प्रभु बैंकको नयाँ शाखा तनहुँको दुलेगौडामा सञ्चालन
काठमाडौं, १२ कात्तिक । प्रभु बैंकले शुक्रबारदेखि आफ्नो नयाँ शाखा तनहु जिल्लाको दुलेगौडामा सञ्चालन गरेको छ । उक्त स्थानमा बैंकले नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको हो । एक समारोहका बिच उक्त शाखा कार्यालयको उद्घाटन एक समारोहका बिच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले गरेका हुन् । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये पोखरा शाखा(साविक ग्राण्ड बैंक नेपाल लि.) कार्यालयलाई दुलेगौडामा स्थानान्तरण गरिएको हो । यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
बर्डफ्लुबाट सतर्क हुन भारतीय सरकारको आह्वान
नयाँ दिल्ली, १० कात्तिक । भारतको सङ्घीय सरकारले स्वास्थ्य सन्देश जारी गरी बर्ड बर्डफ्लुबाट सतर्क हुन आह्वान गरेको छ । बुधबार जारी सन्देशमा पंक्षीहरुसँग सकेसम्म टाढा रहन सवैलाई आग्रह गरिएको छ । मरेका र बिरामी पंक्षीको व्यवस्थापन गर्दा निकै सतर्कता अपनाउन पनि सन्देशमा विषेश जोड दिइएको छ । गतहप्ता मात्रै नयाँ दिल्ली र मध्यप्रदेशको चिडियाखानामा बर्ड फ्ल्युबाट केही चराहरु मरेका थिए । रासस/सिन्ह्वा
अनुगमन टोलीद्धारा एकसय ६० किलो प्रदूषित मिठाइ नष्ट
भक्तपुर, १२ कात्तिक । तिहार नजिकिएपछि जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले अखाद्य वस्तु प्रयोग गरिएका र प्रदूषित देखिएका एकसय ६० किलो मिठाई नष्ट गरेको छ । टोलीले विभिन्न स्थानका मिठाई पसलमा गरेको अनुगमनमा भण्डारण गरी बिक्रीका लागि राखिएको कमिला र झिँगा डुबेका र फाहोर मिठाई भेटिएपछि नष्ट गरेको हो । अनुगमन टोलीले भक्तपुर नगरपालिका– ४ कमलविनायकमा रहेको विनायक मिठाई भण्डारले बिक्रीका लागि भण्डारण गरेको लाल मोहन, रसबरी, रातो चमचम, सेतो चमचमलगायतका मिठाईमा कमिला, झिगा, भुसुना र साङ्लो डुबेको भेटेपछि नष्ट गरेको खाद्य तथा गुणनियन्त्रण विभागका शङ्कर भण्डारीले बताए । उक्त मिठाई भण्डारले आवश्यक न्यूनतम मापदण्डसमेत पूरा नगरेको पाइएको उनको भनाइ थियो । जिल्ला प्रशासनका प्रशासकीय अधिकृत रवीचन्द्र मिश्रले उक्त मिठाई पसलको भान्छामा सिलबन्दी गर्न लागेपछि सञ्चालकले विरोध गरेका थिए । केहीसमय विवाद भएपछि सो टोली सिलबन्दी नगरी फर्किएको थियो । टोलीले कमलविनायकमा रहेको शाक्य मिठाई पसलबाट अखाद्य रङ्ग मिसिएको मिठाई नियन्त्रणमा लिएर नष्ट गरेको छ । कमलविनायकमै रहेको काफ्ले मिठाई भण्डार र सूर्यविनायकमा रहेको लक्ष्मी मिठाई भण्डारमा अनुगमनको क्रममा मूल्यसूची नभएको, आन्तरिक राजस्व कार्यालयमा दर्ता नभएको, नाप तौलका उपकरण प्रमाणीकरण नगरेको पाएपछि ती पसलका व्यापारीलाई सचेत गराएको छ । बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय, र खाद्य तथा गुण नियन्त्रण विभागका कर्मचारी प्रहरी, स्थानीय उपभोक्ता, अधिकावादी एवम् सञ्चारकर्मीको सहभागिता थियो । रासस
प्रभु इन्स्योरेन्सको १७ प्रतिशत बोनस पास, ५० प्रतिशत हकप्रद सेयर निष्काशन हुने
काठमाडौं, १२ कात्तिक । प्रभु इन्स्योरेन्स लिमिटेडको सेयरधनीलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस दिने निर्णय पास भएको छ । शुक्रबार सम्पन्न बैंकको २१औँ वार्षिक साधारणासभाले बोनस पश्चात ५० प्रतिशत (२ः१) हकप्रद शेयर निष्काशन गर्ने बैंक सञ्चालक समितिको प्रस्ताव समेत पारित गरेको छ । साथै उक्त सभाले गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन पनि पास गरेको छ । बोनस तथा हकप्रद शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ५७ करोड ७५ लाख ५२ हजार रुपैयाँ हुनेछ । कम्पनीले आर्थिक वर्षमा १४ करोड ९३ लाख २ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले आर्थिक वर्ष ०७२/०७३ मा ७६ करोड १७ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । साथै चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सम्ममा २४ करोड २७ लाख ५५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १० दशमलब ३० प्रतिशत बृद्धि भएको छ । कम्पनीले बिगत वर्षदेखिनै मुलुकका दुर्गम जिल्लाहरुमा कृषि शाखाहरुको स्थापना गरि बीमा सेवा विस्तार गरेको छ ।