गभर्नर नियुक्तिमा सकस, सम्धीलाई नै गभर्नर बनाउने तयारी
३ चैत । ‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा यस ऐन बमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रुपमा प्रकाशन तथा प्रसारण गर्नेछ ।’ नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २५ मा उल्लेख गरिएको विषय हो यो । यो कानुनी व्यवस्थालाई वर्तमान सरकारले धोती लगाईदिएको छ । फागुन ६ गते अगाडि नै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरि सार्वजनिक सुचना प्रकाशित गर्नुपर्नेमा चैत ३ गतेसम्म नयाँ गभर्नरको अत्तोपत्तो छैन । मुलुक सामान्य अवस्थामा छ । देशमा संकटकाल लागेको पनि छैन । काम चलाउ सरकार भएर निर्णय गर्न नसकेको अवस्था पनि होइन । सरकार सामान्य अवस्थामा भए पनि कानुनको पालना गर्न मन्त्रीपरिषद् नै चुकेको छ । कानुनको पालना नगर्ने, विज्ञताको उपेक्षा गर्ने, आफूलाई सर्वगुण सम्पन्न ठान्ने, अरु सबलाई दोषी र कमजोर देख्ने नेपाली राजनीतिक अगुवाहरुको साझा चरित्र नै हो । यही चरित्रको परिणाम हो नयाँ गभर्नर नियुक्तिमा सकस । शक्तिमा बसेका व्यक्तिहरु राम्रो मान्छे नभई हाम्रो मान्छे नियुक्त गर्न मरिहत्ते गरिहेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइराला आफ्नै सल्लाहाकार डा. चिरञ्जीवि नेपाल वा डा. विश्वम्भर प्याकु¥याललाई गर्भनर बनाउन चाहन्छन् । अर्थमन्त्री डा. रामशरण महत डा. शंकर शर्मा वा रामेश्वर खनाललाई गभर्नर बनाउन चाहन्छन् । मन्त्रिपरिषद्मा सर्वशक्तिमान प्रधानमन्त्रीको चाहाना र गभर्नर नियुक्तिको सिफारिसकर्ता अर्थमन्त्रीबीच आफू निकट व्यक्तिलाई गभर्नर बनाउनुपर्छ भन्ने होडबाजी चलिरहदा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल आफ्ना सम्धी युवराज भुषाललाई गर्भनर बनाउन कम्मर कँसेर लागेका छन् । पार्टीका वरिष्ठ नेता शेरबहादर देउवा पक्ष पनि डा. विमल कोइरालालाई गभर्नर बनाउने दाउँमा छ भने पाटी नेता आनन्दप्रसाद ढुंगानाले आफ्ना भाइभतिजालाई गभर्नर बनाउँन च्याखे थापेका छन् । डेपुटी गर्भनरहरुको चर्चा नै कम हुँदै गएको छ । पार्टी सभापतिदेखि बरिष्ठ नेताहरुले आफ्नो आफ्नो डम्फू बोकेर वार्गेनिङ गर्न थालेपछि गर्भनर सिफारिस गर्न बनेको पारिवारिक समिति पंङ्गु बनेको छ । अर्थमन्त्री डा.महत संयोजक रहेको समितिमा अर्थमन्त्रीका सम्धी तथा पूर्वगर्भनर हिमालय सम्शेर राणा र अर्थमन्त्रीका साढू दाजु प्राडा. पार्थिवेश्वर तिमल्सिना सदस्य रहेका छन् । गभर्नर सिफासिर समितिको पहिलो बैठक फागुन २० गते बसेकोमा कुनै निर्णय गर्न सकेन । मंगलबार द्धारिका होटलमा बसेको समितिको दोस्रो बैठकले पनि सम्भावित गभर्नरको नाम सिफारिस गर्न सकेन । काँग्रेस महाधिवेशनको पूर्वसन्धामा हुन लागेको गभर्नर नियुक्तिलाई पार्टीको आन्तरिक समिकरणसँग जोडेर हेर्न थालिएको छ । फेरि पार्टी सभापति बन्ने तयारीमा रहेका प्रधानमन्त्री कोइराला र महामन्त्रीको तयारीमा रहेका डा. महत दुबैले बर्तमान उपसभापति पौडेलको समर्थनको सुनिश्चता खोजिरेहको स्रोतको भनाई छ । पौडलको समर्थन लिन उनका सम्धी भुषाललाई गभर्नर बनाउने मनस्थितिमा महत र कोइराला सहमत भएको बताइन्छ । सम्धी–सम्धी–साढुदाइ समितिले अर्को सम्धीलाई सिफारिस गर्ने र मन्त्रिपरिषद्ले पनि सम्धीलाई नै गभर्नर नियुक्त गर्ने निर्णय लिएमा व्यवसायिक दक्षता र क्षमता भए पनि शक्तिकेन्द्रमा पहुँच हुनेले मात्र राज्यमा राम्रो अवसर पाउने भनाई फेरी पनि पुष्टी हुनेछ ।
राष्ट्रिय वाणिज्य बैंक १५ सय कर्मचारी नियुक्त गर्दै, आकर्षक रोजगारीको अवसर
