शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगले गर्यो चासो व्यक्त
काठमाडौं । शान्ति प्रक्रियाको १९ वर्ष पुग्दा समेत सरकारले द्वन्द्वकालीन न्याय प्रक्रिया प्रभावकारी ढंगले अघि नबढाएको राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ । विस्तृत शान्ति सम्झौताको १९ वर्ष पुगेको अवसरमा आयोगले शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चासो र चिन्ता व्यक्त गरेको हो । आयोगले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई सक्षम र पीडितमुखी नबनाइएकाले संक्रमणकालीन न्याय प्रक्रिया थप जटिल बन्दै गएको समेत जनाएको छ । आयोगले हाल प्रतिनिधिसभामा पुगेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा पीडितले उठाएका विषय पर्याप्तरूपमा सम्बोधन नगरिएको उल्लेख गर्दै संशोधनमार्फत अन्तर्राष्ट्रिय मान्यता, सर्वोच्च अदालतका आदेश तथा सत्यनिष्ठ प्रक्रियाका आधारहरू सुनिश्चित गर्न आग्रह समेत गरेको छ । कार्यक्रममा बोल्दै मानवअधिकार अधिकृत खिमानन्द बस्यालले आयोगले जिल्लास्तरमा आयोजना गरेका कार्यक्रमहरूमा पीडितहरूले अझै पनि शरीरमा युद्धकालीन चोटपटक र गोलीका छर्रा रहेको गम्भीर पीडा सार्वजनिक गरेको बताए । उनका अनुसार पीडितहरुले राज्यबाट कुनैपनि उपचार, राहत वा सहयोग नगरेको समेत गुनासो गरेका छन् । द्वन्द्वपीडितहरूले आफूहरूले त्याग र बलिदानकै जगमा राज्य व्यवस्था चलेको भएपनि आफ्नो मागलाई राज्यले गम्भीर रुपमा नलिएको भन्दै आक्रोश पोखेको बस्यालको भनाइ छ । पीडितहरूको गुनासा तथा मागहरूलाई तत्काल सम्बोधन गर्न आयोगले सरकारको ध्यानाकर्षण समेत गराए ।
सहकारी पीडितहरू फेरि धर्नामा
काठमाडौं । न्यायको खोजी गर्दै आएका सहकारी पीडितहरूले सहकारी विभागको कार्यालयमा धर्ना दिएका छन्। शुक्रवार पीडितहरूले आफूहरुको बचत रकम तत्काल फिर्ता दिन सरकारसँग माग गर्दै काठमाडौंको बुद्धनगरस्थित सो विभागको कार्यालयमा धर्ना दिएका हुन् । सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि उनीहरू आक्रोशित हुँदै आएका छन् । धर्नाका क्रममा उनीहरुले आफूहरूको बचत रकम तत्काल फिर्ता गर, जनतानमा मार्नु पाईदैन गर्नुपर्नेलगायतका नारा लगाएका छन् । धर्नाका क्रममा उनीहरुले सबै पीडितहरूलाई एकतावद्ध हुन पनि आग्रह गरेका छन् ।
बबरमहलमा एमाले युवाहरूको मार्चपास, अध्यक्ष ओलीले आजै नेशनल भोलेन्टियर फोर्सको घोषणा गर्ने
काठमाडौं । नेकपा एमाले निकट नेशनल भोलेन्टियर फोर्सले शुक्रबार राजधानीको बबरमहल क्षेत्रमा शक्ति प्रदर्शनसहित मार्चपास गरेको छ । फोर्स एमाले समर्थित युवासंघ नेपालको नयाँ संरचना हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै एक विशेष समारोहकाबिच फोर्सको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको एमाले नेताहले बताएका छन् । कार्यक्रममा पार्टीका विभिन्न तहका कार्यकर्ता, युवाहरू तथा स्वयंसेवी संरचनामा जोडिन उत्सुक सहभागीहरूको उपस्थिति उल्लेखनीय रहेको एमालेले जनाएको छ । पार्टीले यो फोर्सलाई सामाजिक सेवा, विपद् व्यवस्थापन तथा संगठनात्मक गतिशीलता बढाउने उद्देश्यसहित अघि सारेको बताएको छ ।
