मर्जपछि एनसीसी बैंक झन् तनावमा, एपेक्स डेभलपमेन्ट बैंकको हिसाब छुट्टै राख्न उच्च अदालतको अन्तरिम आदेश
ललितपुर । पाटन उच्च अदालतले एनसीसी बैंकसँग मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकको हिसाव किताव छुट्टै राखी अलग अलग कारोबार गर्न अन्तरिम आदेश दिएको छ । न्यायधिश राजेन्द्र सुवेदीको एकल इजालासले बैशाख २८ गते अन्तरिम आदेश दिर्दै कारोबार अलग गर्न र अलग हिसाव राख्न भनेको हो । नेपाल क्रेडिट एण्ड कमर्श बैंक, पीवाईसी एण्ड एशोसिएट्स चार्टर्ड एकाउण्टेण्ड र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाउँदै एनबी ग्रुप, एनवी इ्रन्भेष्टमेन्ट, एनबी मार्केटिङ, सांग्रिला इन्भेष्टमेन्ट र जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीजले बैशाख २४ गते हालेको मुद्दाको सुनुवाई गर्दै न्यायधिश सुबेदीले उक्त अन्तरिम आदेश जारी गरेको हो । मर्जरको क्रममा डीडीए गर्ने कम्पनी पीवाईसी एण्ड एशोसिएट्स चार्टर्ड एकाउण्टेण्डले मिलोमत्तोमा एपेक्स डेभलपमेन्ट बैंकको विग्रेको कर्जा पनि असल कर्जामा गणना गरेको र मर्जका पार्टर संस्थाहरुलाई सयौं करोड रुपैयाँ क्षति गराएको आरोप एनबी समूहले लगाएको छ । अदालतले विपक्षीहरुलाई कारण देखाउन आदेश दिएको छ ।
साउन १ गतेदेखि आस्वा प्रणाली अनिवार्य, सेयर निष्काशनको २० दिनमै बाँडफाँट हुने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणाली अनिवार्य गर्ने निर्णय गरिएको छ । उक्त प्रणाली लागूसँगै धितोपत्रको सार्वजनिक निष्काशन तथा बाँडफाँट प्रक्रिया २० दिन सम्ममा सम्पन्न हुने बोर्डले जनाएको छ । जुन हालको भन्दा ५० दिन चाँडो हुनेका साथै थप सरल, व्यवस्थित र पारदर्शी हुने बोर्डको विश्वास रहेको छ । सो निर्णय लागू गर्न बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्यहरुलाई आफ्नो मुख्य कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयका कर्मचारीहरुलाई तालिम प्रदान गर्न बोर्डले आग्रह गरेको छ । साथै आस्वा सेवा प्रदान सम्वन्धमा बोर्डबाट स्थलगत निरीक्षण कार्य भैरहेको र सो क्रममा कुनै त्रुटी भेटिएमा त्यस्ता आस्वा सदस्यहरुको अनुमति खारेज गरिने वा सो सेवा प्रदान गर्न रोेक लगाइने छ । आश्वा प्रणालीमा हालसम्म सम्पूर्ण वाणिज्य वैंकहरु सहित ५२ बैंक तथा वित्तीय संस्थाहरु सहभागी भई ७५ जिल्लाबाटै सेवा प्रदान गर्न थालिसकेका छन् । यस प्रणालीमार्फत हालसम्म ७ वटा संगठित संस्थाहरुको सार्वजनिक निष्काशन भैसकेकोमा पछिल्लो थप सार्वजनिक निष्काशनमा करीब ६४ प्रतिशतभन्दा बढी दरखास्त रकम आस्वा प्रणाली मार्फत प्राप्त भई यो प्रणालीको कार्यान्वयनमा गतिशीलता आएको छ । आस्वा प्रणालीमा सहभागी केही बैंक तथा वित्तीय संस्थाहरुले अनलाइनमार्फत समेत दरखास्त लिने व्यवस्था गर्न शुरु गरिसकेका छन् । हाल आस्वा प्रणालीमा प्रतिदरखास्त बढीमा १०० रुपैयाँ सम्ममात्र शुल्क लिन सक्ने व्यवस्था गरेको छ । गरे पश्चात केही बैंक तथा वित्तीय संस्थाहरुले सेवालार्इ निशुल्क एवं अधिकांश संस्थाहरुले सेवा शूल्क रु. १०/२५ कायम गरेका छन् ।
हिमालय उर्जा विकासले २४ करोड ७५ लाख रुपैयाँको साधारण शेयर निष्काशन गर्ने
काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लि.ले १०० रुपैयाँ दरका २४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले निर्माण गरिरहेको उपल्लो र अप्पर खिम्ती-२ जलविद्युत आयोजनाको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ । १२ र ७ मेगावाटको दुई आयोजनाका १०० रुपैयाँ दरका २४ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर बिक्रीको लागि हिमालय उर्जा विकास कम्पनी लि. र निष्काशन तथा बिक्री प्रबन्धक बीच सम्झौता सम्पन्न भएको छ । सो सम्झौतापत्रमा कम्पनीका तर्फबाट अध्यक्ष हरिप्रसाद पाण्डे र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका छन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दामा ९ लाख ९० हजार कित्ता तथा सर्वसाधारणमा १४ लाख ८५ हजार कित्ता शेयर जारी गर्नेछ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ । हिमालय उर्जा विकास कम्पनीले २०७५ अषाढमा उपल्लो खिम्ती र २०७५ असोजमा अप्पर खिम्तीबाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ कार्य गरिरहेको छ । हाल यी आयोजनाको सिभिल र हाईड्रो मेकानिकलको कार्य भईरहेको छ भने इलेक्ट्रो मेकानिकलको लागि जापानको तोसिबा कम्पनीसँग सम्झौता भएको छ ।
आठ बीमा कम्पनीको नाफा एक अर्ब १४ करोड, कसले कति कमाए ?
काठमाडौं । आठ वटा बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको नौ महिनामा एक अर्ब १४ करोेड ९० लाख रुपैंयाँ नाफा कमाएका छन् । यस्तो नाफा बीमांकिय मुल्यांकन अघिको हो । हालसम्म पाँच वटा निर्जिवन बीमा कम्पनी र ३ वटा जिवन बीमा कम्पनीले तेश्रो त्रैमासिकसम्मको वित्तिय विवरण सार्वजनिक गरेका छन । नौ महिनामा तीन वटा जिवन बीमा कम्पनीको नाफा ५७ करोड ७३ लाख पुगेको छ भने पाँच वटा निर्जिवन बीमा कम्पनीको नाफा पनि ५७ करोड १७ लाख पुगेको छ । तीन वटा जिवन बीमा कम्पनीले गत बर्षको सोही अवधीको तुलनामा ६९ दशमलब ६४ प्रतिशत नाफा बढाउन सफल भएका छन् । ती कम्पनीले गत आवको तेश्रो त्रैमासिकमा ३४ करोड ३ लाख नाफा कमाएका थिए । पाँच निर्जिबन बीमा कम्पनीको नाफा भने ६० दशमलब ४५ प्रतिशतले वृद्धि भएको छ । यी कम्पनीले गत आवको नौ महिनामा ४० करोड ९६ लाख नाफा कमाएका थिए । हालसम्म निर्जिबन तर्फ एनएलजी, नेको, युनाइटेड, एनबी र ओरियन्टल इन्स्योरेन्स कम्पनीले तेश्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका छन् । त्यस्तै जिवन बीमा तर्फ नेपाल लाइफ, सुर्या लाइफ र प्राइम लाइफले नौ महिनाको वित्तिय विवरण सार्वजनिक गरेका छन् । निर्जिबन बीमा १) एनएलजी इन्स्योरेन्स कम्पनीले नौ महिनामा १२ करोड ९७ लाख नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधीमा ११ करोड ६ लाख नाफा कमाएको थियो । २) नेको इन्स्योरेन्स कम्पनीले