विकासन्युज

रामदेवले नेपालमा १० हजारलाई रोजगारी दिने, पतंजलिले नेपालमा अर्बौ लगानी गर्दै

काठमाडौं ८, मंसिर । बाबा रामदेवले १० हजार नेपालीलाई रोजगारी दिने बताएका छन् । उनले पतंजलि आयुर्वेद प्रालि मार्फत उक्त संख्यामा रोजगारी दिने प्रतिवद्धता जनाएका हुन् । ‘पतंजलि आयुर्वेद मार्फत नेपालमा करिब डेढ अर्ब लगानी छ । एक हजारले सिधै रोजगारी पाएका छन् । अब लगानी बढाएर ५ अर्ब पुर्‍याउने योजना छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा रामदेवले भने, ‘लगानी बढेपनि रोजगारीको संख्या १० हजार पुग्ने छ ।’ उनका अनुसार भारतबाट वार्षिक करिब एक अर्ब रुपैयाँको आयुर्वेद औषधि आयात हुन्छ । सर्वसाधरणलाई सहज उपलब्ध गराउन अब नेपालमै उत्पादन गरिने उनले बताए । सस्तो मूल्यमा उपलब्ध गराउन पतंजलि आयुर्वेदको उत्पादन युनिट वीरगन्जमा स्थापना गरेको उनले बताए । उक्त युनिटको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने उनले बताए । ‘अर्गानिक वस्तुको उत्पादन तथा जडिबुटीको प्रयोगबाट आयुर्वेद औषधि निमार्ण गर्ने उद्देश्यले भारतपछि पहिलोपटक वीरगन्जमा उत्पादन युनिट स्थापना गरेका छौं । त्यसको उदघाटन मंसिर ९ गते आयुर्वेद शिरोमणि आचार्य बालकृष्णको उपस्थितीमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ,’ उनले भने, ‘युनिटबाट भएको नाफा नेपालकै सेवामा बिस्तार गर्नेछौ ।’ नेपाललाई आर्थिक दृष्टिले सम्बृद्ध बनाउन पतंजलि योगपिठ अघि बढाइएको जनाएको छ । वार्षिक एक हजार करोड रुपैयाँको उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । ‘प्राकृतिक उत्पादन, घरायसी प्रयोग र पेय प्रदार्थ सहित सबै क्षेत्रमा पतंजतिले हात हालेको जनाएको छ । पतंजलिले आफ्नो ५ सय वटा उत्पादन रहेको जनाएको छ । कान्तिपुर दैनिकबाट ।

