विकासन्युज

२४ वर्षपछि आर्थिक वृद्धि साढे ७ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि सबैभन्दा उच्च विन्दु पुगेर साढे ७ प्रतिशत भएको छ । गत वर्ष उत्पादनको मूल्यमा आर्थिक वृद्धि साढे ७ प्रतिशत पुगेको हो । अघिल्लो वर्ष भारी गिरावट आई ०.४ प्रतिशतमा सीमित भएको थियो । आधारभूत मूल्यमा यथार्थ आर्थिक वृद्धि ६.९ प्रतिशत हुने अनुमान गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको ०.०१ प्रतिशतमा सीमित थियो । अनुकूल मौसमी वर्षा, उर्जा आपूर्तिमा भएको सुधार र आपूर्ति व्यवस्थामा सामन्यीकरण हुदा गत वर्षको न्यून आधारबाट आर्थिक वृद्धिदर उच्च रहन गएको हो । ७.५ प्रतिशतको आर्थिक वृद्धिदर आव ०५०/०५१ देखि (२४ वर्ष) पछिको उच्चत्तम वृद्धिदर हो । कृषि क्षेत्रको उत्पादन ५.३ र गैर–कृषि क्षेत्रको वृद्धिदर ७.७ प्रतिशत रहेकोले ऐतिहासिक उच्च वृद्धिदर हासिल भएको राष्ट्र बैंकले जनाएको छ । यसबीचमा धानको उत्पादन २१.७ प्रतिशत वृद्धि भएकोले कृषि क्षेत्रमा उक्त वृद्धिदर सम्भव भएको राष्ट्र बैंकको भनाई छ । समीक्षा वर्षमा औद्योगिक क्षेत्रको वृद्धिदर १०.९ प्रतिशत रह्यो । अघिल्लो वर्ष औद्योगिक क्षेत्रको उत्पादन ६.३ प्रतिशत घटेको थियो । समीक्षा बर्षमा सेवा क्षेत्रको उत्पादन ६.९ प्रतिशतले बढेको अनुमान छ । अघिल्लो बर्ष यो क्षेत्र २.१ प्रतिशतले वृद्धि भएको थियो । पर्यटक आगमनमा वृद्धि र व्यापार एवम् सञ्चार क्षेत्रको विस्तारका कारण सेवा क्षेत्रको वृद्धिदर बढेको हो । विश्व आर्थिक मञ्च (वल्ड इकोनमी फोरम) ले नेपालको आर्थिक वृद्धि दर विश्वमा तेस्रो स्थानमा रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । आर्थिक वर्ष ०७४ मा कुल राष्ट्रिय खर्चयोग्य आय १३.४ प्रतिशत बढेको अनुमान छ । अघिल्लो वर्ष यस्तो आय ६.५ प्रतिशत वृद्धि भएको थियो । आर्थिक वर्ष ०७४ मा कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको अंश ८९.७ प्रतिशत रह्यो । त्यस्तै समिक्षा अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कुल स्थिर पूँजी अनुपात ३३.८ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो अनुपात २८.८ प्रतिशत थियो । यसैगरी, समीक्षा वर्षमा कुल गार्हस्थ्य उत्पादनमा राष्ट्रिय बचतको अनुपात ४३.८ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो अनुपात ४० प्रतिशत थियो ।

सेञ्चुरी बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।

रेमिट्यान्स आप्रवाह ७ खर्ब ९५ अर्ब ४५ करोड

काठमाडौं । गत आर्थिक वर्ष ०७३/०७४ मा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ४.६ प्रतिशत मात्र बढेको छ । गत आवमा ६ खर्ब ९५ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह ७.७ प्रतिशत वृद्धि भएको थियो । गत आवमा ६ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको थियो । विप्रेषण आप्रवाह कुल गार्हस्थ उत्पादन अनुपात अघिल्लो वर्ष २९.६ रहेकोमा समीक्षा वर्षमा घटेर २६.८ प्रतिशतमा सीमित भएको छ । समीक्षा वर्षमा खुद ट्रान्सफर आय ९.५ प्रतिशत वृद्धि भई ८ खर्ब ५१ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ९.६ प्रतिशत बढेको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकको संख्या पुनः श्रम स्वीकृति बाहेकमा कमी आएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत आवमा अघिल्लो आवको तुलनामा ४.७ प्रतिशत घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८.४ प्रतिशत घटेको थियो । समीक्षा वर्षमा मलेसिया, संयुक्त अरब ईमिरेट्स, कुवेत लगायतका देशमा जाने कामदारको संख्यामा वृद्धि भएको छ । साउदी अरेविया, कतार लगायतका देशमा जाने कामदारको संख्यामा कमी आएको छ । यस्तै विदेशबाट नेपालीले पाउने पेन्समा २ प्रतिशत घटेको छ । गत आवमा ४५ अर्ब ५९ करोड रुपैयाँ पेन्सन प्राप्त भएको थियो । अघिल्लो आवमा ४६ अर्ब ५१ करोड रुपैयाँ प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ ।  

