बिमानस्थलबाट निगम अधिकारीले भने‘मिसन इन्धन बोकेर चीन उडियो’
काठमाडौं, ९ कात्तिक । चीनसँग पेट्रोलियम पदार्थ कारोबार सम्झौता गर्न आठ सदस्यीय नेपाली टोली चिन प्रस्थान गरेको छ । चीनका लागि नेपाली राजदुत डा. महेश मास्के नेतृत्वको टोलीमा आठ सदस्य रहेका छन् । टोलीमा परराष्ट्र, बाणिज्य मन्त्रालय, गुणस्तर बिभाग र नेपाल आयल निगमका अधिककारीहरुको सहभागीता रहेको छ । प्रवक्ता दिपक बरालले दिएको जानकारी अनुसार निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्का र निर्देशक सुशिल भट्टराई टोलीमा सामेल छन् । परराष्ट्र मन्त्रालयका तर्फबाट सहसचिव झबिन्द्र अर्याल चीन गएका छन् । टोलीले चीनसँग पेट्रोलियम पदार्थको खरिदको सम्झौता गर्नेछ । ‘मिसन इन्धन सहित चीन उड्नै लागेका छौं, चीनसँग वार्ता गरेर इन्धन खरिदको सम्झौता हुनेछ ।’ त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट नेपाल आयल निगमका निर्देशक भट्टराईले भने । चीनसँग पेट्रोलियम कारोबार सम्बन्धी सम्पुर्ण अधिकार सहित नेपाली टोली त्यसतर्फ उडेको हो । भारतले मधेशमा जारी आन्दोलनलाई कारण देखाउँदै अघोषित नाका बन्दी र इन्धन आयातमा अवरोध गरेपछि चीनसँग इन्धन खरिदको प्रक्रिया आरम्भ गरिएको हो । उप प्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले भारत भ्रमणका क्रममा इन्धन पाउने सम्भावना नदेखेसँगै सरकारले चीनसँग इन्धन खरिदको प्रक्रिया अघि बढाउने तयारी गरेको थियो । चीनसँग इन्धन खरिद गर्ने प्रक्रिया अघि बढेसँगै नेपालमा पेट्रोलियम पदार्थ बेच्ने भारतीय एकाधिकारको अन्त्य हुनेछ ।
विद्या भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने एमाले निर्णय
काठमाडौं, ९ असोज । नेकपा(एमाले)ले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । अब मुलुकले बुधबार नयाँ राष्ट्रपति पाउनेछ । आधा दर्जन राजनीतिज्ञहरुको चर्चा भएपनि अन्नतः एमाले उपाध्यक्ष विद्या भण्डारी मुलुकको दोश्रो तथा प्रथम महिला राष्ट्रपति बन्ने सम्भावना प्रवल बनेको छ । सत्ता रुढ दलहरुका तर्फबाट भण्डारीले उम्मेदवारी दिनेछिन् । भर्खरै सम्पन्न एमाले स्थायी कमिटी बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेबाटै पुर्व अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनाल र पुर्व सभामुख सुभाषचन्द्र नेम्बाङको नाम समेत चर्चामा रहेको थियो तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालल समेत भण्डारीलाई राष्ट्रपति बनाउने पक्षमा उभिएपछि भण्डारीको उम्मेदवारी पक्का भएको हो । रामवरण, खिलराज र केबी गुरुङ पनि रेसमा काँग्रेसले राष्ट्रपतिमा तीन जनाको नाम अघि सारेको छ । उसले पहिलो प्राथमिकतामा वर्तमान राष्ट्रपति डा. रामवरण यादवलाई अघि सारेको छ । सर्व सम्वतः रुपमा डा. यादवलाई पुनः राष्ट्रपति बनाउनु पर्ने काँग्रेसको तर्क छ । उसले निर्वाचन भएर जित्ने अवस्थामा अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई उम्मेदवार बनाउने आन्तरिक तयारी समेत गरेको छ । तर रेग्मी पनि चुनाव लडेर राष्ट्रपति बन्ने सोँचमा नरहेको श्रोतले बतायो । त्यस्तो अवस्थामा काँग्रेसले पुर्व महामन्त्री केबी गुरुङलाई राष्ट्रपतिको उम्मेदवार बनाउनेछ । एकिकृत माओवादीको भागमा परेको उप राष्ट्रपति पदमा भने जनमुक्ती सेनाका पुर्व प्रमुख नन्दकिशोर पुनको नाममा अघि सारिएको छ । काँग्रेस नेतृत्वको विपक्षी गठबन्धनले भने मधेशी मुलुका नेतालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने तयारी थालेको छ । संबैधानिक व्यवस्था नेपालको संविधानको धारा २९७ को उपधारा ९२० बमोजिम राजनीतिक सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति चयन हुने व्यवस्था छ । संविधानको धारा २९७ को उपधारा ९३० ले भने बहुमतिय प्रक्रियाद्धारा राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने व्यवस्था गरेको छ । व्यवस्थापिका संसद सचिवालयले बहुमतिय प्रक्रियाका लागि कात्तिक १० अर्थात भोली बिहान १० बजेदेखि अपराह्न १ बजेका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ । सहमतिका आधारमा आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयसिमा तोकिएको थियो । काँग्रेस र एमाले दुबैले राष्ट्रपतिमा दावी नछाडेपछि निर्वाचन प्रक्रिया निश्चित भएको हो ।
बस चढेपछि एक हजार भाडा ?
