भारतले बङ्गलादेशलाई चार अर्ब पचास करोड अमेरिकी डलर बराबर ऋण दिने
नयाँ दिल्ली । भारत तथा बङ्गलादेशबीच शनिबार ढाकालाई विकास परियोजनाका लागि सहुलियतसहित चार अर्ब पचास करोड अमेरिकी डलर बराबर ऋण सुविधा उपलब्ध गराउने सहित अनेकौँ सम्झौतामा हस्ताक्षर भएको छ । दक्षिण एसियाली यी दुई छिमेकी हाल सम्बन्ध गहिरो बनाउन प्रयासरत रहेको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा बङ्गलादेशका उनका समकक्षी सेख हसिनाबीच नयाँ दिल्लीमा व्यापक क्षेत्रका विषयमा वार्ता भएको र उनीहरूले प्रतिरक्षा, क्षेत्रीय सुरक्षा तथा अन्तर्राष्ट्रिय आतङ्कवाद विरुद्ध सङ्घर्षका लागि सहयोगका विषयमा पनि छलफल भएको बताइएको छ । दुबै पक्षका अधिकारीहरूले आउँदो पाँच वर्षका लागि प्रतिरक्षा सहयोगमा सम्झौता संरचना र भारतबाट बङ्गलादेशलाई सैनिक उपकरण खरिद गर्न ५० करोड अमेरिकी डलर उपलब्ध गराउने साथमा २२ वटा सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिइएको छ । दुई पक्षबीच नागरिक पारमाणविक सहयोगका विषयमा पनि सम्झौतामा हस्ताक्षर भएको छ र यस अन्तर्गत नयाँ दिल्लीले ढाकालाई नागरिक पारमाणविक कार्यक्रम विकास गर्न सहयोग गर्नेछ । भारतीय प्रधानमन्त्री मोदीले बङ्गलादेशी समकक्षी हसिनाले भारत–बङ्गलादेशबीच सम्बन्धको ‘‘स्वर्ण युग’’ मा भ्रमण गरेको र भारत बङ्गलोदशका लागि लामो समयसम्मको विश्वासिलो विकास साझेदार भएको बताएका छन् । भारत तथा बङ्गलादेशबीच चार हजार १०० किलोमिटर लामो सीमा रहेको छ । रासस
हकप्रद सेयरको विश्वसनियतमा प्रश्न
२०७३ साउन ३१ राप्तीभेरी विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ३५० रुपैयाँमा कारोबार भएको थियो । साउन ३२ गते सञ्चालक समितिको बैठकले २०० प्रतिशत (१ बराबर २ कित्ता) हकप्रद सेयर निष्काशन गर्ने निर्णय गर्यो । सञ्चालक समितिको निर्णय अनुमोदन गर्न भदौं १७ गते विशेष साधारणसभा बोलाइयो । विशेष साधारणसभामा सर्वसहमतिमा २०० प्रतिशत हकप्रद सेयरको प्रस्ताव सर्वसहमतिमा पास भयो । साधारणसभाको निर्णयले सेयर प्रतिकित्ता ६२२ रुपैयाँ सम्ममा कारोबार भयो । तर कम्पनीले आफ्नै निर्णय कार्यान्वय गर्न सकेन । चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्काशन नगर्ने निर्णय गरेको छ । प्रमोटरले नै हकप्रद सेयरमा लगानी गर्न सक्ने अवस्था सिर्जना भएको भन्दै बैंकले हकप्रद सेयर निष्काशन गर्ने निर्णय लियो । यो बैंकले काठमाडौंस्थित ज्योति विकास बैंकमा विलय हुने निर्णय गरिसकेको छ । चैत १५ गते ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्का र राप्तीभेरी विकास बैंकका अध्यक्ष प्रेम बहादुर भण्डारीले प्राप्ती सम्बन्धी सम्झौतामा हस्ताक्षर भईसकेको छ । राप्ती