गरिवी निवारण कोषले विभिन्न जिल्लामा तीन अर्ब ८२ करोड लगानी गर्ने
काठमाडौं, ८ भदौ । गरिवी निवारण कोषले चालु आवमा विभिन्न जिल्लामा तीन अर्ब ८२ करोड २८ लाख ६६ हजार रुपैयाँ लगानी गर्ने भएको छ । सो बजेटअन्तर्गत दुई हजार ५६२ आयआर्जन, २०८ सामुदायिक भौतिक पूर्वाधार परियोजना, ७० पकेट क्षेत्र विकास र ६० सहकारी संस्था सञ्चालनमा सहयोग गर्ने कोषका कार्यकारी निर्देशक नहकुल केसीले जानकारी दिए । यस्तै भूकम्प प्रभावित १३ जिल्लामा चालु आवमा प्राथमिकताका साथ पुनःनिर्माणका कार्यक्रम सञ्चालन गरिने छ । काठमाडौंमा सम्पन्न कोषको ६३औँ सञ्चालक समितिको बैठकले उक्त बजेट तथा कार्यक्रमको अनुमोदन गरेको छ । चालु आवमा कोषसँग आवद्ध सहयोगी संस्थाको सङ्ख्यामा कटौती गरिने, अधुरा योजना पूरा गरिने र सामुदायिक संस्थाको परिपक्वताका आधारमा ती संस्थाको दिगोपनका लागि विभिन्न उपाय अवलम्बन गरिने निर्देशक केसीले जानकारी दिए । कोषका उपाध्यक्ष युवराज पाण्डेका अनुसार हालसम्म कोषले ५५ जिल्लामा २९ हजार सामुदायिक संस्था गठन गरी करिब आठ लाख विपन्न घरधुरीलाई कार्यक्रममा समेटेको छ । “कोषका कार्यक्रमबाट ७८ प्रतिशत महिला सदस्य लाभान्वित छन्,” उनले भने । रासस
भारत सरकारबाट १७ वटा दमकल प्रदान
काठमाडौं, ८ भदौ । आगलागी नियन्त्रणमा सहयोग पुर्याउन भारतले आज नेपाललाई १७ वटा दमकल उपहारस्वरुप प्रदान गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई भारतीय राजदूत रणजीत रायले यहाँ आयोजित कार्यक्रममा ती दमकलको साँचो हस्तान्तरण गरे । त्यस अवसरमा मन्त्री पाण्डेले एउटा दमकलको साँचो काठमाडौं महानगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत सनतकुमार थापालाई सुम्पेका हुन् । मन्त्री पाण्डेले आगलागी नियन्त्रण गर्न भारत सरकारबाट प्राप्त दमकलले थप सहयोग पुर्याउने बताए । राजदूत रायले आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि दमकलकै भर पर्नुपर्ने उल्लेख गर्दै ती दमकलले प्रयोगले यस्ता कामकामा मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् । हाल २१७ नगरपालिकामध्ये ७१ नगरपालिकामा १०१ बटा दमकल रहेको उक्त मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले जानकारी दिए । उनले भने–“अझै ३४ बटा दमकल खरिदका लागि प्रक्रिया अघि बढाइएको छ, भारत सरकारले आज उपहारस्वरुप हस्तान्तरण गरेको समेत अब १५२ दमकलको सङ्ख्या पुगेको छ ।” रासस
जगदम्बा स्टिल्सद्वारा नेपाली बजारमा राइनो ५००डी सार्वजनिक