योग्य चिकित्सक विदेश पलायन, भएका चिकित्सक पनि आकर्षक सेवा सुविधाका कारण निजीतर्फ

काठमाडौं ८, मंसिर । विशेषज्ञता हासिल गरेका विभिन्न समूहका चिकित्सकको अभाव हुँदै गएको छ । यसले गर्दा विशेषज्ञता हासिल गरेका चिकित्सकहरू नेपालमा भन्दा विदेशमा अवसर देखेर उतै पलायन हुने गरेका छन् । स्वास्थ्य मन्त्रालयले विभिन्न सरकारी अस्पतालमा रिक्त रहेका दरबन्दी (नवौँ तह)मा दरखास्त आह्वान गर्दा कुनै समूहमा दरखास्त नै परेका छैनन् भने कुनै समूहमा माग गरेको भन्दा अत्यन्त न्यून सङ्ख्यामा विशेषज्ञता हासिल गरेका चिकित्सकहरूले जागिरका लागि निवेदन दिएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा। सेनेन्द्रराज उप्रेतीले नेपालमा विशेषज्ञता हासिल गरेका चिकित्सकहरू विदेशिएकै कारण मन्त्रालयले माग गरेको चिकित्सकमा दरखास्त नपरेको बताए। नेपालमा बाहिर अवसर देख्छन्”, सचिव डा. उप्रेतीले भने, “त्यसकारण विशेषज्ञता हासिल गर्ने चिकित्सकहरू नेपालमा पाउन मुस्किल भएको हो ।  “नेपालमा बाँकी रहेका विशेषज्ञता हासिल गरेका चिकित्सकहरू पनि निजी अस्पतालहरूले तानेका छन्”, डा.उप्रेतीले भने, “निजी अस्पतालले चारपाँच लाख रुपियाँ दिएर राखेका हुन्छन्, त्यसैले उनीहरू सरकारी सेवामा आउन नचाहनु स्वाभाविक हो । ” स्वास्थ्य मन्त्रालयले जम्मा ४० हजार रुपियाँ तलब दिने गरेको स्वास्थ्य सचिव डा. उप्रेतीले बताए। मन्त्रालयले कात्तिकमा नवौँ तहका लागि विभिन्न समूहमा विशेषज्ञता हासिल गरेका चिकित्सक माग गरेको थियो । स्वास्थ्य सचिव उप्रेतीले नेपालबाट अवसरको खोजी गर्दै विदेशिने चिकित्सकको सङ्ख्या हजारौँको सङ्ख्यामा रहेको जानकारी पनि दिए। यसैगरी निजी मेडिकल कलेजका सञ्चालक डा। ज्ञानेन्द्रमान सिंह कार्कीले डा। केसीको आन्दोलनले डीएम, एमसीएचजस्ता विशेषज्ञ अध्ययन हटाइएको तथा पीजी ९पोस्ट ग्य्राजुएसन०को सङ्ख्यामा कटौती गरेका कारण विशेषज्ञ चिकित्सकहरूको अभाव भएको जानकारी दिए। कार्कीले सरकारी सेवामा एमबीबीएस गरेका चिकित्सकहरू पनि टिक्न नसक्ने बताए। मागभन्दा उत्पादन कम र भएका चिकित्सक विदेशिएका कारण विशेषज्ञता हासिल गरेका चिकित्सकको अभाव हुन गएको डा. कार्कीको भनाइ छ । स्वास्थ्य मन्त्रालयले रिक्त रहेका दरबन्दीमा तत्काल करार सेवामा पदपूर्ति गर्न भन्दै दरखास्त माग गरेकोमा केही समूहमा दरखास्त नै परेन । यसले नेपालमा विशेषज्ञता हासिल गरेका चिकित्सकको अभाव भएको देखाएको छ । मन्त्रालयले १५० जना विशेषज्ञ चिकित्सक माग गरेकोमा हालसम्म १२७ जनाले मात्रै दरखास्त दिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले २५ जना कन्सलटेन्ट मेडिकल जनरलिस्ट माग गरेकोमा एकजनाले पनि दरखास्त दिएका छैनन् । यस्तै कन्सलटेन्ट डर्माटोलोजिस्टमा सात जना माग भएकोमा चार जनाले मात्र दरखास्त दिएका छन् । फिजिसियनमा १२ जना माग भएकोमा आठ जनाले मात्र निवेदन दिएका छन् । मन्त्रालयले कन्सलटेन्ट रेडियोलोजिस्टमा २० जना चिकित्सक माग गरेकोमा १५ जनाले मात्र निवेदन दिएका छन् । यसैगरी प्याथोलोजिस्टमा आठ जना माग भएकोमा पाँचजनाको मात्र दरखास्त परेको छ । यस्तै ईएनटी सर्जनमा आठ जना माग भएकोमा आठ जनाले निवेदन दिएका छन् । अब्स एन्ड गाइनोमा १७ जना माग भएकोमा १९, डेन्टल सर्जन पाँच जनामा १२ चिकित्सकले निवेदन दिएका छन् । सर्जन १० मा १२, अर्थोपेडिक सर्जन आठ जना माग भएकोमा १३, पेडियाट्रिसियन १६ मा २६ जनाले मात्र निवेदन दिएका छन् । गोरखापत्र दैनिकबाट ।

सरकारी भवनले लिँदैनन् भवन निर्माण स्वीकृति सिंहदरबार भित्रकै भवन विना अनुमति निर्माण

काठमाडौं ८, मंसिर । कुनै पनि निकायले बिनाअनुमति भवन निर्माण गर्न नपाइने व्यवस्थाविपरीत सरकारी निकायले नै धमाधन भवन निर्माण गरेको पाइएको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रका विभिन्न मन्त्रालयदेखि कार्यालयसम्म र सुरक्षा निकाय, सरकारी अस्पताल, शैक्षिक संस्थानदेखि विभिन्न सरकारी निकायले स्वीकृतिबिना नै धमाधम भवन निर्माण गरिरहेका छन् । सिंहदरबारभित्र विभिन्न मन्त्रालय तथा कार्यालय भवन निर्माणाधीन भए पनि हालसम्म एउटाले पनि निर्माण स्वीकृति नलिएको महानगरले जनाएको छ । भवन निर्माणका लागि दरखास्त दिँदा सरकारी निकायले राष्ट्रिय सुरक्षाको दृष्टिले भवनको नक्सा पेश गर्न नमिल्ने भएका दरखास्तमा भवन लम्बाई, चौडाइ र उचाइ तला तथा जम्मा क्षेत्रफल उल्लेख गर्नुपर्ने ऐनमा व्यवस्था छ । कारोबार दैनिकबाट ।

