विकासन्युज

फियाट्को ‘गेट मोर विथ पुन्टो प्युअर’ नेपाली बजारमा, मूल्य २२ लाख ८९ हजार रुपैयाँ मात्र

काठमाडौं, १२ माघ । नेपालका लागि फियाट्को आधिकारिक विक्रेता लाइफ अटोमोबाइल प्रालिले बुधबार नयाँ स्किम- ‘गेट मोर विथ पुन्टो प्युअर’ सार्वजनिक गरेको छ । नयाँ स्किममा लाइफ अटोमोबाइलले फियाट् पुन्टो प्युअरको खरिदमा भारी छुट र सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । उक्त कार  खरिदकर्ताले विशेष नगद छुट, एक वर्षको लागि गाडीको विमा, एक वर्षको सवारी कर, निःशुल्क एसोसरिज, रिभर्स क्यामेरा, आठ पटक निःशुल्क सर्भिसिङ, एक्सचेन्ज बोनस र लोयाल्टी बोनस लगायतका सुविधा पाउने कम्पनीले जनाएको छ । पुन्टो प्युअर यसै वर्ष नाडा अटो शोमार्फत नेपालमा ल्याइएको थियो । त्यसयता, यो युरोपेली कारले कार पारखीहरुको मन जित्न सफल भइरहेको छ । कम्पनीका अनुसार पुन्टो प्युअर १२ सय सीसीको इन्ट्रिलेभर कार हो । युरोपियन विल्ड, फोर सिलिन्डर, स्पेसियस इन्टेरियर र क्लास लिडिङ ग्राउन्ड क्लेरेन्स यसका विशेषताहरु हुन् । पुन्टो प्युअर एक्जोटिक रेड, हिपहप ब्ल्याक र सेतो रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । दुई सय ८० लिटर बुट भएको पुन्टो प्युअरको ग्राउन्ड क्लेरेन्स एक सय ९५ सीसी रहेको छ जसले गर्दा खराब सडकमा पनि आरामदायी यात्राको अनुभव दिलाउँछ । यसमा फायर प्रिभेन्सन सिस्टम समेत रहेको छ । कम्पनीका अनुसार यो प्रविधिले दुर्घटना हुँदा इन्धनको आपुर्ति काटेर आगलागी हुनेबाट रोक्छ । फियाट् इटालियन ब्रान्डको गाडी हो जुन संसारभरि लोकप्रिय छ । यो ब्रान्डका गाडी ६६ देश र सबै महादेशमा उपलब्ध छन् । नेपालीमा लाइफ अटोमोबाइलले पुन्टो प्युअरबाहेक एभेन्च्युरा, पुन्टो इभो, अबार्थ पुन्टो र एभेन्च्युरा पावर्ड बाई अबार्थ बिक्री गर्दै आएको छ । नेपाली बजारमा पुन्टो प्युअरको मूल्य २२ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

सीएनआईले भन्यो- सीसीडी र सीआरआर घटाएर तरलता अभावको व्यवस्थापन गरौं

काठमाडौं, १२ माघ । नेपाल उद्योग परिसंघ(सीएनआई)ले सीसीडी रेसियो र सीआरआर रेसिया घटाएर तरलता अभावको समाधान गर्नु पर्ने बताएको छ । बुधबार सीएनआईले तरलता अभावका बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै तरलताको व्यवस्थापन नभएसम्म कर्जा निक्षेप अनुपात(सीसीडी रेसियो)लाई ८५ः१५ मा ल्याउनु पर्ने बताएको हो । हाल सीसीडी रेसियो ८०ः २० रहेको छ । त्यस्तै, चालु आवको मौद्रिक नीतिले व्यवस्था गरेको अनिवार्य नगद अनुपात(सिआरआर)लाई पनि एक प्रतिशत झार्नुपर्ने उसको सुझाव छ । हाल सिआरआर रेसिया क, ख र ग वर्गका वित्तिय संस्थाका लागि क्रमशः ६, ५ र ४ प्रतिशत रहेको छ । सीएनआईले विकास खर्च न्युन हुनु, रेमिटेन्सको वृृद्धिदर घट्नु, हुण्डी कारोबार नियन्त्रण नभएर अनौपचारिक अर्थतन्त्र सक्रिय रहनु, आइसी ५ र १००० दरका भारुका कारण १५ अर्ब रकम निष्क्रिय रहनु लगायतका कारण तलरता बढेको दावी पनि गरेको छ