नौ महिनामा १२ करोड ८८ लाख नाफा कमाएको छ । यो कम्पनीले गत आवको सोही अवधीमा ७ करोड नाफा कमाएको थियो । ३) युनाइटेड इन्स्योरेन्सले ४ करोड ८९ लाख नाफा कमाएको छ । गत आवको सोही अवधीमा कम्पनीले २ करोड ३२ लाख नाफा कमाएको थियो । ४) एनबी इन्स्योरेन्स कम्पनीले नौ महिनमा ६ करोड २० लाख नाफा कमाएको छ । यसले गत आवको सोही अवधीमा जम्मा २ करोड २० लाख मात्रै नाफा कमाएको थियो । ५) ओरियन्टल इन्स्योरेन्स कम्पनीले २० करोड ४१ लाख नाफा कमाएको छ । अघिल्लो आवको नौ महिनामा कम्पनीले १३ करोड ५ लाख नाफा कमाएको थियो । जिवन बीमा कम्पनी १) नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ४० करोड ९६ लाख पुगेको छ । कम्पनीले गत आवको सोही अवधीमा २३ करोड ८० लाख नाफा कमाएको थियो । २) सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले ६ करोड ३ लाख नाफा कमाएको छ । सुर्याले गत आवको नौ महिनामा ७९ लाख मात्रै नाफा कमाउन सफल भएको थियो । ३) प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाफा चालु आवको नौ महिनामा १० करोड ७४ लाख पुगेको छ । कम्पनीले गत आवको सोही अवधीमा जम्मा ९ करोड ४४ लाख आम्दानी गरेको थियो ।
तीन वटा क्लियरिङ बैंकसँग सम्झौता
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ ३ वटा क्लियरिङ बैंकसँग सेवा आरम्भ सम्बन्धी सम्झौता गरेको छ । मंगलबार नयाँ तीन वटा क्लियरिङ बैंकसँग सम्झौता गरिएको सिडिएसका प्रमुख कार्यकारी देवप्रकाश गुप्ताले जानकारी दिए । हालसम्म ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गर्दै आएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार सिडिएसले नयाँ क्लियरिङ बैंक थप्ने प्रक्रिया अघि बढाएको थियो । नेपाल स्टक एक्सचेन्जको संचालक समितिबाट स्वीकृत मापदण्ड र मुल्यांकन तालिका अनुसार सिडिएसले नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकलाई क्लियरिङ बैंकका रुपमा छनौट गरेको थियो । ‘क्लियरिङ बैंकसँग सम्झौता गरेका छौं, अब ब्रोकरसँग सम्झौता हुन्छ र एक देखि ढेड हप्ताका बिचमा नयाँ क्लियरिङ बैंकले सेवा आरम्भ गर्नेछन’, सिडिएसका प्रमुख कार्यकारी अधिकृत गुप्ताले विकासन्युजसँग भने ।
सनराइज बैंकले त्रिभूवन विश्वविद्यालयका स्नाकोत्तर तहका विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्ने
काठमाडौं । सनराइज बैंक लिमिटेडले त्रिभूवन विश्वविद्यालयका स्नाकोत्तर तहका विद्यार्थीहरुको थेसिसका लागि आर्थिक सहयोग गर्ने भएको छ । बैंकले त्रिभूवन विश्वविद्यालय, केन्द्रिय व्यवस्थापन विभाग अन्तर्गतका संकायहरुमा एमविएस र एमविए बिषयमा अध्ययनरत विद्यार्थीहरुले अनुसन्धान बिषय अन्तर्गत प्रस्तुत गनुपर्ने शोधपत्र (थेसिस्) तयार पार्नको लागि आर्थिक सहयोग गर्न लागेको हो । सो शोधपत्रको विधि विश्वविद्यालयले तोके बमोजिम हुने गरी बिहीबार बैंक र त्रिभूवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभाग बीच एमओयूमामा हस्ताक्षर सम्पन्न भएको छ । जस अनुसार त्रिविविका एमविएस र एमविएमा अध्ययनरत ५ जना शोधकर्ताहरुका लागि आर्थिक सहयोग उपलब्ध गराउने छ उक्त सम्झौता पत्रमा बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र त्रिभूवन विश्व विद्यालय, केन्द«ीय व्यवस्थापन विभागका प्रमुुख, प्रा.डा.भोज राज अर्यालले हस्ताक्षर गरेका छन् ।
