपाइमा ढिलाइ भएको पनि उनले बताए । गत वर्ष भूकम्पका कारण सबै विद्यार्थीले पुस्तक पाउँदा असार मसान्त पुगेको बताउँदै उनले यस वर्ष त्यसअघि नै विद्यार्थीले पुस्तक पाउने दाबी गरे । जनक शिक्षाका क्षेत्रीय गोदाममा पुस्तक थुप्रिएको भए पनि सेटको अभाव र समयमा भुक्तानी नपाएका कारण पनि पुस्तक उठाउन बिक्रेताले ढिलाइ गरेको पाइएको छ । जनक शिक्षाको क्षेत्रीय कार्यालय भरतपुरका लेखा प्रमुख केदारराज विष्टले अझै १० लाख थान पुस्तक गोदाममा रहेको बताए। यो क्षेत्रीय कार्यालयले चितवनसहित ११ जिल्लामा पुस्तक वितरण गर्ने गर्दछ । पुस्तक बिक्रेताले नौदेखि ८९ प्रतिशतसम्म ढुवानी र बिक्री कमिसन पाउने गर्दछन् । जिल्ला शिक्षा कार्यालयले सबै विद्यालयमा ८० प्रतिशत पुस्तकका लागि भुक्तानी पठाइसकेको जनाएको छ । बिक्रेतासँग कमिसनको लोभ गरेर कतिपय प्राचार्यले समयमा भुक्तानी नदिने गरेको समेत गुनासो गर्ने गरेको पाइएको छ । पाठ्यक्रम विकास केन्द्रले शैक्षिकसत्र सुरु हुनुभन्दा ६ महिनाअघि नै जनक शिक्षामा पुस्तक छाप्न पठाउने गर्दछ । कार्यकारी निर्देशक पौडेलले यस वर्ष पनि ६ महिनाअघि नै पठाएको बताए । यस वर्ष सरकारले पुस्तक छपाइका लागि मात्र एक अर्ब ८५ करोड रुपैयाँ खर्च गर्दैछ । सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्मका विद्यार्थीले निःशुल्क पुस्तक पाउने गर्दछन् । वैशाखको पहिलो सातादेखि नयाँ शैक्षिकसत्र सुरु भएको हो । रासस

सोमबारदेखि निजी विद्यालयको शुल्क अनुगमन हुने

काठमाडौं, २४ वैशाख । शिक्षा मन्त्रालय, अभिभावक र १३ विद्यार्थी सङ्गठनले निजी विद्यालयले लिने शुल्कको अनुगमन गर्ने भएका छन् । मन्त्रालय र विद्यार्थी सङ्गठनबीच शुक्रबार बिहान भएको वार्तामा तीनबुँदे सहमति भएको र यसअन्तर्गत सोमबारदेखि संयुक्त रुपमा निजी विद्यालयले लिने शुल्कका बारेमा अनुगमन गरिने भएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले विद्यार्थी सङ्गठनलाई पनि अनुगमन समितिमा राखेर शुल्कबारे अनुगमन गर्ने सहमति भएको बताए । उनले केन्द्रीय अनुगमन समितिले सोमबारदेखि निजी विद्यालयहरुले लिएको शुल्कबारे अनुगमन गर्ने जानकारी गराए। केन्द्रीय अनुगमन समिति शिक्षा विभागका महानिर्देशक खगराज बरालको संयोजकत्वमा गठन गरिएको छ । नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपि लामिछानेले मन्त्रालयसँगै मिलेर अभिभावकसहित आफूहरुले पनि अनुगमन गर्ने सहमति भएको बताए । यसअघि मन्त्रालयले निजी विद्यालयको अनुगमन नगरेको भन्दै दुई दिन विद्यार्थी सङ्गठनहरुले आफैँअनुगमन गरेका थिए । लामिछानेका अनुसार केन्द्रीय तहमा शिक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव लम्सालको संयोजनमा केन्द्रीय अनुगमन समिति बनाउने सहमति भएको छ । जिल्ला तहमा उपसचिवको संयोजनमा जिल्लामा अनुगमनमा समिति बनाइने भएको छ । अनुगमन विशिष्ट श्रेणी भनिएका विद्यालयबाट थालिने भएको छ । लामिछानेका अनुसार अनुगमनका क्रममा बढी शुल्क लिने विद्यालयबाट रकम फिर्ता गराउने पनि सहमति भएको छ । आजको वार्तामा शिक्षा मन्त्रालयका प्रवक्ता लम्सालसहित शिक्षा विभागका महानिर्देशक खगराज बराल र उपत्यकाका तीनै जिल्लाका जिल्ला शिक्षा अधिकारीसहितको सहभागिता रहेको थियो । रासस