काठमाडौं, ८ भदौ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टिल्स प्रालिले नेपाली बजारमा ‘ग्यारेण्टेड डक्टिलिटी’ सहितको राइनो ५००डी फलामे छड सार्वजनिक गरेको छ । राइनो ५००डी मजबुती तथा डक्टिलिटी सहितको नयाँ छड हो । कम्पनीका अनुसार ग्रेड एफई ५०० डीमा कम्पनीले सल्फर र फोसफोरसको सम्मिश्रणको अधिकतमम ०.०७५ प्रतिशत मात्र प्रयोग गरेको छ । जसले गर्दा छड अत्यधिक मजबुत हुनुका साथै उच्च डक्टिलिटीको सुनिश्चितता रहेको छ । उत्पादनको खरिदमा कम्पनीले आफ्ना उपभोक्तालाई राइनो ५००डी ग्यारेण्टि कार्डपनि उपलब्ध गराउने छ । उक्त ग्यारेण्टि कार्ड मार्फत उपभोक्तालाई निर्माणमा गुणस्तर र सुरक्षाको प्रत्याभुति दिन चाहेको कम्पनीले बताइएको छ । नयाँ उत्पादन सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै शंकर गु्रपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले अहिले अर्थ ब्यवस्थामा देखिएको उन्नतीका कारण हाउजिङ लगायत पुर्वाधार विकासको क्षेत्रमा ब्यापक अवसरको सिर्जना भएको बताए । भुकम्पिय क्षति न्यूनिकरणका लागि सुरक्षित तथा भुकम्प प्रतिरोधात्मक निर्माण भने ठूलो चुनौतीका रुपमा रहेको बताउँदै अग्रवालले यही चुनौतीको सामना गर्ने सोचका साथ एफई ५००डी गे्रडमा फलामे छड राइनो ५००डी सार्वजनिक गरिएकोे जानकारी दिए । ‘यो नेपालकै पहिलो र आफ्नो प्रकारको एक मात्र अत्यधिक शक्तिशाली र अधिकतम डक्टिलिटी सहितको फलामे छड हो’ उनले भने । कम्पनीले आफ्ना उपभोक्तालाई विश्वस्तरिय उत्पादन तथा गुणस्तर उपलब्ध गराउन नियन्त्रित उत्पादन प्रणाली अन्तर्गत नियन्त्रित कच्चा पदार्थको प्रयोग, नियन्त्रित उत्पादन प्रक्रिया र नियन्त्रित परिमिति (पारामिटर्स) अपनाउने गरेको बताएको छ । कम्पनीका अनुसार राइनो ५००डी फलामे छड नेपाल जस्तो उच्च भुकम्पीय जोखिम सम्भावित क्षेत्रमा साना ब्यक्तिगत घरदेखि ठूल्ठूला पूर्वाधार लगायत परियोजना निर्माणका लागि विशेष उपयुक्त छ । यो बहु तले भवन, पूल, फ्लाइओभर्स तथा बाँध, विण्ड टर्बाइनको जग, औद्योगिक संरचनाहरु, कंक्रिट सडकहरु, टनेल्स, थर्मल तथा जलविद्युतिय पावर स्टेसन्स लगायतको निर्माणका लागि उपयुक्त छ । कम्पनीको नेपाल भर रहेका विशेष खुद्रा विक्रि केन्द्र मार्फत उपभोक्ताले ८ एमएम देखि ३२ एमएम सम्मको साइजमा सहजै राइनो ५००डी रेबार खरिद गर्न सक्छन् । साथै, उपभोक्ताको माग तथा परियोजनाको आवश्यकता अनुसार ३६ एमएम र ४० एमएम साइजमापनि कम्पनीले रेबार उपलब्ध गराउँछ । निर्माण प्रक्रियामा प्रयोगका क्रममा खेर जाने मात्रा न्यूनिकरण तथा कार्यगत सहजताका लागि सबै फलामे छड निर्धारित १२ मिटर लम्बाईका साथ उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
नक्कली डाक्टर सुनिल आचार्य विरुद्ध मुद्धा