भेरी विकास बैंक एउटा उदाहरण हो । यसअघि रिलायवल डेभलपमेन्ट बैंकले यसरी नै हकप्रद सेयर निष्काशन गर्ने निणर्य गर्यो र ग्लोबल आईएमई बैंकसँग मर्ज हुने सम्झौता गर्यो । पुरानो निर्णय साधारणसभाबाट रद्द गरायो । सम्भवत जनता बैंकमा यस्तै घट्ना दोहोरिने सम्भावना छ । यस बैंकले ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । तर सिद्धार्थ डेभलपमेन्ट बैंक एक्वाएर गर्यो भने उसलाई तत्काल ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नु पर्ने अवस्था देखिदैन । नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत कम्पनीहरुले यसरी निर्णय गर्ने र फिर्ता लिने अभ्यास अत्यान्तै गलत हो । नेपाल यस्तो देश हो जहाँ हकप्रद सेयर आउँछ भनेपनि कम्पनी घाटामा गएको भएपनि सेयर मूल्य दुई गुणा वृद्धि हुन्छ । यस्तो बजार र लगानीकर्ताको सोच भएको देशमा साधारणसभाबाट अनुमोदन भएको निर्णय समेत लागू हुँदैन भने त्यहाँ जान्ने, बुझ्ने, टाठा, बाठाले कमाउँछन् । सोझा, साझा, कम्पनीको क्षमता थाहा नभएका, संस्थापकहरुलाई नचिनेका, नभेटेका, बैंक व्यवस्थापन नबुझेका, बजार विश्लेषण गर्न नसक्नेहरु ढुब्छन् । यस्तो प्रवृतिलाई नेपाल धितोपत्र बोर्ड, राष्ट्र बैंक जस्ता निकायले रोक्न कडा नीति लिनुपर्ने देखिएको छ
बीमा कम्पनीलाई लक्षित विशेष ऋणपत्र ल्याउने बीमा समितिका अध्यक्षको भनाई, नेपाल लाईफको क्षेत्रीय कार्यालय पोखरामा
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउन तथा शाखा कार्यालयहरुको सशक्तिकरणबाट जीवन बीमा व्यवसायको बजार बिस्तार गर्ने उदेश्यले पोखरामा क्षेत्रीय कार्यालय खोलेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाईले शुक्रबार शो शाखाको उद्घाटन गरेका छन् । समुद्घाटन समारोहलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाईले जीवन बीमा क्षेत्रले आम जनताको स–सानो बचत परिचालन गरि पूँजी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको र जीवन बीमा क्षेत्रसंग रहेको ठूलो पूँजीलाई मुलुकको बिकास निर्माणका लागि उपयोग गर्न बिशेष प्रकारको बिकास ऋणपत्र ल्याउन पहल गर्ने बताए । साथै उनले जीवन बीमाका क्षेत्रमा कम्पनीले गर्दै आएको सफलताहरुको सह्राहना गर्नुहुदै समग्र बीमा क्षेत्रको बिकास र बिस्तारका लागि आफू क्रियाशिल रहने बताएका छन् । संचालक कमलेश कुमार अग्रवालले बिद्यमान परिवेशमा क्षेत्रीय कार्यालयको आवश्यकता झनै बढ्न गएको एवं बिकेन्द्रिकरणका माध्यमबाट शाखा कार्यालयहरुको अनुगमनमा प्रभावकारिता बृद्धि भई बीमितहरुले सरल र सहज बीमा सेवा उपलब्ध हुने विचार राखे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री विवेक झाले क्षेत्रीय कार्यालय पोखराको स्थापनाबाट यस क्षेत्रको व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बिश्वास व्यक्त गर्दै बीमितहरुको लगानी प्रतिफल बृद्धि गर्न कम्पनीले हरसम्भव प्रयास गर्दै आएको र सो को सुनिश्चितताको लागि दीर्धकालिन लगानीका क्षेत्रहरुमा लगानी बिस्तार गर्ने प्रयास गरिरहेको भएतापनि सोको पर्याप्त उपलब्धता नभईरहेकोले बीमा क्षेत्रका लागि दीर्धकालिन सरकारी बिकास ऋणपत्रहरुको आवश्यकता रहेको बताए ।
‘सबै रकम खाने र खेल्ने कुराहरु किनेर सिध्याइहाल्थें’ पारस खड्का भन्छन्-‘बचत नगरेर गल्ती गरेछु’
काठमाडौं । सानै उमेरदेखि बचत संस्कृति विकास गर्ने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेडले तरलता अभावसँगै ‘नानीमा लागेको बानीः आज बचाउँ– जिन्दगीभरी रमाउँ’ नामक अभियानलाई तीव्रता दिएको छ । यसैक्रममा शनिबार काठमाडौंको डिल्लीबजारस्थित साब पब्लिक स्कूलमा आयोजित कार्यक्रममा मेगा बैंकको सद्भावना दूतको रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र चर्चित अभिनेत्री प्रियंका कार्कीले सानै उमेरदेखि बचत गर्ने बानीको विकास गर्न बालबालिका तथा अभिभावकहरुलाई अनुरोध गरे । ‘सानै उमेरदेखि बैंकमा बचत खाता खोल्ने हो भने बालबालिकाहरुमा बचाउनुपर्छ भन्ने बानीको विकास हुन्छ, त्यसैले आफ्ना सन्तानहरुलाई स्वतस्फूर्त रुपमा बचत गर्ने बानीको विकास गराउनुस्’, कार्यक्रमका प्रमुख अतिथि रहेका क्रिकेट टिमका कप्तान खड्काले भने, ‘बालबालिकाहरुको पहिलो प्राथमिकता पढाइ नै हो, तर उनीहरुलाई सानैदेखि अन्य कुराहरु पनि सिकाउनुपर्छ ।’ यसैगरी, नायिका कार्कीले नानीदेखि लागेको बानीले नै हरेक मानिसको जीवनमा मुख्य प्रभाव पर्ने भएकोले यो अभियानले युवाहरुमा विद्यार्थी जीवनबाट नै बचत गर्ने संस्कृतिको विकास हुने विश्वास लिएको बताए । ‘सानो हुँदा मसँग भएको सबै रकम खाने र खेल्ने कुराहरु किनेर सिध्याइहाल्थें, तर अहिले महसुस हुँदैछ त्यो ठीक होइन रहेछ ।’, नायिका कार्कीले भनिन् ‘थोरै रकम भए पनि सानैदेखि बचत गर्ने बानी बसाऔं, रकम खेर नफालौं ।’ कार्यक्रममा मेगा बैंकका अध्यक्ष तथा सूर्योदय शिक्षा फाउन्डेशनका अध्यक्ष भोजबहादुर शाहले क्रिकेटर खड्का र अभिनेत्री कार्कीले मेगा बैंकको अभियानलाई साथ दिएकोमा खुसी व्यक्त गरे । उनले बालबालिका र युवाहरुमा बचत गर्ने बानीको बिउ रोप्न मेगा सद्भावना दूत पारस खड्का र प्रियंका कार्कीले उत्कृष्ट भूमिका खेल्ने विश्वास व्यक्त गरे । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले युवाहरुलाई बैंकिङ शिक्षाको माध्यमबाट बचत गर्ने बानीको विकास गराउन क्रिक्रेटर खड्का र सिनेस्टार कार्की देशभरका विद्यार्थीमाझ पुग्ने बताइन् ।
