‘कम्पोजिट’ सिलिण्डर प्रयाेग विवादमा, उपभाेक्ताले पाँच गुणा बढी मूल्य तिर्नु पर्ने
काठमाडौं,९ मंसिर । नेपाल आयल निगमले जोखिम न्युनिकरण गर्न भन्दै खाना पकाउने फलामे ग्यास सिलिन्डरको साटो ‘कम्पोजिट’ सिलिण्डर भित्र्याउने गृहकार्य अन्तिम चरणमा पुर्याएको छ । भारतबाट ल्याउन खोजिएका त्यस्ता कम्पोजिट सिलिण्डर स्वयम् भारत मै भने प्रयोग गरिएको छैन । भारतमा प्रयोग नभएको कम्पोजिट सिलिण्डर नेपालमा किन ल्याउन खोजिएको हो भन्ने प्रश्न खडा भएको छ । यो सवालमा नेपाल आयल निगम, ग्याँस उद्योगी र ग्याँस विक्रेताको मत बाझिएको छ । भारत, युरोप तथा रसियामासमेत उत्पादन भएर प्रयोग नभइरहेको कम्पोजिट सिलिण्डर नेपालमा के कति कारणले ल्याउन खोजिएको हो आफुले बुझ्न नसकेको ग्याँस उद्योगी संघका अध्यक्ष शिव घिमिरेले बताए । उनका अनुसार भारतमा निर्माण गरिएको यी सिलिण्डर भारतमै प्रयोगमा आउन सकेको छैन भने मोदी सरकाले ५ करोड फलामे सिलिण्डर जनतालाई बाँड्ने तयारी गरिरहेको छ । र मूल्यका हिसावले पनि कम्पोजिट सिलिण्डर हाल प्रयोग भइरहेको फलामे सिलिण्डर भन्दा चार गुणाले महँगो छ । उता निगमले भने फलामे सिलिन्डरको सट्टा प्रयोगमा ल्याउन लागिएको आधुनिक प्रविधिको ‘कम्पोजिट’ सिलिन्डर आगलागी भएपनि नपड्कने दावी गरेको छ । अत्याधुनिक प्रविधिबाट फाइवरद्वारा निर्माण गरिएको कारण आम उपभोक्ताले सुरक्षित बातावरणको महसुस गर्न सक्ने कम्पोजिट सिलिण्डर गुणस्तर, भरपर्दो र जहाँ गएपनि सजिलै बोकेर हिड्न मिल्ने भएकाले प्रयोगमा ल्याउन लागिएको निगमका प्रवक्ता भानुभक्त खनालले बताए । उनले भने–‘निगमले कम्पोजिट सिलिण्डको आयातमा जोड दिएपनि व्यवसायीले अनिवार्य आयात गर्नुपर्छ भन्ने छैन । यदी उपभोक्ताले प्रयोग गर्न चाहेमा उद्योगी व्यापारीले अयात एवं बिक्री वितरण गर्न सक्नेछन् ।’ ग्याँस विक्रेता महासंघले भने तत्काल कम्पोजिट सिलिण्डर आयातमा अनिवार्य नगरेपनि दीर्घकालिन रुपमा निगमले वाध्यात्मक ब्यवस्था गर्नसक्ने जनाएको छ । निगमले कम्पोजिट सिलिण्डर प्रयोगले जोखिम न्युनिकरणको आधार मानेपनि उपभोक्ताको हितामा नभएको महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए । उनले भने– अहिले नेपालमा ७८ लाख भन्दा बढी फलामे सिलिण्डर छन्, ति सवैको मूल्य राज्यले फिर्ता गर्नसक्छ भने मात्र कम्पोजिट सिलिण्डर आयात गर्न दिनुपर्छ । निगमले ५ किलो तौल भएको कम्पोजिट सिलिन्डरमा उपभोक्ताको ध्यान तान्न र ग्यास प्रयोग गर्दा सुरक्षित महसुस गराउने भनेपनि नेपाली उपभोक्ताको लागि निकै महँगो पर्न जाने निश्चित भएको उपभोक्ता अधिकारकर्मीले जनाएका छन् । प्रयाेगमा रहेका सिलिण्डर फिर्ता गराउने विषयमा पनि निगम माैन बसेकाेमा उपभाेक्ताबादीहरू निगमकाे निर्णयप्रति सशंकित भएका छन् ।
