केएल टावरमा एक महिने कार्निभल, ५० प्रतिशतसम्म छुटको अफर
काठमाडौं, २७ साउन । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै चाबहिलस्थित केएल टावरमा शुक्रबारदेखि कार्निभल इभेन्ट संचालनमा आउने भएको छ । मलले चाड पर्वमा उपभोक्तालाई सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य सहित एक महिनमा सम्म कार्निभल संचालनमा ल्याएको हो । उक्त अवधिमा ग्राहकहरुले ५० प्रतिशतसम्मको छुटमा सपिङ गर्न सक्ने छन् । मलमा लत्ताकपडा, जुत्ता, चम्पल, घडी, ब्याग कस्मेटिक लगायतका सामानमा ५० प्रतिशतसम्म छुट दिइन तथा विभिन्न आर्कषक उपहार समेत जित्न सकिने कानिर्भलका आयोजकले जानकारी दिएका छन् । कार्निभल अवधिभर केएल टावरमा विभिन्न आकर्षक कार्यक्रमहरुको समेत आयोजना हुनेछन् । एक महिनाको अवधिसम्म चल्ने कार्निभलमा विभिन्न सांगितिक कार्यक्रम, फेशन सो, गेम सो, फ्रि नेल आर्ट तथा निःशुल्क फेस पेण्टिङ लगायतका कार्यक्रम निरन्तर संचालन हुने कार्यक्रम संयोजक हिरामणी तिमल्सीनाले जानकारी दिए । उक्त टावरमा पुरुषका लागि ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानका पसल रहेका छन् । साथै, डिपार्टमेण्टल स्टोर, मल्टिप्लेक्स, फूड कोर्ट र बलिङ एण्ड गेम जोन समेत संचालनमा रहेका छन् । साढे दश तले टावरमा ५० भन्दा बढी संख्यामा स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् । श्रावण २८ गतेबाट संचालनमा आउने सपिङ कार्निभल आगामी भदौ २५ गतेसम्म चल्नेछ ।
हुन्डाइको नयाँ थ्री एस् सेन्टर विर्तामोडमा
विर्तामोड, २७ साउन । नेपालका लागि हुन्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले हुन्डाइको नयाँ थ्री एस् सेन्टर विर्तामोडमा स्थापना गरेको छ । कम्पनीले आफ्नो डिलर, न्यु अटो प्लाजा कन्सर्न प्रा.लि. संगको सहकार्यमा विर्तामोडमा सो सेन्टर सञ्चालन गर्न लागेको हो । उक्त थ्री एस् सेन्टर मार्फत ग्राहकले सुविधा सम्पन्न बिक्री कक्ष, अत्याधुनिक मर्मत सेवा तथा हुन्डे जेनुयिन स्पेर पार्टस् खरिद सेवा एकै छाना मुनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यस नव निर्मित थ्री एस् सेन्टर श्रीमती चन्द्रमाया थापा, न्यु अटो प्लाजा कन्सर्न प्रा. लि. र श्रीमान् निराकार श्रेष्ठ (कार्यकारी निर्देशक) लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि बाट संयुक्त रूपमा उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको यस सोरुममा एकैचोटि ५–६ वटा हुन्डाइ ब्रान्डका विभिन्न मोडेलका गाडी अटाउन सक्छन् । ग्राहकको सुविधाका लागि लाउन्ज, परामर्श कोठा तथा तालिम प्राप्त बिक्री परामर्शदाताहरूको व्यवस्था गरिएको छ । आफ्ना ग्राहकलाई बिक्रीपछि गुणस्तरीय मर्मतसम्भार सेवा उपलब्ध गराउने हेतुले निर्मीत अत्याधुनिक सर्भिस सेन्टरमा तालिमप्राप्त दक्ष जनशक्तिकोे व्यवस्था गरिएको छ । कम्पनीका अनुसार एयरकन्डिसन तथा वाईफाई युक्त ग्राहक आराम कक्ष, पर्याप्त पार्किङको व्यवस्था तथा मासिक ४५० गाडि मर्मत तथा सर्भिस गर्ने क्षमता युक्त यो सर्भिस सेन्टर आफैमा विश्वस्तरीय छ । यसको साथै यहाँ हुन्डे जेनुयिन स्पेर पार्टस्को पर्याप्त मौज्दातको साथै बिक्री सेवाको पनि व्यवस्था छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि. ले सन् २००९ फेबु्रअरी देखि नेपालमा हुन्डाइ ब्रान्डका सवारी साधन आयात र बिक्री गर्दै आएको हो । कम्पनीको मुख्य उद्देश्य हुन्डाइ गाडी बिक्री मात्र नभई, आफ्ना ग्राहकलाई बिक्रीपछि गुणस्तरीय मर्मतसम्भार सेवा तथा हुन्डे जेनुयिन स्पेर पार्टस् उपलब्ध गराउनु पनि हो । यही उद्देश्य पूर्तिका लागि कम्पनीले नेपालको विभिन्न शहरहरुमा हुन्डे सोरुम, सर्भिस सेन्टर तथा स्पेर पार्टस् बिक्री कक्ष स्थापना गर्दै आएको छ । विर्तामोडमा निर्माण गरिएको यस नयाँ थ्री एस् सेन्टरले ग्राहकलाई उच्चस्तरीय सेवा दिने र ग्राहकको पहुँचका निम्ति सञ्जाल विस्तार गर्ने कम्पनीको प्रयासमा नयाँ आयाम थप्नेछ । कम्पनीले निकट भविष्यमै काठमाडौं तथा नेपालका अन्य शहरहरुमा थप सोरुम तथा सेवा विस्तार गर्ने लक्ष लिएको छ । विर्तामोडको नयाँ थ्री एस् सेन्टरले अन्तर्राष्ट्रिय स्तरको ग्राहक सेवा दिनुका साथै गाडी खरिदको नौलो अनुभूति प्रदान गर्नेछ ।
ग्लोबल आइएमई बैंकद्धारा विद्यालयलाई कम्प्युटर सहयोग
काठमाडौं, २७ साउन । ग्लोबल आइएमई बैंकले कालिकोट स्थित सामाजिक युवा कार्य नेपालसंगको सहकार्यमा कालीकोटका विभिन्न सरकारी विद्यालयहरुमा १२ थान कम्प्युटर सहयोग गरेको छ । बैंकले विकट कालीकोट जिल्लाका विभिन्न सरकारी विद्यालयहरुमा विद्यार्थीहरुलाई कम्प्युटरको पहुँच पुगोस भन्ने उद्धेश्यले उक्त कम्प्युटरहरु सहयोग गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले उक्त कम्प्युटरहरु सामाजिक युवा कार्य नेपाललाई हस्तान्तरण गरेका छन् । बैंकले विशुद्ध बैंकिङ्ग सेवा मात्र नभएर स्थापना काल देखि नै अन्य क्षेत्रहरुमा पनि सहयोग गर्दै आएको छ । विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी पहिरो, भुँईचालो लगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको बैंकले जनाएको छ । हाल सम्म बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १०२ एटिएम, ४२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ६ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
टाटा मोटर्सको चौथौँ कार मेला आजबाट शुरु
काठमाडौं, २७ साउन । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स् कार मेला सिजन ४ (अर्थात चौथौँ कार मेला ) आजबाट काठमाडौंको नक्साल बैङ्केटमा शुरु भएको छ । यस कार मेलाले हरेक वर्ष ग्राहक तथा दर्शकहरुबाट धेरैभन्दा धेरै सकारात्मक प्रतिक्रियाहरु पाइरहेको छ । वार्षिक रुपले आयोजना गरिने हुनाले ग्राहकहरु यस सिजनको पर्खाइमा रहेर आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्ने गर्दछन् । कार्यक्रम उद्घाटनको क्रममा टाटा मोटर्सका कन्ट्री म्यानेजर, हेमन्त पुरानिकले उक्त कार मेला टाटाको विभिन्न मोडलका अत्याधुनिक कारहरु अवलोकन, छनोट र टेस्ट ड्राइभको लागि ग्राहकहरुलाई एक उचित अवसर भएको बताए । साथै कम्पनीले उनीहरुको पुराना गाडीहरुको उच्च मूल्याङ्कन र खरिद गर्ने, नयाँ कारहरुका लागि अन द स्पट फाइनान्स र बीमा सुविधा समेत प्रदान गर्ने कुरा उनले जानकारी गराए । यी सम्पूर्ण कार्यक्रमहरु एउटै छानामुनि पूर्ण पारिवारिक र उमङ्गमय माहोलमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम र मिष्ठान्न परिकारहरुका साथ संचालन हुने कुरा समेत उनले जानकारी गराए । कार्यक्रममा गाडीको ६.