विकासन्युज

सिन्डिकेटको मारमा दसैंका यात्रु, सिटभन्दा बढी यात्रु ओसार्न पाउनुपर्ने माग

काठमाडौं १३, असोज । यातायात व्यवसायी समितिहरूको सिन्डिकेट रहेको क्षेत्रमा नियमितबाहेक अतिरिक्त बसहरूको व्यवस्था नगरिँदा दसैंमा घर जाने यात्रुहरूले टिकट पाउन सकेका छैनन् । सरकारले सिटभन्दा बढी यात्रु ओसार्न कडाइ गरेपछि यातायात व्यवसायीले ‘दबाब सिर्जना गर्न’ भन्दै अतिरिक्त बस थप नगरेका हुन् । सबैजसो रुटमा नियमित सञ्चालन हुने बसको घटस्थापनादेखि २३ असोजसम्मका टिकट बिकिसकेका छन् । तर व्यवसायीहरूले अतिरिक्त बस थपेका छैनन् । सरकारी अधिकारीसँगको बैठकमा उनीहरूले सिटभन्दा बढी यात्रु ओसार्न पाउनुपर्ने माग गरेका छन् । यातायात व्यवसायीहरूले सुरु गरेको कार्टेलिङप्रति यातायात व्यवस्था विभागका अधिकारीहरूले कुनै प्रतिवाद गरेका छैनन् । ‘दसैंका बेलामा यात्रुहरूको चाप हुने भएकाले सिटबाहेक पनि यात्रु ओसार्न पाउनुपर्ने र त्यसमा प्रहरीले कुनै कारबाही गर्न नहुने माग व्यवसायीहरूको छ ।’ यातायात व्यवस्था विभागसम्बद्ध स्रोतले भन्यो, ‘होइन भने यात्रु ओसारेपछि रित्तो बस फर्किंदा लाग्ने इन्धन खर्च सरकारले व्यहोर्नुपर्ने तर्क गरिरहेका छन् ।’ माग सम्बोधन नगरिए नियमितबाहेक अतिरिक्त बसहरूको व्यवस्था गर्न नसकिने व्यवसायीको अडानका कारण यात्रुहरूले सहजै टिकट पाएका छैनन् । बुधबार बिहान गोंगबुस्थित नयाँ बसपार्कमा भेटिएका देवराज भण्डारीले चार पटक धाउँदा पनि टिकट नपाएको गुनासो गरे । ‘बुकिङ खुलेकै दिन टिकट सकियो भनेर फर्काए,’ अर्घाखाँची सदरमुकाम जान टिकट खोजेका उनले भने, ‘हरेक दिन बोलाउँछन्, बुधबारबस थपेको खबर छैन भन्दै फर्काउँछन् ।’ यातायात व्यवस्था विभागसँगको समन्वयमा व्यवसायीहरूले असोज ९ गतेदेखि दसैंको टिकट बुकिङ सुरु गरेका थिए । तर अधिकांश ठाउँमा नियमितबाहेक अतिरिक्त बस नथपेका कारण एकै दिनमा टिकट सकिएको हो । सिट संख्याभन्दा बढी यात्रु बोक्न नपाउने नियममा सरकारले गरेको कडाइप्रति यातायात व्यवसायीहरू रुष्ट छन् । उनीहरूले दसैंका यात्रुहरूलाई देखाएर सिट संख्यामा गरिएको कडाइमा मोलमोलाई गरिरहेको विभाग स्रोतले बतायो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको भनाइबाट पनि यही आशय झल्किन्छ । कान्तिपुर दैनिकबाट ।

सरकारी कार्यालयबाटै खैरो हेरोइनको धन्दा, औषधि व्यवस्था विभाग परिसरभित्र स्टिलको दराजमा २२ ग्राम खैरो हेरोइन