सामसुङको दाबी – ‘ग्यालेक्सी एस सेभेन सुरक्षित छ’, अब पड्किदैन

काठमाडौं, ७ मंसिर। सामसुङले उसको पछिल्लो स्मार्टफोन उत्पादन ग्यालेक्सी एस सेभेन सुरक्षित रहेको जनाएको छ। सामसुङले एक विज्ञप्ति निकाल्दै ग्यालेक्सी एस सेभेन सिरिजका स्मार्टफोन पूर्णरुपमा सुरक्षित रहेको दाबी गरेको हो। ब्याट्रीको समस्याका कारण ग्यालेक्सी नोट सेभेन उत्पादन बन्द गर्नुपर्दा करोडौँ डलर घाटा बेहोरेको सामसुङले अहिले आफ्नो ध्यान एस सेभेनमा केन्द्रित गरेको जनाएको छ। विज्ञप्तीमा ग्यालेक्सी एस सेभेन सिरिजको गुणस्तर तथा सुरक्षाका लागि सामसुङ पूर्ण रुपमा प्रतिबद्ध छ । अमेरिकामा करीब १ करोड प्रयोगकर्ताले ग्यालेक्सी एस सेभेन सिरिजका स्मार्टफोन प्रयोग गरिरहेका छन् र आन्तरिक रुपमा ब्याट्री फेल भएको भन्ने कुनैपनि पुष्ट खबर अहिलेसम्म आएको छैन । बाहिरी कारणले स्मार्टफोनमा नोक्सानी भएका केही घटना बाहिर आएका छन् । जबसम्म सामसुङलाई त्यस्ता कुनैपनि डिभाइस प्राप्त हुँदैनन् र त्यसको जाँच हुँदैन तबसम्म यस्ता प्रकारका घटनाको सत्यता बुझ्नु असम्भव हुन्छ । अाफ्नो ब्राण्ड इमेजमा परेको नोक्सानीलाई परिपूर्ति गर्नका लागि एस सेभेन पूर्ण रुपमा सुरक्षित रहेको विषयमा उपभोक्तालाई विश्वस्त गराउन भरमजदुर काम गरिरहेको कम्पनीले जनाएको छ। नोट सेभेनको उत्पादन बन्दसँगै सामसुङले ग्यालेक्सी एस सेभेन र एस सेभेन एज स्मार्टफोनका विज्ञापनमा जोड दिएर आर्थिक नोक्सानीबाट समेत माथि उत्रने कोसिस गरिरहेको छ । सामसुङ आफ्ना ग्राहकको विश्वास जित्नका लागि हरसम्भव कोसिस गरिरहेको छ । आगामी सिजन उसले एस सेभेन स्मार्टफोनको बिक्रि अझै बढाउने कोसिस गर्नेछ ।

जर्मन चान्सलर एन्जेला मर्केलले चौथो कार्यकालका लागि उम्मेदवारी दिने

बर्लिन (जर्मनी) ७, मंसिर। जर्मन चान्सलर एन्जेला मर्केलले आगामी कार्यकालका लागिसमेत उम्मेदवारी दिने सम्भावना रहेको उनको दल क्रिस्चियन डेमोक्रेट्स युनियन (सीडीयू) ले जनाएको छ। बेलायतमा बेलायतको युरोपियन युनियबाट बहिर्गमन चाहने समूह र अमेरिकामा रिपब्लिकन पार्टीका नेताको हालैका विजयबाट पाठ सिक्दै जर्मनीमा स्थिरताका लागि मर्केलको दलले उहाँलाई नै उम्मेदवारी दिने सम्बन्धमा सहमत हुन लागेको सीडीयूका उपनेता जुलिया क्लोएकनरले बताए। मर्केलले यसै विषयमा आइतबार साँझ ६ बजे पत्रकार सम्मेलन गरी यहीँबाट आफ्नो अर्को कार्यकालका लागि इच्छा प्रकट गरेकी छिन्। बैसठ्ठी वर्षीया मर्केलले सन् २००५ देखि जर्मन चान्सलरका रुपमा काम गर्दै आएकी छिन्। जर्मनीलाई युरोपको केही उच्च आर्थिक शक्ति केन्द्रमध्ये एक मुलुकका रुपमा लिइने गरिन्छ। यदि सन् २०१७ मा पनि मर्केलले विजय हासिल गरेर चार वर्षको पूरै कार्यकाल सम्पन्न गरेमा उनी नै जर्मनीको इतिहासमा युद्धपछि १६ वर्ष लामो कार्यकाल सम्हाल्ने हेलमट कोलजस्तै सफल व्यक्तित्व बन्नेछिन्। कम्युनिस्ट राजनीतिक पृष्ठभूमि भएको पूर्व पूर्वी जर्मनीबाट प्रतिनिधित्व गर्नुहुने एकीकृत जर्मनीका उनी उच्च पदस्थ अधिकारी हुन्।

