विकासन्युज

बेष्ट रेमिट र रामारोशन माईक्रोफाईनान्स बीच रेमिट्यान्स सम्झौता

काठमाडौं, ८ कात्तिक । बेष्ट रेमिट नेपाल र रामारोशन माईक्रोफाईनान्स बीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा बेष्ट रेमिटको तर्फबाट बजार ब्यवस्थापक तथा संचालन प्रबन्धक प्रदिप श्रेष्ठ र रामारोशन माईक्रोफाईनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बखत बहादुर बतालाले हस्ताक्षर गरेका छन् । यो सम्झौता सँगै अब विश्वका विभिन्न मुलुकबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स अछाम, डडेलधुरा, डोटी, बझाङ, बाजुरा, कैलाली, जुम्ला, कालिकोट, सुर्खेत र दैलेख स्थित रहेका शाखा कार्यालयबाट भुक्तानी लिन सकिनेछ । यस्तै बेष्ट रेमिटका श्रेष्ठले सो सम्झौता सँगै अब विदेशबाट पठाएको पैसालाई ग्रामिण भेगका सेवाग्राहीहरुलाई भुक्तानी लिन थप सेवा पुग्ने बताएका छन् । गैर आवासीय नेपालीहरु द्धारा प्रर्वद्धित बेष्ट रेमिटले विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसँग रेमिट्यान्स भुक्तानी सम्वन्धी सम्झौतालाई प्राथमिकता दिदै आएको छ । बेष्ट रेमिटले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग पनि तीव्र रुपमा सम्झौता गरिरहेको जनाएको छ । रामारोशन माईक्रोफाईनान्स सँग भएको सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिट मार्फत पठाएको रकम अब बेस्ट रेमिटका ३५ सय भन्दा बढी एजेण्ट, सब–एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने बेष्ट रेमिटले जनाएको छ ।

तिहारका लागि साठी लाख मूल्य बराबरको माला आयात हुने

काठमाडौँ, ८ कात्तिक । नजिकँदो तिहार पर्वका लागि यस वर्ष भारतबाट ६० लाख रुपैयाँ बराबरको सयपत्री फूलको माला आयात गर्ने योजना छ । गत बर्ष तिहारमा एक लाख ५० हजार रुपैयाँको माला आयात गरेकोमा यस वर्ष दुई लाख माला आयात गर्ने योजना रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । तिहारमा सबैभन्दा बढी फूलको आयात हुने गरेको छ, अध्यक्ष श्रेष्ठले भने — गत वर्ष उपभोक्ताले फूलको प्रतिमाला एक सयदेखि एक २० रुपैयाँ सम्म तिर्नुपरेकोमा यो वर्ष बढीमा ८० रुपैयाँ सम्ममा तिर्नुपर्ने हुन्छ । पछिल्लो समय मुलुकले गोदावरी र मखमली फूलमा आत्मनिर्भर भइसकेको छ भने अहिले पनि सयपत्री फूलमा मुलुक आत्मनिर्भर हुन सकेको छैन् । तिहारका वेला हरेक वर्ष भारतबाट सयपत्री फूल आयात गर्नुपर्ने हुन्छ । हरेक वर्ष झन्डै रु डेढ अर्ब मूल्य बराबरको फूलको कारोबार हुने गरेको छ । तिहारमा मात्र मुलुकभर करिब ११ लाख मालाको कारोबार हुने गरेको छ । तीमध्ये नौ लाख माला नेपालमै उत्पादन भएको फूलबाट बनेका हुन्छन् । नेपालमा प्रयोग हुने मालाको ४० प्रतिशत खपत काठमाडौँ उपत्यका नै हुने गरेको एसोसिएसनले जनाएको छ । एसोसिएसनका अनुसार मुलुकभर तिहारमा मात्र झन्डै रु सात करोड मूल्य बराबरको फूलको कारोबार हुने गरेको छ । नेपालमा सन् १९५० बाट सामान्यस्तरमा सुरु भएको पुष्प व्यावसाय सहरीकरणको विकास तथा विस्तारसँगै पुष्प व्यवसाय पनि फस्टाउँदो छ । फूलको माँगमा आएको बृद्धिसंगै यतिखेर काठमाडौँ, ललतिपुर, भक्तपुर, पोखरा, नारायणघाट, हेटौँडा, काभ्रे र विराटनगरलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प फर्म/नर्सरी विस्तार भइसकेको छ । नेपालमा लगभग १४७ हेक्टर क्षेत्रफलमा ४०० प्रजातिका फूल उत्पादन भइरहेको तथा पुष्प व्यावसायवाट ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । रासस