काठमाडौं १३, असोज । औषधिको नियामक निकाय औषधि व्यवस्था विभाग परिसरभित्र रहेको स्टिल दराजमा खैरो हेरोइन फेला परेको छ। विभागको बिजुलीबजारस्थित पानस फर्मास्युटिकल्स प्रालि लेखेको स्टिलको दराजभित्र २२ ग्राम खैरो हेरोइन र हेरोइन जोख्ने डिजिटल तराजु फेला परेको समाचार विहिबारको राजधानीमा छापिएको छ। लागूऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइनको कारोबारीको आरोपमा सुनिल गुप्तालाई पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो । ‘विभागकै परिसरमा रहेको दराजभित्र लागूऔषध फेला परेको यो पहिलोपटक हो’, ब्युरोका प्रहरी नायब महानिरीक्षक  जयबहादुर चन्दले भने । उनका अनुसार औषधि कम्पनीहरूले विभाग परिसरमा औषधि परीक्षणका लागि राख्ने छुट्टै लकरसहितको दराजमा गुप्ताले चरेस रहेका बताएका थिए । गुप्ता पानस फर्मास्युटिकल्सका कामदार हुन् । बयानमा उनले विभागभित्र रहेको स्टिलको दराजमा हेरोइन राखेको बताएपछि ब्युरो टोली बुधबार विभाग पुगेको थियो । गुप्ताले बताएअनुसार विभागभित्र रहेको स्टिलको दराज खोलेर हेर्दा प्रहरीले हेरोइन र त्यो जोख्न प्रयोग हुने तराजु फेला पारेको थियो। ब्युरोका डीआईजी जयबहादुर चन्दका अनुसार प्रारम्भमा काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीमा सूर्य संगत पक्राउ परेका थिए । उनको साथबाट ७ ग्राम खैरो हेरोइन र ४ हजार रुपैयाँ फेला परेको थियो । सोधपुछमा संगतले बाँकेका ३२ वर्षीय गुप्तासँग हेरोइन किनेको खुलेको थियो । गुप्ता पानस फर्मास्युटिकल्सका लाइजन अफिसर हुन् । गुप्तासँग हेरोइन किनेका प्रकाश जोशी, सद्दाम अन्सारी र वीरेन्द्र सिंहलाई प्रहरीले गौशालाको साउथ एसियन गेस्ट हाउसमा छापा मारी पक्राउ गरेको थियो । उनीहरूका साथबाट ९ ग्राम हेरोइन र ६४ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । विभाग परिसरमै लागूऔषध फेला परेको विषयमा प्रहरीले विभागका कर्मचारीलाई पनि अनुसन्धानमा राख्ने जनाएको छ । यसअघि, ब्युरोको ध्यान विभागतिर गएको थिएन । औषधि व्यवस्था विभागमा औषधि कम्पनीले आफनो लकर राख्न पाउने व्यवस्थाका बारेमा पनि जानकारी नभएको ब्युरोले जनाएको छ । विभाग आफैं औषधि कम्पनीहरूको नियामक निकाय भएकाले लागूऔषधजस्तो पदार्थका बारेमा जिम्मेवार हुनुपर्ने प्रहरीको दाबी छ ।

सांसद सुविधा ह्वात्त बढ्दै, सांसदले भत्ता वृद्धि भएपछि मासिक ८० हजार ५ सय रुपैयाँ पाउने

काठमाडौं १३, असोज । सरकारले साउन १ देखि नै लागू हुने गरी सांसदहरूको घरभाडा तथा पत्रपत्रिकालगायत सुविधाबापतको भत्तामा भारी वृद्धि गर्ने भएको छ । बैठक भत्ता र ट्याक्सी भाडाबाहेक मासिक ५४ हजार २ सय  पाउँदै आएका सांसदले भत्ता वृद्धि भएपछि मासिक ८० हजार ५ सय रुपैयाँ पाउने संसद् सचिवालयले जानकारी दिएको छ । सांसदहरूको मासिक तलबसुविधामा साउन १ देखि नै लागू हुने गरी झन्डै २६ हजार रुपैयाँले बढ्नेछ । बैठक भत्ता र ट्याक्सी भाडामा समेत भारी वृद्धि हुने भएको छ । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले संसद् सचिवालयको सिफारिसमा सांसदहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा साउन १ देखि नै लागू हुने गरी भत्ता बढाउन प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयले सांसदहरूको भत्ता वृद्धिको प्रस्तावमा सहमति दिएपछि सरकारले पारिश्रमिकसम्बन्धी विधेयक संसद्मा पेस गर्न लागेको छ । संसद्ले विधेयक पारित गरेपछि सांसदहरूको भत्ता वृद्धिको निर्णय कार्यान्वयन हुनेछ । विधेयकमा सांसदहरूको घरभाडाबापतको रकम तीन गुना बढी वृद्धि गर्न प्रस्ताव गरिएको छ । विधेयक पारित भएपछि सांसदहरूको घरभाडा ६ हजार ५ सयबाट बढेर १८ हजार रुपैयाँ पुग्नेछ । सांसदहरूको पत्रपत्रिका सुविधाबापतको रकम मासिक ५ सयबाट ६ गुना बढेर ३ हजार रुपैयाँ पुग्नेछ । खानेपानी र बत्तीको महसुलका लागि सांसदहरूले मासिक २ हजार रुपैयाँ पाउनेछन् । यसअघि यो सुविधा १२ सय रुपैयाँ मात्र थियो । अब सांसदहरूलेबैठक बसेको दिनको दैनिक ट्याक्सी भाडा १ हजार रुपैयाँ पाउने छन् । यसअघि दैनिक ट्याक्सी भाडा १ सय ५० रुपैयाँ मात्र थियो । सांसदहरूको बैठक भत्ता दैनिक २ सयबाट बढेर ५ सय रुपैयाँ पुग्नेछ । सांसदहरूले संसद् या समितिको बैठक बसेको दिनमा बैठक भत्ता र ट्याक्सी भाडा पाउने छन् । दलहरूबीच विभिन्न एजेन्डामा मतभेद भए पनि सांसदहरूको भत्ता बढाउने सवालमा भने सर्वसम्मति देखिएको छ । सबै दलका सचेतकहरू रहेको समितिले सर्वसम्मतिमा सांसदहरूको घरभाडा लगायतको सुविधा वृद्धि गर्न सिफारिस गरेको हो । कान्तिपुर दैनिकबाट ।