म्याक्स मनी मलेसिया तथा सिटी एक्सप्रेस मनीबीच रेमिट्यान्स सम्झौता
काठमाडौं, ९ मंसिर । म्याक्स मनी मलेसिया तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही २०१६ को नोभेम्बर महिनादेखि आपसी रूपमा रकम आदान–प्रदानको सेवा प्रदान गर्ने सम्झौता गरेका छन् । यो सम्झौताबाट म्याक्स मनीको नेपालमा सञ्जाल बिस्तार भएको छ । आगामी दिनदेखि नेपालमा रहेका सिटी एक्सप्रेसका कुनै पनि काउन्टरबाट रकम प्राप्त गर्ने सेवा उपलब्ध रहेको छ । साथै, सिटी एक्सप्रेसको सेवामा पनि आयाम थपिएको छ । म्याक्स मनीका प्रमुख कार्यकारी अधिकृत ए. अब्दुल हामिदले भने, “म्याक्स मनी नेपालमा आफ्नो सेवालाई सहज तथा छरितो बनाउने कसरत गरिरहेको छ जसबाट मलेसियामा रहेका हजारौँ नेपालीले बिना झन्झट आफूलाई पायक पर्ने समयमा नै नेपालमा रेमिटान्स गर्न सकून् ।” सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भने, “मलेसियाको सबैभन्दा विस्तारिक रेमिटान्स सेवा प्रदायक म्याक्स मनीसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ । हामीले मलेसियाबाट भित्रिने रकमका लागि हाम्रा पाँच हजारभन्दा बढी स्थानहरूबाट अब सहज रूपले सेवा दिने कुरामा विश्वस्त छौँ ।” म्याक्स मनी मलेसियाको रकम सेवा व्यवसायको पूर्ण अनुमतिपत्र प्राप्त गर्ने पहिलो कम्पनी हो जसलाई ब्याङ्क नेगारा मलेसियाले सञ्चालन गरिरहेको छ । म्याक्स मनी विगत ३० वर्षदेखि सञ्चालनमा छ । त्यस्तै, नेपालको एक अग्रणी सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापान, साउदी अरेबिया, कतारका साथै विभिन्न देशहरूबाट रकम नेपालमा भित्र्र्याउने सेवा उपलब्ध गराउँदै अाएकाे छ ।
लाभा मोबाइलको एक्सक्लुसिभ सोरुम न्युरोडमा, मोबाइलको १० वटा मोडल नेपाली बजारमा
काठमाडौं, ९ मंसिर । चिनिया मोबाइल कम्पनी लाभाले पहिलो पटक न्युरोडमा टच एण्ड फिल सहितको एक्सक्लुसिभ मोबाइल सोरुम संचालनमा ल्याएको छ । अम्बे ग्रुपको अम्बे मोबाइले बजारमा ल्याएको लाभा मोबाइलको सोरुम लाभा इन्टरनेशनल हङकङका ओभरसिज बिजनेश मेनेजर डेभिड याङ र अम्बे ग्रुपका प्रबन्ध निर्देशक हरि न्यौपानेले बिहिबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् । लाभा मोबाइल दक्षिण पूर्वी एसिया, दक्षिण एसिया, मध्यपूर्वी देश र दक्षिण अमेरिकी मुलुकमा समेत कारोबार भइरहेको छ । सस्तो मुल्यमा उत्कृष्ट फिचर भएको लाभा मोबाइले १० वटा मोडल बजारमा ल्याएको छ । ६ बर्ष देखि नेपालमा कारोबार भइरहेको लाभा मोबाइलका देशभर ६ वटा आफ्नै र थर्डपार्टी मार्फत १६ वटा सोरुम संचालनमा ल्याइसकेको छ । सस्तो मुल्यमा उत्कृष्ट फिचर उपलब्ध गराइरहेको लाभा मोबाइलले सबै बर्गका ग्राहकहरुको माया पाउने बिश्वास लिएको छ । कार्यक्रममा अम्बे ग्रुपका प्रबन्ध निर्देशक हरि न्यौपानेले अघिल्लो बर्षको तुलनामा लामा मोबाइलको कारोबार ४० प्रतिशतले बढेको र आउने बर्षमा अझ बढ्ने बताए । न्युरोडको पाकोमा संचालनमा आएको सोरुम मार्फत मोबाइल पारखीलाई टच एण्ड फिलको सुबिधा सहित कारोबार पनि गर्ने छ । लाभा मोबाइलको कस्टुमर केयर सेन्टर सुन्धाराको सिटीसी मलमा रहेको छ ।
सिप्रदिको ग्लोवल सर्भिस क्याम्प सम्पन्न, हजारौँद्धारा निः शुल्क स्वास्थ्य जाँच
काठमाडों, ९ मंसिर । सिप्रदिको नेपालभरीका २४ वटा सर्भिस सेन्टरमा एकैसाथ संचालन भएको ग्लोवल सर्भिस क्याम्प एक समारोह बीच सम्पन्न भएको छ । मंसिर ६ देखी ८ गते सम्म संचालन भएको उक्त क्याम्पमा ३१६२ वटा टाटा कमर्सियल गाडिहरुले निःशुल्क सर्भिस, ब्याट्री, इलेक्ट्रिकल चेकअप, फ्यूल इन्जेक्सन पम्प चेकअपको साथमा म्याक लुब्रिकेन्टस्मा २० प्रतिशत छुट तथा टाटा जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट प्राप्त गरेका छन् । त्यसै अवसरमा ७१५जनाले निःशुल्क आखाँ जाँच, ११०८ जनाले निः शुल्क स्वास्थ्य जाँच ५६२ जनाले सुरक्षित ड्राइभिङ्ग सम्वन्धि तालिम, २४५ जना एच. आइ. भी. एड्स जनचेतना तालिम र ४० जना ग्रहाकहरु करीअर काउन्सिलीङ्ग तालिममा सहभागी भएका थिए । समापन समारोहमा टाटा मोटर्स ग्रहाक सेवा इन्टरनेसनल विजनेस हेड गणेश सेठ्ठी तथा टाटा मोटर्स ग्रहाक सेवा क्षेत्रीय प्रवन्धक सार्क अन्सुमन सामन्त को पनि उपस्थिति रहेको थियो । त्यस अवसरमा टाटा मोटर्सले आयोजना गरेको अन्तराष्ट्रिय प्रतियोगिता “सार्क लेभल स्किल फेस्ट च्याम्पियनसीप २०१६” का विजेता इन्जिनियर सन्दिप गुरुङ्गलाई ५० हजार रुपैयाँको चेक, ट्रफि तथा प्रमाणपत्रले सम्मान गरेका थिए । त्यसैगरी ट्रेडिङ्गका प्राविधिक राजेश हरि श्रेष्ठ अन्तराष्ट्रिय प्रतियोगिता “ग्लोबल टेक फेष्ट च्याम्पियनसीप २०१६” का विजेतालाई १ लाख २५ हजार रुपैयाँको चेक, ट्रफि तथा प्रमाणपत्रले सम्मान गरीएको थियो । त्यसैगरी १६ जना ग्रहाकहरुलाई हाई माइलेज अवार्डले सम्मान गरीएको थियो । ५६ जना भाग्यशाली ग्रहाकहरुले दैनिक लक्कि ड्र वाट मोवाइल सेट जितेका छन् । भाग्यशाली ग्रहाक होम बहादुर गुरुङ्गले बम्पर पुरस्कारमा ४० इन्चको एल. इ. डि. टेलिभिजन जितेका छन् ।
कन्काई विकास बैंकको नयाँ शाखा झापाको राजगढमा सञ्चालन
काठमाडौं, ९ मंसिर । कन्काई विकास बैंकले झापाको राजगढस्थित राजगढ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेलले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् । शाखा बिस्तारसँगै बैंकको शाखा सञ्जाल १० पुगेको छ । झापाको दमकमा मुख्य कार्यालय भएको बैंकले झापा, मोरङ र इलाम गरी तीन जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस क्रममा ग्रामिण क्षेत्रमा वित्तीय पहुँच बिस्तार गर्न बैंकले आफ्नो दशौं शाखा ग्रामिण