विकासन्युज

मर्जपछि ७५ कराेडकाे बाेनस र १२५ कराेडकाे हकप्रद सेयर दिन सकिन्छ-किशोर महर्जन

सिभिल बैंक सबैभन्दा कान्छो बैंक हो । स्वभाविक रुपमा कान्छो बैंकलाई बजारमा प्रतिस्पर्धा गर्न कठिन हुन्छ । त्यसमाथि २ वर्षमा ४ गुणा पुँजी वृद्धि गर्नु पर्ने केन्द्रीय बैंकको नीतिले नयाँ चुनौति थपिदियो । यस पृष्ठभूमिमा सिभिल बैंकले एक विकास बैंक र एक फाइनान्स कम्पनीलाई आफूमा मर्ज गराई सक्यो भने पुँजीको हिसावले वाणिज्य बैंक सरहको आईएलएफसिलाई पनि आफूमा गाभ्दैछ । यूनिक फाइनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्सलाई पनि एक्वाएर गर्दैछ । यति धेरै मर्ज र एक्वाएर गर्दा पनि पुँजी ८ अर्ब पुग्दैन । थप पुँजी वृद्धिको लागि अबको बाटो के हो ? मर्जपछिको चुनौति के के हुन् ? प्रस्तुत छ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनसँग गरिएको विकास वहस यस पटक। किशोर महर्जन, प्रमुख कार्यकारी अधिकृत, सिभिल बैंक लिमिटेड मर्जरको काम कति सजिलो काम हो ? मर्ज भन्ने काम मर्ज हुने संस्थाहरुको प्रमोटर्स र बोर्ड मेम्बर कस्ता छन् भन्ने कुरामा निर्भर गर्छ । मर्ज सहज, असहज, ढिलो, चाँडो भन्ने कुरा यिनै पक्षमा निर्भर गर्छन् । आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति आएपछि मर्जर प्रक्रियाले गति लियो । त्यसअघि पनि हामीले मर्ज गरिसकेका थियौं । पुँजी बढाएर बजार विस्तारमा जानु पर्छ भन्ने लक्ष्यका साथ अघि बढ्यौं । त्यसै अनुसार एक्सिस विकास बैंक र सिभिल मर्चेण्ट वित्तिय संस्थासँग सफल मर्ज गरेका थियौं । छोटो समयमा पुँजी बढाएर आठ अर्ब पुर्याउनु पर्ने मौद्रिक नीति आएपछि मर्ज तिब्र गतिमा अघि बढाएका हौं । दुई अर्बको पुँजी भएको ग वर्गको संस्थाका रुपमा रहेको आइएलएफसीसँगको मर्ज अन्तिम चरणमा पुगेको छ । कात्तिक भित्र एकिकृत कारोबार हुन्छ भन्ने लाग्छ । यो मर्जसँगै हाम्रो पुँजी पाँच अर्ब रुपैयाँ हुन्छ । थप तीन अर्ब पुँजी कसरी जुटाउने योजना छ ? हामीलाई आठ अर्ब पुँजी पुर्याउनु पर्छ । हामी नयाँ बैंक भएकाले बोनस सेयर धेरै दिन सक्ने अवस्थामा छैनौं । ठूलो मात्रामा हकप्रद सेयर जारी गर्ने अवस्था पनि हामीसँग छैन । त्यस कारण अझै केही विकास बैंक वा फाइनान्स कम्पनीसँग मर्ज गर्ने वा अक्वायर गर्नेबारे सोच्दैछौं । युनिक फाइनान्स एक्वायर गर्न पहिलो चरणको सम्झौता गरेर काम अघि बढिसकेको छ । हामा मर्चेण्ट अक्वायर गर्ने प्रक्रिया पनि अघि बढिसकेको छ । मर्जरको काम सम्पन्न नभएसम्म अक्वायरको काम गर्न नमिल्ने केन्द्रीय बैंकको नीति आयो । मर्जर सम्पन्न भएपछि अक्वायरको काम अघि बढ्छ । अर्काे एउटा वित्तीय संस्थासँग पनि अक्वायरको कुरा भैरहेको छ । यी तीन वटा संस्था अक्वायरको प्रक्रिया सम्पन्न गरी माघ १ गतेदेखि एकिकृत कारोबार गर्ने लक्ष्य लिएका छौं । यी सबै मर्जर र अक्वायर पुरा हुँदा हाम्रो पुँजी ६ अर्ब नाघ्छ । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको नाफाबाट करिब ७५ करोड रुपैयाँ बराबरको बोनस सेयरबाट पुँजी बढाउँछौं । नपुग करिव सवा अर्ब पुँजी हकप्रद सेयर जारी गरेर पुर्याउँछौं । यसका आधारमा हामी समयमै आठ अर्ब पुँजी पुर्याउन सक्छौं । आठ अर्ब पुँजी पुगेपछि अघि बढ्न बैंकका लागि चुनौती के के छन् ? पुँजी बढेपछि बजार बढाउन सहज हुन्छ । तर निक्षेप संकलनका लागि प्रतिष्पर्धा बढ्छ । न्युन लागतमा निक्षेप संकलन गर्न पुराना बैंक भन्दा हामीलाई अलि असहज नै हुन्छ । नाफाको दृष्टिकोणले पनि पुराना बैंकले जुन पोर्टफोलियाबाट जति नाफा कमाउँछन हामीले त्यति नै पोर्टफोलियाबाट पुराना बैंकको तुलनामा ६० देखि ७० प्रतिशत मात्रै नाफा कमाउन सक्छौं । किनभने हाम्रो कस्ट अफ डिपोजिट आजको दिनमा ५ प्रतिशत छ भने धेरै पुराना बैंकको २ देखि साढे दुई छ । बीच अवधीमा खुलेका बैंकको साढे तीन प्रतिशत छ भने हामी जस्ता पछिल्ला बैंकको पाँच प्रतिशत माथि छ । ऋणको कुरा गर्ने हो भने सबैले ६ प्रतिशतमा दिन्छन् । हामीले पनि ६ प्रतिशत मै दिनुपर्छ तर पुरानाले साढे ५ प्रतिशतमा दिन सक्छन् । उस्तै पोर्टफोलियोमा कर्पाेरेट सेक्टरमा एक प्रतिशत, एसएमईमा साढे २ प्रतिशत र रिटेलमा तीन देखि साढे तीन प्रतिशत स्प्रेड मात्रै पाउँछौं । उनीहरुले कर्पाेरेटमा साढे २ देखि तीन प्रतिशत स्प्रेडमा काम गर्न पाउँछ । हामी एक प्रतिशत स्प्रेडमा काम गर्न पाउँछौं । पुराना बैंक र हामीमा दुई प्रतिशतको ग्याप हुन्छ । पुराना बैंकले एक अर्ब ऋणमा दुई करोड बढी नाफा हुन्छ । १० अर्बको कर्पाेरेट ऋणमा पुराना बैंकले २० करोड नाफा हुन्छ । यहि स्प्रेडका कारण हामीलाई अलि असहजता छ । केन्द्रिय बैंकले दिएको ५ प्रतिशत स्प्रेड पुर्याउन हामीलाई मुस्किल छ । हामी तीन प्रतिशतको हाराहारीको स्प्रेडमा काम गरिरहेका छौं । नयाँ बैंकलाई अघि बढ्न अलि बढि नै गाह्रो छ । एउटा बैंकले ६ प्रतिशतमा ऋण दिन्छ भने हामीसँग ७ प्रतिशतमा ऋण किन लिन्छन मान्छेहरुले ? लगानीका नयाँ क्षेत्र आईसकेका छैनन् । पुँजीको आकार बढेसँगै बजार बढाउन निकै मुस्किल छ । आज दुई तीन अर्बको पुँजीमा हामी २५ देखि ३० अर्बको पोर्टफोलिया बोकेर बसेका छौं । आठ अर्बको पुँजी पुग्दा ७५ अर्ब जतिको पोर्टफोलियो पुर्याउनु पर्छ, जुन चानचुने कुरा होइन् । दुई वर्षभित्रै ४० देखि ४५ अर्बको पोर्टफोलियो पुर्याउन मुस्किल नै छ । पुराना बैंकलाई ३० देखि ४० अर्बको पोर्टफोलियो बनाउन २५ वर्ष लाग्यो । आजको अवस्थामा हामी जस्ता साना बैंकलाई यत्तिको प्रतिष्पर्धालाई चिरेर ३५ देखि ४० अर्बको पोर्टफोलियो बनाउनु पर्ने चुनौती छैन । ती चुनौति कसरी पार गर्छन त नयाँ बैंकहरुले ? यसका दुई वटा अप्सन थिए । ठूलो पोर्टफोलियो भएका दुई वटा बैंक मर्ज गर्ने अनि बिजनेश पनि जोड्ने । दुई दुई अर्बको पुँजी मर्ज गरेर चार अर्ब बनाउने, २०/२० अर्बको लोन मर्ज गरेर ४० अर्ब पुर्याउने । तर अवस्था त्यस्तो भएन। बिओके र लुम्बिनीले मात्रै त्यसरी मर्ज गरे । मौद्रिक नीति आएपछि भने ३२ वटा बाणिज्य बैंक १४ वटामा झर्छन भन्ने आंकलन थियो । तर बाणिज्य बैकको संख्या २८ वटामै अडियो । यस पृष्ठभूमिमा नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई जबरजस्ती मर्ज गराउने नीति लिन सक्छ ? दुई वटा राम्रा बाणिज्य