विकासन्युज

बीमा प्राधिकरणमा इञ्जिनियरिङ बीमासम्बन्धी विषयमा छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा इञ्जिनियरिङ बीमासम्बन्धी समस्या तथा चुनौतीहरूका सम्बन्धमा निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी र निर्माण व्यवसायीहरूसँग छलफल आयोजना गरेको छ । इञ्जिनियरिङ बीमाअन्तर्गत देखिएका समस्या तथा चुनौतीहरूको समाधानका लागि निर्माण व्यवसायीहरू र बीमकहरूसँग छलफल गरी राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले इञ्जिनियरिङ बीमा अन्तर्गत देखिएका समस्याहरूको समाधानका लागि सम्बद्ध सरकारी निकाय, बीमा कम्पनी र निर्माण व्यवसायीहरूसँग छलफल गरी निष्कर्ष निकालिने जानकारी दिए । कार्यकारी निर्देशक सुवेदीले इञ्जिनियरिङ बीमासम्बन्धी प्राविधिक विषयमा नीतिगत तहमा सम्बद्ध निकाय, नियामक र संस्थाहरूसँग छलफल गरी अगाडि बढ्ने उल्लेख गर्दै करिब ९० प्रतिशत बीमालेख नेपाली भाषामा भए तापनि बीमा गर्दा बीमालेख राम्रोसँग नपढेका कारण समस्या आउने गरेको बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले म्याद थप भएका ठेक्काको बीमालेख नवीकरण गर्ने सम्बन्धमा त्यस्ता ठेक्काको सङ्ख्या कति छ, त्यसको यकिन भएपछि स्पष्ट गरिने जानकारी दिए । निर्देशक अधिकारीले बीमालेख बीमितको आवश्यकता अनुसार हुनुपर्ने, बीमालेखका सेवा तथा सुविधाहरू स्पष्ट हुनुपर्ने र बीमाप्रतिको बुझाइमा एकरूपता हुनुपर्ने बताए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बीमा गरेपछि सुरक्षित भइन्छ भन्ने बारेमा सबैलाई बुझाउनुपर्ने, दबाब र प्रभावले दाबी भुक्तानी पाउने अवस्था आउन नहुने, बीमालेख जारी गर्दा गलत कुरालाई प्रोत्साहन गर्न नहुने र बीमालाई बाध्यकारी नभई विश्वसनीय बताउनुपर्ने विचार व्यक्त गरे । नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र बैदवारले बीमा घोषणा गर्दा सही रूपमा गर्नुपर्ने, बीमा बेच्ने र लिनेले बीमाका प्रावधानलाई एउटै अर्थमा बुझ्नुपर्ने र स्वदेशी पुनर्बीमा कम्पनीले रक्षावरण गरे म्याद थप भएका ठेक्काको बीमालेख नवीकरण गर्न समस्या नहुने धारणा राखे । कार्यक्रममा सहभागी निर्माण व्यवसायीहरूले बीमा कम्पनीहरूले बीमा सर्भेयरले प्रतिवेदन बुृझाएपछि क्षतिको निश्चित प्रतिशत भुक्तानी दिनुपर्ने, बीमा गराउँदा बीमालेखका सबै प्रावधानका बारेमा स्पष्ट जानकारी गराउनुपर्ने, बीमाप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने, बीमालेखका प्रावधान सरल रूपमा नेपाली भाषामा हुनुपर्ने र बीमालेख नवीकरण, दाबी भुक्तानीका चरण तथा दाबी भुक्तानीका बारेमा अनलाइनका माध्यमबाट बीमितलाई जानकारी दिने व्यवस्था हुनुपर्ने लगायतका विचार व्यक्त गर्दै डीएलपी र एक्सेस सम्बन्धी विषय समेत उठाएका थिए । यसैगरी, निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले सबैले बीमालाई बाध्यताका रूपमा नभई आवश्यकताका रूपमा बुझ्‌नुपर्ने, बीमालेखका प्रावधानहरू पढेर मात्र बीमा गर्नुपर्ने, अन्तर्राष्ट्रिय अभ्यास र आवश्यकताका आधारमा बीमालेखका प्रावधानहरू थपिंदै गएको र बीमादरमा खासै समस्या नहेको लगायतका धारणा राखेका थिए । कार्यक्रममा नेपाल बीमक संघका पदाधिकारीहरू तथा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरू र निर्माण व्यवसायीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका उपनिर्देशक केशवप्रसाद दाहालले गरेका थिए ।

