उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भाग तथा अन्य प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति तराई भू-भागका केही स्थानमा तुवाँलो रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालन लगायत दैनिक गतिविधि सावधानी पूर्वक गर्न सबैलाई अनुरोध गरेको छ ।
राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन सहकार्य जरुरी: अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकार भएका निकायहरूले आपसी समन्वय र सहकार्य गर्दै एकीकृत रूपमा कार्य गर्नुपर्नेमा जोड दिएका छन् । प्रहरी प्रधान कार्यालयमा केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले राजस्व चुहावट नियन्त्रणमा प्रणालीगत सुधारका लागि गरिएका प्रयासलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैजानुपर्ने बताए । अर्थमन्त्री खनालले राज्यका सबै निकायले आफ्नो क्षेत्राधिकारअनुसार राजश्व चुहावट नियन्त्रण र राजश्व वृद्धिमा भूमिका खेल्न आग्रह गरे । समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राजस्व चुहावट नियन्त्रण केवल आर्थिक विषय मात्र नभई राष्ट्रिय सुरक्षा, सुशासन र समृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यसको नियन्त्रणमा नेपाल प्रहरीले आफ्नो संस्थागत क्षमताअनुरूप सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको बताए । प्रविधि, जनशक्ति, कानुनी सुदृढीकरण र अन्तर निकाय समन्वयमा रणनीतिक सहयोग प्राप्त भएमा राजस्व चुहावट नियन्त्रणमा दीर्घकालीन र प्रभावकारी परिणाम हासिल गर्न सकिने उनले उल्लेख गरे । प्रहरी नायब महानिरीक्षक विश्व अधिकारीले राजस्व चुहावट तथा तस्करी नियन्त्रणमा नेपाल प्रहरीको भूमिकासम्बन्धी र अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले राजस्व परिचालन र चुहावटसम्बन्धी विविध विषयमा प्रस्तुतीकरण गरे । बैठकमा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं जिल्ला प्रहरी कार्यालय मोरङ, बारा, चितवन, बाँके र कैलालीका प्रमुखहरूसँग राजस्व चुहावट तथा तस्करी नियन्त्रणका सम्बन्धमा गरिएका प्रयासहरूका बारेमा भर्चुअल माध्यमद्वारा छलफल गरिएको थियो ।
स्वतन्त्रलाई सहयोग गरेको भन्दै २ पालिका प्रमुख र १ उपप्रमुखलाई जसपा नेपालको कारबाही
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले महोत्तरीका दुई पालिका प्रमुख र एक उपप्रमुखलाई कारबाही गरेको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर-३ मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै जसपाले जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव र उपाध्यक्ष बन्दना पाण्डेलाई पार्टीबाट निष्काशन गरेको हो । पार्टीका जिल्ला अध्यक्ष रामनरेश रायले एक विज्ञप्ति जारी गर्दै पार्टीको हितविपरीत अनुशासन र विधान विपरीत कार्य गरेको आरोपमा उनीहरूसहित १५ जना नेता कार्यकर्तालाई कारबाही गरिएको जानकारी दिए । यसैगरी पार्टीका केन्द्रीय सदस्य श्याम यादव, हरिनारायण मण्डल र प्रदेश सदस्य बन्दना पाण्डेलाई केन्द्र र प्रदेशमा निष्काशनको लागि सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ । जसपा नेपालको महोत्तरी-३ मा मिनाक्षी ठाकुरलाई उम्मेदवार बनाएको छ, तर उनीहरूले पार्टीकै बागी एवं स्वतन्त्र उम्मेदवार हरिनारायण यादवलाई सहयोग गरिरहेका छन् ।
मिथिला माध्यमिकी परिक्रमा: कञ्चनवन पुगेर होली खेलियो