बैंकलाई मर्ज गर भनेर केन्द्रिय बैंकले भन्न सक्दैन् । तर कुनै बाणिज्य बैंक डुब्नै लागेको छ भने चाँही केन्द्रिय बैंकले केही गर्न सक्छ । ठूलो संस्थासँग मर्ज नगराउँदा बैंक डुब्छ भन्ने अवस्थामा राम्रो गतिमा हिडेको बैंकसँग मर्ज गराउन सक्छ । तर आफ्नै गतिमा प्रगति गरिरहेका बैंकहरुलाई जबरजस्ती मर्ज गराउन सकिँदैन् । पहिले पुँजी बढाउँदा पनि संख्या घट्छ भन्ने थियो तर बाणिज्य बैंकको संख्या त्यतिबेला पनि घटेन । सबैभन्दा पछि खुलेको सिभिल बैंक नै ६ बर्षको भयो, अब कति वर्षसम्म नयाँ बैंक भन्ने ? हामी भन्दा पछि अर्काे बैंक नआउँदासम्म हामी नयाँ बैंक नै हो । ५० वर्षको भए पनि नयाँ छोरो छैन भने ऊ कान्छो नै हुन्छ । हाम्रो सवालमा भन्ने हो भने १२ देखि १५ बर्ष अपरेशन गरेपछि हामी अलि स्थापित हुनेछौं । त्यसपछि नयाँ भन्ने रहँदैन । तीन लाखको बचत खाता, ८० देखि ९० वटा शाखा, त्यति नै संख्यामा एटिएम, स्वस्थ पोर्टफोलियो भएपछि हामी नयाँ हुँदैनौं । त्यसका लागि १० देखि १२ वर्ष लाग्छ । आजको अर्थतन्त्रको अवस्थामा यति कुरा चाडै प्राप्त गर्न सकिन्न । लगानीका लागि नयाँ क्षेत्र देखिएका छैनन् । सिमेन्ट र उर्जा क्षेत्र लगानीको क्षेत्र देखिन्छ । त्यसमा पनि नयाँ उर्जा आयोजना पनि आएको छैन । सिमेन्टमा मात्रै नयाँ उद्योग आएका हुन् । फलाम, टेक्सटाइल, तेल, चिनीका नयाँ उद्योग आएका छैनन् । दुई चार वटा होटल र रिसोर्ट मात्रै खुलेका छन् । व्यापार केहि फस्टाएको छ । व्यापारले हाम्रो वैदेशिक मुद्रा विदेश पठाउने मात्रै हो । नाडा अटो शोमा साढे तीन अर्बको व्यापार भयो तर त्यसले प्रडक्टीभीटी बढाएको छैन् । विदेशी मुद्रा विदेश पठाएको मात्रै हो । हामी सबै कुरा आयात गरेर खाईरहेका छौं । हाम्रा खेत बाँझै छन्, काम गर्ने पाखुरा भएकाहरु विदेशिएका छन् । आर्थिक उन्नतिका लागि जुन जुन तत्व आवश्यक पर्ने हो त्यो झन्झन् कम हुँदै गएको छ । सरकार परिवर्तनका क्रम बढेकै छन् । करारमा झै सरकार बदलिएका छन् । सेवा र व्यापारको क्षेत्रमा उल्लेख्य वृद्धि भैरहँदा पनि औद्योगिक क्षेत्रको विकास चाँही किन नभएको होला ? हामी उच्च दरको मुद्रा स्फितिको अवस्थामा छौं । कसैले मनग्गै नाफा कमाईरहेको छ र कुनै क्षेत्रले त्यसको बोझ बोकिरहेको छ । नाडामा साढे तीन अर्बको गाडी बुक हुनु भनेको मुद्रास्फितिको फाइदा उठाउको भन्ने नै हो । साढे ६ सय अर्बको रेमिट्यान्स भित्रिएको छ । त्यो कहाँ गयो भन्दा त्यो नाडा अटो शो जस्तै क्षेत्रमा गएको हो । जीडीपीमा रेमिट्यान्सको फाइदा यस्तै क्षेत्रले पाईरहेको छ जसले मुद्रास्फिति बढाउन सहयोग गरेको छ । गत वर्ष २९ लाख वटा मोबाइल फोन आयात भएको छ । यस वर्ष ५० लाख आएको छ । पछिल्लो समय २ करोड वटा सेट आयात भएको छ । जुन क्षेत्रले जीडीपीमा २९ प्रतिशत योगादन दिएको छ, त्यसले उत्पादनमा योगदान नगर्नु दुःखद पक्ष हो । उद्योग नफस्टाएको र उपभोगमा मात्र खर्च भएको अवस्थामा बैंकहरुको भविष्य चाँही कस्तो छ ? भविष्य राम्रो हुन्छ भनेर नै यस क्षेत्रमा लगानी बढेको हो । यसको भविष्य राम्रो हुन्छ भन्नुका पछाडि केहि कारण छन् । बैंक भनेको राम्रो नियम र कानुनका आधारमा सञ्चालन हुन्छन् । कडा नियमनको व्यवस्था छ । दण्ड र पुरस्कारको व्यवस्था पनि छ यो क्षेत्रमा । कर्मचारीदेखि लगानी कर्तासम्मका लागि बैंक क्षेत्र भनेको राम्रो प्रतिफल दिने क्षेत्र हो । यसको अर्काे पक्ष भनेको राम्रो काम गरिएन भने सेयरको मूल्य घट्छ र पोर्टफोलियो खराब भयो भने कर्मचारी र सेयर होल्डरको आत्मबल घट्छ । लाभांश दिन सकिन्न । पोर्टफोलियो खराब भयो भने निक्षेपकर्ताको विश्वास पनि घट्छ । यस्तो अवस्थामा बैंकिङ कसुर अन्तर्गत कारवाहीको सम्भावना पनि रहन्छ । त्यसकारण बैंक क्षेत्रमा हरेक समयमा लगानी कर्तादेखि व्यवस्थापनका सबै मान्छे चनाखो भएर बस्छन् । त्यसकारण पनि अरु क्षेत्र भन्दा बैंकको प्रगति राम्रो छ । र भबिष्य पनि राम्रो छ । पुँजी वृद्धिको अनुपातमा रिटर्न रेसिया कस्तो हुन्छ ? पुँजी बढ्दै गएपछि प्रतिशतका हिसाबमा आम्दानी घट्छ । दुई अर्ब पुँजीमा २० करोड नाफा दिनु भनेको १० प्रतिशत हुन्छ । तर ८ अर्ब पुँजीमा १० प्रतिशत नाफा दिनु भनेको ८० करोेड हुन्छ । यसपाली २० करोड कमाउनेले अर्काे बर्ष ८० करोड कमाउन सक्दैन् । ५० प्रतिशत नै आम्दानी बढेछ भने पनि ३० करोड मात्रै हुन्छ ।  आज १० प्रतिशत लाभांश दिने बैंकहरुले ८ अर्ब पुँजी पुगेपछि पनि १० प्रतिशत नै लाभांश दिन भने केही वर्ष लाग्छ नै । सुरुका केहि वर्षहरुमा धेरै कसरत गर्नुपर्छ । बैकिङ क्षेत्रको सेयर मूल्य कस्तो रहला आगामी दिनमा ? अब सेयर बजार पनि करेक्सन हुन्छ । सेयर बजारमा बैंकहरुकै हिस्सा ठूलो छ । बजार बढाएको भने हकप्रद सेयरकै कारण हो । पहिले बोनस आयो भने बजार बढ्थ्यो । अहिले हकप्रद आउछ भनियो भने सेयर बजार झनै बढ्न थालेको छ । एक सय रुपैंयाँमा सेयर पाउने भएपछि लगानी कर्ता आकर्षित भैरहेका छन् ।  जुन दिन सबै कम्पनीको हकप्रद सकिन्छ र सबैको पुँजी ८ अर्ब पुग्छ त्यो दिन बजारमा स्थिरता आउँछ । त्यसपछि प्रतिफल कति आउँछ भनेर हिसाब किताब सुरु हुन्छ । त्यसका लागि यो आर्थिक वर्षको अन्तिमसम्म कुर्नु पर्छ । मर्जपछि कर्मचारीको व्यवस्थापन कसरी गर्नुभएको छ ? कतिपय कर्मचारीले छोड्छन् । त्यसका लागि विभिन्न आधार तयार गरिएका हुन्छन् । हामीले कर्मचारीको पोजिसन मिलान गर्छाै । अनक्वालिफाइड भएको अवस्थामा भिआरएस वा सिआरए गराउँछौं । कसैले पोजिसन घटेपनि काम गर्ने प्रतिवद्धता व्यक्त गर्छन् । कसैले छोड्छन पनि । हामीले एक्सिस विकाससँग मर्ज गर्दा खासैले छोडेनन् । आइएलएफसीमा मर्ज गर्दा चार पाँच प्रतिशतको योग्यता पुग्दैन् । केहि चाँही आफुले चाहेको पोष्ट नपाउने भएपछि सिआरएस वा भिआरएस लिन चाहनेहरुको संख्या पनि १० देखि १२ प्रतिशत छन् । सिआरएस र भिआरएसको प्याकेज कसरी बनाउनुभएको छ ? सिआरएस भनेको अनिवार्य अवकास हो । उमेर, पद, क्षमता हेरेर २४ महिनादेखि ३० महिनाको प्याकेज दिएर बिदा गर्छाै । भिआरएसमा कति समय काम गर्यो र अब कति समय काम गर्न सक्थ्यो भन्ने हेर्छाै । मेनेजरका लागि ३० देखि ३५ महिना, अफिसरका लागि २४ देखि ३० र असिस्टेन्टका लागि १८ देखि २० महिनाको तलव दिएर भिआरएस कार्यक्रम बनाएका छौं ।