गोरखा, ८ कात्तिक । पेट्रोलियम पदार्थको अभावले गर्दा दसैँ मानेर गन्तब्यमा फर्केका गोरखाका यात्रु समस्यामा परेका छन् । अहिले यहाँका ३२ ओटा ग्रामीण मार्गमा १० ओटा मात्रै सवारी चलेका छन् । यात्रुहरुले बस, जीप, ट्र्याक्टर, माइक्रोमा चर्को भाडा तिरेर गन्तब्यमा जानुपरेको गुनासो गरेका छन् । गोरखा बसपार्कबाट काठमाडौँका लागि छुटेका यात्रुबाहक गाडीले प्रतियात्रु एक हजार भाडा उठाएका छन् । “छतमा चढेर यात्रा गर्दा पनि सिटमा बसेकै भाडा लिन्छन्,” मसेलका विशाल गुरुङ्गले भने–“एउटै गाडीमा १८० जनाभन्दा बढी यात्रु कोचिएका हुन्छन् । प्रत्येक यात्रुसँग एक हजारका दरले भाडा उठाउँछन् ।” भच्चेक बजार, बालुवा बजार, बारपाक, भालुस्वाँरा, हर्मी, चोरकाटे, छोप्राक, पालुङटार, आँपपीपललगायत ठाउँका यात्रुहरु गाडीमा कोचिएर यात्रा गर्न बाध्य छन् । साविकको भाडाभन्दा दोब्बर, तेब्बर भाडा उठाएर यातायात व्यवसायीले ग्रामीण रुटमा बस चलाएका छन् । दैनिक २० भन्दा बढी सवारी यात्रु बोकेर काठमाडौँ गएपनि इन्धन अभाव भएपछि दैनिक छ ओटामात्रै सवारी चल्दै आएको छ । चितवनको ठोरीबाट महङ्गो मूल्य तिरेर ल्याएको तेल बसमा राखेर यातायात व्यवसायी समिति गोरखा र पृथ्वी राजमार्ग बस सञ्चालक समितिका व्यवसायीले बस, माइक्रो, ट्रक चलाएका छन् । रातो प्लेटका मालबाहक जीपले पनि नियम विपरीत यात्रु बोकेका छन् । गोरखास्थित कलश आयल स्टोर्सबाट भने रुटमा छुटेका बसलाई मात्रै इन्धन उपलब्ध गराएको छ । स्थानीय प्रशासनले यात्रु लिएर काठमाडौँ गएका सवारीलाई ३० लिटरका दरले इन्धन उपलब्ध गराएको हो । इन्धन नपाएर अधिकांश सवारीसाधन बसपार्क ग्यारेजमा थन्किएको व्यवसायीले जनाएका छन् । गोरखा–काठमाडौँको भाडा माइक्रोमा ३९० हो । तर, पेट्रोलियम पदार्थको अभाव भएको मौका छोपेर व्यवसायीले एक हजार भाडा उठाएका हुन् । त्यस्तै मिनीबसको भाडा ३५० भएपनि अहिले व्यवसायीले प्रतियात्रु रु सात सय भाडा लिँदै आएका छन् । बसमा कोचिएर यात्रा गर्दा यात्रुहरु बेहोससमेत हुने गरेका छन् । एउटै गाडीमा छ जनासम्म बेहोस हुने गरेको यात्रुहरु गुनासो गर्छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले बसको छतमा बसेर जोखिमपूर्ण रुपमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । कच्ची सडकमा छत चढेर यात्रा गर्दा दुर्घटना हुने भएकाले छतमा यात्रु नचढाउन व्यवसायी, यातायात मजदुर र यात्रुलाई प्रहरीले आग्रह गरेको छ । तर, व्यवसायीले छतमा राखेर यात्रुलाई गन्तब्यमा पु¥याइआएका छन् । मझुवा देउराली, बाह्रकिलोलगायत मुख्य चोकमा प्रहरी, ट्राफिक प्रहरीले छतमा बसेका यात्रुलाई ओराले पनि प्रहरी बिट कटेपछि यात्रुहरु छतमा चढेर यात्रा गर्दै आएका छन् । यातायात व्यवसायी समिति गोरखाका अध्यक्ष नारायण खत्रीले छतमा जोखिमसाथ यात्रा नगर्न यात्रुलाई आग्रह गरिएको बताए । “छतमा चढेर यात्रा नगर्नुहोला,” उनले भने, ‘पेट्रोलियम पदार्थको जोहो गरेर सकेसम्म यात्रुलाई सुरक्षितसाथ गन्तब्यमा पु¥याउने हाम्रो तयारी छ ।’ रासस
भारतीय नाका बन्दीसँगै देशैभर इन्धनको कालोबजारी
काठमाडौं, ८ कात्तिक । भारतले जारी राखेको अघोषित नाका बन्दीका कारण मुलुकभर इन्धनको चरम अभावसँगै कालोबजारी पनि बढेको छ । सिमावर्ती जील्लाबाट मोटरसाईकल र प्लाष्टिकका ग्यालिनमा पेट्रोलीयम पदार्थ नेपाल भित्र्याएर पुर्वपश्चिम राजमार्ग हुँदै देशका प्रमुख शहर तथा काठमाडौंसम्म पेट्रोलीयम ढुवानी भैरहेको छ । सरकारले त्यसरी पेट्रोलीयम पदार्थको ढुवानीमा कडाई गरेको भएपनि स्थानिय प्रशासनको समेत मिलेमत्तोमा देशैभर पेट्रोलीयम पदार्थको कालोबजारीले प्रश्रय पाईरहेको हो । राजधानीमा भित्रिने सबै जसो सवारी साधनमा ग्यालिनका ग्यालिन पेट्रोलीयम पदार्थ ओसार्ने गरिएको छ । बिभिन्न नाकामा चेकजाँचका लागि बसेका प्रहरीहरुले घुस खाएर त्यसरी पेट्रोलीयम पदार्थ भित्र्याउने जाँचोपाँचो मिलाउने गरेका छन् । मुख्यतया झापा, मोरंग, सुनसरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही लगायतका जिल्लाहरुबाट पेट्रोलीयम पदार्थको कालोबजारीको चाँजोपाँजो मिलाउने गरिएको छ । भारतीय नम्बरको मोटरसाइकलको ट्याकीमा ल्याएको पेट्रोल ग्यालेन वा पानीको बोतलमा खन्याएर बिक्री गर्ने गरिएको छ । यसरी ल्याइएको पेट्रोल प्रतिलिटर १५० देखि १८० सम्ममा बिक्री गर्ने गरिएको छ । तेलको कालोबजारी भारतीयले मात्र नभई सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीले पनि गर्ने गरेका छन् । कतिपयले भारतीय नम्बरको मारुती भ्यान तथा बोलेरोमा ग्यालेनमा पेट्रोल राखेर ल्याई अनधिकृत व्यापार गर्ने गरेका छन् । काँकरभिट्टाका एक व्यापारीले पेट्रोल राजधानी र पोखरासम्म पु¥याउने गरेको स्वीकार्दै प्रतिलिटर ५०० सम्ममा पेट्रोल बिक्री गरेको बताए । पेट्रोलको डिमाण्ड बढि राजधानीसहित देशभर पेट्रोलको डिमाण्ड उच्च रहेको छ । सरकारले नीजि सवारी साधानलाई पेट्रोल नदिने निर्णय गरेसँगै त्यसको डिमाण्ड बढेको हो । कालोबजारीमा संलग्नहरुले पनि पेट्रोलकै ढुवानीलाई प्राथमिकतामा राख्ने गरेका छन् । दुई गुणा भन्दा बढि मुल्यमा बेच्न पाईने भएपछि पुर्वपश्चिम राजमार्ग आसपासका शहरहरुमा पेट्रोलीयम पदार्थको कालोबजारी पेशा जस्तै बनेको छ ।
असोजमा काठमाडौबाट १० लाख बाहिरिए, १३ लाख भित्रिए
