अब व्यक्तिगत घरायसी लिखत कागज पनि अभिलेखालयमा राखिने
काठमाडौं। राष्ट्रिय अभिलेखालयले राष्ट्रिय महत्वका व्यक्तिगत वा संघ संस्थाका घरायसी लिखत कागज पनि संकलन गर्ने तयारी थालेको छ । अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गले पुराना घरायसी लिखित कागजातले राष्ट्रिय महत्व दर्शाउने भएकाले त्यस्ता कागजलाई संकलन गरी संरक्षण गर्नको लागि तयारी गरिएको बताए । जिल्ला–जिल्लामा टोली खटाई अभिलेखालयले त्यस्ता कागज संकलन गर्नेछ । उनका अनुसार लालमोहर लागेका पत्र, पञ्जा छाप र राज्यले कुनै व्यक्तिलाई जग्गा दिँदा गरेको कागजजस्ता पुराना व्यक्तिगत हस्तलिखित कागजातलाई अभिलेखालयले संकलन गरी संरक्षण गरिने छ । ‘‘कुनै व्यक्तिले अभिलेखालयमा आएर आफैँ संरक्षण गर्नुहोस् भनेर पनि दिन सक्दछन्’’ उनले भने–‘‘त्यसका अलावा हामी आफैँ जिल्ला–जिल्लामा टोली खटिई संकलन गर्ने छौँ ।’’ उनले त्यस्ता व्यक्तिगत लिखितलाई किनेर भए पनि ल्याइने बताए । यस्तै अभिलेखालयले व्यक्तिले राखेको धार्मिक ग्रन्थलाई पनि संकलन गर्ने भएको छ । टोलीमा जिल्लामा गई व्यक्तिसँग भएका पुराना धार्मिक ग्रन्थलाई पनि संकलन गर्ने तयारीसमेत गरेको छ । व्यक्तिको घरमा रहँदा ती धार्मिक ग्रन्थको संरक्षण नहुने भएकाले उनीहरुको मञ्जुरीमा अभिलेखालयमा ल्याई संरक्षण गरिने छ । अभिलेखालयमा राजा गीवार्णयुद्धविक्रम शाहदेवका पालादेखिका करिब ३० हजार हस्तलिखित पुराना ग्रन्थ रहेका छन् । कुनै पनि लिखित कागज २५ वर्ष पूरा भएपछि अभिलेखका रुपमा त्यस्त कागजलाई लिने गरिन्छ । रासस
ओम डेभलपमेन्ट बैंकलाई ३० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ओम डेभलपमेन्ट बैंकलाई ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई साउन ३२ गते सो मात्राको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई ४९ करोड ३१ लाख रुपैयाँ बराबरको ४९ लाख ३१ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा एनआइबिएल क्यापिटल मार्केट रहेको छ ।
२५ वटा बाणिज्य बैंकको नाफा ४३ अर्ब नाघ्यो, कुन बैंकको कति ? (सूचीसहित)
काठमाडौं । २५ वटा बाणिज्य बैंकहरुले ४३ अर्ब नाफा कमाएका छन् । हालसम्म गत आर्थिक बर्ष २०७३/७४ चौथो त्रैमासिक अवधीको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका २५ वटा बाणिज्य बैंकहरुले ४३ अर्ब १५ करोड १० लाख ३ हजार नाफा कमाएका हुन् । अघिल्लो आवको सोही अवधीका तुलनामा तिनै बाणिज्य बैंकहरुको नाफा २ अर्ब ९५ करोड अर्थात करिब ७ दशमलब ३३ प्रतिशतले बढेको देखिन्छ । आर्थिक बर्ष २०७२/७३ को चौथो त्रैमासिक अवधीको वित्तिय विवरणमा यी बैंकहरुको कुल नाफा ४० अर्ब २० करोड ८ लाख ४८ हजार मात्रै नाफा कमाउन सफल भएको देखिन्छ । गत आर्थिक बर्षमा सबै भन्दा धेरै नाफा कमाउने बैंकका रुपमा नविल बैंक दर्ज भएको छ । नविल बैंकले ३ अर्ब ६२ करोड नाफा कमाएको छ । दोश्रो स्थानमा रहेको नेपाल बैंकले ३ अर्ब २१ करोड नाफा कमाएको छ भने तेश्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब १६ करोड नाफा कमाएको छ । जनता बैंक, मेगा बैंक र कुमारी बैंक भने थोरै नाफा कमाउने बैंकमा परेका छन् । जनता बैंकले ६४ करोड नाफा कमाएको छ भने मेगा बैंकले ७९ करोड आर्जन गर्दा कुमारी बैंकले ७० करोड नाफा आर्जन गरेको देखिन्छ । हालसम्म सिभिल बैंक, एनसीसी बैंक र सेञ्चुरी बैंकले भने वित्तिय विवरण बुझाएका छैनन् ।
