विकासन्युज

वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउने ठाउँ छैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताएका छन् । शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित जन प्रदर्शन तथा जनसभामा बोल्दै उनले सो दावी गरेका हुन् ।  अध्यक्ष ओलीले अदालतले कुनैपनि हालतमा वर्तमान सरकारलाई संवैधानिक ठहर्याउन नसक्ने जिकिर समेत गरे । हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट वर्तमान सरकार बनेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो सरकारलाई संवैधानिक ठहर्याउन सक्ने अवस्था नरहेको समेत बताए । वर्तमान सरकार लोकतन्त्र विरुद्ध निर्माण गरिएको आरोप समेत लगाए ।  अध्यक्ष ओलीले भने,‘यस सरकारलाई हामी अवैधानिक, असंवैधानिक कृतिम ढंगले लोकतन्त्रका विरुद्ध निर्माण गरिएको हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनाइएको सरकार भनेर सबै नेपाली जनतालाई थाहा छ । यस्तो सरकारको संवैधानिक परिक्षण सम्मानित अदालतबाट संवैधानिक परिक्षण हुनै पर्दछ । कोर्टले यसलाई संवैधानिक ठहर्याउनै सक्दैन । यो सरकार असंवैधानिक बाटोबाट बनेको छ ।’  अध्यक्ष ओलीले मुलुकमा विद्यमान राष्ट्रिय संकट समाधान गर्ने कामको नेतृत्व एमालेले गर्ने समेत जानकारी दिए । 

सरकार निर्वाचन गराउने बाटोमा अग्रसर छैन : शंकर पोखरेल

काठमाडाैं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नलागेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको जनप्रर्दशन तथा जनसभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।  महासचिव पाेखरेलले लोकतन्त्रमा निर्वाचन अनिवार्य हुने भएपनि सरकारले त्यसका लागि आवश्यक वातावरण बनाउन नचाहेको जिकिर समेत गरे । सरकारले सुरक्षा निकायको मनोबल बढाउने कुनै काम गर्न नसकेको समेत उनले बताए ।  'लोकतन्त्रमा चुनाव अनिवार्य हुने गर्दछ । अहिलेको सरकार के चुनाव गराउने बाटोतिर अघि बढिरहेको छ ? यो सरकार चुनाव गराउने बाटोतिर अघि बढिरहेको छैन', पाेखरेलले भने, 'भदौ २४ गते सबैभन्दा ज्यादा क्षति नेपाल प्रहरीले ब्यहोर्‍यो। प्रहरीका कार्यालयहरु सबै ध्वस्त गरिए । हतियार र गोलीगठ्ठा सबै लुटिए । प्रहरीको मनोबल कमजोर पारियो। अहिले सरकारले उनीहरुको मनोबल उठाउने काम समेत गर्न सकेको छैन ।’ महासचिव पोखरेलले सरकारले एमालेको कार्यक्रम गर्न समेत नदिने खालको षडयन्त्र गरिरहेको आरोपसमेत लगाए । 