३ चैत/राम्रो जागिरको खोजी गर्नेहरुलाई महत्वपूर्ण अवसर छ । राष्ट्रिय वाणिज्य बैंकले आगामी तीन वर्षमा झण्डै एक हजार पाँच सय कर्मचारी नियुक्त गर्दैछ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माका अनुसार राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत झण्डै एक हजार दुई सय कर्मचारीले आगामी तीन वर्षमा अवकाश पाउने भएका छन् । ३० वर्षे सेवा अवधि तथा ५८ वर्षको उमेर हदका कारण २०७५ असार मसान्तसम्ममा एक हजार एक सय ६५ जनाले अनिवार्य अवकाश पाउन लगेको हुन् । छोटो अवधिमा ठूलो संख्यामा कर्मचारीले अनिवार्य अवकाश पाउने भएकाले नयाँ कर्मचारी नियुक्ती प्रक्रिया छिट्टै अगाडि बढाउन लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले बताए । वार्षिक करिब तीन सय जना नयाँ कर्मचारी नियुक्त गर्ने योजना बनेको उनले बताए । नयाँ कर्मचारी नियुक्ती गर्दा भौगोलिक समावेशीतालाई जोड दिइने भएको छ । ‘कर्मचारी नियुक्ती गर्दा केन्द्रमा मात्र नियुक्री गर्दैनौं, जिल्ला र क्षेत्रीय तहमा बढी नियुक्ती गरिने छ’ शर्मा भन्छन्–जिल्ला तहमा नियुक्ती गर्दा कम्तिमा ७ वर्ष सोही जिल्लामा काम गर्ने र क्षेत्रीय तहमा नियुक्ती गर्दा कम्तिमा ५ वर्ष सोही क्षेत्रमा काम गर्ने प्रतिवद्धतासहित कर्मचारी नियुक्ती गरिने छ ।’ यो विधिबाट नियुक्ती गर्दा कर्मचारीमा स्थायीत्व पनि आउने र स्थानीय तहमा व्यापार विस्तार गर्न पनि सजिलो हुने बैंकको विश्लेषण छ । अबकास पाउनेमध्ये अधिकांश कनिष्ट सहायक र सहायक प्रबन्धक रहेकाले सोही पदका लागि नयाँ नियुक्ती गरिने उनले जानकारी दिए । प्रमुख कार्यकारी अधिकृतमा आफू नियुक्त भएपछिको तीन वर्षमा व्यापार दोब्बरले बृद्धि भएको र वार्षिक वृद्धिदर २५ प्रतिशतभन्दा माथि भएकोले कर्मचारी दरबन्द पनि बढाउनु पर्ने अवस्था सिर्जना भएको उनले बताए । हाल बैंकमा दुई हजार पाँच सय ५७ दरबन्दी रहेको र यसलाई वृद्धि गरी ३००० बनाउने योजना रहेको उनले जानकारी दिए । ११ जनाले ६५ जनाले अवकास पाउने र करिव चार सय दरबन्दी वृद्धि गर्ने तयारी भएकोले आगामी चार वर्षमा कम्तिमा १५ सयले राष्ट्रिय बाणिज्य बैंकमा रोजगारीको अवसर भएका छन् ।
पूर्वाधार बीमा पोलिसी तयार गर्दैछौं-सुधुम्न उपाध्याय
प्रमुख कार्यकारी अधिकृत प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड बीमा समितिले भने झै कम्पनीको पुँजी वृद्धि गर्न किन ढिला गरेको ? पहिला हामीले मर्जरको प्रयास ग¥यौं । त्यो सफल नभएपछि हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गर्दै छौं । अहिले जारी गर्न लागेको हकप्रद अन्र्तगतको रकम संस्थापकहरुले हालिसकेका छन् । अब सर्वसाधारणमा जारी गरेपछि यस आर्थिक वर्षभित्र हाम्रो चुक्तापुँजी २८ करोड रुपैयाँ पुग्ने छ । त्यसपछि क्रमशः पूँजी वृद्धि गर्दै चुक्तापूँजी ५० करोड पु¥याउने छौं । चुक्तापुँजी ५० करोड पु¥याउन यो हकप्रद पछि पुन बोनस तथा हकप्रद जारी गर्नुपर्ने हुनसक्छ । मर्जरको सम्भावना सकिएको हो ? तत्काललाई मर्जरको सम्भावना छैन् । यदी चुक्तापुँजी ५० करोडबाट पनि बढाउनुपर्ने अवस्था आयो भनेपनि मर्जरको बाटो रोज्नु हुन्न ? हुनतः पछिल्लो समय प्रस्तावित मस्यौदाले बीमा कम्पनीहरुको चुक्तपूँजी बढाउन लगाउने तर नतोक्ने खबर आएका छन् । कम्पनीहरुको क्षेत्र बिस्तार हुँदै जाँदा अवश्य नै चुक्तापुँजी पनि बढाउदै लानुपर्ने हुन्छ । अहिले विश्वव्यापी रुपमा हेर्ने हो भने पनि बीमा क्षेत्रमा मर्जर तथा एक्विजिसन भइनै रहेको छ । वित्तीय बजारमा मर्जर र एक्विजेशन नयाँ कुरा होइन । मर्जर र एक्विजिशनले संस्थालाई नै बलियो बनाउँछ । एकपटक मर्जर भएन भन्दैमा यो प्रक्रियाबाटै हामी अलगियौं भन्ने होइन । मर्जर ‘इकोनोमिक डाइनामिज्म’मा स्वभाविक कुरा हो । हामी जहिलेपनि ‘ओपन’ छौं । यो सम्भावना र अवसर पनि हो । कुनै बेला कम्पनीको सबै पक्षलाई राम्रो हुन्छ भने मर्जरमा जान सकिन्छ । बन्देज नै भन्ने होइन । मर्जर समयको माग हो, जुन बेला समयको माग हुन्छ, सही पार्टनर भेटिन्छ, मर्जर भइहाल्छ । हाम्रो क्षेत्रमा मर्जरको लागि त्यति धेरै समस्या पनि हुदैन । मात्र कम्पनीहरुबीचको अवसर र चुनौती फरक हुने हो । त्यो समयले बताउने कुरा हो । हकप्रद सेयर कहिलेबाट जारी हुन्छ, कत्तिको सहभागिता हुने देख्नुहुन्छ ? हामीले चैत आठ गते आवहान पत्र निष्कासन गर्ने भएका छौं । दोस्रो बजारमा हेर्नुभयो भने हाम्रो कम्पनी प्रति लगानीकर्ताको झुकाव राम्रो छ । त्यसैले यो निष्कासनमा सबै लगानीकर्ताहरुले सहभागिता जनाउनु हुनेछ भन्ने हाम्रो विश्वास छ । कसैले जानकारी नपाएको कारण केहीको आवेदन नपर्नसक्ला । जानकारी पाउने सबै सेयरधनीले नै हकप्रद सेयर लिने हाम्रो विश्वास छ । चुक्तापुँजी बढेसंगै व्यवसाय बिस्तार गर्नुपर्ने हुन्छ, योजना के के बनाउनु भएको छ ? हामी अहिले शाखा बिस्तारमा लागेका छौं । अहिले हाम्रो १३ वटा शाखा सञ्चालनमा छ । शाखा कति संख्यामा वृद्धि गर्ने योजना बनाइरहेका छौं । हामीले लगानीको क्षेत्र अनुसार सन्तुलित ढंगले लगानी गरिरहेका छौं । हाम्रो अहिले वृद्धिदर ४० प्रतिशतमा रहेको छ । यो वृद्धि चालु आवको अन्त्यसम्म पनि कायम राख्ने गरि कार्यसम्पादन गरिरहेका छौं । कम्पनीको अहिलेको वित्तीय अवस्था कस्तो छ ? चालु आवको दोस्रो त्रैमाशमा हाम्रो नाफा दुई करोड २९ लाख रुपैयाँ नाफा रहेको छ । हाम्रो प्रगति त्यसले पनि देखाउँछ । यस वर्षमा भने हाम्रो साढे छ करोड नाफा गर्ने लक्ष्य रहेको छ । हामीले सन्तुलित रुपमा विकास गर्नु पक्ष भन्ने मान्यता राखेकोले हाम्रो अवस्था दीर्घकालसम्म प्रगतिशील नै हुने छ । बीमा व्यवसाय स्वथ्य वातावरणमा गर्नुपर्छ र दीगोपना हुनु पर्छ भन्ने विश्वासमा हामी अगाडी बढिरहेका छौं । हाम्रो बिगत तीन बर्षदेखि नाफा क्रमिक रुपमा बढ्दै गएको छ । लगभग तीन बर्षदेखि हाम्रो कम्पनीको वृद्धि ४० प्रतिशतको दरमा भइरहेको छ । कम्पनी ठूलो हुँदै जाँदा नाफाको वृद्धिदर भने घट्दै जान्छ, यो स्थापित सिद्धान्त नै हो । तर नाफा नै घट्ने भन्ने होइन । नाफा र वृद्धि बढ्न भने रोकिदैन । तपाईहरुको कम्पनीको नाफामा प्रभाव पर्ने गरेर मेडिकल इन्स्योरेन्समा उच्च दाबी पर्ने गरेको अध्ययनहरुले देखाउँछ , दाबी किन उच्च भएको हो ? मेडिकल इन्स्योरेन्समा खर्च बढ्दै गइरहेको छ । हामी कहाँ १० औं/१५ औं वर्षदेखिका ग्राहकहरु छन् । पुरानो ग्राहकहरुबाट आउने प्रिमियमको तुलनामा मेडिकल खर्च बढेको कारणले यस्तो ‘मिस म्याच’ देखिएको हो । यही कारण हामीले अहिले क्रमिक रुपमा मेडिकल इन्स्योरेन्सको प्रिमियम शुल्क पनि बढाउँदै लगिरहेका छौं । यसले गर्दा लागत र आम्दानीबीच सन्तुलन बन्दै गएको छ । तपाईहरुको क्षेत्रगत लगानी कस्तो छ ? हाम्रो अग्नि बीमा, मोटर बीमा, इन्जिनियरिङ, एभिएशन सबैमा सन्तुलित नै छ । गत बर्ष हाम्रो मोटर बीमाको हिस्सा ३५ प्रतिशत रहेको थियो । बिगत दुई बर्ष अगाडी हाम्रो मोटर बीमामा खासै लगानी थिएन । त्यसमा भने वृद्धि भएको हो । तरपनि मोटरमा कम नै छ । अग्निमा हाम्रो लगानीको करिब २० प्रतिशत हिस्सा रहेको छ । तपाईहरुको प्रिमियम रिटेन्सन रेसियो बजारको औसतभन्दा कम रहेको छ । यसले पनि नाफामा प्रभाव पारिरहेको देखिन्छ, किन हो ? अन्य कम्पनीहरुको मोटर सेग्मेन्टमा ५० देखि ६० प्रतिशत लगानी छ । यसले गर्दा उनीहरुको ग्रस प्रिमियम रिटेन्सन बढि छ । तर उनीहरुको तुलनामा हाम्रो अग्नि, मरिन, इन्जिनियरिङमा लगानी बढि भएकोले गर्दा पुनर्बीमामा बढि रकम जाने गरेको छ । यसले गर्दा प्रिमियमको धेरै हिस्सा रकम सञ्चित हुन पाउँदैन र पुनर्बीमा कम्पनीमा जान्छ । त्यसैले अनुपात कम भएको हो । हाम्रो सञ्जाल नै सानो भएकोले पनि मोटर बीमा बढ्न नसकेको हो । बीमा बजारमा मोटर बीमाको हिस्सा तुलनात्मक रुपमा अन्यभन्दा बढि रहेकोले हामीले पनि यस क्षेत्रमा लगानी बढाउँदै छौं । तर हाम्रो बजार हिस्साको सन्तुलनलाई भने बिगार्दैनौं । बीमा कम्पनीहरुले लगानी विविधिकरण गर्न सकेका छैनन् । तपाईहरुले कुनै नयाँ प्रडक्ट ल्याउँने सोच बनाउनु भएको छ ? अहिले नेपालका बिभिन्न परियोजनामा लगानी गर्न बिभिन्न अन्तराष्ट्रिय वित्तीय संस्थाहरु इच्छुक छन् । त्यसमा डाइरेक्टर एण्ड अफिसर लायबिलिटिज, प्रोफेशनल इनएबिलिटिज इन्स्योरेन्स सम्बन्धि दायित्व