भूकम्पपछिको पदमार्ग पुनःनिर्माणका लागि १५ लाख पाउन्ड सहयोग

काठमाडौं, ८ कात्तिक । संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (डिएफआइडी)ले राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लाई नेपालमा भूकम्पपछिको पुनःनिर्माणका लागि १५ लाख पाउन्ड बराबरको अनुदान सहायता प्रदान गरेको छ । खासगरी भूकम्पबाट भत्केका दुर्गम क्षेत्रमा पदमार्ग र गोरेटोजस्ता महत्वपूर्ण पूर्वाधार पुनःनिर्माण गर्ने नेपाल सरकारको प्रयासलाई सघाउन डब्लुएफपीले उक्त अनुदानको उपयोग गर्ने डब्लुएफपीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भूकम्पबाट अति प्रभावित क्षेत्रका ६ वटा गोरेटो (एक सय २९ किमी) लाई पुनः सञ्चालनमा ल्याउन र थप ६ वटा (एक सय ५८ किमी)को प्राविधिक मूल्याङ्कन सम्पन्न गर्न सो सहायता प्रयोग गरिनेछ । साथै, नयाँ गोरेटोलाई मौसमी पहिरो थेग्ने र भूकम्प प्रतिरोधी हुने गरी निर्माण गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । सो परियोजनाबाट धादिङ, गोर्खा र रसुवाका हिमाली क्षेत्रमा बसोबास गर्ने ५५ हजार एक सय ७५ जना प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वाससमेत लिइएको छ । नेपालको पदमार्ग पुनःनिर्माण कार्यमा डब्लुएफपी धेरै लामो समयदेखि संलग्न रहँदै आएको छ । गत वर्षको भूकम्पपछि करिव आठ सय ८० किमी पदमार्ग पुनः सञ्चालन गरी एक लाख ३० हजार जनसङ्ख्याका लागि पहुँच उपलब्ध गराउने कार्य सम्पन्न भइसकेको छ । “झन्डै १८ महिनाअघिको विध्वंसात्मक भूकम्पमा ग्रामीण नेपालको धेरै ठाउँका गोरेटो र सडकहरु भत्किएका थिए र त्यसको प्रभाव आजसम्म पनि अनुभव गरिएको छ,” डब्लुएफपी नेपाल प्रतिनिधि तथा राष्ट्रिय निर्देशक पिप्पा ब्राडफोर्डले विज्ञप्तिमा भनेका छन् । गोरेटो बाटोको पहुँचले समुदायलाई बजारसम्म पुग्न र सामाजिक सेवा उपभोग गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । रासस

एक्सेल डेभलपमेन्ट बैंकको २५ प्रतिशत बोनस दिने निर्णय राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं, ८ कात्तिक । एक्सेल डेभलपमेन्ट बैंकको २५ प्रतिशत बोनस सेयर दिने निर्णयलाई राष्ट्र बैंकले स्वीकृती दिएको छ । त्यसका साथै बैंकले कर प्रयोजनको लागि राखेको १.३१५७९ प्रतिशत नगद लाभांश दिने निर्णयलाई पनि बैंकले स्वीकृत गरेको छ । बैंकले स्वीकृत गरेको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।

