नेपालमा बाघको सङ्ख्या ३५५ पुग्यो, भारतमा ३ हजार १६७, कुन देशमा कति ?
भीष्म राज ओझा काठमाडौं । पाटे बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो । नेपालमा पनि दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २०२२ मा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या ३५५ पुगेको छ । नेपालमा बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै व्यवस्थापन, मानव-बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न र गाई भैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् । त्यस्तै कतिपय अवस्थामा बाघको चोरी सिकारी हुने, स्थानीय जनताको आक्रोशको निशानामा पर्ने र ठूला तथा लामा पूर्वाधारमा वार पार गर्ने क्रममा बाघ मर्ने क्रम पनि बढेको छ । बाघको सङ्ख्याको ‘धान्ने क्षमता’ ४ सय वर्तमान अवस्थामा नेपालमा बाघको सङ्ख्याको आवश्यकताका बारेमा बहस सुरु भएको छ । कतिपयले वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको सङ्ख्या बढी भएको तर्क गरेका छन् भने कतिपयले बाघको सङ्ख्याको ‘धान्ने क्षमता’ (क्यारिङ क्यापासिटी) ४ सय हाराहारी रहेको बताएका छन् । नेपालमा बाघको सङ्ख्याको ‘धान्ने क्षमता’का बारेमा हाल मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल) लगायत संस्थाले अध्ययन गरिरहेका छन् । जेडएसएलका राष्ट्रिय प्रतिनिधि डा भगवान राज दाहालले अध्ययनको प्रारम्भिक प्रतिवेदनले नेपालमा बाघको सङ्ख्या धान्ने क्षमता चार सय हाराहारी रहेको जानकारी दिए । ‘अहिले बाघको सङ्ख्या बढी भयो भन्न मिल्दैन, बरु बाघलाई आफ्नो बासस्थानमा अडिनका लागि गुणस्तरीय आहारा वृद्धि गर्न पानीका स्रोत र घाँसे मैदान बढाउनतर्फ लाग्नुपर्छ,’ उनले भने । बाघको सङ्ख्याको अनुपातमा हाल संरक्षणको क्षेत्रफल कम नभएको तर्क गर्दै बासस्थानको गुणस्तरीयता बढाउनुपर्नेमा उनको जोड छ । पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । हाल नेपालमा बाघको सङ्ख्या बढेर त्यसको झण्डै तेबर पुगेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) का निर्देशक तथा बाघ विषयमै विद्यावारिधि गर्नुभएका डा चिरिञ्जीवीप्रसाद पोखरेलले मुलुकको पर्यापर्यटनमा बाघको सबैभन्दा बढी महत्व रहेकोे उल्लेख गरे । उनले बाघ निश्चित क्षेत्रफल ओगटेर बस्ने र अर्को भालेसँगको जुधाइ, आहाराको खोजी, जङ्गलभित्रका खोला पोखरी सुक्दा खानेपानीको खोजीलगायत कारण मात्र बासस्थानबाट बाघ जङ्गल बाहिर आउने गरेको बताए । मानव-बाघ सह अस्तित्वका कार्यक्रम आवश्यक ‘बाघले आफ्नो आनीबानी परिवर्तन नगर्ने भएकाले मानव-बाघ द्वन्द्व न्यूनीकरणका लागि मानिसले संरक्षित क्षेत्रमा जानेलगायत आनीबानी परिवर्तन गर्नुपर्छ,’ निर्देशक डा पोखरेलले भने, ‘मन्त्रालयसँग मिलेर हामीले बाघ संरक्षणका सवालमा समुदायमा जनचेतना जगाउने र आर्य आर्जनलगायत सीपमूलक तालिम तथा कार्यक्रम गर्दै आएका छौँं ।’ पर्यापर्यटन प्रवर्द्धन गर्न र मानवसँगको द्वन्द्व रोकथामका लागि मानव-बाघ सह अस्तित्वका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनको भनाइ छ । पछिल्लो सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ रहेका छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको मन्त्रालयको तथ्याङ्क छ । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै हरेक ४ वर्षमा राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा बाघको सङ्ख्या बढेर २३५ पुगेको थियो । विश्व जन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले बाघ पर्यापर्यटनको ठूलो धरोहर भएको बताउँदै सबै मिलेर यसको संरक्षणमा लाग्नुपर्ने बताए । मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि जङ्गल वरपरका स्थानीयलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने उनको सुझाव छ । ‘वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्नसके वन्यजन्तु बाहिर निस्किँदैनन् र स्थानीयलाई पनि वैकल्पिक आयको व्यवस्था गर्नसके जीविकोपार्जनका लागि जङ्गल जान बाध्य नहुने अवस्था बनाउन सकिन्छ । यसमा सरोकारवाला सबै लाग्नुपर्छ,’ उनले भने । बाघ समस्या नभएको र यसको व्यवस्थापन गर्नुपर्ने उनको तर्क छ । विश्वमा बाघको सङ्ख्या ५ हजार ३५७ नेपालबाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यान्मा, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड र लाओसमा पाटेबाघ पाइन्छन् । विश्वभर सन् १९०० सम्म एक लाखको हाराहारीमा बाघको सङ्ख्या रहेको अनुमान थियो । त्यो सङ्ख्या सन् २०१० मा घटेर ३ हजार २०० मा सीमित भएको थियो । विश्व वन्यजन्तु कोषको तथ्याङ्कअनुसार त्यसपछिका विश्व भरबाट भएका संरक्षणका प्रयासले बाघको सङ्ख्या बढेर सन् २०१६ मा ३ हजार ९०० र सन् २०२२ मा ४ हजार ५०० पुगेको थियो । सन् २०२५ पछिल्लो तथ्याङ्कअनुसार विश्वमा बाघको सङ्ख्या बढेर ५ हजार ३५७ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी भारतमा ३ हजार १६७, रुसमा ७५०, इण्डोनेशियामा ४००, नेपालमा ३५५, थाइल्याण्डमा १८९, भुटान १५१, मलेसियामा १५०, बङ्गलादेशमा १४६, म्यान्मामा २२ चीनमा २० भियतनाममा पाँच र लाओसमा २ वटा बाघ रहेका छन् । निकुञ्ज विभागका वरिष्ठ इकोलोजिष्ट हरि भद्र आचार्यले छिमेकी मुलुक भारतका राष्ट्रिय निकुञ्जमा रहेका बाघको घनत्व हेर्दा नेपालको बाघको सङ्ख्या धेरै भयो भन्न नमिल्ने बताए । गुणस्तरीय घाँसे मैदान, पानीको स्रोत र आहारा वृद्धि गरी बाघको सङ्ख्या अहिलेकै क्षेत्रफलमा थप गर्न सकिने प्रशस्त सम्भावना रहेको उनको तर्क छ । मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि आफूहरूले विभिन्न प्रयास गरिरहेको उल्लेख गर्दै उनले भने, ‘विभागले विभिन्न निकायसँग मिलेर बाघ र मानव सह अस्तित्वका विभिन्न कार्यक्रम गरिरहेको छ । बाघ जङ्गलको भित्री भागमा रहिरहनका लागि गुणस्तरीय आहाराको वृद्धि र स्थानीयलाई पनि जीविकोपार्जनका लागि जङ्गलको भित्री भागमा जान बाध्य नहुने अवस्थाका लागि प्रयास गरिरहेका छौँ ।’ देशभरका खोरमा १८ समस्याग्रस्त बाघ बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढ्दो छ । खासगरी मानव वस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ । हाल मुलुक भर यस्ता समस्याग्रस्त बाघको सङ्ख्या १८ वटा छ । तीमध्ये ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानामा ५, चितवन राष्ट्रिय निकुञ्जमा ७, बर्दिया राष्ट्रिय निकुञ्जमा ४, बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा १/१ बाघ खोरमा राखिएका छन् । यस्ता बाघको दैनिक आहारा, हेरचाह, उपचार र अन्य व्यवस्थापनमा बर्सेनि सरकारको ठूलो रकम खर्च हुँदै आएको छ । बाघलाई मार्न र बेचबिखन गर्न नपाइने कानुनी प्रावधान छ । तसर्थ समस्याग्रस्त यस्ता बाघको व्यवस्थापनका लागि ‘टाइगर जु’ स्थापना गर्नुपर्ने, मित्रराष्ट्रलाई वन्यजन्तु कुटनीतिमार्फत उपहारस्वरूप प्रदान गर्नुपर्ने, प्रदेशमा रहेका प्राणी उद्यानमा व्यवस्थापन गरी आयआर्जन गर्न सकिने, केही उपाय नलागे मार्नुपर्ने लगायत विकल्प माथिसमेत बहस सुरु भएको छ । रासस