काठमाडौं, ८ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली डाक्टर सुनिल आचार्य विरुद्ध मुद्ध दायर गरेको छ । आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि एमबिबिएस अध्ययन गरेको आचार्य विरुद्ध बिशेष अदालत काठमाडौंमा बुधबार मुद्धा दायर गरेको हो । निज आचार्यले आइएस्सीको नक्क्ली प्रमाण पत्र पेश गरि एमबिबिएस अध्ययन गरेका थिए । उनी २०६३/११र२७ गते नेपाल स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेस सामुह, मेडिकल अधिकृत पद सातौ तहमा सरकारी सेवा प्रवेश गरी मिति २०७३र०१र२४ गते बाट नेपाल स्वास्थ्य सेवा अब्स्ट्रेटिक तथा गाइनोकोलोजी समुह, कन्सलटेन्ट अब्स्ट्रेटिक तथा गाइनोकोलोजिस्ट नबौ तहमा बढुवा भइ लाभ सुविधा लिईरहेका थिए । आचार्यले राजाराम साह कलेज रक्सौल, पूर्बि चम्पारन भारतबाट सन् १९९७ मा आइएस्सी प्रथम श्रेणिमा उत्तिर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी एमबिएिस अध्ययन गरेका थिए ।
अटोमोबाइलको बजार ३५ प्रतिशतले बढिरहेको छ–अञ्जन श्रेष्ठ
अञ्जन श्रेष्ठ, अध्यक्ष–नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपाल भदौं १४ गतेदेखि १९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा सवारीहरुको प्रदर्शनी नाडा अटो शो २०१६ हुँदैछ । नाडा अटोमोबाइल्स एशोसिएशनले आयोजना गर्ने उक्त मेलामा नेपालमा बिक्री हुने प्राय सबै सवारी साधन, सवारी सहायक बस्तुहरुको प्रदर्शनी हुने, ५० हजार भन्दा बढी मानिसले अवलोकन गर्ने र २ अर्ब भन्दा बढीका करोबार हुने अनुमान गरिएको छ । मेलाको तयारी कस्तो छ ? मेलाबाट सवारी पारखीले के पाउने छन् ? प्रस्तुत छ, नाडा अटोमोवाइल्स एशोसिएशनले आयोजना गरेको पत्रकार सम्मेलनमा उठेका प्रश्न र नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले दिएको जवाफको सारः नाडा अटो शोको तयारी कस्तो छ ? यहि भदौं १४ गतेदेखि १९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा ११ औं नाडा अटो शोको आयोजना गर्दैछौं । सबै खाले तयारीहरु अन्तिम चरणमा पुगिसकेको छ । सहभागी हुने ब्राण्ड, तिनको लोकेशन लगायतका सबै कुरा निश्चित भैसकेका छन् । अटो शोमा अटोमोबाइल्सका कुन–कुन उत्पादन समेटिँदैछन् ? र कति स्टल रहनेछन् ? मेलामा ७४ वटा कम्पनीका १२५ वटा स्टलहरु रहने छन् । त्यसमा १६ वटा ब्राण्डका चार पाङग्रे, १५ वटा ब्राण्डका दुई पाङग्रे तथा ५ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरू रहने छन् । साथै, नाडा अटो शोमा प्रख्यात ब्राण्डका सवारी साधन, पार्ट पुर्जा तथा अन्य एसेसरिजहरु समावेश गरिनेछन् । कुन–कुन ब्राण्डले सहभागीता जनाउँदैछन् ? नेपाली बजारमा उपस्थितका भएका प्राय सबै ब्राण्डलाई सहभागी गराउने प्रयास गरेका छौं । जस्तो कि चार पाङग्रेमा