विकासन्युज

बाढी प्रभावितलाई पाँच लाख रुपैयाँ दिन माओवादीको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ को नेतृत्वमा पार्टीको सम्पूर्ण पंक्ति परिचालन गर्ने भएको छ । पार्टी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको निर्वाचनलाई भव्य र सभ्य बनाउनका लागि पार्टीको सम्पूर्ण पंक्ति परिचालन गर्ने निर्णय गरेको हो । प्रवक्ता पम्फा भुसालले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा प्राप्त शिक्षाका आधारमा २ नं प्रदेशको निर्वाचनलाई थप प्रभावकारी बनाउन पार्टीका तर्फबाट सम्पूर्ण शक्ति परिचालन गर्ने र पहिलो पार्टीका रुपमा स्थापित हुने गरी कार्ययोजनासमेत तयार पारिने जानकारी दिए । माओवादीले यसअघि नै नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, मातृका यादवलगायतलाई निर्वाचनका विषयमा आवश्यक तयारी गर्न केन्द्रीय प्रतिनिधि परिचालन गरेको थियो । यस्तै प्राकृतिक विपत्तिमा परेकालाई तत्काल राहत उपलब्ध गराउन र उचित बसोबासका लागि तत्कालीन राहत रु एक लाख, मृतक परिवारलाई रु तीन लाख र क्षतिपूर्ति तथा पुनःस्थापनाका लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउन माग गरिएको प्रवक्ता भुसालले जानकारी दिए। बाढीपहिरो प्रभावितलाई राहत उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व भएको ठहर गर्दै माओवादी केन्द्रले प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ । यस्तै माओवादी केन्द्रले आदिवासी, जनजाति, मधेसी, महिला र दलित समुदायलाई अधिकारसम्पन्न बनाउन संविधान संशोधन अत्यावश्यक रहे पनि प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०को ‘दम्भ र अहंकार’का कारण सफल हुन नसकेको ठहर गरेको छ । “जनतालाई अधिकार दिन एमाले र त्यसको प्रमुख नेतृत्व जुन तवरले नकारात्मक भयो, त्यसले मुलुकलाई अग्रगमनको दिशामा लैजान बाधा खडा गरेको छ” भुसालले भने “सरकार र सरकारमा रहेका दलले सकारात्मक प्रयास र पहल गरे पनि मुलुकको आवश्यकतालाई ध्यान नदिइनु गलत देखिएको छ ।” माओवादी केन्द्रले जनताको अधिकार प्राप्तिको संघर्षलाई निरन्तर अगाडि बढाउने निर्णयसमेत गरेको छ । रासस

