विकासन्युज

तीन कम्पनीको दुई करोड बढी कित्ता हकप्रद सूचिकृत, सबैभन्दा बढी एसबिआई बैंकको

काठमाडौं । आइतबार मात्रै तीन कम्पनीको दुई करोड सात लाख बढी कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । एकै दिन एसबिआई बैंक, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । आइतबार सूचिकृत मध्ये सबैभन्दा बढी एसबिआई बैंकको हकप्रद सेयर सूचिकृत भएको छ । सो बैंकको एक करोड ९९ लाख १९ हजार ४२३ कित्ता हकप्रद सूचिकृत भएको हो । त्यस्तै, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको एक लाख ७ हजार ९४९ कित्ता र ज्योति विकास बैंकको ७ लाख ७२ हजार ०४७ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।

मन्त्रिमण्डल विस्तार, आठ राज्यमन्त्री थपिए

काठमाडौ‌‌ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन् ।उनले मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थप गरेका हुन् । प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आज विस्तार भएसँगै ३१ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री, १९ मन्त्री र आठ राज्यमन्त्री छन् । मोहम्मद जाकिर हुसेन ९महिला, बालिकालिका तथा समाज कल्याण, रामसिंह यादव स्वास्थ्य, श्यामकुमार श्रेष्ठ ९गृह०, शम्भुलाल श्रेष्ठ ऊर्जा, कर्णबहादुर विक आपूर्ति, छमबहादुर गुरुङ सहरी विकास, गोमा कुँवर पशुपक्षी विकास र ओङ्दी शेर्पाले सामान्य प्रशासन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । उनीहरु सबै नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री देउवाले उनीहरुलाई पद तथा गोपनीयताको सपथ गराए । सपथपछि नवनियुक्त राज्यमन्त्रीलाई माला र खादालगाएर प्रधानमन्त्री देउवाले स्वागत अभिवादन गर्नुभएको थियो । रासस

चेम्बरले बाढीपहिरो पीडितका लागि संकलित राहत सामग्री सरकारलाई बुझायो

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरो पीडितका लागि संकलित राहत सामाग्री सरकारलाई हस्तारण गरेको छ । आइतबार चेम्बर प्रतिनिधि मण्डलले सिंहदरवारमा गृहमन्त्री जनार्दन शर्मालाई राहत सामाग्री हस्तारण गरेको हो । बाढीपीडितका लागि राहत संकलन गर्न गठित डिजास्टर म्यानेजमेन्ट सेलका संयोजक एवं चेम्वरको प्रतिनिधि मण्डलले पहिलो चरणमा औषधि, खाद्य सामाग्री, त्रिपाल, टेण्ट, म्याट्रेस, लता कपडा लगायतका राहत सामाग्री मन्त्री शर्मालाई हस्तान्तरण गरेको हो । चामल दुई ट्रक, औषधि दुई सय वक्स, त्रिपाल र टेण्ट एक ट्रक र म्याट्रेस तथा लता कपडा एक ट्रक हस्तारण गरिएको छ । कार्यक्रममा चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले थप राहत संकलन गरी संकलित राहत सामग्री हस्तान्तरण गर्दै जाने जानकारी दिए ।

चन्द्रनहर सिँचाइ आयोजनामा करिब दुई अर्बको क्षति

सप्तरी । हालै आएको मुसलधारे वर्षाका कारण सप्तरी जिल्लामा आएको भिषण बाढी र पहिरोले पुरानो चन्द्रनहर सिँचाइ आयोजनालगायतका वितरण प्रणालीमा  १ अर्ब ८८ करोड मूल्य बरावरको क्षति भएको छ । खाँडोलगायत घोरदह, मुतनी, कजरा, कटनिया धार, पाँची, कसहा, जुरी, खैरी, खडक, कटहा, बिहुल नदीहमा आएको बाढीले पम्प नहर प्रणाली, चन्द्रनहर प्रणाली, वितरण नहर प्रणालीमा क्षति भएको कोशी पम्पु, चन्द्रनहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रसुन मिश्राकाअनुसार पम्प नहर प्रणलीमा १ अर्ब ७० करोड रुपैयाँ , चन्द्रनहर प्रणलीमा १५ करोड रुपैयाँ तथा वितरण नहर प्रणलीमा ३ करोड मूल्य बराबरको क्षति भएको बताइएको छ । कार्यालयका अनुसार पम्प नहर प्रणाली राजविराजको मलेठ चौकमा पम्प नहरको दायाँ बैंक काटान गरी खाँडो नदीलाई नहर बनाइएकाले खाँडाको ७५ प्रतिशत बहावले पम्प हाउस बीलाई अर्कोतिर लगरेर क्षति पुर्याएको थियो । साथै पम्प हाउस बीको भित्र पानी पसेर भौतिक पूर्वाधार भत्काउँदा बाढीबाट पम्प हाउस बीमा रहेका पाइनलबोड, मोटर, टान्फर्मर, फिल्टरेसन पलान्टमा समेत क्षति पुर्याएकाे बताइएको छ । खाँडो नदी बाढीले पम्प नहरको विभिन्न ठाउँमा सर्भिस रोड, र राइट बैंक तोडफोड गरेकाले सो नहर सञ्चालन नहुने स्थितिमा पुगेको प्रमुख मिश्राले बताए । त्यस्तै चन्द्र नहर सिँचाइ प्रणालीमा अमहा, पौडा, सुन्दरी, महुली, गंगाजली नदीको बाढीले गर्दा विभिन्न ठाउँमा सर्भिस रोड, राइट बैँक भत्काएको छ । साथै मोहुली नदीको बाढीले जिल्लाको बुधेवा बाँध समेत क्षतिग्रस्त बनाएको छ भने वितरण नहर प्रणालीमा जीता खोलाले करिब ३१ शाखा नहरलाई तोडफोड गरेको र खाँडो नदीको तीन सय मिटरसम्म लेपट बैंक भत्काएकोले शाखा नहरमा नहर सञ्चालन नहुने स्थितिमा पुगेको सो कार्यालयले जनाएको छ । कार्यालय प्रमुख मिश्राकाअनुसार बाढीबाट क्षतिग्रस्त चन्द्रनहरलगायत अन्य पूर्वाधारको मर्मत र निर्माणको सम्बन्धमा सिँचाइ मन्त्रालय र सिँचाइ विभागमा लिखित जानकारीसमेत गराइएको बताए । सप्तरीमा सिँचाइको लागि अत्यन्त महत्वपूर्ण रहेको उक्त आयोजनाको लागि छिटो बजेट आएमा तुरुन्त कार्य सुरु गरिने उनले राससलाई बताए । चन्द्रनहरलगायत अन्य प्रणलीको क्षतिको अवस्थाबारे सिँचाइ मन्त्रालय र विभागका उच्चस्तरी टोलीद्वारा स्थालगत निरीक्षण समेत भएको बताइएको छ । यसैबीच खाँडो नदी नियन्त्रण बाँध आयोजनाले खाँडो नदीमा निर्माण गरेको बाँध भत्किदा रु तीन करोड बराबरको क्षति भएको जनाएको छ । कार्यलय प्रमुख मोहम्द सिद्धिकीकाअनुसार खाँडो बाँधको तीन किलोमिटर पूर्णरुपमा कटान भएको र तीन सय मिटर बाँधमा समेत क्षति पुगेको बताइएको छ । २०७३÷७४ मा सो आयोजनाको बजेट १४ करोड रुपैयाँ थियो । रासस

श्रीलंकाका प्रधानन्यायधिसद्घारा चन्द्रागिरिकोे भ्रमण

काठमाडौं । श्रीलंका सर्वोच्व अदालतको प्रधान्यायधिश प्रियासाथ डेपले आज चन्द्रागिरिको भ्रमण गरेका छन् । भ्रमणमा क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकान गरे । अनौपचारिक भ्रमणका लागि नेपाल आएका प्रियासाथलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । डेपले चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया दिदैँ आफुलाई स्वच्छ र सुन्दर ठाँउमा आउन पाउँदा धेरै खुशी भएको तथा श्रीलंकामा पनि यस्तै किसिमको पर्यटकिय स्थलको सम्भावना रहेको बताए । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा उक्त कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको बताएको छ ।  

नेपालको गर्भमा रहेका पेट्रोलियम झिक्ने बाटो खुल्यो, चीनको अन्वेषण र ग्लोबल टेण्डर एकै पटक