आफूले गरेको कामको मूल्याङकन गर्न अनुपबहादुर मल्लको आग्रह
काठमाडौं । अनुपवहादुर मल्लले नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी घोषण गर्दै आफूले महासंघमा १८ वर्ष गरेको कामको मूल्याङकन गर्न आग्रह गरेका छन् । शुक्रबार महासघका अध्यक्ष पशुपति मुरारका, अब बन्ने अध्यक्ष भवानी राणा, पूर्व अध्यक्षहरु कुशकुमार जोशी, चण्डिराज ढकाल लगायत विभिन्न बस्तुगत संघको प्रतिनिधिहरुको उपस्थितिमा मल्ल र उनको टीमबाट ४ जना सदस्यले उम्मेदवारी घाेषणा छन् । आफूले महासंघमा १८ वर्षसम्म योगदान गरेको, चार पटकसम्म कार्यसमिति सदस्यमा निर्वाचित भएको, विभिन्न समितिको सभापति भएर काम गरेको, कार्यसम्पादनको आधारमा उपाध्यक्षको उम्मेदवारी दिएको बताए । निर्यात प्रवद्र्धन र महासंघको आम्दानी वृद्धिका कार्यमा आफूले महत्वपूर्ण योगदान गरेको उनको भनाई छ । आफूले गत निर्वाचनमा सबैभन्दा बढी मत पाएको र राम्रो काम गरेको बताउँदै नेतृत्वले आफूलाई उम्मेदवार बन्दा सहयोग नगरेको उनले बताए । सरकारले एक नम्बर, दुई नम्बरको मान्छेलाई नछानेर ३/४ नम्बरको मान्छेलाई अवसर दियो, नियुक्ती दियो, बढुवा गर्यो भनेर हामी सरकारको आलोचना गर्छौ, तर महासंघको नेतृत्व छान्नेले बोनाफाइड मान्छे किन नछान्ने?’ उनले प्रश्न गरे । ‘मैले अहिलेसम्म कुनै चुनाव हारेको छैन, यस पटक पनि चुनाव जित्ने विश्वास लिएको छु’ मल्लले भने । ‘परिवारको कुरा हो भने म पनि जयस्थीति मल्लको सन्तानु हुँ, रणजीत मल्लको परिवारको मान्छे हुँ’ उनले भने–‘तर मैले जयस्थीति मल्ल र रणजीत मल्लको सन्तान हुँ भनेर म चुनावमा उठेको होइन, म सक्षम छु, विगतमा राम्रो काम गरेको छु भनेर म चुनावमा उठेको हुँ ।’ कार्यक्रममा सम्बोधन गर्न पुगेकी भवानी राणाले मल्लले महासंघमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंशा गरिन् । मल्लको टिमबाट रसायन तथा मेडिकल एशोसिएनको अध्यक्षका भक्तबहादुर हमाल, नेपाल कपाड तथा सिलाई व्यवसायी संघमा अध्यक्ष सुरज बज्राचार्य, नेपाल पशुपंक्षी औषधी व्यवसायी संघको अध्यक्ष हेमराज बढाल, मत्य व्यवसायी संघका तुलसीराज गिरीले उम्मेदवारी दिएका छन् ।
कहाँ गरिव छन् नेपाली ? एक वर्षमा ५३ अर्बको रक्सी पिउँछन्
काठमाडौं । नेपालीले वार्षिक ६१ अर्ब १८ करोड रुपैयाँ अल्कोहल तथा नन् अल्कोहोलिक पिय पदार्थमा खर्च गर्ने गरेका छन् । प्रतिव्यक्ति कुल खर्च योग्य आय एक लाख ९ हजार भएका नेपालीले यस्तो पिय पदार्थमा मात्रै वार्षिक उक्त रकम खचर्र्ने गरेको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ । विभागको तथ्यांकअनुसार अल्कोहोलिक पदार्थमा ५३ अर्ब २६ करोड र नन् अल्कोहोलिक पदार्थमा ७ अर्ब ९२ करोड उपभोग गर्ने गरको विभागका महानिर्देशक सुमन अर्यालले जानकारी