विकासन्युज

दुर्गा प्रसाई समूहले फिर्ता लियो अनिश्चितकालीन आम हड्ताल, सरकारसँग सहमति

काठमाडौं । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि महाअभियानले विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको हो । सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गरेका छन् । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको र निरन्तर छलफल, वार्ता तथा सहजीकरण गर्दै सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।  वर्तमान शान्ति सुरक्षाको अवस्थालाई समेतलाई ध्यानमा राखी महाअभियानले उठाएका जायज मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै सहमति गरेको छ । सो सहमति लगत्तै महाअभियानले आजदेखि हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता लिई शान्तिपूर्ण कार्यक्रममा रुपान्तरण गर्ने सहमति भएको छ । अर्को चरणको वार्ता महअभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारीसमेत भएको विज्ञप्तिमा उल्लेख छ ।

एकै दिन १८ विपद्का घटना, देशभर आगलागीको संख्या बढ्दै

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६ मङ्सिरमा देशभर १८ विपद्का घटना भए । त्यसमा आगलागीका मात्र १५ घटना थिए । उदयपुर, रौतहट, बारा, काठमाडौं र कपिलवस्तुमा आगलागीका २/२ वटा घटना घटेका छन् । मकवानपुर, चितवन, कास्की र कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भयो । सो दिन मनाङको नासो गापा-१ तालडाँडास्थित बेँसीसहर-चामे सडक खण्डमा माथिबाट सुक्खा पहिरो खसी बाटो दुवैतर्फ अवरोध भयो । धनुषा र डडेल्धुरामा सर्प दंशका घटना भयो । विपद्का कारण २ जना घाइते भए भने अनुमानित क्षति ५३ लाख ७ हजार ५५० रुपैयाँ बराबर भयो । त्यसैगरी, मङ्सिर ५ गते देशभर १९ वटा विपद्का घटना हुँदा १५ वटा आगलागीका थिए । त्यस दिन सुनसरी र पर्सामा २/२ वटा आगलागीका घटना भएका थिए । प्राधिकरणका अनुसार झापा, पाँचथर, सुनसरी, खोटाङ, उदयपुर, सर्लाही, रौतहट, बारा, लमजुङ, पर्वत, नवलपरासी पूर्व र पाल्पामा आगलागी हुँदा भौतिक सम्पत्तिको क्षति भयो ।  त्यस दिन पाल्पाको रिब्दीकोट-३ मा सुक्खा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरोध भएको थियो । सप्तरी, चितवन र मुगुमा जनावर आक्रमणका कारण घाइते भएकालाई उपचारका लागि नजिकैको अस्पताल पुर्याइयो । प्राधिकरणका अनुसार मङ्सिर ४ गते देशभर २० विपद्का घटना हुँदा आगलागीका मात्र १३ वटा थिए । एकै दिन रुपन्देही र कास्कीमा ३/३ वटा आगलागीका घटना भए । झापामा दुई, मोरङ, सुनसरी, सिरहा, बारा, दाङमा आगलागीका कारण भौतिक क्षति भयो । विपद्का घटनामा परेर त्यस दिन ११ जना घाइते हुँदा अनुमानित क्षति १३ लाख ६५ हजार रुपैयाँ बराबर भयो । त्यस दिन जनावर आक्रमणका ५ घटना भए । झापा, मोरङ, धनुषा, बझाङ र अछाममा जनावर आक्रमणका घटना घटेका थिए । त्यस्तै, मङ्सिर ३ गते देशव्यापी रूपमा १६ विपद्का घटना घटेका थिए । त्यसमा आगलागीका मात्रै १२ घटना थिए । लेक लाग्ने तीन र जनावर आक्रमणका एक घटना घटेका थिए । विपद्का कारण २ करोड ७६ लाख ३१ हजार रूपैयाँ बराबरको क्षति भयो । प्राधिकरणको विवरण अनुसार मङ्सिर २ गते कुल १७ विपद्का घटना हुँदा आगलागीका १३ घटना भए । कञ्चनपुर, सुनसरीमा मात्रै २ वटा आगलागीका घटना भए । त्यस दिन झापा, उदयपुर, सप्तरी, सिरहा, तनहुँ, नवलपरासी पूर्व, रुपन्देही र अछाममा आगलागी भएको थियो । लेक लाग्नु, सर्पदंश, जनावर आक्रमणका १/१ घटना भएका थिए । त्यस दिन विपद्मा परेर पाँच जना घाइते भए भने ३१ लाख १४ हजार रुपैयाँ बराबरको भौतिक क्षति भयो । त्यसैगरी, मङ्सिर १ गते कुल १० विपद्का घटना घटेकामा सबै आगलागीका थिए । आगलागीमा परेर २ जना घाइते भए भने १४ लाख ९३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको थियो । प्राधिकरणको यो विवरणअनुसार कतिपय आगजनी असावधानका कारण भएको छ भने कतिपय अवस्थामा विद्युत् सर्ट भएको छ । जनचेतनाको अभाव एवं लापरबाहीका कारण आगजनी हुँदा ठूलो क्षति हुन पुगेको छ । प्राधिकरणले आगो बाल्दा र ज्वलनशील पदार्थ चलाउँदा सावधानी अपनाउन आग्रह गरेको छ । सामान्य सावधानी अपनाउँदा पनि ठूलो मेहनतले सृजना गरेको भौतिक सम्पत्ति जोगाउन सकिने भन्दै प्राधिकरणले सबैलाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ । 

