चन्दलाई महानिरीक्षक बनाउने निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश
काठमाडौ । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आज महानिरीक्षकमा चन्दलाई नियुक्ति दिने/दिलाउने, पदबहाली गर्ने/गराउनेलगायत कुनै पनि कार्य नगर्नू, नगराउनू भनी सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । आदेशमा प्रहरी महानिरीक्षक पदमा नियुक्ति गर्दा प्रहरी नियमावली, २०७१ को नियय ४१ बमोजिम ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता र आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यजस्ता कुरालाई ध्यानमा राख्नुपर्ने कुरा उल्लेख छ । साथै, प्रहरी महानिरीक्षक पदका लागि मापदण्डको पालना र अवलम्बन बाध्यात्मक रुपमा गर्नुपर्ने संवेदनशीलता समेतलाई विचार गर्दा दुवै पक्षको छलफलबाट अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने सम्बन्धमा निष्कर्षमा नपुग्दासम्मका लागि उक्त आदेश जारी गरेको आदेशमा उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अधिवक्ता कपिलदेव ढकालले चन्दलाई महानिरीक्षक नबनाउन सरकारलाई आदेश दिन माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमाथिको सुनुवाइपछि अल्पकालीन अन्तरिम आदेश भएको हो । रिट निवेदनमा प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत चन्दलाई महानिरीक्षक पदमा नियुुक्त गरेकाले सो नियुक्ति बदर गर्न माग गरिएको थियो । रिट निवेदकका तर्फबाट आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की, तुलसी भट्ट, अधिवक्ताहरु डा भीमार्जुन आचार्य, ओमप्रकाश अर्याल र निवेदक ढकालले बहस गरेका थिए । रासस
६ महिनामा आउँदै छ साझाको सेमी लो फ्लोर बस, १० वटा डिलक्स बस पनि थपिने
काठमाडौं । साझा यातायातले नेपालमा पहिलोपटक सजिलो गरि चढ्न मिल्ने अत्याधुनिक सुविधासम्पन्न सेमी लो फ्लोर मोडलको बस ल्याउने भएको छ । ११ वटा बसको मूल्य पाँच करोड रुपैयाँ पर्ने साझाको अनुमान छ । समथर सडकमा मात्र चल्ने जान मोडलको बसका लागि साझाले आइतबार टेण्डर आह्वान गरेको छ । ६ महिनामा साझाले १० वटा डिलक्स बस सहित एउटा सेमी लो फ्लोर बस ल्याउन लागेको साझाका प्रमुख कार्यकारी अधिकृत महेनद्रराज पाण्डेले जानकारी दिए । ‘साझाले सेमी लो फ्लोर र डिलक्स बसका लागि टेण्डर आह्वाहन गरिसकेको छ’ , उनले भने, ‘ करिब ६ महिनामा साझाका बस काठमाडौं आइसक्छन् भन्ने आश गरिएको छ ।’ ‘हामीले परीक्षणका लागि नमुनाका लागि एउटा लो फ्लोर बस ल्याउने कुरा गरेका थियौं, ‘ उनले भने, ‘समथर भागमा मात्र चलाउन मिल्ने भएकाले त्यसको सम्भाव्यता हेरेर मात्र खरीद गर्ने कुरा भएको थियो ।’ ३० वटा बस ल्याउने सम्झौता हुँदा नै अशोक ले ल्याण्डसँग लो फ्लोर बस ल्याउने बारे छलफल भएको पाण्डेयले बताए । तर लो फ्लोर गाडी नेपालमा ल्याउदा महंगो पर्ने भएकाले समय लागेको उनले बताए । सहर क्षेत्रमा सेमी लो फ्लोर बसको आवश्यकता पर्ने भएकाले परिक्षणका लागि स्याम्पलको रुपमा ल्याउन खोजिएको साझाका अध्यक्ष कनकमणी दिक्षितले जानकारी दिए । उनले भने, ‘ सिटी ट्रान्सपोर्टको अवधारणा अनुसार सेमी लो फ्लोर बस चाहिन्छ नै । गाडीको मुल्य झन्डै एक करोड पुग्ने देखिएको छ । यसका लागि सरकार, स्थानिय सरोकारबालाको विषेश ध्यानाकर्षण हुनु जरुरी छ ।’ के हो सेमी लो फ्लोर बस ? नयाँ सिटी बस मोडल अन्तर्गतको सेमी लो फ्लोर बसको ६५० मिलि मिटर ग्राउन्ड क्लियरेन्स छ। यही कारण यात्रुले सहजै बसमा चढ्न सक्ने अशोक लेल्याण्डका कर्पोरेट म्यानेजर प्रविन अधिकारीले जानकारी दिए । प्राविधिक भाषा अनुसार बसको खुड्किलोको पहिलो तल्लालाई ‘ई’ भनिन्छ । यो जमिन सतह भन्दा चार सय एमएमको उचाईंमा हुन्छ । हाल नेपालमा चल्ने सामान्य बसका धरातल जमिनको सतहभन्दा दुई वटा खुड्किलो सहित नौ सय एमएमको दुरीमा हुन्छ भने डिलक्स बसमा तीन वटा खुड्किलो तथा धरातलसम्म एक हजार एक सय ५० एमएमको दुरी हुन्छ । लो फ्लोर बसमा यो दुरी जम्मा ६ सय ५० एमएम हुन्छ । त्यसैले छोटो समयमा नै यात्रु प्रवेश गर्न वा निक्लन मिल्ने अधिकारीले बताए । उनका अनुसार यसको ढोका पनि फराकिलो हुन्छ । १२ मिटर लामो यस बसमा धेरै यात्रुहरु अटाउन मिल्ने अधिकारीले जानकारी दिए । ह्विल चियर प्रवेश गर्न मिल्ने यो बस अपाङ्गमैत्री छ । अरु सामान्य बसमा पछाडी इञ्जिन हुने गर्छ भने यो बसमा अगाडी इञ्जिन हुने भएकाले इन्धन खपतलाई घटाउन सकिने उनले जानकारी दिए ।
पशुपति पेन्ट्सद्वारा १५० थान लाइफ ज्याकेट हस्तान्तरण
काठमाडौ । पशुपति पेन्ट्स प्रालिले बेगनास ताल डुङ्गा ब्यवसाय समितीलाई १ सय ५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको छ । पशुपति पेन्ट्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत समितीलाई सो ज्याकेट उपलब्ध गराएको हो । कम्पनीले शुक्रबारका दिन बेगनास ताल डुङ्गा ब्यवसाय समितीलाई एक विशेष समारोह बीच लाइफ ज्याकेट सहयोग स्वरुप हस्तान्तरण गरेको जानकारी दिएको छ । विगत लामो समयदेखि पशुपति पेन्ट्सले समय समयमा विभिन्न समयमा कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता क्रियाकलापहरु गर्ने गरेको छ । यही कर्पोरेट सामाजिक उत्तरदायित्वको क्रममा कम्पनीले १ सय ५० थान लाइफ ज्याकेट सहयोग स्वरुप हस्तान्तरण गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।
तोसिवा टिभीको प्रर्दशनी केएल टावरमा, सामान खरिद गर्ने ग्राहकलाई विशेष छुट
काठमाडौं । नेपालको लागी आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गतको इओएल प्रा.लि.ले विक्री वितरण गरेको तोसिवा स्मार्ट टिभीको प्रर्दशनी केएल टावरमा भएको छ । उक्त प्रर्दशनीमा पिक्विू टेक्नोलोजि, क्लाउड बेस स्टिमको विशेषता रहेको ५५ इन्चको स्मार्ट टिभी राखिएको थियो । जस अन्र्तगर्त तोसिवाको सामान खरिद गर्ने ग्राहकहरुलाई विशेष छुट सहित गिफ्ट ह्याम्परको पनि व्यवस्था गरिएको थियो । जापनिज ब्राण्ड एट एफोडएवल प्राइसलाई उच्च प्राथमिकता दिदै आउदा दिनहरुमा विभिन्न स्थानमा प्रर्दशनी जारी राख्ने कम्पनीले जनाएको छ ।