डाट्सुन, फियट, फोर्ड, होण्डा, हुण्डाई, किया, महिन्द्रा, एमजी, निशान, रेनाउल्ट, स्कोडा, सुजुकी, टाटा, टोयोटा, भक्सवागन र साङयोङ रहेका छन् । त्यस्तै २–पाङग्रेमा बजाज, बेला, बेनेली, हिरो, होण्डा, केटिएम, महिन्द्रा, रोयल इनफिल्ड, रनर, स्कोमाडी, सुजुकी, टिभिएस, युएम ग्लोबल, भेस्पा र यामाहा रहेका छन् । त्यस्तै, हेवी कमर्शियलमा अशोक लिलेण्ड, आइसर, इस्कोर्ट, महिन्द्रा र टाटा रहेका छन् । त्यसबाहेक पनि बिभिन्न वित्तीय संस्था, नया प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एसेसरिजहरूको पनि सहभागिता रहने छ । मेला कस्तो हुने पूर्वानुमान गर्नु भएको छ ? अटोमोवाईल क्षेत्रको यो सबैभन्दा ठूलो मेला हो । ६ दिनसम्म चल्ने नाडा अटो शोमा ५० हजार आगन्तुकहरुले अवलोकन गर्ने अपेक्षा गरेका छौं । उहाँहरुले मेलामा पक्कै पनि धेरै नयाँ कुरा देख्न पाउनु हुनेछ । गतसाल ४० हजारले अवलोकन गरेका थिए । गत सालको नाडा अटो शो मेलामा १५० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यसपाली करिब २ अर्बको कारोबार हुने अनुमान गरेका छौं । नाडा अटो शो बेच्ने मात्रै नभएर ब्राण्डिङ गर्ने स्थलका रुपमा पनि स्थापित हुँदै आएको छ । त्यसैले अब वर्षमा दुई पटक अटो शो गर्ने कि भनेर हामीबीच छलफल भैरहेको छ । अर्थतन्त्रमा अटो मोबाइल्स क्षेत्रको योगदान कति छ ? अटो मोबाइल्स क्षेत्र भनेको मुलुकको अर्थतन्त्रको मेरुदण्ड नै हो । करिव बर्षेनी पाँच हजार करोड रुपैयाँ बराबर कारोबार हुने गरेको छ । देशको कुल राजस्वमा करिब २० प्रतिशत योगदान अटोमोबाइल क्षेत्रले पुर्याएको छ । बीमा बजारमा करिब ४५ प्रतिशत हिस्सा अटोमोबाइल क्षेत्रले नै ओगटेको छ । करिब १७ लाख नेपालीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । अटो मोबाइलको बजार वृद्धिको अवस्था कस्तो छ ? भूकम्प र नाका बन्दीका बाबजुद पनि गत वर्ष ३५ देखि ४० प्रतिशत बजार बढेको थियो । यसपालीमा पनि सोही मात्रामा बजार वृद्धि हुन्छ । यसको स्कोप अझै ठूलो छ, त्यसैले बजार अझै वृद्धि हुन्छ । करको दरमा सधै असन्तुष्ठि व्यक्त गर्दै आउनु भएको छ, किन ? विश्वमै नभएको भन्सार दर हामी कहाँ छ, अटो मोबाइल क्षेत्रमा । अब यसलाई बिलासिताको बस्तुबाट आवश्यक बस्तुका रुपमा मान्यता दिनु पर्छ त्यसका लागि करको दर घटाउनु पर्छ भन्ने हाम्रो माग हो । खास गरी सरकारी अधिकारी तथा नीति निर्माताले अटोमोवाईल क्षेत्रलाई विलासीका बस्तुको रुपमा लिनु भएन । यसलाई बिलासीको बस्तुबाट आवश्यकताका बस्तुका रुपमा परिभाषित गरिनुपर्छ भन्ने हाम्रो माग हो । ५ हजार करोड रुपैयाँको कारोबार हुन्छ भन्नु भयो । यति ठूलो बजार भए पनि नेपालमा नै एसेम्बल गरी मोटर निर्माण किन गर्न सकिएको छैन ? हामी पनि एसेम्बलको काम