दिए । ‘गएको आर्थिक वर्ष २०७२/७३ मा चार हजार पाँच सय घरपरिवारबाट तथ्यांक संकलन गर्दा अल्कोहोलिक तथा नन् अल्कोहोलिक पदार्थका माध्यमबाट नेपालीले यति रकम उपभोग गरेका गर्ने गरेका हुन् । त्यसैगरी नेपालीले माछा तथा मासुमा एक खर्ब ३८ अर्ब २६ करोड, तरकारीमा एक खर्ब ६ अर्ब ६३ करोड खर्चने गरेका छन् । दुग्धजन्य पदार्थ तथा अण्डामा ७३ अर्ब ८७ करोड, तेल तथा घ्यूमा ६३ अर्ब ४९ करोड, फलफूलमा ३५ अर्ब ८३ करोड, मसलमा ३३ अर्ब ७१ करोड बराबरको उपभोग गर्ने गरेका छन् । चिनी तथा मिठाईमा २४ अर्ब ९० करोड, चिया तथा कफीमा ६ अर्ब २३ करोड खर्च हुने गरेको छ । विभागले भर्खरै सार्वजनिक गरेको चौथो घरपरिवार सर्वेक्षणले नेपाली घरपरिवारले औसतमा वार्षिक१८ खर्ब २५ अर्ब २९ करोड रुपैयाँ उपभोगमा खर्च गर्ने गरेका हुन् । प्रतिव्यक्ति वार्षिक उपभोग खर्च ७० हजार ६ सय ८० रुपैयाँ रहेको छ । खाद्यमात्रै एक व्यक्तिले वार्षिक ३३ हजार खर्च गर्ने गरेका छन् । प्रतिव्यक्ति कुल राष्ट्रिय आय भने ८० हजार ९२ रुपैयाँमात्र रहेको छ ।
महासंघको नेतृत्वका दावेदार १२ जनालाई उम्मेदवारी फिर्ता लिन दवाव, शंकाको घेरामा रहेका उम्मेदवार बढी तनावमा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य पदमा उम्मेदवार बनेको १२ जनालाई उम्मेदवारी फिर्ता गर्न दवाव परेको छ । एशोसिएटतर्फको उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल सर्वसहमत भएपछि सदस्य पदमा पनि सर्वसहमित गराउने प्रयास अन्तरगत १२ जनालाई उम्मेदवारी फिर्ता गर्न दवाव परेको छ । उम्मेदवारी फिर्ता लिने म्याद २७ गतेसम्म भएपनि शनिबारसम्म फिर्ता लिन चुनावी समूहको दवाव परेको छ । एशोसिएटतर्फ १९ जना कार्यसमिति सदस्य पदको लागि ३१ जनाको उम्मेदवारी परेको छ । आवश्यक भन्दा बढी १२ जनाको उम्मेदवारी फिर्ता गराई सर्वसहमतिको प्रयास भईरहेको महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । ‘निर्वाचन भयो नै भने पनि १२ जना वाहिरिनुपर्छ, सर्वसहमतिमा १९ जना कार्यसमिति सदस्य चुनौं, अहिले उम्मेदवारी फिर्ता लिनु हुने १२ जनालाई विभिन्न उपसमितिमा मनोनयन गरी जिम्मेवारी दिन सकिन्छ’ उनले भने । सहमतिको प्रयास स्वरुप शुक्रबार साँझ परेली रेष्टुरेन्टमा बैठक बसेको थियो जहाँ मुरारका, भवानी राणा, शेखर गोल्छ, चन्द्रप्रसाद ढकाल, चण्डिराज ढकाल, ज्ञानेन्द्रलाल प्रधान र उम्मेदवारी दिएका ३१ सदस्य सहभागि थिए । उक्त बैठकमा स्वेच्छिक रुपमा १२ जनालाई उम्मेदवारी फिर्ता लिन सुझाव दिदै त्यसो नभए उच्च नेतृत्वले १९ जनाको टिम घोषणा गर्ने जनाउ दिईएको छ । टिम बाहिर पर्ने १२ जनाले चुनाव हार्ने निश्चित भएपछि सदस्य पदका उम्मेदवारहरु उम्मेदवार छनौटमा प्रभाव राख्ने व्यक्तिहरुलाई खुशी पार्न र टिममा पर्न सक्रिय भएका छन् । टिममा पर्ने निश्चित भएका उम्मेदवार प्रफुल्लित मुद्रामा देखिएका छन् भने शंकाको घेरामा रहेका उम्मेदवार निकै तवानमा देखिएका छन् ।
