‘हरियो प्लेट’ हटाउँदा पर्यटन धराशायी बन्ने खतरा
काठमाडौं, ७ असोज । पर्यटक यातायात व्यवसायीलाई मर्का पर्ने गरी सरकारले नयाँ नियम ल्याउन लागेको भन्दै व्यवसायीले आपत्ति जनाएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १३औँ वार्षिक साधारणसभाका अवसरमा बोल्ने अधिकांश व्यवसायीले ‘हरियो प्लेट’का सवारीमा विदेशीलाई मात्र बोक्न पाइने भन्ने नियमले मुलुकको पर्यटन व्यवसाय धराशायी बन्ने खतरा औँल्याए । पछिल्लो समय यातायात व्यवस्था विभागले सवारी साधनको नम्बर व्यवस्थित गर्न हरियो प्लेटका सवारीले नेपाली बोक्न नपाउने गरी नयाँ व्यवस्था गर्न लागेको छ । यसरी हरियो प्लेटले विदेशी मात्र बोक्दा आन्तरिक पर्यटन प्रवद्र्धनमा नकारात्मक असर पुग्ने व्यवसायीको भनाइ छ । साथै, उनीहरुले पर्यटक यातायातले अन्य सार्वजनिक सवारी साधनसरह सरकारलाई राजस्व बुझाएको भए पनि सहुलियत नदिएकामा गुनासोसमेत गरेका छन् । पोखरा यातायात समितिका अध्यक्ष बोवरजङ्ग गुरुङले हरियो प्लेटको लामो इतिहास रहेको र यसले मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुगेको भन्दै यसलाई कुनै हालतमा हटाउन नहुने बताए । पर्यटन व्यवसायी दीपक महतले पर्यटक यातायात सेवालाई प्रभावकारी बनाई बढी पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्न व्यवसायीबीचको एकता जरुरी भएको बताए । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष साङ्गे लामा हरियो प्लेटमा नेपाली बोक्न नपाइने नियमले नेपाली पर्यटन व्यवसाय धरापमा पर्ने बताउछन् । तर सरकारी अधिकारीले भने व्यवसायीको हितलाई मध्यनजर गरी सहज र सुलभ सेवाका लागि सवारी नम्बर डिजिटल प्रणालीमा लैजान लागिएको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले व्यवसायीको हितमा हुने गरी नयाँ व्यवस्था गर्न लागिएको तर कस्तो व्यवस्था गर्ने भन्नेबारे अझै मन्त्रालय छलफलमै रहेको बताए । उनले निजी क्षेत्रसँग सहकार्य गरी नेपालको पर्यटन प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेकाले पर्यटकलाई गुणस्तरीय सेवाको सुनिश्चिताका लागि व्यवसायीलाई आग्रह गरे । कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले हरियो प्लेटको पहिचानसहितको डिजिटल नम्बर प्रणाली लागू गर्दा व्यवसायीको अहितमा नहुने बताए । उनले पर्यटक यातायातलाई एम्बुलेन्स जस्तै राज्यले संरक्षण गरी सुरक्षित र गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए । पर्यटन विभागका अधिकृत टङ्क भट्टराईले निजी क्षेत्रसँग साझेदारीका साथ सरकारले पर्यटक यातायातलाई व्यवस्थित बनाउन लागिपरेको बताएका छन् । सङ्घमा आबद्ध ७५ कम्पनीका साना ठूला सवारी गरी करिब दुई हजार ५०० बस सञ्चालनमा छन् । त्यस्तै निजी क्षेत्रका करिब ७०० पर्यटक सवारी रहेको बताइन्छ । रासस
टाटा मोटर्सको नयाँ शोरुम नारायणघाटमा, टियागो गाडी पनि पाइने