कलंकी-नागढुंगा सडकमा ११ हजार भोल्टको करेण्ट

काठमाडौं ।  राजधानीको सडक विस्तारमा सैयौं मुद्धा परेका छन भन्ने कुरा सबैलाई जानकारी नै छ ।  तर त्यहि सडकमा ११ हजार भोल्टको करेण्ट पनि बगिरहेको छ भन्ने कुरा थोरैलाई मात्रै थाहा होला । हो कलंकीबाट नागढुंगा तर्फ ४ सय मिटर अघि बढेपछि बाटो किनारमै ११ हजार भोल्ट करेण्ट प्रवाह हुने अण्डरग्राउण्ड तार भेटिन्छ । जसले सडक विस्तारलाई ठुलै अवरोध सृजना गरिरहेको छ । ‘११ हजार भोल्टको करेण्ट प्रवाह हुने विद्युतको लाइन अण्डर ग्राउण्ड गरिएको छ, जसका कारण कलंकीदेखि ढुंगा अड्डाको ५ सय मिटर सडक कालोपत्रे गर्न पाईएको छैन’, काठमाडौं सडक विस्तार आयोजनाका प्रमुख दिपक केसीले भन्छन् । सो तारले ६ महिनादेखि सडक विस्तारमा अवरोध गरिरहेको छ । नेपाल विद्युत प्राधिकरणलाई पटक पटक आग्रह गर्दा पनि तार हटाउन ठोस पहल गरेको छैन् ।‘कलंकी चोकदेखि अगाडी ५ सय मिटरसम्म सडक पिच गर्न सकिन्थ्यो तर ६ महिनादेखि त्यहि तारले काम रोकेको छ, विद्युत प्राधिकरणलाई हटाउन आग्रह गर्दा आश्वासन मात्रै पाईरहेका छौं’, केसीले गुनासो पोखे । उता, प्राधिकरण बलम्बु केन्द्रका प्रमुख जनार्दन पराजुलीले भने तार हटाउने प्रक्रिया अघि बढेको बताए । ‘हामीले तार व्यवस्थापनका लागि पाइप बिछ्याउने काम भएको छ, अब माथीबाट तार टाँगेर विद्युत प्रसारण गराउँछौं र अण्डर ग्राउण्ड तारलाई निकाल्छौं’, पराजुलीले भने । त्यहाँ १.५ मिटर गहिराईमा ४० मिटरसम्म तार अण्डरग्राउण्ड गरिएको छ । अण्डर ग्राउण्ड तार हटाउने वित्तिकै सो ५ सय मिटर खण्डमा कालोपत्रे गर्ने तयारी सडक विस्तार आयोजनाले गरिरहेको छ । अन्यत्र भने अदालतमा मुद्धा परेकाले त्यसको छिनोफानो नहुञ्जेलसम्म सडक विस्तारको काम अघि बढाउन पाइने छैन् । सडक विस्तारका काम सुरु भएपछि सर्वोच्च अदालतले ३९ वटा स्टे अर्डर दिएको छ । सडक विस्तारका विरुद्ध अदालतमा परेका केहि मुद्धाहरुको पेसी भदौ २१ गतेका लागि तोकिएको छ । विद्युत प्राधिकरणले राजधानीको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका बिजुली तार भुमिगत गर्न लागेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा बिजुलीको तार भुमिगत गर्न ग्लोबल टेण्डरको पनि आब्हान भएको छ ।  