गर्नु पर्छ भन्ने निष्कर्षमा पुगेको धेरै पहिले नै हो । त्यसका लागि सरकारसँग पनि विशेष सुबिधा माग गर्दै आएका छौं । नेपालमा एसेम्बल गरियो भने त्यसले सहायक कम्पनीहरुको स्थापना गराउँछ र रोजगारीको ठूलो अवसर सृजना हुन्छ । एसेम्बलका लागि सरकारले छोटो समय सुबिधा दियो भने लामो समयसम्म अर्थतन्त्रामा योगदान पुग्छ । यसपालीको बजेट मै केहि सुबिधाका लागि आग्रह गरेका थियौं । तर त्यस्तो सुबिधा केहि पनि आएन् । बजाज मोटर साइकलको एसेम्बल युनिट स्थापना भैसकेको छ । त्यहि छुटको बिषयमा कुरा नमिलेर उत्पादन बजारमा ल्याउन नसकिएको हो । सडक मर्मत तथा सम्भार दस्तुर उठाइँदै आएको छ, तर सडकको दुर्दशा र दुर्घट्ना घटेका छैनन् नि ? सरकारलाई सडक मर्मत तथा सम्भार दस्तुर लिन र त्यस कोषले सडक मर्मत गर्न हामीले नै सरकारलाई सुझाव दिएका हौं । तर सरकारले त्यो शिर्षकमा रकम उठाए पनि काम गरेन । सुरुमा दुई प्रतिशत, त्यसपछि पाँच प्रतिशत हुँदै यसपाली ७ प्रतिशत सडक मर्मत तथा सम्भार दस्तुर पुर्याएको छ । त्यो रकम राजश्व खातामा हालेको देखिन्छ । अब त्यो ७ प्रतिशत दस्तुर छुट्टै कोष बनाएर सडक मर्मतमा खर्च गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । ट्राफिक व्यवस्थापनमा पनि सोही कोषको केहि रकम खर्च गर्न सकिन्छ । नेपालमा यतिबेला सडक विस्तारको काम द्रुतगतिमा अघि बढेको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रम, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण छिचोल्ने सडक करिडोरहरुको काम अघि बढेसँगै त्यसको पुष्टि हुन्छ । तर त्यसको गुणस्तर मापनको उपयुक्त विधि अबलम्बन गरिनु आवश्यक छ ।
शिखर इन्स्योरेन्स र फोटोपत्रकार क्लबबीच बीमा सम्झौता
काठमाडौं, ८ भदौ । शिखर इन्स्योरेन्स र फोटोपत्रकार क्लबबीच फोटोपत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बीमा गर्ने सम्बन्धी सम्झौता भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा शिखर इन्स्योरेन्सका कार्यकारी निर्देशक दिप कुमार पाण्डे र फोटोपत्रकार क्लबका अध्यक्ष बिकास कार्कीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । आइएमइ ग्लोबल आइएमइ नेपाल फोटो प्रतियोगिताको नेपाल स्माइल बिधामा प्रायोजन गरेको शिखर इन्स्योरेन्सले फोटोपत्रकारहरुको क्यामेरामा ३ लाख सम्म, स्वास्थ्यमा १ लाख र दुर्घटनामा ५ लाखसम्मको बीमा गर्ने सम्झौता गरेको हो । कार्यक्रममा शिखर इन्स्योरेन्सका कार्यकारी निर्देशक पाण्डेले फोटोपत्रकारसँग गरिएको बीमा सम्झौताले नयाँ मोड लिएको बताउँदै यसलाई अझ फराकिलो दायरामा लैजाने जानकारी दिए । फोटोपत्रकारहरुको क्यामरा चोरी भएको अबस्थामा बीमा दाबी गर्न नसकिने र अन्य