टेस्लालाई टक्कर दिने तयारीमा वेइमो
काठमाडौं । अल्फाबेटको स्वामित्वमा रहेको वेइमोले सन् २०२६ मा अमेरिकाको ड्यालास सहरमा आफ्नो स्वचालित राइड–हेलिङ सेवा सुरु गर्ने घोषणा गरेको छ । यो सेवा सुरुवातसँगै वेइमोले अमेरिकाभर आफ्नो विस्तारलाई तीव्र बनाउँदैछ । यसैबीच विद्युतीय सवारी निर्माता टेस्लाले पनि हालै सुरु गरेको रोबोट्याक्सी व्यवसायलाई बढावा दिइरहेको छ । वर्षौंको मेहनतपछि वेइमोले पछिल्ला दिनमा आफ्नो सेवा विस्तार तीव्र बनाएको छ । उसले विभिन्न सवारी सेवा प्लेटफर्महरू र फ्लीट अपरेटरहरूसँग साझेदारी गरी नयाँ सहरहरूमा सेवा सुरु गरिरहेको छ । ड्यालासमा वेइमोले कार भाडामा दिने कम्पनी एभिस बजेट ग्रुपसँग बहुवर्षीय साझेदारीमा सेवा सञ्चालन गर्नेछ । यो साझेदार कम्पनीले फ्लीट सञ्चालन, मर्मत र डिपो पूर्वाधार व्यवस्थापन गर्नेछ । वेइमोले एक ब्लग पोस्टमार्फत यो जानकारी दिएको हो । हाल वेइमोले फिनिक्स, सान फ्रान्सिस्को, लस एन्जलस र अस्टिनजस्ता सहरहरूमा करिब १ हजार ५०० सवारीसाधनमार्फत हप्तामा २.५ लाखभन्दा बढी सशुल्क यात्रा सेवा दिइरहेको छ । टेस्लाले करिब दर्जनजति मोडेल वाई एसयूभीहरूमा अगाडि सिटमा मानव सुरक्षाकर्मी राखेर सीमित परीक्षण सुरु गर्नु केही महिनाअघि नै वेइमोले अस्टिन सहरमा केवल उबर प्लेटफर्ममार्फत सेवा सुरु गरेको थियो । टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले कम्पनीले छिट्टै अन्य अमेरिकी सहरहरूमा पनि रोबोट्याक्सी सेवा विस्तार गर्ने योजना बनाएको बताएका छन् । यसका लागि टेस्लाले क्यालिफोर्निया, नेभाडा, फ्लोरिडा र एरिजोनाबाट नियामक स्वीकृति लिने प्रयास गरिरहेको छ । स्वचालित सवारी साधनलाई व्यवसायिक रूपमा सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको छ । जेनरल मोटर्सको क्रूज जस्ता केही कम्पनीहरूले दुर्घटना, रिकोल र संघीय अनुसन्धानपछि सेवा बन्द गरिसकेका छन् । अमेजनको समर्थन प्राप्त जुक्स ती थोरै कम्पनीहरूमध्ये एक हो जुन अझै सञ्चालनमा छ र यसै वर्षको अन्त्यसम्म व्यावसायिक सेवा सुरु गर्ने तयारीमा छ । टेस्लाले अस्टिनमा सुरु गरेको परीक्षणभन्दा अगाडि वेइमो मात्र यस्तो कम्पनी थियो जसले अमेरिका भित्र सशुल्क चालकविहीन ट्याक्सी सेवा सञ्चालन गरिरहेको थियो । वेइमोको सेवा वेइमो मोबाइल एपमार्फत उपलब्ध हुनेछ । कम्पनीले सन् २०२६ भित्र मियामी र वाशिङ्टन डीसीमा पनि सेवा विस्तार गर्ने योजना बनाएको छ । यो साझेदारी एभिसको दीर्घकालीन रणनीतिअन्तर्गत पारम्परिक कार भाडा सेवा कम्पनीबाट मोबिलिटी सेवा प्रदायकमा रूपान्तरण गर्ने योजनाको हिस्सा हो ।
न्युयोर्कमा गोलीकाण्ड : चार जनाको मृत्यु, संदिग्ध आक्रमणकारीको तस्बिर सार्वजनिक
न्युयोर्क, अमेरिका । न्युयोर्क सहरमा भएको एक भीषण गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार यो घटनामा पाँच जनालाई गोली लागेको थियो, जसमा चार जनाको ज्यान गएको पुष्टि भएको छ। मेयर एडम्सले जानकारी दिएका अनुसार मृतकमध्ये एक जना न्युयोर्क प्रहरी विभागका अधिकारी समेत छन् । यसअघि उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै भनेका थिए, ’घटनास्थलमा धेरै मानिसहरू घाइते भएका छन् । जो भवनभित्र हुनुहुन्छ, कृपया बाहिर ननिस्कनुहोस् । प्रहरी टोलीले भवनका सबै तला छानबिन गरिरहेको छ ।’ सीबीएस न्यूजले दुई जना सुरक्षास्रोतको हवाला दिँदै जनाएको छ कि घटनामा एक जना प्रहरी अधिकारीको मृत्यु भएको छ । रिपोर्टअनुसार, गोली लागेका प्रहरी अधिकारीहरू ड्युटीमा नरहे पनि सो भवनमा सुरक्षाकर्मीको रूपमा कार्यरत थिए । यस घटनामा दुई जना सर्वसाधारणलाई पनि गोली लागेको बताइएको छ । तीमध्ये एक अधिकारीको मृत्यु भइसकेको छ भने बाँकी एक जना गम्भीर अवस्थामा रहेका छन् । संदिग्धको पहिचान न्युयोर्क प्रहरी स्रोतका अनुसार आक्रमणकारीको पहिचान शेन डी. टमुराको रूपमा गरिएको छ । यद्यपि प्रहरीले औपचारिक रूपमा यसको पुष्टि गरिसकेको छैन । तर सीबीएस न्यूजलगायत विभिन्न अमेरिकी मिडियाहरूले आक्रमणकारीको नाम शेन डी. टमुरा नै उल्लेख गरेका छन् । सीबीएस न्यूजका अनुसार भवनको सीसीटीभी फुटेजमा संदिग्ध आक्रमणकारीको तस्बिर स्पष्ट रूपमा देखिएको छ । पुलिसले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाइएको छ ।
‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको स्पष्ट पारेका छन् । मंगलबार धनगढीमा आयोजित एक कार्यक्रममा उनले विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’ अवस्था नरहेको बताए । 'गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ', उनले भने, 'वर्षात्का बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन् । मर्मत गर्न केही समय लाग्छ । यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ ।'
फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरूवात, आइसक्रिम उत्पादनमा क्रान्ति
काठमाडौं । नेपालमा फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरूवात गर्ने उद्देश्यले आयोजना गरिएको भव्य कार्याशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । सग्तानी ग्रुप, ‘एलएआईईएफ आइसक्रिम मेसिनरी’ र नेपाल–इटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई) को सहकार्यमा ‘नेपालमा आइसक्रिम उत्पादनको रूपान्तरण’ शीर्षकमा उक्त गोष्ठी सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा नेपाल र इटालीका खाद्य उद्योगका विज्ञहरू, उद्यमीहरू र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता थियो । कार्यक्रममा इटालीका प्रमुख ब्राण्डहरू ‘एलएआईईएफ’, ‘टेक्नोआइस’, ‘प्याकइन्ट’ र ‘कोल्ड कार’ लगायतले उत्पादनदेखि ढुवानीसम्मका अत्याधुनिक, दिगो र प्रभावकारी प्रविधिहरू प्रदर्शन गरेका थिए । यो सहकार्यले नेपालमा फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरुवात गर्नाका साथै नेपाल–इटालीबीचको औद्योगिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।
सेयर धितोमा ८.१७ प्रतिशत ब्याजदरमै कर्जा दिने एनआईसी एशियाको घोषणा
काठमाडौं । एनआईसी एशिया बैंकले सेयर धितोमा राखेर बेसरेटमा १ प्रतिशत थप ब्याजदरमै कर्जा दिने भएको छ । बैंकले प्रतिष्पर्धी ब्याजदर भन्दै औसत आधार दरमा १ प्रतिशत प्रिमियम थपमा सेयर धितो राखेर प्रवाह गरिने कर्जा दिने घोषणा गरेको हो । हाल बैंकको बेसरेट ७.१७ प्रतिशत रहेकामा बैंकले ८.१७ प्रतिशत ब्याजदरमा कर्जा दिने घोषणा गरेको हो । एनआईसी एशियाले अठोट लोन अगेन्स्ट सेयरको आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकको आवश्यकता, बजार तथा समयको मागलाई सम्बोधन गर्दै बैंकले ग्राहक महानुभावमाझ अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको सेयरबजारलाई सम्बोधन गर्ने गरी प्रतिष्पर्धी ब्याजदरमा सेयर कर्जा योजना सार्वजनिक गरेको बताएको छ । ग्राहकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीको साधारण सेयर एनआईसी एशिया बैंकमा धितो राखेर १८० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा पाउनेछन् । बैंकको योजनाअनुसार न्यूनतम ५० लाख रूपैयाँदेखि अधिकतम १५ करोडसम्मको कर्जा बैंकले दिनेछ । बैंकले सम्पूर्ण आवश्यक कागजात प्राप्त भए पश्चातको ३ कार्यदिन भित्र नै कर्जा उपलब्ध गराउने गरी आन्तरिक व्यवस्थापन गरेको छ ।
