साबुन, स्याम्पु र टुथपेष्टदेखि कस्मेटिकका सामान पनि अभाव
काठमाडौं, १८ कात्तिक । ‘स्वस्थ शरिर, स्वस्थ मष्तिष्क’ भन्ने मान्यता नै छ संसारमा । । रोग लागेपछि उपचार गराउनु भन्दा रोग लाग्न नै नदिनु उपयुक्त हुन्छ । तर भारतीय नाका बन्दीले नेपालीलाई स्वस्थ बनाउने सामग्रीकै अभाव सुरु भएको छ । मधेशमा जारी आन्दोलनका नाममा भारतले सुरु गरेको सिमाको अवरोधले नेपालीलाई स्वस्थ बनाउन प्रयोग हुने सामान तथा कस्मेटिक उपजहरुको चरम अभाव सुरु भैसकेको छ । बज्राचार्य दम्पति आफ्नो कस्मेटिक्स पसलमा समान खोज्दै बजारमा साबुन, स्याम्पु, टुथपेष्टको अभाव सुरु भएको बिक्रेताहरुले बताउन थालेका छन् । बालाजुका किराना व्यवसाय मनोज महजर्नले साबुन, स्याम्पु, टुथपेष्ट तथा बिस्कुट र चाउचाउहरुको समेत अभाव सुरु भएको बताए । भोटाहिटीस्थित पल्पसा कस्मेटिक्सका प्रोप्राईटर रुपकमान बज्राचार्यले थोक बिक्रेताले ५ प्रतिशत मुल्य वृद्धि गरिसकेको बताए । उनको पसलमा पोण्ड्स क्रिम, स्याम्पु लगायतका कस्मेटिक आईटमको अभाव सुरु भैसकेको बताए । भारत बाहेक तेश्रो मुलुकका समान समेत भारतीय नाका हुँदै नेपाल आउने भएकाले ती समानको पनि अभाव रहेको उनले बताए । उनको कस्मेटिक पसलमा ५० प्रतिशत भारतीय उत्पादनका समानहरु रहेका छन् । अहिले ती सबैको अभाव सुरु भैसकेको छ । महावौद्धस्थित स्याममानेश्वर कस्मेटिक्सका सञ्चालक स्यामान मानन्धरका अनुसार अधिकांश भारतीय कस्मेटिक आईटमहरुको अभाव रहेको छ । उनले औषतमा ४० प्रतिशत भारतीय समान बेच्दै आएका छन् । तेश्रो मुलुकका उत्पादन समेत भारतीय नाकाबाटै आउने भएकाले अभाव सुरु भएको उनको भनाई छ । बजारमा महिलाहरुले लगाउने टिका(बिन्दिया)को पनि अभाव सुरु भैसकेको छ । नेपाली महिलाहरुले लगाउने ९० प्रतिशत भन्दा बढि टिका अर्थात बिन्दिया भारतबाटै आउने गरेको छ । कस्तो छ आयातको अवस्था ? गत आर्थिक बर्ष २०७१/७२ मा कुल ६ अर्ब ३६ करोड ३० लाख ८२ हजार बराबरको कस्मेटिक समान, स्याम्पु, टुथपेष्ट लगायतका समान आयात भएका थिए । पछिल्लो दुई महिना भन्दा लामो समयदेखि नयाँ समान आयात नभएकाले अभाव सुरु भएको हो । यी सबै समान भारतकै बाटो हुँदै नेपाल भित्रिने गरेका थिए ।
नेपाल–चीन भन्सार अधिकारीबीच २० बुदे सहमति
काठमाडौं, १८ कात्तिक । नेपाल र चीनका भन्सार अधिकारीविच भन्सार अबरोध र सीमा ब्यापार सहज बनाउनको लागि २० बुदे सहमति हुने भएको छ । मंगलवारदेखि काठमाडौंमा जारी दुई देशविचका अधिकारीले सहमतिको मस्यौदा तयार गरिसकेकोले त्यस्तो मस्यौदालाई अन्तिम रुप दिएर विहिवार बेलुकी हस्ताक्षर हुन लागेको हो । नेपाल र चीनका अधिकारीको २७ औं बैठकले भन्सार अवरोध कम गर्ने र सीमा ब्यापारमा हुने अबरोध कम गर्ने सहमति गरिसकेको भन्सार विभागले जानकारी दिएको छ । सहमतिका बुदामा नेपाली ट्रक तथा कन्टेनरका चालक तथा सहचालकलाई सहज रुपमा नेपाल र चीन प्रवेशको बातावारण मिलाउने विषय उल्लेख गरिएको छ । यसको लागि आ–आफ्नो देशको तर्फवाट वाताबरण मिलाउन दुबै पक्ष सहमत भएका छन् । यसअघि नेपाली ट्रक तथा कन्टेनरका चालकहरुले पनि दुबै देश प्रबेश गर्दा अनिवार्य रुपमा भिषा लगाउनु पर्ने ब्यवस्था थियो । यस्तै नेपालमा आउने चिनिया उत्पादनको लेबलमा नेपाल वा अंग्रेजी भाषामा अनिवार्य रुपमा विवरण उल्लेख गर्न चिनिया पक्ष सहमत भएको छ । चिनिया उत्पादनको लेबलमा नेपाली वा अंग्रेजी भाषामा विवरण लेख्न सकिने भन्सार जाचपासमा सहजता हुने माग नेपाली पक्षले राखेको थियो । ‘नेपालमा आउने बस्तुको लेबलमा नेपाली वा अंग्रेजी भाषामा विवरण खुलाउने हाम्रो मागमा चिनिया पक्षले सहमति जनाएको छ, यसले भन्सार जाचपास छिटो र प्रभावकारी हुने अपेक्षा गरेका छौं,’ भन्सार विभागका एक उच्च अधिकारीले भने । त्यस्तो लेबलमा उत्पादन मिति, परिमाण, म्याद समाप्त हुने मिति, मूल्य तथा सो बस्तुको बनावट जस्ता विवरण समावेश गरिने छ ।
योजना आयोगमा डा. युवराज खतिवडा
काठमाडौं, १८ कात्तिक । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. युवराज खतिवडा नियुक्त भएका छन् । बुधबार बिहान बसेको मन्त्री परिषद बैठक ले खतिवडालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर समेत रहेका खतिवडा माधव नेपाल प्रधानमन्त्री हुँदा पनि आयोगका उपाध्यक्ष नै थिए । नेपालले नै खतिवडालनई योजना आयोगबाट केन्द्रिय बैंकको गभर्नर बनाएको थियो । झापा स्थायी घर भएका खतिवडा केपी ओलीका विश्वास पात्र हुन् । खतिवडाले मौद्रिक नीतिमा विद्यावारिधी गरेका छन् । मधेश आन्दोलनका मृतकलाई १० लाख बैठकले मधेश आन्दोलनमा ज्यान गुमाएकाहरुका परिवारलाई १० लाख दिने निर्णय समेत गरेको छ ।
भारतको नाकाबन्दी पछि चीनसँग थप ७ नाका सक्रिय बनाइदै
काठमाडौँ, १८ कात्तिक । भारतले अघोषित नाकाबन्दी गरेर अत्यावश्यकसहितका दैनिक उपभोग्य बस्तुको आयात निर्यातमा कठाइ गरेपछि नेपालले चीनसँग थप ७ नाका सक्रिय बनाउन पहल थालेको छ । मंगलवारदेखि काठमाडौंमा जारी नेपाल र चीनका भन्सार अधिकारीहरुको बैठकमा नेपाली पक्षले यस्तो प्रश्ताव गरेको हो । बैठकमा ताप्लेजुङको ओलाङ्चुङगोला, सङ्खुवासभाका किमाथाङ्का, दोलखाको लामाबगर, गोरखाको लार्के, मुस्ताङ, मुगु र हुम्लाको यारी नाकालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । थप नाकालाई सक्रिय बनाउने विषयमा छलफल चले पनि निष्कर्षमा भने नपुगिएको भन्सार विभागका उपमहानिर्देशक तथा नेपाली पक्षको नेतृत्व गरिरेका दामोदर रेग्मीले जानकारी दिए । नेपालले बैठकमा भएका छलफलबाट निष्कर्षमा पुगेका विषयमा सहमति गर्ने तयारी गरिएको छ । नेपालका तर्फबाट बैठकको नेतृत्व विभागका उपमहानिर्देशक रेग्मी गरेका छन् भने चीनका तर्फबाट ल्हासा भन्सारका उपप्रमुख लङ चेङ वइले गरेका छन् । यस्तै नेपालले भूकम्पबाट प्रभावित भएका नेपाल–चीनबीच रहेका भन्सार नाका चाँडो सञ्चालनमा ल्याउन चिनियाँ पक्षलाई आग्रह गरेको छ । मंगलवारदेखि सुरु भएको २८औँ उच्चस्तरीय वार्षिक बैठकमा भूकम्पपछि रसुवागढीलगायतका नाका अझै सञ्चालनमा नआएको भन्दै चाँडो सञ्चालनमा ल्याउन आग्रह गरिएको होे । केरुङ तथा तातोपानी नाका सञ्चालनमा आए पनि अन्य नाका सञ्चालनमा कठिनाइ भएको छ । बैठकमा भन्सार प्रशासनलाई सुदृढ गरी प्रभावकारी बनाउने र नेपालले निर्यात गर्दै आएको वस्तुलाई सहजरुपमा जाँचपास गराउने सम्बन्धमा छलफल सुरु भएको उपमहानिर्देशक निर्देशक रेग्मीले जानकारी दिए । बैठमा नेपाल र चीनको कार्यालय समय दुई घन्टाको फरक परेकाले त्यसलाई समायोजन गर्न पनि पहल गर्ने निष्कर्षमा पुगिएको रेग्मीको भनाइ छ । चीनले आठ हजार वस्तुले भन्सार सुविधा दिएको भए पनि सो कार्यान्वयन नभएकाले कार्यान्वयन गर्न समिति बनाउने र भन्सार कार्यालयबीच स्थानीयस्तरमा छलफल चलाउने विषयमा दुई पक्ष सहमत भएको नेपाली अधिकारीको भनाइ छ ।
जलविद्यु्त् कम्पनीको सेयरमा पौने ११ अर्बको आवेदन, अझै दुई दिन बाँकी
काठमाडौँ, १७ कात्तिक । जलविद्युत् लगानी तथा विकास कम्पनीले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयरमा उत्साहपूर्ण सहभागिता रहेको छ । कम्पनीले कुल दुई अर्ब रुपैयाँ बराबरको साधारण सेयर जारी गरेको छ । मंगलबारसम्म रु १० अर्ब ७५ करोड बढीको आवेदन परेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । अन्तिम दिनसम्ममा २० अर्ब रुपैयाँ बराबरको सेयर माग आवेदन हुन सक्ने विष्लेषण गरिएको कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए । यही कात्तिक १२ गतेदेखि खुल्ला गरिएको साधारण सेयर १९ गतेसम्म आवेदन गर्न सकिन्छ । आवेदकको उत्साह र विश्वासले आफूलाई अत्यन्तै उत्साहित बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले बताए ।
बजारमा रक्सीको अभाव, तिहारपछि ठ्याम्मै नपाईने
काठमाडौं, १७ कात्तिक । भारतीय नाका बन्दीले बजारमा रक्सीको अभाव सुरु भएको छ । इन्धन तथा कच्चा पदार्थको अभावमा स्वदेशी उद्योगहरु धमाधम बन्द भएका छन भने विदेशी रक्सीको आयात समेत ठप्प भएपछि बजारमा रक्सीको अभाव सुरु भएको हो । ‘बजारमा ८० प्रतिशतले मदिराको अभाव सुरु भैसकेको छ ।’ मदिरा व्यवसायी संघका अध्यक्ष नबिनलाल श्रेष्ठले भने । नेपालमा बर्षेनी करिब ७५ अर्ब मुल्य बराबरको स्वदेशी तथा विदेशी रक्सी खपत हुने गरेको छ । तीमध्ये ३० प्रतिशत बजार हिस्सा विदेशी रक्सीले ओगट्ने गरेका छन् । नेपालमा एक सय वटा रक्सी अर्थात मदिरा उद्योग दर्ता भएपनि ७६ वटाले मात्रै मदिरा उत्पादन गर्दै आएका थिए । मदिरा व्यवसायी संघका अध्यक्ष श्रेष्ठका अनुसार भारतीय नाका बन्दीले विदेशी मदिराको आयात ठप्प भएको छ भने इन्धन अभाव र मधेशमा जारी आन्दोलनका कारण अधिकांश मदिरा उद्योग समेत बन्द भैसकेका छन् । ‘नाकाको अवरोधले विदेशी रक्सी ल्याउन सकिएको छैन भने आन्दोलनकै कारण तराईमा रहेका सबै उद्योग बन्द छन अनि पहाडमा भएका उद्योग समेत कच्चा पदार्थ र इन्धनकै अभावका कारण बन्द भैसकेका छन् ।’ श्रेष्ठले भने । करिब ८० प्रतिशत मदिरा उद्योग बन्द भैसकेको उनले बताए । हिमालयन डिष्टिलरी बन्द भैसकेको बताउँदै उनले गोर्खा ब्रुअरी भने केहि दिनसम्म अझै सञ्चालन हुन सक्ने दावी पनि गरे । जोनी वाल्करका प्रतिनीधीले पनि बजारमा अभाव सुरु भएको बताए । ‘तर ब्ल्याक लेबल र डबल ब्लयाक अभाव छ, यस्तै हो भने अन्य आइटमको पनि अभाव सुरु हुन्छ ।’ ती प्रतिनिधीले भने । उनका अनुसार बजारमा बिक्रि हुने सबै जसो विदेशी रक्सीहरुको अभाव सुरु भैसकेको छ । तत्काल आयात हुन नसके जोनी वाल्करकै पनि अधिकांश आइटमको अभाव हुने उनले बताए । चिभासका प्रतिनीधिले पनि आफ्ना प्रडक्टहरुको अभाव सुरु भएको बताए ।
यसरी बाँढिदैछ चीनले उपहारमा दिएको १० लाख लिटर पेट्रोल !
काठमाडौं, १७ कात्तिक । भारतीय नाका बन्दीसँगै रन्थनिएको नेपालले आफ्नो मुलुकसँग पेट्रोलियम पदार्थको कारोबार गर्ने घोषणा गरेसँगै चीनले उपहारस्वरुप दिने भनेको एक हजार मेट्रिक टन अर्थात १० लाख लिटर पेट्रोल नेपाल धमाधम नेपाल भित्रिरहेको छ । १० लाख लिटरमध्ये सोमबार ९७ हजार नौ सय लिटर पेट्रोल नेपाल आयल निगमको थानकोट डिपोमा पुगिसकेको छ भने मंगलबार थप तीन ट्यांकर पेट्रोल थानकोट आईपुग्दैछन् । औषतमा एउटा ट्यांकरले ९ हजार लिटर पेट्रोल बोकिरहेका छन् । त्यस आधारमा मंगलबार थप २७ हजार लिटर पेट्रोल थानकोट डिपोमा आईपुग्नेछन् । चीनले उपहारस्वरुप दिएको पेट्रोलको केहि अंश राजधानी प्रवेश गरेसँगै नेपाल आयल निगमले निजी कार र मोटरसाईकललाई पेट्रोल बाँढ्ने तालिका सार्वजनिक गर्यो । चीनले १० लाख लिटर पेट्रोल अनुदानमा दिँदैछ भने निगमले तीन दिनमा ९ लाख लिटर पेट्रोल वितरण गर्दैछ । दशैं अघि एक दिन मात्रै निजी सवारी साधनलाई पेट्रोल उपलब्ध गराएको निगमले तालिका बनाएर लगातार तीन दिनसम्म पेट्रोल बाँढ्ने तयारी गरेको हो । रसुवामा रहेका निगम प्रवक्ता दिपक बरालका अनुसार बढिमा १० दिन भित्र चीनले अनुदानमा