ठूल्ठूला घर तर पूर्जाविहिन, एउटा शहर नै पूर्जाविहिन
काठमाडौं ७, असोज । पूर्वपश्चिम राजमार्गमा राप्ती अञ्चल प्रवेशको पूर्वी ढोका हो भालुवाङ बजार। करिब चार दशकअघि सामान्य ‘चिया झुपडी’ बाट सुरु भएको भालुवाङ बजारमा अहिले पाँचौ तलासम्मका ठूलाठूला घर बनिसकेका छन्। तर, अहिलेसम्म भालवाङवासीसँग भूस्वामित्व नभएको खबर शुक्रबारको अन्नपूर्ण पोष्ट्मा छापिएको छ। फाइल तस्बिर देउखुरी क्षेत्रमा एउटा स्थापित बजारको रुपमा परिचय बनाइसकेको भालुवाङ बजारेको मुख्य सहर नै लालपुर्जाविहीन छ। त्यहाँ ठूलाठूला पक्की घर बनेका छन् तर घरमालिकसँग कुनै स्थायी प्रमाणपत्र छैन, न जग्गाको न घरको । यो जमिन अहिले पनि राष्ट्रिय वनकै नाममा छ। यो बजारमा दैनिक करौडौको कारोबार गर्ने राष्ट्रियस्तरका निजी बैंकहरु समेत छन् । २०२५ सालतिर पूर्वपश्चिम राजमार्गको सुरूवाती दिनमा यहाँ सामान्य चिया बेच्ने व्यपारी पसल थिए। जब राजमार्ग व्यस्त हुन थाल्यो अनि यो बजार पनि चर्कदै जान थाल्यो । अहिले पूर्व क्षेत्रको प्रमुख व्यापारिक केन्द्रका रुपमा यो बजार स्थापित भइसकेको छ। – अहिलेसम्म भालुवाङवासीसँग भूस्वामित्व छैन – जमिन अहिले पनि राष्ट्यि वनकै नाममा – ३१ विगाहाभन्दा बढी क्षेत्रफल बजार फैलिएको – नगर विकासले दिएको ३०छ रुपैयाँको रसिदबाहेक कुनै प्रमाण छैन
देशमा ६१ लाख गरिब, गरिबी हटाउँन यो वर्ष नै ५१ अर्ब खर्च हुँदै
काठमाडौं ७, असोज । गरिबी निवारण गर्न सरकारी तथा गैरसरकारी तहबाट वर्षेनी अर्बौँ रुपैयाँ खर्च हुने गरेको छ । तर, कति गरिबको अवस्था सुधारियो भन्ने प्रगतिको तथ्यांक कतै छैन। चालू आर्थिक वर्षमा गरिबी निवारणका लागि करिब ५१ अर्ब रुपैयाँ खर्च हुँदै छ। प्रत्यक्ष ३६ अर्ब र अप्रत्यक्ष १५ अर्ब रुपैयाँ खर्च हुँदै छ । अघिल्ला वर्षमा पनि सरकारी तथा दाता एवं अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थामार्फत अर्बौँ बजेट खर्च हुने गरेको थियो । तर, बजेट खर्च भएको क्षेत्रमा गरिबी निवारण हुन नसकेको विज्ञहरू बताउँछन् । गरिब घरपरिवार सहयोग समन्वय बोर्डका उपाध्यक्ष जनकलाल तिवारीले अहिलेसम्म वास्तविक गरिबको पहिचान नहुँदा खर्चिएको रकमको सही सदुपयोग नभएको बताए । उनले भने, ‘सबैले गरिबलाई खर्च गरेका भन्छन्, तर गरिबको पहिचान गर्न समस्या भएकाले दातृ निकाय र आइएनजिओले सही ठाउँमा खर्च गरेका छैनन् भन्ने समाचार शुक्रबारको नयाँ पत्रिकामा दैनिकमा छापिएको छ। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले धनीले पनि गरिबको नाममा सुविधा लिने गरेकाले समस्या देखिएको बताए । उनले भने, ‘हजारौँ रुपैयाँ पेन्सन बुझ्नेले पनि राज्यले दिएको भत्ता भन्दै वृद्धभत्ता बुझ्नुले पनि धनीको गरिब मन देखाउँछ ।’ गरिब घरपरिवार सहयोग समन्वय बोर्डले असोज मसान्तसम्म २५ जिल्लाका गरिब घरपरिवार पहिचान गर्दै छ । बोर्डले २५ जिल्लाका १२ लाख ४० हजार तीन सय ५० गरिब घरपरिवारको प्रारम्भिक पहिचान गरेको छ । अहिले गुनासो लिइरहेको बोर्डसँग सात हजार घरपरिवारले गरिबीको सूचीमा पर्न माग गरेका छन् । तर, दुई सय ८३ घरपरिवारले गरिबबाट हटाउन आग्रह गरेका छन् । विभिन्न दातृ निकाय र अर्थ मन्त्रालयबीच सम्झौता भएर गरिबलक्षित १५ अर्बका कार्यक्रम सञ्चालित छन् । जसअन्तर्गत सामाजिक शीर्षकमा एक अर्ब ८३ करोड, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयअन्तर्गत ६३ करोड, स्थानीय विकास मन्त्रालयअन्तर्गत १२ अर्ब ४९ करोड रुपैयाँ खर्च भइरहेको छ । ३६ अर्ब रुपैयाँ सीधै गरिबी निवारणका नाममा राज्यले खर्च गरिरहेको छ । विश्व बैंकको उन्नति कार्यक्रमअन्तर्गत पाँच अर्ब ७ करोड, गरिबी निवारण कोषमामार्फत् ३ अर्ब ५५ करोड, गरिबी तथा सहकारी मन्त्रालयमार्फत २ अर्ब, विभिन्न आइएनजिओमार्फत १९ अर्ब ५७ करोड, युवा स्वरोजगार कोषमार्फत ३ अर्ब ४६ करोड र जनता आवास कार्यक्रमअन्तर्गत १ अर्ब ७२ करोड रुपैयाँ खर्च हुँदै छ । नेपाल जीवनस्तर सर्वेक्षण सन् २०११ ले प्रतिदिन २२२० क्यालोरी खान नपाउने, वर्षमा प्रतिव्यक्ति १९ हजार दुई सय ६१ खर्च गर्न नसक्नेलाई गरिब मानेको छ । नेपालका डोनर एजेन्सीले ‘प्रतिदिन एक डलर २५ सेन्ट अमेरिकी डलर अर्थात् करिब ११० रुपैयाँ आम्दानी नगर्ने अथवा वर्षमा ४०,१५० रुपैयाँ आम्दानी नगर्ने व्यक्ति गरिब हो’ भनेका छन् । संयुक्त राष्ट्रसंघले शिक्षा, स्वास्थ्य, जीवनस्तरलगायतका विभिन्न परिसूचकका आधारमा गरिबीको दर व्याख्या गर्ने गर्छ ।
भूकम्प पीडितलाई तीन लाख दिने अन्तिम निर्णय आइतबार हुँदै, सरकारले सीर्इअाे ज्ञवालीसँग स्पष्टीकरण लिदै
काठमाडौं, ६ असोज । २०७२ सालको भूकम्प पीडितलाई घर बनाउन प्रतिपरिवार तीन लाख रुपैयाँ अनुदान दिने विषयमा अन्तिम निर्णय आइतबार हुने भएको छ । यस विषयमा निर्णय गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक असोज ९ गते आइतबार बस्ने तयारी भईरहेको र सो बैठकमा निजी घर पुनर्निर्माणका लागि भूकम्प पीडित जनतालाई एक लाख रुपैयाँ थप गर्ने एजेण्डा तय गरिएको पुनर्निमाण प्राधिकरणले जनाएको छ । अघिल्ला सरकारले घर पुनर्निर्माणका लागि भूकम्प पीडित प्रति परिवारलाई दुई लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको वर्तमान सरकारले त्यसमा एक लाख थप गरी तीन लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ । यस्तै तीन लाख रुपैयाँ निव्र्याजी ऋण उपलब्ध गराउने सम्बन्धमा, भूकम्प पीडित जनतालाई पहिलो किस्ताको रकम उपलब्ध गराउने सम्बन्धी ४५ दिने कार्य योजना र कार्य प्रगति अवस्था एजेण्डा तय गरिएको छ । प्राधिकरणको संगठनात्मक संरचना, कार्य प्रणाली र जनशक्ति व्यवस्थापन, प्राधिकरणकोे वार्षिक नीति, कार्यक्रम तथा बजेट पनि बैठकका एजेण्डा रहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि पहिलो पटक प्राधिकरणको निर्देशक समितिको बैठक बस्न लागेको हो । प्राधिकरणको निर्देशक समितिको अध्यक्ष प्रधानमन्त्री रहने कानूनी प्रावधान छ । यसैबीच बैठकका तयारी सम्बन्धमा प्राधिकरणका प्रमुख कार्यकारी अध्यक्ष सुशील ज्ञवालीले प्रधानमन्त्री दाहालसँग भेटी छलफल गरेका छन् । सो अवसरमा कार्यकारी प्रमुख अधिकृत ज्ञवालीले भूकम्प पीडित जनतालाई पहिलो किस्ताको रकम वितरण गर्ने कार्य उत्साहजनक र दु्रत गतिमा अघि बढेको जानकारी गराएका थिए । प्रधानमन्त्री दाहाल भने ज्ञवालीको कार्यशैलीप्रति असन्तुष्ट रहेको बताइएको छ । सरकारले ज्ञवालीसँग स्पष्टीकरण सोध्ने तयारी गरिरहेको स्रोतले बतायो ।
बजारको ७५ प्रतिशत हिस्सा टेलिकमको बनाएर छाड्छु : नेपाल टेलिकमका नबनियुक्त प्रबन्ध निर्देशक राजभण्डारीसँगको अन्तरवार्ता
सररकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा सोही कम्पनीको प्रमुख प्राविधिक अधिकृत कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ । सेयर पुँजी र ग्राहक संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो, वार्षिक १२ अर्ब नाफा गरेर सरकारी लगानी रहेको कम्पनी मध्ये सबैभन्दा अगाडि रहेको यो कम्पनीको कार्यकारी प्रमुख पदमा महिला पुगेको पहिलो पटक हो । को हुन्न त यी महिला ? कसरी हाँक्लिन उनले यति ठूलो कम्पनी ? प्रस्तुत छ विकासन्युजले उनीसँग गरेको टेलिफाेन वार्ता । तपाईको व्यक्तिगत पृष्ठभूमि के हो ? फेसबुक फाेटाे मैले पञ्जाव इन्निनियरिङ कलेज चण्डिगढबाट इलेक्ट्रोक्सि एण्ड कम्यूनिकेशन विषयमा विई गरेको र पछि एआईटी कलेजबाट मास्टर गरेको छु । नेपाल टेलिकममा ३० वर्ष पहिले इन्जिनियरको रुपमा प्रवेश गरेको थिए र आजसम्म प्रमुख प्राविधिक अधिकृत (११ औं तह) मा कार्यरत छु । नेपाल टेलिकममा म अहिले सिनियर मोष्ट नै हुँ । तपाईको पारिवारिक पृष्ठभूमि भन्न मिल्छ ? मेरो श्रीमान एरोनेटिक इन्जिनियर हुनुहुन्छ, दिगम्भरप्रसाद राजभण्डारी । उहाँ प्राइभेट एयरलाईन्समा काम गर्नुहुन्छ । मेरो दुई छोरा छन् । जेठो छोरा कम्प्यूटर साइन्स्मा मास्टर गरेर अमेरिकामा काम गरिरहेको छ । कान्छो छोरा दिल्लीमा कम्प्यूटर इन्जिनियरिङ पढ्दैछ । नेपाल टेलिकम कम्पनी हाँक्ने तपाईको योजना केके छन् ? यहि कम्पनीमा तीस वर्ष काम गरेको अनुभव छ । ५० प्रतिशत भन्दा बढी नेपालीले नेपाल टेलिकमको सेवा लिन्छन् । उनीहरुलाई निरन्तर गुणस्तरीय सेवा दिने मेरो अठौट हो । त्यस्तै, सेवालाई निरन्तर विस्तार गर्ने र बजार हिस्सा बढाउन मेरो प्रयास केन्द्रीत हुन्छ । अहिले टेलिकमले कुल बजारको ५३ प्रतिशत हिस्सा लिएको छ । यसलाई वृद्धि गर्छु । १० वर्षअघि नेपालको दुरसञ्चार बजारमा टेलिकमको एक छत्र राज थियो । सतप्रतिशत बजार टेलिकमको थियो । अहिले ५३ प्रतिशतमा सीमित भयो । अब तपाईले आफ्नो कार्यकालमा बजार हिस्सा कति प्रतिशत पुर्याउनुहुन्छ ? मेरो कार्यकाल तीन वर्षको हुनुपर्छ । तीन वर्ष मैले काम गर्न पाएँ भने टेलिकम्यूनिकेशन मार्केटको ७५ प्रतिशत हिस्सा नेपाल टेलिकमको बनाएर छोड्छु । हरेक वर्ष प्रतिस्पर्धी कम्पनीहरुले नेपाल टेलिकमका ग्राहक खोसेर लगिरहेका छन्, नेपाल टेलिकमको बजार हिस्सा घट्दो छ । बजार हिस्सा ७५ प्रतिशत पुर्याउने तपाईको भनाईलाई कसरी विश्वास गर्ने ? तीन वर्षमा बजारको ७५ प्रतिशत हिस्सा नेपाल टेलिकमको बनाउने मेरो प्रतिवद्धता हो । नियुक्ती पत्रसमेत लिन बाँकी भएको अवस्थामा धेरै कुरा बोल्नु राम्रो हुँदैन । केही दिनपछि तपाईसँग डिटेलमा कुरा गरौंला । आज यति मात्र गर्न चाहान्छु । यसअघिकाे समाचार नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त, नेपालको सबैभन्दा ठूलो कम्पनीको कार्यकारी प्रमुख पनि महिला
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त, नेपालको सबैभन्दा ठूलो कम्पनीको कार्यकारी प्रमुख पनि महिला
काठमाडौं, ६ असोज । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त गरेको छ । टेलिकममै प्रमुख प्राविधिक अधिकृत पदमा कार्यरत राजभण्डारीलाई मन्त्रिपरिषदको विहीवार बसेको बैठकले अगामी तीन वर्षको लागि प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । सेयर पुँजीको आधारमा नेपालको सबैभन्दा ठूलो कम्पनीको कार्यकरी प्रमुख पदमा महिला पुगेको यो पहिलो पटक हो । राष्ट्रपति, सभामुख, प्रधानन्याधिश लगायत महत्पपूर्ण पदमा महिला पुगेको अवस्थामा ९५ प्रतिशत सेयर सरकारको स्वामित्वमा रहेको कम्पनीको कार्यकारी प्रमुख पद पनि महिलाले पाएकी छिन् । सरकारी स्वामित्मा रहेका कम्पनी मध्ये नेपाल टेलिकम सबैभन्दा बढी नाफा गर्ने र सरकारलाई सबैभन्दा बढी कर बुझाउने संस्था हो । तर पछिल्लो समय नेपाल टेलिकम प्रतिस्पर्धामा पछाडि धकेलिदै गएको छ । राजभण्डारीले केही महिनाअघि मात्र उत्कृष्ट इन्जिनियर्स अवाड पाएकी थिइन् । ५४ औँ इन्जिनियर्स दिवसको अवसरमा गत साउन ३ गते नेपाल इन्जिनियर्स एसोसिएशनले उनलाई उत्कृष्ट इन्जिनियर्स अवार्ड दिएको थियो । तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मान थाप्दै नवनियुक्त कामिनी राजभण्डारी। टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यको कार्यकाल सकिएपछि सरकारले गत असार २५ मा खुला प्रतिस्पर्धाका आधारमा टेलिकम प्रमुख माग गरेको थियो । त्यसमा नेपाल टेलिकम भित्रबाट ९ जना र बाहिरवाट चार जनाले आवेदन दिएका थिए । सिफारिस समितिले आवेदकमध्येबाट ६ जनालाई सर्टलिष्टमा राखेर अन्तरवार्ता गर्ने र ती मध्येबाट उत्कृष्ट तीनजनालाई विहीवार मन्त्रीपरिषदमा पेश गरेको थियो । छनौट समितिले तयार पारेको सर्ट लिस्टमा टेलिकम भित्रैबाट आवेदन दिनेमध्ये नायब प्रबन्ध निर्देशक कामिनी वाहेक मानव संसाधन प्रमुख रवीन्द्र झा, प्रबन्धकहरू वटुक आनन्द वैद्य, सुनीलकुमार पोखरेल र गुणकेशरी प्रधान थिए । यसैगरी टेलिकम वाहिरबाट मदन खरेल परेका थिए ।
