आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई ओम हस्पिटलमा १० प्रतिशत छुट
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच सम्झौता भएको छ । सम्झौताअनुसार बीमित, अभिकर्ता तथा कर्मचारीलाई अब ओम हस्पिटलमा उपचार सेवा लिँदा १० प्रतिशत छुट प्राप्त हुनेछ । साथै हेल्थ चेकअप प्याकेजमा विशेष सहुलियत दिइने आईएमई लाइफ इन्सोरेन्सले जनाएको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (आईएमई लाइफ मोबाइल एप) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् । अभिकर्ता तथा कर्मचारीले भने कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरी उक्त छुट सुविधाको लाभ लिन सक्ने छन् ।
राष्ट्रिय बीमा कम्पनीको नाफा ४४ करोड, १ अर्ब ३७ करोड बीमाशुल्क
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत वर्ष ४४ कराेड रूपैयाँ खुद नाफा गरेकाे छ । कम्पनीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ४४ करोड रुपैयाँ खुद नाफा गरेको हाे । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ३७ करोड बीमा शुल्क आर्जन गरेको जनाएकाे छ । कम्पनीका अनुसार खुद सम्पत्ति १७ अर्ब रूपैयाँ पुगेकाे छ । गत असारसम्म कम्पनीकाे प्रतिसेयर बुक भ्यालु ६ हजार ३७५ रुपैयाँ रहेको छ । त्यसैगरी प्रतिसेयर आम्दानी (ईपीएस) १६२ रुपैयाँ रहेको छ भने सोल्भेन्सी मार्जिन २.७३ गुणा रहेको छ । चुक्ता पुँजी २६ करोड ६६ लाख ४९ हजार ५९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
नेपाल एसबिआई बैंकले पायो ‘च्याम्पियन इन मोडर्न बैंकिङ इनोभेसन नेपाल २०२५’ को उपाधि
काठमाडौं । नेपाल एसबिआई बैंक क्यापिटल फाइनान्स इन्टरनेशनल (सीएफआई डट को ) लण्डनद्वारा ‘च्याम्पियन इन मोडर्न बैंकिङ्ग इनोभेसन नेपाल २०२५’ को उपाधिबाट सम्मानित भएकोे छ । यस प्रतिष्ठित अर्वाडले बैंकको डिजिटल रुपान्तरण तथा ग्राहक केन्द्रित नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई दर्साउँछ। त्यसैगरी बैंक सिंगापुरस्थित एसियन बैंकिङ एण्ड फाइनान्स (एबीएफ) द्वारा होलसेल बैंकिङ अवार्ड २०२५ अन्तर्गत ‘नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेसन बैंक अफ द इयर’ , नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन्स बैंक अफ द इयर’ तथा रिटेल बैंकिङ अवार्ड २०२५ अन्तर्गत ‘डिजिटल बिजनेस बैंकिङ इनिसियटिभ अफ द इयर – नेपाल’ र ‘एसएमई बैंक अफ द इयर – नेपाल’ बाट सम्मानित भएको हो । यी अन्तर्राष्ट्रिय सम्मानहरूले बैंकले प्रदान गरिरहेको होलसेल तथा रिटेल बैंकिङ सेवाहरूमा डिजिटल रूपान्तरण, उत्कृष्टता र नवप्रवर्तनप्रति बैंकको अटल प्रतिबद्धतालाई जोड दिन्छ । नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
राष्ट्रिय बीमा कम्पनीलाई ब्रान्डिङको आवश्यकता पर्दैनः कार्यकारी निर्देशक सुवेदी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले राष्ट्रिय बीमा कम्पनीलाई ब्रान्डिङको आवश्यकता नरहेको बताएका छन् । आइतबार राष्ट्रिय बीमा कम्पनीको १२औं वार्षिक साधारण सभामा कार्यकारी निर्देशक सुवेदीले राष्ट्रिय बीमा कम्पनी सरकारी स्वामित्वको संस्था भएकाले ब्रान्डिङको आवश्यकता नरहेको बताएका हुन् । उनले भने, ‘राष्ट्रिय बीमा कम्पनी त्यस्तो कम्पनी हो जसलाई कुनै ब्रान्डिङको आवश्यकता पर्दैन । जसले आफ्नो ब्रान्ड डेभलप गर्नका लागि कुनै एक्स्ट्रा इफोर्ट लगाउन पर्दैन । सरकारी ब्याकअप छ, मान्छेहरूको एउटा कन्फिडेन्स छ, सेन्टिमेन्टल भ्यालुले पनि काम गरिरहेको छ। केही भयो भने सरकार पछाडि बसेको छ भन्ने हिसाबले पनि मान्छेहरू राष्ट्रिय बीमा कम्पनीमा बीमा गर्न उत्सुक हुन्छन् ।’ कार्यकारी निर्देशक सुवेदीले सरकारको यति धेरै सपोर्ट भएर पनि किन कम्पनीमाथि यति धेरै प्रश्नहरू उठिरहेका छन् भनेर प्रश्न राखे । उनले कम्पनीको कामकारबाहीमा ढिलासुस्ती र अडिट हुन नसकेको विषयमा चासो व्यक्त गरे। कार्यकारी निर्देशक सुवेदीले कम्पनीको अडिट हुन नसकेको विषय उठाउँदै भने, ‘तपाईंमाथि जहिले पनि लाग्ने गरेको एउटा ठूलो प्रश्न छ, आरोप छ, अडिट भएन, अडिट भएन भन्ने छ ।’ उनले नियामक निकायले सबै कम्पनीलाई एउटै व्यवहार गर्दै आएको बताए । उनले यस विषयमा अगाडि बढ्न आग्रह गर्दै बीमा प्राधिकरणको सधैं साथ, समर्थन र सहयोग रहने विश्वास व्यक्त गरे । सुवेदीले बीमा प्राधिकरणले कम्पनीलाई आवश्यक परेको खण्डमा औपचारिक र अनौपचारिक रुपमा सहयोग गर्न तयार रहेको बताए । सँगसँगै उनले कम्पनीबाट कुनै गल्ती भएमा वा नियमविपरीत काम भएमा दण्ड सजाय गर्न पनि पछि नपर्ने चेतावनी दिए । ‘बीमा प्राधिकरण तपाईंलाई दण्ड सजायको परिधिभित्र लैजान पनि डण्डा चलाउन पनि पछि पर्दैन,’ उनले भने । उनले राष्ट्रिय बीमा कम्पनी सार्वजनिक कम्पनी भएकाले यसको दायित्व अन्य कम्पनीको भन्दा बढी भएको बताए। कम्पनीको व्यवस्थापनलाई सबै पक्षलाई सन्तुलनमा राखेर काम गर्न र अधिकतम प्रतिफल निकाल्न सक्ने गरी योजना बनाउन उनले आग्रह पनि गरेका छन् ।
युनिग्लोब ह्याकथन १.० सुरु
काठमाडौं । युनिग्लोब एसएस/कलेजमा आइतबारदेखि ३ दिने युनिग्लोब ह्याकथन १.० को सुरुवात भएको छ । ह्याकथनमा २० टोली (प्रत्येकमा ३ जना सदस्य) ले सहभागिता जनाएका छन् । प्रतियोगिता युनिग्लोब एसएस/कलेजका लागि ‘एमआईएस इन्टरफेस’ को वेब विकास भन्ने मुख्य विषयमा केन्द्रित छ, जहाँ सहभागी टोलीहरूले विद्यालय व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाउन नविन र व्यवहारिक समाधान प्रस्तुत गर्नेछन् । प्रविधिको प्रयोगमार्फत शैक्षिक संस्थाको सशक्त डिजिटल रूपान्तरणको दिशामा यो एक महत्त्वपूर्ण पहल मानिएको छ । ह्याकथनको पुरस्कार राशि ४० हजार रुपैयाँ निर्धारण गरिएको छ । कार्यक्रमको टाइटल स्पोन्सर एक्पर्ट भिजन कन्सल्टेन्सी रहेका छन् भने आईपीएस वर्ल्ड लिंक नेटवर्क पार्टनरको रूपमा सहकार्यमा छ । साथै चिया आर्केडले पनि कार्यक्रममा सहयोग गरेको छ । सम्पूर्ण खानपान व्यवस्थापन युनिग्लोब आईटीे क्लब स्वयंले गरेको छ । कार्यक्रम सफल बनाउन १५ जना सदस्यहरू खटिएका छन् भने पहिलो दिन उत्साह, नवीनता र सहकार्यको उत्कृष्ट झलक देखिएको छ । युनिग्लोब एसएस/कलेजका ईसीसीए कार्यक्रम संयोजक एनबी गुरुङले युनिक्लोब ह्याकाथन १.० ले युवा प्रतिभाहरूको क्षमता उजागर गर्दै डिजिटल युगको नेतृत्वमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
बालप्रतिभाको तालमा गुञ्जियो मादल : वाद्यसम्राट न्हुच्छे डंगोल प्रतियोगिताको ग्रान्ड फिनाले सम्पन्न
