प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय संसदका महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ । त्यसैगरी लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२ औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखित सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्ने छन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रधानमन्त्री ओली दुबईमा, तेज बहादुर क्षेत्रीले गरे स्वागत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तान जाने क्रममा दुबई आइपुगेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार बिहान ३ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनलाई युएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्री लगायतले स्वागत गरे । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल गएराति ११ः५५ बजे फ्लाइट दुबईको उडानबाट दुबई आएका थिए यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्र सङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेका हुन् ।
आइएमई ग्रुपको नबिलसहित ६ बैंकसँग सहकार्य, ६६.३ मेगावाटको हाइड्रोको निर्माण सुरु
काठमाडौं । आइएमई ग्रुपको अगुवाइमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो । हाइड्रो सपोर्ट कम्पनीले ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजना निर्माण थालेको हो । सिभिल ठेकेदार रसुवा-मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका-२ नागढङ्गामा विस्फोटक पदार्थको प्रयोग गरेर गत हप्तादेखि ४ हजार ३१९ मिटर लामो सुरुङ निर्माण सुरु गरेको हाइड्रो सपोर्टका सञ्चालक चन्द्र ढकालले बताए । अडिटको दुरी ४५९ मिटर छ । बाँधतर्फबाट साउन महिनाभित्र र आउटलेटबाट हिउँददेखि सुरुङ खन्ने तयारी भएको छ । अन्नपूर्ण गाउँपालिका-३ सुके बगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध बनाइ ल्याउने पानी १५१ मिटर उचाइबाट अन्नपूर्ण-२ नौनी बगरमा निर्माण हुने भूमिगत विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । रन अफ दर रिभर प्रकृतिको यस आयोजनाको विद्युत् गृह, स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत हुन्छ । रसुवा-मल्टि जेभीका प्रमुख कार्यकारी अधिकृत फणिन्द्रराज पाण्डेले सुरुङ निर्माणका लागि अत्याधुनिक बुमर रोवटिक सटकिटलगायत उपकरण ल्याएको बताए । मध्य कालीगण्डकीको विद्युत् नौनीबगरदेखि सात किलोमिटरमाथि दानामा रहेको २२० केभी क्षमताको सवस्टेशनमार्फत केन्द्रिय प्रणालीमा आबद्ध हुनेछ । आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको हाइड्रो सपोर्टका सञ्चालक ढकालले बताए । कुल १२ अर्ब ९३ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा नबिल बैंकको नेत्तृत्वमा ६ वटा वाणिज्य बैंकले ७५ प्रतिशत, २५ प्रतिशत प्रवर्द्धक र सेयर लगानीकर्तामार्फत जुटाइने भएको छ । नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँद यामको विद्युत् खरिद दर ८.४० पैसा र वर्षायामको दर ४.८० पैसा कायम भएको छ । आयोजनाबाट हिउँदमा १३० गिगावाटबाट १ अर्ब ९ करोड रुपैयाँ र बर्खामा २७७ गिगावाटबाट १ अर्ब ३३ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ । मध्य कालीगण्डकीसहित कालीगण्डकी नदी बेसिनमा ३ सय मेगावाट भन्दा बढी क्षमताका ३ वटा जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् । ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, १८० मेगावाटको कालीगण्डकी गर्जले पनि निर्माणको तयारी गरेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले बताए । आइएमई ग्रुपको अगुवाइमा ६६.३ मेगावाटको हाइड्रो बन्ने, लागत १३ अर्ब
माबिलुङ्ग इनर्जीले साउन २६ गतेदेखि आईपीओ बिक्री गर्ने, ५० हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । माबिलुङ्ग इनर्जीले साउन २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेर बाँडफाँट पश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १८ लाख ९० हजार ५३० कित्ता सेयर बिक्री खुला गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ५० हजार ४७१ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा १३ करोड ५४ लाख २३ हजार ५ सय रुपैयाँको १३ लाख ५४ हजार २३५ कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये ३० हजार ९५ कित्ता कर्मचारी, ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा साउन २९ गते गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो समयमा पूर्ण बिक्री नभएमा आवेदन दिने समय भदौ ९ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
बरुण हाइड्रोको हकप्रद सेयर खरिद गर्ने समय लम्बियो, अब कहिलेसम्म पाइन्छ ?