खोटाङमा १७ करोडमा पक्की पुल निर्माण, जनजीवनमा सहजता

खोटाङ । जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमाना पर्ने बुवाखोलामा मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई प्रदेश राजधानी विराटनगरलगायत पूर्वी तराईका विभिन्न जिल्ला आवतजावतमा सहज भएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको १७ करोड ५८ लाख ६९ हजार ७२९ लागतमा बनेको १४८ मिटर लामो मोटरेबल पक्की पुल हालसम्म खोटाङमा बनाइएका पक्की पुलमध्ये सबैभन्दा लामो पुल हो ।  जन्तेढुङ्गा गाउँपालिका–१ देवीस्थान र बराहपोखरी गाउँपालिका–५ को पौवसेराको बीचमा रहेको बुवाखोलामा मोटरेबल पक्की पुल निर्धारित समयभन्दा पहिले सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीयले सहज र सुरक्षित आवागमनको अनुभूति गरेका छन् । मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएपछि खोटाङका दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा, बराहपोखरी, खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको जनजीवनमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ ।  बुवाखोलाको मोटरेबल पुल सञ्चालनमा आएपछि खोटाङका बासिन्दालाई पूर्वी तराईका जिल्ला आवतजावतकै गर्न लामो बाटो र जोखिमपूर्ण नदी पार गर्नुपर्ने बाध्यतासमेत अन्त्य भएको जन्तेढुङ्गा गाउँपालिकाका नेपाली कम्युनिष्ट पार्टीका नेता वीरबल किरातीले बताए । नेता किरातीका अनुसार यो पुल बनेपछि स्थानीयहरू उदयपुरको बेलटार हुँदै धरान, विराटनगर, इटहरी, सुनसरी, मोरङ र झापा छोटो दुरीमै पुग्न सक्नेछन् ।  भौतिक पूर्वाधार विकास मन्त्रालयसँग विसं २०८१ वैशाख ३० गते भएको सम्झौतामा बुँवाखोला मोटरेबल पक्की पुल निर्माण सम्पन्न गर्ने अन्तिम विसं २०८३ कात्तिक २१ गतेसम्म तोकिएको थियो । निर्माण कम्पनी जय बागेश्वरी–रेग्मी–चुलिया जेभीले बुवाखोला मोटरेबल पक्की पुल यसअघि नै सम्पूर्ण निर्माणको काम पूरा गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ ।  कच्ची अवस्थामा सञ्चालन हुँदै आएको बङ्शिलाघाट–देवीस्थान–चिसापानी सडकखण्डमा पर्ने बुवाखोलामा मोटरेबल पक्की पुल बनेपछि साना–ठूला सवारी सहजै गुड्न थालेपछि दैनिक जीवन, बजार आपूर्ति र सेवा सुविधामा ठूलो सहजता भएको छ । प्रदेश सरकारअन्तर्गत यो आयोजना पूर्वाधार विस्तारको महत्वपूर्ण उपलब्धि मानिएको छ । बुवाखोला मोटरेबल पक्की पुलमार्फत पालिकालाई प्रदेश राजधानी विराटनगरसँगको आर्थिक तथा प्रशासनिक केन्द्रहरूसँग जोड्ने योजना पूरा भएको जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ ले बताइन् । ‘पुल बनेपछि स्थानीय किसान, व्यापारी, विद्यार्थी र बिरामी सबैका लागि दैनिक जीवनमा ठूलो सहजता आउने अपेक्षा गरिएको छ । कृषि उत्पादन छिटो तराईका बजारमा पुर्‍याउन सकिने, विद्यार्थी तथा रोजगार खोज्ने युवालाई यात्रा छोटो र सहज हुने, बिरामीलाई आपतकालीन अवस्थामा धरान वा विराटनगरका अस्पतालमा  पुर्‍याउन सहज भएको छ’, उनले भने, ‘यो पुल हाम्रो गाउँपालिकाको समृद्धिको ढोका हो । तोकिएको समयभन्दा अगाडि नै पुल सञ्चालनमा आएपछि त्यो समृद्धिको ढोका खुलेको छ ।’ जिल्लाको दक्षिणी क्षेत्रमा क्रियाशील स्थानीय राजनीतिक नेतृत्व बुवाखोला पुल निर्माणप्रति सकारात्मक बनेका छन् । नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टले पक्की पुल निर्माणसँगै बङ्शिलाघाटमा बन्ने बेलिब्रिज सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रका बासिन्दालाई सहज भएको जानकारी दिनुभएको छ ।  बुवाखोला मोटरेबल पक्की पुल निर्माणका लागि सम्झौता गरेको सात महिनापछि विसं २०८१ मङ्सिर–६ गते कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शिलान्यास गरेका थिए । तोकिएको समयभन्दा वर्षदिन अघि नै निर्माण सम्पन्न भएको यो मोटरेबल पुल आज मन्त्री राईले नै औपचारिक उद्घाटन गर्ने कार्यक्रम राखिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इञ्जिनियर विनम दाहालले जानकारी दिए ।  नेपालमा निर्माण व्यवसायीका विरुद्ध ‘जिम्मा लिएको काममा ढिलाइ गर्ने, काम अलपत्र पार्ने’ भन्ने आलोचना सामान्य छ । बुवाखोला मोटरेबल पुल निर्माण कम्पनीका प्रतिनिधि महेश रेग्मीको टिमले तोकिएको अवधिभन्दा वर्ष दिनअघि नै सम्पन्न गरेर उदाहरणीय काम गरेका छन् । स्थानीयले यो कामको प्रशंसा गरेका छन् । रासस

एनपिएल : लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गतको आजको खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्ससामु जीतका लागि १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।      कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५६ रन जोड्यो ।      लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे । यस्तै, रुबेन ट्रम्पलमान २९ रनमा अविजित रहे । जोहानीस जोनाथन स्मितले २३ रन तथा डी’आर्की शर्टले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।      बलिङतर्फ कर्णालीका नन्दन यादवले दुई विकेट लिए भने सोमपाल कामी, गुलशन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक/एक विकेट लिए ।      आजै हुने दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाडौं गोर्खाज र विराटनगर किङ्स खेल्दैछन् ।   

बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनःस्थापित

काठमाडौं । वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण पुनःस्थापित गरिएको छ । तोरण पुनःस्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो ।  विसं २०५६ सालतिर चोरिएको तोरण संयुक्त राज्य बेलायतको बाराकाट संग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको थियो । तोरण पुनःस्थापित गराउनुअघि महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा २३ (कुमारी घर रहेको वडा) का अध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जन, कुमारी घरका संरक्षक गौतम शाक्यसहित अधिकारी तोरण बुझ्न संग्रहालय पुगेका थिए ।  उनीहरुले तोरण बुझ्ने पत्रमा हस्ताक्षर तथा औँठाछाप लगाएर फिर्ता ल्याएका हुन् । त्यस क्रममा सम्पदा संरक्षणकर्मी, स्थानीयवासीहरुको उल्लासमय सहभागिता थियो ।  कुमारी घरको भुइँ तलामा रहेका झ्याल ढोकामध्ये बायाँतर्फबाट पाँचौ नम्बरमा पर्ने झ्याल माथि राखिएको अर्धगोलाकार काठको क्षेपु आकृति भएको तोरण १७ देखि १८ औँ शताव्दीमा काठबाट निर्माण भएको हो ।  यो १०४.५५ सेन्टिमिटरको छ । कुमारी बहाल राजा जय प्रकाश मल्लको पाला (वि.सं. १८१४) मा निर्माण भएको हो ।   

जैविक तटबन्धले जोगियो बस्ती (फोटो फिचर)

काठमाडौं । हरेक वर्ष मनसुन शुरु हुनासाथ बाँके, बर्दिया, कञ्चनपुरका नदी तटिय क्षेत्रका बासिन्दाहरू त्रसित हुनुपर्थ्यो । गाउँ डुबानमा पर्थ्यो, खेतबारी बगर बन्थ्यो, घर छोडेर पशु–बालबच्चा बोकेर भाग्नुपर्थ्यो । तर अब त्यो डर हराएको छ । कारण नदी किनारमा बाँस, घाँस र स्थानीय प्रजातिका बोटबिरुवाले बनाइएको २ सय २० मिटर लामो जैविक तटबन्ध । समुदायस्तरिय विपद् व्यवस्थापन समिति र स्थानीयको श्रमदानमा बनेको यो तटबन्धले कर्णाली र यसका शाखा नदीहरूको कटान तथा बाढी थेग्ने काम गरेको छ । बाँके, बर्दिया र कञ्चनपुरका दर्जनौं नदीतटीय गाउँहरूमा यस्तै जैविक तटबन्धले किसानको जीवन सहज बनाएको छ । जैविक तटबन्ध सस्तो, दिगो र वातावरणमैत्री मात्र होइन, स्थानीयले नै बनाउन र मर्मत गर्न सक्छन् । यो सफलताले बर्दियाका अन्य जोखिमयुक्त बस्तीहरूमा पनि यस्तै अभियान तीब्र बनेको छ । बाढीको कहर थेग्न अब स्थानीयको साथमा प्रकृतिको शक्ति पनि जोडिएको छ । फोटो फिचरमा तटबन्ध जोगिएको बस्ती सम्बन्धी केही तस्बिरहरु ।  

थपिए आठ लाख ३७ हजार नयाँ मतदाता

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि  आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् ।      निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मध्यरातिदेखि सकिएपछि नाम  दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो । फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत तीन लाख ४४ लाख नौ सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार एक सय ८० नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।      आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थप बढेको हो ।      प्रधानमन्त्री सुशीला कार्कीले पनि नयाँ मतदाताको सङ्ख्या समावेश गर्दै मतदाता नामावली सङ्कलन सकिएको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३ रहेको थियो ।      सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपिएको थियो ।  

वाग्मती करिडोर सुन्दर बनाउन ढल व्यवस्थापनमा मन्त्री घिसिङको जोड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड दिएका छन् । शनिबार बिहान वाग्मती नदी करिडोरअन्तर्गत गुह्येश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेपछि उनले वाग्मती करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइमा जोड दिएका हुन् । मन्त्री घिसिङले नदी सफा भए मात्र शहर सफा हुने भन्दै वाग्मतीलाई सफा बनाउन ढल व्यवस्थापन, करिडोरका सडक मर्मत र नदीमा फालिएको फोहोर प्राथमकिताका साथ हटाइने बताए । नदीको सबै फोहोर हटाएर त्यसको चेक बाँधलाई सञ्चालन, सो स्थानमा साना तलाउ बनाएर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेगरी काम भइरहेको मन्त्री घिसिङले जानकारी दिएको उनको निजी सचिवालयले जनाएको छ ।