विकासन्युज

सामसुङ ग्योलेक्सी नोट सेभेनलाई उडान समयमा प्रयोग गर्न प्रतिबन्ध

जाकार्ता, २६ भदौ । इन्डोनेसियाको पीटी गरुडा इन्डोनेसिया नामक प्रसिद्ध विमान सेवा प्रदायक कम्पनीले आफ्ना उडानमा सामसुङ ग्यालेक्सी सेभेन स्मार्टफोन चार्ज गर्न वा अन्य कुनै सेवा लिन प्रतिबन्ध गरेको उक्त विमान सेवाका अधिकारीले बताएका छन् । उक्त कम्पनीले यो निर्णय अमेरिकी सङ्घीय प्राधीकरण प्रशासन ९एफएए० ले मोबाइल फोनको ब्याट्रीमा प्राविधिक समस्या देखाउँदै सोही मोडेलको स्मार्टफोन प्रयोग नगर्न हवाई यात्रुलाई आग्रह गरेपछि आएको विमान कम्पनीका कर्पोरेट कम्युनिकेसन उपप्रमुख बेनी एस। बुटारबुटारले बताए । गरुडा इन्डोनेसियाले सम्पूर्ण यात्रुलाई उडानका समय मोबाइल फोन चलाउन नदिएको एफएएका सल्लाह अनुसार सामसुङ ग्यालेक्सी नोट सेभेनमा प्रतिबन्ध लगाएको एक विज्ञप्ति जारी गरी जनाएको छ । गरुडा इन्डोनेसियाले यसै सल्लाहअनुसार विमानमा यात्रामा रहँदा सामसुङ ग्यालेक्सी नोट सेभेन चलाउन वा रिचार्जसमेत नगर्न आग्रह गरेको हो । उक्त मोबाइललाई आफ्नो झोलामा राखेर उडानका समय हिँडाउन भने विमानले रोक नलगाएको बताइएको छ । रासस/सिन्ह्वा

वल्र्डलिंकले इन्टरनेट प्रोटोकल (आइपी) टिभी सुरु गर्यो, उच्च गुणस्तरको एचडी पिक्चर हेर्न सकिने

काठमाडौं : वल्र्डलिंक कम्युनिकेसन्स प्रालिले मन लागेको बेला जुनसुकै प्रसारण हेर्न पाउने सुविधासहितको इन्टरनेट  प्रोटोकल (आईपी) टिभी सेवा सुरु गरेको छ । आईपी टिभी हेर्न इन्टरनेट सर्भिस लिए पुग्छ । एउटा सेटअप बक्स लिएपछि ग्राहकले इन्टरनेटको माध्यमबाट टिभी हेर्न सक्छन् । आईपी टिभी हेर्न छुट्टै ब्याण्डविथ जरुरी हुँदैन । ग्राहकले जति स्पिडको इन्टरनेट लिए पनि उच्च गुणस्तरको हाई डिफिनिसन (एचडी) पिक्चर हेर्न पाउने छन् । ग्राहकले इन्टरनेट सर्भिसकोे शुल्कबाहेक केबल/डीटीएच टिभीलाई तिरे जतिकै अतिरिक्त शुल्कमा आईपी टिभी उपलब्ध गराउने वल्र्डलिंंक कम्युनिकेसन्सका कार्यकारी निर्देशक दिलीप अग्रवालले बताए । कम्पनीले राजधानीको भृकुटीमण्डपमा जारी क्यान कमटेकमा २ हजार रुपैयाँमा सेटअप बक्स उपलब्ध गराउँछ । ग्राहकले हरेक महिना ४ सय रुपैयाँ शुल्क तिर्नुपर्छ  ।

फ्रेञ्च कनेक्सनको सो–रुम पुल्चोकमा

काठकाडौं, २६ भदौ । फ्रेञ्च कनेक्सनको शो–रुम हालै सञ्चालनमा आएको लबिम मल पुल्चोक, ललितपुरमा यही भाद्र २४ गते एक भव्य समारोहबीच उद्घाटन गरिएको छ । उक्त सो–रुमको पञ्चकन्या ग्रुपका उपाध्यक्ष धु्रबकुमार श्रेष्ठले गरेका छन् । फ्रेञ्च कनेक्सन ब्राण्डका सामानहरु नेपालभर आधिकारिक रुपमा ज्योति ट्रेडिङले बिक्री–बितरण गर्नेछ । ब्रिटिश फेशन डिजाइनर स्टेफेन मार्कले सन् १९७२ बाट थालनी गर्नु भएको डिजाइनहरु विश्व प्रसिद्ध छन् । सो सो–रुममा स्तरीय र नया“ डिजाइनका गुणस्तरीय पोशाकहरु सुपथ मुल्यमा उपलब्ध हुने कुरा सो–रुमको सञ्चालिक ज्योति श्रेष्ठले बताइन् ।

एप्पलको नयाँ अपरेटिङ सिस्टम आइओएस १० आउँदै, यी प्रोडक्टहरुमा नयाँ भर्सन अपडेट हुँदैन

काठमाडौं, २६ भदौ। एप्पलले भदौ २८ गते मंगलबार आफ्नो नयाँ अपरेटिङ सिस्टम आइओएस १० रिलिज गर्दैछ। यो ओएस आएसँगै एप्पलका केही प्रोडक्टहरुको मिति सकिनेछ। तपाईँ त्यसलाई चलाउन त सक्नुहुन्छ तर नयाँ अपडेट गर्न सक्नुहुन्न। अर्थात् यो म्याद सकिएको उत्पादन सरह हुनेछ। आइ‌ओएस कुन कुन प्रोडक्टमा कम्प्याटिबल हुन्छ त ? आइप्याड फोर्थ जेनेरेसन आइप्याड एयर आइप्याड एयर टु आइप्याड प्रो आइप्याड मिनी २ आइप्याड मिनी ३ आइप्याड मिनी ४ आइपड टच ६ आइफोन ५ आइफोन ५ सि आइफोन ५ एस आइफोन एसई आइफोन ६/६ प्लस आइफोन ६ एस/६ एस प्ल्स आइफोन ७/७ प्लस त्यसको अर्थ अब यी प्रोडक्टको मिति सकिनेछ आइप्याड २ आइप्याड ३ जेनेरेसन आइप्याड मिनी आइफोन ४ एस आइपड टच ५ जेनेरेसन एजेन्सीको सहयोगमा

तरुण दलको महाधिवेशन असोज ३ देखि ५ सम्ममा पोखरामा, बहुमतको निर्णयमा विवाद नगर्न राणाको आग्रह

काठमाडौँ, २६ भदौ । नेपाल तरुण दलको चौँथो राष्ट्रिय महाधिवेशन आगामी असोज ३ देखि ५ सम्म पोखरामा हुने भएको छ । आईतबार पत्रकार सम्मेलन गरी तरुण दलका अध्यक्ष अध्यक्ष उदयशमशेर राणाले भदौ २१ र २२ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार महाधिवेशन गर्न लागिएको जानकारी बताए । अध्यक्ष राणाले ५५ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भैसकेकाले बाँकी जिल्लाको भदौ मसान्तसम्म सकेर अधिवेशन सम्पन्न गर्न लागेको बताए । उनले भने “अघिल्लो अधिवेशनमा ६५ जिल्लाको अधिवेशन सकिएको बेलामा पनि महाधिवेशन भएको थियो । त्यसैले मसान्तसम्म जति सकिन्छ त्यसैलाई आधार मानेर महाधिवेशनमा जान्छौँ ।” वर्तमान केन्द्रीय समितिलाई चुनाव लड्न नपाउने भनिएता पनि चुनाव लड्न पाउनुपर्ने माग निर्देशन समिति र पार्टीलाई बुझाइसकिएको उनले बताए । दलमा विवाद देखिएको बेलामा निर्वाचन सम्भव छ ? भनि सञ्चारकर्मीले सोधेको प्रश्नमा अध्यक्ष राणाले ४५ केन्द्रीय समितिमध्ये २७ जनाको निर्णयलाई आधार मानेर महाधिवेशन गर्न लागिएको बताए । निर्वाचन भएका जिल्लामा निर्वाचन गरिने तथा नभएका जिल्लालाई त्यत्तिकै छाडेर महाधिवेशनमा जाने भएको छ । सङ्गठनभित्र देखिएको विवाद मिलाउन दलले अध्यक्ष राणाको अध्यक्षतामा पाँच सदस्यीय समिति बनाएको छ । त्यस्तै, नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । ‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने नाराका साथ भदौ २९ देखि काठमाडौँमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको सङ्घले जनाएको छ ।

१२ जना सचिव सरुवा, डा स्वार्णिम वाग्ले योजना आयोगमा नियुक्त

डा स्वर्णीम वाग्ले काठमाडौं, २६ भदौ । सरकारले विभिन्न १२ मन्त्रालयका सचिवको सरुवा गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । क्षेत्रीय प्रशासक गोपीनाथ मैनालीलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ भने निर्वाचन आयोगका सचिव शारदाप्रसाद त्रिताललाई सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै, आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटालाई रक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीलाई श्रम तथा रोजगार मन्त्रालय, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव मधु रेग्मीलाई लोकसेवा आयोगमा सरुवा गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले बताए । श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णु लम्साललाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीलाई नेपाल ट्रस्टको कार्यालय, रक्षा सचिव महेशकुमार दाहाललाई युवा तथा खेलकुद मन्त्रालय, जल तथा ऊर्जा आयोगका सचिव धनबहादुर तामाङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, नेपाल ट्रस्टका सचिव भीमप्रसाद उपाध्यायलाई जल तथा ऊर्जा आयोग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईलाई आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । आजै सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जनालाई नियुक्त गरेको छ । सदस्यमा नियुक्त हुनेमा डा स्वर्णीम वाग्ले, डा प्रेम बुढाथोकी र धीरेन्द्रमान प्रधान रहेका छन् । त्यस्तै सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।केही दिन पहिले कार्यकारी निर्देशक काफ्लेले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आफ्नो पदबाट दिएका थिए ।