फोनपे र सामाजिक सुरक्षा कोषबीच सम्झौता, विदेशबाटै मोबाइल बैंकिङमार्फत् योगदान गर्न सकिने
काठमाडौं । अब विदेशमा रहेका नेपाली श्रमिकले पनि मोबाइल बैंकिङमार्फत सामाजिक सुरक्षा कोषमा सजिलै योगदान गर्न सक्ने भएका छन् । डिजिटल भुक्तानी नेटवर्क फोनपे र सामाजिक सुरक्षा कोषबीच प्रवासी श्रमिकलाई लक्षित गर्दै डिजिटल योगदान प्रणाली सञ्चालनका लागि सम्झौता भएको हो । सम्झौतामा फोनपेका प्रमुख सञ्चालन अधिकृत पारस कुँवर र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे। कार्यक्रमका दौरान दुबै संस्थाका उच्च पदाधिकारीहरूको उपस्थिति थियो । फोनपेका सीओओ कुँवरले भने, 'फोनपे नेटवर्कको व्यापक पहुँचले प्रवासी श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सजिलो तरिकाले योगदान गर्न सहयोग पुग्नेछ। यसले रेमिट्यान्स औपचारिक च्यानलबाट पठाउने अभ्यासलाई समेत प्रोत्साहन गर्नेछ ।' यो सेवा हालै फोनपे बिल्स प्लेटफर्ममार्फत सञ्चालनमा आएको छ, जसले नेपालका सबै बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एपमार्फत पहुँचयोग्य भएको छ । यस कदमले प्रवासी श्रमिकहरूको समावेशीकरण मात्र होइन, औपचारिक आर्थिक प्रणालीमा पहुँच पनि विस्तार गर्ने अपेक्षा गरिएको छ ।
भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. चालिसे नियुक्त
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसे नियुक्त भएका छन् । निमित्त निर्देशकका रुपमा अस्पतालमा काम गरिसकेका उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । चालिसे लामो समय देखी भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा चालिसेलाई मन्त्रिपरिषद्ले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । अब उनी चार वर्षसम्म अस्पतालको नेतृत्व गर्नेछन् ।
सारथी लॉजिस्टिक्सको विराटनगर शाखा उद्घाटन, देशभर २५ शहरमा सेवा विस्तार
काठमाडौं । सारथी लॉजिस्टिक्स विराटनगरमा नयाँ शाखाको उद्घाटन गर्दै देशव्यापी सेवा विस्तारको महत्वपूर्ण चरण सुरु गरेको छ । उद्घाटन समारोहमा कम्पनीले विराटनगर र इटहरीबाट देशका २५ भन्दा बढी प्रमुख शहरमा बुकिङ सेवा प्रारम्भ भएको औपचारिक घोषणा गर्यो । कम्पनीले सेवा विस्तार गरेका गन्तव्यहरूमा बर्दिबास, सर्लाही, वीरगञ्ज, हेटौंडा, टाडी (पर्सा), नारायणघाट, कावासोती, बुटवल, भैरहवा, बर्दघाट, परासी, घोराही, तुल्सीपुर, रुकुम, सल्यान, पाल्पा, प्युठान, अर्घाखाँची, चौनौटा, कोहलपुर, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, काठमाडौं, पोखरा र त्रिशूलीजस्ता मुख्य सहरहरू रहेका छन् । कार्यक्रममा सारथी लॉजिस्टिक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार न्यौपानेले भने, 'हामी आज विराटनगरजस्तो व्यापारिक केन्द्रमा सेवा विस्तार गर्न पाउँदा गर्वित छौं । हाम्रो लक्ष्य देशभरका सहर तथा गाउँलाई प्रभावकारी रूपमा जोड्ने, किफायती र प्रविधिमैत्री सेवा प्रवाह गर्ने र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकता दिने हो ।' उनले छिट्टै देशका अन्य मुख्य सहरहरूमा पनि सेवा विस्तार गर्ने योजना रहेको जनाए । उद्घाटन कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, साझेदार, विशिष्ट व्यक्ति र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सारथी लॉजिस्टिक्सले पारदर्शिता, भरपर्दो सेवा र राष्ट्रिय गौरवको भावनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।