म्याग्दीका गाउँले ट्वीटर र स्काइपमा रमाउँदै

म्याग्दी, १९ जेठ । एक दशक अघिसम्म सूचना आदानप्रदानका लागि कटुवाल, मुखिया र हुलाकीको भर पर्ने गरेको म्याग्दी जिल्ला सूचना प्रविधिको क्षेत्रमा फड्को मार्न सफल भएको छ । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र स्काइप अब म्याग्दीका सर्वसाधारणका लागि नयाँ विषय रहेनन् । महावीरले सुरु गरेको इन्टरनेट सञ्जालको पहुँच जिल्लाका गाउँ(गाउँ र विद्यालयसम्म पुगेको छ । म्याग्दीका नागी, टिकोट, शिख, घार, पाउद्वार, नारच्याङ, भुरुङतातोपानी, कुहुँ, विम, निस्कोट, दरबाङ, बाबियाचौर, पात्लेखेत, पाखापानी, ताकम र चिमखोला गाउँ र त्यहाँ रहेका विद्यालयमा इन्टरनेट विस्तार गरिएको छ । पछिल्लो समय इन्टरनेट विस्तारका लागि सम्बन्धित गाविसले पनि बजेट विनियोजन गर्दै गएपछि ग्रामीण भेगमा यसको पहुँच बढ्न सकेको बताइएको छ राम्चे–१ नागीका ५८ वर्षीय दिलबहादुर तिलिजा विदेशमा रहेका छोरा र छोरी ज्वाइँसँग स्काइपमा कुराकानी गर्छन् । उनका छोरीज्वाँइ ९ वर्षदेखि सिङ्गापुरमा छन् । एउटा छोरा जापानमा अध्ययन गर्दैछन् । जापान र सिङ्गापुर भूगोल र दूरीले मात्र टाढा रहे, उनका लागि । सञ्चो–विसञ्चोको हालखबर मात्र होइन परदेशको काम र खानपिनले मोटाएको अथवा दुब्लाएको शरीर समेत एकै बसाइमा हेर्न सकिन्छ । ‘मान्छे नै छर्लङग देख्ने भएपछि विदेशमा रहेको अनुभूति पनि हुँदैन, यता र उताको फुर्सद मिलाएर कुराकानी गर्छौं,’ तिलिजा भन्छन् – ‘गाउँमै बसेर यस्तो सुविधा पाइएला भनेर सोचेकै थिएन ।’ उमेर ढल्किँदै गएपनि उनले स्काइपसँगै फेसबुक र ट्वीटर अकाउण्ट खोलेका छन् । ‘अधिकांश कुरा मोबाइलबाट पनि हुन्छ, तर यसबाट झन् धेरै फाइदा हुँदोरहेछ, गाउँका अरु बूढाबूढीलाई अकाउण्ट खोल्न आग्रह गरेको छु’ उनले भने । जिल्ला सदरमुकाम बेनीदेखि एकदिनको पैदलदूरीमा पुग्न सकिने नागीका सर्वसाधारणको इन्टरनेटमा पहुँच बढ्दो छ । खासगरी सामाजिक कार्यकर्ता महावीर पुनले गाउँमा बेतारे इन्टरनेटको सञ्जाल विस्तार गर्न सफल भएपछि यस्तो सम्भव भएको म्याग्दीका क्रियाशील पत्रकार गोपाल छन्त्यालले बताए । ग्रामीण भेगमा इन्टरनेट विस्तारका लागि महावीरले कास्कीको पोखराबाट समुद्री सतहदेखि तीन हजार ३०० मिटरमा अवस्थित राम्चेकै मोहरे डाँडामा रिले स्टेसन निर्माण गरेका छन् । त्यसलाई मुख्य स्टेसन बनाई शिखको खोप्रालेक र म्याग्दीको कुहुँस्थित टोड्केमा अर्को रिले स्टेसनमार्फत इन्टरनेटको सञ्जाल विस्तार गरिएको छ । खोप्रालेकबाट उत्तरभेग र टोड्केबाट जिल्लाका लगभग पूरै क्षेत्रमा यो सेवा विस्तार गर्न थालिएको छ । नागीको हिमाञ्चल उच्च मावि, पाउद्वार मावि पाउद्वार, प्रभा मावि नारच्याङ, शिख उच्च मावि शिख, मुक्तिमार्ग उच्च मावि घार, सूर्योदय उच्च मावि भुरुङतातोपानी, किसानी उच्च मावि विम, निस्कोट मावि निस्कोट, जनप्रिय उच्च मावि दरबाङ, राष्ट्रिय जनजागृति मावि कुहुँलगायतका विद्यालयका विद्यार्थीले यहि इन्टरनेटमार्फत नयाँ र ताजा सूचना र ज्ञान उपभोग गरिरहेका छन् । इन्टरनेटको विकासले गाउँमा सूचना, ज्ञानको विकास र खबर आदानप्रदानमा धेरै सहज भएको हिमाञ्चल उच्च माविका कम्प्युटर शिक्षक किसान पुन बताउँछन् । विद्यालयमा अहिले कक्षा ६ देखि १२ सम्म अनिवार्य कम्प्युटर शिक्षा लागू गरिएको छ । जिल्लाका ७० सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा सुरु भएको र अधिकांश विद्यालयमा वायरलेस इन्टरनेटको पहुँच पुगेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क छ । रासस

एनसेलले ल्यायो दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक

काठमाडौं, १२ जेठ । देशको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलले दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक ल्याएको छ । कम्पनीले एक्जियटा गुप्र नेटवर्क भित्रका देशहरुमा भ्रमण गर्ने ग्राकहहरुलाई ध्यानमा राखि उक्त योजना ल्याएको हो । कम्पनीका अनुसार बिहीबारबाट लागु हुने यो योजना अन्तर्गत ग्राहकले बाङ्लादेश, क्याम्बोडिया, मलेसिया र श्रीलंका भ्रमणको समयमा कर सहित १ हजार ५ सय रुपैँयामा प्याक खरिद गरी दैनिक अनलिमिटेक डेटा सेवाको फाइदा दिन सक्छन् । कम्पनीले जनाए अनुसार ग्राकहले प्रत्येक दिन स्वत सुचारु हुने दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक वा प्रत्येक दिन आफैले किन्न पर्ने प्याक प्रयोग गर्न सक्छन् । स्वत सुचारु हुने प्याक खरिद गर्दा ग्राहकले एक पटक प्याक खरिद गरेपछि भ्रमण अवधिभरी सहजै डेटा सेवा प्रयोग गर्न सक्नेछन् । अर्को प्याक भने आफ्नो आवश्यकता अनुसार दैनिक रुपमा खरिद गर्न पर्ने हुन्छ । प्याक खरिद गर्नका लागि ग्राहकले पहिला स्टार १७१२७ ह्यास डायल गरी प्राप्त जानकारी अनुसार रोमिङ् सेवा सुचारु गर्नु पर्दछ । त्यस पश्चात स्टार १७१२९ ह्यास डायल गरी दैनिक रुपमा आफै सुचारु हुने वा प्रत्येक दिन किन्न पर्ने दैनिक प्याक छान्न सक्छन् । यी प्याकका माध्यमबाट दुवै प्रिपेड र पोष्टपेड सेवाका ग्राहकले भ्रमणको बेलामा रोबि एक्जियटा (बाङ्लादेश), स्मार्ट एक्जियटा (क्याम्बोडिया), सेलकम एक्जियटा (मलेसिया) र डायलग एक्जियटा (श्रीलंका) को नेटवर्कमा कनेक्ट भई डेटा सेवा मार्फत आफ्ना आफन्तजनहरुसंग सहजै सम्पर्कमा रहन सक्नेछन् । कम्पनीका अनुसार दैनिक प्याक सुचारु गरेपछि २४ घण्टा सम्म प्रयोगका लागि समय सिमा हुनेछ । समयावधि सकेपछि, ग्राहकले पुन प्याक खरिद गर्न सक्छन् वा हाल लाग्दै आएको रु १५ प्रति एमबि शुल्कमा डेटा सेवा प्रयोग गर्न सक्छन् । प्रत्येकदिन आफै सुचारु हुने दैनिक प्याकको हकमा जुन सुकै समयामा प्याक खरिद गरेता पनि प्रयोग गर्ने समयसिमा मध्य रातमा सकिने छ र स्वत नयाँ प्याक सुचारु हुने कम्पनीले जनाएको छ ।