मोरङ – सुनसरी औद्योगिक करिडोरमा तीन अर्ब ५० करोड रुपैयाँ क्षति

मोरङ। सुनसरी-मोरङ औद्योगिक करिडोर क्षेत्रमा बाढीका कारण करिब तीन अर्ब ५० करोड रुपैयाँको नोक्सानी भएको छ । मोरङ व्यापार संघका अध्यक्ष एवम् सांसद् पवनकुमार शारडाका अनुसार करिडोर क्षेत्रका पाँच सय उद्योगमध्ये तीन सयजति उद्योग अझै बन्द छन् । मोरङको कटहरी क्षेत्रका त सबै उद्योग ठप्प छन् । कटहरीमा सानाठूला गरी ३० उद्योग सञ्चालित छन् । “क्षतिको पूर्ण विवरण आउन अझै एक हप्ता लाग्छ”, अध्यक्ष शारडाले भने, “कतिपय उद्योगमा त भर्खर पानी सुक्दैछ, त्यहाँभित्र पस्न सक्ने अवस्था छैन । त्यसैले पूर्ण विवरण प्राप्त गर्न एक हप्ता पर्खनुपर्छ । अहिले त हिलो र फोहर पन्छाउँदै फुर्सद छैन ।” सबै उद्योग पूर्ववत् सञ्चालन हुन अझै एक हप्ता लाग्ने उनले बताए । उद्योग वाणिज्य संघ, मोरङ व्यापार संघ र उद्योग संगठनमा उद्यमी-व्यवसायीले क्षतिको विवरण पेश गर्न थालेका छन् । अहिलेसम्म प्राप्त सूचनानुसार अन्नपूर्ण निटिङ इण्डष्ट्रीमा १६ करोड ५४ लाख रुपैयाँको क्षति भएको छ । सोमध्ये यन्त्रतर्फ पाँच करोड ५० लाख रुपैयाँ, कच्चा सामग्री तीन करोड ५० लाख रुपैयाँ र तयारी कपडा रु चार करोड ४९ लाख रुपैयाँको क्षति भएको छ । त्यस्तै विशाल ग्रुपको सञ्चालनमा रहेको मैनावती स्टिलमा छ करोड रुपैयाँको क्षति भएको छ । मैनावतीको मिलमेसिनरीतर्फ एक करोड ५५ लाख रुपैयाँ, कच्चा पदार्थ एक करोड ७५ लाख रुपैयाँ र उत्पादित वस्तु दुई करोड १६ लाख रुपैयाँको क्षति भएको छ । इटहरीस्थित रिजाल टासीमा पनि २२ करोड रुपैयाँको क्षति भएको छ । सेन्चुरी फुड एन्ड स्पाइसेज उद्योगका सञ्चालक एवम् पूर्वसांसद् मोती दुगड पछुताउँदै भन्छन्, “आँधी, हुरी, भूकम्प, आगजनीजस्ता दैवीप्रकोपको बीमा त गरियो तर बाढीको गरिएन । ”बाढीको बीमा नगर्दा उनका दुई उद्योगमा दुई करोड रुपैयाँको क्षति भएको छ । बाढीबाट मोरङको बूढीगंगा गाउँपालिकास्थित उनको सेन्चुरी परिसरमा रहेको मसला र स्न्याक्स उद्योगमा त्यति क्षति भएको हो । “सबै क्षतिको विवरण संकलन गर्न एक हप्ता लाग्छ”, दुगडले भने , “दुई वटा उद्योगको क्षतिले रु दुई करोड नाघ्ने अनुमान गरिएको छ । ” उनले उद्योगमा भएको कच्चा सामग्री, तयारी सामान, प्याकेजिङ कच्चा पदार्थ केही बाँकी नरहेको बताए । दुगडले भने, “कारखानामा बाढीको पानीसँगसँगै दुर्गन्धित हिलो पनि पस्यो । पानी त बग्यो तर हिलो छाडेर गयो । अहिले मेसिन सफा गराउने काम गरिरहेका छौँ । दुर्गन्धले कारखानाभित्र पसिसक्नु छैन ।” करिडोर क्षेत्रका ठूला उद्योगीमध्येका दुगड एक हुनुहुन्छ । उनको कुर्ररमकुरा, सेञ्चुरी मसला लगायत उद्योग सञ्चालनमा छन् । नेपाल इन्स्युरेन्सका विराटनगरस्थित प्रमुख मदन खतिवडाका अनुसार ठूला उद्योगी ९५ प्रतिशतले बाढीको बीमा गरेका छन् तर साना तथा मझौला उद्योगी ९५ प्रतिशतले गरेका छैनन् । बाढीको विनाशबाट अहिले सबैभन्दा बढी थिचिने र मिचिनेमा साना तथा मझौला उद्योगी छन् । कटहरी गाउँपालिकामा प्लाष्टिकका चप्पल र ग्लास उत्पादन गर्ने विजय तोदीले पनि बाढीको बीमा गरेका थिएनन् । उनले भने, “दुवै युनिटको गरेर क्षति एक करोड ५० लाख रुपैयाँ नाघ्छ होला ।” विराटनगरमा गुटखा उद्योग रहेका गोविन्द खतिवडाको हालत पनि त्यस्तै छ । उनका अनुसार कच्चा पदार्थ र यन्त्र सबै काम नलाग्ने भएको छ । उनले आफ्नो रु तीन करोड बराबरको क्षति भएको जिकिर गरेका छन् । रासस

