विकासन्युज

सेयर बजार घट्न थालेपछि म्यूचअल फन्ड कम्पनीहरुको काराेबारमा निगरानी, बजारलाई प्रभावित पारेको भेटेमा कारबाही

काठमाडौं, ८ मंसिर । नेपाल धितोपत्र बोर्डले म्याचुअल फन्ड कम्पनीहरुमा स्थलगत अनुगमन थालेको छ । म्युचुअल फन्ड कम्पनीहरुले सेयर नकिनेकाले बजार घटेको भन्ने आमगुनासो आउन थालेपछि बोर्डले म्याचुअल फन्ड कम्पनीहरुमा स्थलगत निरीक्षण थालेको हो । बोर्डका प्रबक्ता निरज गिरीका अनुसार म्याचुअल फण्ड कम्पनीहरु कै कारण बजार ओरालो लागेको लगानीकर्ताहरुको आरोप रहरेकोले आफूहरुले सत्यतथ्य पत्ता लगाउनका लागि ति कम्पनीहरुमा अनुगमन थालेको हो । बोर्डले मंगलबार दुई वटा म्युचुअल फन्ड कम्पनीमा छड्के लिएको थियो भने बुधबार पनि केही कम्पनीहरूमा बोर्डका अधिकारी निरीक्षण गर्न पुगेका छन् । गिरीले मंगलबार निरीक्षण गरिएका कम्पनीले क्षमता अनुसारको सेयर पहिल्यै किनिसकेको तथ्यांक देखाएको उनले जानकारी दिए । अनुगमनका क्रममा बजारलाई प्रभावित पार्ने काम म्युचुअल फन्डले गरेको पाइएमा कारवाही गर्ने रणनीति बोर्डले बनाएको छ ।

ओरालो लाग्न रोकिएन नेप्से, कारोबारमा भने सुधार, गत हप्तादेखि निरन्तर एभरेष्ट बैंकमा नै लगानीकर्ता

काठमाडौं, ८ मंसिर । सेयर बजार लगातार ओरालो लागेको छ । गत हप्तादेखि ओरालो लाग्न सुरु गरेको सेयर बजार परिसुचक (नेप्से) बुधबार पनि ४२.४६ अंकले ओरालो लागेको छ । बुधबार मंगलबारको तुलनामा कारोबार रकममा भने सुधार आएको छ । मंगलबार ८२ करोडको कारोबार भएको बजारमा बुधबार एक अर्व ७ करोड बराबरको कारोबार भएको छ । यसदिन सम्पुर्ण समूहगत परिसूचकहरु पनि ओरालो लागेको छ । सवैभन्दा बढी विमा समूहको ३६५.६४ अंकले घटेको छ भने होटल १०२.९२अंकले ओरालो लागेको छ । त्यस्तै बैकिङ ३७.४७, विकास बैंक ४१.८, जलविद्युत १५.१७, फाइनान्स १३.८७, उत्पादनमूलक १२.६९ र अन्य समूह १८.८८ अंकले ओरालो लागेको छ । गत हप्तादेखि नै निरन्तर रुपमा एभरेष्ट बैंककै उच्च कारोबार भएको छ । यसदिन पनि १७ करोड ६० लाख बराबरको कारोबार भएको छ । त्यस्तै नेशनल लाइफ इन्सुरेन्स कम्पनी, १३ करोड १७ लाख, बैंक अफ काठमाडौ लुम्विनी ४ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै यसदिन सवैभन्दा बढी कमाउनेहरुमा मेगा बैंक, एनवी इन्सुरेन्स, माउन्ट मकालु डेभलपमेन्ट बैंक, गुह्हेश्वरी मचेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । गुमाउनेहरुमा लक्ष्मी लघुवित्त वित्तिय संस्था, सुर्य लाइफ इन्सुरेन्स कम्पनी, तारागाउँ रिजेन्सी होटल, सगरमाथा फाइनान्स गायतका कम्पनीका लगानीकर्ताहरु रहेका छन् ।

गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्सलार्इ वर्षको उत्कृष्त करदाता

काठमाडौं, ८ मंसिर । आन्तरिक राजस्व कार्यालय ललितपुरले आयकर तर्फ गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई आर्थिक वर्ष २०७१/०७२ मा सबैभन्दा बढी कर दाखिला गरेकोले उत्कृष्त करदाताको रुपमा सम्मानित गरिएको छ । संस्थाको तर्फबाट महाप्रबन्धक दिनेशलाल श्रेष्ठले उक्त उत्कृष्त करदाता पुरस्कार प्राप्त गरेका छन् । फाइनान्सले गत वर्ष कुल नाफा २ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । यस फाइनान्सले हाल निक्षेप २ अर्व ७ करोड तथा कर्जा लगानी १ अर्व ८६ करोड परिचालन गरेको छ । यस फाइनान्सले ५० हकप्रद शेयर जारी गर्ने र त्यसपछि १२ प्रतिशत बोनस शेयर जारी गरी चुक्ता पूँजी ४९ करोड ३५ लाख रुपैयाँ पुर्याउन लागेको जनाएको छ ।