नेप्सेमा भारी गिरावट, बीमा समूह ३४६ अंकले ओर्लियो, १२७ कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । आइतबार कारोबार शुरु भएसँगै नेप्से परिसूचकमा भारी गिरावट आएको छ । कारोबार शुरु भएको पौने घण्टा नबित्दै २५ अंकले घटेर १२६८ अंकमा पुगको नेप्से परिसूचक बजार बन्द हुँदा ४३ अंकले घटेर १२५२ दशमलब ५० अंकमा अडिएको छ । बजारमा ४९ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १३२ कम्पनीको १३ लाख ९ हजार कित्ता सेयर कारोबार भएको हो । आइतबार १२७ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । प्राइम लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । त्यस्तै, एनबी इन्स्योरेन्स, राप्ती भेरी विकास बैंक, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र अन्लपाइन डेभलपमेन्टका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । सो दिन जम्मा ५ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आइतबार होटल समूह बाहेक अन्य समूहको परिसूचक ओरालो लागेको छ । होटल समूहको परिसूचक १५ अंकले उकालो लागेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३४६ अंकले ओरालो लागेको छ । त्यस्तै, अन्य समूहको परिसूचक बाहेक बजारमा कारोबार भएका बाँकी समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् । अन्य समूहको परिसूचक ६ अंकले ओरालो लागेको हो ।
विस्थापित हुँदैछन् ४८ लाख एटिएम कार्ड, बैंकहरुले धमाधम ल्याउँदैछन् चिपमा आधारित कार्ड
काठमाडौं । के तपाईसँग पुराना एटिएम कार्ड छन् ? त्यसो हो भने अब त्यो कार्डले काम गर्दैन । किन की सबै बैंक तथा वित्तिय संस्थाहरुले एटिएमको कारोबारलाई सुरक्षित बनाउन नयाँ एटिएम कार्ड ल्याउँदैछन् । जसले पुराना कार्डलाई विस्थापित गर्छ । बैंकहरुले म्याग्नेटिक स्ट्रिपमा आधारित पुराना एटिएम कार्डलाई हटाएर चिप बेस्ड कार्ड प्रयोगमा ल्याउन लागेको छन र यो क्रम धमाधम अघि बढिरहेको छ । ‘एटिएमबाट हुने कारोबारलाई सुरक्षित बनाउन भनेर हामीले २०७२ सालमै योजना ल्याएका थियौं तर प्राबिधिक पक्षले गर्दा केहि ढिलो हुन पुग्यो तर अब धमाधम काम भैरहेको छ’, नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७२÷७३ सालको मौद्रिक नीतिमै असोज मसान्तभित्र बैंक तथा वित्तिय संस्थाबाट म्याग्नेटिक स्ट्रिप कार्ड विस्थापित गरेर चिप बेस्ड(आधारित) कार्ड सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाहले पनि चालु आर्थिक बर्षभित्रै सबै बाणिज्य बैंकहरुले चिप बेस्ड कार्ड सञ्चालनमा ल्याइसक्ने बताए । ‘हामीले सबै बाणिज्य बैंकलाई फर्म भराएका छौं, एकिकृत आधारमा काम गर्दा न्युन लागत र कार्यान्वयनमा पनि सहजता हुन्छ, अहिले नै केहि बैंकले कार्यान्वयन गरिसकेका छन्, केहि महिनामै धेरै बैंक गैसक्नेछन् चालु आर्थिक बर्षभित्रै सबै बैंकका एटिएमहरु चिपमा आधारित