विकासन्युज

३०.७६ अंकले बढ्यो नेप्से, ४ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.७६ अंकले बढेर ३ हजार २.०७ बिन्दुमा पुगेको छ ।  आज १७६ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको मूल्य घटेको छ । मंगलबार ३२१ कम्पनीको ४ करोड कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टिलरीको भएको छ । हिमालयन डिस्टिलरीको ६४ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, ग्रीन भेन्चरको ६३ करोड, नेपाल रिइन्स्योरेन्सको ५६ करोड, हिमालयन रिइन्स्योरेन्सको ५२ करोड र राधी विद्युत कम्पनीको ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा विकास बैंक, वित्त र व्यापार समूहको उपसूचक घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

नयाँ उद्योग व्यवसाय दर्ता घट्दो, बन्द गर्ने क्रम बढ्दो

बागमती । पछिल्लो छ वर्षयता मकवानपुर जिल्लामा नयाँ उद्योग व्यवसाय दर्ता घट्दो र बन्द गर्ने क्रम बढ्दै गएको छ । मकवानपुरमा गत आर्थिक वर्ष २०८१/८२ मा उद्योगतर्फ ४१८ र वाणिज्यतर्फ २६० नयाँ उद्योग व्यापार दर्ता भएको छभने सो आवमा उद्योगतर्फ २८१ र वाणिज्यतर्फ ३६१ उद्योग व्यवसाय बन्द भएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा उद्योगतर्फ ३६६ र वाणिज्यतर्फ ३३५ नयाँ उद्योग व्यापार दर्ता भएकामा उद्योगतर्फ २६८ र वाणिज्यतर्फ ३३६ उद्योग व्यापार बन्द भएको थियो ।  गत आर्थिक वर्ष २०७९/८० मा उद्योगतर्फ ५७९ र वाणिज्यतर्फ ४३० नयाँ उद्योग व्यापार दर्ता हुँदा उद्योगतर्फ र वाणिज्यतर्फका गरी २८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो । यसअघि आव २०७८/७९ मा उद्योगतर्फ ७६७ र वाणिज्यतर्फ ७७० नयाँ दर्ता भएको थियो । सो आर्थिक वर्षमा उद्योगतर्फ र वाणिज्यतर्फ गरी ११० वटा उद्योग व्यापारको मात्र लगत कट्टा भएको थियो ।  आव २०७७/७८ मा उद्योगतर्फ ८२० र वाणिज्यतर्फ ८१० नयाँ उद्योग व्यापार दर्ता भएकामा सो आवमा उद्योगतर्फ र वाणिज्यतर्फ गरी ३४० को लगत कट्टा गरिएको सो कार्यालयको तथ्याङ्कले देखाएको छ । आव २०७६र७७ मा उद्योगतर्फ एक हजार ५३६ र वाणिज्यतर्फ एक हजार ५२५ नयाँ उद्योग व्यापार दर्ता भएको थियो । सो आवमा उद्योगतर्फ र वाणिज्यतर्फका गरी २४० उद्योग व्यापारको लगत कट्टा गरिएको थियो ।  यसरी पछिल्लो छ वर्षमा नयाँ उद्योग व्यापार दर्ता घट्दै जाँदा उद्योग व्यापार बन्द हुने क्रम बढ्दै गएको छ । विभिन्न निकायबाट अनुदान प्राप्त गर्न उद्योग व्यवसाय दर्ता गराउने र अनुदान पाइसकेपछि बन्द गर्ने प्रवृत्ति, छोराछोरीलाई विदेश पठाउन व्यावसायिक पुँजी देखाउन मात्र व्यापार व्यवसाय दर्ता गराउने र पछि छोराछोरी विदेश गएपछि व्यापार व्यवसाय बन्द गर्ने, व्यापार घाटा हुनु र उद्योग कार्यालयमा दर्ता भएपछि स्थानीय तहमा समेत दर्ता गराउनुपर्ने दोहोरो व्यवस्थाका कारण पनि उद्योग व्यापार दर्ताभन्दा बन्द गराउने क्रम बढेको प्रमुख भुसालको भनाइ छ ।  त्यसैगरी उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरको राजस्व सङ्कलन पनि घटेको छ ।  सो कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा दुई करोड ६० लाख ८० हजार ५७० रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६१ लाख ६९ हजार ३०० रुपैयाँ कम राजस्व हो ।   सोही आवमा उद्योग र वाणिज्यतर्फको व्यवसायी दर्ता, नवीकरण, प्रतिलिपीलगायतका शीर्षकमा दुई करोड ६० लाख ८० हजार ५७० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख भुसालले बताए ।  अघिल्लो आर्थिक वर्षमा २०८०/८१ मा विभिन्न शीर्षकमा सो कार्यालयले तीन करोड २२ लाख ४९ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको थियो । रासस