सामसुङको नयाँ शोरुम नयाँ बजारमा, एलइडी टिभीदेखि माइक्रोवेभ ओभनसम्म पाइने

काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रा.लिले मंगलबार सामसुङको नयाँ शोरुम राजधानीको नयाँ बजारमा विस्तार गरेको छ । शोरुमको उद्घाटन गर्दै कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले ग्राहकहरुको मागलाई ध्यानमा राखेर बजारमा नयाँ शोरुमको स्थापना गर्न उत्साहित भएको बताए । शोरुमले ग्रहकका लागि आकर्षक अफर पनि प्रदान गर्ने कम्पनिले जनाएको छ । सामसुङ डिजिटल प्लाजामा सामसुङका उत्पादनहरु एलइडी टि.भी, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेभ वभेन, मोबाइल, तथा कर्भड टि.भी उपलब्ध हुने कम्पनीले जनाएको छ । सामसङ्गका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न तथा ग्राहकलाई सर्वसुलभ तरिकाले उपलब्ध गराउने उद्देश्य रहेको कम्पनी जानकारी दिएको छ । उपत्यकाभित्र ९ वटा र बाहिर ५ वटा गरेर हालसम्म १४ वटा प्लाजा खुलिसकेको कम्पनीले जानकारी दिएको छ ।  

ज्योति विकास बैंकले प्राप्त गर्यो राप्तीभेरी विकास बैंक, स्वाप रेसियो १ बराबर १ अनुपात

काठमाडौं । ज्योति विकास बैंकले राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विसजशन) गरेको छ । बैंकले सोमबार सम्पन्न कम्पनीको एक विशेष साधारणसभाबीच नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको उक्त राप्तीभेरी विकास बैंकलाई प्राप्त गरेको हो । साथै, सभाले ७ जना संचालक समिति रहने प्रावधान समेत स्वीकृत गरेको छ । त्यसैगरी, संयुक्त प्राप्ति (एक्विजिसन) समितिबाट निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात १ः१ (एक बराबर एक अनुपात) लाई अन्तिम स्वीकृति प्रदान गर्ने सभाले जनाएको छ । उक्त सभाले राप्तीभेरी विकास बैंक प्राप्ति पश्चात प्राप्ति (एक्विजिसन) सम्बन्धी सम्झौता पत्र अनुसार ज्योति विकास बैंकको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि हुने जनाएको छ । सो बमोजिम विकास बैंकको प्रबन्धपत्रमा आवश्यक संसोधन गर्न, हेरफेर गर्न र उपयुक्त ब्यबस्था गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धी प्रस्ताव पारित गर्ने भएको छ । बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबिबिएस सेवा समेत उपलब्ध गराएको छ । साविक झिमरुक विकास बैंकसंग मर्जर गरी शाखा संजाल ३२ वटा तथा एउटा एक्स्टेन्सन काउन्टर एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउदै आएको छ । बैंक आ.व.७३/७४ मा १० करोड ५१ लाख निक्षेप संकलन गर्न र ९ अर्व १३ करोड रुपैयाँ ऋण लगानी गर्न सफल भएको थियो । यस अवधिमा बैंकले २६ करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन सफल रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