काठमाडौं ।  नेपालको गर्भमा रहेका पेट्रोलियम पदार्थ झिक्ने बाटो खुल्ला भएको छ । पेट्रोलियम नियमावली २०४१, पाँचौं संसोधन २०७४ नेपाल पत्रमा प्रकाशित भएसँगै पेट्रोलियम उत्खननको बाटो खुल्ला भएको हो ।  मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावलीको पाँचौं संसोधन यहि साउन ९ गते नेपाल पत्रमा प्रकाशित भएको थियो । “पेट्रोलियम नियमावलीको पाँचौं संसोधन नेपाल पत्रमा प्रकाशित भएपछि उत्खननको बाटो खुलेको छ, यहि बीचमा चीनसँग अन्वेषणका लागि सम्झौता पनि भएको छ, हामी उत्साहित भएका छौं”, खानी विभागको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेले विकासन्युजसँग भने । मुलुकका १० वटा पेट्रोलियम खानीहरु अन्वेषण तथा उत्खननका लागि तयार पारिएको पनि उनले जानकारी दिए । तीमध्ये केही खानीमा चीनले थप अन्वेषण गर्नेछ भने केहिमा ग्लोबल टेण्डर आव्हान गरिनेछ । सन २०१६ को अप्रिल ३० मा नेपाल आएको ६ सदस्यीय चाइना जिओलोजिकल सर्भेको टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीको संभाव्यता अध्ययन गरेको थियो । सो टोलीले ती खानीको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेर मे २६ तारिखका दिन चीन फर्किएको थियो । उनीहरुले यी तीन क्षेत्रमा रहेका स्रोत चट्टान र पेट्रोलियम अन्वेषण आयोजनासँग भएका तथ्यांकको गहिरो अध्ययन गरेका थिए । हाल चीनले नेपालका पेट्रोलियम खानीको अन्वेषण गर्न भन्दै सम्झौतामा हस्ताक्षर समेत गरेको छ । चीनका उप–प्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणका क्रममा साउन ३१ गते दुई देशबिच पेट्रोलियम अन्वेषण गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । “पुर्व सम्भाव्यता अध्ययनका क्रममा नेपालमा पेट्रोलियम पदार्थ रहेको छ भन्ने देखेपछि उनीहरुले थप अन्वेषणका लागि सम्झौता गरेका हुन, यसले नेपालमा पेट्रोलियम पदार्थको उत्खननका लागि सहयोग गर्छ” प्रमुख रजौरेले भने । के पाउँछ नेपालले ? पेट्रोलियम खानीहरुको उत्खनन गर्दा नेपालले कुल आम्दानीको १२.५ प्रतिशत रोयल्टी पाउनेछ । त्यसबाहेक अधिकतम आम्दानीको हिस्सा दिने कम्पनीलाई उत्खननको जिम्मा दिइनेछ । ‘नियमावलीमा १२.५ प्रतिशत रोयल्टीको व्यवस्था छ, सबै भन्दा धेरै प्रतिफल दिने आवेदक कम्पनीलाई ठेक्का दिन्छौं’, रजौरेले भने । उनका अनुसार पेट्रोलियम खानीहरुको उत्खननमा नेपाल सरकारलाई कुनै पनि आर्थिक दायित्व पर्नेछैन । यी हुन पेट्रोल ब्लक  नेपालका बिभिन्न १० वटा ब्लकहरुमा पेट्रोलियम पदार्थको खानी रहेका छन् । धनगढी, कर्णाली, नेपालगञ्ज, लुम्बिनी, चितवन, वीरगञ्ज, मलंगवा, जनकपुर, राजबिराज र बिराटनगरका एक देखि १० नम्बर ब्लकका रुपमा नामाकरण गरिएको छ । गत बर्ष चीनको स्वामित्वमा रहेको चाईना जिओलोजिकल सर्भको प्राबिधिक टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुको अध्ययन गरेको थियो ।  

बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा शोभनदेव पन्त नियुक्त

काठमाडौं । बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा शोभनदेव पन्त नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले पन्तलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । पन्तले भदौ ४ गते (आइतबार) देखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले आगामी ४ वर्ष सम्म बैंक अफ काठमाण्डूको सिईओको जिम्मेवारी सम्हाल्नेछन् ।

टेलिकमले ल्यायो चाडपर्वमा विशेष अफर, युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज

काठमाडौं । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा जीएसएम प्रिपेड र पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अफर उपलब्ध गराउने भएको छ । टेलिकमका अनुसार युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ । डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अन्तर्गत प्याक १५० र प्याक २५० उपलब्ध हुनेछ । प्याक १५० अन्तर्गत १५० रुपैयाँमा ६०० एमबी र प्याक २५० अन्तर्गत २५० रुपैयाँमा १ जिबी डाटा भोल्युम उपलब्ध हुनेछ । यी प्याक अन्तर्गतको स्किमबाट कम्पनीकै नेटवर्कमा कल वा एसएमएस गर्दा २० प्रतिशत छुट समेत उपलब्ध हुनेछ । यी दुई प्याक क्रमशः खरिद गरेको १४ दिन र २८ दिनको समयावधिसम्म प्रयोग गर्न सकिन्छ । डाटा भोल्युम सकिए पनि कल वा एसएमएस गर्दा भने १४ दिन र २८ दिनको समयावधिसम्म नै २० प्रतिशत छुट प्राप्त हुनेछ । युट्युब डाटा प्याकेज लिनका लागि वाइटि १ जिबि वा वाइटी ५०० लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ । त्यसैगरी डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज लिनका लागि प्याक १५० वा प्याक २५० लेखेर १४१५ मा एसएमएस पठाउनु पर्ने टेलिकमले जानकारी दिएको छ । यी सबै अफर आगामी भदौ ५ देखि भदौ १९ सम्म खरिद गर्न सकिने छ । त्यसैगरी यी सबै सुविधाको उपभोग जुनसुकै समयमा पनि गर्न सकिने टेलिकमले जानकारी दिएको छ।