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । असार ३१ गतेदेखि बिक्री खुला गरेको सतप्रतिशत हकप्रद सेयरमा लगानीकर्ताहरुले अब भदौ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ५३ लाख ५८ हजार १५० कित्ता सेयर बिक्री गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँट पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्स)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकका वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौंडा, तुलसीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी र धरान शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
दरमखोला हाईड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम मौका
काठमाडौं । दरमखोला हाईड्रोपावर इनर्जीको आईपीओमा आवेदन दिने आज साउन १९ गते अन्तिम दिन रहेको छ । साउन १५ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३९ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १० लाख ३० हजार ५ सय कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र गुल्मीको मुसीकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका, बडीगाड गाउँपालिकाका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको २८.३३ प्रतिशत अर्थात् २९ लाख १९ हजार ५ सय कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ९१ हजार ९५० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । दोस्रो चरणमा २ प्रतिशत अर्थात् ५८ हजार ३९० कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोष र बाँकी २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, यस्तो छ कार्यसूची
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीलाई विदाई गरे । सो अवसरमा नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधानसेनापति, सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी लगायतको उपस्थिति थियो । प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सम्मान अर्पण गरेको थियो । तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन त्यसतर्फ जानुभएको हो । यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा सम्मेलन आयोजना हुनेछ । सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्यूरोका अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनका क्रममा एक उच्चस्तरीय गोलमेच बैठकको सह अध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल हाल एलएलडिसी समूहको अध्यक्षसमेत रहेको छ । एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्टित विकासशील देशहरूले भाग लिने सो सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव, भूपरिवेष्टित मुलुकहरूले भोग्नुपरेका समस्या र विश्व बजारबाट लिनसक्ने लाभलगायतका विषयमा छलफल हुनेछ । ती मुलुकहरूको अन्तर्राष्ट्रिय व्यापार अन्य देशहरू हुँदै पारवहनमा निर्भर रहनुपरेको यथार्थलाई दृष्टि गत गरी अतिरिक्त सीमा पार गर्ने ठाउँहरू र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात र अन्य लेनदेनसहित कूल लागतमा उल्लेखनीय वृद्धि हुने भएकाले भूपरिवेष्टित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन सम्मेलन केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नुहुनेछ । समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण भूपरिवेष्टित विकासशील देशहरूले अन्तर्राष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकासको चुनौती सामना गरिरहेका छन् । यसैगरी, प्रत्यक्ष पहुँचका अभावमा विश्वव्यापी बजारबाट उल्लेखनीय लाभ लिन नसकेको, यातायातको विश्वव्यापी सहज सञ्जाल नभएको र खाद्य पूर्वाधार विकास गर्न कठिन रहेको अवस्थामा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सम्मेलन फलदायी हुने विश्वास लिइएको छ । सम्मेलनले सदस्य राष्ट्रहरूले झेल्नु परिरहेको समस्या समाधानका लागि रणनीतिक साझेदारीसहित लगानी वृद्धि गरी चुनौतीहरू सम्बोधन गर्न र यी राष्ट्रहरूको पूर्ण क्षमतालाई आँकलन गर्न सहयोग पुर्याउने ठानिएको छ । यसैगरी यी देशहरूलाई सहयोग गरेर आपसी समान र समृद्ध भविष्य निर्माण गर्न सम्मेलनको महत्त्वपूर्ण भूमिका रहने छ । यसअघि भूपरिवेष्टित विकासशील देशहरूको दोस्रो संयुक्त राष्ट्र सङ्घीय सम्मेलन सन् २०१४ को नेभेम्बर ३ देखि ५ सम्म अष्ट्रियाको भियनामा भएको थियो । करिब १० वर्षअघि भएको सो सम्मेलनमा ‘अल्माटी कार्ययोजना कार्यान्वयनको समीक्षासहित नयाँ र उदीयमान चुनौतीको सामना गर्न साझेदारी र अवसरका सन्दर्भमा अन्तर्राष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार र पारवहन यातायात सहयोग नीतिहरू पहिचान गर्नु र पारवहन यातायात प्रणालीहरू’का विषयमा छलफल भएको थियो । प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा डा दिव्या सिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई, उच्च पदस्थ सरकारी अधिकारी, अफिसियल मिडियाकर्मी र सुरक्षाकर्मीसमेत सहभागी रहेका छन् । प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कने कार्यक्रम छ । कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी तोकेका छन् । नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई ओम हस्पिटलमा १० प्रतिशत छुट
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच सम्झौता भएको छ । सम्झौताअनुसार बीमित, अभिकर्ता तथा कर्मचारीलाई अब ओम हस्पिटलमा उपचार सेवा लिँदा १० प्रतिशत छुट प्राप्त हुनेछ । साथै हेल्थ चेकअप प्याकेजमा विशेष सहुलियत दिइने आईएमई लाइफ इन्सोरेन्सले जनाएको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (आईएमई लाइफ मोबाइल एप) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् । अभिकर्ता तथा कर्मचारीले भने कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरी उक्त छुट सुविधाको लाभ लिन सक्ने छन् ।