कोशी, बागमती र गण्डकीमा भारी वर्षा हुने, तराईका केही स्थानमा पानी पर्ने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र लुम्बिनीलगायत देशका पहाडी भू-भागका धेरै स्थान तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । त्यसैगरी, आज राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
माथिल्लो सार्दी जलविद्युतमा एनएमबि बैंकको ४६ करोडको एकल ऋण लगानी
काठमाडौं । एनएमबि बैंकले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित २.९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहेको छ । माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको करिब लागत ६६ करोड १८ लाख ९४ हजार रुपैयाँ रहने जनाइएको छ भने बैंकको ऋण लगानी ४६ करोड ३३ लाख २५ हजार रहनेछ। एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमा नै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरे । मन्दाकिनी हाइड्रोपावरका अध्यक्ष शरदकुमार दाहाल‍ले वित्तिय व्यवस्थापनमा सहयोग गरेकोमा एनएमबि बैंकलाई धन्यवाद ज्ञापन व्यक्त गरे । मन्दाकिनी हाइड्रोपावरद्वारा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा प्रवर्द्धित ४ मेगावाट क्षमता रहेको सार्दी खोला जलविद्युत आयोजनाले विसं २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन सुचारु भइरहेको र उक्त आयोजनामा समेत एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भइरहेको जानकारी दाहालले दिए । नेपाल राष्ट्र बैंकबाट जारी पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणालीको निर्देशन अनुसार एनएमबि बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरि २०२ शाखाहरू, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गदै आइरहेको छ ।
सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आबद्ध
काठमाडौं । कर्मचारी सञ्चय कोष र सिद्धार्थ बैंकबीच बैंकमा कार्यरत कर्मचारीहरूको सञ्चय कोष रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने गरी सम्झौता भएको छ । सम्झौता अनुसार यसै आर्थिक वर्षदेखि बैंकमा कार्यरत सबै कर्मचारीहरुको कोषकट्टी रकम नियमित रुपमा कर्मचारी सञ्चय कोषमा जम्मा हुनेछ । साथै बैंकबाट कोषलाई हाल हस्तान्तरण गरिएको रकम १ अर्ब ५८ करोड ३० लाख १८ हजार २१७ समेत सञ्चय कोषले व्यवस्थापन गर्नेछ । सिद्धार्थ बैंकमा हाल १ हजार ९५५ जना कर्मचारीहरू कार्यरत रहेका छन् । सम्झौतामा कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चयकर्ता सेवा विभागका प्रमुख सागरकुमार सिंह र सिद्धार्थ बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुरेश राज महर्जनले हस्ताक्षर गरे । सम्झौता पश्चात् बैंकका कर्मचारीहरुले कर्मचारी सञ्चय कोषका अन्य सञ्चयकर्ता सरह कोषबाट प्रदान हुने सुविधाहरु समेत उपयोग गर्न सक्ने छन् । बैंकका कर्मचारीहरुले नियमानुसारको अवधि तथा प्रकृया पूरा गरी कोषबाट सहुलियत ब्याजदरमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, जग्गा खरिद सापटी र सरल सापटी लगायतका सुविधा उपयोग गर्न