ग्यालेक्सी नोट सेभेनलाई नेपालमा पनि धक्का, हवाइयात्रामा बोक्न निषेध, यतीले जारी गर्यो सूचना

काठमाडौं, १२ असोज। यति एयरलाइन्सले पनि यात्रुलाई सामसङको ग्यालेक्सी नोट सेभेन बोक्न प्रतिवन्ध लागाएको छ। कम्पनीले सूचना जारी गर्दै विमानमा यात्रामा रहँदा सामसुङको ग्यालेक्सी नोट सेभेन मोवाइल चलाउन प्रतिवन्ध लगाएको हो। कम्पनीले जहाजमा चढेदेखी नओर्लेसम्म अनिवार्य रुपमा मोवाइल स्विच अफ गरेर हाते झोलामा बोक्न अनुरोध गरेको छ। यात्रुले आफ्नो लगेजमा समेत मोवाइल बोक्न नपाउने कम्पनीले जारी प्रेस विज्ञप्तीमा छ। कम्पनीले मोवाइललाई फ्लाइट मोडमा समेत राखेर लैजान नपाउने जानकारी दिएको छ। विदेशी एयरलाइन्समा सामसुङको मोवाइल पड्किने समस्याका कारण बोक्न प्रतिवन्ध लागएका कारण नेपाल नागरिक उड्ययन प्राधिकरणले पनि यस सम्वन्धमा छलफल गरेको प्राधिकरणका प्रवक्ता देवेन्द्र केसीले बताए। अन्तराष्ट्रिय एयरलाइन्सले पनि प्रतिवन्ध गरेको अवस्थामा नेपालका एयरलाइन्स कम्पनीले प्रतिवन्ध लगाउने कुनै अनौठो कुरा नभएको केसीले बताए। ‘विमान कम्पनीले यात्रुका साथसाथै आफ्नो प्लेनको पनि सुरक्षा गर्नुपर्ने हुन्छ’ उनले भने ‘अब चाँडै अरु विमान कम्पनीले पनि प्रतिवन्ध लगाउन सक्छन्।’