काठमाडौं, ७ असोज । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले नारायणघाटमा आर.बि. मोटर्सको उद्घाटन गरेका छन् । नेपालमा टाटा प्यासेन्जर भेहिकल अन्तर्गत यो १७औं आउटलेट हो । नयाँ शोरुम उद्घाटनसँगै टाटा मोटर्स्ले नेपाली बजारमा आफ्नो सेवा विस्तार गरेको छ । शोरुम उद्घाटनसँगै सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्सको नयाँ स्पोर्टी ह्याचब्याक टियागो नारायणघाट बजारमा ल्याएको छ । अत्याधुनिक डिजाइन सहित डाइनेमिक ड्राइभिङ्ग सुविधाले सो कारले उक्त वर्गको उत्कृष्ट उत्पादनको प्रतिनिधित्व गर्दछ । २२ लाख ५५ हजार रुपैयाँबाट शुरु हुने नयाँ रिभोटर्न १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध छ । सिग्नेचर हेग्जागन ग्रिल र नयाँ बहुमुखी विशेषताहरुसहित विश्वासिलो, चुस्त एवं साहसिक टाटा टियागोले अत्याधुनिक इन्टेरियरको समेत प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ जमानाको सिटी र इको जस्ता मल्टी ड्राइभ मोडले फ्यूल इकोनोमी कायम राखी उत्कृष्ट ड्राइभिङ्गको अनुभव प्रदान गर्नेछ । उक्त टियागो ३ वटा डाइनामिक भेरियन्टहरु एक्सई, एक्सएम र एक्सजेडमा उपलब्ध रहेको छ । कम्पनीका अनुसार टियागो ६ वटा आकर्षक रङ्गहरु जस्तै स्ट्राइकर ब्लू, बेरी रेड, सनब्रस्ट अरेन्ज, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट र प्लाटिनम सिल्भरमा उपलब्ध रहेको छ । नयाँ जेनेरेशन, हरमन प्रविधिको कनेक्टनेक्स्ट इन्फोटेनमेन्ट सिस्टम रहेको टियागो आफ्नो वर्गको नयाँ टर्न बाई टर्न नाभी र जुक कार एपले सुसज्जित रहेको कम्पनीको भनाइ छ । उद्घाटन कार्यक्रममा बोल्दै, सिप्रदीका सि.ओ.ओ. राजेश प्रसाद गिरीले आफ्ना ग्राहकहरुलाई नयाँ एवं उत्कृष्ट उत्पादन प्रदान गर्ने प्रतिबद्धता पूरा गर्नका निमित्त सबैले रोजेको र खोजेको नयाँ टियागोलाई नारायणघाटको बजारमा भित्राउन पाएकोमा खुशी व्यक्त गरेका छन् । साथै उक्त कार्यक्रममा आर.बि.का म्यानेजिङ्ग डाइरेक्टर बिमल पौडेलले सिप्रदीसँग सहकार्य गर्न पाउँदा आफूहरु निकै उत्साहित भएको बताए । साथै उनले अब आफ्नो नयाँ शोरुमबाट टाटाका अत्याधुनिक विशेषताहरुसहित सुविधासम्पन्न जेस्ट, बोल्ट, स्ट्रोम लगायत नयाँ स्पोर्टी ह्याचब्याक टियागो गाडीको पँहुच ग्राहकहरुसम्म हुने पुर्याउने बताए ।
नयाँ क्लियरिङ बैंकका लागि टेण्डर आव्हान गरिँदै
काठमाडौं, ७ असोज । दुई हप्तापछि नयाँ क्लियरिङ बैंक स्थापनाका लागि टेण्डर आव्हान गरिने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दुई हप्तापछि नयाँ क्लियरिङ बैंकका लागि टेण्डर प्रक्रिया अघि बढाउन लागेको हो । ‘प्राबिधिक तयारी सम्पन्न गर्न दुई हप्ता लाग्छ, त्यसपछि टेण्डर आव्हान गर्दैछौं’, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले विकासन्युजसँग भने । उनले प्राबिधिक काम भएकाले धितोपत्र बोर्डको निर्देशन अनुसार पहिले नै क्लियरिङ बैंक थप्न नसकेको स्पष्टीकरण समेत दिए । नेपाल धितोपत्र बोर्डले बैशाख १ गतेदेखि क्लियरिङ बैंकको संख्या कम्तिमा ३ वटा बनाउन नेप्से र सिडिएसलाई निर्देशन दिएको थियो । माघ १३ गते बोर्डले निर्देशन दिएको भएपनि सिडिएसले चैतको अन्तिम साता थप क्लियरिङ बैंक आवश्यक नरहेको जवाफ बोर्डमा पठाएको थियो । तर धितोपत्र बोर्डले सिडिएसको जवाफ प्रति तिब्र असन्तुष्ठि जनाउँदै तत्काल कार्यान्वयन गर्न पुनः निर्देशन दिएको थियो । बोर्डले निर्देशन दिएको नौं महिना र कार्यान्वयन गर्न तोकेको समय सिमा नाघेको पाँच महिनापछि मात्रै सिडिएसले टेण्डर प्रक्रियाको पुर्व तयारी थालेको हो । ‘एक महिना अघि सिडिएसले आफ्नो सफ्टवेयरको एएमसी( एन्युवल मेन्टिनेन्स कन्ट्रयाक) अघि बढेको र त्यसपछि क्लियरिङ बैंक थप्ने प्रक्रिाय अघि बढाउने जवाफ पठाएको थियो, त्यस यता थप कुरा बुझेको छैन’, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने । उनले पनि नयाँ क्लियरिङ बैंक थप्ने प्रक्रिया अघि बढेकोमा खुसी व्यक्त गरे । हाल ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गर्दै आएको छ । एउटा मात्रै क्लियरिङ बैंक हुँदा चेक राफसाफमा ढिलाई भएर लगानी कर्ताले सास्ती भोग्दै आएका थिए ।
सिटिसी मलमा मोबाइल एक्स्पो शुरु, छुटैछुट र सुबिधाको बहार
काठमाडौं, ७ असोज । राजधानीको सिटिसी मोबाइल बजारमा नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा सामसङ ग्यालेक्सी जे२ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ शुरु भएको छ ।असोज ११ गतेसम्म सञ्चालन हुने एक्स्पोको उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले उद्घाटन गरेका हुन् । मोबाइल एक्स्पोका उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री महराले मोबाइलले सूचना प्रबिधीको क्षेत्रमा क्रान्ती ल्याएको बताए । उनले आफु सञ्चार मन्त्री हुँदा ल्याएको हातहातमा मोबाइल घर घरमा इन्टरनेटको बिशेष कार्ययोजना अनुसार नै नेपालमा सूचना प्रबिधीको विकास भैरहेको दावी समेत गरे । आफ्नो सोही योजना नेपाल टेलिकमले थप ३५ लाख सिमकार्ड बजारमा पठाएको समेत जानकारी दिए । सिभिल ग्रुपका अध्यक्ष तथा सांसद इच्छाराज तामाङले मोबाइल एक्स्पोले मलको व्यवसायीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले मलमा रहेका व्यवसायीहरुको हितका पक्षमा मलले सबै खाले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । उनले सिटिसी मललाई मल्टिपल सपिङ डेस्टिनेशनका रुपमा विस्तार गर्ने तयारी भैरहेको समेत जानकारी दिएका थिए । त्यस्तै सामसङ नेपालका प्रणय रत्न स्थापितले नेपालकै ठुलो मोबाइल बजारमा आयोजना गरिएको मोबाइल एक्स्पोले कम्पनीको बजार प्रवद्र्धनमा समेत मदत पुग्ने अपेक्षा सहित मुख्य प्रायोजक बनेको बताए । टेलिटका प्रबन्ध निर्देशक(पद कन्फ्युजन) सञ्जय अग्रवालले पनि यसपालीको एक्स्पोबाट कम्पनीको बजारीकरणमा ठुलो योगदान पुग्ने अपेक्षा व्यक्त गरे । उद्घाटन समारोहमा सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बजार प्रवद्र्धनको मुख्य योजनासहित एक्स्पोको आयोजना गरेको बताए । सिटिसी मोबाइल बजारमा ग्रे मार्केटका फोनलाई पुर्णत निषेध गरिएको बताउँदै उनले सस्तो र गुणस्तरिय मोबाइल खरिदका लागि सिटिसीम मोबाइल बजार उपयुक्त गन्तव्य भएको समेत बताएका थिए । ८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल कारोबार गरिने एक्स्पोमा ब्राण्डेड मोबाइल र एशेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध गराइएको छ । त्यसका अलवा केहि कम्पनीहरुले ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरेका छन् । निःशुल्क प्रवेश तथा पार्किङको व्यवस्था गरिएको एक्स्पोमा फ्रि वाइफाईको मज्जा पनि उठाउन सकिन्छ । एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई हरेक दिन लक्की ड्र मार्फत मोबाइल जित्ने अवसर प्रदान गरिएको छ । मोबाइल एक्स्पोमा आधुनिक प्रबिधिका मोबाइल, ट्याबलेट, फ्याबलेट र एसेसरिजको बिक्रीबितरण गरिने छ । धेरै भन्दा धेरै उपहार अफर, लक्की ड्र, तथा सुपथ मुल्यमा मोबाइलको कारोबार गर्ने लक्ष्य लिएको सामसुङ मोबाइल एक्सपोमा ३ लाख भन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । एक्स्पोका अवलोकन कर्ताहरुमध्ये एक जनालाई लक्की ड्र मार्फत मोटरसाइकल समेत प्रदान गरिनेछ ।
बागलुङदेखि नयाँदिल्ली सिधा बस सञ्चालन, सातामा तीन दिन सुचारु हुने
बागलुङ, ७ असोज । बागलुङदेखि छिमेकीमुलुक भारतको नयाँ दिल्लीसम्म सिधा बस सेवा शुरु भएको छ । ना ५ ख ४२४९ नम्बरको ‘डिलक्स’ बस पहिलोपटक यात्रु लिएर यहाँबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेको छ । धवलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले पोखरामा रहेको ‘मोर्डन ईरा टुर्स एन्ड ट्राभल्स’ प्रालिसँगको सहकार्यमा बससेवा सञ्चालन गरेको हो । सेवा शुक्रबार शुभारम्भ गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष डोलनाथ खनालले बागलुङ– नयाँदिल्ली बससेवाले सार्वजनिक यातायात सेवामा नयाँ आयाम थपेको बताए । उनले सर्वसाधारणप्रति समर्पित रहेर स्तरीय र मर्यादित सेवा प्रदान गर्न समितिलाई आग्रहगर्दै सार्वजनिक यातायात सेवालाई सुधार्न सरकारसँग मिलेर काम गर्न महासङ्घ तयार रहेको धारणा राखेका छन् । बागलुङ– नयाँदिल्ली बससेवा साताको आइतबार, बुधबार र शुक्रबार सुचारु रहने समितिले जनाएको छ । नयाँ दिल्लीबाट पनि सोही बार र समयमा बस बागलुङको लागि छुट्नेछ । यात्रुको चाहाना र सुविधालाई दृष्टिगत गरी ‘डिलक्स’ बसबाट सेवा दिइएको समितिका अध्यक्ष कुमार खड्काले बताए । बागलुङबाट छुटेको बस पोखरा, नारायणगढ, सुनौली नाका हुँदै नयाँ दिल्लीको मौरी गेट बरफ खानामा गएर रोकिनेछ । एकहजार ३२० किमिको उक्त यात्रामा प्रतियात्रु रु तीन हजार २०० नेपाली भाडादर कायम गरिएको अध्यक्ष खड्काले जानकारी दिए । बागलुङदेखि छुटेको बस ३० घन्टामा नयाँदिल्ली पुग्नेछ । नयाँदिल्लीमा पनि काउन्टर स्थापना गरी बस सेवाको प्रचारप्रसार र व्यवस्थापनको काम भइरहेको जनाइएको छ । धवलागिरी क्षेत्रबाट रोजगारीको लागि भारतको नयाँदिल्ली र अन्य सहरमा पुगेका व्यक्ति, भारतीय पर्यटक, तीर्थयात्री, विद्यार्थी, पेसाकर्मी र उपचारमा जाने बस सेवाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । ‘यहाँबाट नयाँदिल्ली पुग्न धेरै झन्झट बेहोर्र्नुपर्ने अवस्थाको अब अन्त्य हुनेछ, ठाउँ–ठाउँमा गाडी फेरिन गर्नुपर्ने बाध्यता पनि टर्नेछ’ समितिका अध्यक्ष खड्काले भने । ‘मोर्डन इरा टुर्स एन्ड ट्रार्भल्स’ प्रालिका अध्यक्ष केशव अधिकारीले यात्रुको पूर्ण सुरक्षाको ‘ग्यारेन्टी’ गरिएको बताए । प्रालिले दस वर्ष अघिदेखि पोखरा– नयाँदिल्ली बससेवा सञ्चालन गर्दै आएको छ । “पोखरादेखि सेवा दिँदा अधिकांश यात्रु धवलागिरी क्षेत्रकै भएको पायौँं’ अध्यक्ष अधिकारीले भने ‘धवलागिरीका सर्वसाधारणको सेवाका लागि बागलुङबाटै बससेवा सुरु गर्न सहकार्य गरेका हौंँ ।” उनले मुस्ताङमापर्ने पवित्र धार्मिकस्थल मुक्तिनाथ जाने भारतीय तीर्थयात्री र पर्यटकका लागि पनि बस सेवाले लाभ पुग्ने बताए । यात्रुको चाप अनुसार सेवालाई विस्तार गर्दै दैनिक रुपमा समेत बससेवा चलाउन सकिने समितिले जनाएको छ । निकट भविष्यमा भारतको सिलुगुढी, गुवाहटीमा पनि बससेवा सुचारु गर्ने योजना समितिसँग छ । रासस