सक्नेछन् । यस्तै¸ कोषले सञ्चयकर्तालाई कुनै व्ययभार नपर्ने गरी कोषको आफ्नै स्रोतबाट सञ्चयकर्ताहरूलाई विभिन्न सामाजिक सुरक्षा सुविधा समेत उपलव्ध गराउँदै आएको छ । जसअनुसार साधारण रोगको उपचारको लागि वार्षिक रू. १ लाखसम्म र कडा रोगको लागि सेवा अवधिभरमा १० लाख रुपैयाँसम्म शोधभर्ना प्रदान गर्ने गरिएको छ। दुर्घटना क्षतिपूर्ति बापत २ लाखसम्म तथा काजकिरिया अनुदान ४० हजार निजका हकवालाले प्राप्त गर्ने गरेका छन् । कोषले सुत्केरी तथा शिशु स्याहार सुविधा अन्तर्गत प्रति प्रसूती बढीमा दुई पटकसम्म ७ हजार ५ सय समेत प्रदान गर्दै आएको छ । कर्मचारी सञ्चय कोषमा हालसम्म ५९१ बैंक तथा वित्तीय संस्थाहरु आबद्ध भइसकेका छन् । कूल ८१ हजार ६५० कार्यालयका ५ लाख ७९ हजार ००० सञ्चयकर्ताहरुको सञ्चय कोषको व्यवस्थापन सञ्चय कोष मार्फत भइरहेको छ । साथै ४ हजार २९० कार्यालयका ९५ हजार ७७३ योगदानकर्ताहरुको योगदानमा आधारित निवृत्तभरण कोषको व्यवस्थापन समेत कोषले गर्दै आइरहेको छ । नेपाल सरकारले आर्थिक ऐन, २०८२ मा संशोधन गरी साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू कर्मचारी सञ्चय कोष जस्ता अवकाश कोषमा आबद्ध हुनु पर्ने व्यवस्था गरेसँगै बैंक तथा वित्तीय संस्थाहरु कर्मचारी सञ्चय कोषमा आबद्ध हुने क्रम बढ्दै गएको छ । गत असार ३१ गते आन्तरिक राजस्व विभागले एक सूचना जारी गरी आर्थिक ऐन, २०८२ को दफा २३ मा आयकर ऐन, २०५८ बमोजिम साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू २०८३ साल असार मसान्तभित्र कर्मचारी सञ्चय कोष लगायतमा अनिवार्य आबद्ध हुनु पर्ने व्यवस्थाको जानकारी गराएको थियो ।
अवसरै अवसरको उत्सव बन्दै नाइमा मोबिलिटी एक्स्पो, नयाँ सवारीमा आकर्षक छुट
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स् एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले बहुप्रतीक्षित ‘नाइमा मोबिलिटी एक्स्पो’ अवसरै अवसरको उत्सव हुने जनाएको छ । एक्स्पोमा ५० वटा ब्रान्डले सहभागिता जनाउने भएका छन् भने सहभागी ब्राण्डहरुले आकर्षक योजनाहरु सार्वजनिक गर्ने भएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नाइमाले प्रदर्शनीमा ८० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरेको छ । नाइमा मोबिलिटी एक्स्पो २०२५ श्रावण २१ देखि २५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन लागेको हो । पहिलोपटक हुन लागेको प्रदर्शनीमा पेट्रोल (आईसी), विद्युतीय सवारीसाधान (ईभी) र हाइब्रिड गाडीहरू समावेश हुनेछन्, जसले अवलोकनकर्तालाई नयाँ प्रविधिबारे जानकारी लिन एकै ठाउँमा अवसर प्रदान गर्ने विश्वास नाइमाको छ । नाइमा मोबिलिटी एक्स्पोका संयोजक शिरिष मुरारकाका अनुसार ५० वटा विभिन्न ब्रान्डले आफ्ना नयाँ उत्पादन र प्रविधिहरू प्रदर्शन गर्नेछन् । उनले अटोमोबाइल क्षेत्रले नेपालको अर्थतन्त्र र रोजगारीमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए । उनका अनुसार यस क्षेत्रले प्रत्यक्ष रूपमा २५ देखि ३० हजारभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ । ‘अटो सेक्टरको अर्थतन्त्रमा योगदान सानो छैन र यो प्रदर्शनीले रोजगारी सिर्जनामा कसरी टेवा पुर्याइरहेको छ भन्ने पनि देखाउँछ,’ संयोजक मुरारकाले भने । प्रर्दशनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मसियल गाडीहरु सार्वजनिक हुने जानकारी दिए । उनका