अबस्थामा गरिने बीमा दाबी क्लबको सिफारिसमा दिइने बताए । पहिले प्रिमियम तिर्न नपर्दा फाइदा हुन्छ भन्ने धारणा चल्दै आएको बताउँदै सिइओ पाण्डेले भने तर अहिले जस्ले प्रिमियम तिर्छ उसलाई बढी फाइदा हुन्छ । फोटोपत्रकार क्लबका अध्यक्ष बिकास कार्कीले शिखर इन्स्योरेन्ससँगको सहकार्यले फोटोपत्रकारहरुलाई निर्धक्क आफ्नो जिम्मेवारीमा लाग्न प्रेरित गरको बताए । बिभिन्न आन्दोलका क्रममा फोटोपत्रकारका क्यामेरा, लेन्सको क्षति हुने गरेको तर कहिकतैबाट पनि क्षतिपूर्ति नआउने अबस्थाबाट मुक्त भएको बिचार ब्यक्त गरे । फोटोपत्रकार क्लबसँगको सहकार्यलाई लामो समयसम्म निरन्तरता दिने बताउँदै शिखर इन्स्योरेन्सका सिइओ पाण्डेले कुन बीमा कति प्रिमियम थप गर्न सकिन्छ आपसी सहमतीबाट तय गर्न सकिने जानकारी दिए । फोटोपत्रकार क्लबसँगको बीमा सम्झौता अनुसार बीमाशुल्कमा चालिस प्रतिशत छुट गरेको छ ।
कहिले अन्त्य होला बाढीपीडितको पालको बास ?
जाजरकोट, ८ भदौ । न औषधि खाने पैसा छ, न त राम्रोसँग बस्ने बास र गाँस नै छ । २०७१ भदौ २९ गतेदेखि सुर्खेतको गिरीखोला र भेरीमा आएको बाढीले सुर्खेतको हरिहरपुर–५ का १३९ घरधुरीको उठिवास नै लगाएपछि उनीहरु पालमा बसिरहेका छन् । बिरामी भएमा औषधि खानको लागि र बिहान बेलुका छाक टार्नका लागि समेत भगवान् नै पुकार्नु पर्ने अवस्था छ । जिन्दगी जीउन र परिवार पाल्नका लागि पालमा बस्दै आएका वृद्धदेखि युवासम्म गिट्टी कुट्ने तथा अन्य सामान्य काम गर्दै आएका छन् । त्यसबर्ष भदौ २९ गते राति आएको बाढी र त्यसैमा बगेको परिवार झलझली सम्झिरहन्छु अहिलेसम्म पनि, सुतिरहेका बेला घरबाट बगेर उर्लेको भेरीमा पौडी खेल्दै आफू पनि बाँचे परिवार पनि बचाएँ, यति दुःखद् जीवन बिताउन लेखेको रैछ, त्यसैले बाँचियो, नत्र उही कालो दिनमा मेरो जीवनको अन्त्य भइसकेको हुन्थ्यो, त्यही अस्थायी शिविरमा बस्दै आएकी सुमित्रा सुनारले विगत कोट्याउँदै भने । सुमित्राको सरकारसँग आश पनि मरेको छैन र सरकारसँग गुनासो भने छँदैछ । सरकारले दिने भनेको रु ५० हजार पनि दर्तावाला जग्गा खरिद पछि मात्र दिने भन्ने कुराले समस्या पारेको छ । रु ५० हजारले कहाँ दर्तावाला जग्गा किन्न आउँछ, सरकार आफैँले किनेर हामीलाई दिए भैगो सुमित्राको सरकारलाई प्रश्न छ ? शिविरमा बसेर पढ्ने बालबालिकालाई आवश्यक कापी, कलम र पोसाक किन्ने समस्याले गर्दा निकै सताउने गरेको कक्षा ५ मा पढ्दै गरेकी सविना नेपालीले पीडा सुनाउनुभयो । सविनाले भने – ”जेठो दाजु भारत जानुभएको छ, भाउजुले दाजुलाई र हामीलाई छोडेर अन्तै गइसक्नुभयो, आमाले गिट्टी कुटेर परिवारको खाना खर्च र हामी भाइबहिनीको पढाइ खर्च जेनतेन चलाउनुभएको छ ।” कोही चिटिक्क परेको मानिसको