केएल टावरमा शुरु भयो विग सेल कार्निभल, सपिङ्मा ५० प्रतिशतसम्म छुट

काठमाडौं, १२ माघ । चाबहिलस्थित केएल टावरमा बुधबारदेखि विग सेल कार्निभल इभेन्ट शुरु भएको छ । तीन साता चल्ने कार्निभल अवधिभर ग्राहकहरुले विभिन्न सामाग्रीको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने छन् । टावरले सेवाग्राहीलाई सुपथ मूल्यमा उपभोग्य सामग्री सहज रुपमा उपलब्ध गराउन इभेण्टको आयोजना गरिएको जनाएको छ । माघ १२ गतेबाट शुरु भएको विग सेल कार्निभल फागुन ७ गतेसम्म चल्नेछ । उक्त अवधिमा के एल टावरमा सपिङ गर्ने ग्राहकले लत्ताकपडा, जुत्ता, चम्पल, चस्मा, घडी, ब्याग कस्मेटिक लगायतका सामानमा ५० प्रतिशतसम्म छुट दिइने तथा विभिन्न आर्कषक उपहार समेत जित्न सकिने इभेन्ट संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए । कार्निभल अवधिभर केएल टावरमा विभिन्न आकर्षक कार्यक्रमहरुको समेत आयोजना हुनेछन् । जसमा बालबालिका र परिवारलाई दैनिक रुपमा उपहार, नि शुल्क फेस पेन्टिङ,फेशन सो, गेम सो, फ्रि नेल आर्ट, फ्रि फोटो सुट तथा विभिन्न सांगितिक कार्यक्रमहरु समेत आयोजना गरिने कम्पनीले जानकारी दिएको छ । टावरमा पुरुषका लागि ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानका पसल रहेका छन् । साथै, डिपार्टमेण्टल स्टोर, मल्टिप्लेक्स, फूड कोर्ट र बलिङ एण्ड गेम जोन समेत संचालनमा रहेका छन् । साढे दश तले टावरमा ५० भन्दा बढी संख्यामा स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् ।

डिप्रोक्स लघुवित्तलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न अनुमति, बिक्री प्रवन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

काठमाडौं, १२ माघ । डिप्रोक्स लघुवित्त विकास बैंकलाई शतप्रतिशत (एक बराबर एक अनुपातमा) हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले २५ करोड ७९ लाख २३ हजार ८४५ रुपैयाँको २५ लाख ७९ हजार २३८ कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । बैंकले उक्त सेयर निष्कासनको लागि नविल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकले २५ लाख कित्ता एफपीओको लागि माग्यो बोर्डको अनुमति

काठमाडौं, १२ माघ । स्ट्याण्डर्ड चाटर्ड बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओको लागि प्रक्रिया अघि बढाएको छ । बैंकले सो मात्राको एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले एनएमबी क्यापिटल मार्फत एफपीओ जारी गर्न अनुमति मागेको छ । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको एफपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।

यती डेभलपमेण्ट बैंकद्धारा बालबालीकाहरुलाई सहयोग

काठमाडौं, १२ माघ । यती डेभलपमेण्ट बैंकले यस पटक थालेसीमीया रोगबाट ग्रसीत बालीका सरीता माझीलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरीता माझीलाई उपचारको लागी ३५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त चेक बैंकको महाराजगंज शाखाकी शाखा प्रमुख दिभा राणाले कान्ति बाल अस्पतालमा गई माझीलाई हस्तान्तरण गरेकी छन् । हरेक दुई तिन हप्तामा शरीरको सम्पूर्ण रगत फेर्नु पर्ने यस रोगको उपचार खर्च अत्यन्त महंगो रहेको छ । आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण परीवारले समेत उनलाई छोडेर गएको बालिकाले बताईन् ।

नेप्से परिसूचक ३६ अंकले घट्दा ६० करोडको कारोबार, ९ कम्पनीको सेयर मूल्यमा वृद्धि

काठमाडौं, १२ माघ । बुधबार नेप्से परिसूचक ३६ दशमलब ३८ अंकले ओरालो लागेको छ । दोहोरो अंकले ओरालो लागेको बजार बन्द हुँदा १३९६ दशमलब ६१ अंकमा अडेको छ । सेयर बजारमा नेप्से परिसूचकमा गिरावट आएता पनि कारोबार रकममा भने केही दिन यता देखि सुधार आएको छ । बजारमा ५९ करोड २८ लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३५ कम्पनीको एक लाख ७० हजार कित्ता सेयर किनबेच भएको हो । नाफा कमाउने ९ कम्पनीहरु बुधबारको बजारमा जम्मा जम्मी ९ वटा कम्पनीको मात्रै सेयर मूल्य सामान्य प्रतिशतले बढेको छ । सबैभन्दा बढी गरिमा विकास बैंकको सेयर मूल्य २ दशमलब ६६ प्रतिशतले बढेको छ । त्यस्तै, यूनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य २ प्रतिशतले बढेको छ भने अन्य बाँकीको एक भन्दा कम प्रतिशतले सेयर मूल्य बढेको छ । सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । त्यस्तै, नेरुडे लघुवित्त विकास बैंक, बरुन हाइड्रोपावर कम्पनी र सगरमाथा फाइनान्सका लगानीकर्ताले ८ प्रतिशतभन्दा बढीले गुमाएका छन् । बजारमा कारोबार भएका सबैसूचक मध्ये उत्पादनमूलक समूहको परिसूचक उकालो लागेको छ भने बाँकी समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २६७ दशमलब ४१ प्रतिशतले ओरालो लागेको छ । बुधबार कारोबार रकमको आधारमा सबैभन्दा बढी प्रभु बैंकको प्रमोटर सेयर बिक्री भएको छ । बैंकको १७ करोड ११ लाख रुपैयाँ बराबरको सेयर प्रतिकित्ता १९१ रुपैयाँमा किनबेच भएको हो । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

डिप्रोक्स लघुवित्तको ३५ प्रतिशत बोनस र १७ प्रतिशत नगद लाभांश स्वीकृत

काठमाडौं, १२ माघ । डिप्रोक्स लघुवित्तको ३५ प्रतिशत बोनस दिने प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत दिएको छ । साथै, बैंकले १७ दशमलब ६३ प्रतिशत नगद लाभांश दिने कम्पनीको प्रस्तावलाई स्वीकृत गरेको छ । राष्ट्र बैंकले स्वीकृति दिएको कम्पनीको सो प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्नेछ ।