क्षेत्रमा स्थापना गरेको हो । शाखाको उद्घाटन गर्दै राष्ट्र बैंकका निर्देशक रामु पौडेलले कृषिजन्य उत्पादनको व्यापारमा राजगढबासीलाई बैंकले सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने अपेक्षा गरेका छन् । उनले राजगढ र आसपासका ग्रामिण क्षेत्रमा कृषिजन्य उपजको व्यवशाय प्रवद्र्धन गर्दै वित्तीय सेवाको पहुँच बढाउनेमा आफु ढुक्क रहेको बताए । उद्घाटन समारोहमा बोल्दै बैंकको संस्थापक अध्यक्ष गुणराज अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्यले पुर्वी नेपालमा कन्काई विकास बैंकलाई स्तरीय बैंकका रुपमा स्थापित गर्दै लैजाने बताएका थिए । राष्ट्र बैंकले तोकेको पूँजी ५० करोड बनाउने क्रममा रहेको बैंकलाई यस अभियानमा सबैको सहयोग अपरिहार्य रहेको भन्दै बैंकका सञ्चालक तथा व्यवस्थापकले सबै पक्षको सुझावको अपेक्षा गरेका छन् । कार्यक्रममा श्रम तथा यातायात सहायक मन्त्री टेनारायण राजबंशीले बैंकलाई प्रतिष्ठित संस्थाको रुपमा स्थापित हुँदै उच्च गुणस्तरको सेवा प्रदान गर्न शुभकामना व्यक्त गरेका थिए । बैंकले झापाको दमक, काकडभिट्टा, विर्तामोड, गौरादह र झिलझिल तथा मोरङको पथरी र खोर्साने तथा इलामको मंगलबारे र राँके गरी ९ शाखाबाट वित्तीय सेवा प्रदान गर्दै आएको थियो । मोरङको विराटनगर र इलामको बिब्ल्याँटे वजार तथा तिनघरे बजारमा शाखा खोल्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाइसकेको बैंकले निकट भविष्यमा नै ती शाखा सञ्चालनमा ल्याउँदैछ । नेपाल राष्ट्र बैंकबाट २०६४ बैशाख ५ गते इजाजत पाएको बैंकले २०६४ बैशाख २० देखि ‘ख’ वर्गको वित्तीय संस्थाका रुपमा सेवा सुरु गरेको थियो । चुक्ता पूँजी १२ करोड ५० लाख रुपैंया रहेको बैंकले २ सय १४ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको छ । त्यसै गरी गत वर्षको कमाईबाट लगानीकर्तालाई २० प्रतिशत बोनस बितरणको प्रस्ताव गरेको बैंकको हकप्रद निष्काशन तथा बोनस बितरण पश्चात चुक्ता पूँजी ४७ करोड रुपैंया पुग्नेछ । तीन जिल्लामा गरी २२ हजार सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले एक अर्ब २७ करोड रुपैंया निक्षेप संकलन गरी १ अर्ब ११ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । कृषि, व्यशाय, व्यक्तिगत, सामाजिक, अटो, बिना धितो सामुहिक कर्जा लगायतमा आक्रामक उपस्थिती जनउँदै आएको बैंकले वेष्टर्न युनियन, हिमाल रेमिट, आईएमई रेमिट, नबिल रेमिट, सिटि एक्सप्रेस, प्रभु मनि ट्रान्सफर, एक्सप्रेस मनी लगायत सञ्जालको रेमिट्यान्स सेवा पनि दिंदै आएको छ बैंकले जनाएको छ ।
पर्सा वन्यजन्तु आरक्षको ३३.६ हेक्टर जमिन ओगट्न राष्ट्रिय गौरवको आयोजना, बन्ला त रक्सौल–अमलेखगञ्ज पाइप लाइन