लडाकु शिबिर भ्रष्टाचार काण्ड, अख्तियारले बार्गेनिङ गरेको माओवादी आरोप

काठमाडौं, २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन माओवादी लडाकु शिबिरमा भएको अनियमितता छानबिन गर्न थालेपछि माओवादीले त्यसलाई बार्गेनिङको आरोप लगाएको छ । पुर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका नेता बर्षमान पुनले अख्तियारले आत्तिएर राजनीतिक बार्गेनिङ गरेको आरोप लगाएका हुन् । आयोगले लडाकु शिबिर भ्रष्टाचार काण्डमा मुछिएका माओवादी नेताहरुलाई ३० दिन भित्र बयानका लागि डाकिसकेको छ । पुर्व अर्थमन्त्री समेत रहेका पुन समेत सो अनियमितता काण्डमा मुछिएका नेता हुन् । उनका अलवा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, राम बहादुर थापा, अर्थमन्त्री कृष्ण बहादुर महरा, उर्जा मन्त्री जनार्दन शर्मा, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई लगायतका नेताको नाम मुछिएको छ ।  अन्नपुर्णपोष्टमा समाचार छ ।

एनसेल मेलामा रमाए पोखरेली र पर्यटकहरु, चर्चित गायकका उत्कृष्ट प्रस्तुति

काठमाडौं, २ असोज । देशको अग्राणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदान प्रदानग र्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा एनसेल मेला भव्य रुपमा आयोजना गरेको छ । एनसेल मेलामा, पोखरेलीहरुका साथै पर्यटकहरुको उत्साहजनक सहभागिता रहेको थियो । मेलाको मुख्य आकर्षणमा चर्चित कलाकारहरु तथा सांगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु रहेका थिए । चर्चित कलाकार तथा गायक सुगम पोखरेल, मिलन अमात्य, शिव परियार, एक्स ब्याण्ड तथा लाहुरेले मेलाम ाआफ्नो उत्कृष्ट गीतहरु गाएका थिए । हाँस्य कलाकार सन्दिप क्षेत्रीले सबैलाई आफ्नो प्रस्तुती मार्फत हँसाए भने कार्टुन्जक्रु र युभिएन्जल्स्को प्रस्तुती मादर्शकहरु मत्रमुग्ध भएका थिए । गायक सुगमपोखरेलको ‘झिल्के’ र‘प्रेम गीत’, मिलनअमात्यको ‘गाला रातै’ र ‘स्लोली स्लोली’, शिव परियारको ‘क्यादामीभो’ र ‘रुपौली रानी’जस्ता गीतहरुमा दर्शकहरु आफु पनि गाउँदै नाचेका थिए । एक्स ब्याण्डले आफ्नो लोकप्रियगीतहरु ‘लुक्न देउ’, ‘एउटा चिठ्ठी’, र ‘चियाबारीमा’अनि लाउरेले ‘नेपहपको बाटो’, ‘हाउ्डे’ र ‘तितो सत्य’गाएर दर्शकहरुलाई उत्साहित बनाएका थिए । सबै उमेरका मानिसहरुलाई मनोरन्जन प्रदान गर्नका लागि एनसेल मेलामा विभिन्न गतिविधि तथा कार्यक्रमहरु समावेश गरिएका थिए । गेम स्टलहरुमा विषेशत युवाहरुको भीड देखिन्थ्यो । मेलामासुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु राखिएका थिए । थुप्रै गेम स्टलहरुमा आगन्तुकहरुले उपहारहरु पाएका थिए भने किड्स जोनमा रहेको इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबीगल्फ र ट्रेन लगायतमा बालबालिकाहरु रमाई रमाई खेलेका थिए । मेलामाआगन्तुकहरुले एनसेलको सेवातथा सुविधाहरु आकर्षक अफरका साथ लिन पाएका थिए । त्यसैगरी डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विशेष हाईटेक जोनमा दर्शकहरुले चलाएर हेर्न सकिने व्यवस्था मिलाईएको थियो । आगन्तुकहरुको लागि नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको फुड स्टलहरुका साथै दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ जस्ता आकर्षणहरु रहेका थिए । “पर्यटकीय नगरी पोखरामाएनसेल मेला आयोजना गरेर नजिकिदै गरेको चाडपर्वको शुभकामना आदान प्रदान तथा खुशी साटासाट गर्न पाउँदा हामी निकै हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलनशर्माले भने । नारायणघाट र पोखरा पश्चात, एनसेल मेलाअसोज ३ गते बुटवलमा, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा पुगी आयोजना पश्चात समापन उनले बताए ।