टेलिग्राम बन्द गर्ने सरकारको निर्णयप्रति सरोकारवाला संस्थाहरूको आपत्ति

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले साउन २ गते इन्टरनेट सेवा प्रदायकहरूलाई सामाजिक सञ्जाल एप टेलिग्राम बन्द गर्न निर्देशन दिएको निर्णयप्रति विभिन्न सरोकावालाहरूले आपत्ति जनाएका छन् ।  बुधबार डिजिटल राइटस् नेपाल, डिजिटल मिडिया फाउण्डेस, मिडिया एक्सन नेपाललगायत दुई दर्जनभन्दा बढी सरोकारवालाहरूले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।  उक्त निर्णयलाई ‘एकपक्षीय, अपारदर्शी र प्रमाणविहीन’ भन्दै लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेपको संज्ञा दिएका छन् । ‘नेपालको संविधानको धारा १७ र १९ ले प्रत्याभूत गरेका विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हक डिजिटल माध्यममा पनि प्रयोग गर्ने नागरिक अधिकारलाई संकुचित पार्ने काम भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।  टेलिग्रामजस्ता डिजिटल माध्यमहरू सूचनाको आदानप्रदान, जनसहभागिता, शैक्षिक कार्य, सामाजिक अभियान्ता र समुदाय समन्वयका लागि महत्वपूर्ण प्लेटफर्म भएको भन्दै विज्ञप्तिमा यस्तो प्रतिबन्धले प्रेस स्वतन्त्रता, सूचनामा पहुँच र डिजिटल समावेशिताको सरकार पक्षधरता माथि नै प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  विज्ञप्तिमा भनिएको छ, ‘२०८० मा टिकटकमाथि लगाइएको प्रतिबन्धप्रति परेको रिटमा सर्वोच्च अदालतले कानुनी व्यवस्था बनाएर सामाजिक सञ्जाल नियमन गर्न आदेश दिएको थियो । त्यसको सन्दर्भमा हाल राष्ट्रिय सभामा सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक विचाराधीन रहेको अवस्थामा, कुनै वैध कानुन बिना टेलिग्राममाथि लगाइएको प्रतिबन्ध अलोकतान्त्रिक र संविधानविपरीत छ ।’ सरकारले टेलिग्राममा आपराधिक गतिविधि भइरहेको दाबी गरे पनि त्यस्ता घटनासम्बन्धी कुनै प्रमाण वा कानुनी आदेश सार्वजनिक नगरिएको पनि विज्ञप्तिमा जनाइएको छ ।  प्लेटफर्मको दुरुपयोगबाट आपराधिक गतिविधि भएमा दुरुपयोग गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने र प्लेटफर्म बन्द गर्नु गैरउत्तरदायी कदम भएको विज्ञप्ति जारीकर्ताहरूको ठम्याइ छ ।  साथै ‘नेपालले अंगीकार गरेका अन्तर्राष्ट्रिय सन्धि–महासन्धिका दायित्वहरू र मानव अधिकारको सार्वभौमिक घोषणापत्रको समेत उल्लङ्घन भएको’ विज्ञप्तिमा उल्लेख छ।  सरोकारवालाहरूले विज्ञप्तिमार्फत टेलिग्राममाथिको प्रतिबन्ध तत्काल फिर्ता गर्न माग राखेका छन् । त्यस्तै, डिजिटल प्लेटफर्म नियमन संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डअनुसार पूर्णपरिपालना गर्न अनुरोध गरेका छन् ।  यस्तै, डिजिटल अधिकारको संरक्षणका लागि सरोकारवालाबीच पारदर्शी, समावेशी र उत्तरदायी संवाद सुरु गर्नुपर्ने सरकोकारवालाहरूको माग छ ।