काठमाडौं । मिथिलाको महाकुम्भ मिथिला माध्यमिक परिक्रमा अन्तर्गत सोमबार श्रद्धालु महोत्तरीको कञ्चनवन पुगेर रङ-अबिर साटासाट गर्दै हर्षोल्लासका साथ होली मनाएका छन् । कञ्चन वन पुगेर परिक्रमामा सहभागी श्रद्धालु तथा साधुसन्तले प्रत्येक वर्ष होली खेल्ने गर्छन् । सोही परम्पराअनुसार यस वर्ष पनि परिक्रमा विश्रामका क्रममा होली खेलेका हुन् । मिथिला विहारीको डोलासहित कञ्चनवन पुगेका श्रद्धालुहरूले एकअर्कालाई रङ अबिर दल्दै उल्लासपूर्वक होली पर्व मनाएका हुन् । मिथिलामा कञ्चनवनमा होली खेलेसँग होलीको सुरुआत भएको छ । ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा सोमबार महोत्तरीको भङ्गाहा नगरपालिका-९ हरिनमरीस्थित कञ्चनवन पुगेर होली मनाएका छन् । कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भङ्गाहा नगरपालिकाले भव्य स्वागत गरिएको थियो । नगर प्रमुख सञ्जीव साहले परिक्रमामा सहभागी भएकालाई स्वागतका लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको र पुवा, खीर, सर्वत, अबिर, फूलमालाको व्यवस्थासहित होली मिलन समारोह र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको बताए । स्थानीय मठमन्दिरका महन्थ, विभिन्न सामाजिक तथा सांस्कृतिक अभियन्ताका साथै राजनीतिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूको उल्लेख्य सहभागिताले कञ्चनवनको होलीलाई विशेष बनाउने गरिएको उहाँले उल्लेख गरे । धार्मिक आस्था र सांस्कृतिक एकताको प्रतीकका रूपमा होली वर्षेनि थप व्यवस्थित हुँदै गएको स्थानीय बताउँछन् । यस वर्ष यस अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले समेत सहभागिता जनाएका थिए । कञ्चनवनमा त्रेतायुगमा भगवान राम र सीताले रङ अबिर खोलेर होली मनाएको धार्मिक विश्वास रहिआएको नगरप्रमुख साहले जानकारी दिए । उनका अनुसार धनुषाको कचुरीस्थित मिथिला विहारी मन्दिरबाट सुरु भएको परिक्रमा आठौँ दिन कञ्चनवन पुगेर होली खेल्ने र रात्रि विश्राम गर्ने परम्परा छ । यही फागुन ४ गतेदेखि सुरु भएको मिथिलाञ्चलका महाकुम्भ मानिने सांस्कृतिक उत्सव तथा संसारकै लामो धार्मिक पदयात्राका रूपमा रहेको मिथिला माध्यमिकी परिक्रमा यसअघि हनुमानगढीबाट कल्याणेश्वर, भारतको गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई हुँदै ध्रुवकुण्ड पुगेका थिए । प्राचीन मिथिलाको राजधानी जनकपुर धामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माताजानकी र मिथिला विहारी नगरपालिकाको कचुरी मठबाट मिथिला विहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा धार्मिक झाँकी भजन, कीर्तनसहित परिक्रमाको डोलासहित जनकपुरधामबाट सुरु भएको मिथिला परिक्रमा विधिवत् रूपमा १५ दिने यात्रा तय गरिरहेका नगर प्रमुख साहले जानकारी दिए । कञ्चनवनपश्चात् पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्र र फागु पूर्णिमाको जनकपुर फर्कनेछ । मिथिला विहारीको नेतृत्वमा पारम्पारिक रुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजारौं सहभागिता रहने गरेको छ । नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्रामा नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको दुई गरी १५ विश्राम स्थलमा जाने गरेका छन् । यस यात्राका सहयात्रीले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर भूमिका पैदल यात्रा तय गर्नुपर्ने परम्परा छ । परिक्रमामा सहभागी हुनाले मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्ष प्राप्ति हुने धार्मिक मान्यता छ ।
पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’, ५० जना यात्री, २० जना गाइड
काठमाडौं । ‘दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियान’ भन्ने नारासहित साइकलमा जिल्ला घुम्ने कार्यक्रम तय भएको छ । जिल्लालाई साइकल पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, पूर्वी नेपालमा दिगो तथा शून्य फोहर पर्यटन प्रवर्द्धन गर्ने, साइकलमार्फत स्वस्थ र सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्ने लगायत उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष आकाश श्रेष्ठले जानकारी दिए । उनका अनुसार साइक्लिङ क्लबले आयोजना गरेको ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम यही फागुन ३० गतेदेखि आगामी चैत २ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको मुख्य प्रवर्द्धकका रूपमा पर्यटन कार्यालय काँकडभिट्टा रहेको छ । उनका अनुसार पहिलो पटक साइकलमा जिल्ला घुम्ने कार्यक्रम अन्तर्गत १२ पालिकाको यात्रा तय गरिनेछ । पहिलो दिन ६० किलोमिटरको यात्रा हुने उहाँले जानकारी दिए । मेचीनगर, बुद्ध शान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकबल, भद्रपुर, हल्दीबारी र बिर्तामोड नगरपालिकाको साइकलमा फन्को लगाइने क्लबका अध्यक्ष श्रेष्ठले बताए । पर्यटन कार्यालय, काँकडभिट्टाबाट सुरु भएको यात्रा बाहुनडाँगी-४९, धारा-मदन भण्डारी राजमार्ग-बर्ने चिया बगान-अर्जुनधारा जलेश्वरधाम-अर्जुनधारा नगरमा पर्ने सामुदायिक वन हुँदै जामुन खाडी सिमसार भएर दोमुखामा टुङ्गिने क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए । दोस्रो दिन ८० किलोमिटरको यात्रा हुनेछ । दोमुखाबाट सुरु भएको यात्रा माइधार-चिल्लागढधाम-शिवगञ्ज बजार-चौरी-हुलाकीमार्ग-झापा बजार-राजगढ-जलथल जङ्गल बनियानी हुँदै नेपालको होचो स्थान कचनकवल पुगेर बनियानी बजारमा यात्रा टुङ्गिने उनको भनाइ छ । तेस्रो तथा अन्तिम दिन ५० किलोमिटरको यात्रा हुनेछ । बनियानीबाट किच्चकबध-भद्रपुर-हल्दीबारी हुँदै विराटपोखरी भएर विर्तामोडमा ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको अन्त्य हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । यात्रामा ५० जना साइकल यात्री तथा २० जना गाइड, मेकानिक र स्वयंसेवक रहनेछन् । कार्यक्रममा कम्तीमा २० प्रतिशत महिला र कम्तीमा २० प्रतिशत झापा बाहिरका सहभागी हुनेछन् । आन्तरिक तथा बाह्य पर्यटन, स्थानीय अर्थतन्त्रलाई सहयोग पुर्याउन, सीमा क्षेत्र, धार्मिक स्थल, सिमसार क्षेत्र तथा ग्रामीण भू-भागलाई जोड्दै झापालाई एक साइकल मैत्री गन्तव्यका रूपमा चिनाउन यो कार्यक्रमले सहयोग पुग्ने पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले बताए ।
निर्वाचनमा गैर-कानुनी क्रियाकलाप रोक्न विभाग सक्रिय, खाद्यान्न र फलफूलमा बढायो निगरानी
काठमाडौं । निर्वाचनका समयमा बजारमा हुने गैर-कानुनी क्रियाकलाप रोक्न र उपभोक्ताको अधिकारको संरक्षण गर्ने उद्देश्यका साथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन २६ वटा फर्ममा अनुगमन गरेको छ । विशेषगरी खाद्यान्न तथा फलफूल व्यवसाय गर्ने फर्ममाथि अनुगमन गर्दै विभागले कानुनको पूर्ण परिपालन गर्न आग्रह गरेको छ । निर्वाचनको बहानामा खाद्यपदार्थ लुकाउने, कालोबजारी गर्ने, तोकिएको भन्दा बढी मूल्य लिने जस्ता समस्या देखिएको भन्दै गुनासो आएपछि विभागले थप सक्रिय भएको छ । विभागले सोमबार एकैपटक कुलेश्वर क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनका क्रममा कैफियत भेटिएपछि रमेश फ्रुट ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ । अन्य २५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले अनुगमन गर्दै आएको छ ।