औद्योगिक व्यवसाय विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

 काठमाडौं, ७ मंसिर। राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक व्यवसाय विधेयक २०७३ प्रमाणिकरण गरेकी छन् । सो विधेयक गत असोज १३ गतेको संसद बैठकबाट पारित भएको थियो । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिए । राष्ट्रपतिले प्रमाणिकरण गरेपछि विधेयकले औपचारिक रुपमा कानुनको रुप लिन्छ ।

आइटी पार्क सञ्चालनको माग, क्यानले भन्यो- ‘हामी चलाउँछौं’

काठमाडौं,७ मंसिर। काभ्रेको बनेपामा निस्क्रिय रहेको आइटी पार्क सञ्चालनका लागि सरोकारवालाहरुले पुनः माग गरेका छन्। पार्कको बनोटको जिम्मेवारी र प्रकृति अनुसार काम नभएको भन्दै पार्क पुन सञ्चालनका लागि माग उठेको हो। कम्प्युटर एसोसियसन अफ नेपाल महासङ्घ काभ्रेको १२ औँ वार्षिक साधारणसभामा यस्तो माग उठेको हो। कम्प्युटर एसोसियसन नेपालका अध्यक्ष विनोद ढकालले आइटी पार्क जुन प्रयोजनका लागि स्थापना भएको हो त्यसको लागि मात्रै प्रयोगमा आउनुपर्ने बताएका छन्। आइटी पार्क केयु वा कुनै संस्थालाई सञ्चालन गर्न दिनु महासङ्घका लागि मान्य नहुने उनको भनाइ थियो। सरकारले आइटी पार्क सञ्चालन गर्न सक्दैन भने त्यसको जिम्मेवारी क्यान महासङ्घले लिन तयार भएको भन्दै अध्यक्ष ढकालले आइटी पार्कको भौतिक पूर्वाधारदेखि सबै काम प्रभावकारी ढङ्गले सञ्चालन गरिने तर्क गरे। सांसद कञ्चनचन्द्र वादेले सरकारले स्मार्ट सिटीका रुपमा व्याख्या गरे पनि बजेट दिन नसकेको आरोप लगाउँदै धुलिखेल, बनेपा र पनौतीलाई बजेट भए मोडेलको रुपमा विकास गर्न सकिने बताए।

मंगलबार २४ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौ, ७ मंसिर । मंगलबार सेयर बजार परिसुचक (नेप्से) २३.८२ अंकले ओरालो लागेको छ । उतारचढावका विच सोमबार बजार बन्द हुदा नेप्से झिनो अंकले सुधार भएको थियो । बजार गत हप्ताको सुरुदेखि नै घट्न थालेको थियो ।   मंगलबार पनि बजारमा उतारचढाव भने कायमै रह्यो । यसबाट के प्रष्ट हुन्छ भने लगानीकर्ताहरुको मनोवल अस्थिर रहेको छ, बजार विश्लेषक हरीवोल काफ्ले भन्छन् —ठूला लगानीकर्ताहरु बजार अझै तल जाला र सेयर उठाउँला भनेर बसेका कारण पनि बजार ओरालो गतिमा लागेको हो । यसदिन कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार ९२ करोडको कारोबार भएको बजारमा मंगलबा ८२ करोड ८२ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।  मंगलबार बैकिङ २२.३५ अंकले, विकास बैक २४.६३ अंकले, जलविद्युत ३३. अंकले, फाइनान्स १३.७८ अंकले, विमा समूह १२४.१५ अंकले, होटल ६६.३५ अंकले र अन्य समुह ९.८४ अंकले ओरालो लागेको छ । मंगलबार पनि लगानीकर्ताको आकर्षण सबैभन्दा बढी एभरेष्ट बैकमै देखिएको छ । सो बैंकको सवैभन्दा बढी ९ करोड १३ लाख रुपैयाँको कारोबार भयो । त्यस्तै बढी कारोबार हुने कम्पनीहरुमा नेशनल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, बैक अफ काठमाडांै लुम्विनी, सिद्धार्थ बैक लगायतका कम्पनीहरु रहेका छन् । यसदिन गुमाउनेहरुमा रिलाइएवल माइक्रोफाइनान्स वित्तिय संस्था, नेपाल ग्रामिन विकास बैंक लगायतका लगानीकर्ताहरुले गुमाएका छन् भने सिर्जना माइक्रोफाइनान्स, युनियन फाइनान्सका लगानीकर्ताहरु रहेका छन् ।