नेपाली वायुसेवामा थपिदै अर्बौको लगानी, १६ जहाज थप्ने ७ कम्पनीकाे अन्तिम तयारी
काठमाडौं । पछिल्लो समय नेपालबाट उडान र अवतरण गर्ने वायुसेवामा अर्बौको लगानी थप हुन थालेको छ । नेपाल वायुसेवा निगमले ठूलो जहाज खरिद गर्ने सम्झौता गरेको छ । निगमले इतिहासमै पहिलोपटक २ वटा वाइडवडि नामका लामो दुरीको अन्तर्राष्ट्रिय उडानको जहाज थप गर्ने भएको छ । निगमले एक वर्षमा २ वटा एयरवसको ए ३३०—२०० सिरिजका २८० सिट क्षमतको जहाज थप गर्दै छ । निगमले २२ अर्ब ४२ करोड रुपैयाँमा २ वटा जहाज खरिदको सम्झौता गरेको हो । निगलले आगामी एक वर्षभित्र नयाँ जहाज ल्याएर उडान सुरु गर्ने तयारीस्वरुप आवश्यक गृहकार्य गरिरहेको निगमले जानकारी दिएको छ । एक वर्ष भित्रै जहाज थपको तयारीमा लागेका र औपचारिक रुपमा घोषणासमेत गरिसकेका अन्य आन्तरिक वायुसेवाले पनि जहाज भित्र्याउने अन्तिम तयारीदेखि गृहकार्य गरेर आगामी वर्षको योजना तय गरिसकेका छन् । अहिले नेपालमा एक दर्जन वायुसेवाको नियमित उडान रहेको छ । यीमध्ये एक वर्षभित्र जहाज ल्याउने र भर्खर ल्याएर उडान तयारी गरिरहेकामा ७ वटा कम्पनीका १६ वटा जहाज रहेका छन् । भर्खरै आन्तरिक उडानमा निगम र गोमा एयरले दुई २ वटा र सौर्य र बुद्ध एयरले १ एक वटा जहाज ल्याएर उडान सुरु गरिसकेका छन् । निगमकै आन्तरिक उडानमा वाई १२ नामक २ वटा चिनियाँ जहाज आउने अन्तिम तयारीमा रहेको छ । आन्तरिक उडानमा नियमित सेवाको तयारी गरिरहेको श्री एयरलाइन्सले पनि ४ वटा जहाज एक वर्ष भित्रै ल्याउने भएको छ । यो कम्पनीले २ वटा भने काठमाडौ अवतरणको तयारीसमेत गरिसकेको छ । आन्तरिक उडानमै बुद्ध एयरको सिको गर्दै आन्तरिक उडानको वायुसेवा कम्पनी यति एयरले चारवटा एटीआर नामक ७२ सिट क्षमतको जहाज ल्याउने भएको छ । यो कम्पनीले केही समयमा नै २ वटा र अर्को वर्ष थप २ वटा जहाज ल्याउने तयारी गरिरहेको छ । आन्तरिक उडानमा डोर्नियरबाट सेवा दिइरहेको सीता एयरले पनि नयाँ व्यवास्थापन भित्र्याएसँगै २ वटा जहाज थपको तयारी गरिसकेको छ । यो वायुसेवाले हाल उडानमा रहेकै प्रकृतिको २ जहाज थप गर्न पर्यटन मन्त्रलयसमक्ष तीन साता अगाडि नै निवेदन दिएको छ । आन्तरिक उडानमा हेलिकोप्टर कम्पनी पनि एक पछि अर्को गर्दै उडान थप गर्न लागि परेका छन्, बजार बढाउन नसकेको भएपनि प्रतिस्पर्धाले जहाज संख्या भने धमाधम बढिरहेको पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालले बताए । प्राइस वारको प्रतिस्पर्धा सुरु उनका अनुसार आन्तरिक उडानमा भएको यो