‘उद्योग क्षेत्र बन्द हडताल मुक्त बनाइने’
भक्तपुर, ७ असोज । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग व्यवसाय क्षेत्रलाई अब बन्द हडतालमुक्त क्षेत्र बनाइने बताएका छन्। उद्योग वाणिज्य सङ्घले शुक्रबार यहाँ आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री जोशीले सबै दलसँग छलफल गरी बन्द हड्ताल मुक्तक्षेत्र बनाउन सरकारले ऐन नियम बनाउने तयारी गरिरहेको बताए। लगानीमैत्री वातावरण नहुँदा पुँजी र मानवस्रोत पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले औद्योगिक क्षेत्रमा कार्यरत मजदुरले आफ्ना माग राख्न पाउने तर बन्द हडताल गर्न नपाउने गरी नीतिनियम एवम् कार्यविधि ल्याउन लागिएको बताए । “सबै मन्त्रालयको उद्योग व्यवसायसँग सम्बन्धित काम उद्योग मन्त्रालयले मात्रै गर्ने गरी अन्य मन्त्रालयसँग छलफल अगाडि बढाइएको छ,” उनले भने– “यसका लागि मन्त्रालयको संरचना परिवर्तन गर्ने तयारी भइरहेको छ ।” सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न अग्रसर रहेको मन्त्री जोशीको भनाइ छ । उद्योग व्यवसायको विकासले मात्र राष्ट्रले कोल्टे फेर्नेर संविधान निर्माण र कार्यान्वयनपछि अव आर्थिक समृद्घि नै देशको मूल बाटो भएको मन्त्री जोशीले बताए । विद्यमान सरकारी साधनस्रोतको अधिकतम उपयोग गरी जनताको हितमा काम गर्ने सोच अनुरुप सरकारले बन्द उद्योग पुन ःसञ्चालन अभियान चलाएको उनले बताए । मन्त्रालयले चार वर्षे मध्यावधि योजना र २० वर्षभित्र देशमा औद्योगिक क्षेत्रको कस्तो मार्गचित्र हुनसक्छ भन्ने खाका ल्याउने तयारी गरिरहेको उनको भनाइ थियो । कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका कार्यबाहक अध्यक्ष भवानी राणाले संविधान बनेको एक वर्ष बित्दा पनि अझै राजनीतिक सङ्क्रमणमै मुलुक अल्झिरहेको र आर्थिक विकासमा लाग्न ढिलाइ भएको जनाएका छन् । उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष केपी अवालले भूकम्प प्रभावित युवायुवतीको आर्थिक सवलीकरणका लागि सीपमूलक तालिम सञ्चालनको तयारी गरिरहेको बताइन । कार्यक्रममा मन्त्री जोशीले भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । रासस
भारतको सहयोगमा उच्च माध्यमिक विद्यालय र क्याम्पस भवन बन्ने
पोखरा, ७ असोज । भारत सरकारको सहयोगमा पोखरा उपमहानगरपालिका–१७ स्थित गुप्तेश्वर बहुमुखी क्याम्पस र लेखनाथ नगरपालिका–१७ स्थित सरस्वती टीका उच्च माविमा पक्की भवन बन्ने भएको छ । भारतीय सहयोगमा जिल्ला विकास समिति कास्कीद्वारा निर्माण गरिने गुप्तेश्वर बहुमुखी क्याम्पसको २१ कक्षा कोठा १० शौचालयसहितको तीनतल्ले भवन तीन करोड ८९ लाख २९ हजार ६८३ रुपैयाँमा बन्ने जिविस कास्कीका इन्जिनियर नारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार सरस्वती टीका उच्च माविको दुईतल्ले भवन