‘एनसेल, लास्टै ठूलो अफर’ योजना सार्वजनिक, एक हजारको रिचार्ज गर्दा एक हजार नै बोनस

काठमाण्डौं, ९ जेठ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकलाई रिचार्जमा आकर्षक बोनस पाइने ‘एनसेल, लास्टै ठूलो अफर’ योजना ल्याएको छ । यो योजना अन्र्तगत ग्राहकले रु २०० भन्दा माथिको रिचार्ज गर्दा प्रत्येक रिचार्जको रकम अनुसार रु १०० देखि रु १,००० सम्मको बोनस पाउन सक्छन् । एनसेलका अनुसार यो योजना एनसेलका प्रिपेड ग्राहकका लागि मात्र मान्य हुनेछ र जेठ १० गतेदेखि लागु भई आगामी भाद्र ४सम्म संचालनमा रहने छ । बोनस प्राप्त गर्नका लागि ग्राहकले कम्तिमा रु २०० वा सो भन्दा बढी मूल्यको ब्यालेन्स रिचार्ज गर्न पर्ने हुन्छ । यो योजना अन्र्तगत, ग्राहकले रु २०० को रिचार्ज गर्दा ५ दिनको लागि मान्यहुने रु १०० बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । रु ३०० रिचार्ज गर्दा ७ दिन समयसिमा भएको रु २०० बोनस पाउनेछन् । त्यसैगरी, रु ५०० र रु १,००० को रिचार्ज गर्ने ग्राहकले क्रमशः रु ४०० र रु १,००० बोनस प्राप्त गर्नेछन् । रु ५०० रिचार्ज गरे बापत पाइने बोनस उपयोग गर्नका लागि १० दिनको समयसिमा हुनेछ भने रु १,००० रिचार्ज बापतको रु १,००० नै बोनस उपयोगका लागि भने १४ दिनको समयसिमा हुनेछ । “ग्राहकलाई सेवा प्रयोगको राम्रो अनुभव दिएर खुसी राख्नु सदा हाम्रो मुल उदेश्य रहि आएको छ ।” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “रिर्चाजमा पाईने यो बोनस योजनाले हाम्रा ग्राहकलाई अझ सस्तोमा सेवाको प्रगोग गर्नका लागि एउटा राम्रो अवसर हुनेछ ।” यो योजना अन्र्तगत प्राप्त बोनसबाट ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्नेछन् । रिचार्ज कार्ड, भरचुअल फन्ड ट्रान्सफर (भिएफटी) र इ–टप अप मार्फत गरिएका ब्यालेन्स रिचार्जमा यो योजना लागु हुने कम्पनीले जनाएको छ ।