काठमाडौं, ९ मंसिर । नेपाल आयल निगमले रक्सौल–अमलेखगञ्ज पाइपलाइनलाई राष्ट्रिय गौरवको आयोजनाको मान्यता दिलाउनका लागि राष्ट्रिय योजना आयोगमा प्रस्ताव पठाएको छ । निगमले ‘राम जानकी पाइपलाइन प्रोजेक्ट’ नामाकरण गरेर पेट्रोलियम पाइपलाइनको फाइल योजना आयोग पठाएको हो । ‘हामीले राम जानकी पाइपलाइन प्रोजेक्ट’ नामाकरण गरेर राष्ट्रिय गौरवको आयोजनाका रुपमा मान्यता दिन माग गर्दै फाइल पठाएका छौं, बाँकी सरकारको हात छ ।’ निगमका प्रवक्ता भानुभक्त खनालले विकासन्युजसँग भने । कुनै पनि आयोजनालाई राष्ट्रिय गौरवको आयोजना नबनाउँदासम्म बन्यजन्तु आरक्ष तथा राष्ट्रिय निकुञ्जहरुले आफ्नो भुभाग प्रयोग गर्न नदिने व्यवस्था रहेको छ । सोही व्यवस्थाका कारण पाइपलाइन प्रोजेक्टलाई राष्ट्रिय गौरवको आयोजना बनाउन पहल अघि बढाइएको हो । आयोजनाले पर्सा बन्यजन्तु आरक्षको ३३ दशमलब ६ हेक्टर जमिन ओगट्नेछ । सोही जमिनका प्राप्तिका लागि यसलाई राष्ट्रिय गौरवको आयोजना बनाउन लागिएको हो । नेपाल र भारतबीच २०७२ भदौ ७ गते पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार ३९ किलोमिटर पाइपलाइन नेपाल भुभागमा निर्माण गरिनेछ भने दुई किलोमिटर भारतीय भुमिमा पर्नेछ । निर्माण आरम्भ भएको ३० महिनामा पाइपलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो । कुल ४ अर्ब ४० करोड नेपाली रुपैयाँ लागत अनुमान गरिएको आयोजनाका लागि नेपालले एक अर्ब २० करोड र भारतले ३ अर्ब २० करोड लगानी गर्नेछन् । पाइपलाइनले पेट्रोल र डिजेलमध्ये ८० प्रतिशत आयात गर्नेछ भने हवाई इन्धन र मट्टितेलको ९५ प्रतिशत आयात गर्नेछ । पाइपलाइनले ढुवानीवापतको ७० करोड रुपैयाँ निगमलाई थप फाइदा पुग्ने अनुमान गरिएको छ । १५ बर्षसम्म भारतबाटै इन्धन किन्नुपर्ने ? निगम र आइओसीबिच पाइपलाइन निर्माणपछि आगामी १५ बर्षसम्म आइओसीसँगै इन्धन खरिद गर्नेबारे पनि अनौपचारिक रुपमा सहमति भएको छ । आइओसीले २५ बर्षसम्म आफुसँग मात्रै इन्धन खरिद गर्नुपर्ने सर्त राखेको थियो । निगम र आइओसीका अधिकारीहरुबिचको लामो छलफलपछि २५ बर्षलाई घटाएर १५ बर्ष बनाइएको निगमका प्रमुख खड्काले बताए । जथाभावी नगरौं- डा. अधिकारी राष्ट्रिय योजना आयोगका पुर्व सदस्य तथा बरिष्ठ अर्थविद डा. चन्द्रमणि अधिकारीले जथाभावी राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न नहुने बताए । उनले जनताको आर्थिक तथा समाजिक जिवनस्तरमा उल्लेख्य योगदान दिन सक्ने परियोजनालाई मात्रै राष्ट्रिय गौरवको आयोजना बनाउने व्यवस्था रहेको बताए । ‘म योजना आयोगमा हुँदा राष्ट्रिय गौरवका आयोजना छनौटका आधार तयार गर्न समिति बनेको थियो, त्यसले ड्राफ्ट पनि बनाएको थियो तर त्यो त्यतिकै सेलायो र अझै पनि बिना आधार गौरवका आयोजना घोषणा गर्ने परिपाटी चलि आएको छ’, डा. अधिकारीले विकासन्युजसँग भने ।
स्कुसबाट बीस लाख आम्दानी !