यी हुन् रोनाल्डो र मेस्सीभन्दा पनि धनी फुटबल खेलाडी

काठमाडौं । तपाईंलाई लाग्छ क्रिस्टियानो रोनाल्डो विश्वकै सबैभन्दा धनी फुटबलर हुन् ? वा लियोनेल मेस्सी ? फेरि सोच्नुहोस् । विश्वकै सबैभन्दा धनी फुटबलर त्यो नाम हो जुन अधिकांश प्रशंसकहरूले मैदानमा चिन्दैनन् तर मैदानबाहिर उनले तपाईंको मनपर्ने क्लब नै किन्न सक्ने हैसियत राख्छन् । ती फुटबलर हुन् फाइक बोल्कियाह । फुटबल करिअर तर २० अर्ब डलर बराबरको नेटवर्थ । को हुन् उनी ? २७ वर्षीय बोल्कियाह ब्रुनाईको राष्ट्रिय टिमका कप्तान हुन् र हाल थाइल्याण्डको क्लब राचाबुरी एफसीका लागि खेलिरहेका छन् । उनी फुटबलमा खासै चर्चित नाम होइनन्, तर उनको अनुमानित नेटवर्थ २० अर्ब अमेरिकी डलर छ- जुन रोनाल्डोभन्दा निकै माथि पर्छ । किन ? किनभने उनी ब्रुनाईका सुल्तानका भतिज हुन् - जो विश्वकै सबैभन्दा धनी राजपरिवारमध्ये पर्छन् । रोनाल्डो वा मेस्सीको जस्तो फुटबल उपलब्धि नहुन सक्छ, तर उनी धनको मामिलामा अलगै लिगमा छन् ।  उनको परिवारसँग ठूला तेल र ग्यासको भण्डार, विलासी सम्पत्ति र विशाल लगानीहरू छन्, जुन द सन्डे टाइम्स रिच लिस्टले उल्लेख गरेको छ । क्रिस्टियानो रोनाल्डो आधिकारिक रूपमा ‘बिलियनियर’ खेलाडीको सूचीमा प्रवेश गरिसकेका छन् । उनी विश्वकै सबैभन्दा धेरै कमाइ गर्ने फुटबलरमध्ये एक हुन् र अहिले साउदी क्लब अल नसर सँगको ठुलो सम्झौतासहित उनी आर्थिक इतिहासमा नाम लेखाउन सफल भएका छन् । सेलिब्रेटी नेट वर्थअनुसार रोनाल्डोको नेटवर्थ १ अर्ब अमेरिकी डलर छ । उनले आफ्नो करिअरमा थुप्रै ब्रान्डसँग सम्झौता गरेका छन्- नाइकसँगको जीवनभरको डिल, आफ्नै सीआरसेभेन ब्रान्ड र अहिले साउदी अरबमा पाएको रेकर्ड ब्रेकिङ तलब । अल नसरसँगको रोनाल्डोको सम्झौतामा के छ ? रोनाल्डोको सम्झौताले उनलाई २ वर्षको अवधिमा ७० करोड अमेरिकी डलर दिने बताइएको छ –  जुन खेलकुद इतिहासकै सबैभन्दा ठूलो तलब हो । सम्झौतामा ४८ मिलियन डलरको साइनिङ बोनस र क्लब अल नसरमा १५ प्रतिशत स्वामित्व हिस्सेदारी पनि समावेश छ । साउदी अरबले २०३४ मा फिफा विश्वकप आयोजना गर्दैछ र रोनाल्डोलाई त्यसको विश्वदूतको रूपमा प्रस्तुत गरिँदैछ । साथै उनी इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिने व्यक्ति पनि हुन् ।  लियोनेल मेस्सी हाल अमेरिकाको एमएलएस क्लब इन्टर मियामी मा खेलिरहेका छन् । रिपोर्ट अनुसार उनको नेटवर्थ ८५० मिलियन अमेरिकी डलर रहेको छ । उनले एडिडास, एप्पल, हार्ड रक क्याफेलगायत धेरै ब्रान्डसँग सम्झौता गरेका छन् ।

भुलसुधार* : २० शैक्षिक संस्था विभागको कारावाहीमा

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न २० वटा शैक्षिक संस्थालाई कारवाही गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ट) बमोजिमको कसुर र सोही ऐनको दफा ३९ को १ (घ) बमोजिम  कारबाही विभागले जनाएको हो ।  विभागले पाठशाला एजुकेसन प्रा.लिलाई एक लाख, कंगारु एजुकेसन फाण्डेसनलाई ७५ हजार, साप्पोरा एजुकेसनलाई ६० हजार र केपी टाइट इन्स्च्यिुटलाई ५१ हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै, अन्य शैक्षिक संस्थालाई पनि कारवाही गरेको सूचना विभागले सार्वजनिक गरेको छ ।  (*मिति २०८२ साउन १४ गते प्रकाशित यस समाचारमा असावधानिबस् कवी अर्जुन पराजुलीको नाम र तस्बिर उल्लेख भएकोले यसबाट उहाँलाई पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। कवी पराजुलीले पठाएको खण्डन र जानकारीप्रति आभार प्रकट गर्दै विकासन्युज डटकम सधैं सन्तुलित समाचार प्रस्तुत गर्न प्रतिबद्ध रहेको जानकारी गराउँदछौं : सम्पादक)  

