मिसन डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डमा दियो शतप्रतिशत हकप्रदको लागि निवेदन
काठमाडौं, १४ पुस । मिसन डेभलपमेन्ट बैंकले १ बराबर १ (१०० प्रतिशत) को अनुपातमा हकप्रद सेयर ल्याउन गत मंगलबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १९ करोड ४९ लाख २५ हजार रूपैयाँको १९ लाख कित्ता हकप्रद सेयर ल्याउन लागेको हो । हाल बैंकको चुक्ता पूँजी १९ करोड ४६ लाख रुपैयाँ रहेको छ । बैंकको हकप्रदमा बिक्री प्रवन्धकको काम भिवोर क्यापिटल लिमिटेडले गरिरहेको छ ।
प्रिमियर इन्स्योरेन्सको २१ प्रतिशत लाभांश पारित, ६ लाख कित्ता एफपीओ जारी गर्ने
काठमाडौं, १४ पुस । प्रिमियर इन्स्योरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई २१ दशमलब ०५ प्रतिशत लाभांश दिने भएको छ । बिहीबार सम्पन्न कम्पनीको २३ औँ साधारणसभाले २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीको प्रस्तावलाई पारित गरेको हो । साथै कम्पनीले सर्वसाधारणको लागि ६ लाख ५९ हजार ५६५ कित्ता एफपिओ निष्कासन गर्ने निर्णय गरेको छ । इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न सो मात्राको एफपिओ जारी गर्न लागेको हो । कम्पनीले एफपीओ जारी गर्न बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरिसकेको छ । तर कम्पनीले हालसम्म एफपिओको मूल्य भने तोकिएको छैन । गत वर्षमा कम्पनीले १८ करोड ५७ लाख २७ हजार रुपैंया खुद नाफा कमाएको थियो । चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा २ करोड ४ लाख खुद नाफा कमाएको कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्तापूँजी ३७ करोड ३७ लाख रुपैयाँ रहेको छ । सो मात्राको बोनस पश्चात कम्पनीको चुक्तापूँजी ४४ करोड ८५ लाख रुपैयाँ नाघ्नेछ ।
यामाहाको ‘फाइभबुलस २०१७’ अफर, मोटरसाइकल तथा स्कुटर खरिदमा नगद छुट
काठमाडौं, १४ पुस । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०१७ को अवसरमा नयाँ अफर ल्याएको छ । एमएडब्लुले नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउन ‘फाइभबुलस २०१७’ अफर ल्याएको हो । यो अफर अन्तर्गत यामाहा ब्राण्डका जुनसुकै मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले पाँच हजार रुपैयाँ नगद छुट पाउनेछन् । एमएडब्लु इन्टरप्राइजेज, यामाहा डिभिजनका सेल्स एन्ड बिजनेस डेभलपमेन्ट-एजीएम दिपक रौनियारले भनेका छन्, ‘हामीलाई विश्वास छ यो अफरले नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउनेछ । हामी विश्वास दिलाउन चाहन्छौं कि यामाहाका मोटरसाइकल र स्कुटर किन्ने यो उत्तम समय हो । किनभने हामी जे गर्छौं हाम्रा ग्राहकको पक्षमा गर्छौं ।’ नयाँ वर्ष योजना यामाहाका सबै मोटरसाइकल र स्कुटरका मोडेलमा लागू हुनेछ । एमएडब्लुले यसै वर्ष स्पोर्टी स्कुटर रे जेडआरलाई नेपालमा ल्याएको थियो । यसबाहेक बजारमा यामाहा एफजेड-एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो, रेजी र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिन जडित रहेका कम्पनीले जनाएको छ ।
नेपाल लाइफलाई एफपीओ निष्कासन गर्न बोर्डको अनुमति, प्रतिकित्ता मूल्य १४२५ रुपैयाँ
काठमाडौं, १४ पुस । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई थप फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले ३० लाख ९६ हजार ४२९ कित्ता एफपिओ निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता १ हजार ४ सय २५ रुपैयाँमा एफपिओ निष्कासन गर्ने भएको छ । गत जेठमा सम्पन्न कम्पनीको १६ औं वार्षिक साधारणसभाले ३० लाख ९६ हजार कित्ता एफपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १६ करोड ७५ लाख रुपैयाँ छ । सो मात्राको एफपीओ पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब ४७ करोड रुपैयाँ पुुग्नेछ । यो निष्कासनपछि कम्पनीको शेयर संरचना ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधरणको हुनेछ । कम्पनीले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ८९ लाख खूद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले एफपीओ निश्कासन गर्न बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियूक्त गरेको छ ।