बीमाहरु गर्नुपर्ने अन्तराष्ट्रिय प्रचलन हुन्छ । अहिले भौतिक पुर्वाधार निर्माणको काम पनि बढ्दै छ । हामीले पनि दायित्व सम्बन्धि यस्तै बीमा योजनाहरु ल्याउने तयारी गरिरहेका छौं । परियोजनाहरु सञ्चालनमा आउँन बीमा पुर्व शर्त जस्तो भइसकेको छ । कुनैपनि परियोजनामा बिदेशी लगानी आउने हो भने बीमा गर्नु वहाहरुको आवश्यकता नै हुन्छ । नेपालको पुर्वाधार बिकासको लक्ष्य पुरा गर्न पनि बिदेशी लगानीको आवश्यकता छ । त्यसैले यस्तो दायित्व बीमाको सम्भावना पनि उच्च छ । यो उच्च प्राविधिक बिषय पनि हो । हाम्रो इन्जिनियरिङ क्षेत्रमा एक्पोजर राम्रो भएकोले यस्ता योजना पनि ल्याउन खोजेका हौं । पुर्वाधार विकासको प्रक्रियामा नै देश अगाडी बढेको छ । त्यसैले यस क्षेत्र सहयोगी बीमा प्रडक्टहरु ल्याउन एक्सपर्टिज खोज्ने वा निर्माण गर्ने, जोखिम बहन क्षमता बढाउने लगायतको काम गर्दै जानुपर्ने हुन्छ । पुनर्बीमा कम्पनीमा लगानी थप्ने कम्पनीको सोच छ ? हामी लगानी थप गर्ने सोचमा छौं । बीमा समितिले लगानी गर्न स्वीकृती दिने अधिकत्तम सीमासम्म हामी लगानी गर्ने पक्षमा छौं । हामीले टोकियो, बेलायत, मध्यपुर्वी देशलगायतका कम्पनीहरुबाट पुनर्बीमा सेवा लिदै आएका छौं । यहा स्थापना हुने पुनर्बीमा कम्पनीले शतप्रतिशत रकम बाहिर जानबाट रोक्छ भन्ने त होइन, तर यही पुनर्बीमा कम्पनी हुँदा केही न केही पुँजी यही रहने अवस्था आउँछ । पुँजीको विकास गर्न र प्रिमियम रिटेन यही हुने वातावरण बन्छ । यसले देशको अर्थतन्त्रको बिकासमा सहयोग पुग्छ । कृषि तथा बाली बीमालाई बाध्यकरी रुपमा लिनु भएको त छैन ? हामीले सकारात्मक रुपमा लिएका छौं । व्यक्तिगत रुपमा भन्दा यसरी नै जाँनुपर्छ भन्ने मेरो सोच पनि हो । किनभने नेपालभरी शाखा बिस्तार गर्न बीमा कम्पनीहरुलाई समस्या छ । त्यसैले एउटा क्षेत्रलाई मात्र प्राथमिकतामा राख्न पायौं भने त्यहाका समस्या, चुनौतीको समाना गर्न पनि सजिलो हुन्छ । त्यस्तै एक कम्पनीले एक क्षेत्रमा र अर्काेले अर्काे क्षेत्रमा काम गर्न पाउँदा सबै भुभागका ग्राहकले सेवा पाउँछन । नत्र पहुँच पु¥याउन सहज हुने क्षेत्रमा मात्र सबै केन्द्रीत हुने र अन्य क्षेत्रकाले सेवा नै नपाउँने अवस्था पनि आउन सक्छ ।
बहुराष्ट्रिय कम्पनीको वेवसाईट नेपालीमा, सरकारी कम्पनीको वेवसाईट अंग्रेजीमा
२ चैत । सर्वसाधारण नागरिकलाई जानकारी दिन भनेर खोलिएका सरकारी स्वामित्वका संस्थानहरुकै वेबसाइट नेपाली भाषामा उपलब्ध छैनन् । सर्वसाधारणसँग सरोकार राख्ने यस्ता संस्थानहरुले नेपालीमा वेबसाइट बनाउनुपर्छ भन्ने सुझाव कतैवाट पनि नआएकोले अहिलेसम्म अंग्रेजीमै बनाइएको अधिकारीहरुको भनाइ छ । नेपालको सवैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको वेबसाइट नेपाली भाषामा छैन । यस्तै सरकारी स्वामित्व रहेका बाणिज्य बैंकहरु नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय बाणिज्य बैंकको वेबसाइट पनि नेपाली भाषामा छैन । नीजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलले नेपाली भाषामा पनि वेबसाइट बनाएको छ । यस्तै नेपाल र भारतको संयुक्त लगानीको नेपाल एसबीआइ बैंकले नेपाली भाषामा पनि वेबसाइट निर्माण गरेको । नेपाल राष्ट्र बैंककै वेबसाइटमा अधिकांश जानकारी र सुचनाहरु नेपाली भाषामै राख्ने गरिएपनि नेपाली भाषामा छुट्टै वेबसाइट भने बनाएको छैन । सबै मन्त्रालयहरुले नेपाली भाषामा पनि बेवसाइट बनाउने गरेका छन । नेपालमा भाषामा पनि वेबसाइट चाहिन्छ भन्ने आवाज नउठेकोले अहिलेसम्म अंग्रजी भाषामा मात्रै बनाइएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताए । ‘नेपाली भाषामा पनि वेबसाइट बनाउँ भनेर कसैले पनि भनेको छैन,’ आचार्यले भने– त्यतातिर हामी आफ्नै पनि सोच पुगेको रहेनछ । अब चाढै नै नेपाली भाषामा पनि बेबसाइट बनाइने आचार्यको भनाइ छ । टेलिकम क्षेत्रमा प्रयोग हुने शब्दाबली अंग्रेजी भाषाका हुने भएकोले अंग्रेजी