हुनेछन’, मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेको अध्यक्ष शाहले विकासन्युजसँग भने । उनले एउटा बैंकले ६ महिनाको प्रयासपछि मात्रै म्याग्नेटिक स्ट्रिप कार्डलाई विस्थापित गरेर चिपमा आधारित कार्ड सञ्चालन गर्न सक्ने पनि बताए । मेगा बैंकले पनि चिपमा आधारित कार्ड सञ्चालनको प्रक्रिया अघि बढाएको जानकारी शाहले गराएका थिए । अबको केहि समयभित्रै ४७ लाख ९१ हजार ९ सय ३६ वटा एटिएम कार्ड विस्थापित भएर नयाँ कार्ड सञ्चालनमा आउनेछन् । केहि बैंक तथा वित्तिय संस्थाहरुले नयाँ कार्ड सञ्चालनमा ल्याइसकेका छन् । बैंक तथा वित्तिय संस्थाको कमजोर प्राबिधिक पक्ष, सेवा उपलब्ध गराउने संस्थाहरुको आपसी समन्वय लगायतका कामले चिपमा आधारित कार्डको कार्यान्वयनमा केहि ढिलाई भएको प्रवक्ता पौडेलले जानकारी दिए । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७२/७३ सालको मौद्रिक नीतिमा–‘ग्राहकहरुलाई बैंकिङ सेवा प्रयोगमा सुरक्षाको प्रत्याभूति दिलाउन बैंक तथा वित्तिय संस्थाहरुले हाल प्रयोगमा ल्याएका डेबिट, क्रेडिट, प्रिपेड लगायतका म्याग्नेटिक स्ट्रि कार्डलाई २०७२ असोज भित्र चिप बेस्ड कार्डले विस्थापित गर्नुपर्ने व्यवस्था गरिनेछ ।’, लेखेको थियो हाल १९०८ वटा एटिएम बुथ सञ्चालनमा रहेका छन् । बाणिज्य बैंकका १६६२ वटा, विकास बैंकका २५० वटा र फाइनान्स कम्पनीका २६ वटा एटिएम बुथ रहेका छन् । यी सबै एटिएमका बुथहरुको स्तरोन्नतिमा गरिनुपर्ने उनले बताए । नेपालमा डेबिट कार्डको संख्या ४६ लाख ५७ हजार एक सय २५ रहेको छ भने क्रेडिट कार्डको संख्या ५५ हजार ५ सय १९ वटा र प्रिपेड कार्डको संख्या ८२ हजार ७ सय ९७ वटा रहेको छ ।
आरम्भ माइक्रोफाइनान्सको केन्द्र प्रमुख गोष्ठी सम्पन्न
काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लि. शाखा कार्यालय मेलम्ची, सिन्धुपाल्चोकको शनिबार केन्द्र प्रमुख गोष्ठी सम्पन्न भएकोे छ । वित्तीय संंस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा उक्त कार्यालय अन्र्तगतका केन्द्रका केन्द्र प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको समसामयिक विषय र ग्राहक सदस्यहरुको सुझाव लिने अभिप्रायले आयोजित गोष्ठीमा बार्षिक मुल्याङ्कनको आधारमा प्रथम, द्धितिय र तृतिय हुने केन्द्रलाइ प्रमुख अतिथि विनोद आचार्यले नगद सहित प्रमाणपत्र वितरण गरेका थिए । संस्थाले २०७३ माघ मसान्तसम्म १६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याई करिब ६ हजार ९०० भन्दा बढि घर परिवारलाई लघुवित्त वित्तीय सेवाहरु प्रदान गरेको छ । यस अवधिमा संस्थाले १ करोड ८९ लाख भन्दा बढि रकम बचत संकलन गरी हालसम्म ३३ करोड २९ लाख रुपैयाँ लगानी गरेको छ भने, करिव ११ करोड ८३ लाख रुपैयाँ असूली गरी संस्थाको लगानीमा बाँकी रहेको रकम २१ करोड ४६ लाख रुपैयाँ रहेको छ ।
महासंघका पशुपति मुरारकाले कुलमान घिसिङको जस्तै काम गरे- ज्ञानेन्द्रलाल प्रधान