राष्ट्रिय वाणिज्य बैंकको '७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८' नेप्सेमा सूचीकृत

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको '७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८' नेप्सेमा सूचीकृत भएको छ ।बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा राष्ट्रिय वाणिज्य बैंकको ७ वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्र सूचीकरण भएको हो । बुधबार नेपाल स्टक एक्सचेञ्ज र राष्ट्रिय वाणिज्य बैंकबीच नेप्सेमा सूचीकृत गर्ने सम्झौता भएको हो । सम्झौतामा  राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले हस्ताक्षर गरे ।  उक्त ऋणपत्र साउन १५ गतेदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । 

संघ, प्रदेश र स्थानीय तहमा खर्च अनुशासन कडाइ गर्न कार्यदल गठन

काठमाडौं । अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ । कार्यदलमा अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहेका छन् ।  सदस्यहरूमा अर्थ मन्त्रालयका बजेट महाशाखाका उपचिव, अर्थ मन्त्रालय कानून तथा फैसला महाशाखाका उपसचिव र विषय विज्ञमा पूर्व सहसचिव निर्मलहरी अधिकारी रहेका छन्  । कार्यदलको सदस्य सचिवमा वित्तीय संघीयता महाशाखाका उपसचिव रहेका छन् ।  चालू आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं. ३५९ मा विनियोजन कुशलता कायम गरी सार्वजिनक वित्तको प्रभावकारिता वृद्धि गर्ने, बजेट अनुशासनबाट सार्वजनिक खर्चको उपलब्धी बढाउने, संघीय सञ्चित कोषलाई सन्तुलनमा राख्न नगद प्रवाह व्यवस्थापनलाई सुढृढ बनाउने उल्लेख छ । यसैगरी सार्वजनिक ऋणको उत्पादनशिल उपयोग र दिगोपन सुनिश्चित गर्ने र राष्ट्रिय वित्त व्यवस्थापन सुधार रणनीति कार्यान्वयन गर्ने उल्लेख छ ।  बजेटको बुँदा नं. ३७१ मा संविधानले निर्दिष्ट गरे बमोजिम संघ, प्रदेश र स्थानीय तहमा बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माण गर्ने र तीनै तहमा लागू हुने गरी सार्वजनिक खर्च मापदण्ड तर्जुमा गर्ने उल्लेख छ । बजेटमा रहेको व्यवस्थालाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले कार्यदल गठन गरेको हो ।  संविधानको धारा ५९ मा संघ, प्रदेश र स्थानीय तहको बजेट घाटा व्यवस्थापन तथा अन्य कानून अनुशासन सम्बन्धी व्यवस्था संघीय कानून बमोजिम हुने उल्लेख छ ।  

संसद्‌मा प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू निदाए, सामाजिक सञ्जालमा भाइरल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सत्तापक्षका मन्त्रीहरू निदाएको दृश्य सार्वजनिक भएपछि आलोचना सुरु भएको छ । प्रधानमन्त्रीसँगै पहिलो पंक्तिमा बसेका मन्त्रीहरू संसद्को बैठककै बेला निदाएको देखिएको हो । सभामा सांसदहरू अल्पविकसित मुलुकको सूचीबाट नेपालको स्तरोन्नति पछि उत्पन्न हुने अवस्थाबारे बहस गरिरहेका थिए । प्रधानमन्त्री ओली भने बहसमा चाखसहित सहभागी देखिन्थे । जवाफ दिने क्रममा उनले बहस पूरै ध्यानपूर्वक सुनेको बताउँदै राष्ट्रिय सभाको गरिमा अनुरूप सांसदहरूले सशक्त ढंगले आफ्नो धारणा राखेको भन्दै प्रशंसा गरे । तर, प्रधानमन्त्रीकै लहरमा बसेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, रक्षामन्त्री मानवीर राई संसद् मै निदाएका थिए । संसद्को यस्तो संवेदनशील विषयमा बहस भइरहँदा मन्त्रीहरू निदाएको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्न थालेको छ । 

दक्षिण एसियाली युवा नेतृत्वको मञ्च सुरु हुँदै, अन्तरसांस्कृतिक समझदारी र क्षेत्रीय सहकार्यमा जोड दिने