भाषामै वेवसाइट बनाइएको भए पनि अब भने नेपालीमा पनि बनाउने आचार्यले बताए । जबकी नेपाल टेलिकमको प्रतिस्प्रर्धी एनसेलको वेवसाईटमा नेपाली र अग्रेजी दुबै पेज राखिएको छ । राष्ट्रय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्मा पनि नेपालीमा वेबसाइट बनाउने सुझाव नआएकाले अंग्रजी भाषामा मात्रै बनाइएको बताए । ‘नेपालीमा पनि वेबसाइट बनाऔं भनेर कसैले पनि सुझाव दिएको थिएन,’ आचार्यले – तपाइले राम्रो कुरा उठाउनु भयो, अब हामी नेपाली भाषामा पनि बनाउने गरी प्रक्रिया अगाडि बढाउछौं । पछिल्लो समयमा इन्टरनेट पहुच बढेकोले आफ्नो बैंकको वेबसाइट नेपाली भाषामा पनि बनाउन आवश्यक देखिएको शर्माको भनाइ छ । विकासन्युज/काठमाडौं । सरकारी स्वामित्व रहेको कृषि विकास बैंकले पनि नेपाली भाषामा वेबसाइट बनाएको छैन । सोमवार विहान मात्रै आफ्नो वेबसाइटलाई कसरी बढी बैज्ञानिक र जानकारीमुलक बनाउने भन्ने विषमा छलफल भएकोले सम्भब देखिए नेपाली भाषामा पनि बनाइने बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले जानकारी दिए । ‘अहिलेको वेवसाइट त्यति प्रभावकारी र जानकारीमुलक नभएकोले अर्काे बनाउने भनेर छलफल गरिरहेका छौं,’ सिटौलाले भने– तपाइले नेपाली भाषाको पनि कुरा उठाउनु भएकोले सम्भब हुने रहेछ भने नेपाली भाषामा पनि बनाइन्छ । यस्तै सरकारी स्वामित्वको एनआइडीसी डेभलपमेन्ट बैंकको वेबसाइट पनि अंग्रजी भाषामा मात्रै छ । सरकारी स्वामित्वकै नेपाल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा संस्थानको वेवसाइट पनि अंग्रजी भाषामा मात्रै छ । यति मात्रै होइन, नियामक निकाय धितोपत्र बोर्डको वेबसाइट पनि अंग्रेजी भाषामा मात्रै छ । यस्तै नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ हाउसको वेबसाइट पनि अंग्रेजी भाषामा मात्रै बनाइको छ ।
३० हजार कित्ता नक्कली सेयर बजारमा, जीएनजीका सञ्चालकको संग्लनता
हालै खुलासा भएको फर्जी सेयरको कारोबारमा जीएनजी कम्पनीको संलग्नता रहेको प्रारम्भिक अध्ययनमा भेटिएको छ । कम्पनी सञ्चालक गोविन्द घिमिरेको डिजाइनमा उनीसंगै छत्र थापा, भरतबहादुर थापा, रामहरी अर्याल, अर्यालकी श्रीमती लगायतले एक वर्षदेखि नै सेयरको फर्जी कारोबारमा संलग्न रहेको भेटिएको स्रोतले जानकारी दिएको छ । ‘करिब ६ महिनाअघि नै छत्र थापाले नेशनल हाइड्रोपावर कम्पनीको फर्जी सेयर कारोबार गरेको खुल्न आएपछि उनलाई प्रहरीले हिरासतमा राखेको थियो,’ स्रोतले भन्यो । उनलाई त्यतिखेर जीएनजी कम्पनीका सञ्चालक अर्यालले जमानतमा छुटाएका थिए । अरुण सेक्युरिटीजमा समेत काम गरेका थापा श्रीहरी सेक्युरिटीजमा कार्यरत रहँदा पक्राउ परेका थिए । तर पछिल्ला दिनमा चिलिमे जलविद्युत् कम्पनी र सानिमामाई हाइड्रोपावर कम्पनीको फर्जी सेयर कारोबारमा समेत छत्र थापाको संग्लनता भेटिएपछि जीएनजी कम्पनीका अन्य सञ्चालकहरु पनि अनुसन्धानको घेरामा आएका हुन् । नेशनल हाइड्रोपावर कम्पनी, चिलिमे जलविद्युत् कम्पनी र सानिमामाई हाइड्रोपावर कम्पनीको फर्जी सेयर कारोबारमा जीएनजी कम्पनीका सञ्चालकहरुको संग्लनता भेटिए पनि हरेक पटकको कारोबार फरक÷फरक तरिकाले फर्जी कारोबार गरेको देखिएको छ । नेशनल हाइड्रोपावरको २५ लाख कित्ता स्वामित्व नखुलेको, कम्पनीले हकप्रद सेयर जारी गरेर उठेको रकम हिनामिना गरेको भन्दै लगानीकर्ता दीपक कार्की र प्रकाश रजौरेले दुई बर्षअघि पनि पटक पटक आवाज उठाउँदै आएका थिए । नेशनल हाइड्रोपावर कम्पनीको सेयरमा कम्पनीको स्तरबाट नै गलत अभ्यास भएको देखिएको थियो । तर चिलिमे जलविद्युत् र सानिमामाईको फर्जी कारोबारमा व्यक्तिगत संलग्नता रहेको नेप्सेका उच्च अधिकारीहरुको बुझाई छ । नेशनल हाइड्रोपावर कम्पनीको करिब ११ हजार कित्ता फर्जी सेयर कारोबार गरेको अनुभव लिइसकेका छत्र थापा र उनको टोली अन्य कम्पनीहरुको समेत फर्जी सेयर कारोबारमा अग्रसर भए । थापा फन्र्टलाइनमा देखिएपनि मुख्य योजनाकार भने गोपाल