दुई वटा स्वचालित पेस्तोलसहित एक जना नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बलले रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रपुरस्थित देउराली चोकबाट दुई वटा स्वचालित पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बाराको निजगढ नगरपालिका–६ का २२ वर्षीय सुमन आचार्यलाई उक्त पेस्तोलसहित सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले नियन्त्रणमा लिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्र प्रहरीले उनको साथबाट इटालीमा निर्मित दुई थान पेस्तोल, सोको दुई वटा म्याग्जिन, १३ राउण्ड गोली र एक थान खुकुरी बरामद गरेको छ । बरामद पेस्तोल तथा अन्य सामानसहित निजलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

ट्रम्पले युक्रेनलाई दिए अमेरिकी शान्ति योजना स्वीकार गर्न अल्टिमेटम

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न तयार गरिएको २८ सूत्रीय शान्ति योजनामा युक्रेनको प्रतिक्रिया प्राप्त गर्न नोभेम्बर २७ को कडा समयसीमा तोकेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले देश अत्यन्त कठिन निर्णयको मोडमा पुगेको र ‘गरिमा गुमाउने वा प्रमुख साझेदार गुमाउने जोखिम’ जस्ता चुनौतीपूर्ण विकल्प सामना गर्नुपर्ने बताएको केही घण्टामै ट्रम्पको यस्तो कदम सार्वजनिक भएको हो । शुक्रबार फक्स न्युज रेडियोसँग दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले वार्तामा सार्थक प्रगति देखिए मात्र समयसीमा केही लचिलो हुन सक्ने सम्भावना रहेको बताए । ‘मेरो धेरैजसो विषयमा समयसीमा हुन्छ र यदि कामहरू सकारात्मक रूपमा अघि बढिरहेका छन् भने विस्तार गर्न सकिन्छ । तर नोभेम्बर २७ हामीलाई उपयुक्त समयजस्तै लागेको छ,’ ट्रम्पले भनेका छन् । ट्रम्पले प्रभावकारी रूपमा राष्ट्रपति जेलेन्स्कीलाई पाँच दिनभित्र निर्णय गर्न बाध्य पारिएको संकेत पनि गरे । उनका अनुसार, युक्रेनले आफ्नो गरिमा बचाउने कि प्रमुख सहयोगीको समर्थन गुमाउने भन्ने दुवै कठोर विकल्पबीच छ । साथै, उनले चेतावनी दिँदै युक्रेनले आफ्नो केही भूभाग तत्काल गुमाउने सम्भावना अझै कायम रहेको बताए । यसैबीच, अमेरिकी उपराष्ट्रपति जे. डी. भान्ससँगको फोन वार्तापछि राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत किएभ अमेरिकी तथा युरोपेली पक्षसँग राष्ट्रिय सुरक्षा सल्लाहकार तहमा सहकार्य गर्दै शान्तिको मार्ग खोज्न सहमत भएको जानकारी दिएका छन् । यसअघि टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले देश ‘सङ्कटको नयाँ चरण’ मा प्रवेश गरिरहेको उल्लेख गर्दै अत्यन्त कठिन विकल्पसहितको जटिल परिस्थितिको चेतावनी दिएका थिए । ‘युक्रेन अब अत्यन्तै चुनौतीपूर्ण निर्णयको घडीमा छ—या त गरिमा गुमाउने जोखिम, वा प्रमुख साझेदार गुमाउने भय । या त २८ बुँदे कठोर प्रस्ताव स्वीकार्ने, वा अर्को कठोर जाडो सहने,’ उनले भने । ओभल अफिसमा पत्रकारहरूसँग बोल्दै राष्ट्रपति ट्रम्पले शान्तिको यथार्थवादी बाटो पहिचान भइसकेको दाबी गर्दै यो योजना अघि बढ्न जेलेन्स्कीको स्वीकृति अनिवार्य हुने पुन: दोहोर्‍याए । सिएनएनद्वारा उद्धृत उनका कथन अनुसार, ‘हामीसँग शान्ति हासिल गर्ने बाटो छ भन्नेमा विश्वास छ, तर युक्रेनी पक्षले यसलाई अनुमोदन गर्नुपर्छ । उनीहरू नजिकै आइरहेका छन् जस्तो लाग्छ, तर म अहिले नै भविष्यवाणी गर्न चाहन्नँ ।’ ट्रम्पद्वारा पुनरावलोकन भई समर्थन प्राप्त २८–बुँदे शान्ति प्रस्ताव वासिङ्टनले गत तीन वर्षदेखि अवरुद्ध भइरहेको शान्ति प्रक्रियालाई पुनर्जीवित गर्ने उद्देश्यले अघि सारेको पछिल्लो पहल हो । यसअघि रुसले पूर्ण कब्जा नजमाएका क्षेत्रमा क्षेत्रीय छुट दिनुपर्ने जस्ता केही प्रस्ताव किएभले अस्वीकार गरिदिएको थियो । यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार अमेरिकी योजनाबारे टिप्पणी गर्दै उक्त प्रस्ताव आफूले अलास्कामा ट्रम्पसँग भएको भेटमा छलफल गरेको पुरानो प्रारूपकै परिमार्जित संस्करण जस्तो देखिएको बताए । सुरक्षा परिषद्को बैठकमा उनले भने, ‘अमेरिकी पक्षले केही सम्झौतामा सहमत हुन आग्रह गरेको थियो ।’ पुटिनका अनुसार मस्कोले एन्कोरेजमा प्रस्तुत गरिएका पहलहरू स्वीकार गरेको थियो, तर किएभले प्रस्ताव अस्वीकार गरेपछि प्रक्रिया रोकिएको थियो । रुसी पक्षले अद्यावधिक २८–बुँदे प्रस्तावको पाठ प्राप्त गरेको र त्यसलाई ‘विस्तृत रूपमा’ अध्ययन गर्न बाँकी रहेको समेत पुटिनले बताए । ‘मलाई विश्वास छ, यसले अन्तिम शान्ति सम्झौताको आधार बन्न सक्छ’, पुटिनले भनेका छन् । रासस

मोरङमा ४४ हजार नयाँ मतदाता थपिए

मोरङ । मोरङमा ४४ हजार ३११ नयाँ मतदाता थपिएका छन् । यो मङ्सिर ५ गतेसम्म थपिएका मतदाताको सङ्ख्या हो । यहाँस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार १६ हजार ४१३ जनाले प्रदेशको निर्वाचन कार्यालय र २७ हजार ९८९ जनाले राष्ट्रिय परिचयपत्रका  माध्यमबाट नाम दर्ता गराएका हुन् । अब मोरङमा मतदाताको सङ्ख्या सात लाख ८६ हजार ६६ पुगेको छ । यसअघि यो जिल्लामा सात लाख ४१ हजार ७५५ मतदाता रहेका अभिलेख छ ।   

फोहरलाई मोहरमा परिणत गर्दै व्यास नगरपालिका, ७ लाख आम्दानी

तनहुँ । जिल्लाको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्रीबाट चालु आवको पहिलो चार महिनामा सात लाख रुपैयाँ आम्दानी गरेको छ ।      नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तुको वर्गीकरण गरी गत वर्षदेखि बिक्री गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।      व्यास नगरपालिकाले दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहर संकलन गर्दै आएको छ र कुहिने फोहरलाई गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरिन्छ ।      पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालिएको नगरपालिकाको वन, वातावरण तथा सरसफाइ शाखाले जनाएको छ ।      प्रमुख प्रशासकीय अधिकृत लम्सालले भने, 'व्यास नगरपालिका परिसरमा ‘बेलिङ’ मेसिन जडान गरी नकुहिने प्लास्टिकजन्य, फलामजन्य र कागजजन्यलाई ठूलो आकारबाट दाबेर सानो आकारमा परिणत गरी भण्डारण गरिन्छ ।'      कार्यालयका अनुसार आल्मुनियम प्रतिकेजी ६०, फलाम प्रतिकेजी ३५, टिन २५, पानीको बोतल तथा अन्य बोतल २३, कपडा पाँच रूपैयाँ ५० पैसा, कपी १६ र किताब १४ दररेट कायम गरिएको छ ।      नगरपालिकाले यसअघि वडा नं ३ मादी नदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएको थियो । त्यस क्षेत्रको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको हो ।      कुहिने फोहरलाई नगरले व्यास–१० स्थित गौ संरक्षण केन्द्र भतेरीमा व्यवस्थापन गर्दै आएको छ । नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएकामा त्यहाँ पनि स्थानीयले विरोध गरेकाले जग्गा खरिद प्रक्रिया हाललाई रोकिएको छ ।      नगरपालिकाले सरसफाइ क्षेत्रमा लाखौँ खर्च गर्दै आएकामा अब फोहरबाट राम्रो आम्दानी स्रोत बनाउन थालेको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । रासस

विद्यार्थी अपहरणको श्रङ्खला बढेपछि नाइजेरियामा विद्यालय बन्द

काठमाडौं । आतङ्कवादी समूहहरूद्वारा विद्यार्थीहरूको अपहरणको श्रङ्खलामा वृद्धि भएपछि नाइजेरियाली सरकारले देशभरि कम्तीमा ४१ वटा माध्यमिक विद्यालयहरू बन्द गर्ने आदेश दिएको छ । नाइजेरियाको मध्य राज्य नाइजरको एक विद्यालयमा संदिग्ध आतङ्ककारीहरूले आक्रमण गरी कम्तिमा २१५ विद्यार्थी तथा १२ जना शिक्षकहरूलाई शुक्रबार अपहरण गरेको नाइजेरियाको क्रिश्चियन एसोसिएसन (क्यान) ले जनाएको छ । नाइजर राज्यका क्यानका प्रवक्ता डेनियल एटोरीले शुक्रबार विज्ञप्ति जारी गर्दै अगवारा स्थानीय सरकारी क्षेत्रको निजी संस्था सेन्ट मेरी स्कूलमा आक्रमण गरी सन्दिग्ध आतङ्ककारीहरूले विद्यार्थी र शिक्षकहरूलाई बन्धक बनाएको बताएका छन् । एटोरीले अपहरण गरिएका बच्चाहरूका अभिभावकहरूलाई भेटेपछि बच्चाहरूलाई उद्धार गरी सुरक्षित रूपमा फिर्ता ल्याउनका लागि सरकार र सुरक्षा निकायहरूसँग मिलेर काम गरिरहेको बताए । नाइजर राज्य सरकारका सचिव अबुबकर उस्मानले घटनाको पुष्टि गरेकाे छ भने गुप्तचर रिपोर्टहरूले राज्यका केही भागहरूमा सुरक्षा खतरा बढेको सङ्केत गरेका छन् । सतर्कताको आधारमा सरकारले सबै निर्माण गतिविधि स्थगित गर्न र प्रभावित क्षेत्रका स्कुलहरू अस्थायी रूपमा बन्द गर्न आदेश दिएको उनले बताए । स्थानीय सुरक्षा निकायहरूले विद्यार्थीहरूको सुरक्षित फिर्ती सुनिश्चित गर्न पूर्ण अनुसन्धान तथा खोजी र उद्धार अभियान सुरु गरेको जनाइएका छन् । नाइजर राज्यका प्रहरी प्रवक्ता वासिउ अबियोडुनलाइृ उदृत गर्दै अपहरण गरिएका विद्यार्थीहरूलाई उद्धार गर्नको लागि नजिकैको जङ्गलकामा सैन्य शक्ती र अन्य सुरक्षा एजेन्सीहरूसहित अर्धसैनिक निकायलाई घटनास्थलमा तैनाथ गरिएको सिन्ह्वाले जनाएको छ । संघीय सरकारको स्वामित्वमा रहेका विद्यालयहरू लक्षित यो निर्देशन यस अघि नै लागु भइसकेको शिक्षा मन्त्रालयको विज्ञप्ति मार्फत जनाएको छ । देशका केही भागहरूमा सुरक्षा चुनौतिहरूको कारण सुरक्षा उल्लङ्घन रोक्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस अघि हप्ताको सुरुमा भएको आक्रमणमा उत्तरी राज्य केब्बीको सरकारी माध्यमिक विद्यालयका कम्तीमा २५ जना विद्यार्थी छात्राहरु पनि सन्दिग्ध आतङ्ककारीहरूले अपहरण गरेको जनाइएको छ । रासस