कम्पाउन्ड वाल, पाँच कक्षा कोठा, सभा कक्ष, विज्ञान प्रयोगशाला, स्टाफ कोठा र फर्निचरसहित तीन करोड ३६ लाख ३२ हजार ५३७ रुपैयाँमा निर्माण हुनेछ । गुप्तेश्वर बहुमुखी क्याम्पसको भवन आगामी सन् २०१७ को अक्टोबर २८ मा र सरस्वती टीका उच्च माविको भवन सन् २०१७ को अक्टोबर २९ भित्रमा सम्पन्न गरिसकिने लक्ष्य रहेको श्रेष्ठले बताए । क्याम्पस एवम् विद्यालय भवनको बिहीबार छुट्टाछुट्टै आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजित रायले शिलान्यास गरेका हुन्। नेपाल र भारतबीच युगौँदेखिको ऐतिहासिक सम्बन्ध रहेको बताउँदै उनले शान्ति, स्थिरता र समृद्धिको लक्ष्यमा दुवै देश लागिरहेको बताए । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भारत सरकारले नेपाल सरकारलाई सहयोग गर्दै आएको बताउँदै उनले पछिल्ला समयमा भएका नेपालका गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको बताए । आगामी दीपावलीपछि भारतका राष्ट्रपतिको नेपाल भ्रमण हुने सम्भावना रहेको जानकारी दिँदै उनले त्यसपछि नेपालका राष्ट्रपतिको भारत भ्रमण हुने बताए। सांसद विन्दा राना मगरले भारत सरकारबाट जिल्लाका क्याम्पस एवम् विद्यालयमा अत्यावश्यकीय भवन निर्माणमा सहयोग गर्नु सराहनीय भएको बताउँदै यसले गुणस्तरीय शिक्षा प्राप्तिमा पनि महत्वपूर्ण सहयोग पुग्ने बताए । उनले पछिल्ला दिन पोखरामा परेको अविरल पानीका कारण कटान गरी क्षति पु¥याएको पोखरा–१७ दोविल्ला र पोखर–२३ निर्मलपोखरी जोड्ने पुल तथा आसपासको बस्ती तत्काल संरक्षण गर्नका लागि आफूले सम्बन्धित निकायमा पहल गरिहेको जानकारी दिए । सांसद दिलबहादुर नेपालीले भारत सरकारबाट भएको यस किसिमको सहयोगले दुई देशबीचको सम्बन्धलाई अझै सुमधुर बनाउने विश्वास व्यक्त गरे । स्थानीय विकास अधिकारी दामोदर भण्डारीले निर्माणाधीन क्याम्पस एवम् विद्यालय भवन निर्धारित समयमा नै निर्माण सम्पन्न गरिने बताए । जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले भौतिक पूर्वाधारको अधिकतम उपयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ शैक्षिक संस्था अग्रसर बन्नुपर्नेमा जोड दिए । गुप्तेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख घनश्याम तिवारी, सरस्वती टीका उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य, लेखनाथ नगरपालिका कार्यालयका कानुन अधिकृत राममणि अधिकारी लगायतले भौतिक पूर्वाधार निर्माणले विद्यालयमा अध्ययन अध्यापन कार्य सहज बन्नुका साथै यसले शैक्षिक गुणस्तरियता कायम गर्न पनि सहयोग पुग्ने बताए। रासस
प्रधानमन्त्रीद्वारा मेलम्ची आयोजनाको निरीक्षण
सिन्धुपाल्चोक, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुपाल्चोक जिल्लामा रहेको मेलम्ची खानेपानी आयोजनाको प्रमुख सुरुङमार्ग अम्बाथानको आज निरीक्षण भ्रमण गरेका छन् । शुक्रबार बिहान निरीक्षणका लागि त्यहाँँ पुगेका प्रधानमन्त्री दाहाललाई आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले उक्त आयोजनाको विस्तृत जानकारी गराएका थिए । सो अवसरमा कामु मुख्यसचिव टङ्कमणि शर्मा, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिवलगायतको उपस्थिति रहेको थियो । रासस