कर्मचारी संचय कोषका सामाजिक सुरक्षा योजना सबैका लागि खुला गरिदै, स्वरोजगारलाई नयाँ अवसर
काठमाडौं, २५ साउन । ५४ वर्षपछि कर्मचारी सञ्चयकोष ऐन २०१९ संशोधन हुने भएको छ । विभिन्न दफाहरुमा दफादार छलफल पश्चात व्यवस्थापिका–संसद् अन्तर्गतको अर्थसमितिले ‘कर्मचारी सञ्चय कोष नवौं संशोधन विधेयक–२०७१’ पारित गरेको थियोे । समितिबाट विधेयक पास भइसके पनि संसदमा भने अझै छलफल हुन बाँकी छ । कृष्णप्रसाद आचार्य यसअघि सरकारी कर्मचारी, सार्वजनिक संस्थान र निजी उद्योग प्रतिष्ठानमा कार्यरत व्यक्तिले मात्र कोषको अवकाश योजनामा सहभागी हुन पाउने व्यवस्थालाई संशोधन गर्दै नियमित आयस्रोत भएका व्यक्ति सोझै कर्मचारी सञ्चयकोषको अवकाश योजनामा सहभागी हुन पाउने नयाँ व्यवस्था लागू गर्ने लागेको छ । सामाजिक सुरक्षाका योजनाहरूमा सहभागी हुन पाउने आम नागरिकको हक हो । सो हकलाई सुनिश्चित गर्न नियमित आयस्रोत भएका स्वरोजगार व्यक्तिहरूलाई कोषले सञ्चालन गर्ने अवकाश योजनाभित्र समेट्न ऐन संशोधन गर्न लागेको कोषका प्रशासक कृष्णप्रसाद आचार्यले बताए । नेपालको अन्तरिम संविधान–२०६३ ले प्रत्याभूत गरेको सामाजिक सुरक्षाको हकलाई साकार पार्न ऐनलाई संशोधन गर्न लागिएको हो । ‘स्थायी कर्मचारीहरुको हक सर्वथा कायम हुने गरी निजी क्षेत्रका स्वरोजगारमा सम्लग्न व्यक्तिलाई सामाजिक सुरक्षाको सञ्जालभित्र ल्याउन आवश्यक देखिएको थियो,’ उनले भने ‘ संशोधित ऐन नयाँ व्यवस्थासहित आउने छ ।’ ऐन कार्यान्वयनमा आउने भएपछि स्वरोजगारमा संलग्न व्यक्तिहरूको कोष कट्टीसम्बन्धी अन्य व्यवस्थालाई विस्तृत रूपमा नियमावलीद्वारा संशोधन गर्नु पर्ने यनले बताए । मूल ऐनको दफा २ को खण्ड (ख—१) पछि थप गरिएको प्रावधानअनुसार स्वरोजगारमा संलग्न व्यक्तिको व्याख्या गर्दै निजी रूपमा सञ्चालित व्यवसाय वा रोजगारीबाट आय आर्जन गर्ने इञ्जिनीयर, चिकित्सक, कानून व्यवसायी, लेखापरीक्षक लगायत पेशा व्यवसाय गर्ने व्यक्ति वा निजसँग सम्बद्ध कर्मचारीका साथै वैदेशिक रोजगारमा संलग्न व्यक्ति, अस्थायी वा सेवा करारमा कार्यरत व्यक्ति, घरेलु कामदार, कृषक, असङ्गठित क्षेत्रमा कार्यरत मजदूर तथा चिया बगानका कामदार समेतलाई समेटिएको विधेयकमा उल्लेख गरिएको छ । कोषले अनौपचारिक क्षेत्र तथा वैदेशिक रोजगारीमा काम गर्ने व्यक्तिहरूको सम्भावित बचतकर्ताहरूका विषयमा छुट्टाछुट्टै अध्ययन गरिरहेको छ । यस सम्बन्धमा कोषले अध्ययन गरी केही तथ्याङ्क सङ्कलन पनि गरिसकेको छ । ‘अनौपचारिक तथा विदेशमा काम गर्ने सबै श्रमिकको भविष्य सुनिश्चित गर्नु आवश्यक देखिएकाले त्यस्ता व्यक्तिसमेत कोषमा सञ्चयकर्ता हुन पाउने प्रावधान राखेर विधेयक प्रस्ताव गरिएको थियो,’ उनले भने ‘ उक्त प्रस्तावलाई समितिले पारित गरिसकेको छ ।’ चिया बगानका श्रमिक तथा सहकारी सङ्घ संस्थामा कार्यरत कर्मचारीले समेत कोषमा आफ्नो आम्दानीको कोष कट्टा गर्न सक्ने व्यवस्था विधेयकमा समावेश गरिएको र सो पनि पारित भएको छ । साथै, ऐनमा भएको मजदूर तथा कामदारको स्थानमा श्रमिक भन्ने शब्द संशोधन गरिएको छ । सञ्चयकर्ताले मासिक पारिश्रमिक रकमबाट कोषमा जम्मा गर्ने र कानुनअनुसार थप हुने रकम कोषमा जम्मा गर्ने जिम्मेवारी लिएको कर्मचारीले दाखिला गरेको नपाइएमा त्यो व्यक्तिबाटै रकम असुल गर्ने व्यवस्था गरिएको छ । उक्त व्यक्तिबाट सञ्चयकर्ताको सम्पूर्ण रकम असुल हुन नसकेमा त्यस्तो कर्मचारीको अन्य चलअचल सम्पत्तिबाट सरकारी बाँकी सरह असुल गर्ने प्रावधानका लागि सिफारिश गरिएको छ । पारित विधेयकको दफा ७ मा राखिएको संशोधन प्रस्तावअनुसार मूल ऐनको दफा १२ ख को उपदफा १ मा रहेका दश वा दशभन्दा बढी कर्मचारी काम गर्ने संस्थाले भन्ने शब्दको सट्टा सङ्गठित संस्थाले भन्ने शब्दावली राखिएको छ । प्रस्तावित नयाँ प्रावधानअनुसार स्वरोजगारमा संलग्न व्यक्तिले तोकिए बमोजिम रकम कोषमा जम्मा गर्न तथा कोषमा जम्मा रहेको रकमको सङ्कलन तथा भुक्तानी सुविधा पाउन सक्नेछ ।
चन्द्रागिरि केवलकारको परिक्षण सञ्चालन, एक जनाको ७०० रुपैयाँ
काठमाडौ । चन्द्रागिरि हिल्स प्रालिले थानकोटमा निर्माण गरेको केवलकार आज परीक्षणका रुपमा सञ्चालन भएको छ । त्यस क्षेत्रका स्थानीयवासी तथा त्यहाँ आउने आगन्तुकलाई आज निःशुल्क केवलकार चढ्नका लागि सुविधा उपलब्ध गराइएको थियो । थानकोटबाट चन्द्रागिरि पहाडसम्मको दूरी रहेको केवलकार चढ्नका लागि त्यस क्षेत्रमा अहिले ठूलो भीड लागेको छ । एउटा कारमा आठ जना सवार हुन सक्ने व्यवस्था मिलाइएको छ । उक्त दूरी जान र आउनका लागि प्रतिव्यक्ति ७०० रुपैयाँ मूल्य तय गरिएको छ । त्यसका लागि दूरी जान १४ मिनेट लाग्छ । आज निःशुल्क चढ्न पाइने आशामा सर्वसाधारणको घुइँचो लागेको छ । सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई भीड व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । देशका ख्याति प्राप्त विभिन्न उद्यमीको संलग्नतामा करिब दुई वर्षदेखि निर्माण गर्न लागिएको केवलकार निर्माणको प्रक्रिया केही हप्ता अगाडि सकिएको थियो । कम्पनीका महाप्रबन्धक अभिषेक शाहले स्थानीयवासीलाई सेवा तथा सुविधा उपलब्ध गराउनका लागि आज केवरकारको सञ्चालन निःशुल्क गरिएको भए पनि स्थानीय क्षेत्रभन्दा बाहिरबाट आउनेको भीड व्यवस्थापन गर्न कठिन भएको जानकारी दिए । राजनीतिज्ञ देवेन्द्र प्रधानले उक्त स्थानमा स्थापना भएको केवलकारले त्यहाँको विकास निर्माणमा समेत सहयोग पुग्ने र पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गर्दै संस्थाले स्थानीयवासीलाई सक्दो सहुलियत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
२०१६ को घुम्नैपर्ने उत्कृष्ट १० देशमा नेपाल पहिलो स्थानमा, भूकम्पपछि पर्यटन अागमनमा बृद्धि
काठमाडौं २४ असार। अनलाईन मार्फत पर्यटन सम्वन्धि सूचना तथा जानकारी दिने बेलायतको ‘रफ गाइड्स’ले तयार पारेको विश्वमा घुम्नैपर्ने १० देशको सूचिमा नेपाल पहिलो स्थानमा परेको छ। लन्डनमा कार्यालय रहेको ‘रफ गाइड्स’ ले ३४ वर्षदेखि विश्वभरका पर्यटकका लागि ‘गाइड बुक’ तयार पार्ने काम गर्दै आएको छ । सन् २०१६ का लागि रफ गाइड्सले तयार पारेको उत्कृष्ट घुम्नुपर्ने देशको सूचीमा दक्षिण एसियाबाट नेपाल र श्रीलंका परेका छन् । श्रीलंकाले उत्कृष्टको १० औं स्थान ओगटेको छ । त्यसैगरी दोस्रो स्थानमा कोलम्बिया, तेस्रोमा क्युबा, चौथोमा जोर्डन र पाँचौं स्थानमा अल्बानिया परेका छन् । त्यस्तै, छैठौं स्थानमा रोमानिया, सातौंमा एल साल्भाडोर, आठौंमा वेल्स, नवौंमा केन्या र दसौंमा श्रीलंका परेको छ। ‘भूकम्पले थलिएपनि नेपालको पर्यटन उद्योग फेरि उदाएको छ’ रफ गाइड्सले भनेको छ ‘हजारौं मान्छे घरबारविहीन भए र दैनिक जीवन पूर्ण रूपमा सामान्य अवस्थामा फर्किसकेको पनि छैन।’ यहाँको ऐतिहासिक सम्पदास्थल विस्तारै पुनर्निर्माण हुँदैछन्। पदयात्रा मार्गहरू पुनः खुला भइरहेका छन्। रफ गाइड्सले भनेको छ ‘नम्र तथा मृदुभाषी नेपाली विस्तारै सामान्य अवस्थामा फर्किन थालेका छन्।’ पर्यटकले खर्च गर्ने डलर स्वतन्त्र होमस्टेमा मात्र नभई स्थानीय तहमै खर्च हुने र त्यसको लाभ सबैले पाउने नेपालका टुर तथा ट्राभल कम्पनीले आश्वस्त पार्दै आएको रफ गाइड्सको भनाइ छ । ‘विश्वको सर्वोच्च शिखर सगरमाथादेखि बाघ, हात्ती र गैंडाको बासस्थान समथर तराईसम्मका विविध भौगोलिक परिदृश्यबाट पर्यटक नलोभिने प्रश्नै आउँदैन’ रफ गाइड्सले भनेको छ ‘त्यसकारण सन् २०१६ मा घुम्न जाँदै हुनुहुन्छ भने नेपाल तपाईंको पहिलो छनोट हुनैपर्छ।’
नाकावन्दीको समयमा उपभोक्तालाई ठगि गर्ने फेरी डिपो प्रमुख बनाइदै, खड्काले दिए अख्तियारी
काठमाडौ, २५ साउन । नेपाल आयल निगम व्यवस्थापनले थानकोट डिपोमा उपभोक्ता ठगि गरेका र अनियमितता गरेको प्रमाण भएका रविन शर्मालाई पठाउने निर्णय गरेको छ । नोजलमा रिमोट राखेर उपभोक्तालाई कम तेल दिएको पम्पलाई बढी तेल दिएर अनियमितता गरेको आरोपमा पक्राउ परेका शर्मालाई अदालतले सफाई दिएपछि उनलाई थानकोट डिपोमै पठाउने निर्णय गरेको निगमका एक उच्च अधिकारीले विकासन्युजलाई बताए। शर्माले झन्डै एक महिनाअघि काठमाडौं जिल्ला अदालतबाट सफाई पाएका थिए । निगम उच्च स्रोतका अनुसार सफाई पाएपछि निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले उनलाई थानकोट डिपो पठाउने निर्णय गरेका हुन् । थानकोट डिपो प्रमुखको रुपमा अहिले कार्यरत नेत्र काफ्लेलाई एक साताका लागि निगमको केन्द्रीय कार्यालयमा बोलाइएको छ । निगमका एक उच्च कर्मचारीका अनुसार अदालतबाट सफाई पाएपनि उनलाई विवादमै परेको डिपोमा पठाउनु कार्यकारी निर्देशकको विशेष स्वार्थ देखिन्छ । नाकाबन्दीको समयमा शर्माले खड्काको आदेश अनुसार कन्जुमरको नाममा तेल दिएका थिए । नाकाबन्दीको समयमा प्रहरीले गरेको विभिन्न पम्पमा गरेको विशेष अपरेशनमा राजधानीका पम्पमा रिमोट राखेर उपभोक्ता ठगेको प्रमाणसहित फेला पारेको थियो । प्रहरीले गरेको विशेष अपरेशनमा तात्कालिन थानकोट डिपो प्रमुख शर्माले रिमोट राखेर उपभोक्ता ठग्ने पम्पलाई बढी तेल दिएको अनुसन्धानबाट पत्ता लागेपछि पक्राउ गरेको थियो ।
धितोपत्र बोर्डद्वारा सम्पत्ति शुद्धिकरण र कालोधन छानविन समिति खारेज, एकै दिन दोस्रो विज्ञप्ति
काठमाडौं २४ साउन। सर्किट ब्रेकर लागेर कारोवार स्थगित भएपछि नेपाल धितोपत्र बोर्डले अाज दुईवटा विज्ञप्ति निकालेको छ। नेपाल स्टक एक्सचेञ्जको (नेप्से सूचक) ८८ अंकले घटेपछि बोर्डले एकै दिन दोस्रो विज्ञप्ति जारी गरेको छ । दोस्रो विज्ञप्तीमार्फत बोर्डले धितोपत्र बजारमा सम्पत्ती सुद्धिकरण सम्वन्धी विषयमा अध्ययन गर्न गठन गरेको समिति खारेज गरेको जानकारी दिएको छ। बोर्डले गठन गरेको समितिलाई नेप्सेमा कालोधन प्रयोग भएको भन्दै व्याख्या गरिएको थियो । यो विषयलाई ठूला लगानीकर्ताले उचालेपछि बजार घटेको सरोकारवालाले बताउँदै आएका थिए । गुनासो बढेपछि सम्पत्ती सुद्धिकरण सम्वन्धि विषयमा छानविन, अनुसन्धान तथा कारवाहीका लागि सम्पत्ती सुद्धिकरण सम्वन्धी ऐन नियम तथा निर्देशिका बमोजिम विभिन्न निकायहरु रहेको भन्दै बोर्डले समिति खारेज गरेको हो । बोर्डले समितिका विषयमा लगानीकर्ताको गलत बुझाई पर्न गएको र त्यसबाट नेप्सेमा समेत नकारात्मक प्रभाव पर्न गएको गुनासो आएको जानकारी पनि प्रेस विज्ञप्तिमा दिएको छ। यसअघि आजै नेपाल धितोपत्र बोर्डले सेयर बजारका लगानी कर्ता हतोत्साहित नभई लगानी गर्न आग्रह गर्दै पहिलो विज्ञप्ती प्रकाशित गरेको थियो ।
स्टाण्डर्ड चाटर्ड बैंकले पायो एशिया बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड २०१६
काठमाडौं, २४ साउन । स्टाण्डर्ड चाटर्ड बैंक नेपालले सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड एसिया २०१६को उपाधि जितेको छ । प्रत्येक देशमा सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड सम्बन्धि रिसर्च स्वतन्त्र एसियाली व्यवसायीहरुको एक टोलीले गरेको थियो । उक्त टोलीमा ७ वर्षको रिसर्च अनुभव भएका इतिहास र व्यवस्थापन विषयहरुका पोष्ट ग्राजुएटहरु सामेल थिए । विजेताहरुको छनोटमा विशिष्ठ शिकाई तथा विकास प्रयास, कर्मचारी नियुक्तीमा अपनाईएको यूनिकनेश सञ्चारमा, तालिम तथा प्रशिक्षण अभ्यास, निरन्तर सिर्जनशिलताका आधारमा गरिएको थियो । इम्प्लोयर ब्राण्डिङ इन्टिच्यूट) र अन्य कुटनीतिक साझेदारद्धारा आयोजित उक्त कार्यक्रमलाई एशिया कन्फेडेरेशन अफ विजनेशद्धारा प्रायोजित गरिएको थियो । कार्यक्रममा २०१६ अगष्ट ४ गते सिंगापुरमा आयोजना गरिएको थियो । स्टान्डर्ड चार्टर्ड नेपालबैंकका तर्फबाट एचआर प्रमुख विना राणाले उक्त पुरस्कार ग्रहण गरेकी छिन् । स्टाण्डर्ड चाटर्ड बैंक नेपालल यस वर्ष ग्लोवल फाइनान्सको सर्वश्रेष्ठ डिजिटल बैंक पुरस्कार २०१६, उत्कृष्ठ वर्ष २०१६ को युरोमनी पुरस्कार समेत जितेको थियो ।
पाँच मुलुकको मुद्रा खरिद-बिक्रि खुल्ला
काठमाडौं, २४ साउन । नेपाल राष्ट्र बैंकले थप पाँच वटा मुलुकको मुद्रा खरिद तथा बिक्रि सुबिधा थपेको छ । राष्ट्र बैंकले विदेशी मुद्रा सटही सम्बन्धी नयाँ निर्देशीका जारी गर्दै स्विडेन, डेनमार्क, हङकङ, बहराइन र कुवेतको मुद्रा खरिद तथा बिक्रि सुबिधा खुल्ला गरेको हो । यस अघि अन्य १७ मुलुकको मुद्रा मात्रै खरिद तथा बिक्रि सुबिधा थियो भने यी मुलुकको मुद्रा खरिदको सुबिधा मात्रै थियो । अब यी पाँच मुलुकमा जाने नेपालीहरुले तिनै मुलुकको मुद्रा बोकेर जान पाउनेछन् । यस अघि ती मुलुकमा जाने नेपालीहरुले डलर बोकेर जानुपर्ने बाध्यता थियो । राष्ट्र बैंकको विदेशी विनियमय व्यवस्थापन विभागका प्रमुख भिष्म ढुङगानाले मुद्रा सटहीको खर्च कटौती हुने तथा ती मुलुकमा जाने नेपालीहरुले सोही मुलुकको मुद्रा लैजान पाउने जानकारी दिए ।
पूँजी बजारलाई अप्राकृतिक ढंगले घटाउने प्रयास भैरहेको छः अम्बिकाप्रसाद पौडेल
अम्बिकाप्रसाद पौडेल, प्रबन्ध निर्देशक, हाथवे इन्भेष्टमेन्ट लिमिटेड हाथवे इन्भेष्टमेन्ट कम्पनी विगत लामो समयदेखि नै सेयर बजारको सक्रिय लगानीकर्ताका रुपमा रहेको छ । हामीले राम्रो नाफा कमाएका छौं र पोर्टफोलियो पनि राम्रो छ । हामी पुँजी बजारबाट बहिर्गमन भएका छैनौं । असार मसान्तभन्दा आजको मितिमा मैले २५ देखि ३० प्रतिशत भन्दा बढी सेयर किनिरहेको छु । म के मान्यतामा विश्वास राख्छु भने अहिले नेपालको पुँजी बजार हिजोको अवस्थामा जस्तो छैन् । २१/२२ बर्षको मेरो अनुभवमा पुँजी बजारमा तीन/चार वटा उचारचढाव व्यहोरेको छु । पुँजी बजारमा आरोह अवरोह आउन तीन/चार वटा फ्याक्टरले काम गरेको हुन्छ । तर अहिलेको अवस्थामा त्यस्तो कुनै पनि फ्याक्टर देखा परेको छैन् । पहिले बजार घट्दा देखापरेका कुनै पनि कारण अहिलेको बजारमा देखापरेका छैनन् । त्यसकारण पुँजी बजार घट्नु पर्ने अवस्था छैन् । पहिले बजार घट्दा बजारमा तरलता अभाव भैसकेको थियो । बैंक तथा वित्तिय संस्थाको परफरमेन्स घट्दो अवस्थामा थियो । कतिपय वित्तिय संस्था त खारेजीमा लैजानु पर्ने भैसकेका थिए । त्यस नतिजाका रुपमा पुँजी बजार विस्तारै घट्दै गएको थियो । हिजो र आजको तुलना गर्दा आज प्रत्येक बैंक तथा वित्तिय संस्थाको ग्रोथ विगत वर्षको भन्दा धेरै राम्रोसँग वृद्धि भएको देखिन्छ । हामीले गत वर्ष ठूलो भूकम्प र नाका बन्दी खेप्यौं । तै पनि कम्पनीहरुको परफरमेन्स राम्रो छ । भवितव्य भूकम्प त आउला तर नाकाबन्दी त अब हुने छैन । हामीले आजको दिनमा हेर्दा निकट भविष्यमै त्यति ठूलो संकट आउने सम्भावना देखिन्न । भूकम्प र नाका बन्दीका बावजुद बैंक तथा वित्तिय संस्थाहरुको बिजनेश ३० देखि ४० प्रतिशतसम्म बढेको छ । यो बर्ष कति बढ्ला हामीले नै अनुमान गर्न सक्छौं । अर्काे कुरा भनेको अहिले बैंक तथा वित्तिय संस्थाहरुसँग पर्याप्त मात्रामा तरलता छ । हिजो बैंक तथा वित्तिय संस्थाहरु सेयरको सर्टिफिकेट देख्दा डराउँथे । अहिले कोसँग सेयरको सर्टिफिकेट छ भनेर खोजेर हिडिरहेका छन् । अनि हामी किन डराउने ? विगतमा बैंक तथा वित्तिय संस्थाहरुको संख्या पनि बढ्ने र सेयर संख्या पनि बढ्ने क्रम थियो । तर अहिले बैंक तथा वित्तिय संस्थाहरु पनि मर्ज हुने क्रम बढेको छ । हिजो एक सय कित्ता सेयर हुनेहरुको सेयर संख्या अहिले मर्ज भएर घट्दै ५० कित्तामा झरेको छ । बोनस र राइट सेयरले सेयर संख्या बढ्यो भन्ने भन्दा पनि समग्र बजारमा कति कित्ता बढ्यो भनेर हेर्नु पर्छ । सेयरको संख्या घटेकै देखिन्छ । मार्जिन ल्याण्डिङको ऋण लिएर सेयरमा लगानी गर्नेहरुको संख्या निकै कम देखिन्छ । यो कसैले पनि कल्पनासम्म गरेका थिएनन् । नेपाल राष्ट्र बैंकले तोकेको भन्दा कम मात्रामा ऋण गएको सेयर बजारमा मात्रै हो अन्यत्र धेरै गएको छ । अहिले सेयर बजारमा भएको लगानी सबै रिजर्भ बेस र सेभिङ बेसका लगानीकर्ताको हो । ऋण लिएर लगानी गर्नेहरुको संख्या कम छ । नेपालमा सेयर बजार पहिलो क्षेत्र हो जहाँ ५० प्रतिशत महिलाहरुको सहभागीता रहेको छ । अरु क्षेत्रमा नियम बनाएर आउनुस भन्दा पनि महिलाहरुको सहभागीता कम छ, पुँजी बजारमा स्वतः ५० प्रतिशत भन्दा बढिको उपस्थिती छ । महिलाहरु जहिले पनि राम्रो बुझेर लगानी गर्नुहुन्छ । ऋण लिएर भन्दा पनि बचत गरेको पैसा लगानी गर्नुहुन्छ । त्यसकारण पनि अहिले सेयर बजार जोखिममा छैन् । सात/आठ बर्ष पहिलेसम्म एउटा ब्रोकर कहाँ जम्मा २० देखि २५ जना लगानी कर्ता हुन्थ्यौं । आज एउटै ब्रोकर कहाँ दुई तीन सय लगानी कर्ता झुम्मिरहनु भएको छ । घरैबाट डिजिटल माध्यमबाट लगानी गर्नेको संख्या पनि बढेको छ । लाखौं लाख लगानी कर्ता थपिएका छन् । पहिले पहिले प्लेयरले बजार घुमाए भन्ने सुनिन्थ्यो । अहिले बजारमा कोहि पनि प्लेयर छैनन् । लाखौं लगानी कर्ता थपिएका छन् । आज सबै लगानी कर्ता बजारका प्लेयर हुन् । बजार माग र आपुर्तिका सिद्धान्तका आधारमा अघि बढेको छ । त्यसैले नेप्से परिसूचक २९२ बाट १८ पुग्दा पचासौं पटक इन र आउट भएको छ । पछिल्लो चार दिनदेखि बजारको प्राकृतिक नियमलाई तोडमोड गरेर बजार घटाउने चलखेल भैरहेको छ । बजारमा साना र ठुला लगानी कर्ताको चर्चा चलाईएको छ । लगानी कर्ता साना र ठुला हुँदैनन् । कसैले आफुसँग भएको दुई लाख रुपैंयाँ सबै सेयर बजारमा लगानी गर्यो भने उसलाई साना लगानीकर्ता भन्न मिल्छ ? मेरो विचारमा ऊ सबै भन्दा ठूलो लगानीकर्ता हो । आफुसँग भएको कुल नेटवर्थ नै बजारमा लगानी गर्नेलाई साना लगानी कर्ता भन्न मिल्दैन् । अर्काे कुरा धन पनि कालो र सेतो हुन्न । श्रोत मात्रै कालो र सेता हुन सक्छ तर धन आफैंमा कालो र सेता हुनै सक्दैन् । के हो कालो धन भनेको ? मैले त कालोधन देखेकै छैन् । सेयर बजार कालो धन लगाउने ठाउँ हो र ? फेरी कालोधन र सेतो धन कुन हो भनेर छानविन गर्ने अधिकार पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको होइन् । कालोधन को अनुसन्धान गर्ने सम्पति सुद्धिकरण विभागले हो । राजश्व अनुसन्धान विभाग पनि छ, अख्तियार पनि छ । यी निकायले आफ्नो क्षेत्राधिकार प्रयोग गरेर कालोधनको छानविन गर्न सक्छन् । बोर्डले इनसाइडर टे«डिङ, खरिद प्रक्रिया मिलेको छ की छैन भनेर हेर्ने हो । बोर्डले अरु तरिकाबाट पुँजी बजारलाई अतिरञ्जित बनाउने र लगानी कर्तालाई हतोत्साहित गर्न पाउँदैन् । मेरो निष्कर्ष के हो भने पुँजी बजार हिजोको भन्दा धेरै सुरक्षित छ । कम्पनीहरुको छनौट लगानी कर्ताले राम्रोसँग गर्नु पर्छ । ब्यालेन्ससिट हेर्ने, गत वर्षको अवस्था, अहिलेको अवस्था, भावी अवस्था के हुन सक्छ भनेर हेर्ने अनि लगानी गर्ने हो । केहि नबुझी लगानी गर्ने हो भने त जुवाको खाल छँदै छ नी । पुँजी बजार त सूचनाको बजार हो । सबै कुरा बुझेर विवेक सम्वत ढंगले लगानी गर्नुपर्छ । आजको दिनमा नेपालको पुँजी बजार सुरक्षित छ । यो विन्दुको पुँजी बजार भनेको नेपालका सन्दर्भमा ठिकै हो । तरलता, न्युन ब्याजदर र लगानीको उपयुक्त विकल्प नभएकाले यो अवस्थामा पुँजी बजार लगानीको उपयुक्त क्षेत्र हो र यो लगानीको उपयुक्त समय पनि हो । (सेयर लगानीकर्ता संघको घोषणा सभामा पौडेलले व्यक्त गरेको विचार)