समूह र गाडी बस्ती वा स्कुलमा आए भने केही राहत ल्याएकाछन् र दिन्छन् की भन्ने आश लाग्छ, उनले थपे । उनले स्कुलमा भोग्नुपरेको समस्याका विषयमा पनि बताए । स्कुल पनि पालले ढाकिएको छ, घाम लाग्यो भने पसिनाले लुथ्रुक्क पार्छ, पानी प¥यो भने चुहिएर पानीले लुथ्रुक्क पार्छ, सबै विद्यार्थीको साझा समस्या हो, उनले भने, “शिविरको पालमा अँध्यारो छ, बत्ती छैन, खाना पकाउने बेलामा धुँवा हुन्छ, पढ्ने वातावरण केही गरी मिल्दैन ।” कक्षा ५ मै अध्ययनरत राधिका नेपालीले भने– “पाल पनि च्यात्तिएको छ, न सिलाउन मिल्छ, पानी चुहिन्छ । कहिले बाघले सताउँछ, कहिले सर्पले दुःख दिन्छ । यत्रो दुःख भोग्न थालेको दुई वर्ष पुगिसक्यो सरकारले हामीलाई नजिकबाट किन हेर्दैन ? ” राधिकाको पनि बाबाआमा दुवै भारत गएका छन् उनी अहिले शिविरमा हजुरआमासँग बस्दै आएकी छन् । पढ्ने लेख्ने उमेरमा शिविरमा बस्दै आएका सबै बालबालिका पढाइको चिन्ताभन्दा पनि दाउरा र गिट्टी कुट्ने काममा लाग्नु परेको छ । दुईवर्षसम्म कसैले केही हेरेनन् तर अझै पनि उनीहरुको आश भने मरेको छैन । रासस
दाङ–नयाँदिल्ली बस सञ्चालन हुँदै, भाडा दुई हजार रुपैयाँ मात्र
दाङ, ८ भदौ । राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले अन्तर्राष्ट्रिय स्तरमा बस सेवा सञ्चालन गर्ने भएको छ । समितिले पहिलोपटक दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि सिधा डिलक्स बस सेवा सञ्चालन गर्न थालेको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिएका छन् । उनका अनुसार पहिलोपटक भदौ १३ गतेबाट दाङदेखि भारतको नयाँदिल्लीसम्मका लागि दिउँसो ११ः ३० बजे बस सञ्चालन हुनेछ । त्यसैगरी दैनिक सोमबार, बुधबार, शुक्रबार नेपालबाट भारतको दिल्लीका लागि बस छुट्ने र भारतको दिल्लीबाट आइतबार, बुधबार र शुक्रबार बस छुट्ने समितिले जनाएको छ । यात्रुको बढ्दो मागसँगै नेपाल–भारत आवातजावत गर्ने यात्रुलाई सहजरुपमा सुरक्षित र भरपर्दो सेवा दिन समितिले बस सेवा सुरु गर्न थालेको हमालले बताए । दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि नेपाली दुई हजार रुपैयाँ भाडा तोकिएको समितिले जनाएको छ । पहिलोपटक एउटा बसबाट सेवा आरम्भ गरे पनि यात्रुको मागअनुसार सेवा थप गरिने समितिका अध्यक्ष हमालले जानकारी दिएका छन् । विसं २०४१ देखि चारवटा बसबाट सेवा आरम्भ गरेको राप्ती समितिले राप्ती अञ्चलका दुरदराजका गाउँबस्तीदेखि हाल पूर्वी नेपालको काँकडभिट्टा, विराटनगर, पोखरा, पाल्पा हुँदै सुदूरपश्चिमको महेन्द्रनगरसम्म बस सेवा सञ्चालन गर्दै आएको छ । समितिमा हाल लामो तथा छोटो दूरीका गरी करिब ७०० बस सञ्चालनमा रहेको समितिका प्रकाश भट्टले बताएका छन् । रासस