यी हुन् सोमबार गुमाउने १० कम्पनीहरु

काठमाडौं, ८ कात्तिक । सोमबार सेयर बजारमा १३ दशमलब ५० अंकको गिरावट भएको छ । सो दिन परिसूचक दोहोरो अंकले घटेर १७६८ अंकमा पुगेको छ । सोमबार १२५ कम्पनीको १० लाख कित्ता सेयर ९२ करोड ८९ लाख रुपैयाँमा कारोबार भएको छ । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी ललितपुर फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । सो फाइनान्सका लगानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् भने रकमका आधारमा प्रतिकित्ता सेयर १६ रुपैयाँ गुमाएका छन् । सिनर्जी फाइनान्सका लगानीकर्ताले ६ प्रतिशत गुमाएका छन् । उक्त संस्थाको प्रतिकित्ता सेयर करिब १६५ रुपैयाँमा किनबेच भएको छ । त्यस्तै, पोखरा फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ५ प्रतिशतले, सप्तकोशी फाइनान्सको ४.७६, सेवा विकास बैंकको ३.९४ र जबिल्स फाइनान्सको ३.९२ प्रतिशतले घटेको छ । त्यस्तै, लुम्बिनी फाइनान्सका लागानीकर्ताले प्रतिकित्ता सेयर १८ रुपैयाँ, नमस्ते वित्तिय संस्थाले ३० रुपैयाँ, सेती फाइनान्सले २० रुपैयाँ र ज्योती विकास बैंकले १६ रुपैयाँ गुमाएका छन् । प्रतिशतका आधारमा यी कम्पनीका लगानीकर्ताले करिब ४ प्रतिशत गुमाएका छन् । बजारमा सिर्जना फाइनान्सका लगानीकर्ताले प्रतिकित्ता सेयर २६९ रुपैयाँ कमाएका छन् । रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्थाका लागानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, कामना विकास बैंक र जनउत्थान लघुवित्ति विकास बैंकको क्रमशः ५ र ४ प्रतिशतले सेयर मूल्य बढेको छ । सो दिन फाइनान्स समूहको परिसूचक बाहेक अन्य समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३८.५६ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, बैंकिङ् र हाइड्रोपावर समूहको परिसूचक क्रमश २४, १८ र १५ अंकले घटेका छन् । फाइनान्स समूहको परिसूचक भने ४.८२ अंकले उकालो लागेको छ । सो दिन सबैभन्दा बढी स्ट्याण्डार्ड चार्टड बैंकको करिब १० करोड बढीको सेयर कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंकको ७ करोड रुपैयाँको र लुम्बिनी जनरल इन्स्योरेन्सको ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

सिद्धार्थ बैंकको ‘सिद्धार्थ १८० दिने मुद्दती खाता’ सञ्चालनमा

काठमाडौं, ८ कात्तिक । सिद्धार्थ बैंकले ‘सिद्धार्थ १८० दिने मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई निक्षेपमा आकर्षक प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ बैंकले यो खाता सञ्चालनमा ल्याएको हो । सिद्धार्थ १८० दिने मुद्दती खाता छोटो अवधिमा आकर्षक प्रतिफलको चाहना गर्ने ग्राहकहरुलाई लक्षित गरि ७ दशमलब ५ प्रतिशतको आकर्षक प्रतिफलको साथमा सञ्चालनमा ल्याइएको हो । बैंकले आफना ग्राहकलाई उच्चतम प्रविधियुक्त विभिन्न सेवा तथा सुविधा प्रदान गर्नुका अतिरिक आकर्षक प्रतिफल सहित संचालनमा ल्याएको हो । यस नविनतम मुद्दती योजनाबाट बढि भन्दा वढि निक्षेपकर्ताहरु लाभान्वित हुने कुरामा बैंक विस्वस्त रहेको छ । बैंकले हाल नेपालभर ६४ शाखा, ८१ ए.टि.एम र विभिन्न ६६ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट ग्राहकहरुलाई उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