घिमिरे रहेको पनि हालसम्मको अनुसन्धानबाट देखिएको छ । बागबजारमा कार्यालय नै खोलेर यो समूह सक्रिय रहेको खुलेको छ । ‘सानिमामाई हाइड्रोपावर कम्पनीको फर्जी सेयर कारोबारमा यो समुहले बजार सञ्चालकहरुको कमजोरीको फाइदा उठाएको देखिन्छ,’ दोस्रो स्रोतले भने । सानिमामाइ हाइड्रोपावर कम्पनीको १९ कित्ता र एक सय ४३ कित्ता सेयर राफसाफको क्रममा सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा पुगेको तर नामसारी भएर खरिदकर्ताले नपाएको देखिन्छ । ‘सीडीएससीबाट ती सेयर हराएको देखिन्छ, त्यही सेयरको नक्कली प्रमाणपत्र बनाएर कारोबार गरिएको आशंका गरिएको छ,’ अर्का स्रोतले भने । सीडीएससीले सेयर राफसाफको लागि दुवै पक्ष स्वयं उपस्थित हुनुपर्ने नियम दुई बर्ष अघि लगाएको थियो । ब्रोकर कर्मचारीका स्टाफ नै प्रमाणपत्र बोकेर सीडीएससीमा जाने गर्दथे । दुई पक्षको उपस्थितिमा मात्रै सेयर राफसाफ गरिन्थ्यो । तर यही क्रममा सानिमामाईको सेयर सीडीएससीमा पुगेर हराएको देखिने दोस्रो स्रोत बताउन्छ । चिलिमे जलविद्युत् कम्पनीको भने फर्जी सेयर नै बनाएर कारोबार गरेको, सेयर धितोको रुपमा समेत राखेको देखिन्छ । ‘चिलिमे जलविद्युत् कम्पनीको फर्जी सेयर बनाएर ल्याएको यस समुहले आफ्नै नाममा म्याचिङ कारोबार गरे, तर फर्जी सेयरको कारोबार भएको थहा भएलगत्तै ब्रोकर कम्पनीको सक्रियतामा यसको खुलासा भएको हो,’ सम्वद्ध स्रोतले भन्यो । चिलिमे जलविद्युत् कम्पनीको अनुसुची ‘अस्थाई सेयर’ बनाएर म्याचिङ गरेको देखिन्छ । कम्पनीको करिब १३ हजार पाँच सय कित्ता यस्तो सेयर बनाइएको देखिन्छ । कम्पनीको यही सेयर ब्ल्यांक ट्रान्सफरमा समेत कारोबार गरिएको देखिन्छ । यसरी ब्ल्यांक ट्रान्सफरमा कारोबार गरेको चिलिमेको करिब सात हजार कित्ता सेयर युनाईटेड फाइनान्समा समेत धितोमा राखेको खुलेको छ । ब्रोकर नम्बर ६ अग्रवाल सेक्युरिटीजको जमानीमा फाइनान्सले बीटी रसिदको आधारमा कर्जा समेत प्रवाह गरेको छ । फर्जी सेयरको कारोबार भएको खुलासा भएपछि युनाईटेडले आइतवार अग्रवाल सेक्युरिटिजसंग छलफल समेत गर्ने भएको छ । सामान्यतया आफुसंग भएको एकमुष्ट सेयरलाई टुक्रा पारेर बेच्नुपर्दा लगानीकर्ताहरुले अनुसुची फारम भरेर अस्थाई प्रमाणपत्रको लागि कम्पनीमा आवेदन दिनुपर्छ । मानौं कुनै लगानीकर्ताको नाममा एक सय कित्ताको एउटै प्रमाणपत्र छ र उसले ५० कित्ता बिक्री गर्न चाहेमा सेयर टुक्र्याउनु पर्ने हुन्छ । कम्पनीमा लगानीकर्ताले सक्कल प्रमाण पत्र सहित अनुसुची फारम भरेर सेयर टुक्र्याउँन कम्पनीमा निवेदन दिनुपर्ने हुन्छ । कम्पनीले सक्कल प्रमाणपत्र खिचेर न्युनत्तम १० कित्ताको दरमा टुक्राएर अस्थाई पुर्जा दिन्छ । यस्तो पुर्जा कम्पनीबाट प्रमाणिकरण भएको हुन्छ । समुहले कम्पनीको नक्कली छाप, लेटर प्याड नै बनाएर अस्थाई प्रमाणपत्र बनाएको भेटिएको हो । नेशनल हाइड्रो ११ हजार कित्ता, चिलिमे जलविद्युत्को १३ हजार पाँच सय कित्ता र सानिमाइमाइको करिब एक सय ६२ कित्ता गरि लगभग ३० हजार कित्ता सेयरको फर्जी काम भएको देखिन्छ । नेशनल हाइड्रो कम्पनीमा देखिएको विवाद, समस्या बर्षाैसम्म नियमक निकायले सल्टाउँन नसक्दा त्यसैबाट यो समुह प्ररित भएर फर्जी कारोबारमा लागेको देखिन्छ । नेप्सेले भने अनुसन्धानको क्रममा हाल अग्रवाल सेक्युरिटिज ( ब्रोकर नम्बर ६), जे एफ सेक्युरिटिज (ब्रो. ७), सिप्रवी सेक्युरिटीज (ब्रो.२२) र श्रीहरी सेक्युरिटीज (ब्रो.५६)को कारोबार रोक्का गरेको छ । नेप्सेले यस बिषमा अध्ययन गर्न प्रवक्ता शम्भु पन्त सहित तीन जनाको एक कमिटि गठन गरेको छ । कमिटिले एक साता भित्र अध्ययन प्रतिवेदन दिने बुझिएको छ । पन्तले यस बिषयमा भने अहिले कुनै जानकारी दिन नमिल्ने बताए । स्रोतका अनुसार अहिले नेप्से र नियमक निकाय धितोपत्र बोर्डबीच यस बिषयमा कुनै सार्वजनिक वक्तव्य नदिने सहमति भएको छ । ‘यस अनुसन्धानमा प्रभाव पर्ने भएकोले कसैले पनि सार्वजनिक अभिव्यक्ति नदिने निर्णय गरेको हो,’ नेप्से स्रोतले बतायो ।