अनुसार प्रदर्शनीका मुख्य प्रायोजकमा एभ्रेष्ट बैंक र नेशनल इन्श्योरेन्स प्रमूख प्रायोजक रहेको प्रर्दशनीमा टिकेटिङ्ग पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राईड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वर्ल्ड लिङ्ग, हस्पिट्यालिटी पार्टनरमा सोल्टि होटल, मेडिकल पार्टनरमा फ्रन्टलाईन हस्पिटल, टेलिकम पार्टनरमा एन्सेल, र म्यानेज्मेण्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् । प्रर्दशनीका आगन्तुकहरुलाई प्रायोजक कम्पनीहरुले पनि विशेष प्रावधानको व्यवस्था गरेको छ । राईड पार्टनर पठाओले प्रर्दशनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राईडहरुमा ३० प्रतिशत सम्मको छुट दिँदै छ भने मेडिकल पार्टनर फ्रन्टलाईन हस्पिटलले प्रर्दशनी स्थलमा चौबिसै घण्टा एम्बुलेन्स व्यवस्थापन सहित आकस्मिक तथा सामान्य चिकित्सासेवा प्रदान गर्ने भएको छ । यस्तै प्रदर्शनी अवलोकनका लागि सामान्य टिकट शुल्क २०० रुपैयाँ र विद्यार्थीहरूका लागि १०० रुपैयाँ तोकिएको छ । टिकटहरू खल्ती, ईसेवा जस्ता डिजिटल वालेटमार्फत खरिद गर्न सकिने संयोजक मुरारकाले जानकारी दिए । उनका अनुसार प्रदर्शनी स्थलबाटै पनि टिकट खरिदको व्यवस्था मिलाइएको छ । प्रदर्शनीको पाँचाैं दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने गरी प्यानल डिस्कसन पनि हुने संयोजक मुरारकाले जानकारी दिए । युवा तथा कन्टेन्ट क्रियटरहरूलाई लक्षित गर्दै नाइमाले ‘मोबिलिटी सेक्टर’ र ‘एक्स्पो’ सँग सम्बन्धित भिडियो कन्टेन्ट कम्पिटिशन पनि आयोजना गरेको छ । प्रदर्शनीमा अवलोकनकर्ताको सहजताका लागि विशेष व्यवस्था गरिएको छ । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अन्य सहयोग चाहिने व्यक्तिहरूका लागि स्वयंसेवकहरूको टोली परिचालन गरिनेछ । साथै विद्युतीय सवारी प्रयोगकर्ताको सुविधाका लागि ईभी चार्जिङ स्टेसनको पनि व्यवस्था रहनेछ । एक्स्पो नेपाली अटोमोबाइल उद्योगका लागि एक महत्त्वपूर्ण प्लेटफर्म रहेको र यसले उपभोक्ता, बिक्रेता र उत्पादकहरूलाई एकै छानामुनि ल्याउने विश्वास नाइमाको छ । आयोजकले यस पटकको प्रदर्शनी प्रविधि, रोजगारी र उपभोक्तामैत्री सुविधामा केन्द्रित रहेको दाबी गरेको छ । नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले मिडिया तथा साझेदारहरूलाई धन्यवाद दिँदै ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्नेमा विश्वास व्यक्त गरिन्। उनले प्रदर्शनीलाई ‘चुनौती नभई अवसरै अवसर’को उत्सवको रूपमा गर्न लागेको बताइन् । उनले ३५ वटा नयाँ मोडेलका सवारीसाधन सार्वजनिक हुने जानकारी दिइन् । कम्पनीहरूले ग्राहकका लागि आकर्षक छुटको तयारी पनि गरिएको बताएका छन् । प्रदर्शनी केवल सवारी बेच्ने थलो मात्र नभई एक सिकाइ मञ्च पनि हुने उनको दाबी छ । ‘यो एक्स्पो बेच्नलाई मात्रै होइन,’ उनले भनिन्, ‘हामीले ‘लर्निङ सेसन’ पनि राखेका छौं, जहाँ बाहिरका विज्ञहरूबाट ज्ञान लिन सकिन्छ । यो एक अन्तरक्रियात्मक प्लेटफर्म हुनेछ ।’ प्रदर्शनीको पहिलो दिन अनिल केशरी शाहले २ बजे देखि ५ बजेसम्म मोबिलिटी हिजो, आज, र भोलि’ विषयमा सत्र सञ्चालन गर्नेछन् भने अरू दिनको सत्रमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, र भारतको इन्स्टिच्युट अफ रोड ट्राफिक एजुकेशन जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूका दक्ष तथा विज्ञ व्यक्तित्वहरुको उपस्थिति रहनेछ । मोबिलिटी एक्स्पोमा बिक्री भएका टिकटहरुको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरूलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोशिपहरू प्रदान गरिने जनाइएको छ । आयोजकले प्रदर्शनीलाई लक्षित गरी १ लाख रुपैयाँको पुरस्कार राशीसहितको भिडियो कन्टेन्ट कम्पिटिशनको पनि घोषणा गरेको छ । सहभागीहरूले श्रावण २१ गते (अगस्ट ६) बेलुका ७ बजेसम्म आफ्नो भिडियो पोस्ट गर्न सक्नेछन् । सबैभन्दा बढी भ्युज पाउने भिडियोले नगद १ लाख रुपैयाँ पुरस्कार जित्नेछ । साथै अन्य १० उत्कृष्ट भिडियोलाई १०/१० हजार रूपैयाँका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
ज्योति विकासको इन्टरबैंक टेलर क्युआर सेवा सुरु, खाता नभएकाले पनि नगद झिक्न सक्ने
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा नयाँ डिजिटल सेवा ‘इन्टरबैंक टेलर क्युआर भुक्तानी सेवा’ सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत अब ज्योति विकास बैंकमा खाता नभएका ग्राहकले पनि आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरेर नगद झिक्न सक्नेछन् । बैंकका अनुसार सेवाग्राहीले जुनसुकै बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग सेवा सक्रिय राखेको हुनुपर्छ । त्यसपछि ग्राहकले ज्योति विकास बैंकको कुनै पनि शाखामा गएर त्यहाँ रहेको टेलर क्युआर स्क्यान गरेर नगद प्राप्त गर्न सक्छन् । सेवा प्रयोग गर्दा वैध परिचयपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ । एटीएम वा आफ्नै बैंकको शाखा नपुगेको अवस्थामा यो सेवा वैकल्पिक र सुविधाजनक उपाय बन्ने बैंकको विश्वास छ । यसले डिजिटल बैंकिङ प्रयोगकर्ता र टेलर सेवा चाहनेहरूबीचको दूरी घटाउनेछ । ज्योति विकास बैंकले डिजिटल प्रविधिमार्फत पहुँच र सन्तुष्टिमा केन्द्रित सेवा प्रवाह गर्दै आएको र भविष्यमा अझ नवीनतम समाधानहरू ल्याउने प्रतिबद्धता समेत जनाएको छ ।
सबैभन्दा धेरै एआई मोडल चीनमा विकास
काठमाडौं । चीनले एक हजार पाँच सय नौ ठूला कृत्रिम बुद्धिमत्ता (एआई) मोडल जारी गरेको छ । यो विश्वभरमा सबैभन्दा धेरै सङ्ख्या हो र हालसम्म सुरु गरिएका तीन हजार सात सय ५५ मोडलको पर्याप्त हिस्सा हो । यो जानकारी २०२५ विश्व एआई सम्मेलन (डब्लुएआइसी) मा प्रस्तुत गरिएको हो । चीनले आधारभूत पूर्वाधार र क्षेत्र–विशिष्ट अनुप्रयोगहरू समेटेर एक व्यापक एआई औद्योगिक प्रणाली स्थापना गरेको छ । चीन एकेडेमी अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी (सिएआइसिटी) को तथ्याङ्कअनुसार देशमा पाँच हजार एक सयभन्दा बढी एआई कम्पनी छन् । यी कम्पनीले विश्वभरका कुल कम्पनीको लगभग १५ प्रतिशत ओगटेका छन् । थप रूपमा, चीनमा ७१ एआई युनिकर्न कम्पनीहरू छन्, जसले विश्वका दुई सय ७१ युनिकर्नहरूको लगभग २६ प्रतिशत प्रतिनिधित्व गर्दछ । सिएआइसिटीका अध्यक्ष यु सियाओहुईले यस वर्ष नयाँ प्राविधिक दृष्टिकोणका साथसाथै आधारभूत ठूला मोडेलहरूको द्रुत पुनरावृत्तिले आर्टिफिसियल जनरल इन्टेलिजेन्सतर्फ अघि बढ्ने महत्त्वपूर्ण सम्भावना देखाएको बताए । चीनमा अग्रणी कम्पनीहरू, उदीयमान युनिकर्नहरू, विशेषज्ञ फर्महरू र नयाँ स्टार्टअपहरूद्वारा विशेषता भएको सकारात्मक विकास परिदृश्य आकार लिएको उनले बताए । सूचीबद्ध कम्पनीहरू र युनिकर्नहरू चीनको एआई उद्योगका लागि प्रमुख इन्जिनका रूपमा पहिचान गरिएका