बजाजकाे ‘६ नि शान’ योजना शुरु, स्क्र्याचमा ६ हजार देखि ६ लाखसम्मको नगद पुरस्कार

काठमाडौं । नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनीले २०७४ को दसैँ तिहारका लागि ‘६ नि शान’ नामक योजना प्रस्तूत गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरूका लागि सधैँ नयाँ र रोमाञ्चक योजनाहरु ल्याउने क्रममा उक्त योजना ल्याएको हो । आइतबारदेखि सुरु यस रोमाञ्चक योजनाका दुई मुख्य अर्थहरु रहेका छन् । पहिलो अर्थ ‘६ वटा लक्ष्यहरु’ छन् र अर्को अर्थ ‘गौरव गर्नु’ अर्थात् बजाजको शानसंग आफू आबद्ध हुनु हो । जसले बजाज बाईक चढ्छ वा किन्छ त्यसले निकै गौरबको महसुश गर्दछ र यो उत्सव भनेको बजाज बाईक खरिद गर्ने उत्सव हो । योजनाको अवधिभर, खरिदकर्ताहरुले बजाज मोटरबाइकको खरिदमा स्क्र्याच कुपन प्राप्त गर्नेछन् । स्क्र्याच कुपनको आधारमा ग्राहकहरुले ६ हजार रुपैयाँ देखि ६ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् । यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले देशभर रहेका बजाजका आधिकारिक डिस्ट्रिब्यूटरहरुबाट बजाज बाइक खरिद गरेको हुनुपर्नेछ । योजनाका बारेमा बोल्दै कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, “एच.एच. बजाज सधैँ आफ्ना ग्राहकहरुका लागि रोमाञ्चक र फाइदाजनक योजनाहरु प्रस्तुत गर्न प्रतिबद्ध छ । यसका साथै हामी हाम्रा ग्राहकहरुका सबै खुसीमा साथ दिन चाहन्छौँ र यसका लागि दसैँ तिहार भन्दा राम्रो उत्सव के हुन सक्छ र हामीलाई विश्वास छ कि हाम्रा ग्राहकहरुले यो योजना निकै मन पराउने छन् र योजनाबाट लाभान्वित पनि हुनेछन् ।”

अनलाइन प्रक्रियासँगै वैदेशिक लगानीमा वृद्धि

काठमाडौं। उद्योग विभागबाट अनलाइन प्रक्रिया शुरु गरेसँगै वैदेशिक लगानीमा वृद्धि हुँदै गएको विभागले जनाएको छ । उद्योग विभागले माघ २ गतेदेखि अनलाइन प्रक्रियाबाट विदेशी लगानी स्वीकृत, भिषा सिफारिश र उद्योग दर्ता शुरु गरेसँगै विदेशी लगानी बढेको हो । विभागले सोमबार आयोजना गरेको ‘अनलाइन प्रक्रिया र प्रतक्ष्य विदेशी लगानी’ सम्बन्धी सेवाग्राहीसँग गरेको छलफलमा उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले मुलुकमा औद्योगिक वातावरण सिर्जना गर्न नीतिगत, संस्थागत र प्रक्रियागत सुधार भइरहेको बताए । “औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र ऐन, कम्पनी ऐन, पेट्रोलियम अन्वेषण नीति, खानीसम्बन्धी नीतिलगायतले देशमा औधोगिक वातावरण निर्माण गर्न सहयोग पुगेको छ,”- सचिव कोइरालाले भने । प्रत्यक्ष विदेशी लगानीसम्बन्धी विद्येयक निर्माण गर्न मन्त्रालय लागेको उनको भनाइ थियो । उद्योग विभागका महानिर्देशक शंकर अर्यालले अनलाइन प्रक्रियाले उद्योग दर्ता प्रक्रियामा सहज भएकाले यसलाई अझ सहज बनाउन विभाग लागेको बताए । “उद्योग दर्ता सहज गराउन डिजिटल हस्ताक्षर लागू गर्ने प्रक्रियामा विभाग लागेको छ,”-महानिर्देशक अर्यालले भने । नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग समिति संयोजक अन्जन श्रेष्ठले दर्ता प्रक्रिया सहज भएसँगै उद्योग क्षेत्रमा लगानी बढेको भन्दै मुलुकमा रोजगारीको वातावरण सिर्जनामा यसले सहयोग पुग्ने बताए ।