नेप्से परिसूचक ३० अंकले उकालो, ५६ करोडको सेयर कारोबार, सबै समूह हरिया
काठमाडौं, १४ पुस । बिहीबार नेप्से परिसूचक ३० दशमलब २३ अंकले बढेर १४४३ दशमलब ३८ अंकमा पुगेको छ । लगातार ओरालो लागिरहेको सेयर बजारमा बुधबारदेखि भने केही सुधारको सङ्केत देखिएको छ । बुधबार सामान्य ५ अंकले बढेको नेप्से परिसूचक बिहीबार भने दोहोरो अंकले उकालो लागेको छ । बुधबारको तुलनामा सेयर करोबार रकममा पनि वृद्धि भएको छ । बिहीबार ५६ करोड ६४ लाख १७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । उक्त रकम बुधबारको भन्दा १० करोड रुपैयाँ बढी हो । बिहीबार सेयर बजारमा १२६ कम्पनीको १० लाख ५६ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै समूहका परिसूचकहरु हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २८६ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, बैंकिङ्, फाइनान्स र विकास बैंक समूहका परिसूचकहरु दाहोरो अंक क्रमशः ५५, २८, २१, २० अंकले उकालो लागेका छन् । हाइड्रोपावर र अन्य समूहको परिसूचक क्रमशः १० र १.७३ अंकले बढेका छन् । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको ५ करोड ७६ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ८०० रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको ३ करोड र बैंक अफ काठमाण्डूको २ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा बढी ललितपुर फाइनान्सको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।
स्मार्ट एप्लाएन्सेसको डिलर्स मिट सम्पन्न, ५ डिलरलाई सम्मान सहित अवार्ड प्रदान
काठमाडौं, १४ पुस । के.एल. दुगड् ग्रुप सम्बद्ध कम्पनी स्मार्ट एप्लाएन्सेसले देशमा होम एप्लाएन्सेस्को विभिन्न रेन्जका प्रोडक्टहरु प्रस्तुत गर्दै आइरहेको छ । यसै सन्दर्भमा आफ्ना देशभरका डिलरहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत स्मार्ट एप्लाएन्सेसले आफ्नो ओलेड टिभिको र त्यसको लाइन अप ल्याउने घोषणा गरेको छ । स्मार्ट एप्लाएन्सेसले देशभरबाट १३० वटा भन्दा डिलरहरु भेला गर्नुका साथै विशेष सम्मान कार्यक्रम मार्फत सम्मान-पत्र प्रदान गरेको हो । कार्यक्रममा ५ जना डिलरहरुलाई विभिन्न वर्गहरु अन्तर्गत अवार्ड समेत प्रदान गरिएको थियो । उक्त अवार्डहरु जित्नेमा बेस्ट टेलिभिजन सेल्स् अन्तर्गत शर्मिला इन्टरप्राइजेज, महाबौद्ध, बेस्ट होम् एप्लाएन्सेस् सेल्स् अन्तर्गत ए-वान सेल्स् एण्ड सर्भिस, बानेश्वर, बेस्ट ओभरअल सेल्स् अन्तर्गत महालक्ष्मी इलेक्ट्रोनिक्स्, धरान, बेस्ट सेल्स् प्रमोटर अन्तर्गत न्यू डिएम इलेक्ट्रोनिक्स्, भक्तपुर तथा बेस्ट् एक्स्क्लुजिभ आउटलेट अन्तर्गत रिजर्भ मल्टिनेशनल, पोखरा रहेका थिए । सो कार्यक्रममा कम्पनीले विभिन्न नयाँ र अत्याधुुनिक विशेषताले सुुसज्जित ओलेड टिभि लन्च गरेको थियो । नेपाली बजारमा एउटा नयाँ टेक्नोलोजीको रुपमा आएको ओलेड टिभि ब्याकलाइट नचाहिने टेक्नोलोजीमा चल्छ । कम्पनीका अनुसार हङकङमा निर्मित यी टेलिभिजनहरु ठूलो स्क्रिनहरुमा बढ्दै गएको नेपाली बजारको माग पूरा गर्न डिजाइन गरिएको छ ।
एस डेभलपमेन्ट बैंकलाई आस्वा प्रणालीमा सहभागी हुन अनुमति
काठमाडौं, १४ पुस । एस डेभलपमेन्ट बैंकलाई आस्वा प्रणालीमा सहभागी हुन नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले दिएको अनुमतिद्धारा धितापत्र निष्काशन भएको समयमा लगानीकर्ताले एस बैंकमा खाता खोली सो खातामा भएको रकम रोक्का राखी बैंकमा नै सेयरको दरखास्त फारम बुझाउन सक्ने छन् । यस प्रणाली आगामी माघ १ गतेदेखि लागु हुने बोर्डले जनाएको छ ।
एनआइडिसि क्यापिटल मार्केटसको विशेष साधारणसभा पुस २५ गते हुँदै
काठमाडौं, १४ पुस । एनआइडिसी क्यापिटल मार्केटसको विशेष साधारणसभा आगामी पुस २५ गते हुने भएको छ । सो प्रयोजनको लागि कम्पनीको आज(पुस १४ गते) बुक क्लोज भएको छ ।