बिहीबारदेखि काठमाडौंमा दुईदिने सार्क सम्मेलन

काठमाडौं, १२ असोज । अन्तर्राष्ट्रियस्तरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को प्रभावकारितालाई कसरी अभिवृद्धि गर्ने भन्ने विषयमा केन्द्रित भई काठमाडौंमा दुईदिने सम्मेलन हुने भएको छ । बिहीबारदेखि सुरु हुने सम्मेलनमा नेपालसहित यसका सदस्य राष्ट्र भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, मालदिभ्स, अफगानिस्तान, पाकिस्तानका विधायिका, राजनीतिज्ञ, कूटनीतिज्ञ तथा सञ्चारकर्मीको सहभागिता रहनेछ । सम्मेलनमा पाँच विषयमा सात वटा कार्यपत्र सम्मेलनमा प्रस्तुत हुने व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सन् २०१४ मा काठमाडौंमा सम्पन्न सार्कको १८औँ शिखर सम्मेलनबाट नेपालले सार्कको अध्यक्षता ग्रहण गरेको थियो । आगामी सार्क सम्मेलन पाकिस्तानको इस्लामावादमा हुँदैछ । अध्यक्ष मुलुकको नाताले नेपालले आगामी दिनमा सार्कलाई यस क्षेत्रबाट गरिबी निवारण, आतङ्कवाद नियन्त्रण, आर्थिक समृद्धिका क्षेत्रमा अझ प्रभावकारी भूमिका खेल्न सम्मेलनले सुझाव दिने सम्मेलन आयोजक समितिका सदस्य एवम् नेपाली काँङग्रेसका नेतृ सुजाता कोइरालाले पत्रकार सम्मेलनमा जानकारी दिए । संसदीय समितिद्वारा सार्क स्थापनाको तीन दशकमा पहिलो पटक आयोजित सो सम्मेलनका क्रममा यस क्षेत्रका संसद्अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति सम्मिलित संयन्त्रसमेत बनाइने प्रस्तावसमेत गरिएको छ । पाँच कार्यपत्र प्रस्तुत हुने क्रममा पाँच जना पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, भीम रावल, नारायणकाजी श्रेष्ठ, कमल थापा र विजयकुमार गच्छदारले अलगअलग रुपमा अध्यक्षतासमेत गर्नुहुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनमा भाग लिन सबै विशिष्ट अतिथि काठमाडौँ आइसक्नुभएको र सम्मेलनको तयारी सबै पूरा भएको समितिले जनाएको छ । अन्तर्राष्ट्रिय मञ्चमा सार्क कतै ओझेलमा पर्न थालेको त होइन भन्ने स्थितिलाई चिर्न सम्मेलनले सहयोग पु¥याउने नेत्री कोइरालाले बताए । समितिका सभापति प्रभु साहले आगामी सार्क सम्मेलनलाई प्रभावकारी र फलदायी बनाउन सम्मेलनले महत्वपूर्ण सुझाव सरकार प्रमुखलाई दिने जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गर्ने भएका छन् । रासस विष्णु

नेपालमा लगानी वृद्धि गर्न भारतीय राजदुतलाई उद्योग मन्त्रीको आग्रह

काठमाडौं, १२ असोज । उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालमा लगानी वृद्धि गर्न भारतीय राजदुत रंजीत रायलाई आग्रह गरेका छन् । जोशीले बुधबार उद्योग मन्त्रालय सिंहदरवारमा भारतीय राजदुत राय सँगको भेटमा सो विषयमा आग्रह गरेका थिए । नेपालमा औद्योगिक विकासको अत्यन्त ठुलो सम्भावना रहेको भन्दै मन्त्री जोशीले औद्योगिक वातावरण निर्माणका लागी उद्योग मन्त्रालयले काम गरिरहेको बताए । अहिले उद्योग मन्त्रालय नीतिगत सुधारको प्रकृयामा रहेको भन्दै मन्त्री जोशीले यसका लागि छिट्टै संसदबाट औद्योगिक व्यवसाय सम्वन्धी कानूनलाई संशोधन र एकिकरण गरी बनेको विधेयक २०७१ पास गर्न लागिएको बताएका छन् । सो विधेयकले मुलुक भित्र श्रम मैत्री औद्योगिक वातावरणको निर्माण गर्ने मन्त्री जोशीले बताए । मन्त्री जोशीले उद्योग स्थापनाका लागि लाग्ने प्रकृयागत झण्झटहरुलाई समेत सरलिकृत गरी छिटो भन्दा छिटो सेवा दिने दिशामा उद्योग मन्त्रालयका सेवाहरुलाई सुधार गरिएको पनि उनले बताए । नयाँ संविधान निर्माण पछिको अवको समयलाई औद्योगिकरणका माध्यमबाट आर्थिक सम्वृद्धि हासिल गर्ने दिशामा केन्द्रीत गर्न लागिएको भन्दै उद्योग मन्त्री नवीन्द्रराज जोशीले विदेशी लगानी आकर्षित गर्न विदेशी लगानी सम्वन्धी विद्यमान कानूनमा समेत समसामयीक सुधार गर्न लागिएको प्रष्ट पारेका छन् । भेटमा नेपालका लागि भारतिय राजदुत रंजीत रायले लगानी प्रकृयामा देखिएका प्रकृयागत झण्झटहरुलाई समाधान गर्न सुझाव दिएका छन् । भारतमा रहेका लघु, घरेलु तथा साना उद्योगको अनुभवले नेपालका लघु, घरेलु तथा साना उद्योगको विकासका लागी फलदायी हुन सक्ने भएकाले ती संस्थाहरुबीच अनुभव आदन प्रदानका लागि काम गर्न सकिने बताए । नेपालको विकास प्रयासमा सहयोग गर्न भारत सँधै तत्पर रहेको नेपालका लागी भारतिय राजदूत रंजीत रायले बताएका छन् ।