ठूलो घोटालामा मुछिँदा निलम्बनमा सांसद, आफ्ना प्रतिनिधि खोज्दै जनता

काठमाडौं । पछिल्लो प्रतिनिधिसभा र प्रदेशसभाका आठ जना सदस्यहरू विभिन्न कारणले निलम्बनमा परेका छन् । तीन वर्ष पहिले २०७९ मङ्सिर ४ मा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि हालसम्म प्रतिनिधिसभाका सदस्य चारजना र विभिन्न प्रदेशसभाका चारजना सदस्यहरू निलम्बनमा परेका हुन् ।  प्रतिनिधिसभा सचिवालयले दिएको जानकारीअनुसार विभिन्न मितिमा प्रतिनिधिसभाका चारजना सदस्यहरू अहिले निलम्बनमा रहेका छन् । प्रतिनिधिसभाकी एकजना सदस्य भने फरार रहेकी छिन् । सचिवालयको भनाइअनुसार सबैभन्दा पहिले नेकपा एमालेका अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी निलम्बनमा परेका हुन् । रायमाझीलाई भुटानी शरणार्थी काण्डमा २०७९ वैशाख ३१ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो । निलम्बनको सुरुवात गर्ने रायमाझीको निलम्बन २०७९ असार १ गतेबाट सुरु भएको हो । रायमाझीपछि निलम्बनमा पर्ने दोस्रो सांसद चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद रवि लामिछाने हुन् । सहकारी घोटाला र संगठित अपराधमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने २०८१ पुष ८ गतेदेखि निलम्बनमा परेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता पनि हुन् । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट निर्वाचित मोहनबहादुर बस्नेत पनि अहिले निलम्बनको अवस्थामा रहेका छन् । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ का सांसद बस्नेत सञ्चारमन्त्री रहेका बेला टेरामक्स खरिद प्रकरणमा अन्य १६ जनासँगै मुछिएका हुन् । बस्नेतको पद २०८१ जेठ १ गतेदेखि निलम्बनमा परेको छ । निलम्बनमा पर्ने हालसम्मका सबैभन्दा पछिल्ला प्रतिनिधिसभा सदस्य माधवकुमार नेपाल हुन् । प्रधानमन्त्री रहेका बेला हदबन्दीभन्दा धेरै जग्गा एक निजी कम्पनीलाई दिने र सो जग्गा साटफेर गर्न दिएको अभियोग नेपालमाथि लागेको छ । २०८२ जेठ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पतञ्जलि जग्गा साटफेर प्रकरणमा मुद्दा दायर गरेपछि सोही दिनदेखि नेपाल निलम्बनमा परेका हुन् । प्रतिनिधिसभाकी अर्की सांसद भने फरार रहेकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट समानुपातिक सांसद रहेकी गीता बस्नेत नवलपुरको छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा २०८१ वैशाख १४ गतेदेखि फरार रहेकी छिन् । प्रदेशसभा पनि छैन चोखो प्रदेशसभाका पनि विभिन्न चारजना सांसद निलम्बनमा रहेका छन् भने एकजनाको निलम्बन फुकुवा भइसकेको छ । हाल निलम्बनमा रहेका सदस्यहरू कर्णाली, मधेस, सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभाका सांसद हुन् । गण्डकी प्रदेशसभाका फणिन्द्र देवकोटाको निलम्बन भने फुकुवा भइसकेको छ । दल बदलमा निलम्बनमा रहेका देवकोटा हाल नेकपा माओवादी केन्द्रमा रहेका छन् । सुदूरपश्चिम प्रदेशका सांसद तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही हाल निलम्बनमा रहेका छन् । ह्‌वाइटबडी जहाज खरिदमा १ दशमलव ४७ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा २०८० चैत २२ गतेदेखि उनी निलम्बनमा परेका हुन् । लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेतासमेत रहेका अभिराम शर्मालाई २०७२ सालमा मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थम्मन विकको हत्या अभियोग लागेको छ । शर्मा २०८० मंसिर २८ गतेदेखि निलम्बनमा छन् । उनी मधेस प्रदेशका सांसद हुन् । नेकपा एकीकृत समाजवादी संसदीय दलका सुदूरपश्चिम प्रदेशका नेता दीर्घ सोडारी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा हाल निलम्बनमा परेका छन् ।  यस्तै, लुम्बिनी प्रदेशसभा सदस्य जानकी प्रसाद यादव पनि हाल निलम्बनमा परेकी छन् । यादव वन व्यवस्थापन समिति अध्यक्ष रहेको बेला २९ लाख रुपैयाँ बराबरको अनियमितता गरेको अभियोग रहेको छ । पछिल्लो समय निलम्वित सांसदहरुका निर्वाचन क्षेत्रका जनताले आफ्ना सांसदहरु निलम्बनमा पर्दा स्थानिय जना मर्कामा परेको बताएका छन् । लामो समयसम्म निर्वाचन क्षेत्रहरूलाई जनप्रतिनिधिविहिन बनाउन नहुने आम मानिसको माग रहेको छ । अर्घाखाँचीका मतदाताले त आफुहरु लामो समय जनप्रतिनिधिविहीन भएकोले आफ्ना सांसद रायमाझीको मुद्दा छिटो टुङग्याउन अनुरोध गर्दै प्रेस विज्ञप्ति समेत सार्वजनिक गरिसकेका छन् ।    पछिल्लो समय निलम्बित सांसदहरूका निर्वाचन क्षेत्रका जनताले आफ्ना सांसदहरू निलम्बनमा पर्दा स्थानीय जनता मर्कामा परेको बताएका छन् ।  लामो समयसम्म निर्वाचन क्षेत्रहरूलाई जनप्रतिनिधिविहीन बनाउन नहुने आम मानिसको माग रहेको छ । अर्घाखाँचीका मतदाताले त आफूहरू लामो समय जनप्रतिनिधिविहीन भएकोले आफ्ना सांसद रायमाझीको मुद्दा छिटो टुङ्ग्याउन अनुरोध गर्दै प्रेस विज्ञप्तिसमेत सार्वजनिक गरिसकेका छन् ।

पहिरो पन्छाउने प्रयास नगरेपछि वडा कार्यालयमा तालाबन्दी

बैतडी । वर्षाका कारण अवरुद्ध भएकोे सडक खुलाउन माग गर्दै स्थानीयले पुर्चौंडी नगरपालिका–१० को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।  पुर्चौंडी नगरपालिका–१० विजयपुरदेखि दोगडाकेदार हुँदै जिल्ला  सदरमुकाम जोड्ने प्रमुख सडकखण्ड पहिरोको जोखिममा परेपछि स्थानीयले वडा कार्यालयमा पहिरो पन्छाउन माग गर्दै वडा कार्यालयमा ताला लगाएका सोही वडाका अम्मर महराले बताए । उक्त सडकखण्डको भङाड बस्तीमा पहिरो खस्दा छवटा घर जोखिममा छन् । बितेका १३ दिनसम्म पनि पहिरो पन्छाउने प्रयास नभएकाले आफूहरु ताला लगाउन बाध्य भएको उनले बताए ।   यसैबीच, वडाअध्यक्ष हिक्मतबहादुर बिष्टले मेसिन बिग्रेका कारण पहिरो पन्छाउन विलम्ब भएको बताए ।   

गुणस्तरीय दुग्धजन्य उत्पादनमा अध्यक्ष ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुग्धजन्य उत्पादनलाई गुणस्तरीय बनाएर विश्व बजारमा पठाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । नेपाल डेरी एसोसएसनद्वारा मंगलबार आयोजित खीर प्रवद्र्धन कार्यक्रममा उनले कतिपय डेरी उत्पादन विदेशबाट आयात गर्नु परेको छ, अब स्वदेशी उद्योगले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।  कृषि प्रवर्द्धन गरेर ग्रामीण अर्थतन्त्र उकास्न सकिने उल्लेख गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको कृषि तथा पशुपालन व्यवसायमा लगानी बढाउनुपर्ने बताए । महासङ्घको अगुवाइमा सरकारले निजी क्षेत्र–मैत्री कानुन निर्माण गरेको जनाउँदै उनले कतिपय कानुन कार्यान्वयन हुन नसक्दा निजी क्षेत्रले खुलेर व्यवसाय गर्न नसकेको गुनासो गरे ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. पशुपति ढुङ्गानाले कृषि तथा पशुपालक किसानका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए । एसोसिएनका अध्यक्ष प्रल्हाद दाहालले साना, मझौला र ठूला डेरी उद्योगका हकहितका बारेमा संस्थाले काम गर्दै आएको बताए । साउन १५ गते खीर खाने दिन देशभर करिब ८० लाख लिटर दूध खपत हुने र सो बापत करिब रु एक अर्ब ४० करोड रुपैयाँको कारोबार हुने एसोसिएसनको अनुमान छ ।  