सुक्ष्म निगरागनीमा रहेका कर्जालाई असल कर्जाबाट अलग्याउनु पर्ने, पाँच प्रतिशत नोक्सान व्यवस्था गर्नुपर्ने
२९ फागुन । बैंक तथा वित्तीय संस्थाले असल कर्जा अन्र्तगत सुक्ष्म निगरानीमा रहेका कर्जालाई सुक्ष्म निगरानी बर्गको कर्जामा नै राख्नु पर्ने भएको छ । यस्तो कर्जामा पाँच प्रतिशत नोक्सानको समेत व्यवस्था गर्नुपर्ने निर्देशन नेपाल राष्ट्र बैंकले शुक्रवार जारी गरेको छ । राष्ट्र बैंकले कर्जाको बर्गीकरण चार भागमा बाँड्दै आएकोमा सुक्ष्म निगरानी बर्ग थप गरेर पाँच भागमा बिभाजन गरेको हो । असल कर्जाको बर्गिकरणमा राष्ट्र बैंकले भाका ननाघेको र तीन महिनाको भाका नाघेको कर्जा राख्नु पर्ने व्यवस्था गरेको छ । यही वर्गमा रहेको कर्जाको सुक्ष्म निगरानी भइरहेको अवस्थामा भने त्यसलाई सुक्ष्म निगरानी बर्गको कर्जाको रुपमा बैंकहरुले छुट्याउनु पर्ने भएको छ । असल कर्जा र सुक्ष्म कर्जा दुवै सक्रिय कर्जाकै रुपमा रहने छन । तर यी कर्जामा नोक्सानी व्यवस्था गर्दा भने फरक फरक हुनुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ । असल कर्जाको लागि बैंक तथा वित्तीय संस्थाले एक प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ तर सुक्ष्म निगरानीमा रहेको कर्जाको लागि भने पाँच प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ । तीन महीनादेखि ६ महिनासम्म भाका नाघेका कर्जालाई बै.क तथा वित्तीय संस्थाले कमसल कर्जाको रुपमा लिनुपर्ने र २५ प्रतिशत नोक्सान व्यवस्था गर्नुपर्ने हुन्छ । त्यस्तै, ६ महिनादेखि एक बर्षसम्म भाका नाघेका कर्जा शंकास्पद बर्गमा पर्ने र यस्ता कर्जाको लागि ५० प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ । एक बर्षभन्दा बढि भाका नाघेका कर्जा भने खराब कर्जामा रहने र यस्ता कर्जाको लागि शत प्रतिशत रकम राख्नु पर्ने व्यवस्था छ । पुनर्संरचना गरेको, पुनर्तालिका गरेका, कमसल, शंस्कादपद र खराब कर्जालाई निष्क्रिय कर्जाको रुपमा लिइने गरिएको छ । त्यस्तै, राष्ट्र बैंकले दुई लाख रुपैयाँसम्मको चेक सट्दा भने बैंक तथा वित्तीय संस्थाले शुल्क लिन नपाउँने व्यवस्था गरेको छ । यसअघि कम रकमको चेक साट्दा पनि शुल्क लिने गरेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत र वयवस्थापकिय पद तीन महिनाभन्दा बढि समय रिक्त राख्न नपाउँने समेत नयाँ व्यवस्था गरेको छ ।
चिलिमे र सानिमामाइको फर्जी सेयर कारोबार भएको आशंका, नेप्सेले गर्यो चार ब्रोकरको कारोबार रोक्का
२८ फागुन । फर्जी सेयर कारोबार भएको आशांकामा नेप्सेले चार ब्रोकर कम्पनीको कारोबार रोक्का गरेको छ । सेयर टुक्रर्याउँदा दिने ‘अनुसुची’ (अस्थाई प्रमाणपत्र) को फर्जी कारोबार भएको आशंकामा नेप्सेले ती ब्रोकरको कारोबार रोक्का गरेको हो । नेप्सेले अग्रवाल सेक्युरिटिज ( ब्रोकर नम्बर ६), जे एफ सेक्युरिटिज (ब्रो. ७), सिप्रवी सेक्युरिटीज (ब्रो.२२) र श्रीहरी सेक्युरिटीज (ब्रो.५६)को कारोबार रोक्का गरेको हो । नेप्सेले बिभिन्न बिषयमा छानबिन गर्न भन्दै यी कम्पनीलाई कारोबारबाट रोक्का गरेको हो । स्रोतका अनुसार चिलिमे जलविद्युत् कम्पनी र सानिमामाई हाइड्रोपावर कम्पनीको फर्जी अस्थाई प्रमाणपत्रको कारोबार भएकोले उनीहरुमाथी छानविन गरिएको हो । कति कित्ता सेयरको कारोबारमा समस्या आएको भन्ने खुल्न सकेको छैनन । सम्बन्धित ब्रोकरहरुले पनि यसमा कुनै प्रतिक्रिया दिएका छैनन् । सामान्यतया आफुसंग भएको एकमुष्ट सेयरलाई टुक्रा पारेर बेच्नुपर्दा लगानीकर्ताहरुले अनुसुची फारम भरेर अस्थाई प्रमाणपत्रको लागि कम्पनीमा आवेदन दिनुपर्छ । मानौं कुनै लगानीकर्ताको नाममा एक सय कित्ताको एउटै प्रमाणपत्र छ र उसले ५० कित्ता बिक्री गर्न चाहेमा सेयर टुक्र्याउनु पर्ने हुन्छ । कम्पनीमा लगानीकर्ताले सक्कल प्रमाण पत्र सहित अनुसुची फारम भरेर सेयर टुक्र्याउँन कम्पनीमा निवेदन दिनुपर्ने