विकासन्युज

बैंकिङ कसूर गरेको आरोपमा रावा बैंकका थप एक कर्मचारी पक्राउ

गौशाला । बैंकिङ कसूर गरी सेवाग्राहीका ४० लाख रूपैयाँ  निकालेर हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरीको राष्ट्रिय वाणिज्य बैंकका थप एक जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा रावा बैंक जलेश्वर शाखामा वरिष्ठ सहायक पदमा टेक्निसियन भएर काम गर्दै आएका जलेश्वर नगरपालिका– २ बस्ने ५७ वर्षीय महेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कठायतले बताए । पक्राउ परेका टेक्निसियन साह रावा बैंक जलेश्वर शाखामा टेक्निसियनका रुपमा कम्प्युटरमा सेवाग्राहीको हस्ताक्षर व्यवस्थापन तथा सबै शाखामा हस्ताक्षर पठाउने काम गर्दै आएकाबेला जिल्लाको बर्दिबास शाखाबाट नक्कली हस्ताक्षर प्रयोग गरी त्यहाँ कार्यरत दुई जना कर्मचारीले एक सेवाग्राहीको २० लाख रूपैयाँ झिकेर हिनामिना गरेको आरोपमा उनी पनि दोषी रहेको भन्दै उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कठायतले बताए । प्रहरी उपरीक्षक कठायतका अनुसार यसअघि साउनको अन्तिम साता रावा बैंक बर्दिवासमा कार्यरत वरिष्ठ सहायकद्वय बर्दिवास नपा–८ बस्ने ४८ वर्षीय जगदिश काफ्ले र काभ्रेपलाञ्चोकको धुलिखेल नपा– ११ बस्ने ३५ वर्षीय अम्बिका पौडेललाई बैंकिङ कसूरमा पक्राउ गरिएको थियो । यसअघि पक्राउ परेका रावा बैंकका कर्मचारीद्वयले बर्दिवास शाखामा महोत्तरीको साँढा– २ घर भई हाल नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत इन्जिनियर श्रीप्रकाश नारायण सिंहको नाउँमा रहेको वचत खाता नम्बर ८०३९४ बाट नक्कली चेक प्रयोग गरी रु २० लाख झिकेर हिनामिना गरेको आरोप रहेको छ । त्यस्तै उनीहरुले नक्कली चेककै प्रयोग गरी सर्लाही जिल्लाको लालबन्दीस्थित रावा बैंकबाट  ५ लाख र सिरहाको मिर्चैयास्थित रावा बैंकबाट  १५ लाख रूपैयाँ निकालेको प्रहरीले जनाएको छ । उनीहरुले बद्नियतपूर्वक तरिकाबाट आफ्नो खाताबाट रकम झिकेको भन्दै इन्जिनियर सिंहले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दिएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो भने यसै घटनामा दोषी रहेको आरोपमा रावा बैंक जलेश्वरका टेक्निसियन साह पनि पक्राउ परेका हुन् । साउन अन्तिम साता पक्राउ परेका दुवै जना कर्मचारीले आफूसहित यस कार्यमा अन्य पाँच जना कर्मचारी पनि संलग्न रहेको बयान दिएका थिए । ती दुवै जनामाथि बैंकिक कसूर मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएकै बेला थप एक जना टेक्निसियन पक्राउ परेको र उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काम नगर्ने प्रवद्र्धकको अनुमतिपत्र खारेज गर्न उर्जा मन्त्रीको निर्देशन, ४० हजार मेगावाट क्षमताको खोला झोलामा

काठमाडौ। ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युत् अनुमतिपत्र लिएर काम नगरेकाहरुको अनुमतिपत्र खारेज गर्न विद्युत् विकास विभागलाई निर्देशन दिएका छन् । आज ऊर्जा मन्त्रालयमा विभागका महानिर्देशक नवीन्द्रराज सिंहलगायत अधिकारीलाई अनुमतिपत्र लिने र काम नगर्नेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । “अनुमतिपत्र लिएका तथा विभागको सम्पर्कमा नरहेका जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनु जरुरी छ । काम नगर्नेलाई राज्यको स्रोत र साधन सुम्पेर बस्नु जरुरी छैन”–मन्त्री शाहीले भने “३५ दिनभित्र उनीहरुको अनुमतिपत्र खारेज गर्नुस् ।” उनले विद्युत् उत्पादन गर्न चाहनेले अनुमतिपत्र नपाउने अवस्था रहेको भन्दै काम गर्ने योग्य प्रवद्र्धकलाई अगाडि बढाउन सरकारले विशेष अभियान सञ्चालन गर्नैपर्नेमा जोड दिए । आर्थिक रुपमा सम्भाव्य देखिएका करिब ४२ हजार मेगावाट बराबरको अनुमतिपत्र विभागले स्वदेशी तथा विदेशी कम्पनीलाई उपलब्ध गराएको छ । त्यसमध्ये केही सम्भाव्यता अध्ययनका क्रममा रहेको छ भने केही अन्य प्राविधिक अध्ययनका क्रममा छन् । हालसम्म करिव २ हजार मेगावाट क्षमताको परियोजनामा पनि ठोस काम भएकोे छ । मन्त्री शाहीले निर्माणमा जाने अवस्थामा रहेका आयोजनालाई समेत तत्काल निर्माण सुरु गर्ने व्यवस्था गर्नसमेत विभागलाई निर्देशन दिएको ऊर्जा मन्त्रालयले जनाएको छ । मन्त्री शाहीले भने, “झोलामा खोला राखेर व्यापार गर्ने दिन गए, सरकारले धेरै सह्यो र उनीहरुलाई काममा आउन बाध्यसमेत पा¥यो, तर सधैँ सहेर बस्ने भन्ने हुन्न, अब सकिँदैन ।” नीतिगत रुपमा गरिएका सुधारका कारण झोलामा खोला राख्ने प्रवृत्ति केही मात्रामा कम भएको भएपनि पूर्णरुपमा अन्त्य हुन नसकेको भन्दै मन्त्री शाहीले नियमसंगत रुपमा काम गर्नेको सरकारले संरक्षण गर्ने र काम नगर्नेको अनुमतिपत्र खारेज गर्ने बताए । सो अवसरमा विभागका महानिर्देशक सिंहले विभागले गरिरहेको काम कारबाही तथा विद्युत् आयोजनाको अनुमतिपत्रका बारेमा जानकारी गराए । महानिर्देशक सिंहले अनुमतिपत्र लिएका तर काम नगरेका प्रवद्र्धकलाई १५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरिएको बताएका छन् । रासस

बाढीपीडितलाई आइएमई फाउन्डेशनद्वारा राहत वितरण

काठमाडौं । साउनको अन्तिम साताआएको अविरल वर्षाका कारणले प्रभावित पूर्वी तराईका विभिन्न स्थानमा आइएमई फाउन्डेशनले प्रभावितहरुको लागि राहत वितरण गरेको छ । बाढीपहिरोले पीडित घर परिवारको दैनिक जीवनमा प्रयोग हुने खाद्यान्न–लत्ताकपडा लगायतका सामग्रीहरु आइएमई फाउन्डेशन केन्द्रीय कार्यालयबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यावसायिक साझेदारहरुले स्थानीय दैवीप्रकोप उद्घार समन्वय समितिको रोहबरमा वितरण गरेका हुन् । आइएमई फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अविरल बर्षाका कारण घरबार विहीन हुनपुगेका पूर्वी तराईका प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गत साउन ३० गते गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि केन्द्रीय तहमा तीन सदस्यीय कार्यदल गठन गरी कार्यालयमा कार्यरत बरिष्ठ अधिकृतहरुलाई सम्बन्धित स्थानमा जिम्मेवारी तोकी पठाइसकिएको छ । आइएमई फाउन्डेशन मिति २०६६ सालमा दर्ता भएको संस्था हो । आइएमई ग्रुपलेसंस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलाप यही फाउन्डेशनमार्फत् गर्दैआएको छ ।

भदौ १६ गतेदेखि सुपथ मूल्यका पसल सञ्चालन हुदै, चिनीमा ५ र चामलमा १० रुपैयाँ छुट दिने