विश्व सीक्सजीमा जाँदा नेपाल फोरजीमा अल्झियो, ३२ लाख नेपाली अझै टुजीमा

काठमाडौं । अझै पनि टुजीमा रमाउने नेपालीहरूको संख्यामा कमी आउन नसकेको सरकारी तथ्यांकले नै देखाएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार ३२ लाखभन्दा बढी नेपाली टुजीका प्रयोगकर्ता रहेका छन् । प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा थ्रीजीभन्दा टुजी चलाउनेहरू करिब तेब्बर रहेको देखिएको छ ।  गत जेठसम्म टुजीका प्रयोगककर्ता ३२ लाख १ हजार रहँदा थ्री जीका प्रयोगकर्ता भने जम्मा ८ लाख ६९ हजार रहेका छन् । यसले अझै पनि धेरै नेपालीहरू पुरानो प्रविधि टुजीमै रमाइरहेको सरकारी तथ्यांकले प्रष्ट पारेको छ ।  गत जेठसम्मको तथ्य हेर्ने हो भने फोरजी २ करोड ५४ लाख नेपालीले अहिले फोरजी प्रविधिमा आधारित मोबाइलमा इन्टरनेट चलाउछन् । कुल जनसंख्याको तुलनामा करिब ८८ प्रतिशत जनताले फोरजी चलाउने गरेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।  विश्व सीक्स जीमा गइसक्दा नेपाल भने अझै फइभ जीमा जान सकेको छैन । नेपाल टेलिकमले फाइभजीको परिक्षण गरेपनि लगानी र बजारको कारण देखाउँदै अझै सुरुवात गरेको छैन ।  फ्रि वाइफाइमाथि कडाइको संकेत मोबाइल सेवा प्रदायकहरुको आम्दानीमा दिनप्रतिदिन भारी गिरावट आएपछि सरकारले फ्री वाइफाइ कडाइ गर्ने संकेत देखाएको छ ।  हाल इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले देशभर २५ हजार भन्दा धेरै ठाउँमा फ्री वाईफाइ हटस्पट छाडेका बेला त्यस्तो वाइफाइका कारण नेपाल टेलिकम, एनसेलको डेटा खपतमा असर परेको सेवाप्रदायकहरुबाट गुनासो आएपछि प्राधिकरणले जथाभाबी वाई–फाई हटस्पट सञ्चालन गर्ने इन्टरनेट सेवा प्रदायकहरूमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।  हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ का प्रावधानविपरीत केही सेवा प्रदायकहरूले वाई–फाई हटस्पट सञ्चालन गरेको भन्दै प्राधिकरणले आइबार कारबाही गर्ने चेतावनी नै दिएको छ । प्राधिकरणले जारी गरेको सूचनाअनुसार आधारभुत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा र आधारभुत टेलिफोन सेवाको अनुमति पाएका सेवा प्रदायकहरूले मात्रै वाई–फाईको माध्यमबाट सिमलेस कनेक्टिभिटी/रोमिङ/मोबिलिटी प्रदान गर्न सक्नेछन् ।  तर, यीबाहेक अन्य लाइसेन्स प्राप्त सेवा प्रदायकहरूले हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ ले तोकेका शर्तअनुसार मात्रै वाईफाई हटस्पट सेवा सञ्चालन गर्न प्राधिकरणले सचेत गराएको छ । प्राधिकरणबाट आधारभूत दूरसञ्चार सेवाको अनुमति नेपाल टेलिकमले मात्रै पाएको छ । मोबाइल टेलिफोन सेवाको लाइसेन्स एनसेल र टेलिकमले पाएका छन् । विनियमावलीको विनियम २ (ङ) र २ (च) मा परिभाषित निश्चित क्षेत्र वा परिधिभित्र वाई–फाई हटस्पट सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै, विनियम ५ (१) अनुसार एक पटकको लग–इनबाट निश्चित समयावधि वा मात्राका लागि वाई–फाई हटस्पट सेवा प्रयोग गर्नसक्ने व्यवस्था छ । तर इन्टरनेट सेवा प्रदायकहरूले यी प्रावधान उल्लघंन गरेको प्राधिकरणको निष्कर्ष छ । साथै प्राधिकरणले वाई–फाई हटस्पट सेवा सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले तोकिदिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीति, २०८० को दफा ७.४, अनुसूची ४ बमोजिम पावर लिमिट, ब्याकहल/ब्याकबोन रेस्ट्रिक्सन लगायतका शर्तहरू अनिवार्य पालना गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । शर्तहरू पालना गरेर प्राधिकरणबाट टाइप–एप्रुभल भएका रेडियो उपकरणहरू मात्र प्रयोग गर्न समेत भनिएको छ ।