प्रतिस्पर्धाले कुन वायुसेवा टिक्ने र कुन विस्थापन हुने भन्ने चुनौती अब देखिने भएको छ । जहाज थपसँगै वायुसेवाले आन्तरिक उडानमा प्राइस वार पनि गर्न थालेका छन् । यसले यात्रुलाई भने फाइदा पुगेको छ । त्यसो त हिमालयल एयरले सेवा दिन थालेपनि वायुसेवा निगमसँग प्रतिस्पर्धी बढेको छ । जसले गर्दा यात्रुले छनोट गरेर सेवा पनि लिन पाएका छन् । पछिल्लो समय सौर्य एयरले जहाज थप गरेपछि र निगमलसँग पनि जहाज थप भएकोले आन्तरिक उडानमा टिकटको मूल्य घटाउने अभ्यास हुन थालिसकेको छ । नेपालका अनुसार जसले प्रतिस्र्पामा गुणस्तरीयता कायम गरेर सेवा दिन सक्छ उसकैको बजार बन्ने पनि उल्लेख छ । कुन बायुसेवाका कति जहाज वायुसेवा कम्पनी संचालमा रहेका थपिने जहाज बुद्ध एयर ९ वटा १ वटा तारा एयर ७ वटा – यति एयरलाईन्स ६ वटा ४ वटा गोमा एयर ६ वटा – नेपाल वायुसेवा अन्तार्राष्ट्रिय ३ वटा २ वटा हिमालय एयरलाइन्स ३ वटा – नेपाल वायुसेवा आन्तरिक ६ वटा २ वटा सिम्रिक एयरलाईन्स ४ वटा – सीता एयर २ वटा २ वटा सौर्य एयर १ वटा १ वटा मकालु १ वटा – काष्टमण्डप १ वटा – श्री एयरलाइन्स – ४ वटा जम्मा ४९ वटा १६ वटा तथ्याक स्राेत: सम्बन्धित वायुसेवा कम्पनी प्रतिस्पर्धा सुगम क्षेत्रमा केन्द्रीत पर्यटन मन्त्रालयका अनुसार आन्तरिक वायुसेवाको उडान क्षमता विस्तार भएपनि सुगम क्षेत्रमै मात्र केन्द्रीत भएका छन् । हाल सुगम क्षेत्र उडानमा हुने जम्मा १६ लाख हवार्य यात्रुको सेवामा प्रतिस्पार्धा हुने गरेको पनि नेपालको बुझाई छ । उनका अनुसार अब आन्तरिक वायुसेवा दुर्गम क्षेत्र केन्द्रीत पनि हुनुपर्छ । निगमले आन्तरिक उडानमा जहाज थप गरेपछि दुर्गम क्षेत्रमा पनि सेवा विस्तार हुने अनुमान गरेपनि सरकारले कुनै न कुनै नियमले नकसेसम्म दुर्गमको सेवामा पहुँच विस्तार भने अझै चुनौतिपूर्ण छ । हालसम्म आन्तरिक वायुसेवाको सेवा सबै सहरी क्षेत्रका विमानस्थलमा केन्द्रीत भएकोले पनि दुर्गममा पहुँच विस्तार हुन सकेको छैन । मन्त्रालयका अनुसार १५ वर्ष अगाडिको अवधारणामा आएको दुर्गम क्षेत्र हवाई सेवा कोषलाई पुनः कार्यान्वयन गरेर दुर्गम क्षेत्र केन्द्रीत गर्न सकिन्छ । यसका लागि सुगममा उड्ने वायुसेवाले दुर्गमको लागि निश्चित प्रतिशतको योगदान गर्नुपर्छ । जुन वायुसेवा दुर्गममा जाँदैन त्यसले सुगमबाट उठेको पैसाको निश्चित प्रतिशत राख्नुपर्ने व्यवास्था गर्न लागिएको पनि मन्त्रालयको भनाइ छ । हाल नेपालका विभिन्न १२ वटा आन्तरिक वायसेवासँग ४९ वटा जहाज रहेका छन् । रहेको भएपनि तत्कालै थप भएका र हुने तयारिका जहाजको संख्या १६ वटा रहेको छ । यी वायुसेवामार्फत हुने उडान व्यवस्थापन अझै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई चुनौतिपूर्ण रहेको छ ।