शिक्षक सहकारीको सधारणसभा सम्पन्न, दर्जन शिक्षक तथा विद्यार्थीलाई सम्मान

ललितपुर, २ असोज । राजधानीको लगनखेलमा रहेको शिक्षक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका छैटौं बार्षिक सधारणसभा सम्पन्न भएको छ । सधारणसभामा आधा दर्जन उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरुलाई समेत सम्मानित गरिएको छ । ललितपुरमा अध्यापन गराइरहेका ३३६ शिक्षकहरु शेयर सदस्य रहेको शिक्षक विकास सहकारी संस्थाले साधारणसभाको अवसर पारेर ४० वर्षभन्दा लामो समय अध्यापनमा बिताएका शिक्षकहरुलाई सम्मानित गरिएको थियो । बार्षिक सधारणसभामा प्रमुख अतिथि रहेका सहकारी अभियान्त तथा राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दीपक प्रकाश बास्कोटाले शिक्षा क्षेत्रमा योगदान पु¥याउने उद्देश्य लिएर शिक्षकहरु नै सहकारीको माध्यमबाट सक्रिय हुँनु सकारात्म्क भएको बताए । उनले भने, ‘शिक्षकहरु मिलेर सहकारी स्थापना गरी शिक्षक तथा विद्यार्थीलाई सम्मान गर्ने काम राज्यकै यस सहकारीले सह्रानीय कार्य गरेको छ ।’ उनले आगामी दिनमा शिक्षा क्षेत्रमा निरन्तर अभियान सञ्चालन गर्न आग्रह समेत गरे । विश्वमा सहकारीको माध्यमबाट धेरै ठूलो प्रगति भएको, विकास र आर्थिक उन्नती भएको उल्लेख गर्दै उनले शिक्षक विकास सहकारीले शिक्षकहरुको लागि उदाहरणीय काम गरेर सहकारी अभियानमा योगदानमा निरन्तर लाग्नुपर्ने बताए । कार्यक्रममा ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष तथा केन्द्रीय सहकारी संघका सञ्चालक माधव दुलालले सहकारीहरुको लागि खतराको घण्टी बजेको भन्दै सचेत रहन आग्रह गरे । उनले प्रस्तावित सहकारी ऐनको मस्यौदामा सहकारी संस्थाका सेयर सदस्य संख्या समेत रजिष्ट्रारले निर्धारण गर्न सक्ने अवस्था रहेको भन्दै सहकारीको क्षेत्रमा कालो धब्बा लाग्न खोजेकाले संसदमा पेश भएको सहकारी विधेयक बारे सबैले गम्भिरतापूर्वक लिनुपर्ने बताए । ललितपुर जिविसको सभाहलमा सम्पन्न बार्षिक सधारणसभाको अवसरमा जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले एसएलसी र उच्च शिक्षामा परिक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका ६ छोराछोरीहरुलाई सम्मानित गरेका छन् । त्यसैगरी शिक्षक विकास साकोसले यसै बर्षदेखि दीर्घ सेवा शिक्षक सम्मान तथा गुरु सम्मानको लागि अक्षक कोष खडा गरेको छ । यसवर्षको दीर्घ सेवा सम्मानबाट जगदिश्वर श्रेष्ठ, तेज बहादुर सत्याल (बिदुर) र कुल बहादुर थापा क्षेत्री तथा गुरु सम्मान २०७३ बाट नीर केशरी श्रेष्ठ, शोभाकर दवाडीलाई सम्मानित गरेको छ । सधारणसभाले संस्थाका अध्यक्ष रामकाजी बस्न्यातले प्रस्तुत गरेको गतिवधि तथा भावी कार्ययोजना स्वीकृत गरेको छ भने कोषाध्यक्ष टिकाराम गिरीले प्रस्तुत गरेको आयव्यय विवरण समेत पारित गरेको छ ।

९ अर्ब १८ करोडको कृषि बीमा

काठमाडौं, २ असोज । दुई बर्षभित्रै ९ अर्ब १८ करोड रुपैंयाँ बराबरको कृषि बीमा भएको छ । अघिल्ला बर्षहरुको तुलनामा पछिल्लो दुई बर्षमा कृषि बीमाको संख्या ८८ प्रतिशतले वृद्धि भएको हो । कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न, बिभिन्न कारणबाट बाली तथा पशुपंक्षिमा हुने क्षतिबाट किसानलाई राहत दिन तथा बीमा व्यवसायको प्रवद्र्धनका लागि कृषि विकास मन्त्रालयले २०६९ सालदेखि कृषि बीमा सुरु गरेको थियो । गत आर्थिक बर्षमा मात्रै ४ अर्ब ९९ करोड ७७ लाख रुपैंयाँ बराबरको कृषि बिमा भएको छ । कृषि बीमामा किसान तथा बिमक कम्पनीहरुको आकर्षण नदेखिएपछि बीमा समितिले २०७१ सालदेखि बीमा कम्पनीहरुलाई जिल्ला तोकेर बीमा गर्न निर्देशन दिएको थियो । अन्नपुर्णपोष्टमा समाचार छ ।

मर्चेण्ट बैंकले पनि आइपिओ जारी गर्नुपर्ने

काठमाडौं, २ असोज । अबदेखि मर्चेण्ट बैंकहरुले पनि आइपिओ जारी गर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मर्चेण्ट बैंकहरुले पनि आइपिओ जारी गर्नुपर्ने व्यवस्था गर्न लागेको हो । हाल १७ वटा मर्चेट बैंकहरुले पब्लिक कम्पनीहरुको सेयर निष्काशनको काम गरिरहेका छन् । बोर्डले मर्चेण्ट बैंकलाई १० देखि १५ प्रतिशतसम्म आइपिओ निष्काशन गराउनेबारे तयारी गरिहेको छ । कारोबार दैनिकमा समाचार प्रकाशित छ ।

सम्बन्ध सुधारमा केन्द्रित प्रमको भ्रमण, भारतीय लगानीकर्ता उत्साहित

नयाँदिल्ली (भारत), २ असोज । वर्षौं पहिले सम्झौता भई कार्यान्वयनमा नआएका दर्जनौँ विषयमा भन्दा पनि यसपटकको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सम्बन्ध सुधार तथा आपसी विश्वासको वातावरण बनाउनमै बढी केन्द्रित भएको छ । भारत भ्रमणमा निस्कनुभन्दा पहिले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री एवम् नेपाल–भारत सम्बन्धका जानकारसँग परामर्श लिएका प्रधानमन्त्री दाहालले यस भ्रमणमा सम्बन्ध सुधारलाई जोड दिएका हुन । सामान्य अवस्थादेखि राजनीतिक परिवर्तनका कारण उतारचढाव हुने नेपाल–भारत सम्बन्धमा संविधानसभाबाट संविधान घोषणापछि अविश्वासको दूरी बढेको थियो । यसरी सम्बन्धमा उतारचढाव आए पनि भारत नेपालको अनन्य मित्र नै हो । ऐतिहासिक, राजनीतिक, सांस्कृतिक एवम् धार्मिक रुपमा दुई देश धेरै नजिक छन् । त्यसैगरी जनस्तरमा पनि गहिरो सम्बन्ध गाँसिएको छ । यस्ता सम्बन्धलाई सुमधुर बनाइराख्न पनि आपसमा भएका तीता मीठा कुरा आदानप्रदान गर्न अत्यन्त जरुरी हुन्छ । तिनै धरातलमा रहेर प्रधानमन्त्री दाहालले यसपटकको भ्रमण सक्काए । उनले विगतमा भएका सन्धि सम्झौताको कार्यान्वयनमा जोड दिए । उनले कुनै नयाँ सम्झौतामा हस्ताक्षर गरेनन । यसले पनि यस भ्रमणलाई आपसी सद्भावमा सीमित राखेको प्रतिनिधिमण्डलमा रहेका सदस्यको भनाइ छ । भ्रमणको समीक्षा गर्दैै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका भन्छन– “यसपटक प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनुभएको छ । यसले आगामी दिनमा विश्वासको वातावरण सिर्जना गर्छ भन्ने मैले विश्वास लिएको छु ।” भ्रमणकैबारे जानकारी दिँदै प्रधानमन्त्री दाहालले भने–“भारतीय प्रधानमन्त्री मोदी र मेरो खुलेर दिलदेखि कुरा भएको छ, यसले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको छ, यसले विश्वासको वातावरण सिर्जना गरेको छ ।” भदौ ३० गते नेपाल आउनुभएका प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विहारका मुख्यमन्त्री नितेश कुमार, गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, ऊर्जा राज्यमन्त्री पियुस गोयल, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलगायतसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्ताका क्रममा प्रधानमन्त्रीले आफ्ना धारणा स्पष्ट राखेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । उनले भने–“विभिन्न तहमा भएका वार्ता र छलफलले दुई देशबीच विश्वासको वातावरण बनेको छ, यसले आपसी सहकार्यलाई नयाँ उचाइमा पु¥याएको छ । मन्त्री महतका अनुसार सद्भावना र सहयोग बढाउने भ्रमणको मूल लक्ष्य थियो त्यो पूरा भयो । राजनीतिक सम्बन्ध मजबुत प्रधानमन्त्री दाहाल भारत भ्रमणमा आएलगत्तै लामो समयदेखि यहाँ बस्दै आएका प्रवासी नेपाली, यहाँका राजनीतिक दल एवम् नेतासँग भेटघाट गरे । अधिकांश राजनीतिक भेटघाट यहाँस्थित नेपाली दूतावासमा नै भएको थियो । मुख्यमन्त्री नितेस कुमार प्रधानमन्त्री दाहाललाई भेट्न नेपाली दूतावास पुगेका थिए । राजदूतावासमा प्रधानमन्त्री दाहालसँग नेसनललिस्ट कँग्रेसका महासचिव डिपी त्रिपाठी, भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, जनता युनाइटेडका नेता शरद यादवलगायतका नेताले भेटवार्ता गरी दुई देशबीचको सम्बन्धलाई थप माथि उठाउने प्रतिबद्धता जनाए । उनीहरुले राजनीतिक एवम् जनस्तरबाटै दुई देशबीचको सम्बन्धलाई माथि उठाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिए । उनले भने– “प्रधानमन्त्रीको यसपटकको भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पु¥याउन सफल भएको छ । सम्बन्ध मजबुत भएको छ ।” लगानीका लागि भारतीय उद्योगी उत्साहित त्यसैगरी प्रधानमन्त्री दाहालले भ्रमणका सिलसिलामा नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योगीको संस्था कन्फिडेरेसन अफ इन्डियन इन्डस्ट्रीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उद्योगी व्यवसायीलाई विश्वास दिलाएको अध्यक्ष मुरारकाको भनाइ छ । भ्रमणका क्रममा रहेका नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले छलफलका क्रममा सकारात्मक हुन सक्ने अवस्था देखिएको बताउँदै त्यसले आगामी दिनमा नेपालमा लगानीको अवस्थामा सुधार आउने विश्वास व्यक्त गरे । उनले भनाइ र गराईमा फरक नआए साँच्चै नेपाललाई परिवर्तन गर्न सकिने बताए । अन्तक्र्रियाका क्रममा भारतीय उद्योगीका संस्था एफआइसिसिआइका अध्यक्ष सञ्जीव पुरीले लगानीका लागि अवसर भए पनि वातावरणले असर पार्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए । उनले प्रधानमन्त्रीको भारत भ्रमणले भारतीय लगानीकर्तालाई उत्साहित बनाएको धारणा राखे । रासस

