प्रभु को–अपरेटिभकाे सातौ साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश प्रस्ताव पास
काठमाडौं, ३ कात्तिक । प्रभु समुहद्वारा प्रबद्र्धित प्रभु को–अपरेटिभ सर्भिस लिमिटेडले आफ्ना सेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बुधबार काठमाडौंमा सम्पन्न सर्भिस लिमिटेडको सातौं वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो । सर्भिस लिमिटेडले सेयरसदस्यहरुको हौसला बृद्धि गर्ने उद्देश्यले एस.एल.सी.माउत्कृष्ट अंकल्याउने छात्राहरुलाई पनि पुरस्कृत गरेको छ । छात्रातर्फ शेयर सदस्य दिलिप तुलाचनकी छोरी नोरीका तुलाचन र गगां चालिसेकी छोरी जिज्ञाशा पौडेललाई पुरस्कृत गरेको छ । साधारण सभा प्रभु समुहका अध्यक्ष देबीप्रकाश भट्टचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रभु को–अपरेटिभ सर्भिस लिमिटेडका अध्यक्ष विनोद थकालीको सभापतित्वमा सम्पन्न उक्त साधारण सभालाई सम्बोधन गर्दै सेयर सदस्यको भरोसा र साखलाई अक्षुण राख्न कुनै पनि कसरत बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । आगामी दिनमा सदस्य केन्द्रीत नयाँनयाँ योजना ल्याउने थकालीले बताए ।
बजार घट्दा दुई कम्पनीको सेयर मूल्य १०%ले वृद्धि, होटल बाहेक सबै परिसूचक ओर्लिए, ५६ करोडको कारोबार
काठमाडौं, ३ कात्तिक । सेयर बजार निरन्तर घटिरहेको छ । बुधबार नेप्से परिसूचक ४ दशमलब ८४ अंकले घटेर १७८७ अंकमा झरेको छ । सो दिन १२१ कम्पनीको ८ लाख ५० हजार कित्ता सेयर ५६ करोड रुपैयाँमा किनबेच भएको छ । मंगलबारको तुलनामा परिसूचकमा केही सुधार नदेखिए पनि कारोबार रकममा भने केही सुधार भएको देखिन्छ । निरन्तर घटिरहेको बजारमा पनि बुधबार दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्था र कामना विकास बैंकको सेयर मूल्य क्रमशः १० र ९.७५ प्रतिशतले बढेको हो । विजया लघुवित्त वित्तिय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले क्रमश ४.४६ र ४.२५ प्रतिशत गुमाएका छन् । सो दिन होेटल समूह बाहेक बाकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५७.१३ अंकले ओरालो लागेको छ भने अन्य बाकी समूहको परिसूचक समान्य अंकले ओरालो लागेका छन् । होेटल समूहको परिसूचक भने २.२५ अंकले उकालो लागेको छ ।
होल्याण्ड एग्रिकल्चरको ट्याक्टर शोरुम सातदोबाटोमा
काठमाडौं, ३ कात्तिक । न्यू हल्याण्ड एग्रिकल्चरले केस ब्राण्डका विभिन्न मोडलका नयाँ ट्याक्टर नेपाली बजारमा भित्र्याएको छ । बुटवललाई आधार क्षेत्र बनाएर ट्रयाक्टरको कारोबार सुरु गरेको भुसाल ग्रुपले बुधबार ललितपुर सातदोवाटोमा भुसाल ट्रयाक्टर सप्लायर्सको शोरुम सहित कर्पोरेट अफिस समेत स्थापना गरेको हो । नयाँ मोडल र नयाँ प्रविधियुक्त ३० देखि ९० हर्स पावरका ट्यांक्टर ढुवानी र जोत्नका लागि निकै उपयोगी रहेको कम्पनीको दाबी छ । नयाँ प्रविधिको डिजेल कम खपत गर्ने केस ब्राण्डका ट्याक्टर नेपाली किसानलाई लक्षित गरी निर्माण गरिएको नेपालस्थित आधिकारिक बिक्रेता भूसाल ट्याक्टर सप्लायर्सका सञ्चालक बालकृष्ण भुसालले बताए । टर्कीको प्रविधिमा निर्माण गरिएका ट्याक्टर नेपाली किसानले मन पराउने पनि उनको भनाइ छ । बुटवलबाट सुरु भएको केस ब्राण्डका विभिन्न मोडलका ट्याक्टरको बुकिङ सुरु भइसकेको र देशैभरीबाट माग आइरहेकोले न्यू हल्याण्डको नेपाली बजारलाई ३० प्रतिशत पुरयाउने लक्ष्य प्राप्तिमा कुनै कठिनाइ नहुने पनि उनले बताए । तीन वर्षे वारेन्टी र सातवर्षे नि:शुल्क सर्भिसिङको व्यवस्थाका कारण पनि यसप्रति उपभोक्ता आकर्षित हुने कम्पनीको विश्वास रहेको छ । पार्टस्को बिक्री वितरण भने रामकृष्ण टे«ड सेन्टरमार्फत हुने कम्पनीले जानकारी दिएको छ । भूसाल ट्याक्टर सप्लायर्सले २४० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । न्यु