सिद्धार्थ डेभलपमेन्ट बैंकको नाफा १३२ प्रतिशतले वृद्धि
काठमाडौं, २३ साउन । सिद्धार्थ डेभलपमेन्ट बैंकको नाफा १३२ दशमलब १६ प्रतिशतले बढेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा आफ्नो नाफा १३२ दशमलब १६ प्रतिशतले वृद्धि गरेर ३३ करोड १३ लाख पुर्याएको हो । बैंकले २०७२ असार मसान्तसम्म्ममा जम्मा १४ करोड २७ लाख नाफा आर्जन गरेको थियो । बैंकले आर्जन गरेको नाफामा १६ करोड २० लाख रुपैंयाँ भने राइट ब्याकबाट प्राप्त भएको छ । बैंकले आफ्नो खराब कर्जालाई ४ दशमलब शुन्य ४ प्रतिशतबाट घटाएर २ दशमलब ४१ प्रतिशतमा झारेको छ । बैंकले सो अवधीमा १२ अर्ब ३२ करोड निक्षेप संकलन गरेर १० अर्ब ५८ कर्जा तथा सापटी प्रवाह गरेको देखिन्छ ।
सार्वजनिक खरिद एेन विपरित हिमालय एयरलाइन्सलाई एयरपोर्टभित्र जग्गा, विमानस्थलभित्रै कार्यालय
काठमाडौं, २२ साउन । नागरिक उड्डयन प्राधिकरणले अवैधानिक रुपमा हिमालय एयरलाइन्सलाई विमानस्थलभित्र कार्यालय खोल्ने सुविधा दिएको खुलेको छ। यो विमानस्थलभित्रको अति संवेदनशिल क्षेत्र हो। हिमालयलाई यसरी संवेदनशील स्थानमा जग्गा उपलब्ध गराइँदा विमानस्थलको सुरक्षा व्यवस्थामा प्रश्न उठ्नुका साथै सार्वजनिक खरिद ऐनसमेतको उल्लंघन भएको छ । हिमालयले विमानस्थलको सिनामंगलतर्फ नेपाल आयल निगमले हवाई इन्धन भण्डारण गर्ने ट्यांकीनजिक कार्यालयसमेत स्थापना गरिसकेको छ । पुर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटनमन्त्री आनन्द पोखरेलको निर्देशनमा प्राधिकरणले सरकारी जग्गा निजी क्षेत्रको एयरलाइन्सलाई दिएको हो। हिमालय एयरलाइन्सले कुनै प्रक्रिया पूरा नगरी सो जग्गा पाएको खुलासा भएको हो। एयरलाइन्समा तिब्बत एयरलाइन्स र यती वल्र्ड इन्भेस्टमेन्टको लगानी छ । सिनामंगलमा रहेको विमानस्थल क्षेत्रमा झन्डै १ रोपनी जग्गा थोरै भाडा तिर्ने गरी अनुमति दिइएको पाइएको छ । तत्कालीन प्रधानमन्त्री ओलीले चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको विमान प्रयोग नगरेर उडान नै सुरु नगरेको हिमालयन एयरलाइन्सको जहाज चार्टर गरेर लगेका थिए । हिमालयलाई तीन महिना अगाडि नै अनुमति दिइएको पाइएको छ । एयरलाइन्सले अनुमति पाएपछि रातारात भवन बनाएर कार्यालय सञ्चालनमा ल्याइसकेको छ ।
कुमारी बैंकको नाफा साढे ३४ करोडले बढ्यो
काठमाडौं, २३ साउन । कुमारी बैंक लिमिटेडले आफ्नो नाफा ३४ करोड ५० लाख रुपैंयाँले वृद्धि गरेको छ । २०७२ असार मसान्तमा ३९ करोड ४७ लाख नाफा आर्जन गरेको कुुमारी बैंकले २०७३ असार मसान्तमा ७४ करोड १ लाख नाफा कमाउन सफल भएको हो । यो नाफा अघिल्लो अवधीको भन्दा ८७ दशमलब ५० प्रतिशतले बढि हुन्छ । बैंकले आर्जन गरेको नाफामा ४३ करोड २० लाख राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ । २ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ३८ लाख रुपैंयाँ रहेको छ । बैंकले सो अवधीमा खराब कर्जालाई २ दशमलब ४९ प्रतिशतबाट घटाएर एक दशमलब ११ प्रतिशतमा सिमित गराएको छ । कुमारी बैंकको प्रति सेयर आम्दानी २७ रुपैंयाँ ४२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५१ रुपैंयाँ ४३ पैसा रहेको छ । बैंकले ३७ अर्ब ९५ करोड निक्षेप संकलन गरेर ३० अर्ब ११ करोड रुपैंयाँ कर्जा तथा सापटी प्रवाह गरेको छ ।
जनता बैंकको नाफा ११६ प्रतिशतले वृद्धि
काठमाडौं, २३ । जनता बैंकको नाफा ११६ प्रतिशतले बढेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा आफ्नो नाफा १७ करोड ५० लाखले बढाएर ३२ करोड ५३ लाख पुर्याएको हो । २०७२ असार मसान्तसम्ममा बैंकले जम्मा १५ करोड ३ लाख नाफा कमाउन सफल भएको थियो । एक दशमलब १५ प्रतिशत खराब कर्जा रहेको बैंकले ५ करोड ५४ लाख रुपैंयाँ राइट ब्याकबाट प्राप्त गरेको छ । ४५ करोड ७६ लाख रुपैंयाँ सञ्चालन मुनाफा आर्जन गरेको बैंकले एक अर्ब ७८ करोड ब्याज आम्दानी गरेर एक अर्ब ३ करोड ब्याज खर्च गरेको छ । बैंकको प्रति सेयर आम्दानी १५ रुपैंयाँ ७९ पैसा छ भने प्रति सेयर नेटवर्थ १३० रुपैंयाँ २४ पैसा रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २ अर्ब ५९ करोड
काठमाडौं, २३ साउन । नेपाल इन्भेष्टमेन्ट बैंकले २०७३ असार मसान्तसम्ममा २ अर्ब ५९ करोड नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तममा आर्जन गरेको भन्दा ६३ करोड अर्थात ३२ दशमलब १४ प्रतिशतले बढि हो । २०७२ असार मसान्तसम्ममा बैंकले जम्मा एक अर्ब ९६ करोड नाफा कमाउन सफल भएको थियो । ७ अर्ब २५ करोेड चुक्ता पुँजी रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको जगेडा कोषमा १० अर्ब ६२ करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी ३५ रुपैंयाँ ८२ पैसा छ भने प्रति सेयर नेटवर्थ २४६ रुपैंयाँ ३८ पैसा रहेको छ । बैंकले एक खर्ब निक्षेप संकलन गरेर ८७ अर्ब कर्जा तथा सापटी दिएको छ ।
फेसबुकले ल्यायो इन्टरनेट नभएको बेला भिडियो हेर्न मिल्ने सुविधा, एन्ड्रोइड एपमा सुविधा
काठमाडौं २२ साउन। भिडियो स्ट्रिमिङमा एकछत्र राज जमाइरहेको युट्युबलाई चुनौति दिने क्रममा फेसबुकले इन्टरनेट कनेक्सन नभएको ठाउँमा पनि भिडियो हेर्न सक्ने सुविधा दिएको छ। फेसबुकको नयाँ भर्सनको एन्ड्रोइड एपमा यो सुविधा थपिएको छ। तर त्यसका लागि इन्टरनेट भएको समयमा भिडियो अफलाइन भ्युका लागि सेभ गर्नुपर्ने हुन्छ। भिडियो एपभित्रको सेभ्ड सेक्सनमा हुन्छ। यसरी सेभ गरिएका भिडियो जति पटक पनि हेर्न सकिन्छ र चाहेमा डिलिट गर्न पनि सकिन्छ। भिडियो तपाईँको मोबाइलमा नै सेभ हुने भए पनि यसलाई फेसबुकबिना यत्तिकै हेर्न भने सकिन्न। फेसबुकले यसअघि जुलाई ११ देखि केही व्यक्तिहरुको समूहमा अफलाइन भिडियोको टेस्ट गर्न लागेको बताएको थियो।
नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक एक्वाएर गर्ने
काठामाडौं, २२ साउन । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक एक्वाएर (खरिद) गर्ने भएको छ। यस सम्बन्धी सम्झौतामा इन्भेष्टमेन्ट बैंक अध्यक्ष पृथ्वीबहादुर पाण्डे र एस डेभलपमेन्ट बैंक अध्यक्ष योगेन्द्र शाक्यले शुक्रबार हस्ताक्षर गरेका छन्। बैंकले गत आर्थिक बर्षको साधारणसभा छुट्टा छुट्टै गरि सेयरधनीहरुलाई लाभांश खुवाएपछि मात्र एकिकृत कारोबार गर्ने भएका छन्। सहमति अनुसार एसको प्रतिसेयर मूल्य करिव ४२ रुपैयाँ रहनेछ। सम्पत्ति दायित्व मूल्याङ्कन (डिडिए) पश्चात यसको अन्तिम निर्क्यौल हुने बैंकले जनाएको छ। हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी सात अर्ब २५ करोड रुपैयाँ छ भने एसको एक अर्ब रुपैयाँ रहेको छ। एसले काठमाडौँ उपत्यका भित्र छ र बाहिर सात गरि १३ शाखा मार्फत सेवा दिँदै आएको छ।केहि बर्ष अघि एसले बाणिज्य बैंकमा स्तरोन्नतीको लक्ष सहित पुँजीबृद्धि सुरु गरेको थियो। तर त्यो प्रयास सफल नभएपछि मर्जररएक्विजिसनको पहल थालेको थियो।
कार्तिकभित्र जीएपी मोडेलमा नजाने औषधि उद्योग खारेज गरिने, १३ उद्योगले जीएमपी लिन बाँकी
काडमाडौं, २२ साउन । कार्तिक भित्र देशभरिका सबै औषधि उद्योग जीएमपी (असल उत्पादन प्रणाली) मोडलमा जानु पर्ने भएको छ । नयाँ निर्देशिका मार्फत औषधि उत्पादनलाई व्यवस्थित गर्न विभागले सो अवधिभित्र उद्योगीहरू जीएमपीमा जानैपर्ने वाध्यकारी व्यवस्था गरेको हो । कात्तिकसम्म पनि जीएमपी नजाने उद्योगलाई बन्द गरिने विभागका महानिर्देशक बालकृष्ण खकुरेलले बताए । ‘हामीले आगामी कात्तिकभित्र सबै औषधि उद्योगलाई जीएमपी मोडलमा लैजाने गरी तयारी थालेका छौं,’ उनले भने । विभागले विगत लामो समयदेखि उद्योगलाई जीएमपी मोडलमा जान समय सीमा तोक्दै आएको थियो । तर, सबै उद्योगले जीएमपी अपनाउन सकेका थिएनन् । नेपालमा औषधि उद्योगलाई जीएमपी मोडलमा लैजाने अभ्यास २०६५ सालमा शुरु गरिएको हो । निर्देशिका अनुसार नयाँ स्थापना हुने उद्योगले भने अब शुरूमै जीएमपी प्रणालीमा गएपछि मात्र औषधि उत्पादन गर्न पाउने छ । यसअघि सरकारले सबै औषधि उद्योगमा जीएमपी लागू गर्ने प्रयास गरे पनि पूर्वाधार अभावका कारण सम्भव नदेखिएको थिएन । उद्योगीहरुले पूर्वाधार तयार पार्न समय माग गरेकाले पहिला अनिवार्य नगरिएपनि अब भने सबै उद्योगहरु जीएमपी जान सक्ने अवस्थामा पुगेको विभागले बताएको छ । हाल नेपालमा ३६ फर्मास्युटिकल्स र एउटा आयुर्वेदसहित ३७ औषधि उद्योगले जीएमपी मोडलको आधारमा औषधि उत्पादन गरिरहेका छन् । नेपालमा हालसम्म झण्डै ५० ओटा एलोप्याथिक औषधि उद्योग (फर्मास्युटिकल्स) छन् । जीएमपी लिन बाँकी अन्य उद्योगले विभागमा आवेदन दिए सकेको विभागले बताएको छ । ‘अहिले प्राय सबै उद्योगले जीएमपीका लागि आवेदन दिएका छन्,’ उनी भन्छन् ‘विभागले ती आवेदनको अध्ययन गरिरहेको छ ।’ मुलुकमा हाल सरकारी स्वामित्वको एकमात्र औषधि उत्पादक कम्पनी सिंहदरबार वैद्यखानालाई तत्काल जीएमपी मोडलमा लैजान नसकिने विभागको भनाइ छ । विभागका अनुसार चालू आवमै जीएमपी मोडलमा लैजानका लागि वैद्यखानालाई सरकारले १ करोड रुपैयाँ उपलब्ध गराएको थियो । जीएमपीमै लैजान आफूले नक्सासहितको नमूनासमेत उपलब्ध गराए पनि वैद्यखाना तत्काल जीएमपीमा जान अवस्थामा रहेको छ । हाल विश्व स्वास्थ्य सङ्गठनमा आबद्ध विश्वका १ सय मुलुकका उद्योगले जीएमपी मोडलअन्तर्गत औषधि उत्पादन गर्दै आएका छन् । जीएमपी प्रमाणपत्र प्राप्त औषधि उद्योगद्वारा उत्पादित औषधिको विश्वसनीयता बढी हुन्छ भने निर्यात क्षमता पनि बढी हुने बताइएको छ । के हो जीएमपी ? जीएमपी विश्व स्वास्थ्य सङ्गठनले औषधिजन्य वस्तुको उत्पादनका लागि तोकेको गुणस्तर, वातावरणीय स्थितिलगायतको मापदण्ड हो । औषधि उत्पादन गर्दा उत्पादित क्षेत्रको वातावरणीय स्थिति, उत्पादन कार्यमा संलग्न व्यक्ति तथा उपकरणको सरसफाइ, उत्पादनमा प्रयोग भएका वस्तुको विस्तृत जानकारीसहितको उत्पादित औषधि सबै हिसाबमा ठीक छ भनी प्रमाणित गर्ने पद्धति जीएमपी हो । विश्व स्वास्थ्य सङ्गठनले सन् १९६९ देखि नै जीएमपी मोडल अपनाएको हो ।