हुन्छ । कम्पनीले सक्कल प्रमाणपत्र खिचेर न्युनत्तम १० कित्ताको दरमा टुक्राएर अस्थाई पुर्जा दिन्छ । यस्तो पुर्जा कम्पनीबाट प्रमाणिकरण भएको हुन्छ । विहीवार छानविनमा रहेका ब्रोकर कम्पनीहरु मार्फत् भएका बिभिन्न कम्पनीका अस्थाई प्रमाणपत्र कम्पनीबाट प्रमाणित नै भएको केहीको दाबी छ । तर यसमा कुनै पक्षले पनि विस्तृत जानकारी बाहिर ल्याएको छैन । स्रोतका अनुसार छानविन प्रक्रिया चलिरहेकोले यसबिषयमा कसैले पनि सार्वजनिक अभिव्यक्ति नदिने निर्णय भएको छ । ‘छानविनमा प्रभाव पर्ने तथा लगानीकर्तामा नकारात्मक सन्देश जाने भएकोले नेप्से र धितोपत्र बोर्डका कसैले पनि यसबारेमा तत्काल केही उल्लेख नगर्ने सहमती भएको छ,’ ती स्रोतले बताए । विहीवार नै नेप्सेका पदाधिकारी रहने गरि छानविनको लागि तीन सदस्यीय टोलि गठन भएको छ । यो टोलीले छानविनको क्रममा रहेका ब्रोकरहरुको पुराना कारोबारहरुको समेत अध्ययन गर्ने भएको छ । यसैबीच बुधवार नै ललितपुर प्रहरीले प्रकाश तिमिल्सिनालाई फर्जी सेयर प्रमाणपत्र कारोबारमा संलग्न रहेको भन्दै प्रक्राउ गरेको छ । गिरोह नै संलग्न रहेर फर्जी सेयरको करोबार भएको र करिब दुई करोड रुपैयाँको कारोबारमा समस्या रहेको हुन सक्ने आशंका गरिएको छ । गिरोहले बागबजारमा कार्यालय नै खोलेर फर्जी सेयर कारोबार गरिरहेको , हस्ताक्षर प्रमाणिकरण समेत आफैले गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको ललितपुर प्रहरीले उल्लेख गरेको छ । नेप्सेमा गठन भएको कमिटिले एक साता भित्र अध्ययन प्रतिवेदन दिने बुझिएको छ ।
यस्तो बन्यो धुलिखेल–बर्दिवास सडक (फोटो फिचरसहित)
२८ फागुन । राजधानी काठमाडौंलाई तराईसँग सवैभन्दा छिटो जोड्ने बीपी राजमार्गको निर्माण सम्पन्न भएको छ । तत्कालिन प्रधानमन्त्री बीपी कोइरालाले २०१६ सालमा धुलिखेलवाट सिन्धुली सडक निर्माण गर्नको लागि जापान सरकारसँग गरेको प्रश्तावले २०७१ सालमा मूर्त रुप लिएको छ । आगामी मे महिनामा सो सडक नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम जापान सरकारले बनाएको छ । जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको धुलिखेल–बर्दिवास सडकको लम्बाई १ सय ६० किलोमिटर छ । सडक निर्माणको लागि मात्रै करिब २५ अर्ब जापानी येन खर्च लागेको जापानी दुतावासले जानकारी गराएको छ । सडक निर्माण कार्य सन् १९९५ देखि सुरु भएको थियो । जापान सरकारले सो सडकलाई चार खण्डमा विभाजन गरेर निर्माण गरेको छ । सिन्धुली बजारदेखि बर्दिवाससम्मको खण्डलाई पहिलो खण्डको रुपमा निर्माण गरिएको छ । ३७ किलोमिटर लामो सो खण्ड निर्माणको लागि २ अर्ब १ करोड ९० लाख जापानी येन खर्च भएको छ । सो खण्ड सन् १९९८ मै निर्माण सम्पन्न भएको छ । खुर्काेटदेखि सिन्धुलीसम्मको खण्डलाई दोस्रो खण्डमा विभाजन गरेर निर्माण गरिएको थियो । ३६ किलोमिटर लामो सो खण्ड निर्माण गर्नको लागि ८ अर्ब २० करोड ४० लाख जापानी येन खर्च लागेको छ । सो सडक खण्ड सन् २००९ को मार्चमा निर्माण सम्पन्न भएको छ । नेपालथोकदेखि खुर्कोटसम्मको सडक खण्डलाई तेस्रो खण्डमा विभाजन गरेर निर्माण गरिएको छ । यो खण्ड ३७ किलोमिटर लामो रहेको छ भने निर्माण गर्नको लागि ८ खर्ब ७७ करोड १० लाख जापानी येन खर्च भएको छ । सवैभन्दा अन्तिममा निर्माण सम्पन्न भएको खण्ड पनि यहि नै हो । यो खण्डको निर्माण गत १ मार्चमा मात्रै सकिएको हो । धुलिखेलदेखि नेपालथोकसम्मको खण्डलाई चौथो खण्डको रुपमा विभाजन गरी निर्माण गरिएको थियो । सो खण्ड बनाउन ५ अर्ब ५ करोड ५० लाख जापानी येन खर्च लागेको छ । यो खण्डको निर्माण सन् २००५ मा सकिएको छ । यो खण्डको लम्बाई ५० किलो मिटर रहेको छ । यस्तै जापान सरकारले सो सडकसँगै सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, सिन्धुली र महोत्तरी जिल्लामा गरी थप ३२ स्थानमा गाडी चल्न मिल्ने पुल पनि निर्माण गरिदिएको छ । यस्तो पुल बनाउनको लागि थप ५६ करोड रुपैयाँ सहयोग दिइएको छ ।