सरकारी अस्पतालका जग्गा अतिक्रमण रोक्न मन्त्री पौडेलको सक्रियता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी जग्गा दुरुपयोग रोक्न सक्रियता देखाएका छन् । हाल विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि संरक्षणमा पहल नभएको पाइए पछि मन्त्री पौडेलले त्यस्ता केन्द्रहरूको जग्गाको अवस्थाबारे तत्काल विवरण संकलन गर्न मन्त्रालयका अधिकारीहरूलाई भनेका थिए ।  त्यस आधारमा मन्त्रालयले यस अघि विवरण प्राप्त नभएका अस्पताल, प्रयोगशाला तथा केन्द्रहरूका नाममा सात दिनभित्र विवरण पठाउन परिपत्र गरेको छ ।  प्राप्त विवरणका आधारमा अतिक्रमण भएको पाइएमा आवश्यक कदम चाल्ने मन्त्रालयको तयारी छ । मन्त्री पौडेलले यस अघि अतिक्रमणमा परेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नाममा रहेको अतिक्रमित जग्गा संरक्षणमा समेत पहल गरेका थिए । अब केन्द्रकै सेवा विस्तारका लागि जग्गा उपयोग गर्ने तयारी अघि बढाइएको छ ।  देशैभर सरकारी अस्पतालका जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि कतिपय स्थानको जग्गाको यकिन विवरण नै प्राप्त नभएकाले मन्त्री पौडेलले यसको यकिन गरेर दुरुपयोग भएकाको हकमा रोक्नका लागि कडाइ थालेका हुन् ।  कतिपयको जग्गा लिजमा दिइएको छ भने केहीको दर्ता हुन समेत बाँकी रहेको मन्त्रालयको आन्तरिक विश्लेषण छ । यसले केही स्थानको सेवा प्रवाहमा नै समस्या देखिएको छ भने बाँकीमा भावी दिनमा सेवा विस्तारमा प्रभाव पर्ने देखिएकाले यकिन विवरण संकलन गरेर संरक्षणमा सक्रियता देखाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संघीय अस्पतालहरूका जग्गा संरक्षणमा थालिएको प्रयासले सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरे । 

मेरोमाइक्रोफाइनान्सले बिन्तीकुमारी थारुलाई दियो ३ लाख २७ हजारको बीमा रकम

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नी सदस्य बिन्ती कुमारी थारुलाई बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाबाट ५ लाख रुपैयाँ लघुउद्यम कर्जा लिएकी सदस्य थारुको श्रीमान् धनिराम थारुको निधनपछि बीमा दाबीबापत ३ लाख २७ हजार रुपैयाँको चेक राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीन कुमार थारुले हस्तान्तरण गरेका हुन् । उक्त बीमा रकम सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा 'सदस्य अभिभावक कर्जा बीमा' अन्तर्गत उपलब्ध गराइएको शाखा प्रबन्धक दीपक पौडेलले जानकारी दिए । बिन्ती कुमारी थारु बिनौना, बाँकेको शाखाबाट सञ्चालित लघुवित्त कार्यक्रममा आबद्ध सदस्य हुन् । बीमा दाबीको सहज, पारदर्शी र सहानुभूतिपूर्ण व्यवस्थापनमार्फत संस्थाले विपद्को अवस्थामा पनि सदस्यहरूको साथ दिन प्रतिबद्धता जनाएको छ ।