विकासन्युज

भिबोर बैंकमा सोसाइटी डेभलपमेन्ट गाभियो, एकिकृत कारोबार शुरु

काठमाडौं, १७ भदौ । भिबोर विकास बैंकमा सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेड गाभिएको छ । उक्त बैंक गाभिएपछि भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि.को नामबाट आजदेखि एकिकृत कारोबार शुरु गरेको छ । शुक्रबार भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जिवि नेपालले गाभिए पश्चात बन्ने बैंकको उद्घाटन गरेका थिए । गाभिए पश्चात बन्ने बैंकको केन्द्रीय कार्यालय काठमाडौंको डिल्लीबजारमा रहने छ । बैंकको संचालक समितिको सदस्यमा सुशिलराज पराजुली, अशोकराज पाण्डे, डा.रुप ज्योति, हरिप्रसाद रिमाल, राजेशकुमार अग्रवाल र प्रेमराज तिवारी नियुक्ति भएका छन् । संचालक समितिको अध्यक्षमा सुशिलराज पराजुली चयन भएका छन् । यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी झलक प्रसाद खनाललाई दिइएको बैंकले जनाएको छ । गाभिए पश्चात बनेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको चुक्ता पुँजी १ अरब ८१ करोड ५० लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ । यसैगरी गाभिए पश्चात संस्थाको कुल निक्षेप १४ अर्ब सात करोड, कर्जा ११ अर्ब एकचालिस करोड रुपैयाँ पुगेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकका अनुसार गाभिए पश्चात बैंकको ४२ वटा शाखा संजाल र एउटा एक्सटेन्सन काउन्टर तथा १२ वटा आफ्नै एटिएमबाट बैंकिङ्ग सेवा सुविधा उपलव्ध हुनेछ ।

युनाइटेड इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा श्रेष्ठ सर्वसहमतिले चयन

काठमाडौं, १७ भदौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको संचालक समितिको अध्यक्षमा विजयवहादुर श्रेष्ठ चयन भएका छन् । भदौ १५ गते बसेको कम्पनीको संचालक समितिको २६३ औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा सर्वसहमतिले चयन गरेको हो । कम्पनीको सर्वसाधरण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्दै श्रेष्ठ २०५४ साल देखि निरन्तर रुपमा कम्पनीको संचालक समिति सदस्य भै कार्य गरि रहेका छन्  । उनले दिल्ली विश्व विद्यालयबाट वित्त तथा बजार शास्त्रमा स्नातकोतर गरेका हुन् । हालसम्म कम्पनीले केन्द्रीय कार्यालय तथा २० वटा शाखा कार्यालयहरुबाट निरन्तर ग्राहकहरुलाई बीमा सेवा प्रदान गरि रहेको छ । त्यसका साथै, कम्पनीले आगामी दिनमा समेत बीमा सेवालाई अझ परिस्कृत गरि प्रविधिमा आधारित सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएललाई मर्चेन्ट बैंकिङ कारोबार गर्न अनुमति

गणेशराज पोखरेल काठमाडौं, १७ भदौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनी सिबिआईएल क्यापिटल लिमिटेडले मर्चेन्ट बैकिङ कारोबार गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार सिबिआईएल क्यापिटललाई कारोबार गर्न अनुमति प्रदान गरेको सिबिआईएल क्यापिटलका अध्यक्ष गणेशराज पोखरेलले जानकारी दिए । १० करोड रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीमा सिटिजन्स बैंक इन्टरनेशनलको ६७ प्रतिशत सेयर छ । ३३ प्रतिशत सेयर विभिन्न क्षेत्रको उद्योगी व्यवसायीहरुले लिएका छन् । नयाँ कम्पनीको अध्यक्षमा पोखरेल, सञ्चालकहरुमा आजाद श्रेष्ठ, बोधराज देवकोटा, रामधन श्रेष्ठ रहेको छन् । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समिर दाहालले समाल्ने भएका छन् । यस कम्पनीले सेयर निश्काशन तथा बिक्री प्रबन्धक, सेयरधनी रजिष्ट्रशन, म्यूचल फण्ड लगायत धितोपत्र व्यवसायी गर्न अनुमति पाएको छ । कम्पनीले म्यूचल फण्ड निश्काशन गर्ने लक्ष्यका साथ काम शुरु गरिसकेको पोखरेलले जानकारी दिए ।