करोडौको सम्पत्ति गुमाउँदै बीमा समिति, आयव्यय सबै गोप्य, ठूला करदाता कार्यालयले भाडा दिएन

काठमाडौं, ८ मंसिर । बीमा समितिले करोडौ मूल्य पर्ने सम्पत्ति गुमाएको छ । समितिको नाममा रहेको चावहिलस्थित दूई रोपनी जग्गामा बनेको घर अर्थमन्त्रालय अन्तर्गत ठूला करदाता कार्यालयले हडपेको छ । तर समिति भने त्यसबारे केही बोलेको छैन । बीमा समितिले गुमाएकाे चावहिल कार्यालय काठमाडौंको रिङरोडमा जोडिएको चावहिलको कार्यालय अपाएक भएको भन्दै समितिले ललितपुर जिल्लाको कुमण्डोलमा कार्यालय सारेपछि पुरानो कार्यालय भवन वेवारिसे अवस्थामा थियो । २०७२ साल बैशाख १२ गतेको भूकम्पपछि उक्त वेवारिसे भवनमा ठूला करदाता बसेको छ । ‘भूकम्पले ठूला करदाता कार्यालयमा क्षति पुग्यो, अर्थमन्त्रालयका सहसचिव मुकुन्द प्रसाद पौडेलको आग्रहमा समितिले ठूला करदाता कार्यालयलाई भाडामा बस्ने गरी भवन उपलब्ध गराएको हो । “हामीलाई अहिलेसम्म कर कार्यालयले बहाल बुझाएको छैन”, समितिका एक कर्मचारीले भने ‘‘एक वर्ष भन्दा बढी भइसक्यो तर सो कार्यालयले अहिलेसम्म भाडा बुझाएको छैन ।’’ कति रुपैयाँमा सो भवन भाडामा लगाएको हो भन्ने जानकारी बीमा समितिले दिएन । बीमा समितिले भाडामा दिएको भने पनि उक्त भवन भाडामा लिने दिनेसम्बन्धी कुनै करार सम्झौता नै नभएको ठूला करदाता कार्यालयकाे भनार्इ छ । कार्यालय प्रमुख युवराज श्रेष्ठका अनुसार बीमा समितिले नक्सा पास नगरी भवन बनाएकाे रहेछ । नक्सा पास नभएकाे कारणा प्रक्रिया पूरा गरी भवनकाे भाडा दर निर्धारणा हुन सकेन । भाडा दर निर्धारणा नभर्इ वहाल सम्झौता हुन सक्दैन । सरकारी निकायले प्रक्रिया नै नपुर्याइ भाडा  दिन पनि सक्दैन । नक्सा पास गराउने  विषयमा दुर्इ पटक पत्रचार पनि गरेकाे, समितिका अध्यक्षा डा फत्तबहादुर केसीलार्इ अाफैले भेटेर कुरा पनि गरेकाे तर समितिले ठाेस पहल नगरेकाे उनले बताए । ‘बीमा समितिले नक्सा पास गरेर ल्याअाेस्, हामी पुरै भाडा  दिन तयार छाैं’ ठूला करदाता कार्यालय चावहिल शाखा प्रमुख श्रेष्ठले भने । तर बीमा समितिकाे दावी अर्कै छ । ‘अन्य कार्यालयलाई भाडामा दिएको भएपनि रकम उठ्थ्यो र समितिलाई केही फाइदा पुग्थ्यो तर कर कार्यालयले हामीलार्इ टेरेन’  समितिका एक कर्मचारीले भने । भाडाका लागि पटक पटक ताकेता गरेपनि करदाता कार्यालयले वास्ता नगरेको ती कर्मचारीले दुखेको पोखे । सो घरमा पहिले पुनर्विमा कम्पनीले पनि भाडामा बस्न खोजेको थियो तर समितिले दिएको थिएन । मन्त्रालयले नै निर्णय गरेपछि आफूहरुले केही बोल्ने बाटो नभएको ती कर्मचारीले भने । समितिले सो भवनलाई बीमा अनुसन्धान तथा तालिम केन्द्र बनाउने सोचेको थियो । ‘सो भवनमा बीमा अनुसन्धान तथा तालिम केन्द्र बनाउने भनेर अध्यक्षज्यूले धेरै पटक भन्नु भयो, सार्वजनिक रुपमा पनि बोल्नु भयो । तर कुरा मात्र भयो, काम केही पनि भएको छैन’ समितिको उच्च अधिकारीले भने । समितिको अध्यक्ष डा फत्तबहादुर केसीको असक्षमताको कारणले चवहिलस्थित पुरानो कार्यालय समितिका कर्मचारीहरु बताउँछन् । बीमा समितिको हालको कार्यालय रहेको कुपण्डोलको समितिको कार्यालय भने नेपाल बैंकसँग अध्यक्ष केसीको विशेष पहलमा किनिएको हो । कुपण्डोलको पुरानो भवन प्रयोग बनाउन बीमा समितिले झण्डै एक करोड रुपैयाँ खर्च गरिसकेको स्रोतले बतायो । हालकाे कार्यालय ‘यही नयाँ भवन बनाउने भनिएको छ । तर ठोस काम भएको छैन, पुरानो भवन मर्मत र सजावटमा मात्र झण्डै करोड रुपैयाँ खर्च भईसक्यो’ स्रोतले भन्यो । ‘हामी त अध्यक्षले अराएको काम गर्ने हो, उहाँले भनेको काम गरेन वा फरक विचार राख्यो भने त्यो कर्मचारीको विरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियारमा बेनामी उजुरी परिहाल्छ, यहाँ त कोही बोल्नै सक्दैन’ उनले गुनासो सुनाउन थाले । समितिले बीमा कम्पनीहरु मार्फत बीमा ग्राहकसँग लिएको बीमा शुल्कको १ प्रतिशत रकम अनिवार्य असुल्दै आएको छ । ‘बीमितसँग उठाएको अबौं रुपैयाँ बीमा समितिसँग छ । मनलाग्दी खर्च भएको छ’ एक बीमकले भने–बीमा कम्पनीको पारदर्शिता खोज्ने नियामक निकाय आफू पारदर्शी हुनुपर्दैन ? बीमा समितिको वार्षिक आयव्यय पनि सार्वजनिक नभएको, समितिको आर्थिक पारदर्शीताको विषयमा कसैले प्रश्न पनि नगरेको, पत्रकारले समाचार पनि नलेखेको टिप्पणी उनले गरे ।