यूनियन हाइड्रोले आइपीओ निष्काशन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड
काठमाडौं । यूनियन हाइड्रोपावरले स्थानिय सर्वसाधरणको लागि ६ करोड ३३ लाख रुपैयाँको आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ६ लाख ३३ हजार कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । हाइड्रोले साउन २९ गते धितोपत्र बोर्डमा निवेदन दिएर सो मात्राको आइपीओ निष्काशन गर्ने अनुमति मागेको हो । कम्पनीले लक्ष्मी क्यापिटल मार्फत आइपीओ निष्काशन गर्ने भएको छ ।
फ्लोरिकल्चरको ७ दिने कटफ्लावर पसल व्यवस्थापन तालिम सुरु
काठमाडौं । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा एडभान्स लेभलको कटफ्लावर रिटेल सप म्यानेजमेन्ट तालिम राजधानीमा सुरु भएको छ । नेदरल्याण्डका पम एक्सपर्ट व्बल प्भब ले प्रशिक्षण दिने ७ दिने तालिममा कार सजावट, फूलको गुच्छा, टेबल सजावट, पसल सजावट, पार्टी प्यालेस सजावट, पसलमा प्लान्ट र पुष्प सजावट गर्ने तरिकाहरु सिकाइने छ । तालिमकै अवधीमा खुद्रा पसलको अबलोकन, कट फ्लावर लामो समय टिकाउ बनाउने तरिका, बिभिन्न कार्यक्रमहरुमा गरिने पुष्प सजावटको तरिकाहरु पनि सिकाइने फ्लोरिकल्चर एशोसिएशन तालिम संयोजक बिश्वमणि पोखरेलले जानकारी दिए । कट फ्लावर सप एरेन्जमेन्ट तालिमका प्रमुख अतिथी नेपाल सरकार कृषि बिकास मन्त्रालयका सहसचिब शुरेश बाबु तिवारीले उत्पादनको अन्तिम ढोका खुद्रा पसल भएकोले खुद्रा पसलको ब्यबस्थापन तालिम सबै व्यवशायीका लागि महत्वपूर्ण हुने बताए । फ्लोरिकल्चर एशोसिएशन नेपाल २५ बर्षमा लागेको र अब युवा भइसकेको बताउँदै फ्यान अध्यक्ष कुमार कसजु श्रेष्ठले फ्लोरिकल्चर उद्योगको बिकास र बिस्तारका लागि सरकार र नीजी क्षेत्र सँगै अगाडी बढ्नुपर्ने बिचार ब्यक्त गरे । देश नै प्रादेशिक संरचनामा गइसकेको अबस्थामा फ्लोरिकल्चर क्षेत्रका बिबिध गतिबिधीहरु, तालिमर मेला पनि प्रादेशिक संरचनामा गर्नुपर्ने अबस्था आइसकेको फ्लोरिकल्चर एशोसिएशन नेपालका बरिष्ठ उपाध्यक्ष दिलिप बादेले बताए । नेपालमा संख्यात्मक रुपमा कट फ्लावर सपहरु खुलेपनि गुणात्मक बन्न नसकेका खुद्रा पसलहरुलाई यो तालिमले फाइदा पुग्ने बिश्वास फ्यानले गरेको अध्यक्ष कसजुले बताए । कार्यक्रममा नेपाल सरकार कृषि बिकास मन्त्रालयका उपसचिब शिरिष पुन, पुष्प बिकास केन्द्रका प्रमुख द्रोण राज काफ्ले, जिल्ला कृषि बिकास कार्यालय काठमाडौंका प्रमुख यम कुमारी श्रेष्ठ, तालिमका मुख्य प्रशिक्षक नेदरल्याण्डका पम एक्सपर्ट व्बल प्भब लगायत फ्यानका पूर्व अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
पुनः सर्वेक्षणका लागि १४ जिल्लामा खटिए इञ्जिनियर, कुन कुनमा खटिए?
काठमाडौं । भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः सर्वेक्षणका लागि ३३२ इन्जिनियरले काम शुरु गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार अति प्रभावित १४ जिल्लामा खटिने इन्जिनियरलाई तीन समूह बनाएर राजधानीमा तीन दिनको प्रशिक्षण दिइएको थियो । यसअघि दुई समूह प्रभावित जिल्लामा परिचालन भएर काम शुरु गरिसकेको र तेस्रो समूह आजदेखि काठमाडौँ, भक्तपुर, ललितपुर र सिन्धुलीमा परिचालित भएको हो । इन्जिनियरले प्राधिकरण केन्द्रमा दर्ता भएका करिब एक लाख २८ हजार वटा गुनासा पुनः सर्वेक्षण गर्ने छन् । गुनासा फस्र्योट भएर लाभग्राही तथा प्रवलीकरणको सूचीमा परेका घरधुरीको भने पुनः सर्वेक्षण हुने छैन । प्राधिकरणको केन्द्रीय कार्यालयमा दर्ता भएका दुई लाख सात हजार ८६१ गुनासामध्ये ३९ हजार ९७ लाभग्राही सूचीमा परेका छन् भने १३ हजार ५६५ प्रवलीकरण सूचीमा परेको प्रवक्ता यमलाल भुसालले जानकारी दिए । जिपिएस प्रविधिमा आधारित भएर ट्याब्लेटमार्फत गरिने पुनः सर्वेक्षणमा इञ्जिनियरले संकलन गरेका तथ्यांक सिधै केन्द्रीय सर्भरमा जम्मा हुनेछन् । पुनः सर्वेक्षणका लागि दोलखामा २७, गोरखामा २८, नुवाकोटमा १६, रामेछापमा २४, रसुवामा चार, धादिङमा २९, सिन्धुपाल्चोकमा १२, काभ्रेपलाञ्चोकमा ४१, ओखलढुंगामा १६, सिन्धुलीमा ६०, मकवानपुरमा ४८, काठमाडौँमा ११, ललितपुरमा आठ र भक्तपुरमा सातजना इन्जिनियर खटाइएको प्राधिकरणले जनाएको छ । पुनः सर्वेक्षण भदौ ३१ सम्म सक्ने प्राधिकरणको लक्ष्य छ । गुनासो दर्ता गराएका भूकम्प प्रभावितलाई आफ्नो क्षेत्रमा खटिएका इन्जिनियरबाट आफ्नो भत्केको घरको पुनः सर्वेक्षण गराई अनुदान पाउने प्रक्रियाबाट विमुख नहुन प्राधिकरणले अनुरोध गरेको छ । गुनासो दर्ता नगराएकाले भने स्थानीय वडा तहमा गुनासो दर्ता गराउन सक्ने छन् । पीडितको गुनासोलाई वडा गुनासो व्यवस्थापन समितिले सिफारिस गरी इञ्जिनियरलाई दिएमा तत्काल सर्वेक्षण गर्न प्राधिकरणले निर्देशन दिएको छ । सिन्धुली, मकवानपुर, काभ्रेपलान्चोक, दोलखामा सर्वेक्षण गर्नु पर्ने संख्या बढी छ भने रसुवा, ललितपुर, भक्तपुरमा कम छ । प्राधिकरणले गुनासो संख्याको अनुपातमा इञ्जिनियर परिचालन गरेको जनाएको छ । १४ जिल्लाका दुई लाख सात हजार ५०० ले केन्द्रीय कार्यालयमा गुनासो दर्ता गराएका थिए । सर्वेक्षण भएका घरधुरीको असोज मसान्तसम्ममा फर्छयौट गरी लाभग्राही पर्ने नपर्ने छनौट गरिसक्ने प्राधिकरणको लक्ष्य छ । प्राधिकरणले भूकम्प अति प्रभावित क्षेत्रका वासिन्दा, स्थानीय तहका जनप्रतिनिधि, राजनैतिक दल र अन्य सम्बद्ध सबैमा पुनःसर्वेक्षणलाई सफल पार्न सहयोग पुर्याउन आह्वान गरेको छ । यस सम्बन्धी थप जानकारीका लागि पीडितले प्राधिकरणको टोल फ्रि नम्वर १६६००१७२००० वा मोबाइल नं ९८०१५७२१११ मा सम्पर्क गर्न सक्ने छन् । रासस
बाढी पहिरोपीडितलाई राहत पुर्याउन सरकार केन्द्रित छः प्रधानमन्त्री देउवा
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले १५ लाख १ हजार १११ रुपैयाँ प्रदान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई महासङ्घका अध्यक्ष अर्जुन रानाभाटले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गरी सो रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले बाढी पहिरोपीडितलाई छिटोभन्दा छिटो राहत पुर्याउन सरकारले प्राथमिकताका साथ आफ्ना संयन्त्र परिचालन गरिरहेको बताउँदै यस कार्यलाई सहयोग पुर्याउन आह्वान गरेका छन् । सो अवसरमा महासङ्घका अध्यक्ष रानाभाटले बाढी पहिरोपीडितलाई खाद्यान्न लगायतका सहयोग जारी राख्ने बताएका महासङ्घले जनाएको छ । रासस
नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान, अध्ययन रिपोर्ट कृषि व्यवसायका लागि पनि उपयोगी
काठमाडौं । नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौं आएको रुसी विमान स्वदेश फर्किएको छ । एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौँ आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो । रुसी महासंघले पठाएको उक्त विमानसँगै अमेरिका, बेलायत, इटाली, स्वीट्जरल्याण्ड, जर्मनीलगायत देशबाट करिब २५० वैज्ञानिक टोली मौसम अध्ययन गर्न आएका थिए । उक्त वैज्ञानिकको टोलीले नेपाल विज्ञान प्रज्ञा प्रतिष्ठान (नास्ट) को समन्वय तथा नेपालका लागि जर्मन राजदूतावासको सहकार्यमा मौसमी अध्ययन गरेको थियो । युरोपली संघको लगानी रहेको यो आयोजनाको कूल लागत करिब रु एक अर्ब ४५ करोड २० लाख (१२ मिलियन यूरो) रहेको बताइएको छ । यस किसिमको अध्ययन नेपालको नागरिक उड्डयन र कृषि व्यवसायका लागि उपयोगी हुने विज्ञ बताउँछन् । नास्टका उपकूलपति प्रा डा जीवराज पोखरेलले उचाइमा जलवायुको प्रकृति कस्तो हुन्छ भनी अध्ययन गरी तथ्य पत्ता लगाउने र त्यसको आधारमा आउँदा दिनमा विपद् व्यवस्थापनमा प्रयोग गरिने बताए । उनले अध्ययनको विस्तृत विवरण आइसकेपछि सरकारले के गर्न सक्छ भनेर भावी रणनीति तय गर्न उपयोगी हुने बताए । नाष्टले यो परियोजनाको लागि केही समयअघि समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । करिब ७० हजार फिट उचाइसम्म उड्ने सो विमान नेपालको मौसमबारे विस्तृत अध्ययन गर्न पहिलोपटक नेपाल आएको थियो । जर्मनीबाट आएको ‘एम–५५ जिओफिजिका’ नामको यो विमानको ‘ग्राउण्ड ह्यान्डलिङ’ निजी वायुसेवा कम्पनी बुद्ध एयरले गरेको थियो । विमानले नेपालको हिमाली तथा दक्षिण तराई भेगको अध्ययन गरेको थियो । झण्डै एक वर्षभित्र मात्र अध्ययनको विस्तृत विवरण आउने छ । एकजना विमान चालक (पाइलट) मात्र बस्न मिल्ने विमानमा