विकास समितिले भन्यो–आगामी असोजमा मेलम्चीको पानी राजधानी बासीको धारामा पुर्याउनु

काठमाडौं, ८ कात्तिक । व्यवस्थापिका संसदको विकास समितिले आगामी असोज महिना भित्रै राजधानी बासीका धारामा मेलम्चीको पानी ल्याइपुर्याउने गरि काम गर्न निर्देशन दिएको छ । सोमबार बसेको समिति बैठकले फेरी पनि निर्माण कम्पनीलाई समय नथप्न र २०७४ असोज भित्र राजधानीमा पानी ल्याउने गरि काम अघि बढाउन निर्देशन दिएको हो । समिति बैठकले सुरुङ निर्माण, प्रभावित क्षेत्रका जनतालाई रोयल्टी तथा लेभी प्रदान गर्ने, उपत्यका भित्र जारी पाइप बिछ्याउने काम, सुन्दरीजलमा निर्माण भैरहेको प्रसोधन केन्द्रको कामलाई समेत थप प्रभावकारी ढंगले अघि बढाउन निर्देशन दिएको छ । समितिले याङग्री र लार्के नदिको पानी समेत मेलम्ची आयोजनामा मिसाएर ल्याउने योजना कार्यान्वयनका लागि तत्कालै काम थाल्न पनि निर्देशन दिएको हो । त्यसका साथै, काठमाडौं उपत्यका खानेपानी लिमिटेडको व्यवस्थापकिय क्षमता विकासमा ठोस काम गर्न पनि समितिले खानेपानी तथा सरसफाई मन्त्रालयलाई निर्देशन दिएको छ । मेलम्चीको पानी रिङरोड बाहिरका उपभोक्तासम्म पुर्याउनका लागि क्षमता विस्तार तथा अन्य श्रोतहरुको खोजी गर्न पनि समितिले भनेको छ । समितिको बैठकमा सांसद रामकुमार भट्टराई, गणेश पहाडी, यज्ञ बहादुर थापा, टोप बहादुर रायमाझी, आङटावा शेर्पा, जनार्दन ढकाल, रञ्जना सरकार, प्रकाश शर्मा, गणेश ठगुन्ना लगायतले तोकिएको समयमै मेलम्ची आयोजना सम्पन्न गनुपर्ने धारणा राखेका थिए ।

होटल व्यवसायमा लगानी बढ्दै, करिब एक अर्ब रुपैयाँ लगानी थप

नेपालगन्ज, ८ कात्तिक । विगत चार वर्षको अवधिमा यहाँका होटल व्यवसायमा लगानी बढेको छ । मध्यपश्चिमाञ्चलको व्यापारिक सहर नेपालगन्जको होटल तथा पर्यटन व्यवसायमा पछिल्लो आँकडाअनुसार पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी भएको हो । होटल अर्गनाइजेसन नेपाल नेपालगन्ज शाखाका अनुसार, पछिल्लो चार वर्षको अवधिमा सहरका होटल व्यवसायमा मात्र करिब एक अर्ब रुपैयाँ लगानी थप भएको छ । शान्ति सुरक्षामा आएको सुधार र पर्यटकको आगमन बढेकाले यहाँ ठूला अनि सुविधा सम्पन्न होटल निर्माणको क्रम पनि ह्वात्तै बढेको पाइन्छ । अर्गनाइजेसनका अनुसार, द्वन्द्वका समयमा असुरक्षाका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन घटेपछि बन्द गरिएका होटल पनि अहिले धमाधम खुल्दै गएका छन् भने पुराना स्नेह, किचनहट र सिद्धार्थ भ्यूलगायत ठूला होटलमा अहिले लगानीसमेत बढेकाले पर्यटकलाई सहज भएको छ । यस क्षेत्रमा पर्यटनको सङ्ख्या वृद्धि गर्न आकर्षक होटलमात्र पर्याप्त नभएकाले पर्यटनको सम्भावना रहेको स्थानलाई समेत व्यवस्थित बनाउन सरकारी चाँसोसमेत हुनुपर्ने अर्गनाइजेसनको सुझाव छ । रासस