प्रधानमन्त्रीको सम्बोधन कार्यान्वयन गर्न अर्थसचिवको निर्देशन, बजेट कार्यान्वयनमा जोड

काठमाडौं, २६ भदै । अर्थ सचिव शान्तराज सुवेदीले अर्थ मन्त्रालय र मातहत निकायहरुको  कार्यसम्पादनलाई छिटो छरितो र प्रभावकारी बनाउन, बजेट कार्यान्वयनमा तीव्रता दिन मातहतका कर्मचारीलाइ निर्देशन दिएका छन् । उनले पूँजीगत खर्चमा उल्लेख्य वृद्धि गर्न र चालु खर्चमा मितव्ययीता कायम गरी सार्वजनिक स्रोत र साधनको कुशलता पूर्वक परिचालन गर्न, राजस्व चुहावट नियन्त्रण गरी राजस्व असुली बढाउन सबै निकायहरुसँग समन्वय र सहकार्य गरी अगाडी बढनु पर्ने मन्त्रालयका उच्च व्यवस्थापक टिमसहितको बैंठकमा बताएका छन् । साथै सो बैंठकमा सचिव सुवेदीले आन्तरिक सूचना प्रणालीलाई प्रभावकारी बनाउने, विभागीय प्रमुखहरुसँगको कार्यसम्पादन सम्झौताका परिसूचकहरुलाई बढी बस्तुनिष्ठ र यथार्थपरक बनाई भाद्र महिनाभित्र सम्झौता गर्ने र संघीय संरचना अनुसार तर्जुमा गर्नु पर्ने आवश्यक कानून शिघ्र तयार गर्ने, प्रधानमन्त्रीले व्‍यवस्थापिका संसद्‍मा गरेके सम्बोधनमा अर्थ मन्त्रालयसँग सम्बन्धित विषयहरुको कार्यान्वयन कार्ययोजना तयार गरी लागू गर्ने र विभिन्न निकायहरुबाट माग भएका थप निकासा, रकमान्तर, राय प्रतिक्रिया सम्बन्धी विषयहरुलाई समयमैं सम्वोधन गर्न समेत सबै पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । सो उच्च व्यवस्थापक टीमको बैंठकमा मन्त्रालयका महाशाखा प्रमुख र विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

फेवा विकास बैंक र गण्डकी विकास बैंकबीच मर्ज हुने, बोनस सेयरबाट २ अर्ब ५० करोड पुँजी पुर्याइदै

काठमाडौं, २६ भदौ । फेवा विकास बैंक र गण्डकी विकास बैंकबीच मर्ज हुने भएको छ । फेवा विकास बैंकका अध्यक्ष विन्दुकुमार थापा र गण्डकी विकास बैंकका अध्यक्ष पद्मप्रसाद पौडेलले शुक्रबार मर्ज सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मर्जरपछि शाखा संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो विकास बैंक हुने मर्जपछि बन्ने बैंकको नाम गण्डकी विकास बैंक लिमिटेड हुने छ । नयाँ बैंकको अध्यक्ष फेवा विकास बैंकको अध्यक्ष जगतबहादुर गुरुङ हुने छन् भने प्रमुख कार्यकारी अधिकृत फेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा हुने दुबै विकास बैंकका तर्फबाट आईतबार जारी संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । गत असार मसान्तको वित्तीय विवरणका आधारमा मर्जपछि बैंकको चुक्ता पुँजी १ अर्ब ५३ करोड हुने भएको छ । यी दुई संस्था मर्जपछि राष्ट्रिय स्तरको विकास बैंकका लागि आवश्यक २ अर्ब ५० करोड रुपैयाँ पुँजी बोनस सेयरबाट पुग्ने देखिएको छ । दुइ अाथिर्क वर्षमा यस बैंकले कम्तिमा ९७ कराेड रूपैयाँ बराबरकाे बाेनस सेयर दिने देखिएकाे छ । दुई बैंकको गत आर्थिक वर्षको खुद नाफा जोड्दा ४३ करोड रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षको नाफा समेत बोनस दिएर बैंकले न्यूनतम चुक्ता पुँजी पुर्याउने देखिएको छ । गत असार मसान्तको रिपोर्टका आधारमा मर्जपछि यस बैंकको निक्षेप १७ अर्ब २७ करोड, कर्जा लगानी १४ अर्ब ८५ करोड रुपैयाँ हुनेछ । मर्जरपछि बैंकको शाखा ५० वटा हुने, एटीएम २१ वटा हुने र ग्राहक संख्या २ लाख भन्दा बढी हुनेछ । मर्जरपछि शाखा संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो विकास बैंक हुने बैंकद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।