दुई महिनापछि नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन हुँदैछ । महासंघको नेतृत्वमा जान चाहाने आकांक्षीहरु उक्त निर्वाचनको तयारीमा जुटेको छन् । त्यसमध्ये एक हुनुहुन्छ ज्ञानेन्द्रलाल प्रधान । उहाँ महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा देखिनुभएको छ । महासंघको कार्यसमिति सदस्यको रुपमा तीन पटक निर्वाचित प्रधानले खासगरी उर्जा क्षेत्रमा बढी काम गर्नुभएको छ । उहाँ आफै इन्जिनियर, उर्जा उद्यमी र उर्जाविज्ञको रुपमा परिचित हुनुहुन्छ । प्रस्तुत छ महासंघको निर्वाचनमा उहाँको तयारी र अजेण्डाको विषयमा गरिएको कुराकानी । नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष भएर के काम गर्ने सोच बनाउनु भएको छ ? व्यापारिक संस्थाहरुले राज्यलाई राम्ररी गाईड (मार्गदर्शन) गर्न सकेको छैन । हामीले थिङ्क ट्याङकको रुपमा काम गर्न सक्नुपर्छ । सरकारलाई दिशा निर्देश गर्न सक्नुपर्छ, सरकारलाई सहयोग गर्न सक्नुपर्छ । यो काम गर्न नेपाल उद्योग वाणिज्य महासंघ कही न कही चुकेको छ । महासंघ मात्र होइन, नेपाल चेम्बर अफ कमर्श वा नेपाल उद्योग परिसंघले पनि यस्तो काम गर्न सकेका छैनन् । काम गर्न सकेनन् भन्ने आधार के हो ? चेम्बर अर्गनाईजेशनहरुले आफ्नो भूमिका राम्ररी निभाएको भए देशको अर्थतन्त्र यो अवस्थामा रहने थिएन । बैदेशिक व्यापारले यस्तो नियति भोग्नु पर्ने थिएन । आयात यसरी बढ्दैन थियो । निर्यात यसरी घट्दैन थियो । डलर र भारुको अभाव यसरी हुँदैन थियो । औद्योगिक उत्पादनमा यसरी ह्रास आउने थिएन । थिङ्क ट्याङकको रुपमा काम गर्ने सन्दर्भमा हाम्रा कमी कमजोरी रहेकै हुन् । निजी क्षेत्रका संस्थाहरु पनि सरकारी लहलहैमा हिडेको मैले पाएको छु । तपाई पनि त महासंघको विगत ९ वर्षदेखि कार्यसमितिमा हुनुहुन्छ, तपाईको पनि त त्यसमा कमजोरी होला नि ? हो म पनि नेपाल उद्योग वाणिज्य महासंघमा कार्यकाल कार्यसमिति सदस्य भएर बिताए । त्यस अवधिमा मेरो तर्फबाट धेरै काम गरेको छ । म गर्वका साथ भन्न सक्छु हाम्रो भूमिकाको बलमा आज लोडसेडिङ अन्त्य भएको छ । सबैलाई थाहा छ कि जलविद्युत क्षेत्रको विकास गर्ने मामिलामा, विद्युतको माग र आपूर्तिको अवस्था सन्तुलित बनाउने मामिलामा २०५० देखि २०६० सम्मको दशकमा सरकारको तर्फबाट ठूलो कमजोरी भयो । निजी क्षेत्रले पनि त्यति उल्लेख्य काम गरेन । त्यतिबेला निजी क्षेत्र जलविद्युत उत्पादनको क्षेत्रमा आकर्षित भएको पनि थिएन । २०६० देखि २०७० दशक जलविद्युत क्षेत्रको लागि निकै महत्वपूर्ण रह्यो । दैनिक १८ घण्टा लोडसेडिङ पनि यहि बेलामा भयो । जलविद्युत क्षेत्रको विकास कसरी गर्ने, कसरी लगानी आकर्षित गर्ने, सरकारको नीति नियम कस्तो हुने भन्ने विषयमा धेरै वहस भयो । वहसको लागि बहस मात्र भएन, सभा, सम्मेलन मात्र पनि भएन, काम पनि धेरै भयो । धेरै नीतिगत व्यवस्था भयो । निजी क्षेत्रको लगानी पनि आयो । निजी क्षेत्रबाट उत्पादन पनि थपियो । मैले महासंघमा यसअघिको चुनावमा भनेको थिए, ‘लोडसेडिङको अन्त्य हाम्रो कार्यकालमा हुनुपर्छ ।’ अहिले लोडसेडिङ अन्त्य भएको छ । लोडसेडिङ अन्त्य भएको क्रेडिट निजी क्षेत्रले कसरी लिन सक्छ, त्यसमा महासंघको भूमिका के देखिन्छ ? हो, लोडसेडिङ अन्त्य हामीले गरेको होइन, कुलमान घिसिङले गरेका हुन्, उर्जामन्त्री जनार्दन शर्माले गरेका हुन्, सरकारले गरेको हो । तर त्यसमा हाम्रो सहयोग महत्वपूर्ण छ । जनार्दन शर्मा मन्त्री भएको भोलिपल्ट हामीलाई डाक्नु भएको थियो । यो यो यो काम गर्नुपर्छ भनेर हामीले सुझाव दिएका थियौ । हामीले विगत एक दशकमा गरेको अध्ययन र छलफलका निष्कर्षहरु उहाँलाई सुनायौ र उचित सुझाव दियौ । उहाँले ती सुझावहरु कार्यान्वयनमा लैजानुभयो, निरन्तर मिहेनत गर्नुभयो । हामीले पनि सहयोग गर्यौ । परिणाम राम्रो आएको छ । अब महासंघको निर्वाचनमा तपाईको अजेण्डा के हुन् ? मुल रुपमा पाँच वटा अजेण्डा छन् । पहिलो पावर उत्पादन गर्ने, दोस्रो रोजगारी सिर्जना गर्ने, तेस्रो विदेशी लगानी आकर्षित गर्ने, चौथो निर्यात वृद्धि गर्ने, पाँचौ सरकारको राजश्वमा योगदान गर्ने । लोडसेडिङ अन्त्यलाई निरन्तरता दिन, आन्तरिक विद्युत उत्पादन वृद्धि गरि आयात प्रतिस्थापन गर्न, वार्षिक २० अर्बभन्दा बढीको अर्बौको विजुली निर्यात गर्न पावर उत्पादनमा जोड दिनैपर्छ । उर्जा विकासको अजेण्डालाई राष्ट्रिय प्राथमिकताको अजेण्डामा स्थापित गराई राख्ने र विजुली निर्यातबाट बैदेशिक व्यापार घाटा कम गर्ने, डलर र भारुको अभाव अन्त्य गर्ने अजेण्डालाई मैले पहिलो प्राथमिकतामा राखेको छ । नेपालमा प्रत्यक्ष लगानी सम्बन्धी सोच, नीति, गणना नै गलत छ । सबैभन्दा कहाँ विदेशी लगानी भित्र्याउने भन्नेमा हामी स्पष्ट हुनुपर्छ । विदेशी लगानी त्यस्तो उद्योगमा हुनुपर्छ जहाँ नेपाली कच्चा पदार्थको प्रयोग होस् र उच्च भ्यालु एड होस् । विदेशीले कम्पनी खोलेकै भरमा विदेशी लगानी आयो भनेर भन्नु गलत हो । रियलमा पुँजी नेपालमा आउनु पर्यो, लगानी हुनु पर्यो, उत्पादन थाल्नु पर्यो, नेपालीले रोजगारी पाउनु पर्यो । विदेशी लगानीका लागि कृषि र जडिबुटीमा आधारित उद्योग हुनुपर्छ । जलविद्युत हुनुपर्छ । कार्पेट उद्योग हुन सक्ला, गलैंचा उद्योग हुन सक्ला । भारतबाट पाता ल्याएर कर्कट बनाएर बेच्ने प्रकृतिको उद्योगले नेपाललाई उल्लेख्य लाभ हुन्न । विदेशी लगानी आयो तर त्यसले नेपाली समाजलाई लाभ वितरण गर्दैन, रोजगारी सिर्जना गर्दैन, कम्पनी घाटामा देखाउँछ, राजश्व तिर्दैन । त्यस्तो कम्पनी काम छैन । यो देशमा रोजगारीको तथ्याङ्क छैन । विदेशमा रोजगारी पाउनेको तथ्याङ्क हुन्छ, नेपालमा कतिले रोजगारी पाए तथ्याङ्क हुँदैन । कृषि क्षेत्र प्लटिङ र जग्गा व्यापारमा रुपान्तरित भएको छ । मान्छे कृषि उत्पादन गरेर धनी भएको छैन, जग्गा बेचेर धनी भईराखेका छन् । कृषि क्षेत्रको विकासको लागि इथिपियाबाट हामीले धेरै कुरा सिक्नुपर्छ । उसले एमएबीए गरेको जनशक्ति होइन, जेटिए गरेको जनशक्तिमा जोड दियो । कुनै बेला खान नपुग्ने इथिपियाबाट आज सबैभन्दा धेरै खाद्यान्य निर्यात हुन्छ । सन फ्लावर उत्पादनमा नम्बर वान देश भईसक्यो । त्यस्तै, जीडीपीमा ३२/३३ प्रतिशत योगदान रेमिट्यान्सले गरेको छ । यो त औपचारिक तथ्याङ्क हो । हुण्डिबाट, भारतबाट, हातहातै आउने रेमिट्यान्सको हिसाब गर्ने हो भने जीडीपीमा यसको हिस्सा ५० प्रतिशत भइसक्यो । तर रेमिट्यान्स भनेको अर्थतन्त्रको लागि सुगर भएको विरामीलाई चिनी खान दिए जस्तै हो । रेमिट्यान्सको पैसाले उपभोग बढेको छ । आयात बढेको छ । अहिले सुनमा कोटा लागेको छ, अब गाडीमा कोटा लाग्न सक्छ, त्यसपछि अन्य बस्तुमा पनि कोटा लगाउनु पर्ने हुन्छ । किनकी हामीसँग विदेशी मुद्रा संचित हुँदैन । त्यसैले अब हामीले रेमिट्यान्सको विकल्प खोज्नै पर्छ । बैदेशिक रोजगारीमा पनि समस्या देखिएको छ । अहिले रेमिट्यान्सलाई जलविद्युतमा लगानी गर्ने भनिएको छ । यो धेरै राम्रो प्रस्ताव हो तर बनिरहेको प्रोजेक्टको सेयर लडाकूलाई बेच्ने, कहिले बन्ने, कहाँ बन्ने थाह नै नभएको प्रोजेक्टमा रेमिट्यान्स लगानी गर्ने भनेर हुँदैन । उनीहरुलाई पनि लगानीको प्रतिफल सुनिश्चित गर्नुपर्छ । निर्यातको लागि प्राथमिकताको सूचि तयार गर्नुपर्छ, भ्यालु एडको आधारमा । बैदेशिक लगानी सम्बन्धी नयाँ नीति आउँदैछ । त्यो पनि काम छैन । त्यसले विदेशी लगानी आकर्षित गर्न सक्दैन । विदेशी लगानी आकर्षित गर्ने नीति बन्नुपर्छ । अर्को महत्वपूर्ण कुरा के हो भने म संस्थाको हितमा काम गर्छु । महासंघको सदस्यको हितमा बोल्छु । नबोल्ने मान्छे महासंघमा काम छैन । आफ्नो लागि काम गर्ने मान्छे महासंघको नेतृत्वमा काम छैन । तपाईका लागि चुनावी वातावरण कस्तो छ ? महासंघमा तीन पटक चुनाव लडे । सबै चुनावमा हाईएस्ट (सबैभन्दा बढी) भोट ल्याएर जित्न सफल भए । आगामी चुनावको तयारीको क्रममा मैले महासंघका सदस्य साथीहरुसँग सम्पर्क गरेको छु, भेटेको छु । उहाँहरुले मलाई उत्प्रेरित गर्नु भएको छ । चुनाव जित्छु भन्नेमा विश्वस्त छु । हाम्रो पुरानो टिम पनि इनट्याग छ । एशोसिएटतर्फ हाम्रो टिमका सबैले जिते । यसअघिको टिम नै यस वर्षको निर्वाचनमा बलियो हुनेछ । परिवर्तित विधान भएको छ, त्यसले संस्थागत विकासमा के के फरक पार्छ ? हामी राजनीति गर्नेको आलोचना गर्छौ । तर महासंघ भित्रको राजनीति झन् गएगुर्जेको छ । पूर्व अध्यक्षहरुले नयाँ विधानको विरोध गरे । पूर्वअध्यक्षहरुले नै उठाएको हो वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था गर्ने भनेर । त्यो काम पशुपति मुरारकाले गरे । महासंघको लागि पशुपति मुरारका कुलमान घिसिङ जस्तै हुन् । धेरै वर्षदेखि हुन नसकेको विधान संशोधन भयो । भवानी राणालाई नै अध्यक्ष बनाउनका लागि विधान संशोधन गरिएको भन्ने कुरा सहि होइन । भवानी राणा सबैले बनाएको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । अब अध्यक्ष बन्दै हुनुहुन्छ । देश संघीयतामा गएपछि महासंघको विधान पनि सोही अनुसार बनाएको छ । विधान संशोधनपछि परिवर्तित समयमा महासंघलाई काम गर्न सजिलो भएको छ ।