अरनिको डेभलपमेन्ट बैंकको ३६ प्रतिशत हकप्रद वितरण गर्ने निर्णय पारित

काठमाडौं, १७ भदौ । नेपाल धितोपत्र बोर्डले अरनिको डेभलपमेन्ट बैंकको हकप्रद सेयर वितरण गर्ने निर्णय पारित गरेको छ । बैंकले ३६ प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ । हाल बैंकको चुक्ता पूँजी २४ करोड २५ लाख रुपैयाँ रहेको छ । साथै, शुक्रबार बैंकको सेयर मूल्य प्रति कित्ता ४६२ रुपैयाँ रहेको छ ।

गुहेश्वरी मर्चेन्ट बैंकले ५० प्रतिशत हकप्रद वितरण गर्दै, १९ गते बुक क्लोज

काठमाडौं, १७ भदौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सले हकप्रद सेयर वितरण गर्ने भएको छ । बैंकले ५० प्रतिशत हकप्रद सेयर वितरण गर्नको लागि भदौ १९ गते बुक क्लोज गर्न लागेको छ । हाल बैंकको चुक्ता पूँजी २९ करोड ३७ लाख रुपैयाँ रहेको छ । शुक्रबार बैंकको सेयर मूल्य प्रतिकित्ता ४४७ रुपैयाँ रहेको छ ।

सहयोगी विकास बैंकले २२ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, १७ भदौ । सहयोगी विकास बैंकले सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैंठकको निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।

सुधार गरेर रुग्ण उद्योग चलाउने उद्योग मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं, १७ भदौ । उद्योग मन्त्री नवीन्द्रराज जोशीले रुग्ण उद्योगहरुको स्थलगत अध्ययन गरेर सुधार गर्ने बताएका छन् । बिहीबार व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्धन समितिको बैठकमा बोल्दै मन्त्री जोशीले रुग्ण उद्योगहरुलाई सुधार गरेर पुनःसञ्चालनमा ल्याउन सकिने भन्दै त्यसका लागि मन्त्रालयले आवश्यक कदम चाल्ने बताए । उनले औद्योगिकीकरण नै मुलुकको आर्थिक समृद्धिको बाटो रहेको बताउँदै उद्योग मन्त्रालयले त्यसका लागि क्रियाशीलता बढाउने स्पष्ट पारे । ‘उद्योग मन्त्रालयको जिम्मेवारी नै उद्योगधन्दाको विकास र विस्तारमार्फत आर्थिक समृद्धि हासिल गर्नु हो ।’, मन्त्री जोशीले भने । उनले औद्योगिक विकासका लागि अघिल्ला सरकारले गरेका सकरात्मक कामहरुले फेरि पनि निरन्तरता पाउने भन्दै संसदीय समितिसँग सहकार्य गरेरै मन्त्रालय अघि बढ्ने बताए । बैठकमा बोल्दै मन्त्री जोशीले उद्योग सम्बन्धी नियम कानुन आवश्यकता अनुसार परिमार्जन गरिने स्पष्ट पारेका छन् । ‘उद्योग सँग सम्बन्धित कानुन निर्माण, परिमार्जन र बाँझिएका कानुन सुधारनका लागि सम्बन्धित मन्त्रालय र समितिसंग सहकार्य गरेर अघि बढ्छौं ।’, मन्त्री जोशीले बताए । बैठकमा समितिका सभापति भीष्म आङदाम्बेले मन्त्री जोशीलाई सफल कार्यकालको शुभकामना दिदैं उद्योगको विकासका लागि मन्त्रालयले गर्ने हरेक काम कारबाहीमा समितिको सदैव सहयोग रहने बताएका छन् । बैठकमा उद्योग सचिव शङ्करप्रसाद कोइरालाले लगानीमैत्री वातावरण बनाएर औद्यौगिकीकरणमार्फत मुलुक समृद्धि बनाउने अभियानमा मन्त्रालयले लागेको बताउँदै परिवर्तन र सुशासनको अनुभूति गराउने गरी काम गर्ने बताए । बैठकमा धारणा राख्ने अधिकांश सांसदहरुले औद्योगिक विकास, लगानीमैत्री वातावरण र मौलिक उद्योग स्थापनामा जोड दिनुपर्ने बताएका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनलको बोनस विवादमा