देश गफले होइन, कामले बन्छः अध्यक्ष हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी देशको विकास हुन नसक्ने बताएका छन् । देश गफले नभई कामले बन्ने उनको भनाइ छ । भोजपूरको हतुवागढी र आमचोक गाउँपालिकामा सोमबार भएको चुनावी सभा तथा भेटघाटका क्रममा अध्यक्ष साम्पाङले अन्य पार्टीहरुले काम गर्ने क्षमता नदेखाएको बताए । उनले गफले मात्रै मुलुक नबन्ने भएकाले श्रम अनिवार्य गर्नुपर्नेमा जोड दिए । अध्यक्ष साम्पाङले अन्य राजनीतिक दलहरू विकासका नाममा भाषण र आश्वासनमै सीमित भएको बताउँदै काम गर्ने मानिसलाई हेप्ने र गफ गर्ने मानिसलाई सम्मान गर्ने गलत संस्कार देखिएको बताए । सो क्रममा अध्यक्ष साम्पाङले युवाहरुलाई पैसामा नलोभिन आग्रहसमेत गरे । श्रम संस्कृति श्रम गर्ने र गरिखानेहरुको पार्टी भएकाले विश्वास गर्न उनले सबैलाई आग्रह गरे । अध्यक्ष साम्पाङले भोजपुर र उदयपुर जोड्ने चुहारको निर्माणाधीन पुलको समेत अवस्था बुझ्दै काम गर्ने अवसर दिएमा पुल बनाउने जिम्मा लिनेसमेत बताएका थिए । यो पुल भोजपुरको जीवनरेखा भएको बताउँदै साम्पाङले आठ वर्षमा पनि पुल नबनेकाले आफूहरुलाई काम गर्ने अवसर दिन आग्रह गरे ।
निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आयोगको आह्वान, उल्लङ्घन गरे कारबाही हुने
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आह्वान गरेको छ । आयोगले सोमबार (आज) विज्ञप्ति जारी गरी दल वा उम्मेदवारले आफ्नो झण्डा वा निर्वाचन चिह्न बोक्ने कार्य, सांस्कृतिक कार्यक्रम, ¥याली, अमुक दल वा उम्मेदवारविरुद्धका गतिविधिमा, झण्डा वा निर्वाचन चिह्न अङ्कित भेष्ट/टिसर्ट/लोगोजस्ता चिजहरू प्रदर्शन गर्ने कार्यमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरिएको हो । दल वा उम्मेदवारले आफ्नो चुनावी अभियानका क्रममा बालबालिका सहभागी गराउने गरेको र विद्यालय समयमा विद्यालय नजिकै चुनावी गतिविधिसम्बन्धी कार्यक्रम आयोजना गरी शैक्षिक कार्यमा अवरोध सिर्जना भएका विषयहरूमा उजुरी तथा गुनासो प्राप्त भएको भन्दै त्यस्ता काम नगर्न आयोगले आह्वान गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था रहेकाले यस्तो आह्वान गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आचारसंहिताको उल्लङ्घन भएमा आयोगले रु एक लाखसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्थासमेत रहेको स्मरण गराइएको छ । ‘निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन र निर्वाचन आचारसंहितासमेतको प्रतिकूल हुने हुँदा कुनै पनि राजनीतिक गतिविधि र निर्वाचन प्रचारप्रसारका कार्य गर्दा बालबालिकाको कुनै पनि किसिमबाट प्रयोग नगर्न नगराउन तथा बालबालिकाको अध्ययन अध्यापनमा असर पार्ने कार्य नगर्न नगराउनसमेत सबै राजनीतिक दल, उम्मेदवार र मतदाताहरूलाई आग्रह छ’, विज्ञप्तिमा भनिएको छ । यस्तै, कानुनद्वारा प्रत्याभूत बालबालिकाको अधिकारको संरक्षण तथा संवद्र्धन गर्दै अधिकारको प्रचलन र परिपालना गर्न/गराउन निर्वाचन आयोगले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरूको ध्यानाकर्षण गराएको छ । यसका साथै आयोगले प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न नहुन पनि आग्रह गरेको छ ।