हाल मुलुकभर कम्पनीका केन्द्रिय कार्यालय सहित १९ शाखा तथा उपशाखाहरु संचालनमा रहेका छन् । आगामी दिनमा कम्पनीको सेवा विस्तारको लागि आवश्यक क्षेत्र पहिचान गरि शाखा बिस्तार गर्ने तथा कम्पनीलाई आवश्यकता अनुसार अझ बढी आधुनिकिकरण गर्दै लैजाने कम्पनीको योजना रहेको छ । भविष्यमा आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा दिने तथा शेयरधनी महानुभावहरुलाई अधिकतम प्रतिफल दिने लक्ष्य लिएको छ ।
एनएमबी बैंकको सिइओ पाैडेलकाे कार्यकाल चार महिना थप, चैतदेखि लागू हुने गरी केसी नियुक्त
उपेन्द्र पाैडेल काठमाडौं, १२ कात्तिक । एनएमबी बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पाैडेलकाे कार्यकाल करिब चार महिना अवधिकाे लागि थप गरेकाे छ । उनकाे कार्यकाल मंसिर ८ गते सकिदै थियाे । विहीबार बसेकाे बैंक सञ्चालक समिति बैठकले पौडेलको कार्यकाल फागुन मसान्तसम्म थप गरेकाे हाे। साथै बैंकले अागामी चैत १ गतेदेखि लागू हुने गरी सुनिल केसीलाई प्रमुख कार्यकारी अधिकृत(सिइओ) नियुक्त गरेको छ । केसी हाल बैंकको डेपुटी सिइओ पदमा कार्यरत छन् । पौडेलले विगत १७ वर्षदेखि एनएमबीको प्रमुख कार्यकारी अधिकृतका रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् । मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका रुपमा स्थापना भएको एनएमबी उनकै नेतृत्वमा बाणिज्य बैंकमा स्तरोन्नति भएको थियाे । अाफ्नाे कार्यकालमा सन्ताेषजनक काम भएकाे पाैडेलले बताए । अाफ्नै नेतृत्वमा प्राविधिक रूपमा बैंककाे चुक्ता पूँजी ८ अर्ब रूपैयाँ हुने हुनले बताए । शुरू भएका केही काम सम्पन्न हुने क्रममा रहेकाेले र ती कार्य सम्पन्न गर्न सजिलाेकाे लागि बैंकले थाेरै समय थप गरेकाे उनले बताए। पाैडेल हाल नेपाल बैकर्स संघकाे अध्यक्ष समेत छन् । अागामी मंसिर पहिलाे साता हुन लागेकाे संघकाे साधारणासभाले नयाँ नेतृत्व चयन गर्दैछ । सुनिल केसी को हुन केसी ? केसीले सन १९९० मा स्ट्याण्डर्ड चाटर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए । त्यसपछि उनी एक वर्ष तत्कालिन एनआइसी बैंकमा आवद्ध भए । त्यसको केहि समयपछि नै केसी पुनः स्ट्याण्डर्ड चाटर्ड बैंकमै फर्किए । दुई पटक गरेर उनले स्ट्याण्डर्ड चाटर्ड बैंकमा १८ बर्ष काम गरेका थिए । एनएमबी बैंकमा भने उनी ८ वर्ष अघि डिजिएमका रुपमा प्रवेश गरेका थिए र जीएम हुँदै हाल डेपुटी सिईओका रुपमा काम गरिरहेका छन् । केसीले भारतबाट एमबीए गरेका छन् । बैंकभित्र ट्रेजरी, कर्पाेरेट बैकिङ, फाइनान्स, अपरेशन लगायत क्षेत्रमा बढी काम गरेकाे अनुभव उनीसँग छ ।
छिमेक लघुवित्तले ५२ प्रतिशत लाभांश दिने
काठमाडौं, १२ कात्तिक । छिमेक लघुवित्त विकास बैंकले सेयरधनीलाई ५२ दशमलब ७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ४० प्रतिशत बोनस र १२ दशमलब ७ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको बिहीबार बसेको १८३औँ बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई बीमा समिति तथा कम्पनीको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्नेछ ।
एनबी इन्स्योरेन्सले एकै दिन खोल्यो तीन वटा नयाँ शाखा, सेयर लिलामीबाट ४ कराेड प्रिमियम अाम्दानी