राष्ट्रिय स्तरको विकास बैंकहरुको विलय र मोफसलका विकास बैंकहरुको उदय

काठमाडौं । ‘ठूला माछाले सानो माछा खाए झै पुँजीवादी अर्थतन्त्रमा ठूला कम्पनीले साना कम्पनीलाई खान्छ ।’ कर्पोरेट वल्डमा यो भनाई धेरैले सुनेको, पढेको र भोगेको हुनुपर्छ । तर सँधै यस्तो नहुँने रहेछ । नेपालको बैकिङ क्षेत्रको विकासमा एउटा नयाँ कर्पोरेट ट्रेन देखिएको छ । राजधानीमा खुलेका ठूला लगानीको राष्ट्रिय स्तरका विकास बैंकहरुको विलय भईरहेका छन् र मोफसलमा खुलेको साना लगानीको विकास बैंकहरु राजधानी छिरेर बजारमा राम्रो पकड जमाउन थालेका छन् ।   हामी बैकिङ सुपरमार्केटको अभ्यास गरिरहेको छौ र त्यसमा सफलता मिलिरहेको छ ।   खासगरी पोखराबाट उदाएको विकास बैंकहरुले बैकिङ क्षेत्रमा नयाँ ट्रेन सेटअप गरिरहेको छन् । त्यसको एउटा उदाहरण हो मुक्तिनाथ विकास बैंक । १ अर्ब ५४ करोड चुक्ता पुँजी भएको यस विकास बैंकले गत आर्थिक वर्षमा ४९ करोड ६३ लाख खुद नाफा गरेको छ । निक्षेप झण्डै १७ अर्ब छ, कर्जा सापटी सवा १६ अर्ब रुपैयाँ छ । खराव कर्जा शुन्य दशमलव २ प्रतिशत छ । प्रतिसेयर आम्दामी ३२ रुपैयाँ १३ पैसा छ । बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल मुक्तिनाथ विकास बैंक अरु बैंक भन्दा धेरै फरक भएको बताउँछन् । आफूहरुले बैकिङ सुपरमार्केटको अभ्यास गरिरहेको र त्यसमा सफलता मिलिरहेको उनले बताए । मुक्तिनाथ जस्तै पोखराबाट उदाएको कैलाश विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, ओम डेभलपमेन्ट बैंक, गण्डकी डेभलपमेन्ट बैकं, कामना विकास बैंकको वित्तीय अवस्था निकै राम्रो छ । उनीहरु सबै पोखरामा फाइनान्स वा जिल्ला तथा क्षेत्रीय स्तरको विकास बैंकबाट राष्ट्रिय स्तरको विकास बैंकमा स्तरउन्नति भएका हुन् । उनीहरु यतिबेला राजधानीको बजारमा आफूलाई स्थापित गराउदै केन्द्रका वाणिज्य बैंकसँग प्रतिस्पर्धा गरिहेको छन् । नेपाल राष्ट्र बैंकका अनुसार हाल १३ वटा राष्ट्रिय स्तरको विकास बैंक छन् । त्यसमा ७ वटा विकास बैंक पोखरामा आधारित छन् । बाँकी ६ वटा विकास बैंकहरु मध्ये एनआईडीसी डेभलपमेन्ट बैंक राष्ट्रिय वाणिज्य बैंकमा विलय हुँदैछ भने टुरिजम डेभलमेन्ट बैंक मेगा बैंकमा विलय हुने प्रक्रियामा छ । पोखरामा स्थापना भएका बैंकमा काम गर्ने संस्कार राम्रो छ । बैंक व्यवसायिक ढंगले चलाउनु पर्छ, पारिवारिक स्वार्थलाई बैंकमा स्थान दिनुहुँदैन, प्रवद्र्धक तथा सञ्चालकले अस्वभाविक हस्तक्षेप गर्नु हुँदैन भन्ने संस्कार पोखरेलीहरुमा शुरुदेखि नै विकास भयो । राजधानीमा केन्द्रीय कार्यालय राखेर खुलेका राष्ट्रिय स्तरका १४ वटा विकास बैंक विलय भएका छन् । त्यसमा नेपाल विकास बैंक, गोर्खा विकास बैंक, मनकामना विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक, सोसियल डेभलमेन्ट बैंक, एक्सिस डेभपलमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट बैंक, यति डेभलपमेन्ट बैंक, एस डेभलपमेन्ट बैंक, काष्ठमाडप डेभलपमेन्ट बैंकको अस्थित्व मेटिएको छ । डेभलपमेन्ट एण्ड क्रेडिट बैंक लिमिटेड (डीसीबीएल) स्तरवृद्धि भई ग्राण्ड बैंक बन्यो । तर यो बैंक टिक्न सकेन र प्रभु बैंकमा विलय भयो । मोफोसलबाट स्तरवृद्धि गरी राष्ट्रिय स्तरको विकास बैंक भएको सिद्धार्थ डेभलपमेन्ट बैंक र त्रिवेणी विकास बैंक जनता बैंकमा मर्ज भएका छन् । एचएण्डबी डेभलपमेन्ट बैंक र भिवोर विकास बैंकलगायत केही वित्तीय संस्था मर्ज भएर लुम्बिनी विकास बैंक भएका छन् । यसमा पनि पोखराबाट आएको हिमचुली विकास बैंक मर्ज भएको थियो र हाल यस अध्यक्ष पनि पोखरेली छन् । पोखरेलीको स्वामित्व र नियन्त्रणमा नरहेको राष्ट्रिय स्तरको विकास बैंक तीन वटा मात्र बाँकी रहने देखिएका छन् । महालक्ष्मी विकास बैंक, देवः विकास बैंक, र ज्योति विकास बैंक ।   