छन् । चीनमा तीन सयभन्दा बढी एआई–सम्बन्धित सूचीबद्ध कम्पनीहरू छन्, जसको एआई–सम्बन्धित राजस्व देशको कुल एआई उद्योग मापनको लगभग ७० प्रतिशत हो । चिनियाँ एआई युनिकर्नहरूका शीर्ष पाँच नवीनता क्षेत्रहरू ठूला मोडल, स्वायत्त ड्राइभिङ, बुद्धिमान रोबोट, व्यापारिक बुद्धिमत्ता अनुप्रयोग र एआई कम्प्युटिङ चिपहरू हुन् । युले चीनको एआई उद्योग निरन्तर नयाँ प्रविधि, अनुप्रयोग र व्यापारिक मोडलहरूको धाराले प्रेरित भएर द्रुत रूपमा विस्तार भइरहेको बताए । उनका अनुसार यो उच्च गुणस्तरीय आर्थिक र सामाजिक विकासको लागि मुख्य वृद्धि चालक बनेको छ । साङ्घाईमा एकसाथ आयोजित ग्लोबल एआई गभर्नेन्स सम्बन्धी उच्च–स्तरीय बैठकसँगै ‘एआई युगमा विश्वव्यापी एकता’ शीर्षकको तीन दिने डब्लुएआइसी समापन भयो । बैठकमा ४० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरूका उच्च–स्तरीय प्रतिनिधिहरूलाई एकत्रित भएका थिए ।
नेप्से बुल र द गभर्नरको कारोबारमा वृद्धि
काठमाडौं । नेप्से बुल र द गभर्नर मदिराको कारोबार गर्ने सागर डिस्टिलरीले एक वर्षमा १८ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा (सन् २०२५) सागर डिस्टिलरीले १८ करोड रुपैयाँ बराबरको कारोबार गरेको हो । यसअघि कम्पनीले १७ करोड ७० लाख रुपैयाँ बराबरको मदिराको कारोबार गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले १.६९ प्रतिशत अर्थात् ३० लाख रुपैयाँ बढीको मदिरा कारोबार गरेको हो । कम्पनी सन् २०२२ बाट पूर्ण रुपमा सञ्चालनमा आएको हो । कम्पनीले सन् २०२२ मा ६ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा ९ करोड ४० लाख रुपैयाँ बराबरको मदिराको कारोबार गरेको थियो । सन् २०१४ स्थापित सागर डिस्टिलरी सन् २०२३ पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको थियो । नवलपुरको देवचुलीमा फ्याक्ट्री रहेको यस कम्पनीले भोड्का, ह्विस्की, जिन, जस्ता उच्च ग्रेड स्प्रिटहरू उत्पादन गर्दै आएको छ । सागर डिस्टिलरीको वार्षिक ५० लाख लिटर मदिरा उत्पादन क्षमता रहेको छ । ललीपप गोल्ड/एप्पल/लेमन/ओरेन्ज (७० यूपी), रोयल ब्लू (४० यूपी), ग्रे वुल्फ (४० यूपी), बेरीज एण्ड ब्लूज (४० यूपी), नेप्से बुल्स (३० यूपी) र द गभर्नर (२५ यूपी) उत्पादन गर्दै आएको सागर डिस्टिलरीले जनाएको छ । कम्पनीमा आशुतोष खेतान, अल्का गोयल र सन्दीप जलानको मुख्य लगानी रहेको छ । खेतानको १४.५२ प्रतिशत, गोयलको १०.६३ प्रतिशत र जलान ९.१४ प्रतिशत सेयर स्वामितव रहेको छ । कम्पनीमा ४ सदस्यीय सञ्चालक समिति रहेको छ । जसको अध्यक्षता अल्का गोयलले गरिरहेकी छिन् । उनीसँग एक दशकभन्दा बढीको अनुभव छ । साथै, जालान र खेतानसँग ब्रोकरेज, सूचना प्रविधि, मिडिया, घरजग्गा र निर्माण लगायतको अनुभव छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सौरभ करणजीत छन् । उनीसँग यो क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव छ । छोटो समयमा उल्लेख्य व्यवसाय विस्तार गरिरहेको यस कम्पनीले आगामी दिनमा बजारमा स्थापित कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने मुख्य चुनौती रहेको छ । सागर डिस्टिलरीले सर्वसाधारण लगानीकर्तालाई जारी पुँजीको १५ प्रतिशत आईपीओ बिक्री प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ भने १४ करोड ५२ लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा समेत आवेदन दिएको छ ।