सरकार स्वामित्वका १० निकायका कोषमा मात्रै ४० अर्बभन्दा बढी रकम
काठमाडौं । सरकारी निकायहरूका १० वटा कोषमा मात्रै ४० अर्बभन्दा बढी रकम मौज्दात रहेको पाइएको छ । हालै सरकारले गराएको एक अध्ययनअनुसार सार्वजनिक संस्था/निकायहरूमध्ये १० वटा निकायहरूले उपदान, निवृत्तभरण, अवकाश सुरक्षण रकम, औषधि उपचार खर्च प्रयोजनका लागि भन्दै कोष खडा गरेर अर्बौं रकम राखेका छन् । विनियमावलीअनुसार उनीहरूले कर्मचारीले पाउने रकम भुक्तानी गर्न कोष खडा गरी आफैले व्यवस्थापन गरेको प्रतिवेदनमा उल्लेख छ । आफैले व्यवस्थापन गर्दा उक्त रकम अन्य प्रयोजनमा समेत खर्च हुने र अवकाश दायित्व भुक्तानी गर्ने समयमा समस्या आउने अवस्था आएको प्रतिवेदनमा छ । १० वटा कोषमध्ये राष्ट्रिय वाणिज्य बैकसँग मात्रै २५ अर्ब ७१ करोड रुपैयाँ छ भने सरकारकै लगानी रहेको कृषि विकास बैंकसँग उक्त कोषमा १२ अर्ब २० करोड रहेको छ । अर्को नेपाल वायुसेवा निगमसँग त्यस्तो कोषमा ६१ करोड रहेको छ भने सार्वजनिक सेवा प्रशारण नेपालसँग अवकाश तथा उपदान कोषमा ४२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोषमा ३८ करोड, नेपाल पर्यटन बोर्ड ३५ करोड रुपैयाँ छ भने नेपाल धितोपत्र बोर्डसँग त्यस्तो कोषमा १८ करोड भन्दा बढी रकम मौज्दात रहेको छ । त्यस्तै, नेपाल खानेपानी संस्थानसँग १२ करोड, जडिबुटी तथा प्रशोधन कम्पनी लिमिटेडसँग ७ करोड छ भने काठमाडौं उपत्यका खानेपानी बोर्डसँग त्यस्तो कोषमा ३ करोड भन्दा बढी रकम रहेको भेटिएको छ । यो रकम कर्मचारीको अवकाशदेखि उपचारसम्ममा खर्च हुँदै आएको छ । कर्मचारीले पाउने सेवा सुविधाबाट केही रकम काटिन्छ भने सरकार स्वयंले समेत यस्ता कोषमा रकम लगानी गर्ने गरेको छ ।
मुख्यसचिव र सचिवमा अर्याल बन्धुको सम्भावना, यी हुन् प्रतिस्पर्धी
काठमाडौं । मंसिर महिनामा सरकारी उच्च प्रशासन संरचनामा फेरबदल हुँदैछ । मुख्यसचिव एकनारायण अर्याल र राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी अनिवार्य अवकाशमा जाने भएपछि प्रशासन सेवामा दुई नयाँ सचिवका लागि बाटो खुलेको छ । मुख्यसचिव अर्याल मंसिर १० गते सेवा अवधि पूरा गरी अवकाशमा जाँदैछन् । सोही दिन पाँचवर्षे सेवा अवधि पूरा हुने सचिव दुवाडी पनि अनिवार्य अवकाशमा जानेछन् । दुवाडी जेनजी आन्दोलनको क्रममा गृह सचिव रहेका थिए । आन्दोलनमा बल प्रयोग भएको मुद्दा टुंगो नलागेकै कारण उनलाई सचिव पदमै एक्जिट गराउने तयारी सरकारले अघि बढाएको बताइएको छ । सुमनराज अर्यालको सम्भावना उच्च मुख्य सचिव एकनारायण अर्याल अवकाशमा गएपछि वरिष्ठताका आधारमा रक्षासचिव सुमनराज अर्याल मुख्य सचिव बन्ने प्रबल सम्भावना रहेको मन्त्रिपरिषद् कार्यालय स्रोतको दाबी छ । वरिष्ठताको सूचीमा उनी पहिलो नम्बरमा रहेको स्रोतले बताएको छ । यदि सुमनराज अर्याल मुख्यसचिव बने भने प्रशासन सेवातर्फ सचिवका दुई पद रिक्त हुनेछन् । सचिव सिफारिसका लागि ३ सहसचिव प्रतिस्पर्धामा मुख्यसचिवसहित दुई सचिवको अवकाश भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ जना वरिष्ठ सहसचिवको नाम सिफारिस गर्न सक्ने व्यवस्था छ । मन्त्रालय स्रोतका अनुसार मुख्य सचिवमा सुमनराज अर्यालको पदोन्नति भएमा कामु सचिव बैकुण्ठ अर्याल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत वरिष्ठ सहसचिव राजेन्द्र पौडेल सचिवमा पदोन्नति हुने सम्भावना बलियो रहेको स्रोतको दाबी छ । सचिवको दौडमा श्रम विभागका महानिर्देशक कमल भट्टराई पनि रहेका छन् । स्रोतका अनुसार भट्टराई आगामी लटमा पक्का उम्मेदवार देखिए पनि यस पटक उनको सम्भावना तुलनात्मक रूपमा कम रहेको छ ।
एकै दिनमा ६ प्रतिशत ! क्रिप्टोकरेन्सी बजारमा वर्षकै सबैभन्दा ठूलो गिरावट
काठमाडौं । पछिल्लो २४ घण्टामा क्रिप्टोकरेन्सीको दुनियाँमा हलचल मच्चिएको छ । क्रिप्टो मार्केट क्याप ६ प्रतिशतभन्दा धेरै घटेर ३ लाख करोड डलरभन्दा तल झरेको छ । बिटकोइन र इथेरियमसहित संसारका ठूला क्रिप्टोमा जबरजस्त गिरावट आएको छ । क्रिप्टोमा यो गिरावट केही दिनदेखि नै जारी छ । तर लामो समयपछि २४ घण्टामा यति ठूलो गिरावट देखिएको हो । कोइन मार्केटक्यापका अनुसार बिहीबार बिहान ९ः३० बजे क्रिप्टोकरेन्सीको मार्केट क्याप ३.१४ लाख करोड डलर थियो । आज बिहान ९ः३० बजे यो घटेर २.९५ लाख करोड डलर भएको छ । यसरी २४ घण्टामा ६ प्रतिशतभन्दा बढी गिरावट आएको छ । क्रिप्टोको ‘फियर एण्ड ग्रीड इन्डेक्स’ ११ मा झरेको छ, जसले बजारमा डरको माहोल रहेको संकेत गर्छ । यसको मतलब लगानीकर्ताहरू क्रिप्टोकरेन्सी बेचिरहेका छन् । यो इन्डेक्स शून्यदेखि १०० सम्म हुन्छ । इन्डेक्स शून्य नजिक जति हुन्छ, बजारमा डर त्यति नै धेरै भएको मानिन्छ । ठूला क्रिप्टोमा ठूलो गिरावट पछिल्लो २४ घण्टा बिटकोइनसहित धेरै ठूला क्रिप्टोका लागि निकै खराब रहेको रह्यो । यिनमा ७ प्रतिशतभन्दा बढी गिरावट आएको छ । यो ९० हजार डलरभन्दा धेरै तल झरेको छ । बिहीबार बिहान ९ः३० बजे बिटकोइन ७.१७ प्रतिशत गिरावटसहित ८५ हजार ७५० डलरमा कारोबार भइरहेको थियो । त्यस्तै, पछिल्ला ७ दिनमा बिटकोइन १३ प्रतिशतभन्दा बढी गिरावट आएको छ । इथेरियम, रिपल, सोलाना, कार्डानो आदिमा पनि २४ घण्टामा ७ प्रतिशतभन्दा बढी गिरावट आइसकेको छ । बिहान ९ः३० बजे इथेरियम ७.५३ प्रतिशत गिरावटसहित २ हजार ७९९ डलर, रिपल ७ प्रतिशत गिरावटसहित १.९७ डलर, सोलाना ७.२८ प्रतिशत गिरावटसहित करिब १३२ डलर र कार्डानो ७.८७ प्रतिशत गिरावटसहित ०.४२ डलरमा कारोबार भइरहेका थिए । कोइन मार्केट क्यापका अनुसार टप १०० सबै क्रिप्टो रातो संकेतमा कारोबार भइरहेका छन् अर्थात् सबै घाटामा छन् । धेरै क्रिप्टोमा २४ घण्टामै १० प्रतिशतभन्दा धेरै यहाँसम्म कि करिब २० प्रतिशतसम्म गिरावट आएको छ । टनकोइन, क्यान्टन, नियर प्रोटोकल, स्टार्कनेट, ड्यास, स्टोरी, मोर्फो, एमवाईएक्स फाइनान्स आदि यिनमध्ये परेका छन् । क्रिप्टो करेन्सीमा किन गिरावट ? डिजिटल मुद्रामा ठूलो गिरावट आउँदा बजार मूल्य अरबौं डलरले खुम्चिएको छ । बजार विश्लेषकहरू अमेरिकी फेडरल रिजर्भले निकट भविष्यमा ब्याजदर घटाउने सम्भावना न्यून देखिएको हुँदा जोखिमयुक्त सम्पत्तिमा लगानीकर्ता पछाडि हट्न थालेको बताउँछन् । यससँगै बजारमा ठूलो मात्रामा लिइएका उधारो पोजिसन (लेभरेज ट्रेड) मूल्य घटेपछि जबरजस्ती बन्द (लिक्विडेसन) हुन थालेका छन् । लेभरेज ट्रेड भनेको सानो पूँजी प्रयोग गरेर धेरै ठूलो रकमजस्तै प्रभाव पार्नेगरी गरिएको ट्रेड हो । लेभरेजले ट्रेडरलाई ब्रोकर वा एक्सचेन्जबाट धितो पूँजी लिएर आफ्नो वास्तविक लगानीभन्दा धेरै गुणा ठूलो पोजिशन लिन अनुमति दिन्छ । उदाहरणका लागि यदि तपाईंले १०० डलर लगानी गर्नुभयो र दशौं गुणा लेभरेज प्रयोग गर्नुभयो भने तपाईंले १०० को नभई १ हजार डलर बराबरको ट्रेड गर्न सक्नुहुन्छ । ट्रेड एक्सचेन्ज स्रोतहरूका अनुसार एकै दिनमा लाखौं डलरका पोजिसनहरू लिक्विडेट भएका छन् । विश्लेषकहरूका अनुसार पछिल्लो महिना देखिएको मूल्यवृद्धिबाट धेरै लगानीकर्ताले नाफा सुरक्षित गर्न बिक्री बढाएपछि बजारको उत्साह पनि कमजोर भएको छ । यसले मनोवैज्ञानिक असर घटाउँदै प्यानिक सेलिङ (सोच, विचारबिना, मूल्य घट्दै जाँदा पनि तुरुन्तै आफ्नो सम्पत्ति बेच्ने) को वातावरण बनाएको छ । प्राविधिक कारणले पनि बजार झनै कमजोर बनेको बताइन्छ । बिटक्वाइनले महत्त्वपूर्ण समर्थनस्तर (सपोर्ट लेभल) भत्काएपछि स्वचालित बिक्री अर्डरहरू सक्रिय भएर अर्को श्रृंखलाबद्ध गिरावट सुरु भएको हो । बजारमा तरलता (लिक्विडिटी) कमी देखिनाले ठूला विक्रेताहरूको कारोबारले समेत मूल्य माथि टिक्न नदिएको विश्लेषण छ । सबै क्रिप्टो डुब्दा जीक्यास चम्कियो, २ महिनामा १२०० प्रतिशतभन्दा बढी रिटर्न इन्डोप्यासिफिक क्षेत्रमा प्रभाव बढाउने दौडमा रूस, भारतसँग समुद्री व्यापार बढाउन पहल
थापाथली-टेकु दोभानका सम्पदाको संरक्षणमा गुठी संस्थानसँग काठमाडौं महानगर सहकार्य गर्न तयार
काठमाडौं । सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले थापाथली टेकु दोभानसम्मका सम्पदाहरुको संरक्षण, सम्बर्धन, रेखदेख तथा उचित प्रबन्ध गर्न गुठी संस्थानसँग सहकार्य गर्न लागिएको बताएका छन् । बिहीबार समितिको बैठकमा गुठी संस्थानका अधिकारीहरूसँगको छलफलमा उनले परम्पराको निरन्तरता र भौतिक सांस्कृतिक सम्पदाको बचावटलाई नतिजा मानेर काम गरिने बताए । २०७२ सालको भूकम्पबाट क्षति भएका सम्पदाहरूको पुनःनिर्माण सकेर गुठी संस्थानमा हस्तान्तरण भइसकेका सम्पत्तिको दिगो व्यवस्थापनबाट यस क्षेत्रलाई सांस्कृतिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आपसी सहयोग, समन्वय र सहकार्यका लागि सम्झौता गरिने संगतको भनाइ छ । काठमाडौं महानगरपालिकाले सहरको प्राचीनता, इतिहास र संस्कृतिसँग जोडिएका पक्षको संरक्षण गर्ने कामलाई ठोस आकार प्रदान गर्न लागेको लागेकोमा उनले खुसी व्यक्त गरे । हाल दुई पक्षका दायित्वका विषयमा छलफल भइरहेको छ । प्रारम्भिक मस्यौदा तयार भएको र यसमा आपसी पृष्ठपोषणपछि निर्णय प्रक्रियामा लैजाने तयारी भएको समितिका सदस्य सचिव एवं सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिए । भूकम्पले भत्किएका तथा जीर्ण भएका सम्पदामध्ये थापाथली टेकु