पोखरामा प्रतिव्यक्ति आम्दानी पनि राम्रो छ । बचत गर्ने बानी र बैंकबाट ऋण लिएपछि समयमा तिर्ने संस्कार पनि राम्रो देखियाे र पोखराका विकास बैंक तथा फाइनान्स कम्पनीहरुको नाफा पनि राम्रो भयो ।   त्यसमा पनि देवः विकास बैंक र ज्योति विकास बैंकको ब्राण्ड इमेज राम्रो छैन । उनीहरुको पर्फमेन्स पनि कमजोर नै देखिएको छ । महालक्ष्मी विकास बैंकले भने राष्ट्रिय स्तरको विकास बैंकहरुमा धेरै सूचकांङकमा नेतृत्व गरिरहेको छ । सेयर पुँजी, निक्षेप, लगानी, नाफा, शाखा सञ्जालमा यो बैंक अरु विकास बैंकभन्दा अगाडि छ । गत आर्थिक वर्षका नाफामा यस बैंकले केही वाणिज्य बैंकहरुलाई समेत उछिनेको छ । पोखराबाट अगाडि आएको विकास बैंक कसरी चम्किए र काठमाडौंमा जन्मिएको विकास बैंक किन विलाए ? विकास बैंकर्स संघको निवर्तमान अध्यक्ष तथा कैशाल विकास बैंकको पूर्व प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने भन्छन्–’पोखरामा स्थापना भएका बैंकमा काम गर्ने संस्कार राम्रो छ । बैंक व्यवसायिक ढंगले चलाउनु पर्छ, पारिवारिक स्वार्थलाई बैंकमा स्थान दिनुहुँदैन, प्रवद्र्धक तथा सञ्चालकले अस्वभाविक हस्तक्षेप गर्नु हुँदैन भन्ने संस्कार पोखरेलीहरुमा शुरुदेखि नै विकास भयो ।’ ‘स्कूलिङ नै राम्रो भयो भने त्यसको नतिजा पनि राम्रो हुन्छ’ उनले भने । पोखरामा प्रतिव्यक्ति आम्दानी पनि राम्रो भएको र बैकिङ कल्चर पनि राम्रो भएकोले त्यस क्षेत्रबाट आएको बैंकहरुको विकास र विस्तार राम्रो देखिएको महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई बताउँछन् । ‘पोखरा पर्यटकीय सहर हो । त्यहाँको अर्थतन्त्र पनि राम्रो छ । प्रतिव्यक्ति आम्दानी पनि राम्रो छ । बचत गर्ने बानी र बैंकबाट ऋण लिएपछि समयमा तिर्ने संस्कार पनि राम्रो छ’ भट्टराई भन्छन्–‘पोखराका विकास बैंक तथा फाइनान्स कम्पनीहरुको नाफा पनि राम्रो भयो । त्यसले लगानीकर्ताको मनोबल बढायो । मनोबल उच्च भएकैले उनीहरु कि आफै स्तरवृद्धि गरेर कि मर्ज गरेर राष्ट्रिय स्तरको विकास बैैंक बन्न आए । मोफसलको बजारमा स्थापित बैंकले पहिला सोही क्षेत्रमा राम्रो व्यवसाय गर्न सफल भएकम छन् र राजधानीमा आएपछि पनि उनीहरु सफल देखिएको छन् । काठमाडौंका राष्ट्रिय स्तरको विकास बैंक विलय हुनुको कारणबारे भट्टराईले खुलेर स्पष्ट विचार व्यक्त गरे । ‘काठमाडौंका विकास बैंकका लगानीकर्ता बढी महत्वकांक्षी भए । बढी नाफाको खोजीमा सेयर र घरजग्गामा जथाभावी लगानी गरे । परिणाम कर्जा असुली सोचेजस्तो भएन’ भट्टराई भन्छन्–त्यस्तै, काठमाडौंमा प्रतिस्पर्धा बढी भयो । सबै वाणिज्य बैंकहरुले काठमाडौंलाई फोकस गरेर मार्केटिङ गरे, विकासबैंकहरुले उनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने भयो । नाफा कम भयो । नाफा कम भएपछि विकास बैंकका लगानीकर्ताले आफ्नो सेयर पुँजीको सुरक्षाको लागि वाणिज्य बैंकसँग मर्जमा जाने निर्णय लिए ।’ पोखरा र बुटवल क्षेत्रमा खुलेको विकास बैंकहरुले राजधानीमा पनि राम्रो पर्फमेन्स देखाईरहेको सांग्रीला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेल बताउँछन् । मोफसलको बजारमा स्थापित बैंकले पहिला सोही क्षेत्रमा राम्रो व्यवसाय गर्न सफल भएको र राजधानीमा आएपछि पनि उनीहरु सफल देखिएको उनले बताए ।