५ प्रतिशत आकर्षक ब्याजदर र ४ लाख सम्मको फाइदा प्रदान गरिने कुरा कम्पनीले जानकारी गराएको छ । साथै उत्कृष्ट भ्यालुएशनलाई १ सेट मिसलिन टायर, हरेक टेस्ट ड्राइभमा २ वटा मुभी टिकट, बुकिङ्ग गर्नेहरुमध्ये १ जनाको लागि ईन्भर्टर र लक्की बुकिङ्गमा १ जोडीलाई फ्रि थाइल्याण्ड ट्रिप समेत प्रदान गरिनेछ । शनिबार र आइतबार चर्चित कलाकारहरु इन्दिरा जोशी र जितु नेपालले समेत मनोरञ्जन गराउने उक्त मेलाका अन्य आकर्षणहरुमा बी–बोईङ्ग, नेल पेन्टिङ्ग, गेम स्टल एवं खेल प्रतियोगिताहरु, साँगितिक कार्यक्रम, फेसबुक फोटो कन्टेस्ट र आकर्षक उपहारहरुले दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरिनेछ । विशेष गरि टाटाका कार प्रयोकर्ताहरुका लागि लक्षित गरिएको उक्त मेलामा सम्पूर्ण दर्शहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । २०७३ श्रावण २७ देखि ३० गतेसम्म संचालन हुने उक्त ४ दिने भव्य मेलामा ३००० भन्दा बढी दर्शकहरुको उत्साहजनक सहभागिता रहने कुरामा कम्पनी आशावादी रहेको छ ।
नेपाल बैंक लिमिटेड र युनाइटेड रेमिटबीच भुक्तानी सम्झौता
काठमाडौं, २७ साउन । नेपाल बैंक लिमिटेड र युनाइटेड रेमिटबीच भुक्तानी सम्झौता भएको छ । सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र युनाइटेड रेमिटका प्रमुख कार्यकारी अधिकृत सुरज शाक्यले हस्ताक्षर गरेका थिए । सो सम्झौता पछि नेपाल बैंक लिमिटेडको कुनै पनि शाखाबाट पठाएको रकम नेपालको ७५ जिल्लामा रहेको करीव १५ सय वटा युनाइटेड रेमिटको कुनै पनि सब एजेन्टबाट सजिलै नगद भुक्तानी लिन सक्नेछन । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको नेपालभर १२६ वटा शाखा सञ्चालनमा छन् ।
भन्सारको काम कारवाही अर्थमन्त्रीले आईपी क्यामेराबाट अनुगमन गर्ने
शिषिर ढुंगाना, महानिर्देशक, भन्सार विभाग काठमाडौं, २७ साउन । भन्सार विभागले प्रत्येक वर्ष दुई पटक भन्सार व्यवस्थापन गोष्ठीको आयोजना गर्दै आएको छ । प्रि बजेट एक पटक र पोष्ट बजेट अर्काे पटक । पोष्ट बजेट अन्तर्गत हामीले भन्सार व्यवस्थापन गोष्ठीको आयोजना गरेका छौं । भन्सार विभागले कुल राजश्वको ४५ दशमलब ९८ प्रतिशत हिस्सा ओगट्छ । मुलुकमा संकलन हुने मुल्य अभिवृद्धि करमध्ये भन्सारबाटै करिब ६१ प्रतिशत संकलन हुन्छ । अन्तशुल्क पनि ४७ दशमलब ९ प्रतिशत भन्सारबाटै संकलन हुन्छ । गत वर्षको तुलनामा राजश्वको वृद्धिदर १२ दशमलब शुन्य ३ प्रतिशत हासिल गरेका छौं । बिषम परिस्थितीका बिच हामीले राजश्व संकलन लक्ष्यमा करिब ९५ प्रतिशत सफलता हासिल गरेका छौं । व्यापार सहजीकरणका लागि धेरै प्रयासहरु गरिएका छन् । एकद्धार सेवा अनुसार सन २०१८ देखि कार्यान्वयन गराउने योजनासहित टेण्डर प्रक्रिया अघि बढिसकेको