विकासन्युज

बाढीपीडितलाई सिटिजन्स बैंकको एघार लाख रुपैयाँको आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशको विभिन्न भागमा हालै गएको बाढीका पीडितहरुलाई एघार लाख रुपैयाँको आर्थिक सहयोग गरेकाे छ । बैंकले पीडितहरु सहयोग गर्ने उद्देश्यले साे रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको छ । यस अघि पनि बैंकले महाभूकम्पका पीडितहरुलाई आर्थिक सहयोग स्वरुप एक करोड रुपैयाँ सो कोषमा प्रदान गरेको थियो । यस बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम संकलन गर्ने प्रयोजनका लागि यस बैंकमा ००१०००२५६२सीए खाता खोली सकेको हुदां बैंकका कर्मचारीहरु, सम्पूर्ण स्वदेशी तथा विदेशी व्यक्ति, संघ संस्था, व्यवसायिक र्फम, एजेन्सी समेतलाई आफ्नो स्वेच्छाले उक्त खातामा रकम जम्मा गरि आर्थिक सहयोग गर्न आग्रह गरेको छ । यस विपत घडिमा आफ्नो आफन्त गुमाएका पीडितहरु प्रति बैंकले समवेदना प्रकट गरेको छ । साथै बैंकले यस्ता सहयोगी कार्यहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने अठोट व्यक्त गरेको छ ।

पशुपति पेन्ट्सकाे ‘महापर्वको रङ्गोत्सव रिटर्न्स’ योजना, भाद्र १ गतेदेखि लागु हुने

काठमाडौं । पशुपति पेन्ट्सले ‘महा पर्वको रङ्गोत्सव रिटर्न्स’ योजनाको घोषणा गरेको छ । कम्पनीले नजिकिँदै गरेको महान् पर्व दशैँ र तिहार लक्षित गर्दै ‘महा पर्वको रङ्गोत्सव रिटर्न्स’ योजनाको घोषणा गरेको हो । उक्त योजना भाद्र १ देखि कार्तिक ३० गते सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ । ‘महा पर्वको रङ्गोत्सव रिटर्न्स’ योजनामा सहभागी हुन उपभोक्ताले कम्तिमा ५० हजार रुपैयाँ बराबरको पशुपति पेन्ट्सका उत्पादन खरिद गर्नुपर्ने हुन्छ । कम्पनीका अनुसार योजनामा सहभागी उपभोक्तालाई एक थान लक्कि ड्र कुपन उपलब्ध गराइन्छ । यसरी संकलित लक्कि ड्र कुपनहरु मध्यबाट गोलाप्रथाद्वारा विजेता छनोट गरि तिनलाई विभिन्न उपहारको ब्यवस्था समेत रहेको कम्पनीले जानकारी दिएको छ । लक्कि ड्र कुपन मार्फत भाग्यशाली विजेता एक जनाले बम्पर पुरस्कार स्वरुप बजाज पल्सर एनएस २०० जित्न सक्नेछन् । त्यसैगरी योजनाको प्रथम पुरस्कारका रुपमा १ थान सुजुकी लेट्स स्कुटर १ जनालाई, दोस्रो पुरस्कारका रुपमा स्मार्टफोन ४ जनालाई, तेस्रो पुरस्कारका रपमा आइप्याड ४ जनालाई, चौथौँ पुरस्कारका रुपमा आई थ्री ल्यापटप ४ जनालाई, पाँचौँ पुरस्कारका रुपमा ट्याब्लेट ४ जनालाई, छैठौँ पुरस्कारका रुपमा ५ ग्राम सुन ८ जनालाई र सातौँ पुरस्कारका रुपमा १ सय ग्राम चाँदी १६ जनालाई ब्यवस्था गरिएको छ ।

ग्लोबल आइएमई बैंकद्धारा बाढी पहिरो पीडितलाई तत्काल ६५ लाख रुपैयाँ सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले तराई लगायत मुलुकका विभिन्न भागमा आएको बाढी पहिरो पीडितलाई तत्काल राहत पुर्याउनका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले उक्त रकमको चेक प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष हस्तान्तरण गरेका हुन् । कुल रकममध्ये बैंकले आफ्नो तर्फबाट ५१ लाख रुपैयाँ तथा बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलब बराबर हुन आउने १४ लाख रुपैयाँ गरि कुल ६५ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा प्रदान गरिएको हो । उक्त कार्यक्रममा ग्लोबल आइएमर्ई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायतको उपस्थिति रहेको थियो । अध्यक्ष ढकालले विगतमा पनि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मुलुकमा विभिन्न समयमा आइपरेका प्राकृतिक प्रकोपमा सहयोग प्रदान गरेको स्मरण गराएका छन् । साथै, उनले सोही अनुरुप अहिले पनि मुलुकमा आइपरेको विपत्तिको सामनागर्न सरकारलाई सहयोग गरेको जानकारी दिए । उनले भविष्यमा पनि देशमा आइपरेका यस्ता विभिन्न विपत्तिहरुबाट पीडितहरुको सहयोगार्थ बैंक सधैं तत्पर रहिरहने प्रतिबद्धता जाहेर गरेका छन् । साथै, बाढी पहिरो पिडित व्यक्तिहरुका लागि आर्थिक सहयोग उपलब्ध गराउन चाहने महानुभावहरुले “प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष, सिंहदरबार” को नाममा यस ग्लोबल आइएमई बैंकको ज्ञानेश्वर शाखामा खोलिएको खाता नम्बर “०४११०१००००००५”मा बैकका सम्पूर्ण शाखाहरुबाट रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको जनाएका छन् ।