बैंकको कर्जा लगानी १८ प्रतिशत बढेर १९ खर्ब ८६ अर्ब

काठमाडौं । गत वर्ष बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामा वृद्धि भएको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा कर्जा प्रवाह १८.२ प्रतिशत बढेर १९ खर्ब ८६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २३.७ प्रतिशत बढेर १६ खर्ब ८१ अर्ब ८५ करोड रुपैयाँ थियो । गत वर्ष बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ३ खर्ब ४ अर्ब ३७ करोड रुपैयाँ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकको कर्जा प्रवाह २५ प्रतिशत बढेको छ । विकास बैंकको १३.७ र वित्त कम्पनीको १३.३ प्रतिशत घटेको छ । समीक्षा वर्षमा कृषि क्षेत्रतर्फको कर्जा १४.३, औद्योगिक उत्पादन क्षेत्रतर्फ ११.४, निर्माण क्षेत्रतर्फ कर्जा १६, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १६.१, सेवा क्षेत्रका उद्योगतर्फ २३.३ र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २५.२ प्रतिशत बढेको छ । ०७४ मा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६०.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.९ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्ष यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.८ र १५.२ प्रतिशत थियो । गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल लगानीमा रहेको कर्जाको २.५ प्रतिशत अर्थात ४८ अर्ब ८८ करोड रुपैयाँ छ । समीक्षा वर्षमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ११.२ प्रतिशतले घटी ६४ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो कर्जा ३१.८ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा हायर पर्चेज कर्जा ३५.६ र ओभरड्राफ्ट कर्जा २२.१ प्रतिशत बढेको छ । यसैगरी १ करोड रुपैयाँसम्मको व्यक्तिगत आवासीय कर्जा १७.५ प्रतिशत र रियल स्टेट कर्जा १६.५ प्रतिशत बढेको छ । पुनरकर्जा उपयोग साढे १४ अर्ब उत्पादनशील क्षेत्रतर्फ  लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा वर्षमा बढेको छ । गत आवमा साधारण पुनरकर्जा १३ अर्ब ७८ करोड र निर्यात कर्जा ८३ करोड गरी कुल १४ अर्ब ६१ करोड रुपैयाँ पुनरकर्जा उपयोग भएको छ । अघिल्लो वर्षमा साधारण पुनरकर्जा ७ अर्ब ६० करोड र निर्यात पुनरकर्जा. १ अर्ब ३० करोड गरी ८ अर्ब ९० करोड रुपैयाँ उपयोग भएको थियो । भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत गत आवमा ७९ करोड ९० लाख स्वीकृत भएको छ । वाणिज्य बैंकले तोकिएका उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेकोमा गत आवमा बैंकको यस्तो कर्जा अनुपात १८.२ प्रतिशत छ ।

जेबिल्स फाइनान्सको भदौ १४ गते बुक क्लोज, शतप्रतिशत हकप्रद सेयर जारी गर्दै

काठमाडौं । जेबिल्स फाइनान्सले आगामी भदौ १४ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । उक्त दिन फाइनान्सले आफ्ना सेयरधनीहरुलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको संचालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।