काठमाडौं । नेपाली सांगीतिक परम्परालाई जगेर्ना गर्दै बालबालिकाको लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको 'प्रथम वाद्यसम्राट न्हुच्छे बहादुर डंगोल जुनिअर बिट मास्टर मादल कम्पिटिसन २०८२' को ग्रान्ड फिनाले भव्यरूपमा सम्पन्न भएको छ। नयाँबजारस्थित मनास्लु स्कूलरकलेजमा सम्पन्न प्रतियोगितामा देशभरिका २३ विद्यालय तथा सांस्कृतिक संस्थाबाट छनोट भएका ३९ जना बालप्रतिभाहरूले मादलमा आफ्नो लय, ताल र सिर्जनशीलता प्रस्तुत गरेका थिए । 'सानो हात, ठूलो ताल (मादलमा भविष्यको चाल) भन्ने नारासहित सञ्चालन भएको प्रतियोगिताले दर्शक र निर्णायक दुवैको मन जित्न सफल भएको थियो । कार्यक्रमका प्रमुख अतिथि वाद्यसम्राट न्हुच्छे बहादुर डंगोल स्वयं उपस्थित भई बालप्रतिभाहरूलाई हौसला र प्रेरणा प्रदान गरेका थिए । साथै, फियूसन जात्रा ब्यान्ड र हेरिटेज पल्स कनसरभेटरीको विशेष सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप रंगीन बनाएको थियो । प्रतियोगिताको निर्णायक मण्डलले प्रस्तुति, लय, ताल, आत्मविश्वास र सिर्जनात्मकतालाई मूल्यांकनको आधार बनाउँदै उत्कृष्ट प्रतिभाहरूलाई छनोट गरेको थियो। सहभागी ३९ जनामध्ये पाँच जनालाई विजेता घोषित गरिएको थियो । प्रतियोगितामा समिर डंगोल (न्यु जेनिथ अंग्रेजी मोडल स्कुल)ले प्रथम स्थान हात पार्दा, सुजल श्रेष्ठ (मोडल स्कुल) ले द्वितीय र प्रसन्न महर्जन (काठमाडौं म्युजिक मादल) ले तृतीय स्थान हासिल गरे। त्यस्तै, प्रभात तामाङ (फ्यूचर स्टार बोर्डिङ स्कुल) चौथो र आर्यन पुरी (एन्जल लर्ड एकेडेमी) पाँचौं स्थानमा रहेका थिए। विजेताहरूलाई ट्रफी, प्रमाणपत्र, नगद पुरस्कार र विभिन्न सांगीतिक सामग्रीहरू प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको आयोजना कल्स इभेन्ट ले गरेको हो । संस्थाका अध्यक्ष सञ्जय महर्जनले आगामी वर्षदेखि प्रतियोगितालाई अझ व्यापक बनाउँदै राष्ट्रिय स्तरमा विस्तार गर्ने योजना रहेको जानकारी दिए । उनले बालबालिकाको सांगीतिक प्रतिभा विकास र नेपाली सांस्कृतिक सम्पदाको संरक्षणमा निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गरे ।
हत्याकाण्डपछि कुशका राजा स्थापना गरियो, ज्ञानेन्द्र असली राजा होइनन् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह असली राजा नभएको बताएका छन् । आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहमा उनले शाहलाई कुसको राजाको रूपमा स्थापना गरेको बताए । ‘दरबार हत्यकाण्ड भनेको सानो कुरा हो? त्यसपछि एउटा कुशको राजा स्थापना गरेको भन्छु मैले। त्यो असली राजा नै होइन,’ उनले भने, ‘राजा मारियो, रानी मारिए, युवराज मारिए। यता उता नभएको भाइ चाहीँ खोजेर ल्याएर बनाएको छ । दरबार हत्याकाण्डको परिकल्पना गरेको छ। अनि त्यस बाटोबाट आएको राजाले जनताको अधिकार खोस्छ ।' शाहले कांग्रेस सभापति शेरबहादुर देउवामाथि मुद्दा चलाउन खोजेको पनि उनले बताए । ‘एउटा कठपुतली आयोग बनाएर अख्तियार बाँकी छोडेर, शेरबहादुर देउवामाथि मुद्दा चलाउँदै थियो । अख्तियारले चलाएर नहुने, यो सबै २००७ सालमा राजा फर्काएको परिणाम हो,’ उनले भने, ‘दिल्ली गइसकेका थिए, उतै बस्न दिएको भए भइहाल्थ्यो नि । राजा फर्काउँदैनौँ, अरु कुरामा सम्झौता गर्छौं भनेको भए पनि हुन्थ्यो होला ।’
दीपल एस–०७ अब एलएफपी ब्याट्रीमा, खरिदमा ५ वर्षसम्म सबै खर्च कम्पनीले बेहोर्ने