राष्ट्र बैंकले आइतबार बजारबाट १० अर्ब उठाउँदै

काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले बजारबाट १० उठाउने भएको छ । आउदो ३० दिनका लागि राष्ट्र बैंकले निक्षेप संकलन गर्न लागेको हो । बोलकबोलको माध्यमबाट ब्याज दर निर्धारण हुने छ । साँवा तथा ब्याज भुक्तानी असोज ३ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

साउनमा ५ प्रतिशत बजेट खर्च, पुँजीगत खर्चको अवस्था निराशाजनक

काठमाडौं । चालु आर्थिक वर्ष ०७४/०७५ को साउनमा कुल बजेटको ५.३ प्रतिशत मात्र खर्च भएको छ । गत साउनमा ६८ अर्ब १ करोड ३५ लाख रुपैयाँ बजेट खर्च गरेको छ । चालु आवका लागि सरकारले १२ खर्ब ७९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यसमध्ये चालुतर्फ सबैभन्दा बढी ६७ अर्ब ६६ करोड २० लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यलयले जनाएको  छ। यो चालु बजेटको ८.४ प्रतिशत हो । चालु आवमा सरकारले ८ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ चालु खर्चका लागि बजेट विनियोजन गरेको छ । यस्तै पुँजीगत खर्चको अवस्था निराशाजनक देखिएको छ । कुल विनियोजन गरिएको बजेटको ०.१ प्रतिशत मात्र खर्च भएको महालेखाले जानकारी दिएको छ । चालु आवमा पुँजीगततर्फ ३ अर्ब ३५ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा साउनमा ३५ करोड १४ लाख रुपैयाँ मात्र खर्च भएको छ । वित्तीय व्यवस्थापनमा बजेट खर्च नभएको महालेखाले जनाएको छ । ऋणको साँवा ब्याज फिर्ता तर्फ १ खर्ब ४० अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको छ । अर्थ मन्त्रालयले आउदो कात्तिक मसान्तसम्म कुल विनियोजित बजेटको २९.४४ प्रतिशत खर्च गर्नुपर्ने कार्ययोजना तयार पारेको छ । आउदो कार्तिकसम्म सरकारी निकायले ३ खर्ब ७६ अर्ब ४९ करोड ३७ लाख ५३ हजार रुपैयाँ खर्च गर्नुपर्ने छ । हालको खर्चको अवस्था हेर्दा यो लक्ष्यमा पुग्न कठिन छ । मंसिरदेखि फागुनसम्म दोस्रो चौमासमा कुल बजेटको ३७.८० प्रतिशत अर्थात ४ खर्ब ८३ अर्ब ४९ करोड ६३ लाख रुपैयाँ खर्च गर्नुपर्ने छ । दोस्रो चौमासमा सबैभन्दा बढी बजेट खर्च गर्नुपर्ने छ । तेस्रो चौमासमा कुल बजेटको ३२.७६ प्रतिशत ४ खर्ब १९ अर्ब ४७ लाख ९५ हजार रुपैयाँ खर्च गर्नुपर्ने कार्ययोजना तयार पारिएको छ । पहिलो चौमासका लागि साउन १ गते, दोस्रो चौमासमा मंसिर १ र तेस्रो चौमासमा चैत १ गते कोष तथा लेखा नियन्त्रकको कार्यलयले सिधै बजेट निकासा गर्ने व्यवस्था गरिएको छ । कोष तथा लेखाले साउन १ गते नै ७५ अर्ब रुपैयाँ बजेट निकासा गरेको छ । यस्तै अर्थले बजेट कार्यन्वयन तालिका बनाएको छ । जसअनुसार साउन १, मंसिर १ र चैत १ मा स्थानिय संंचित कोषमा रकम हस्तान्तरण हुने, साउन ३० गते कार्याक्रम सहित बजेट हस्तान्तरण, भैरपरि आउने चालु र पुँजीगतको बाँटफाँट फागुन मसान्तसम्म, आयोजनाको खरिद योजना, विस्तृत डिजाइन, लागत आब्हान र बोलपत्र साउनभित्र सम्पन्न गर्नुपर्ने र असोज मसान्तसम्म बोलपत्र मूल्याँकन गरी ठेक्का सम्झौता गर्ने व्यवस्था गरिएको पुडासैनीले बताए । अर्थले गत जेठ १६ गते बजेट कार्यान्वयनको ४५ बुँदे मार्गदर्शन पठाएको थियो । राजश्व संकल ६.४ प्रतिशत सरकारले गत साउनमा लक्ष्यको ६ प्रतिशत राजश्व संकलन गरेको छ । एक महिनामा सरकारले ४६ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ राजश्व संकलन गरेको महालेखाले जानकारी दिएको छ । चालु आवमा सरकरले ७ खर्ब ३० अर्ब रुपैयाँ राजश्व संकलन लक्ष्य लिएको छ । गत आवमा लक्ष्य भन्दा ८ प्रतिशत बढी राजश्व संकलन भएको थियो । यो वर्ष पनि साढे ७ अर्ब बढी राजश्व संकलन हुने अर्थ मन्त्रालका अधिकारी बताउछन् । राजश्व संकलनको तुलनमा खर्च बढी भएपछि साउनमा २१ अर्ब २९ करोड ७५ लाख रुपैयाँ बजेट कम देखिएको छ ।    