काठमाडौँ, १ कात्तिक । विगत १ महिनादेखि काठमाडौं उपत्यकामा ग्यास छैन, पेट्रोल छैन, सार्वजनिक सवारीसाधन चलेका छैनन् । बजार पसलहरु बन्द छन् । तर एउटा अनौठो तथ्य सार्वजनिक भएको छ । त्यो तथ्य हो असोज महिनामा काठमाडौवाट वाहिरिने भन्दा भित्रिने यात्रुको संख्या करिब ३ लाखले बढी छ । ट्राफिक प्रहरीले दिएको यस्तो तथ्यांकले काठमाडौप्रतिको आम मानिसको सोचाइ निकै भिन्न रहेको पुष्टी गरेको छ । इन्धनको अभावले गर्दा यस वर्ष दसैँमा उपत्यकाबाट बाहिरिने यात्रु घटेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । असोज महिनाभरमा उपत्यका बाहिर गएका एक लाख ३२ हजार ९ सय ५१ सवारी साधनमा १० लाख ५५ हजार २ सय ३२ मानिस बाहिरिएका छन् । यहि समयमा उपत्यका भित्रिएका एक लाख ३१ हजार २ सय ६६ सवारीमा १३ लाख १७ हजार ३ सय ४२ यात्रु प्रवेश गरेको महाशाखाका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । ‘यस वर्ष तराईमा आन्दोलन र भारतसँगको सीमा नाकाबन्द रहेकाले उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढेको हुनसक्छ’– प्रवक्ता भट्टले भने । रासस
पुनःनिर्माणका लागि पर्यटक शुल्कमा बढाइयो
काठमाडौँ, २ कात्तिक । हनुमानढोका दरवार क्षेत्र प्रवेश गर्नको लागि पर्यटकले तिर्नुपर्ने शुल्क बढेको छ । हनुमानढोका दरबार क्षेत्र संरक्षण समितिले सम्पदा पुनःनिर्माणका लागि कोष स्थापना गर्दै शुल्क समेत बृद्धि गरेको हो । दरबार क्षेत्रमा भएका ऐतिहासिक महत्वका प्राचीन तथा सांस्कृतिक सम्पदा भूकम्पका कारण भत्किएपछि तिनको मर्मतसम्भार तथा पुनःनिर्माणका लागि कोष स्थापना गरिएको हो । समितिले दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको शुल्क कात्तिकदेखि लागू हुने गरी प्रतिपर्यटक ७ सय ५० रुपैयाँबाट वृद्धि गरी एक हजार रुपैयाँ पु¥याएको छ । समितिले दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) मुलुकभन्दा बाहिरबाट आएका पर्यटकलाई अहिलेसम्म प्रतिपर्यटक ७ सय ५० रुपैयाँ शुल्क लिँदै आएकोमा उनीहरूलाई शुल्क वृद्धि गरिएको हो । प्रत्येक टिकटबाट प्राप्त हुने २ सय ५० रुपैयाँलाई कोषमा सङ्कलन गरिनेछ । सार्क मुलुकका नागरिकलाई १ सय ५० रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएकोमा त्यसलाई अहिले यथावत् राखिएको छ । काठमाडौँ महानगरपालिकाको गत असारमा बसेको परिषद्ले शुल्क वृद्धि गर्ने निर्णय गरेकोमा त्यसलाई कार्यान्वयन गरिएको समितिका कार्यक्रम प्रमुख नरेन्द्रविलास बज्राचार्यले जानकारी दिए । अहिलेको मौसममा गत वर्ष प्रतिदिन करिब ४ सय पर्यटक आउने गरेकामा यस वर्ष पर्यटकको सङ्ख्या घटेर करिब २ सय ५० आउने गरेको समितिले जनाएको छ ।
जागिर खान धितो पत्र बोर्डमा आएको होइनः अध्यक्ष कार्की