गरिमा विकास बैंकको १९औं वार्षिकोत्सवमा ‘गरिमा रोड रेड २०८२’ सम्पन्न

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १९औं वार्षिकोत्सवका अवसरमा ‘गरिमा रोड रेड २०८२’ दौड प्रतियोगिता सम्पन्न भएको छ । बैंकको वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित सो प्रतियोगितामा खुला, कर्पोरेट तथा भेट्रान गरी तीन विधामा महिला र पुरुष गरी कुल ६ वटा प्रतिस्पर्धा सम्पन्न गरिएको हो । खुला तर्फ १० किमीको दौड बालुवाटारस्थित विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय अगाडिबाट सुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिका–३ सम्म पुगेको र सोही मार्ग हुँदै पुनः बालुवाटारमै समापन गरिएको थियो । त्यस्तै, कर्पोरेट तथा भेट्रान विधाको ५ किमी दुरीको प्रतियोगिता समेत बालुवाटारबाट सुरु भई नारायणगोपालचोक हुँदै न्यूरो अस्पताल, बाँसबारीसम्म गई पुनः बालुवाटारमै सम्पन्न गरिएको हो । २०७ जनाभन्दा बढी सहभागी रहेको खुला विधामा महिलातर्फ १० किमी दुरी ३४ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै ओलम्पियन सन्तोषी श्रेष्ठ प्रथम बनेकी छिन् । पुरुषतर्फ २९ मिनेट १२ सेकेन्डमा दूरी पूरा गर्दै नेपाल आर्मीका राजन रोकायले पहिलो स्थान हासिल गरेका छन् । पुरुष खुला विधाका सबै पुरस्कार तथा महिलातर्फ चार पुरस्कार नेपाल आर्मीका धावकहरूले जित्न सफल भएका छन् । खुला विधाका प्रथम, द्वितीय, तृतीय, चतुर्थ र पंचम स्थान हासिल गर्ने धावकहरूलाई क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, कर्पोरेट तथा भेट्रान ५ किमी विधाका उत्कृष्ट पाँच धावकहरूलाई क्रमशः ३० हजार, २० हजार, १४ हजार, १० हजार र ७ हजार रुपैयाँ नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विकास बैंकका सञ्चालक, पूर्व सञ्चालक, सेयरधनी, स्थानीय निकायका प्रतिनिधि, संघ–संस्था, पत्रकार तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । स्वागत मन्तव्य दिंदै प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले कार्यक्रममा स्वास्थ्य–सचेतना र सामुदायिक सहभागिताबाट प्राप्त सकारात्मक प्रभावको बारेमा प्रकाश पारे । समापन सत्रमा बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले मानव स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई आगामी वर्षहरूमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । यसैगरी, मङ्सिर ७ गते बैंकले १९औं वार्षिकोत्सवका अवसरमा देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान तथा १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम आयोजना गरिएको जानकारी गराइएको छ ।