दोभान नदी किनाराका सम्पदाहरूको ३ चरणमा पुनःनिर्माण गरिएको काठमाडौं महानगरले जनाएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहायताबाट अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी सुधार परियोजना कार्यान्वयन गरिएको परियोजनामा जीर्ण सम्पदाको पुनःनिर्माण, सवलीकरण (रेक्टोफिटिङ), मर्मत सम्भार तथा सौन्दर्य वृद्धि गरिएको छ । यसमा लागतको ५० प्रतिशत नेपाल सरकारले बेहोरेको छ । बाँकी ५० प्रतिशत एडीबीको ऋण सहयोग हो । यसअन्तर्गत पहिलो चरणमा ११ वटा र दोस्रो चरणमा १३ वटा संरचना पुनःनिर्माण सकेर गुठी संस्थानलाई हस्तान्तरण भइसकेका छन् । परियोजनाको पहिलो चरणमा ३८ करोड ८२ लाख ६२ हजार १७६ रुपियाँ लागतमा पुनःनिर्माण गरिएको हो । यसबाट मानन्धर सत्तल, मुन्सी घाट सत्तल, पञ्चनारी घाट निजी गुठी हुन् । शिव मन्दिर, लक्ष्मेश्वर मन्दिर, लक्ष्मेश्वर सत्तल, पुजारी सत्तल, राजभण्डारी सत्तल, पुरोहित घाट सत्तल, वेस्ट सत्तलको पुनःनिर्माण भएको हो । दोस्रो चरणमा ४८ करोड ६४ लाख १६ हजार १९२ रुपियाँ लागतमा १३ वटा सम्पदा संरचना पुनःनिर्माण सम्पन्न भएका हुन् । यीमध्ये माथेमा सत्तल निजी गुठी हो । अहिलेसम्म यसका गुठीयार सम्पर्कमा आएका छैनन् । त्रिपुरेश्वरमा रहेको धर्मशाला नेपाल प्रहरीले प्रयोग गरिरहेको छ । तीन देवल मन्दिर, नारायण सत्तल, शिव मन्दिर, सीताराम मन्दिर, हनुमान सत्तलको सवलीकरण भइसकेको छ । बम बिकटेश्वर परिसरको सीमा पर्खाल लगाइएको छ । यसकै प्रवेश द्वार, चौघेरा सत्तल, पञ्चलिङ्गेश्वर मन्दिर, कृष्ण शुभद्रा मन्दिर, शिव मन्दिर सवलीकरण भइसकेका छन् । तेस्रो चरणको काम ४५ करोड १३ लाख १२ हजार २८५ रुपियाँ लागतको हो । यस चरणमा कालमोचन घाट सत्तल, बैरागी सत्तल, उदासी सत्तल र सन्यासी सत्तल पुननिर्माण भएको हो । २ किलोमिटर दुरीभित्र फैलिएको यो स्थानले महानगरका वडा नं। ११ र १२ गरी २ वटा वडा समेट्छ । यहाँ सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्त्वका प्राचीन सम्पदा छन् । यी भकारी, अखडा, मन्दिर, घाट, देवलका चाखलाग्दा पक्ष कलाकारिता, सभ्यताहरु पर्यटन प्रवर्धनका लागि अमूल्य पूर्वाधार हुन् । यी मूर्त सम्पदाहरुको कुनै न कुनै रुपमा सामाजिक जीवनका चालचलन, रीतिथिति र परम्परासँग सम्बन्धित छन् । सम्पदाहरुको इतिहास, धर्म, संस्कृति र सामाजिक जीवनसँग सम्बन्धित कथा छन् । मानव निर्मित प्राचीन भौतिक संरचना, तिनको बनावट र महत्वसँग प्राकृतिक सम्पदाको निकट सम्बन्ध भएको ठाउँ हो, यो । प्रमाणित तथ्य र प्रामाणिक अभिलेख नभएका सम्पदासँग जनश्रुति र कथनसँग सम्बन्धित कथा छन्।
सुपर मादी हाइड्रोपावरको ५.२६ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशतका दरले ११ करोड २ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ५८ लाख २ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत अर्थात् ११ करोड ६० लाख ५२ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी १६औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव निश्चल खरेलले जानकारी दिए ।