छ । आयात निर्यातलाई व्यवस्थित गराउने गरि आइई कोडलाई व्यवस्थित गराउने काम भैरहेको छ । यसको कार्यबिधी पनि बनिसकेको छ । १३ वटा कार्यलयको दैनिक कार्य सञ्चालनलाई भन्सार विभाग र अर्थमन्त्रीको कार्यालयबाटै आइपी क्यामेराको सहायताले हेर्न मिल्ने बनाईसकेका छौं । यही आर्थिक वर्षदेखि रसुवा लगायतका भन्सार कार्यालयहरुमा अनुगमन,नियमनको नयाँ प्रणाली कार्यान्वयन गराउँदैछौं । सबै कार्यालय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गर्दैछौं । न्युन बिजीकरणको समस्या समाधानका लागि प्रयासहरु भैरहेका छन् । त्यसमा न्युनबिजिकरण भएका समानहरुको कानुनतः खरिदका लागि एक अर्ब रुपैंयँँ बजेट नै बिनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा भन्सार विभागले २४६ अर्बको राजश्व लक्ष्य पाएको छ । यो लक्ष्य पुरा गर्नु हाम्रो पहिलो उदेश्य हुनेछ । यो लक्ष्य पुरा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहान्छौ। भन्सार प्रणालीमा सुधार हाम्रो मुल उदेश्य हो । चार बर्षे भन्सार सुधार र आधुनीकीकरण रणनीतीले लिएको उदेश्यबारे पनि छलफल गरिरहेका छौं । १० वटा भन्सार कार्यालयहरुमा कन्टेनर स्क्यानर मेसिन तथा ब्यागेज स्क्यानर मेसिन खरिद गर्दैछौं ।-महानिर्देशक ढुंगानाले दिएको अभिव्यक्तिमा आधारित
घरेलु तथा साना उद्योग नै अर्थतन्त्रको मेरूदण्डः प्रधानमन्त्री
काठमाडौं, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग बिहीबार बालुवाटारस्थित निवासमा कुरा गर्दै उनले यस्ता उद्योगहरूको संरक्षण र प्रवद्र्घनमा सरकार प्राथमिकताका साथ लाग्ने बताए । आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न कृषिजन्य उद्योग, घरेलु तथा साना उद्योगको संरक्षण बिना असम्भव भएको भन्दै उनले आफू सधै उद्योग व्यवसाय क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सरकारले सदैव निजी क्षेत्रसँगको सहकार्यबाट अगाडि बढ्ने बताए । मुलुकभित्र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउन तत्काल के के गर्न सकिन्छ, छिट्टै निजी क्षेत्रसँग बसेर विस्तृत रूपमा छलफल गर्ने आफ्नो सोंच रहेको समेत प्रधानमन्त्रीले सो अवसरमा बताएका थिए । प्रधानमन्त्री प्रचण्डले आर्थिक सुधारका कार्य गर्दा निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने सरकारको नीति यथावत कायम रहेको जानकारी दिंदै सोही नीति अनुरूप सरकारले महासंघ जस्ता निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूसँग हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता दोहो¥याएका थिए । महासंघका अध्यक्ष श्याम गिरीले गत वर्षको भूकम्पबाट ३२ जिल्लाका १७ हजार भन्दा बढी लघु, घरेलु तथा साना उद्योगी पूर्ण रूपमा क्षत विक्षत भएको ५५ जना भन्दा बढी उद्योगी हताहत भएको भन्दै वास्तविक पीडित लघु, घरेलु तथा साना उद्यमीको पहिचान गरी भूकम्प पीडित उद्यमीलाई परिचयपत्र उपलब्ध गराउने र सोका आधारमा पीडित उद्यमीलाई पाँच लाख रूपियाँ अनुदान उपलब्ध गराउन आग्रह गरे । भुकम्प तथा नाकावन्दीको मारमा परि क्षतिग्रस्त भएका उद्योगको पुनःस्थापनाका