अत्याधुनिक मौसमी उपकरण जडित थिए । विमानस्थलबाट दैनिक चार घण्टाको आठवटा उडान भएको थियो । अध्ययनमा संलग्न वैज्ञानिक समूहका संयोजक जर्मनी नागरिक प्रोफेसर मार्कस रिक्सले प्राकृतिक र भौगोलिक अनुकूलताले अध्ययन गर्न सहज भएको र यो अध्ययनबाट आफूहरु निकै उत्साहित भएको बताए । नेपालको उच्च भेगमा मनसुनी अवस्था र यसको विकसित प्रक्रियाबारे अध्ययन गरी सतर्कताका उपायबारे रणनीति बनाउन सहज हुने उहाँको भनाइ छ । यो अध्ययनमा प्राध्यापक रिक्स, थोमस पिटर, फ्रिड स्ट्रोचलगायतका वैज्ञानिकको नेतृत्व खटिएको थियो । स्वचालित उपकरण जडित यो विमानले ७० हजार फिटको उचाइमा गएर उडान भरी स्वचालित विवरण रेकर्ड गरेर फर्केपछि अध्ययनमा संलग्न वैज्ञानिकले उपकरणको व्यवस्थापन गर्ने गरेका थिए । रुसको जहाज निर्माता कम्पनी मायसिस्चेभले उत्पादन गरेको यस्तो जहाजले सन् १९८८ मा पहिलो उडान गरेको थियो । सुरुमा यो जहाज रुसी सरकारी वायुसेवा कम्पनी एरोफ्टले सञ्चालन गरेको थियो । यस्तो जहाजले २१ हजार ३६० मिटर ९७० हजार ८० फिट० उचाइसम्म उडान गरेको रेकर्ड छ । यो जहाजको लम्बाइ २२ मिटर र चौडाइ (एक पखेटाबाट अर्को पखेटासम्म)३७ मिटर छ । यसको उचाइ भने करिब पाँच मिटर छ । खाली अवस्थामा जहाजको तौल १३ हजार ९९५ किलो हुन्छ । अधिकतम १० हजार किलो तौल बोकेर उड्न सक्छ । यस्तो विमान विश्वमा दुईवटा अमेरिकामा एक र रुसमा एक रहेको छ । यो विमान विश्वयुद्धताका प्रयोग गरिएको बताइन्छ । युरोपेली संघको आर्थिक सहयोगमा जर्मनीको ‘अल्फ्रेड वेग्नर इन्स्टिच्युट’ ले यो जहाजलाई काठमाडौँं ल्याएको हो । यही संस्थाले सञ्चालन गरेको मौसमसम्बन्धी अभियान ‘स्ट्राटोक्लिल क्याम्पेन’ पूरा गर्न जहाज नेपाल आएको थियो । यो जहाजले नेपाली आकासमा ७० हजार फिटसम्मको उचाइमा गएर मौसमसम्बन्धी विस्तृतमा अध्ययन गरी तथ्यांक संकलन गरेको थियो । संकलित तथ्यांकलाई वैज्ञानिकले थप अध्ययन गरी अन्तिम विवरण पठाउने छन् । यहाँस्थित युरोपेली संघका वरिष्ठ कार्यक्रम प्रबन्धक रञ्जनप्रकाश श्रेष्ठका अनुसार यो आयोजनामा साझेदार गर्ने ११ देश क्रमशः जर्मनी, फ्रान्स, नेदरल्याण्ड, इङल्याण्ड, नर्वे, स्वीटजरल्याण्ड, डेनमार्क, स्पेन, इटाली, हंगेरी र रुसी महासंघ छन् । युरोपेली संघको ‘सेभेन रिसर्च फ्रेमवर्क प्रोग्राम’ (एफपी–७ ) अन्तर्गतको परियोजना सन् २०१३ मा सुरु भएको थियो । यसको कूल बजेट ५० विलियन युरो रहेको बताइएको छ । इयुमा ‘होराइजन २०२०’ जस्ता थुप्रै अवसर रहेको र अनुसन्धानका लागि नेपाली वैज्ञानिकले लाभ लिनसक्ने प्रबन्धक श्रेष्ठको भनाइ छ । जर्मनी वैज्ञानिकको संलग्नतामा भएको अध्ययन नेपाली वैज्ञानिकका लागि ठूलो अवसर भएको र यसलाई व्यावहारिक प्रयोग गर्नसकेको खण्डमा फाइदा पुग्ने नास्टको भनाइ छ । रासस