लुम्बिनीमा विश्वकै ठूलो थान्का प्रदर्शनी हुने

लुम्बिनी, ८ मङ्सिर । विश्व शान्तिको उद्गमस्थल लुम्बिनीमा विश्वकै सबैभन्दा ठूलो थान्का प्रदर्शनी हुने भएको छ । नेपाल र जापानबीच कुटनीतिक सम्बन्धको ६० वर्ष पूरा भएको अवसरमा रुपन्देहीस्थित नेपाल बौद्ध महासङ्घले लुम्बिनीमा मङ्सिर १० र ११ गते विश्वकै ठूलो भनिएको ५० मिटर चौडाइ र ७० मिटर लम्वाइको थान्का प्रदर्शनी गर्न लागेको हो । महासङ्घले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वमा मैत्री, करुणा र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको सबैभन्दा ठूलो थान्का तथा बुद्धको जन्मदेखि महापरिनिर्माणसम्मको सजिव चित्रण प्रदर्शनीमा रहने जनाइएको हो । साझा शान्तिको प्रतिक मानिएको सो थान्का जापानको योकाहा, हिरोसिमामा सन् २००२, २००५मा नागोया डोममा, २००३ मा भारतको नयाँदिल्लीमा, २००४ मा मङ्गोलियामा र सन् २०१२ अक्टुबर ५ र ६ मा राजधानी काठमाडौँमा प्रदर्शनीमा राखिएको प्रदर्शनी व्यवस्थापन समितिका संयोजक इन्द्रबहादुर गुरुङले जानकारी दिए । रासस