लागि नेपाल सरकारद्वारा स्थापित आर्थिक पुनरूद्घार कोष कार्यविधि जारी भई संचालनका लागि सूचना जारी भईसकेको सन्दर्भमा यस कार्यविधिमा सुधार गरी भुकम्पबाट बढी प्रभावित ३२ जिल्लाका लघु, घरेलु तथा साना उद्योगहरूको पुनरत्थानका लागि तत्काल कर्जा प्रवाह गर्ने व्यवस्था गर्न र यसको सञ्चालक समितिमा लघु, घरेलु तथा साना उद्योगको प्रतिनिधिको हैसियतले महासंघलाई सहभागी गराउन उनले आग्रह गरेका थिए । औद्योगिक नीति अनुसारको ऐन तत्कालै जारी भई समयानुकूल परिमार्जन गर्दै जाने परिपाटीको विकास हुन महासंघले आग्रह गर्दै आएको अध्यक्ष गिरीले बताए । लामो समयको प्रयास पछि सरकारले जारी गरेको ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिका’ मा विदेशी बस्तु भन्दा १५ प्रतिशतसम्म महङ्गो भएपनि स्वदेशमै उत्पादित वस्तु खरिद गर्नुपर्ने प्रावधान रहेको भन्दै नेपाली उत्पादनहरूले स्वदेशमै बजार पाउने र मुलुक औद्योगिकरणतर्फ उन्मुख गर्न सो निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्देशनका लागि अध्यक्ष गिरीले आग्रह गरेका थिए । प्रधानमन्त्रीलाई भेट्न महासंघका अध्यक्ष श्याम गिरीको नेतृत्वमा निवर्तमान अध्यक्ष सुरेश प्रधान, पूर्व अध्यक्ष वासुदेव गिरी, आङदेण्डी शेर्पा, लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्षहरू विष्णु लुइटेल, चन्दनकृष्ण श्रेष्ठ, शोभा गुरूङ, शिवा उपाध्याय, सूर्य कंडेल, हरिहर थापा, मोहन कटवाल, राजेश कोइराला, कुमार गिरी, महासचिव डम्बरप्रसाद रेग्मी, कोषाध्यष सत्यनारायण प्रजापति, सचिव प्रमिला बस्नेतलगायतका पदाधिकारी तथा सल्लाहकारहरूको सहभागीता रहेको थियो ।
सिजी ब्राण्डद्धारा नयाँ लाईन अफ ब्याट्री कम्प्याटेबल टिभी नेपाली बजारमा
काठमाडौं, २७ साउन । नेपालको सबै भन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी. ले आर्थिक वर्ष ०७३/७४ सुरु भए सँगै आफ्नो एलइडि टिभीहरुको लाईनप बिस्तार गरेको छ । जस अन्तर्गत लोडसेडिङ्ग झेलिरहेको नेपाली जनतालाई लोडसेडिङ्गको बेलामा पनि टि.भी सजिलै हेर्न पाउनेगरि ब्याट्रि कम्प्याटिबल टि.भीहरुको लाईनप थप गरेको छ । कम्पनीका अनुसार यो टिभी १२ भोल्टबाट सजिलै चल्न सकिने एलइडि टिभी हो । ग्राहकहरुको ध्यनमा राखि यो टिभी बिभिन्न साईजहरु २० इन्च, २४ इन्च र ३२ इन्च मा उपलब्ध रहेको छ । यस टि.भी नेपालको ग्रामिण क्षेत्रमा बसोबास गरिरहेका तथा लोडसेडिङ्ग झेलिरहेका ग्राहकवर्गहरुलाई ध्यानमा राखि बजारमा ल्याइएको हो । सोलार प्यालनबाट चार्ज गरिएको ब्याट्रीबाट चलाउन सकिने यो टिभीहरुको विशेषता भनेकोे एसी तथा डिसी दुबै पावर सप्लाईबाट चल्ने रहेको छ । एसी बाट चलाउनको लागि यसलाई एउटा एक्स्र्टनल एडेप्टर उपलब्ध गराईएको छ । जसको काम भनेको चट्याङ्ग पर्दा पनि टि.भी. को इन्टरनल मदरबोर्डलाई पावर फ्ल्कचोयसन बाट जोगाउनु हो । त्यसैगरि डि.सी. बाट चलाउनको लागि यो टि.भी. सँग डि.सी. केबल पनि उपलब्ध गराईएको छ । यसबाहेक यो टि.भीमा थप बक्स स्पिकर पनि जडान गरिएको छ । जसको कारणले आवाजमा निकै सुधार आउने र राम्रो सुनिने कम्पनीले जनाएको छ ।