दिएको पेट्रोल नेपाल आईसक्नेछ । मंगलबार थप १५ ट्यांकर पेट्रोल नेपाल प्रवेश गर्ने उनले जानकारी दिए । ती ट्यांकर बुधबार साँझसम्म थानकोट डिपोसम्म आईसक्नेछन् । यसरी चीनले उपहारस्वरुप दिएको पेट्रोल राजधानी भित्रिएकै दिन नेपाल आयल निगमले नीजि सवारी साधनलाई पेट्रोल दिने तालिका सार्वजनिक गर्यो । भारतबाट पेट्रोलियम पदार्थ आयातमा अवरोध भएसँगै सरकारले चीनसँग पेट्रोलियम पदार्थको कारोबार सम्झौता गरिसकेको छ । सोही सम्झौता गरेको खुसियालीमा चीनले नेपाललाई एक हजार मेट्रिक टन अर्थात १० लाख लिटर पेट्रोल उपहारस्वरुप दिने बताएको थियो । कसरी बाँढिदैछ उपहारको पेट्रोल ? नेपाल आयल निगमले बिहिबारदेखि एकदेखि ३० लटका मोटरसाईकल र एक देखि ५ लटसम्म दर्ता नम्बर भएका कारहरुलाई पेट्रोल उपलब्ध गराउनेछ । शुक्रबार ३१ देखि ५० लटसम्मका मोटरसाईकल तथा ६ देखि ९ लटसम्म दर्ता भएका कारलाई पेट्रोल उपलब्ध गराउनेछ । अन्तिम दिन अर्थात शनिबार भने ५० लट भन्दा माथिका मोटरसाईकल र ९ लटमाथिका कारलाई पेट्रोल उपलब्ध गराउनेछ ।
नाकाबन्दीको कारण ब्यापारघाटा १८ प्रतिशतले घट्यो
काठमाडौं, १७ कात्तिक । भारतको अघोषित नाकाबन्दी र तराइ–मधेशमा जारी आन्दोलनको कारण नेपालको ब्यापार घाटा कम भएको छ । चालु आर्थिक बर्षको भदौ महिनासम्ममा गत बर्षको सोही अवधिको तुलनामा ब्यापार घाटा कम भएको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांक अनुसार भदौ मसान्तसम्ममा कुल वस्तु व्यापार घाटा १७ दशमलब ८ प्रतिशतले कम भई ९१ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २४ दशमलब ९ प्रतिशतले बढेकोे थियो । कुल वस्तु व्यापार घाटामध्ये भारत र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः १९ दशमलब ६ प्रतिशत र २६ दशमलब ८ प्रतिशतले घटेको छ भने चीनसँगको व्यापार घाटा ६ दशमलब २ प्रतिशतले बढेको छ । पछिल्लो समयमा चीनवाट पेट्रोलियम पदार्थ पनि आयात गर्ने सम्झौता भएकोले चीनसँगको ब्यापार घाटा अझ बढ्ने देखिएको छ । भारतसँगको ब्यापार घाटामा पेट्रोलियम पदार्थको हिस्सा निकै ठूलो रहेको छ । अघिल्लो बर्षको सोही अवधिमा भारत, चीन र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः २२ दशमलब ९ प्रतिशत, ४१ दशमलब १ प्रतिशत र २२ दशमलब ४ प्रतिशतले बढेको थियो । आयात उच्च दरले घटेको कारण निर्यात–आयात अनुपात ११ दशमलब ८ प्रतिशत पुगेको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलब ४ प्रतिशत रहेको थियो । निर्यात १५ प्रतिशतले घट्यो कुल वस्तु निर्यात १५ दशमलब २ प्रतिशतले घटेर १२ अर्ब २४ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४ दशमलब ८ प्रतिशतले कमी आइ १४ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । भारत, चीन र अन्य मुलुकतर्फको निर्यात घटेको कारण समग्र निर्यातमा ह्रास आएको हो । कुल वस्तु निर्यातमध्ये भारततर्पmको निर्यात अघिल्लो वर्षको सोही अवधिमा ७ दशमलब ६ प्रतिशतले घटेकोमा यो अवधिमा २२ दशमलब ८ प्रतिशतले घटेको छ । जिङ्क शिट, जुस, पोलिष्टर धागो, लत्ताकपडा लगायतका वस्तुहरुको निर्यातमा आएको ह्रासका कारण भारततर्फको निर्यात घट्न गएको हो । चीनतर्फको निर्यात अघिल्लो वर्षको सोही अवधिमा १५ दशमलब ३ प्रतिशतले घटेकोमा यो अवधिमा १२ दशमलब ३ प्रतिशतले घटेको छ । प्रशोधित छाला, तयारी पोशाक, रुद्राक्ष, अगरवत्ति लगायतका वस्तुहरुको निर्यातमा आएको ह्रासका कारण समीक्षा अवधिमा चीनतर्फको निर्यात घटेको हो । अन्य मुलुकतर्पmको निर्यात अघिल्लो वर्षको सोही अवधिमा शुन्य दशमलब ५ प्रतिशतले बढेकोमा यो अवधिमा ३ प्रतिशतले घटेको छ । विशेषतः दाल, प्रशोधित छाला, चिया, हस्तकलाका सामान लगायतका वस्तुहरुको निर्यात घटेको कारण अन्य मुलुकतर्फको निर्यात घटेको हो । आयात साढे १७ प्रतिशतले घट्यो कुल वस्तु आयात १७ दशमलब ५ प्रतिशतले घटेर १ खर्ब ३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २० दशमलब ५ प्रतिशतले वृद्धि भई १ खर्ब २६ अर्ब २ करोड रुपैयाँ पुगेको थियो । तराई मधेशमा जारी आन्दोलनले आपूर्ति व्यवस्थामा समस्या उत्पन्न भएको कारण नेपालमा आयात हुने पेट्रोलियम पदार्थ लगायतका वस्तुहरुको आयात घटेकोले समीक्षा अवधिमा समग्र आयातको वृद्धिदर कम रहन गएको हो । कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिमा १८ दशमलब ७ प्रतिशतले बढेको तुलनामा यो अवधिमा १९ दशमलब ९ प्रतिशतले घटेको छ । भारतबाट मुख्यतया रासायनिक मल, एम.एस.वायर रड, कोल्ड रोल्ड शिट इन क्वायल, हट रोल्ड शिट इन क्वायल लगायतका वस्तुहरुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, एम.एस.विलेट, सिमेन्ट, औषधि लगायतका वस्तुहरुको आयातमा कमी आएको छ । चीनबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिमा ३९ दशमलब ८ प्रतिशतले बढेको तुलनामा यो अवधिमा ५ दशमलब ९ प्रतिशतले बढेको छ । मुख्यतयाः तयारी पोशाक, जुत्ता÷चप्पल, दुर सञ्चारका उपकरण तथा पार्टपूर्जा यातायातका उपकरण तथा पार्टपूर्जा लगायतका वस्तुहरुको आयात बढेको कारण चीनबाट भएको आयात बढेको हो । अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिमा १७ दशमलब ७ प्रतिशतले बढेकोमा यो अवधिमा २२ दशमलब ४ प्रतिशतले घटेको छ । विशेषगरी चाँदी, रासायनिक मल, हवाइजहाजका पार्टपुर्जा कपर वायर रड लगायतका वस्तुहरुकोे आयात घटेको कारण यो अवधिमा अन्य मुलुकबाट भएको आयात घटेको हो ।