काठमाडौं, १ कात्तिक । नेपाल धितो पत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. रेवत बहादुर कार्कीले आफु जागिर खाने उदेश्यले बोर्डमा नआएको बताएका छन् । आइतबार पदभार ग्रहण गर्दै कार्कीले जागिर खाने उदेश्यले नभएर बोर्डलाई सुधार गर्ने योजनासहित नेतृत्वमा आएको दावी गरेका हुन् । Bikashnews.com उनले बोर्डका सुधारका तत्कालिन, मध्यकालिन र दिर्घकालिन योजना आफुसँग रहेको बताउँदै केहि गरेर देखाउने प्रण समते गरे । ‘म जागिर खान धितो पत्र बोर्डमा आएको होइन, यसलाई सुधार गर्न आएको हुँ, मसँग योजना छन हेर्दै जानोस अब बोर्डमा व्यापक सुधार हुन्छ’, कार्कीले भने । बोर्डलाई प्रबिधी मैत्री बनाउनेदेखि नेप्से, लगानी कर्ता, ब्रोकरलाई समेत दक्ष र शसक्त बनाउने योजना अघि सार्ने बताए । कर्मचारी थप्ने, आन्तरिक प्रशासनमा सुधार, लगानी मैत्री स्टक मार्केटको विकास लगायतका काम गरेर सुधारलाई मुर्त रुप दिने बताए । आईपिओ जारी गर्दा लाग्ने खर्च घटाउने, नागरिक लगानी कोषलाई सस्थागत लगानी कर्ता बनाउने, ब्रोकर कमिसनलाई व्यवस्थित गर्ने तथा सेयर बजारको लगानीलाई विशिष्टीकरण गर्ने पनि बताए । ब्रोकरहरुको सहायक संस्था खोलेर बजार निर्माताको भूमिकामा स्थापित गर्ने योजना समेत उनले अघि सारेका छन् ।
नौ मन्त्रीद्धारा सपथ ग्रहण, एमाले अझै अन्यौलमा
काठमाडौँ, १ कात्तिक । राष्ट्रपति डा. रामवरण यादवले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आइतबार आयोजित विशेष समारोहमा नयाँ मन्त्रीहरुले सपथ ग्रहण गरेका हुन । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, गृह मन्त्री शक्तिबहादुर बस्नेत, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, वन तथा भूसंरक्षण मन्त्री अग्निप्रसाद सापकोटा, वाणिज्य तथा आपूर्ति गणेशमान पुन, सामान्य प्रशासन रेखा शर्मा र सिँचाइ मन्त्री उमेश यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । यस्तै, बिना विभागीय मन्त्री रामजनम चौधरी र विश्वेन्द्र पासवानले पनि पद तथा गोपनीयताको शपथ लिएका छन । शपथ ग्रहण समारोहमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, सभामुख ओनसरी घर्ती, कामु प्रधानान्यायाधीश गिरिशचन्द्र लाल, मन्त्रीगण, प्रमुख राजनीतिक दलका शीर्ष नेता, सांसदहरु, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति थियो । गत असोज २४ गते वर्तमान सरकार गठन भएयता सरकार विस्तार भएको यो दोस्रो पटक हो । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कमल थापाले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय र मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा लिइसकेका छन् । एमाले अध्यक्ष ओलीले नेतृत्व गरेको सरकारमा एमाओवादीका आठ, एमालेका तीन, मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का दुई, राप्रपा नेपालका दुई, बहुजनशक्ति पार्टीको एक र राज्य मन्त्रीमा मेघराज नेपाली निषादले समेत प्रतिनिधित्व गरिसकेका छन् । सरकारको नेतृत्व गरिरहेको एमाले भने अझै पनि मन्त्री छनौट गर्न नसकेर अन्यौलमा फसेको छ ।