म्याग्दी नदीमा बाढीको सूचना दिने प्रविधि जडान

म्याग्दी, ३ जेठ । म्याग्दी जिल्लाको देवीस्थान गाविसको फेदीमा आइतबार बाढी आउनुभन्दा पूर्व सूचना दिने प्रविधि जडान गरिएको छ । धौलागिरी हिमालको फेदीबाट जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी खोलामा आउन सक्ने बाढीबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले समुदायमा आधारित सूचना प्रणाली जडान गरिएको हो । बहुसरोकारवाला वन कार्यक्रम (लिभर्ड)को आयोजना, सङ्गम म्याग्दीको सहयोग एवम् ‘सस्टेनेबल इको इन्जिनियरिङ’को प्राविधिक सहयोगमा जडान गरिएको प्रविधि समुदायलाई हस्तान्तरण गरिएको छ । नदी किनारमा राखिएको पानीको सतह मापन गर्ने स्वचालित सचेतक उपकरणले सङ्केत प्रशोधन गरेर रेडियो ट्रान्समिटरमार्फत नजिकैको बस्तीमा राखिएको रेडियो रिसिवरलाई पठाउने सङ्केत उपकरणले प्रशोधन गरेर साइरन (घन्टी) बजाएर खतराको सूचना दिने प्राविधिक नरेन्द्र बज्राचार्यले जानकारी दिए । पहिलो सतहमा पानी बगे खासै आत्तिनु नपर्ने, दोस्रो सतहमा बगे सामान्य सचेत हुनुपर्ने र निरन्तर घन्टी बजेमा खतरा हुने भएकाले तटीय क्षेत्रका तल्लो बस्ती, सुरक्षाकर्मी र सञ्चारमाध्यमलाई सूचना प्रवाह गरेर पूर्व तयारी गर्ने संयन्त्र तयार गरिएको छ । उक्त प्रणालीले एक/एक मिनेटको अन्तरालमा सङ्केत गर्ने र तेस्रो सतहमा बगे खतराको चेतावनी दिने भएकाले बाढीबाट बच्न सावधानी अपनाउन सकिने प्राविधिक बज्राचार्यले बताए । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास संस्था (इसीमोड)ले विकास गरेको यस्तो प्रविधि नेपालमा यसअघि म्याग्दीको बाबियाचौर, भुरुङ तातोपानी, बागलुङको खुङ्गा गाविसको हुन्द्राफेदी र महोत्तरीको जलेश्वरस्थित रातुखोलामा जडान गरिएको प्राविधिक बज्राचार्यले बताए । प्रमुख जिल्ला अधिकारी केशव आचार्यले तटीय क्षेत्रमा रहेका मानव बस्तीमा बाढीले पु¥याउने सम्भावित जनधनको क्षति न्यूनीकरणका लागि सूचना प्रणाली उपयोगी हुने विश्वास व्यक्त गरे। हिमताल फुट्ने, हिमपहिरो, पहिरो, भीषण वर्षा, बाढी र नदी थुनिएको अवस्थामा नदीमा बाढी आउने जोखिम रहेको छ । पछिल्लो पटक विसं २०५८ मा म्याग्दी नदीमा आएको बाढीले तटीय बस्तीका झोलुङ्गेपुल, व्यक्तिका घर, बाटो, विद्यालय भवनलगायत भौतिक संरचनामा ठूलो क्षति गरेको थियो । “बर्खायाममा भीषण वर्षा हुँदाको रातिको समयमा टर्च बालेर खोलामा कति बाढी आयो भनेर छिनछिनमा हेर्न जानुपर्ने अवस्था थियो” दरवाङका बासिन्दा वीरबहादुर कार्कीले भने “पूर्व सूचना प्रणाली जडान भएपछि ढुक्क भएर सुत्न पाउने भएका छौँ ।” रासस

हिमालय एयरलाइन्सको असार १ गतेदेखि काठमाडौं–दोहा नियमित उडान

काठमाडौं, २० जेठ । हिमालय एयरलाइन्सले असार १ गतेदेखि काठमाडौं–दोहा नियमित उडान भर्ने भएको छ । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले मंगलबार काठमाडौंबाट दोहा पहिलो उडान गरेको हो । हिमालय एयरलाइन्सको विमान त्रिभुवनअन्र्तराष्ट्रिय विमानस्थलबाट राति ११ बजे उडेर कतारको स्थानीय समय अनुसार ०१:३० बजे हामद अन्र्तराष्ट्रिय विमानस्थल, दोहामा अवतरण गरेको थियो । एयरलाइन्सले कतारमा बस्ने र रोजगारीकालागि कतार पुगेका लाख नेपालीहरुलाई सहज रुपमा सेवा दिने लक्ष्य राखेको छ । कम्पनीका अनुसार एअरलाइन्स्ले आगामी पाँचवर्ष भित्र पन्ध्रवटा एअरबस जहाज ल्याएर काठमाडौँबाट एसियाका विभिन्न गन्तब्य तथा अन्य मुलुकका विभिन्न शहरहरुमा उडान सञ्चालन गर्ने तयारी गरिरहेको छ । एअरलाइन्सले केही समयपछि लामो दुरी उडान भर्ने जहाज ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिकाको लागि उडान भर्ने योजना बनाएको कम्पनीको विज्ञेप्तिले जनाएको छ । एयरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले उक्त उडान सँगै कार्यतालिका बमोजिमको अन्र्तराष्ट्रिय उडान शुरु भएको बताएका छन् । साथै ग्राहकहरुलाई आगामीदिनमा अझ बढी प्रभावकारी सेवादिने प्रतिबद्धता पनि जनाएका छन् । कम्पनीले ८ बिजनेस क्लास तथा १५० इकोनोमी क्लास क्षमताको एअर बस ३२०–२१४ विमानले पुरै सिट भरेर सफलतापूर्वक उडान गरेको कम्पनीले जनाएको छ । एअरलाइन्स्ले पहिलो दुई साता, ३ दिन उडान गर्ने छ भने असार १ गते देखि दैनिक उडान गर्ने विज्ञेप्तिमा जनाइएको छ ।