सिप्रदी ट्रेडिङ्गको एक्साईडद्वारा सञ्चालित डिलरमिट सम्पन्न
काठमाडौं, ६ असोज । सिप्रदी ट्रेडिङ्ग प्रा.लिको एक्साइड डिभिजनद्वारा डिलरमिट कार्यक्रमको समापन भएको छ । कम्पनीले आफ्ना डिलरहरुको आवश्यकतालाई ध्यानमा राखि देश भरि छरिएका सबै डिलरहरुलाई एकै ठाउँमा भेला गरि सो कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा एक्साइड ब्याट्रिको राम्रो बिक्री गर्ने डिलरहरुलाई बिधा अनुसार पुरस्कृत गरिएको छ । कम्पनीका अनुसार अटोमोटिभ, इन्र्भटर र माटरसाईकल बिधामा प्लाटिनियम, गोल्ड–सिल्भर परफरमर अवार्डबाटबाट सम्मानित गरिएको छ । सोही कार्यक्रममा एक्साइड ब्याट्रीसँग १६ बर्ष देखि सहकार्य गर्दै आएका अभिषेक इन्टरप्राइजेज राजविराजलाई पनि सम्मान पत्र वितरण गरिएको कम्पनीले जनाएको छ ।
प्राइम बैंकका सिइओ नारायणदास मानन्धरको कार्यकाल थपियो
काठमाडौं, ६ असोज । प्राइम कर्मसियल बैंकका सिइओ नारायणदास मानन्धरको कार्यकाल तीन वर्ष थपिएको छ । भदौ २५ गते बसेको बैंकको २८६औँ सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा मानन्धरको समय थप्ने निर्णय गरेको हो । मानन्धरले प्रमुख कार्यकारी अधिकृत भएर बैंकमा एक कार्यकाल पुरा गरिसकेका छन् । बिहीबार नेप्सेमा प्रकाशित सूचना अनुसार उनले अझै तीन वर्ष सो बैंकको सिइओ भएर काम गर्नेछन् ।
७६ करोड खर्चेर दारी काट्छन् नेपाली, कपाल काट्ने कैँचीलाई अढाई करोड खर्च
काठमाडौं, ६ असोज । दैनिक लाखौं नेपालीले दारी काट्छन् र सोही मात्रामा कपाल पनि । त्यही दारी कपाल काट्ने मेसिनका लागि करोडौं रुपैंयाँ विदेशीने गरेको छ । गत आर्थिक वर्षमा मात्रै नेपालीले ७६ करोड ७३ हजार ५ सय ५५ रुपैंयाँ बराबरका दारी काट्ने मेसिन प्रयोग गरेका छन् । नेपालीले ४६ लाख ४७ हजार रुपैंयाँ बराबरका २६ लाख २९ हजार व्लेड प्रयोग गरेका छन् । सात करोड ६ लाख रुपैंयाँ बराबरको २६ लाख वटा रेजर प्रयोग गरेका छन् भने ६८ करोड ४६ लाख ६२ हजार एक सय ३६ रुपैंयाँ बराबरको सेफ्टी रेजर ब्लेड प्रयोग गरेका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार एक लाख १५ हजार ३ सय ५५ रुपैंयाँ मुल्य बराबरका रेजर तथा ब्लेडका पार्टपुर्जा आयात गरिएको छ । नेपालले कपाल काट्ने कैँची मात्रै २ करोड ४३ लाख ७४ हजार एक सय ४७ रुपैंयाँ बराबरको आयात गरेको छ । सो रकमबाट २० लाख ५७ हजार ७ सय ९५ वटा कैचीँ आयात गरेको छ । नेपालले चीन, भारत, अमेरिका, बेलायत, युएइ, पाकिस्तान, बंगलादेश, जर्मनी, फ्रान्स, मेक्सिको, भियतनाम, रसिया, दक्षिण कोरिया, पोल्याण्ड, चेक रिपब्लिक, ताइवान, नेदरल्याण्ड, मलेसिया, ग्रीस लगायतका २४ देशबाट दारी तथा कपाल काट्ने समान आयात गर्दै आएको छ ।