काठमाडौं, १२ कात्तिक । एनबी इन्स्योरेन्सले एकै दिन उपत्यकामा तीन वटा शाखा विस्तार गरेको छ । तिहारको अवसर पारेर एनबी इन्स्योरेन्सले कलंकी, कोटेश्वर र भक्तपुरको सलाघारीमा नयाँ शाखा सुरु गरेको हो । तीनवटै शाखाहरुको उद्घाटन बीमा समितिका अध्यक्ष डा. भक्त बहादुर केसीले गरेका थिए । तीन वटा नयाँ शाखा थपिएपछि एनबी इन्स्योरेन्सको शाखा संख्या १७ वटा पुगेको छ । शाखाको उद्घाटन कार्यक्रममा प्रा.डा.फत्तबहादुर के.सी.ज्यूले कम्पनीले छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएको बताए । उनले बीमा क्षेत्रको विकास र विस्तार साथै अनुभवी मानव संसाधनको उत्पादन गरेर बीमा क्षेत्रलाई टेवा दिनुका साथै ग्राहकहरुलाई छिटो र छरितो सेवा प्रदान गर्ने तर्फ ध्यान दिन कम्पनीको व्यवस्थापन र संचालक समितिलाई आग्रह गर्नुभयो । त्यसै गरी नेपाल सरकारले अघि सारेको कृर्षि तथा लघु बीमामा पनि आफ्नो सेवा विस्तार गर्न निर्देशन दिए । सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष अम्बिका प्रसाद पौडेलले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए । कम्पनीको शुक्रबार उद्घाटन भएको ३ शाखा सहित १७ वटा शाखा, ५ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने जानकारी दिए । कम्पनीले हालै १० शेयर बराबर ८ शेयरका दरले प्रदान गरेको हकप्रद शेयरको बांकी शेयर बोलकबोल मार्फत रु.४ करोड ५३ लाख शेयर प्रिमियम प्राप्त गरेको जानकारी दिए । हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूंजी रु. २७ करोड पुगेको पनि जानकारी दिंदै निकट भविष्यमा नै कम्पनीले थप शाखा खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै सेवा प्रदान गर्ने जानकारी गराए । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले उद्घाटन भएका तीन शाखा मध्ये कोटोश्वर शाखामा शाखा प्रमुखदेखि तल्लो तहसम्मका सबै कर्मचारीहरु महिला रहेका र उक्त शाखालाई महिला शाखाको रुपमा स्थापना गरिएको जानकारी दिए । कम्पनीमा नयां लगानीकर्ताको रुपमा २०७१ साल माघबाट आई एम ई ग्रुप लगायत विभिन्न उद्योगी, व्यावसायी तथा प्रतिष्ठित व्यत्तित्वहरुको प्रवेशसंगै नयां व्यवस्थापनले कम्पनी संचालन गरे पश्चात भए गरेका कार्यहरुको बारेमा समेत जानकारी गराउंदै आ.ब. २०७२।०७३ मा ३५ करोड बीमा शुल्क आर्जन गरेको साथै करिब ४ करोड खुद नाफा आर्जन गरेको जानकारी गराए ।
एस डेभलपमेन्ट बैंकको २१ औं साधारण सभा, २० प्रतिशत लाभांश पारित
काठमाडौं, १२ कात्तिक । एस डेभलपमेन्ट बैंकको २१ औं बार्षिक साधारण सभाले २० दशमलब २५ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको छ । बैंकका अध्यक्ष राजीव राजभण्डारीको अध्यक्षतामा शुक्रबार सम्पन्न साधारण सभाले सञ्चालक समितिले अघि सारेको २० करोड २५ लाख ८१ हजार ४ सय रुपैंयाँ बराबरको बोनस सेयर दिने निर्णय पारित गरेको हो । अघिल्लो आर्थिक बर्षको नाफाबाट यस्तो बोनस सेयर वितरण गर्न लागिएको हो । साधारण सभाले आगामी कार्याकालका लागि पाँच सदस्यिय सञ्चालक समिति पनि चयन गरेको छ । जसमा योगेन्द्र बहादुर शाक्य, राजिव राजभण्डारी, राजेन्द्र प्रसाद दाहाल संस्थापक समुह चयन भएका छन् । त्यस्तै, बिनोद रत्न तुलाधर र केशब बोहरा साधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा चयन भएका हुन् । संस्थाक समुहका सञ्चालक सबै अघिल्लो कार्यकालकै दोहोरिएका हुन् । बैंकले १२ वटा शाखा र एउटा एक्सटेन्सन काउण्टरबाट सेवा प्रदान गरिरहेको छ । गत साउन २१ गते नेपाल इन्भेष्टमेन्ट बैंकसँग अक्वायरमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको बैंकले नेपाल राष्ट्र बैंकको सैद्धान्तिक सहमति पर्खिरहेको बताएको छ ।