वैदेशिक आम्दानी अनुत्पादन क्षेत्रमा खर्च

पाल्पा, ८ मङ्सिर । विदेशमा पसिना बगाएर कमाएको धन यतिखेर अनुत्पादन क्षेत्रमा खर्चिने क्रम बढ्दै गएको छ । श्रीमान् विदेश गएपछि श्रीमती बालबच्चासहित सहरको डेरामा बस्न थालेपछि अनावश्यक रुपमा खर्च बढेको हो । कसेनीको सराइ बजारमा डेरामा बस्दै आएकी पार्वती थापा श्रीमान्ले पठाएको रकम बचत हुन नसकेको बताउछिन् । “गाउँको घर जग्गा छोडेर डेरामा बसेपछि दिनहुँ अनावश्यक क्षेत्रमा खर्च भइरहेको छ,” उनले भनिन्– “समय सापेक्ष कपडा लाउनै प¥यो, टेलिभिजन हेर्नैप¥यो, श्रीमान् विदेश गएपछि राम्रो मोबाइल पनि चाहियो नै ।” छोराछोरीलाई बोर्डिङमा पढाउँदा श्रीमान्ले ्पठाएको मासिक ३० हजार रुपैयाँ रकमले घरव्यवहार चलाउन मुस्किल हुने गरेको उनको भनाइ छ । श्रीमान् विदेशीएपछि दुई वर्षको बच्चा बोकेर सहलकोटदेखि रामपुर झरेकी खेमकुमारी चिदी पनि दश वर्षको अवधिमा घडेरीबाहेक अरु केही सामान जोड्न नसकेको बताउछिन् । विदेशबाट पठाएको रकम घरखर्च, लत्ताकपडा, घरभाडा, मोबाइल खर्चलगायत गरेर करिब २० हजार रुपैयाँ मासिक रुपमा खर्च हुने गरेको छ । एउटा तथ्याङ्कअनुसार जिल्लामा यतिखेर विदेशबाट दैनिक रुपमा ५० लाखभन्दा बढी रकम भित्रिने गरेको छ । तर उत्पादनमूलक कार्यमा भने न्यून रकम लगानी हुन्छ । वैदेशिक आम्दानी घर घडेरी, घरायसी खर्च, विलासिताका सामग्री खरिदमा मात्र सीमित बनेको छ । रासस

अर्बौको सम्पती व्यस्थापन गर्न नसक्दा निरन्तर घाटामा तारागाँउ, पाँचतारे होटलसहितको लगानी बालुवामा पानी