होल्याण्डले विश्वभरका ५५ वटा देशमा २६ प्रतिशत बजार हिस्सा ओगटेको भन्दै उनले नेपालमा पनि सबैभन्दा धेरै हिस्सा ओगटेको दाबी गरे । कुल २२ वटा कम्पनीका करिब ५ हजार टयाक्टर खपत हुने गरेको हल्याण्डका मात्रै १ हजार संख्याको हाराहारीमा रहेको उनले बताएका छन् । हाल पूर्व मेचीदेखि पश्चिम महकालीसम्म २२ सव डिलर र ३ स्थानमा आफ्नै आउटलेटहरु खोलेर बिक्री गर्दै आएको कम्पनीले केही महिनाभित्रैमा बीरगंज, नारायणगढ, गुल्मी, पाल्पा, डडेलधुरा र सुकेबजारलगायतका क्षेत्रमा थप डिलर विस्तार गर्ने भएको छ ।
नेपाल हाइड्रोले पायो २२ करोडको आइपिओ निष्कासन गर्ने अनुमति
काठमाडौं, असोज १७ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर अर्थात आइपिओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कात्तिक २ गते नेपाल हाइड्रोलाई २२ करोड १० लाख रुपैयाँ मूल्य बराबरको आइपिओ जारी गर्ने अनुमति दिएको हो । कम्पनीले एनएमबि क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । हाल कम्पनीको संस्थापक शेयर १९ करोड ५० लाख रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकको प्रवक्ता नारायण पौडेल, त्रिलोचन पंगेनी राष्ट्र ऋण विभागमा
काठमाडौं, ३ कात्तिक । नेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी नारायणप्रसाद पौडेललाई दिएको छ । पौडेल बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् । यसअघि प्रवक्ताको जिम्मेवारी त्रिलोचन पंगेनीले समालेका थिए । राष्ट्र बैंकले पंगेनीलाई राष्ट्र ऋण विभागको कार्यकारी निर्देशक पदमा सरुवा गरेको छ । उनी यसअघि जनशक्ति व्यवस्थापन विभागमा कार्यकारी निर्देशक थिए । भाेलिदेखि लागु हुने गरी उल्लेखित जिम्मेवारी हेरफेर भएकाे सहायक प्रवक्ता राजेन्द् पण्डितले बताए । डा. मिनबहादुर श्रेष्ठलाई सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेपछि सो पद खाली थियो । पंगेनीलाई सरुवा गरे पछि हाललार्इ जनशक्ति विभाग प्रमुख पद खाली भएको छ । त्यस्तै वित्त व्यवस्थापन विभागकाे कार्यकारी निर्देशक पद पनि खाली छ ।
नेपालको पूर्वाधार निर्माणमा लगानी गर्न चिनीया लगानीकर्ता इच्छुक
काठमाडौं, ३ कात्तिक । उद्योग मन्त्री नवीन्द्रराज जोशी र चिन सरकारका उद्योग वाणिज्यको प्रशासन हेर्ने मन्त्री झाङ माओबीच बुधबार उद्योग मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा उनीहरुबीच नेपाल चीन सम्बन्ध र नेपालको समग्र आर्थिक विकासमा चिनीया सहयोगका विषयमा छलफल भएको उद्योगमन्त्री जोशीले जानकारी दिए । भेटका असरमा उद्योगमन्त्री जोशीले संविधान निर्माणपछिको अहिलेको अवस्थामा नेपालका सबै राजनीतिक दलहरुको ध्यान आर्थिक समृद्धितर्फ गएको भन्दै नेपालमा लगानीको वातारण तयार भएको बताए । लगानीलाई संरक्षण गर्न उद्योग मन्त्रालयले अहिले कानुनीरुपमा नै प्रत्याभूति दिने तरिकारले अगाडि बढीरहेको जानकारी दिँदै उद्योगमन्त्री जोशीले यस क्रममा आफ्नो मन्त्रालयले विशेष आर्थिक क्षेत्र(सेज)सम्बन्धी ऐन, औद्योगिक व्यावसाय प्रवद्र्धनसम्बन्धी ऐन संसद्बाट पारित गरि कार्यान्वयमा ल्याउने चरणमा रहेको बताए । उनले कम्पनी ऐन, वैदेशीक लगानीसम्बन्धी ऐन र बौद्धिकसम्बन्धी ऐन छिट्टै संसद्बाट पारित गराउने प्रकृयामा उद्योग मन्त्रालय लागिरहेको उल्लेख गरेका छन् । उद्योगमन्त्री जोशीले नेपालले निर्माण गर्न लागेको विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माणमा चिनीया सहयोगका लागि आग्रह गरेका छन् । भेटमा चिनीया मन्त्री झाङले नेपालमा लगानी गर्न चिनीया लगानीकर्ता इच्छुक रहेको बताइका छन् । त्यसैगरी उनले नेपालको साना तथा घरेलु उद्योगका क्षेत्रमा चिनीया प्रविधिलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा सहयोग गर्न तयार रहेको बताए । चीनले गरेको आर्थिक उन्नतीबाट नेपालले पनि प्रशस्तै फाइदा लिन सक्ने भन्दै मन्त्री झाङले औद्योगिक क्षेत्रमा चीनले हासिल गरेको विज्ञतालाई नेपाले उपयोग गर्न सक्ने बताएका छन् । उनीहरुबीच दुई देशका युवा तथा महिलाको सिर्जशीलता एवम् नविनतम् उद्यमशीलताको विकासका लागि द्विपक्षीय सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको थियो ।
