एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड अपुग, सहयोग गर्न फाउन्डेसनको आग्रह
महोत्तरी । आगामी वैशाख १ गते हस्तान्तरण गर्ने उद्देश्यका साथ तीव्र गतिमा निर्माणाधीन अवस्थामा रहेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड रकमको आवश्यकता देखिएको छ । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले सोमबार बिहान पत्रकारसँग कुराकानी गर्दै सो जानकारी गराएका हुन् । पचास घर परिवार मुसहरको लागि गत पुस २५ गते वरिष्ठ हाँस्य कलाकार महजोडीसहित एक दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारहरूद्वारा शिलान्यास भएको सो एकीकृत नमुना बस्तीको भवनको कार्य ३६ प्रतिशत सम्पन्न भएको अवस्थामा दुई करोड रुपैयाँ विभिन्न माध्यमबाट सङ्कलन भईसकेको अध्यक्ष धुर्मुसले बताए । बाँकी रहेको अपुग रकम सहयोगका लागि उनले हरेकसँग सहयोग गरिदिनका लागि आग्रह गरेका छन्। जसरी भएपनि फाउन्डेसनले तोकिएको समयमै आधुनिक भौतिक संरचना, उद्यान, सामुदायिक पाठशालासहितको एकीकृत नमुना मुसहर बस्ती निर्माण र हस्तान्तरण गर्ने प्रतिबद्धता फाउन्डेसनले जनाएको छ । रासस
नेपाल- भारत सीमा नाका ७२ घन्टाका लागि बन्द
कञ्चनपुर । भारतमा हुन गइरहेको राज्यसभाको चुनावलाई लक्षित गरी कञ्चनपुरसँग जोडिएका सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएका छन् । भारतको उत्तराखण्ड र उत्तरप्रदेशमा फेबु्रअरी १५ तारिख (फागुन ४ गते) राज्यसभाको चुनावका लागि पश्चिमी सीमा नाका गड्डाचौकी र ब्रह्मदेव आइतबार साँझदेखि बन्द गरिएका छन् । दोधारा चाँदनी र बेलौरी सीमा नाका सोमबार साँझदेखि बन्द हुने छन् । यसैगरी, बेलडाँडी र त्रिभुवन बस्ती भारतसँग जोडिएका सीमा नाका मङ्गलबार साँझदेखि बन्द हुने छन् । फागुन ४ गते साँझ ५ बजेसम्मका लागि भारतसँग जोडिएका सीमा नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताए । चुनावमा अवाञ्छित क्रियाकलाप नहोस् भनेर भारत सरकारको आग्रहमा सिमाना बन्द गरिएको बताइएको छ । सीमा नाका क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गर्नुका साथै गस्तीको कार्यलाई समेत तीव्र बनाएका छन् । रासस
सेयर बजारमा तीव्र उतारचढाव, परिसूचक २६ अंकले उक्लियो, ५० करोडको सेयर कारोबार
काठमाडौं । सोमबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । २ बजेसम्मकोे कारोबारमा निरन्तर ओरालो लागिरहेको परिसूचक त्यसपछिको कारोबारमा भने दोहोरो अंकले उकालो लागेको छ । सोही दिन करिब ३२ अंकले घटिरहेको परिसूचक बजार बन्द हुँदा भने २६ दशमलब ४८ अंकले बढेको छ । नेप्से दोहोरो अंकले बढेर १२७८ दशमलब ९८ अंकमा पुगेको छ । आइतबारको तुलनामा कारोबार रकममा सामान्य वृद्धि भएको छ । आतबार ४९ करोडको कारोबार भएको बजारमा सोमबार ५० करोडको सेयर कारोबार भएको छ । सो दिन १३८ कम्पनीको १३ लाख कित्ता सेयर किनबेच भएको हो । बजारमा सबैभन्दा बढी स्वावलम्बन विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता १०८९ रुपैयाँ रहेको छ । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन बीमा समूहको परिसूचक १९२ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, बैंकिङ् र अन्य समूहको परिसूचक क्रमशः ३३, ३० र १५ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक १४ अंकले ओरालो लागेका छन् ।
जनता बैंक नेपालको १२ प्रतिशत लाभांश पास, त्रिवेणी बिकास बैकसँग मर्जमा जाने
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको सञ्चालक समितिले प्रस्ताव गरेको १२ दशमलब ६३ प्रतिशत लाभांश पारित भएको छ । बैंकले सेयरधनीहरुलाई रकमका आधारमा २६ करोड २ लाख रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त बैंकको प्रस्तावलाई आइतबार सम्पन्न बैंकको सातौं वार्षिक साधारणसभाले पास गरेको हो । साथै,सभाले बैंकको सञ्चालक समितिको सातौं बार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित मिति २०७३ आषाढ मसान्तको वासलात तथा आर्थिक बर्ष २०७२/०७३ को नाफा नोक्सानहिसाब र सोही अवधिको नाफा- नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरू पारित गरेको छ । त्यस्तै, साधारण सभाले जनता बैक नेपाल लिमिटेडमा त्रिवेणी बिकास बैक लिमिटेडलाई गाभ्ने (मर्जर)प्रस्ताव समेत सर्वसम्मतिबाट पारित गरेको छ । साथै, मर्जर पश्चात कायम हुन आउने बैंकको चुक्ता पूँजीको ६० प्रतिशत (अर्थात १०कित्ता शेयर बराबर ६कित्ता) हकप्रद शेयर जारी गरी गर्ने भएको छ । सभाले आर्थिक वर्ष २०७३/७४को बैंकको हरहिसाबको लेखापरीक्षण गर्नको लागिबेकर टिलि देव एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्स (सि.ए. उमेश ढकाल, पार्टनर) लाई पुनःनियुक्त गरेको छ । बैंकले यही माघ मसान्त सम्ममा २६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ४७ करोड कर्जा परिचालन गरेको छ । सोही अवधिमा बैंकले १९करोड ४ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । हाल बैंकले ४१ वटा शाखाहरु, ३३ वटा ए.टि.एम., १९ वटा शाखारहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाईल बैंकिङ्गमार्फत ग्राहकवर्गहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।
सेयर बजार ओरालो लाग्ने क्रम जारी, धितोपत्र बोर्ड भन्छ- हस्तछेप गर्ने बेला भएको छैन
काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबार ४३ अंकले घटेको नेप्से सोमबार कारोबार शुरु भएको करिब तीन घण्टामा २४ अंकले घटेर १२२७ अंकमा झरेको छ । गत बिहीबार १२९६ अंकमा रहेको नेप्से परिसूचक घटेर १२२७ अंकमा झरेको छ । सेयर बजारमा दुई दिनमै करिब ७० अंकको गिरावट देखेपछि लगानीकर्ताहरु आत्तिएका छन् । गत सोमबारको तुलनामा यस सोमबारको करिब तीन घण्टाको सेयर कारोबारमा करिब १२१ अंकको गिरावट देखिएको छ । गत साताको सोमबार नेप्स परिसूचक १३४८ अंकमा रहेको थियो । बजारमा कारोबार भएको सबै समूहका परिसूचकहरु राताम्मे भएका छन् । १२६ कम्पनीको सेयर कारोबार मध्ये पाँच कम्पनीको सेयर मूल्यमा सामान्य वृद्धि भएको छ भने बाँकी कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सोही अवधिसम्म करिब ३५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल धितोपत्र बोर्डका सह प्रवक्ता डा. नवराज अधिकारीले सेयर बजारको सुक्ष्म अध्ययन गरिहेको तर हस्तक्षेपबारे ठोस निर्णय भने नभएको बताए । ‘हामी बजारको सुक्ष्म अध्ययन गरिरहेका छौं, लगानी कर्ताको मनोबल कसरी उकास्ने भन्नेबारे सोचिरहेका छौं तर निष्कर्षमा पुगेका छैनौं र तत्कालै हस्तक्षेप गर्ने योजना बनाएका पनि छैनौं’, धितोपत्र बोर्डका सह प्रवक्ता डा. अधिकारीले भने । सेयर बजारको ठुलो लगानी मार्जिन लेण्डिङमा आधारित रहेकाले पनि बजारमा समस्या आएको हुन सक्ने उनले दावी गरे ।
माछापुच्छ्रे बैंकको पाटन शाखा स्तान्तरण, कुमारीपाटीमा संचालनमा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पाटनमा रहेको बैंक शाखालाई स्थानान्तरण गरि कुमारीपाटीमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले गरेका हुन् । संचालनमा आएको उक्त नयाँ शाखाबाट बैकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको छ । ४ अर्व ६६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैकले पौष मसान्तसम्म ५८ अर्व २४ करोड रुपैयाँ निक्षेप र ५१ अर्व ८५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकका अनुसार सो अवधिमा बैंकले ८४ करोड ९१ लाख रुपैयाँ संचालन मुनाफा र ५७ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । हाल यस बैंकले ५६ शाखा तथा १ एक्स्टेन्सन काउन्टर मार्फत सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको बैंकले जनाएको छ ।
नेप्सेमा दिव्यश्वरी हाइड्रोको कारोबार खुला, मूल्य ११६ देखि ३४८ रुपैयाँसम्म
काठमाडौं । सोमबारदेखि नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दिव्यश्वरी हाइड्रोपावर(डिएचपीएल) कम्पनीको सेयर कारोबार खुलेको छ । नेप्सेका अनुसार कम्पनीले सो दिनको सेयर कारोबारको लागि प्रतिकित्ता ११६ देखि ३४८ रुपैयाँसम्म मूल्य तोकेको छ । पुरानो बानेश्वरमा केन्द्रिय कार्यालय रहेको उक्त कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैयाँ रहेको छ । हाल सम्म कम्पनीको २६ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ ।
तरलताले घर जग्गा व्यवसाय संकटमा, व्यवसायी भन्छन-‘भूकम्पबाट तंग्रिनै लाग्दा अर्काे धक्का’
काठमाडौं । बजारमा तरलता अभावसँगै नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्न निर्देशन दिएपछि घरजग्गा व्यवसाय संकटमा परेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सेयर, घरजग्गा र अटो लोनमा कटौती गर्न बैैकरलाई निर्देशन दिएका थिए । त्यस लगत्तै नेपाल बैंकर्स संघले अनुत्पादक क्षेत्रका रुपमा चित्रित गरिएको घर जग्गा कर्जा, मार्जिन लेण्डिङ र अटो लोनमा व्यापक कटौती गर्ने निर्णय गरेको थियो । ‘घरजग्गाको कारोबार ठप्प छ । पहिले रियलस्टेटको कर्जामा सिमा तोक्दा मन्दि आयो । पछि मन्दिको असर सकिनै लाग्दा भूकम्प आयो र त्यसले पनि हाउजिङ र अपार्टमेन्टबारे नकारात्मक असर गर्यो । पछि पुननिर्माण गरेर बेच्ने बेलामा कर्जामा कटौती गरियो र ब्याज वृद्धि भयो, यतिबेला घरजग्गा व्यवसाय चरम संकटमा छ’, नेपाल जग्गा तथा आवास विकास संघका महासचिव मिनमान श्रेष्ठले भने । नेपाल उद्योग बाणिज्य महासंघको शहरी विकास समितिका सभापति तथा घर जग्गा व्यवसायी ओमराज भण्डारीले पनि तरलताका नाममा घर जग्गाको ऋणमा कर्टाती गरिएसँगै व्यवसाय संकट उन्मुख रहेको बताए । ‘शहरी क्षेत्रमा एक करोड भन्दा कम मूल्यका घर पाइँदैनन्, एक करोडमा घर किन्न आउने मान्छे कसैसँग पनि नगद हुन्न । सबैले बैंकबाट ऋण लिने हो । बैंकले ऋण नियन्त्रण र व्याज वृद्धि गरेपछि घर बिक्रि घट्छ’, भण्डारीले भने । उनले भूकम्पका कारण थला परेको घर जग्गा व्यवसाय तंग्रिनै लागेका बेला राष्ट्र बैंकको कदमले फेरी धारासायी अवस्थामा पुगेको आरोप लगाए । नेपालमा घर जग्गा व्यवसाय र कारोबारलाई हेर्न दृष्टिकोणमै व्यापक सुधार आवश्यक रहेको दावी पनि गरे । ‘युरोप र अमेरिकामा घरको मूल्य एक लाख डलर पर्दा बैंकले एक लाख १० हजार डलर ऋण दिन्छन् किन की उसले इन्टेरियर र फर्निचर लगायतका समानमा अतिरिक्त लगानी गरेको हुन्छ । तर नेपालमा भने जम्मा ७० प्रतिशत मात्रै ऋण पाइन्छ’, राजभण्डारीले दुखेसो पोखे । युरोप अमेरिकामा मोर्गेज शिर्षकमा दिइन घर जग्गा कर्जाको ऋण भुक्तानी अवधी पनि ३५ बर्ष हुने रसुरुमा ब्याज मात्रै तिरेर अन्तिममा एकै पटक सावाँ भुक्तानी गर्ने सुबिधा पनि रहेको उनले जानकारी दिए । नेपालमा भने ७० प्रतिशत मात्रै कर्जा दिएर पनि सावाको किस्ता र व्याजसहित १५ बर्षभित्रै भुक्तानी गरिसक्नु पर्ने व्यवस्था राखिएको पनि उनले असन्तुष्ठि पोखे । ‘युरोप अमेरिकामा होम लोन दिन सरकारले पनि बैंकहरुलाई प्रोत्साहन गरेको हुन्छ । तर नेपालमा निरुत्साहित गरिरहेको छ, यो विडम्बना हो’, राजभण्डारीले भने । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाहले घर जग्गामा लगानी गर्नुलाई अनुत्पादक भन्ने परिभाष नै गलत रहेको बताए । ‘हामीले घर जग्गामा लगानी गर्नुलाई नै अनुत्पादक भनिरहेका छौं, घर घडेरीमा लगानी नगर्नु भनेर नागरिकलाई सधैँ डेरामा बस्नु भन्न खोजिएको हो ?’ शाहले प्रतिप्रश्न गरे । अनुत्पादक कर्जा भनेको के हो भन्ने कुरा नेपालका नियामक निकायले बुझ्नै नसेको पनि दावी गरे ।