अप्रिलीआको दशै तिहार अनविलिभेवल अफर

काठमाडौं, १ असोज । युरोपको चर्चित तथा विश्वकै उत्कृष्ट रेसिङ्ग बाईक अप्रिलीआले दशैं तिहारलाई लक्षित गरि ‘दशै तिहार अनविलिभेवल डिस्काउण्ट अफर’ ल्याएको छ । उपहार योजना अन्तर्गत ग्राहकहरुले अप्रिलिआको एसटिएक्स बाईक किन्दा १४ हजार तथा अप्रिलिआको ईटिएक्स बाइक खरिद गर्दा १८ हजार रुपैंयाँ छुट प्राप्त गर्नेछन् । योजना अन्तर्गत नै प्रत्येक अप्रिलिआ बाईकको खरिदमा ग्राहकलाई ३ हजार पर्ने एउटा हेल्मेट समेत उपहार प्रदान गरिने छ । हाल अप्रिलिआ एसटिएक्सको बजार मुल्य २ लाख ७९ हजार रुपैंयाँ छ भने अप्रिलिआ ईटिएक्सको ३ लाख ५० हजार रहेको छ । चाडबाडलाई मध्यनजर गर्दै कम्पनीले मोटरसाईकलमा फाईनान्स तथा एक्सचेन्जको सुविधा समेत उपलब्ध गराउने भएको छ । हाल बजारमा अप्रिलिआको एसटिएक्स रोड र इटीएक्स इन्ड्युरो नामक मोडल चल्तीमा रहेको छ । यी मोटरसाईकलहरु १५० सिसि क्षमताको रहेको छ । एसटिएक्स रोड बाईक पिच रोडको लागि आकर्षक मानिन्छ भने इटिएक्स इन्ड्युरो जस्तोसुकै अफरोडका लागि उपयुक्त रहेको कम्पनीले दावी गरेको छ । अप्रिलिआको नेपालको लागि आधिकारिक विक्रेता जे एण्ड जे ईन्टरनेशनकोे उपत्यकामा सानो गौचरण तथा उपत्यका बाहिर विर्तामोड र इटहरीमा एक–एक बिक्रि कक्ष रहेको छ । अप्रिलिआको सबै पार्टस्, पुर्जा सहजै उपलब्ध छ । सन् १९०५ देखि ईटालिको विश्वप्रसिद्ध पिआजीओ गु्रपले उत्पादन गर्दै आएको अप्रिलिआ बाईकलाई रेसिंगका हस्ती भ्यालिन्टीनो रोसी, जर्ज लोरेन्जो, केसी स्टोनरले समेतले बिभिन्न व्यवसायिक रेसिङ्ग प्रतियोगिताहरुमा प्रयोग गरिसकेका छन् । अप्रिलीआ बाइकले हालसम्म मोटरसाइकल रेसिङ्ग विश्व च्याम्पिसयनसिपमा ५४ वटा उपाधि जितिसकेको छ । जे एण्ड जेले निकट भविष्यमानै अप्रिलिआ आरएस ४–१२५ नामक मोटरसाईकल तथा स्कुटर बजारमा ल्याउने भएको छ । यस अघि कम्पनीले ७५० सिसि क्षमताको अप्रिलिआको डोरसोडुरो ७५० एबिएस मोटरसाइकल नेपाली बजारमा भित्र्याईसकेको छ । जे एण्ड जे इन्टरनेशनल छोटो समयमा नै नेपाली बजारमा १२५ सिसि देखि १२०० सिसि क्षमताको मोटरसाईकल तथा स्कुटर विक्रि वितरण गरी टु ह्वीलर सेग्मेन्टमा एक अग्रणी कम्पनीको रुपमा देखा परेको छ । अप्रिलिआका अन्य मोडलहरु ग्राहकको माग अनुसार उपलब्ध गराउन सकिने कुरा आधिकारिक विक्रेता जे एण्ड जे ईन्टरनेशनलले जनाएको छ ।