राष्ट्रपतिद्धारा बाढीपीडितलाई आफ्नो एक महिनाको तलब सहयोग

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पहिरोपीडितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी प्रदान गरेकी छिन् । राष्ट्रपतिको कार्यालयका अनुसार सोही कोषमा जम्मा हुने गरी राष्ट्रपतिका विज्ञहरुबाट सात दिनको, सचिव, स्वकीय सचिवसमेतबाट पाँच दिनको, सहसचिवहरु, स्वकीयसमेतबाट तीन दिनको, उपसचिव तथा शाखा अधिकृतहरु स्वकीयसमेतबाट दुई दिनको र सहायकस्तरका सबै कर्मचारीहरु स्वकीयसमेतबाट एक दिनको तलब उक्त कोषमा जम्मा गरिएको छ । रासस

बिजुलीको बिल असुल्न छानिए ६ कम्पनी, निःशुल्क महसुल उठाइ दिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको महशुल असुल्न ६ वटा कम्पनीलाई चयन गरेको छ । बिजुलीको महसुल बुझाउन उपभोक्ताले प्राधिकरणको कार्यालयसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दै सोमबार उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले अनलाईन पेमेन्टको आरम्भ गरेका हुन् । सुरुमा उपत्यकाका तीन जिल्लामा पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको अनलाईन पेमेन्ट आगामी २ हप्तापछि नै उपत्यका बाहिर पनि विस्तार गरिनेछ । पाइलट प्रोजेक्टका रुपमा सुरु गरिएको अनलाईन पेमेन्टको काम गर्न ६ वटा कम्पनीसँग सम्झौता भैसकेको छ र ती कम्पनीहरुले सोमबारदेखि नै महसुल संकलन थालिसकेका छन् । ईसेवा, प्रभु बैंक, सिएफएस रेमिट, पे पोइन्ट नेपाल, महालक्ष्मी विकास बैंक र सिटी मनि ट्रान्सफरले अनलाईनबाट विजुलीको महशुल संकलन आरम्भ गरेका हुन् । हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र । नेपाल क्लियरिङ हाउससँग भने केहि दिनमै सम्झौता हुनेछ । यी कम्पनीहरुले पाइलट प्रोजेक्ट अवधीभर सेवा शुल्क बिनै महशुल संकलन गर्नेछन् ।‘अहिलेका लागि उपभोक्ताले पनि सेवा शुल्क तिर्नु पर्दैन भने प्राधिकरणका लागि पनि कुनै आर्थिक भार पर्दैन, पाइलट प्रोजेक्टको सफलतापछि सेवा शुल्कबारे छलफल गर्छाै’, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने ।  

नेप्से परिसूचक ६ अंकले झर्यो, ५२ करोडको सेयर कारोबार

काठमाडौं । सोमबारको नेप्से परिसूचक ६ दशमलब ४० अंकले घटेर १६११ अंकमा झरेको छ । सो दिन परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । बजारमा जम्मा ५२ करोडको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा करिब २७ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन आइतबार बजारमा ७९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार १५४ कम्पनीको २६ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । १६० प्रतिशत हकप्रद निष्काशन घोषणा सँगै सोमबार कम्पनीको बढी मात्रामा सेयर कारोबार भएको हो । बजारमा अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ७५ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक समूहको परिसूचक १८ अंकले ओरालो लागेको छ भन् बाँकी समूहको परिसूचक सामान्य अंकले झरेका छन् । अन्य समूहको परिसूचक सामान्य ०.५७ अंकले उकालो लागेको छ ।