२२ लाख कित्ता बोनस र १८ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत
काठमाडौं, ३ कात्तिक । बुधबार मात्रै २२ लाख ५१ हजार ४५३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सो दिन १८ लाख ४० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो । साङग्रिला डेभलपमेन्ट बैंकको १५ लाख ३४ हजार ५६० कित्ता र रिलायवल डेभलपमेन्ट बैंकको ७ लाख १६ हजार ८९३ कित्ता गरि सो मात्रामा बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, साङग्रिला डेभलपमेन्ट बैंककै १८ लाख ४० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । हाल सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी एक अर्ब ७ करोड रुपैयाँ रहको छ भने रिलायवल डेभलपमेन्ट बैंकको ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
ग्लोबल आईएमईको आईएमई आंकाक्षा छात्रवृत्ति, १ देखि ११ कक्षासम्म अध्ययनरतले आवेदन दिन सक्ने
काठमाडौं, ३ कात्तिक । आईएमई तथा ग्लोबल आईएमई बैंकद्धारा हिसान तथा प्याब्सनको सहकार्यमा ‘आईएमई आंकाक्षा छात्रवृत्ति’ ल्याईएको हो । यसको मुख्य उदेश्य आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विधार्थीहरुको शैक्षिक आंकाक्षालाई आर्थिक सहयोग पुर्याउनु हो । सार्वजनिक, नीजि तथा सामुदायीक विद्मालयमा कक्षा १ देखि ११ कक्षासम्म अध्ययनरत छात्र/छात्राहरुले यसका लागि आवेदन दिन सक्नेछन् । छात्रवृत्ति कोषको स्थापनाः– प्रति वर्ष १० लाख रुपैयाँको कोष स्थापना हुनेछ । यो कोषबाट हिसान तथा प्याब्सनसँग सम्बन्धित शैक्षिक संस्थाका अतिरिक्त अन्य सरकारी तथा सामुदायिक विधालयमा अध्यनरत विधार्थीहरुको शैक्षिक आंकाक्षालाई परिपूर्ति गर्न वार्षिक एक सय जना विधार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । हिसान तथा प्याब्सनले यो कोषमा २५ प्रतिशतसम्म थप गरि आफु सम्बद्ध विधालयमा अध्ययनरत विधार्थीको शुल्क मिनाहा एवम् छुट प्रदान गर्न सक्नेछन् । प्रक्रियाः– १) देशको जुनसुकै स्थानमा अध्ययनरत कक्षा १ देखि ११ कक्षासम्मका छात्र/छात्राहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् । २) आवेदन दिने म्याद कात्तिक ३ देखि कात्तिक ३०, २०७३ सम्म हुनेछ । विस्तृत जानकारीका लागि संचारका माध्यममार्फत् सम्प्रेषित सूचना, हाम्रा आधिकारिक वेब पेज एवम् फारम उपलब्ध हुने स्थानमा सम्पर्क गर्न सकिनेछ । ३) ईच्छुक विधार्थीले आईएमई सेन्टर, आईएमई एजेन्ट आउटलेट एवम् ग्लोबल आईएमई बैंकका शाखा कार्यालयहरुमा उपलब्ध फारम भरि यही कार्र्तिक ३० गतेभित्र बुझाईसक्नु पर्नेछ । ४) फारम आफुलाई पायक पर्ने आईएमई सेन्टर, एजेन्ट आउटलेट एवम् ग्लोबल आईएमई बैंकका शाखा कार्यालयहरुमार्फत् भर्न सकिनेछ । आवेदन दर्ता गर्दा सम्बन्धित विधालयका प्रधानाध्यापकको सिफारिश सहित दुुई वर्ष अघिका शैक्षिक प्रमाण–पत्र पेश गर्नुपर्नेछ । ५) यसरी प्राप्त हुन आउने आवेदनमा छात्रवृत्ति छनोट उप–समितिले निर्धारित मापदण्ड अनुरुप छात्रवृत्तिका लागि योग्यहरुको सूची प्रकाशित गर्नेछ । उक्त समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । ६) छनोटमा परेका विधार्थी र निजका अभिभावक र समितिवीचमा सम्झौता हुनेछ । त्यही सम्झौताको अधिनमा रहेर छात्रबृत्ति प्राप्त विधार्थीको शैक्षिक उपलब्धि वर्षमा दुई पटक परिक्षण गरिनेछ ।