८२८ मेगावाटको उत्तरगंगा जलासययुक्त आयोजना अघि बढाउदै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ८२८ मेगावाट क्षमताको उत्तरगंगा जलासययुक्त आयोजना अघि बढाएको छ । प्राधिकरणले आयोजना अघि बढाउन उत्तरगंगा पावर कम्पनी स्थापना गरेको छ । कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्याँकन (एआईए) को प्रतिवेदन तयारीमा जुटेको छ । वाग्लुङ जिल्ला अन्र्तगत ढोरपाटन नगरपालिका र निसिखोला गाउँपालिका र रुकुम जिल्लाको पुथा उत्तरगंगामा आयोजना पर्छ । आयोजनाले २ सय मिटर अग्लो बाँध निर्माण गरेर झण्डै १० किलोमिटर सुरुङबाट पानी प्रवाह गरेर ८२८ मेगावाट बिजुली निकाल्ने तयारी छ । आयोजनाको जडित क्षमता बढाएर १ हजार मेगावाटसम्म पु¥याउन सकिने प्रारम्भीक अध्ययनले देखाएको छ । यसअघि ३ सय मेगावाटमा आयोजनाको काम अघि बढाउने तयारी भएको थियो । सरकारले अघि बढाउन लागेको १० जलासययुक्त आयोजना मध्ये उत्तरगंगा पनि एक हो । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारपछि मात्र आयोजनाको यकिन लागत तय हुने छ ।

एभरेष्ट बैंकको नाफा १ अर्ब ९८ करोड

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष ०७३/०७४ मा खुदनाफा २५ करोड रुपैयाँ बढाएको छ । गत असारसम्म बैंकले १ अर्ब ९८ करोड १६ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ७३ करोड रुपैयाँ मात्र खुदनाफा गरेको थियो । बैंकले शुक्रबार गत आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरी नाफा, निक्षेप परिचालन र कर्जा लगानीमा सामान्य विस्तार भएको जानकारी दिएको छ । गत आवमा बैंकले ९५ अर्ब ९ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । अघिल्लो आवको सोही अवधिमा उसको निक्षेप ९३ अर्ब ७३ करोड ५४ लाख रुपैयाँ थियो । गत आवमा २ अर्ब रुपैयाँ भन्दा कम निक्षेप बढाएको छ । यस्तै समीक्षा अवधिमा बैंकले ७८ अर्ब २८ करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा उसको कर्जा लगानी ६८ अर्ब ९१ करोड १५ लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा बैंकले करिव १० अर्ब रुपैयाँ कर्जा लगानी बढाएको जानकारी दिएको छ । बैंकको खराब कर्जा अनुपात बढेर ०.५१ प्रतिशत पुगेको छ । अघिल्लो आवमा यस्तो कर्जा ०.३८ प्रतिशत मात्र थियो । बैंकको निक्षेप लागत ४.८, स्प्रेड ४.४ र सीडी रेसियो ७६.९४ प्रतिशत रहेको बैंकले वित्तीय विवरणमा उल्लेख गरेको छ । यस्तै प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा छ । बैंकको चुक्तापुँजी ५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । संचित कोषमा ५ अर्ब ८८ करोड रुपैयाँ छ ।    

नेशनल इन्स्योरेन्सको नाफा १० करोड ७८ लाख

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७३/०७४ मा १० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत असारसम्म कम्पनीले ७६ करोड ३४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ७३ करोड ७७ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ६० करोड ९७ लाख रुपैयाँ दावी भुक्तान गरेको जानकारी दिएको छ । कम्पनीले शुक्रबार गत आवको वित्तीय विवरण सार्वजनिक गर्दे २९ हजार ३३३ बिमालेख जारी गरेको जानकारी गराएको छ । कम्पनीले अझै ८० करोड ११ लाख रुपैयाँ दावी भुत्तान गर्न बाँकी रहेको जानकारी दिएको छ । कम्पनीको चुक्तापुँजी ५५ करोड ५० लाख रुपैयाँ छ ।