केएल टावरमा सुरु भयो दशैं तिहार उपहार योजना

काठमाडौं, १२ असोज । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले दशैं तथा तिहारलाई लक्षित गर्दै उपहार योजना सुरु गरेको छ । रमाइलो दसैँ–तिहार नाम दिइएको योजनामा ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाउने छन् । त्यसै गरी उपहार योजनामा सहभागि ग्राहकले साप्ताहिक तथा बम्पर उपहारमा टेलिभिजन वासिंग मेशिनदेखि मोटरसाइकलसम्म उपहार पाउने छन् । दशैंमा केही नयाँ वस्तु तथा सेवा खरिद गर्ने आम उपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै मलको व्यवशाय प्रवद्र्धनका लागि यो योजना ल्याइएको हो । उपहार कार्यक्रमका संयोजक हिरामणी तिमल्सिनाका अनुसार उपभोक्ताले केएल टावरमा सामान खरिद गर्नेले कुपन मार्फत उपहार प्राप्त गर्नेछन् । जस अनुसार दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, जेडटिईका स्मार्टफोन, फुडकोर्टको लन्च कुपन लगायत रहेका छन् भने साप्ताहिक रूपमा मलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिजलगायतका घरायसी सामान उपलब्ध गराउने तिमल्सिनाले बताए । यसका साथै साप्ताहिक उपहार कार्यक्रममा ग्रिनविच कम्पनीको टाइमेक्स घडी तथा ५ हजार रुपैयाँँबराबरको सपिङ भौचर पनि ग्राहले पाउने छन् । उपहार योजनाको बम्पर उपहारमा टिभिएसको अपाचे आरटिआर मोटरसाइकल, टिभिएसकै जेस्ट स्कुटर तथा बैंकक भ्रमणको अवसर ग्राहले पाउने छन् । ५० वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुमलगायतका दैनिक प्रयोगमा आउने सबै प्रकारका सामान खरिद गर्न सकिने मलमा १ हजार रुपैयाँ बराबरको खरिदमा ग्राहले एउटा उपहार कुपन प्राप्त गर्नेछन् । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ । असोज १० गते सुरु भएको कार्यक्रम कात्तिक २७ गतेसम्म चल्नेछ ।

यातायात व्यवसायीद्वारा बिपी राजमार्ग बन्द, यात्रु अलपत्र

सिन्धुली, १२ असोज । यातयात व्यवसायीले बुधबार बिहान ९ः३० बजेदेखि बिपी राजमार्ग बन्द गराएका छन् । मार्ग इजाजतको माग गर्दै बुधबार बिहानैदेखि यातायात व्यवसायीले यहाँको राजमार्गमा सवारी साधन तेर्सायएर बन्द गरेका हुन् । सरकारले अस्थायी मार्ग इजाजत दिने निर्णय गरे पनि मङ्गलबार धादिङमा भएको घटनालाई लिएर निर्णय परिवर्तन गरेपछि आफूहरुले बन्द गर्नुपरेको यातायात व्यवसायीले बताएका हुन् । सरकार आफैँले गरेको निर्णय कार्यान्वयन गराउनुको साटो उल्टै व्यवसायीलाई धरासायी बनाउन खोजेको बिपी यातायात सेवा समितिमा आबद्ध व्यवसायी पुरुषोत्तम शर्माले बताए । सरकारले तत्काल अस्थायी मार्ग इजाजत नदिएसम्म राजमार्ग बन्द गराउने उनको भनाइ थियो । सिन्धुलीका बिपी यातायात, कमलामाई यातायात, हिमाल तराई यातायातलगायतका जिल्लाका झन्डै एक दर्जन यातायात व्यवसायीले मार्ग इजाजतको माग गर्दै बिपी राजमार्ग अवरुद्ध गरेका हुन् । यसैबीच जिल्ला सशस्त्र प्रहरी बल बेस क्याम्प सिन्धुलीका प्रहरी नायब उपरीक्षक यदुविक्रम कार्कीले राजमार्ग कुनै पनि हालतमा बन्द गर्न नपाइने बताए । यातायात व्यवसायीले बिपी राजमार्गको विभिन्न स्थानमा बस तेर्सायएर गरेको बन्दले सिन्धुली हुँदै उदयपुर, झापा, मोरङ, हिलेबाट राजधानी हिँडेका दजनौँ यातायात सिन्धुलीमा रोकिएका छन् भने काठमाडौंबाट सिन्धुली हुँदै घर हिँडेका यात्रु पनि अलपत्रमा परेका छन् । रासस