इलाम, ९ मङ्सिर । एउटै याममा स्कुस बेचेर सूर्योदय नगरपालिका– ९ गैरीगाउँका ४१ वर्षीय ताराकुमार तामाङले आम्दानी गरेका छन् । यस वर्ष उनले एक हजार ४०० क्विन्टल स्कुबिक्री गरे । झापाको चारआली तथा भारतको सिलगुडी बजार लगेर उनले स्कुस बिक्री गरेका हुन् । सुरुवातमा तामाङले प्रतिमन रु एक हजार २०० मा बिक्री गरेको थियो । पन्ध्र रोपनी जमिनमा उहाँले व्यावसायिक रुपमा स्कुसखेती गर्दै आएका छन् । ऋण काढेर रु २० हजारको लगानीमा तरकारी खेती गरेका उनले स्कुस बेचेर १८ रोपनी जमिन किन्न सफल भएका छन् । “यस वर्ष मुन्टा बिक्रीबाट मात्रै रु ३० हजार आम्दानी भयो,” उनले भने । गत वर्ष स्कुसको जरा बिक्री गरी रु एक लाख २० हजार आम्दानी गरेका थिए । सूर्योदय नगरपालिका– ९ का अधिकांश किसानले स्कुसबाट मनग्य आम्दानी गरिहेको छ । उक्त वडाका प्रत्येकले कम्तीमा तीन रोपनीदेखि २० रोपनी जमिनमा स्कुसखेती गर्दै आएको छ । यातायातको सहज सुविधा भएको उक्त वडामा स्कुस खरिद गर्नका लागि व्यापारी घरैसम्म पुग्ने गरेका स्थानीयवासी मात्रिका दाहाल बताउँछन् । चियाखेतीलाई पनि सँगसँगै अङ्गालेका उक्त क्षेत्रका किसानको आर्थिक अवस्था उकास्न स्कुसखेतीले मद्यत पु¥याएको छ । रासस
टीभीएस अपाचे दसैं तिहार महोत्सव सम्पन्न, विजेतालाई स्कुटरदेखि बाइकसम्मको उपहार
काठमाडौं, ९ मंसिर । सिभिल मलले आयोजना गरेको प्रवद्र्घनात्मक कार्यक्रम ‘टीभीएस अपाचे दसैं तिहार महोत्सव २०७३’ सम्पन्न भएको छ । गत असोज १ देखि कात्तिक २७ सम्म आयोजित सो कार्यक्रममा नैकापका लबेन्द्र कार्कीले टीभीएस अपाचे प्राप्त गरेभने लुभुकी अनुस्का पाठक र स्वयम्भूकी छिरिङमा शेर्पाले क्रमशः टीभीएस जुपीटर र टीभीएस जेस्ट प्राप्त गरे । कार्यक्रममा विकास भुजेल र सुमीत मगरले क्रमशः आस्रीको हीराको हार र एलजीको एलइडी टीभी जिते । सिभिल मलमा एक हजार रुपैयाँभन्दा बढीको किनमेल गर्ने ग्राहकहरुलाई प्रदान गरिएको कुपनहरुमध्ये खुल्ला गोलाप्रथाबाट विजयीहरुको चयन गरिएको थियो । कार्यक्रम अवधिमा विभिन्न विजेताहरुले आस्रीका हीराका गहना, एलजीका स्मार्ट फोनहरु, भ्याकुम क्लीनर, माइक्रोवेभ ओभन, वासिंग मेशिन, रेफ्रिजरेटर, एलसीडी टीभी लगायत मलका पसलहरुले प्रयोजन गरेका अनेकौं उपहार प्राप्त गरे । सिभिल मलले कार्यक्रमलाई सफल पार्न सहयोग पुर्याउने सबै प्रायोजकहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।