काठमाडौं, १७ भदौ । सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीलाई दिने भनेको लाभांश विवादमा परेको छ । बैंकको संचालक समितिले प्रस्ताव गरेको २४ दशमलब ४९ प्रतिशत बोनस सेयर विवादमा परेको हो । गत १३ भदौमा बसेको संचालक समितिले सो बोनस सेयर दिने प्रस्ताव गरेको थियो । तर गत आर्थिक बर्षको अन्त्यमा निस्कासन गरिएको हकप्रदलाई बोनस नदिने संचालक समितिको निर्णयको कारण विवाद उत्पन्न भएको छ । धितोपत्र वोर्डमा यस सम्बन्धमा एक पटक छलफल भइसकेको छ । यस्तो छलफलमा साधारणसभा प्रयोजनको लागि हुने बुकक्लोज भन्दा अगाडिका सेयरधनीले लाभांश पाउने स्थापित मान्यता विपरित बोनस सेयर घोषणाको प्रस्ताव गरिएकोले त्यस्तो प्रस्ताव स्वीकार गर्न नसकिने बोर्डका पदाधिकारीले निष्कर्ष निकालेका छन् । ‘बुकक्लोजको मितिभन्दा अगाडि कायम रहेका सेयरधनीले लाभांश पाउछन्, अहिलेसम्मको अभ्यास र ब्यवस्था पनि यही नै हो,’ बोर्डका प्रवक्ता निरज गिरीले भने । बैंक संचालक समितिले भने हकप्रद सेयर निस्कासन भन्दा अगाडि कायम रहेको चुक्ता पूजीका आधारमा बोनस वितरण गर्ने निर्णय गरेको छ । बैंक संचालक समितिले यो समयसम्मका सेयरधनीले लाभांश दिने र यसपछिकालाई नदिनेभन्दै मिति तोक्ने गर्ने हो भने साधारणसभा प्रयोजनको लागि बुकक्लोज गरिरहनुको औचित्य नहुने बोर्डका अधिकारीहरुको भनाइ छ । बैंकले १३ भदौमा संचारमाध्यमहरुलाई पठाएको प्रेस विज्ञप्तिमा ‘भदौ १३ गते बसेको संचालक समितिको २१४ औं बैठकको निर्णय बमोजिम आ.व २०७२/७३ को वितरण योग्य मुनाफाबाट २०७३ आषाढ मसान्तको चुक्ता पूँजी ३ अर्ब ६ करोड ५२ लाख ३३ हजार ८१७ रुपैयाँको २४.४९ प्रतिशतले हुने ७५ करोड ०६ लाख ७५ हजार ७६२ रुपैयाँ बराबरको बोनस शेयर र सोमा लाग्ने करको लागि १.२९ प्रतिशतले ३ करोड ९५ लाख ०९ हजार २५१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ’  भन्ने उल्लेख गरिएको छ । तर बैंकले प्रकाशित गरेको गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणमा चुक्ता पूजीको अंक नै फरक छ । बैंकले प्रकाशित गरेको विवरणमा गत असार मसान्तसम्ममा बैंकको चुक्ता पूजी ३ अर्ब ६५ करोड ६ लाख ४० हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ । बैंकले गत साउन ४ गतेसम्म हकप्रद सेयर भर्ने म्याद दिएको थियो । बैंकले निस्कासन गरेको मध्ये करिब ७ करोड रुपैयाँ बराबको हकप्रद विक्री नभएर लिलामी प्रक्रियावाट विक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ ।