मेलम्ची नगरपालिकामा १५ जनालाई जागिर
काठमाडौं, २६ साउन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा १५ जनाका लागि जागिर खुलेको छ । मेलम्ची नगरपालिकाले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै खुल्ला र आरक्षित कोटामा १५ जनाको दरखास्त आव्हान गरेको हो । जस अनुसार प्राविधिक क्षेत्रको छैठौं तहमा एक जना, प्रशासनको पाँचौ तहमा १ जना, पाँचौं तहको प्राबिधिक सहायक तहमा २ जना सव इञ्जिनियर, प्रशासन तर्फ चौथो तहमा ८ जना, असिसटेन्ट सव इञ्जिनियर २ जना र अमिन १ जना रहेको छ । एसएलसी देखि स्नातक तह उतिर्णले आवेदन दिन सक्नेछन् । भदौं १५ गते भित्र आवेदन दिइ सक्नुपर्नेछ । नगरपालिकाले परिक्षा मिति समेत तोकिसकेको छ ।
यामाहाको ‘सेफ राइडिङ साइन्स’ कार्यक्रम
काठमाडौं, २६ साउन । यामाहा मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले काठमाडौंस्थित युनिभर्सल कलेजमा सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत एमएडब्लु केही वर्षदेखि कलेज तथा सार्वजनिक स्थानहरुमा ‘यामाहा सेफ राइडिङ साइन्स’ (वाइएसआरएस) कार्यक्रम आयोजना गर्दै आएको थियो । उमेरका कारण कलेज विद्यार्थीहरु सबैभन्दा बढी सडक दुर्घटनाको जोखिममा हुने गर्छन् । यसलाई मध्यनजर गर्दै एमएडब्लुले युवा चालकलाई लक्षित गरी सचेतना कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा एक सयभन्दा बढी विद्यार्थीलाई दुर्घटनाका कारण, यसबाट बच्ने उपाय, सवारी हाँक्दा अपनाउनुपर्ने सावधानी, जटिल ट्राफिक अवस्थालाई मूल्यांकन गर्ने वैज्ञानिक उपाय, ‘राइडिङ पोस्चर’, ‘ब्रेक टिप्स’ र ट्राफिक नियम पालनाको आवश्यकताबारे समेत जानकारी गराइएको थियो । कार्यक्रममा सिकारु चालकलाई विशेष तालिम दिइएको थियो भने ४२ जनाले टेस्ट राइडमा सहभागी भएका थिए । ‘वाईएसआरएसमार्फत विद्यार्थीहरुले सानाभन्दा साना कुराहरु सिकेका छन् जसलाई सामान्यतया बेवास्ता गरिने गरिन्छ । तर यस्तै साना बेवास्ताले ठूलो दुर्घटना निम्त्याउने गर्छन्,’ युनिभर्सल कलेज बीबीए/बीबीएस प्रोग्राम कोर्डिनेटर सौरभ रेग्मीले भने । अत्याधुनिक एफआई प्रविधिजडित एफजेड–एस एफआई र एफजेड एफआई अहिले नेपाली बाइकरको रोजाइमा परेका छन् । यीबाहेक एमएडब्लुले आर१५, आर१५ भी २, स्यालुटो, रे जेड र फेसिनो लगायतका दुईपांगे विक्री गर्दै आएको छ । बेजोड पावर, पर्फर्मेन्स र माइलेजका कारण यामाहा बाइक सबै उमेर समूहमा लोकप्रिय मानिन्छन् ।
एनएमबी बैंक पनि अर्ब कमाउने सूचिमा नाफा १४० प्रतिशतले बढेर १२० करोड
काठमाडौं, २६ साउन । एनएमबी बैंक पनि १४० प्रतिशतले नाफा बढाउँदै अर्ब कमाउने बैंकको सूचिमा परेको छ । बैंकले २०७३ असार मसान्तसम्माम एक अर्ब २० करोड नाफा आर्जन गरेको हो । यो नाफा २०७२ असार समान्तमा बैंकले कमाएको भन्दा १४० प्रतिशतले बढि हुन आउँछ । यद्यपी बैंक २०७३ असार मसान्तसम्म आर्जन गरेको नाफामा ६३ करोड ५५ लाख रुपैंयाँ राइटब्याकबाट प्राप्त गरेको हो । बैंकले २०७२ असार मसान्तसम्ममा जम्मा ५० करोड ३८ लाख नाफा आर्जन गरेको थियो । ४ अर्ब ४८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ५३ करोड रुपैंयाँ रहेको छ ।बैंकको प्रति सेयर आम्दानी २८ रुपैंयाँ ६६ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५४ रुपैंयाँ ९१ पैसा रहेको छ । बैंकले एक दशमलब ७४ प्रतिशतको खराब कर्जाको जोखिम वापत ५२ करोड ४८ लाख प्रोभिजन गरेको छ । बैंकले ६४ अर्ब ९४ करोड रुपैंयाँ निक्षेप संकलन गरेर ५३ अर्ब ८५ करोड कर्जा तथा सापटी प्रवाह गरेको छ । बैंकको ब्याज आम्दानी ४ अर्ब १७ करोड रहेको छ भने ब्याज खर्च २ अर्ब ठ करोड रहेको छ ।
मेगा बैंकको नाफा ५५ करोड २० लाख
काठमाडौं, २६ साउन । मेगा बैंक नेपालले २०७३ असार मसान्तसम्ममा ५५ करोड २० लाख नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा २० करोड ५८ लाखले बढि हो । बैंकले सो अवधीमा जम्मा ३४ करोड ६२ लाख नाफा कमाएको थियो । बैंकले असार मसान्तसम्म गरेको आम्दानीमा १३ करोड रुपैँया राइटब्याकबाट प्राप्त गरेको हो । ३ अर्ब २४ करोड चुक्ता पुँजी रहेको मेगा बैंकको जगडा कोषमा ९६ करोड रुपैँया रहेको छ । बैंकको प्रति सेयर आम्दानी १४ रुपैंयाँ ४ पैसा छ भने प्रति सेयर नेटवर्थ १२९ रुपैंयाँ ८५ पैसा रहेको छ । बैंकले असार मसान्तसम्ममा ३१ अर्ब निक्षेप संकलन गरेर २७ अर्ब कर्जा तथा सापटी प्रवाह गरेको छ । बैंकले २ अर्ब १४ करोड ब्याज आम्दानी गरेर एक अर्ब १५ करोड ब्याज खर्च गरेको देखिन्छ ।
अब रोगको जाँच स्मार्टफोनबाटै ! रगतबाटै शरीरमा लागेको कयौं रोगको बारेमा पत्ता लगाउन सकिने
काठमाडौं ,१३ साउन। मानिसको रगतमा कयौं रोगको बायोमार्कर्स हुन्छन्। रगतबाटै शरीरमा लागेको कयौं रोगको बारेमा पत्ता लगाउन सकिन्छ। जाँचको लागि रगतको नुमना ल्याब पठाइन्छ। ल्याबमा लागि कयौँ घण्टा वा दिन पछि रोगको बारेमा पत्ता लगाइन्छ। यहि काम अब स्मार्टफोनको मद्धतले केही मिनेटमै हुन सक्दछ। यसको लागि रगतको नमुना एक टेस्ट स्ट्रिपमा राखिन्छ जसलाई एक बक्समा हालिन्छ। म्याग्निफाइंग लेन्स र एलईडी बल्ब जडित स्मार्टफोनसंग यो बक्सलाई जोडिन्छ। यो स्ट्रिपमा केही थोपा लिक्विड राखिन्छ, जसले रगतको नमुनालाई सफा गरिदिन्छ र केवल निशान बाँकी रहन्छ, जसमा रोगसंग जोडिएको जानकारी हुन्छ। अब एलईडी लाइट र लेन्सको मद्धतले स्ट्रिपमा रोगका निशान खोजिन्छ। ब्रिटनेको लगबारो यूनिभर्सिटीका प्राचार्य डा नूनो रीस भन्छन्, ‘हामी उदाहरणको लागि हार्ट अट्याकको केसलाई लिन सक्छौ। पहिले छातीको दुखाइ जाँचमा केही घण्टा लाग्थ्यो। तर अब तपाई केही काम छिटो गर्न सक्नुहुन्छ।’ उनको अनुसार स्मार्टफोन एक उत्कृष्ट चीन हो, जसले ल्याबका ठूला ठूला मेसिनका काम गर्न सक्दछ। बीबीसीको सहयोगमा
ठेकेदार कम्पनी सानजोसेले कामै नगरी क्षतिपूर्ति माग्यो, एयरपोर्टमा पार्किङ निर्माण सुस्त
काठमाडौं २६ साउन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पार्किङ विस्तारको ठेक्का पाएको स्पेनिस निर्माण कम्पनी सानजोसेले माटो उपलब्ध नभएको भन्दै सरकारसँग साढे दुर्इ अर्ब क्षतिपूर्ति दाबी गरेको छ । स्पेनको यो कम्पनीले सन् २०१२ मा प्लेनको पार्किङ विस्तारको लागि ६१ मिलियन डलरमा एयरपोर्टमा थप ९ वटा विमान पार्किङ गर्नका लागि विस्तारको ठेक्का पाएको थियो । कम्पनीले पार्किङ विस्तारको लागि आवश्यक माटो नपाएको भन्दै अहिलेसम्म २० प्रतिशत पनि काम गरेको छैन । काम नगरि कम्पनीले उल्टै सरकारसँग क्षतिपूर्ति मागेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता देवेन्द्र केसीले २० प्रतिशत पनि काम नगरेको कम्पनीले सवा दुर्इ अर्ब रुपैयाँ क्षतिपूर्ति मागेको जानकारी दिए । प्राधिकरणले विमानस्थलको उत्तरी भागमा थप ९ वटा अन्तराष्ट्रिय स्तरका प्लेन पार्किङ स्थल बनाउन ठेक्का दिएको थियो । हाल विमानस्थलमा ९ वटामात्र ठूला प्लेन पार्किङ गर्न मिल्छ। यो पार्किङ स्थल निर्माण भइसकेपछि १८ वटा विमान पार्किङ गर्न मिल्नेछ। तर कम्पनीले गत बर्ष आएको विनासकारी भूकम्प र भारतको अघोषित नाकाबन्दीलार्इ समेत बहानावाजी बनाउँदै कामलाई अगाडि बढाएको छैन। अहिले भइरहेको स्थानमा २२ मिटर अग्लो बनाउनुपर्छ ।विमानस्थल नजिकै रहेको पशुपति क्षेत्र विकास कोषबाट माटो ल्याउने भनिएपनि विश्व सम्पदा सूचीमा रहेकाले माटो पाउन नसकेको कम्पनीको दाबी छ ।
आइपिओ र राइट सेयरको प्रिमियम मुल्य तोक्नु अनिवार्य भैसक्योः डा. गोपाल भट्ट
डा. गोपाल भट्ट, निर्देशक, नेपाल राष्ट्र बैंक स्टक मार्केटमा तल माथी हुनु स्वभाविक नै हो । यसमा धेरै चिन्ता गर्नुहुन्न । निरन्तर बढ्ने र निरन्तर घट्ने बजार त बजार नै होइन् । बजार तलमाथी भएन भने दुर्घटना हुन्छ । नेपालमा किन्ने, होल्ड गर्ने र बेच्ने चलन छ । तर अरु देशमा तुरुन्तै किनेर बेच्ने प्रणाली पनि छ । बजार बढेर मात्रै नाफा हुँदैन त्यस्तो बजारमा बजार घट्दा पनि नाफै हुन्छ । घटेको बेला किन्ने र बढेको बेला बेच्ने गरियो भने घट्दा वा बढ्दा दुबै अवस्थामा लगानी कर्तालाई फाइदा नै हुन्छ । तर हामी कहाँ बजारको नियम नै छैन् । न ब्रोकर नियममा चल्न चाहान्छन, न नियमनकारी निकायमै पनि त्यो स्तरको ज्ञान देखिन्छ, न लगानी कर्ता नै परिपक्क अवस्थामा छन् । अहिलेको बजारप्रति अर्थमन्त्रालय, धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंक कोहि पनि नकारात्मक छैनन् । अहिले बजारमा पैसा ज्यादै छ, तरलता धेरै छ । सेयर बजारको डिमाण्ड बढेकाले पनि त्यो पुष्टि गर्छ । नेपालमा सूचनामा आधारित सेयर बजारको विकास पनि भैरहेको छ । पहिले पहिले मौद्रिक नीति प्रति सेयर बजार सजग रहन्थ्यो तर अहिले त्यसले खासै प्रभाव पार्ने गरेको छैन् । त्यसपछि राजनीतिक उतारचढावमा बजार निर्भर बन्दै गरेको थियो । संबिधानका नाममा बजार तलमाथी भयो, नाका बन्दीका नाममा, आन्दोलनका नाममा, सरकार परिवर्तनका नाममा पनि बजारमा उतारचढाव आईरह्यो । अहिले फेरी तरलताका कारण बजार बढिरहेको छ । बजारमा पैसा आयो तर लगानीका विकल्पहरु भएनन् । बैंकको ब्याजदर पनि कम भयो । त्यसकारण धेरै क्षेत्रबाट सेयर बजारमा पैसा लगानी भैरहेको छ । बजारमा वैध लगानी आएको हो भने बजारको उतारचढाव स्वभाविक नै हो । कालोधन हो भने सम्बन्धीत निकायले छानविन गर्नुपर्छ । बजार निरन्तर उकालो चढेको थियो भने जोखिम हुने थियो । अहिले तलमाथी भैरहेको छ, त्यसले बजारमा क्रमशः परिपक्कता आईरहेको भन्ने बुझाउँछ । यसैगरि बजारलाई परिपक्क बनाउने हो । नेपालको सेयर परिसूचकको उच्चतम बिन्दु कति हो भनेर निरक्र्यौल गर्ने आधार छैन् । कुनै पनि सिद्धान्तले बजारको उच्चतम बिन्दु यति हो भनेर भन्ने अवस्था छैन् । बजार भनेको लगानी कर्ताको इच्छाशक्तिले निर्धारण गर्ने हो । बजारमा उपलब्ध सूचनाले पनि बजार निर्धारणमा सहयोग गर्छ । त्यससँगै बजारमा रहेको तरलताले पनि भूमिका खेल्छ । नेपालमा बजार बढ्दा पनि रुवाबासी हुन्छ अनि घट्दा पनि रुवाबासी नै हुन्छ । यस्तो दुनियामा कहिँ पनि हुँदैन् । नियामक निकायले पनि बजार घट्दा पनि तनाब लिएको देखिन्छ अनि बजार बढ्दा पनि तनाबै लिएको देखिन्छ । यस्तो पनि कहिँ हुन्छ ? नियामक निकाय बजार उकालो लागेन भने पनि रुने अनि बजार उकालो चढ्दा पनि रुने ? बजारमा समस्या छन भने करेक्सन गर्नु पर्छ । मलाई लाग्छ नेपालको बजारमा सुधार्नु पर्ने धेरै कुराहरु छन् । कहाँ कहाँ छन समस्या ? संसारमा कहि नभएको मार्जिन ल्याण्डिङको व्यवस्था हामी कहाँ छ । नेपाल राष्ट्र बैंकले अरु देशमा प्रयोग भएको मार्जिन ल्याण्डिङ शब्दलाई बटारेर मार्जिन टाइप ल्याण्डिङ भन्ने गरेको छ । वास्तवमा मार्जिन ल्याण्डिङ शिर्षकमा बैंकहरुले सिधै लगानी कर्तालाई ऋण दिने होइन । अन्तराष्ट्रिय अभ्यासमा पनि त्यस्तो व्यवस्था कहिँ छैन नेपालमा मात्रै हो । बैंकहरुले पनि ऋण प्रवाह गर्ने अरु कुनै ठाउँ नभएपछि सेयरको प्रमाण पत्र धितो राखेर खुरुखुरु ऋण प्रवाह गरिरहेका छन् । यसको नियमन पनि राम्रोसँग भैरहेको छैन किन की त्यसको रेकर्ड गर्ने व्यवस्था पनि खासै राम्रो छैन् । मार्जिन ल्याण्डिङको अन्तराष्ट्रिय अभ्यास भनेको ब्रोकर कम्पनीलाई ऋण दिने हो । ब्रोकर कम्पनीले लगानी कर्ताको एकाउण्ट राख्ने र लगानी कर्ताको सेयरका आधारमा ब्रोकर मार्फत बैंकले लगानी गर्ने हो र त्यसमा केहि हिस्सा ब्रोकरको पनि हुन्छ । सारमा भन्ने हो भने मार्जिन ल्याण्डिङको अन्तराष्ट्रिय अभ्यास भनेको ब्रोकर कम्पनीलाई ऋण दिने हो सिधै लगानी कर्तालाई होइन् । बिडम्बना हामी सिधै लगानी कर्तालाई दिईरहेका छौं । यसले नियमनमा पनि समस्या आईरहेको छ । यो बिषय केन्द्रिय बैंकले नियमन गर्ने पनि होइन धितोपत्र बोर्डले नियमन गर्ने हो । हामीले अमेरिकाबाट मार्केट इकोनोमी भित्र्यायौं तर सिस्टम चाँही ल्याएनौं । अमेरिकी मार्केट इकोनोमी भित्र्याएर आफ्नै सिस्टममा चल्छौं भनिरहेका छौं यसले दुर्घटना निम्त्याउँछ । मार्जिन ल्याण्डिङमा केन्द्रिय बैंकले इनिसियल मार्जिन तोक्नुपर्छ, धितोपत्र बोर्डले मेन्टिनेन्स मार्जिन तोक्नु पर्छ, त्यसपछि मार्जिन कलका लागि के के गर्ने भन्ने कुरा आउँछ । अनि मात्रै ब्रोकर र लगानी कर्ताको काम आउँछ । अहिले त कहाँको पैसा कहाँ गैरहेको छ । त्यसैले कालो र सेतो लगानीको कुरा उठेको हो । बैंकको प्रभुत्व कहिलेसम्म ? दोश्रो कुरा भनेको नेपालको सेयर बजारमा बैंक तथा वित्तिय संस्थाको प्रभुत्व छ । केन्द्रिय बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई पुँजी बढाउ भन्यो । त्यो भनेको सेयर बजार उकालो लगाउन होइन् । यसको उदेश्य भनेको अन्तराष्ट्रिय रुपमा प्रतिष्पर्धी बैंक तथा वित्तिय संस्थाको निर्माण हो । हामी विश्व बैंकका सदस्य छौं, त्यसले तोकेको मापदण्ड पुरा गर्न पुँजी बढाउन खोजिएको हो । बैंक तथा वित्तिय संस्थाको क्षमता बढाउन र नियमन सहज बनाउन केन्द्रिय बैंकले पुँजी बढाउने योजना ल्याएको थियो तर नेपालको पुँजी बजारले त्यसलाई अर्कै अर्थ लगायो । हकप्रद सेयर र बोनस सेयर आउँछ भनेर बजार बढ्यो । कहि नभाएको जात्रा हाँडी गाउँमा हकप्रद र बोनस सेयरले कम्पनीको रिटर्न बढ्छ भनेर मैले कहिँ पढेको छैन् । यसले त झन रिटर्न घट्ने हो । संसारका कुनै पनि मुलुकमा हकप्रद सेयर र बोनस सेयरका कारण पुँजी बजार बढ्दैन् । त्यसले उल्टै सेयरको मुल्य घट्छ । नेपालमा त हकप्रद र बोनसले सेयरको मुल्य बढाईरहेको छ । त्यसको कारण भनेको स्ट्रक्चरल मिस्टेक हो । हामी कहाँ नयाँ इस्यु गर्ने सेयरको मुल्य एक सय रुपैंयाँ तोकिन्छ । आइपिओ, एफपिओ वा हकप्रद सेयरमा मुल्य तोक्ने संरचनै गलत छ । गर्यो भने हुन्छ भन्ने नजिर नेपाल टेलिकमले बसालेको छ । जस्तो उसले सुरुमै सात सय रुपैयाँमा सेयर निष्काशन गर्यो । हामी कहाँ बजारमा २२ सय, २५ सय देखि ३ हजारमा सेयर बिक्रि भैरहेका हुन्छन् । हकप्रद जारी गर्ने वित्तिकै त्यो एक सय रुपैंयाँमा प्राप्त हुन्छ । यस्तो व्यवस्था नेपालमा बाहेक संसारमा कहि पनि छैन र यस्तो सिद्धान्त पनि कहिँ छैन् । अब बजारमा यस्तो मुल्य निर्धारणको व्यवस्था हटाउनु पर्छ । हकप्रद सेयर र बोनस सेयर आएपछि बजार ह्वारह्वार्ती बढ्छ किन ? किनकी मुल्य निर्धारणमा गम्भिर त्रुटि छ । यस्तै कारणहरुले बजार अपरिपक्क भएको हो । अब हामीले पनि साधारण सेयर(आइपिओ), हकप्रद सेयर(राइट सेयर) र एफपिओ(फर्दर पब्लिक इस्यु) सबैमा प्रीमियम मुल्य अनिवार्य गर्नुपर्छ । रियल सेक्टर कहिले ? नेपालको पुँजी बजारमा बैंक तथा वित्तिय क्षेत्रको दबदबा कायम छ । जबसम्म रियल सेक्टर(उत्पादनमुलक क्षेत्र)ले पुँजी बजारमा ठुलो हिस्सा ओगट्दैन तबम्म बजार परिपक्क हुँदैन् । पुँजी बजारलाई अर्थतन्त्रको प्रतिबिम्बका रुपमा स्थापित गराउन पनि रियल सेक्टरलाई अघि ल्याउनु पर्छ । बरु त्यसका लागि रियल सेक्टरलाई अनुदान दिनुपर्छ । जब पुँजी बजारको ठुलो हिस्सा रियल सेक्टरले ओगट्छ तब मात्रै पुँजी बजारले अर्थतन्त्रको प्रतिनिधित्व गर्न सक्छ । ब्रोकरलाई अनावश्यक भूमिका नेपालमा ब्रोकरको भूमिका पनि अलि बढि भयो । ब्रोकरको काम भनेको जम्मा लगानी कर्ताको अर्डर लिने मात्रै हो । तर यहाँ त ब्रोकरसँग नै लगानीको सल्लाह माग्ने गरिएको छ अनि ब्रोकरले पनि सल्लाह दिईरहेका छन् । ब्रोकरसँग लगानीको सल्लाह माग्नु पनि र ब्रोकरको लगानीका लागि सल्लाह दिनु दुबै गलत हो । यसले इनसाइडर ट्रेडिङको सम्भावना पनि बढेको छ । पोर्टफोलियो मेनेजर, संस्थागत लगानी कर्ता अलि बढि खोज्नु पर्यो । उनीहरुले लगानी कर्तालाई सल्लाह दिने र लगानीको व्यवस्थापन गरिदिनु पर्छ । फेरी पनि मेरो मान्यता स्पष्ट छ, आइपिओ र राइट सेयरको फ्री प्राइसिङ अनिवार्य भैसकेको छ ।(राजधानीमा आयोजीत एक कार्यक्रममा भट्टले व्यक्त गरेको निजी विचार)
आगामी वर्षदेखि आदिवासी दिवस सरकारले मनाउने
काठमाडौं, २५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षदेखि सरकार र आदिवासी जनजातिले संयुक्त रुपमा आदिवासी दिवस मनाउने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घले मंगलबार आयोजना गरेको २२औँ आदिवासी दिवस, २०७३ को समारोहलाई सम्बोधन गर्दै उनले संयुक्त राष्ट्र सङ्घले समेत मान्यता दिएको र नेपाल त्यसको पक्ष राष्ट्र भएकाले पनि आगामी वर्षदेखि नेपाल सरकारको आयोजनामा सो दिवस मनाइने घोषणा गरेका छन् । सरकार गठनको समयमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच सातबुँदे सहमति भएको र संविधान निर्माण प्रक्रियादेखि नै असन्तुष्टि व्यक्त गर्दै आएका मधेसी, आदिवासी, जनजाति समुदायको माग सम्बोधन गर्न तीनबुँदे सहमति भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने – “संविधानको संशोधन र परिमार्जन गरेर सबै समुदायको माग सम्बोधन गरिन्छ, त्यसमा म प्रतिबद्ध छु ।” संविधानमा सबैको अपनत्व र भावनालाई सुनिश्चित गर्ने लक्ष्यका साथ नयाँ सरकार गठन गरिएको स्पष्ट पार्दै प्रधानमन्त्रीले आन्तरिक राष्ट्रिय एकता सुदृढ नहुँदासम्म मुलुकले उन्नति गर्न नसक्ने बताए । आफूलाई इतिहासको महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको दोहो¥याउँदै उनले भने – “मुलुक र जनताको पक्षमा केही महत्वपूर्ण काम गरौँ भन्ने लागेको छ । त्यसका लागि सबैको सकारात्मक साथ र सहयोग जरुरी छ ।” प्रधानमन्त्रीले संविधानको कार्यान्वयन र मुलुकको आर्थिक समृद्धिका लागि आफू प्रयत्नशील रहने स्पष्ट पारे । उनले आदिवासी, जनजातिका पक्षमा गर्न सकिने जति काम गर्न आफूले इमान्दार प्रयास गर्ने उल्लेख गर्दै भने – “संविधानमा सबैको भावनालाई समेट्न इमान्दार प्रयास हुन्छ । सबैको महत्वपूर्ण साथ र सहयोग चाहेको छु ।” कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिको दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले संविधान कार्यान्वयन गरेर थप अधिकार प्राप्तिका लागि अगाडि बढ्नु नै आजको प्रमुख कार्यभार भएको बताए । उनले आदिवासी जनजातिको पहिचान र संस्कृति गुम्दै गएकामा चिन्ता व्यक्त गर्दै भने – “विश्व समुदायलाई देखाउने हाम्रो पहिचान हो, हाम्रो पहिचानमाथि विदेशी हस्तक्षेप भइरहेको छ । त्यसलाई रोक्न हामी सबैको इमान्दार प्रयास हुनु जरुरी छ ।” नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले आदिवासी जनजातिलाई अधिकारसम्पन्न बनाउन सकेका खण्डमा मात्रै संविधानको सहज कार्यान्वयन हुने र मुलुक समृद्धिको मार्गमा अगाडि बढ्ने बताए । संविधानका कतिपय प्रावधानले आदिवासी जनजातिलाई अधिकार नदिएको जनाउँदै उनले सशोधनमार्फत समृद्ध बनाउनुपर्नेमा जोड दिए । सन् १९९५ मा संयुक्त राष्ट्र सङ्घले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेअनुसार आज विश्वभर आदिवासी दिवस मनाइएको हो । कार्यक्रममा महासङ्घका अध्यक्ष नागेन्द्र कुमाल, सांसद यशोदाकुमारी लामा, रुक्मिणी चौधरी लगायतले आदिवासी जनजातिको अधिकार प्राप्तिका लागि थप सङ्घर्ष गर्नुपर्ने बताए। रासस