स्काईवर्थका दुई नयाँ प्रोडक्टहरु नेपाली बजारमा, मूल्य ९ हजारदेखि ५६ हजार पर्ने
काठमाडौं । नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स् तथा होम एप्लाएन्सेस्का एकमात्र आधिकारिक विक्रेता स्मार्ट एप्लाएन्सेस् प्रा. लि. ले नेपालमा दुई नयाँ प्रोडक्टहरु थपेको छ । उक्त दुई नयाँ प्रोडक्टहरु स्काईवर्थ ड्रम टाइप भ्याकुम क्लिनर तथा टप लोड डाइरेक्ट ड्राइभ वाशिङ्ग मेशिन रहेका छन् । हाईइफिसिएन्सी ड्रम भ्याकुम नयाँ ड्रम टाइप भ्याकुम क्लिनरमा २१ लिटरको डस्ट स्टोरेज क्षमताका साथै डस्ट लेभल इन्डिकेटर तथा उपयोगी एयर ब्लोइङ्ग क्षमता पनि उपलब्ध छ । साथै उच्च कार्य क्षमता भएको मोटरका साथ शक्तिशाली सक्शन् पनि यसले प्रदान गरेको छ । उक्त मेशिन १८०० वाट र २००० वाट को क्षमतामा क्रमशः ९ हजार ३९० रुपैयाँ तथा १० हजार २०० रुपैयाँमा उपलब्ध छ । टप लोड डाइरेक्ट ड्राइभ वाशिङ्ग मेशिन इन्भर्टर टेक्नोलोजी सहितको नयाँ टप लोड डाइरेक्ट ड्राइभ वाशिङ्ग मेशिनको मोटरमा १० वर्षको वारेन्टीका साथ बजारमा उपलब्ध छ । १३५ देखि २८० भोल्टको न्यूनतम भोल्टेजमा चल्ने यस मेशिनको क्षमता ९ केजी रहेको छ भने यसको मूल्य ५६ हजार ३०० रुपैयाँ तोकिएको छ ।
भिवोर सोसाइटीमा लुम्बिनी फाईनान्स गाभिने प्रस्ताव पारित, पूँजी २ अर्ब ३७ करोड नाघ्ने
काठमाडौं । भिवोर सोसाइटी डेभलपमेन्ट बैंकमा लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेड गाभिने प्रस्ताव पारित भएको छ । बिहीबार बसेको बैंकको नवौं वार्षिक साधारण सभाले उक्त दुई कम्पनी एक आपसमा गाभिने प्रस्तावलाई पारित गरेको हो । दुई कम्पनी गाभिए पश्चात लुम्बिनी बिकास बैक नामबाट एकिकृत कारोबार शुरु हुने भएको छ । गाभिए पश्चात बन्ने लुम्बिनी बिकास बैकको पूँजी २ अर्ब ३७ करोड १८ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । साथै, सभाले गाभिए पश्चात कायम हुने चुक्ता पूँजीको १० प्रतिशत (१०ः१) को दरले हकप्रद सेयर निष्काशन गर्ने निर्णय पारित गरेको छ । हाल बैंकको कुलनिक्षेप १५ अर्व ६ करोड रुपैयाँ र कर्जा १३ अर्व ५६ करोड रुपैयाँ रहेको छ । साथै, बैंकले आर्थिक वर्षको तेश्रो क्रैमास सम्ममा २२ करोड खुद मुनाफा गर्न सफल भएको जनाएको छ । त्यसैगरी, बैकका ४४ शाखा र १२ ओटा एटीएम रहेका छन् । डिल्लीबजारमा केन्द्रिय कार्यालय रहेको बिकास बैंकको संचालक समितिको अध्यक्षमा सुशीलराज पराजुली र प्रमुख कार्यकारी अधिकृतमा झलक प्रसाद खनाल रहेका छन् । यसैगरी संचालक समितिका सदस्यमा अशोकराज पाण्डे, डा. रुप ज्योति, हरिप्रसाद रिमाल, राजेशकुमार अग्रवाल र प्रेमराज तिवारी रेहेका छन् ।