काठमाडौं । दीपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी एस–०७ आईसीए सार्वजनिक गरेको छ । कम्पनीले ‘५ वर्षे शून्य ओनरशिप कस्ट’ को अभूतपूर्व योजनासहित गाडी सार्वजनिक गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक विवेक सिकारियाका अनुसार ग्राहकले ५ वर्षसम्म गाडीको स्वामित्वसँग सम्बन्धित कुनै पनि खर्च बेहोर्नु पर्दैन । यो योजनाअन्तर्गत ५ वर्षको अवधिका लागि सवारी बीमा, सडक कर, आवधिक मर्मतसम्भार र चार्जिङका लागि आवश्यक बिजुलीसमेत निःशुल्क उपलब्ध गराइने प्रबन्ध निर्देशक सिकारियाले जानकारी दिए । ‘नयाँ दिपल एस-०७ आईसीए एपग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर इभी हो,’ सिकारियाले भने, ‘नेपालमा सार्वजनिक भएको डेढ वर्षमै अहिले ९५० वटा दिपल सडकमा गुडिरहेका छन् र यसले सेग्मेन्टको ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । यो नयाँ इभीको सार्वजनिकीकरणले एमएडब्लु नेपालको इभी क्रान्तिलाई नेतृत्व दिन प्रतिबद्ध छ भन्ने दर्शाउँछ ।’ यो अफरले ग्राहकलाई खरिदपछिको खर्चको चिन्ताबाट पूर्ण रूपमा मुक्त गराउने उनको दाबी छ । गाडीमा (लिथियम आइरन फस्फोट) एलएफपी ब्याट्री राखिएको छ । यसअघि गाडी एनसीएम ब्याट्रीमा मात्र उपलब्ध थियो । सिकारियाले दीपलले छोटो समयमै नेपाली बजारमा बलियो उपस्थिति जनाएको र ग्राहकको विश्वास जित्न सफल भएको बताए । कार्यक्रममा ब्राण्ड एम्बेसडर पारस खड्काले यो गाडी चलाउँदाको आफ्नो अनुभव सुनाएका थिए । याे गाडी ‘निबोला ब्लू’ रङमा उपलब्ध छ । सार्वजनिक गाडीमा ६८.८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्याक जडान गरिएको छ । जसले डब्लुएलटीपी मापदण्डअनुसार एक पटकको फुल चार्जमा ४१० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ । यसअघि बजारमा उपलब्ध एलएफपी ब्याट्रीयुक्त संस्करणमा ६६.८ किलोवाट–आवरको ब्याट्री थियो र त्यसको रेन्ज पनि समान ४१० किलोमिटर नै थियो । ब्याट्री प्रविधि र रङको विकल्पबाहेक गाडीको डिजाइन, फिचर र अन्य प्राविधिक पक्षमा कुनै परिवर्तन नगरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एस–०७ फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक फिचरका कारण नेपाली बजारमा स्थापित भइसकेको मोडल हो । कुपे–स्टाइल बनावट, फ्रेमलेस ढोका, २० इन्चको टायर, र क्वालकम स्न्यापड्रागन ८१५५ चिपसेटयुक्त १५.६ इन्चको विशाल सनफ्लावर टचस्क्रिन यसका मुख्य आकर्षण हुन् । साथै एडीएएस २.५, अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले, ३६०–डिग्री क्यामेरा र एक्टिभ इमर्जेन्सी ब्रेकिङजस्ता सुरक्षा फिचरले यसलाई आफ्नो सेग्मेन्टमा अब्बल बनाएको छ । गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । ‘शून्य ओनरशिप कस्ट’ योजना यो योजनाले ग्राहकलाई गाडी खरिदपछिको ५ वर्षसम्म आर्थिक भारबाट पूर्ण रूपमा मुक्त गर्ने लक्ष्य राखेको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधाहरू दिएको छ । जसमा ५ वर्षको पूर्ण बीमा (अटोप्लस), ५ वर्षको वार्षिक सवारी कर, ५ वर्षको निःशुल्क सर्भिसिङ र आवश्यक पार्टपुर्जा, ५ वर्षसम्म गाडी चार्ज गर्न लाग्ने बिजुलीको खर्च समेत दिएको छ । यसका साथै कम्पनीले ५ वर्षसम्म गाडी चार्ज गर्दा लाग्ने इन्धन (बिजुली) को खर्चसमेत तिरिदिने घोषणा गरेको छ । कम्पनीका अनुसार दुर्घटना नभएको खण्डमा ग्राहकले ५ वर्षसम्म गाडीमा एक पैसा पनि खर्च गर्नुपर्ने छैन ।