काठमाडौं ८, मंसिर । सरकारी स्वामित्वका तारागाउँ विकास समितिसँग अर्बौ रुपैयाँको सम्पती भएपनि विगत १५ वर्षदेखि निरन्तर घाटामा रहेको छ । यो कम्पनी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको विकास समिति हो । पोखरा, ककनी र नगरकोटमा गरी तीन वटा होटल तथा रिसोर्ट संचालनमा रहेका यो कम्पनीले पाँचतारे होटल ह्यात रिजेन्सीमा ३९ प्रतिशत सेयर हाल्नुका साथै ३०५ रोपनी जग्गा सोही होटललाई भाडामासमेत दिएको छ । तर, विकास समितिले आफ्नै अर्बौको सम्पती व्यवस्थापन गर्न नसक्दा विगत १५ वर्षदेखि निरन्तर घाटामा रहेको छ भने पाँचतारे होटलमा गरिएको ३९ प्रतिशत लगानी पनि १० प्रतिशतमा झरेको छ । ह्यात होटललाई दिएको ३०५ रोपनी जग्गाबाट पनि भाडा उठाउन नसक्दा समिति सम्पती व्यवस्थापन गर्न नसक्दा वर्षेनी सरकारी बजेटबाट संचालन हुनुपर्ने अवस्थामा पुगेको छ । तारागाँउले संचालन गरेका तीन वटा रिसोर्ट र पाँचतारे होटलमा गरेको लगानी बालुवामा पानी सरह हुन पुगको छ । तारागाँउ विकास समितिले पर्यटन मन्त्रालयमा बुझाएको एक प्रतिवेदनमा समितिबाट संचालित होटल निरन्तर घाटामा गएको उल्लेख छ । तारा गाउँ विकास समितिबाट संचालित रिसोर्ट होटलको अध्ययन गर्न गठित नारद लुँइटलको अध्यक्षताको एक कार्यदलले सरकारलाई बुझाएको एक प्रतिवेदनमा समितिले व्यवस्थापन गर्नै नसकेका कारण निरन्तर घाटामा गएको उल्लेख छ । समितिले तयार पारेको एक प्रतिवेदन अनुसार यसका होटल संञ्चालनको लागि आवश्यक प्रशासनिक तथा कर्मचारीको तलव भत्तावापतको खर्च नै धान्न गाह्रो भएको उल्लेख छ । होटल निरन्तर घाटामा गएकोले निजी क्षेत्रलाई भाडामा लगाउने तयारी भइरहेको भएपनि सरकारी संस्था भएको र पर्यटन मन्त्रालयकै सहमति आवश्यक भएकोले प्रक्रियामा नै अल्झिएको पनि उल्लेख छ । समितिले तीन दशकदेखी नै सञ्चालन गर्दे आएको ककनी, नगरकोट र पोखराको तारागाँउ होटल रिसोर्ट १५ वर्षदेखि निरन्तर घाटा गएको उल्लेख छ । समितिसँग अर्बौको सम्पती भएको र पाँचतारे होटललाई दिएको भाडा पनि उठाउन नसक्दा समितिले वर्षेनी १० लाख भन्दा बढी रकम सरकारबाट अनुदानमा लिने गरेको छ । समितिले हरेक वर्ष पर्यटन मन्त्रालयबाट यस्तो बजेट दैनिक प्रशासनिक खर्च सञ्चालनका नाममा लिने गरेको उल्लेख छ । समितिले वर्षेनी ५० लाख रुपैयाँको बजेट पर्यटनसमक्ष माग गर्दै आएको पनि उल्लेख छ । तारागाँउ विकास समिति अन्तर्गत ५३ जना कर्मचारी कार्यरत रहेका छन् । ती कर्मचारीको तलब भत्ता तथा बीमा शुल्क वापत रू. ८ लाख ५० हजार र घरभाडावापत रू. ७ लाख ३७ हजार मासिक रूपमा खर्च हुँदै आएको समितिले जानकारी दिएको छ । वार्षिक कूल १ करोड भन्दा बढि रकम समिति सञ्चालनका लागि लाग्ने भएपनि यसले आफ्नो आन्तरिक स्रोतको परिचालन गर्ने र आथिर्क उपार्जनमा प्रयोग गर्न मन्त्रालयको स्वीकृती नपाउँदा आधा रकम नपुगेको गुनासो गर्ने गरेको पनि उल्लेख छ । राजधानीको पाँचतारे होटल ह्यात रिजेन्सीमा १० प्रतिशत शेयर रहेको यस समितिले सो होटलबाट समेत आर्थिक लाभ लिन नसकेको बताएको छ । पछिल्लो समय ग्रामिण पर्यटन प्रवद्र्धनको क्षेत्रमासमेत केन्द्रित यसलाई मन्त्रालयले ठोस कामको जिम्मेवारी दिन नसक्दा आर्थिक अभाव भएको गुनासो समितिको छ । यसले तारागाँउको नाममा रहेको सम्पती भोगचलन गर्न पाउँने एक स्वयत्त संस्था भएपनि मन्त्रालयको अनुमति भने लिनुपर्छ । समितिको प्रतिवेदनमा विकास समिति र यसका होटल घाटामा जानुको कारण पूर्वाधारको कमी, निजी क्षेत्रसँग प्रतिस्पर्धा नहुनु, सरकारी प्रोत्साहन नभएको, जनशक्तिको अभाव र नयाँ प्रविधिको प्रयोगमा कमीसहतिका कारण प्रतिवेदनमा उल्लेख छ ।

हिरोले ल्यायो आईथ्रीएस प्रविधिका तीन नयाँ बाइक

काठमाडौं, ६ मंसिर । हिरोले एकैपटक तीनवटा बाइकलाई नयाँ भर्सनमा ल्याएको छ । हिरो मोटरकर्प लिमिटेडले स्प्लेण्डर आइस्मार्ट ११० सीसी, न्यू अभिचर १५० सीसी र नयाँ सुपर स्प्लेण्डर १२५ सीसीको नयाँ भर्सनलाई नेपाली बजारमा ल्याएको हो । हिरोको आधिकारिक विक्रेता नेपाल जनरल मार्के्टिङले सोमबार काठमाडौंमा सार्वजनिक गरेका तीन वटै बाइकका यसअघिका अडिसन नेपाली बजारमा लोकप्रिय भइसकेका थिए । कम्पनीले नेपालमा अपग्रेड गरेर भित्र्याएको तीन वटै मोटरसाइकल आईथ्रीएस प्रविधिमा छन् । कम्पनीका प्रतिनिधिहरुले बाइकहरु अनावरण गर्दै भरपर्दो, उर्जायुक्त र प्रभावकारी उत्पादनहरु नेपाली बजारमा ल्याएको बताए । कम्पनीले केही महिना अगाडि मात्रै डुएट स्कुटर बजारमा ल्याएको थियो । कम्पनीले बजारमा ल्याएको स्प्लेण्ड आइस्मार्ट ११० सीसीको मोटरसाइकल भारतको जयपुरमै डिजाइन भएको हो । सबै बाइकमा ९ पटकको फ्रि सर्भिस र ५ वर्षको वारेन्टी दिइएको छ ।