काठमाडौं । जुनियर चेम्बर इन्टरनेशनल (जेसीआई) नेपालको आयोजनामा अन्तर्राष्ट्रिय नेतृत्व विकासका लागि दक्षिण एसियाली एकेडेमी (एसएएआईएल)  नेपाल २०२५ सुरु हुने भएको छ ।   यही साउन १५ देखि १८ (जुलाई ३१–अगस्ट ३) सम्म काठमाडौंको ठमेलस्थित अलोफ्ट होटलमा कार्यक्रम आयोजना हुन लागेको हो । राष्ट्रहरूलाई जोड्दै – सक्षम नेतृत्व निर्माण गर्दै नारासहित सुरु हुने यस एकेडेमीले दक्षिण एसियाली मुलुकका युवाहरूलाई नेतृत्व विकास, अन्तरसांस्कृतिक समझदारी र क्षेत्रीय सहकार्यमा जोड दिनेछ। एसएएआईएलको अवधारणा सन् २०२५ मा मङ्गोलियाको उलानबटारमा सम्पन्न जेसीआई एसिया प्यासिफिक कन्फेरेन्समा जन्मिएको हो ।  नेपाल, भारत, श्रीलंका र बंगलादेशबीच संयुक्त समझदारी पत्रमार्फत एकेडेमी स्थापना गर्ने निर्णय भएको थियो । नेपाल यस क्षेत्रीय पहलको पहिलो आयोजक राष्ट्र बन्ने गौरव प्राप्त गरेको छ । नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रञ्जनी थापाको नेतृत्वमा आयोजना हुँदै गरेको यस एकेडेमीको निर्देशक जिम्मेवारी पूर्व राष्ट्रिय अध्यक्ष तथा जेसीआई सिनेटर प्रज्ञा राज राजभण्डारीले सम्हाल्दै छिन् ।  आयोजक संस्था जेसीआई नेपालले यसलाई दक्षिण एसियाली युवा नेतृत्व विकासमा ऐतिहासिक कोसेढुङ्गाको रूपमा लिएको छ । युवा नेतृत्व क्षमताको बहुआयामिक विकास, दक्षिण एसियाली राष्ट्रबीच आपसी मित्रता र सहयोगको प्रवर्द्धन, नेपाली संस्कृति, पर्यटन र पहिचानको अन्तर्राष्ट्रिय प्रवर्द्धन, उद्योग, लगानी र नवप्रवर्तनमा युवा सहभागिताको विस्तार र क्षेत्रीय साझेदारी र दीर्घकालीन सञ्जाल निर्माण यस कार्यक्रमका मुख्य विशेषता हुन् । कार्यक्रममा  नीति निर्माण, उद्यमशीलता, नवप्रवर्तन र विश्व नेतृत्वमा केन्द्रित कार्यशालाहरू पनि हुने जनाइएको छ। यसैगरी, काठमाडौं, लुम्बिनी, पाटन, भक्तपुर, स्वयम्भू, बौद्धलगायतका ऐतिहासिक तथा विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूको अवलोकन हुने जनाइएको छ । साथै क्षेत्रीय उत्सव र फेलोसिपः सहभागी राष्ट्रबीच सञ्जाल विस्तार, सांस्कृतिक प्रस्तुतिहरू पनि हुने जनाइएको छ। कार्यक्रममा जेसीआई एसिया प्यासिफिकका उपाध्यक्ष मार्क जोसेफ डेभिड, हिरोकी टोमोरीलगायत अन्तर्राष्ट्रिय अतिथिहरूको उपस्थिति रहने पनि जनाइएको छ ।  जेसीआई नेपालले सम्पूर्ण अन्तर्राष्ट्रिय सहभागीहरूलाई नेपालमा स्वागत गर्दै यो कार्यक्रममार्फत साझा भविष्य निर्माण, युवा क्षमता विकास र दीर्घकालीन सहकार्यको सन्देश फैलाउने लक्ष्य लिएको छ । नेपालमार्फत सुरु भएको यो  अभियानले आगामी वर्षहरूमा अन्य दक्षिण एसियाली राष्ट्रहरूमा पनि निरन्तरता पाउनेछ र नेपालले यस मञ्चमार्फत विश्वसमक्ष युवा नेतृत्वको सशक्त पहिचान उजागर गर्ने अपेक्षा गरिएको छ ।