काठमाडौं ।  सरकारले विगत वर्ष जस्तै दशै र तिहार लगायतका प्रमुख चाडपर्वलाई लक्षित गर्दे भदौ १६ गतेदेखि छठसम्म देशभरी सहुलियत पसल सञ्चालन गर्ने भएको छ । आपूर्ति मन्त्रालय अन्तर्गका साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, नेपाल खाद्य संस्थानले दशै र तिहारमा सहुलियत दरमा नून, चिनी, चामल लगायतका दैनिक उपभोग्य वस्तु सहुलियतमा बिक्री गर्ने भएका हुन् । आयल निगमले पेट्रोलियमको आपूर्ति सहज गर्ने भएको छ । आगामी चाडपर्वमा उपभोक्ताको सहजताका लागि विभिन्न संस्थानमार्फत सहलियतमा दैनिक उपभोग्य वस्तु बिक्रीबितरण गर्न लागिएको आपूर्तिसचिव प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार यसपाली खाद्य संस्थानले उपत्यकाका ११ स्थान तथा मूलुकभरका गोदामबाट सहुलियत दरमा खाद्यान्न बिक्री गर्ने भएको छ । साल्ट ट्रेडिङले उपत्यकाका ९ स्थान तीन वटा घुम्ति पसलबाट सेवा दिनेछ । साल्ट ट्रेडिङले उपत्यका बाहिर ३६ स्थानमा सहुलियत पसल चलाउने मन्त्रालयले जानकारी दिएको छ । साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो २ र चिनीमा प्रतिकिलो ५ रुपैयाँसम्म छुट दिने मन्त्रालयका उपसचिव उर्मिला केसीले बताइन् । खाद्य संस्थानले बिक्री गर्ने बासमती चामल र फापरको पिठोमा प्रतिकिलो १० रुपैयाँका दरले छुट दिने उनले जानकारी दिइन् । मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइने छ । खाद्य संस्थानले बिक्री गर्ने खसी बोका तथा च्यांग्रामा पनि प्रतिकिलो १० रुपैयाँसम्म छुट दिने उनले बताइन् । संस्थानले पश्चिम नेपालबाट १ हजार ५ सय खसीबोका र मुस्ताङबाट १ हजार च्याङ्ग्रा गरेर २ हजार ५ सय साना चौपाया ल्याउने तयारी गरेको छ । चाडपर्वको अवसर पारेर दैनिक उपभोग्य सामानमा कालोबजारी तथा कृत्रिम अभावलाई निरुत्साहित गर्न सहुलियत पसल सञ्चालन गर्न लागिएको केसीले जानकारी दिइन् । प्रत्येक वर्ष संस्थानहरुले उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उलपब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालन गर्दै आएको छ । यसपाली पनि बजारमा कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्न कार्यक्रम ल्याउने उनले बताइन् । आयल निगमले दसैं तिहारमा पेट्रोलियम आपूर्तिमा कुनै समस्या नआउने जानकारी दिएको छ । दुध तथा दहीका लागि छलफल गर्ने तयारी चलिरहेको सचिव राईले जानकारी दिए ।

लुम्बिनी बिकास बैंकको टोखा शाखामा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । लुम्बिनी बिकास बैंक लिमिटेडले आफ्नो टोखा शाखामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले शनिबार लायन्स क्लब इन्टरनेसनल तथा स्थानिय सामाजिक संस्थाहरुसंगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरी कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा ७० जनादाताहरुले रक्तदान गरेका थिए । विकास बैंकले यस कार्यलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लिएको र आगामी दिनहरुमा समेत यस्ता प्रकारका सामाजिक कार्य गर्दै जाने बैंकले जनाएको छ । कार्यक्रममा बैैकका कर्मचारी बर्ग, क्लबका सदस्यहरु, सामाजिक संस्थाका प्रतिनिधीहरु एवं स्थानिय ब्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सिद्धार्थ बैंकको ‘मेरो शेयर खाता’ सञ्चालनमा, वार्षिक ब्याजदर ६ प्रतिशत

काठमाडौं । सिद्धार्थ बैंकले ‘सिद्धार्थ मेरो शेयर खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले आश्बा मार्फत आइपीओ एफपिओमा आवेदन गर्न इच्छुकहरुका लागि उक्त खाता सञ्चालनमा ल्याएको हो । यस बचत खातामा ग्राहकले ६ प्रतिशत वार्षिक ब्याजदर प्राप्त गर्नेेछन् । बैंकका अनुसार ‘मेरो शेयर खाता’ बाट सरल र सुरक्षित तरिकाले शेयर बजारमा लगानी गर्ने सकिनेछ । बैंकले ‘मेरो शेयर खाता’ मा निःशुल्क अनलाइन आश्बा एप्लिकेशन, निःशुल्क डिम्याट खाता, सिडीएसको अनलाइन एप्लिकेशन र डिम्याट खाताको वार्षिक शुल्कमा छुट प्रदान गरेको छ । साथै, बैंकले पाँच लाख रुपैयाँ सम्मको निःशुल्क दुर्घटना विमा लगायतका अन्य धेरै बैंकिङ्ग सुविधाहरु प्रदान गरेको छ । यो खाता खोल्न आफुलाई पाएक पर्ने सिद्धार्थ बैंकको शाखाहरु तथा सिद्धार्थ क्यापिटल, नारायणचौर नक्सालमा समेत सम्पर्क राख्न सकिनेछ । सिद्धार्थ बैंकले हाल नेपालभर रहेका आफ्ना ७५ शाखा, २ एक्स्टेन्सन काउन्टर, ९८ एटिएम, ७० शाखारहित बैंकिङ सेवा र ४५० भन्दा बढी पीओएस् मार्फत् ग्राहकहरुलाई उच्चस्तरिय बैंकिङ सेवा प्रदान गरी आएको छ ।

सेञ्चुरी बैंकको नयाँ शाखा बाजुराको मार्तडीमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ शाखा बाजुराको मार्तडीमा सञ्चालन गरेको छ । बैंकले देशको सुदुरपश्चिम भागका ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ सो स्थानमा एटिएम सहितको शाखा कार्यालय आइतबारबाट सञ्चालनमा ल्याएको हो । बैंकले ४० प्रतिशत हकप्रद शेयरको बिक्री गदैंछ भने निकट भविष्यमा नै अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्ससँग एकीकृत कारोबार गर्दैछ । सम्पूर्ण प्राप्तीहरु, हकप्रद तथा चालु आ.व.को मुनाफाबाट सेञ्चुरी बैंकले तोकिएको ८ अर्ब रुपैयाँ पुँजी पुर्याउदै छ । एकीकृत कारोबार पश्चात् देशभर सेञ्चुरी बैंकको शाखाहरु ९० वटा हुनेछन् ।

सोमबारदेखि सवारी साधनमा विद्युतीय नम्बर प्लेट

काठमाडौं । यातायात व्यवस्था विभागले सोमबारदेखि सवारी साधनमा विद्युतीय (इम्बोस्ड) नम्बर प्लेट राख्न शुरु गर्दैछ ।  इम्बोस्ड नम्बर प्लेट राष्ट्रपति, सरकारी, व्यावसायिक र निजी गरी चार प्रकारका हुनेछन् । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राखेपछि सवारी चोरी हुने समस्या र अपराधका काममा प्रयोग हुने घटना रोकिने विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी िदए । “इम्बोस्ड नम्बर प्लेट चम्किलो हुने भएकाले टाढैबाट देखिन्छ, यो नं प्लेट भएका सवारी कहाँ के गर्दैछन् भन्ने पहिचान गर्न उपत्यकाका पाँच नाका र उपत्यका बाहिर पाँच स्थानमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ केन्द्र स्थापना गरिनेछ”–उनले भने । केन्द्रबाट यो नं प्लेट भएका सवारी कहाँ के गर्दै छन् भन्ने जानकारी लिन सकिन्छ । सवारीमा विद्युतीय नं प्लेट राखिसकेपछि दुर्घटना भएमा छिटो पहिचान गरी उद्धार गर्न सकिन्छ । यसका लागि अमेरिका र बंगलादेशको संयुक्त डेटाटोर टाइगर आइटी कम्पनीलाई ठेक्का दिइएको विभागले जनाएको छ । पाँच वर्षमा २५ लाख सवारी साधनमा विद्युतीय नं प्लेट राख्ने विभागको योजना छ । यो नं प्लेट राख्न ठूला चारपांग्रे सवारीका लागि ३ हजार ६००, मझौला चारपांग्रे सवारीका लागि ३ हजार २००, ट्याम्पो, रिक्सालगायत तीनपांग्रे सवारीका लागि २  हजार ९०० र मोटरसाइकललगायत सवारीका लागि २ हजार ५०० रूपैयाँ दस्तुर तोकिएको छ । सोमबार बिहान विभागमा आयोजना हुने विशेष कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सवारीमा इम्बोस्ड नं प्लेट राख्ने कामको शुभारम्भ गरने  कार्यक्रम छ ।